विकासन्युज

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने

मुग्लिन । मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिए । टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले बताए । सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको  प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका–४ चेरेसमा पर्दछ ।

नेपालमै गाडी निर्माण कम्पनी स्थापना हुनुपर्छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अब गाडीहरू नेपालमै निर्माण गर्नुपर्ने बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री दाहालले विगतमा नेपालमा गाडी बोकेर ल्याइने अवस्थाको इतिहास स्मरण गर्दै अब नेपालमै निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्। उनले भने, ‘विगतमा नेपालमा गाडी बोकेर ल्याइन्थ्यो । अहिले एसेम्बल गर्न पनि थालिएको छ । अब नेपालमै निर्माण गर्नुपर्छ ।’ यस्तै, मन्त्री दाहालले सरकारले भौतिक पूर्वाधार निर्माण गर्ने जिम्मेवारी सरकारको भएकाले त्यसतर्फ आफ्नो ध्यान रहेको बताए । यस्तै, उनले अब ईभीको युग भएको उल्लेख गर्दै त्यस क्षेत्रमा पनि केही चुनौतीहरू रहेको बताए । उनले ईभीको ब्याट्रीको डिस्पोज विश्वव्यापी चुनौतीको विषय भएको बताए ।

नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

काठमाडौं । नेपाल बैंकका तत्कालीन उपप्रबन्धक शशिकिरण श्रेष्ठ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई १३ वर्षपछि पक्राउ गरेको हो । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले फैसला कार्यान्वयनका लागि पक्राउ गरेको उनकाे भनाइ छ । श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि १३ वर्षदेखि फरार रहेका निजले तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी ३९ करोड ८९ लाख रुपैयाँ हानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ । पक्राउ परेका उपप्रबन्धक श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सोमबार अदालतमा पेस गरिने प्रवक्ता अधिकारीले जानकारी दिए ।

मानसिक स्वास्थ्यले ल्याएको जटिलता, आत्महत्या गर्ने क्रम बढ्दै

मानसिक रोग लागेका व्यक्तिले समयमै उपचार पाउनेभन्दा पनि अपहेलनामा पर्ने सम्भावना छ नेपाली समाजमा । यो दुःखको विषय हो । शारीरिक रुपमा कुनै चोटपटक लाग्यो वा बिमारी भयो भने अवस्थाअनुसार अस्पताल लैजाने, मेडिकल जाने, नजिकको स्वास्थ्य संस्थामा पुग्ने र उपचार प्राप्त गर्ने गरिन्छ । कुनैकुनै अवस्थामा ग्रामीण क्षेत्रमा झारफुक गर्ने, लामा झाँक्रीको सहयोग लिने काम पनि हुन्छ । थाहा पाउने छिमेकीहरु पनि सहयोग गर्न तत्पर हुन्छन् । अस्पतालमा भर्ना भएको वा शल्यक्रिया भएको वा केही दिन अस्पताल बस्नुपर्यो वा केही औषधिसहित घर फर्केकै अवस्थामा पनि भेट्न आउनेहरुले सहानुभूति व्यक्त गर्दछन् । कतिपयले त बिमार हुँदा खान मिल्ने तागतिलो खानेकुरा समेत लिएर भेट्न आउने क्रम देखिन्छ । तर मानसिक समस्या भएको व्यक्तिलाई पनि यो पनि एक रोग हो उपचार गरेमा सञ्चो हुन्छ भन्ने बुझाई किन हुन नसकेको होला रु विश्व स्वास्थ्य सङ्गठनले दिएको स्वास्थ्यको परिभाषामा मानसिक रुपमा स्वस्थ हुने विषय पनि त परेको छ । मानसिक स्वास्थ्य विग्रदै जाँदा उपचार र चासो प्राप्त नगरेर कति मानिसहरुले ज्यान गुमाएका छन् । कतिले त लामो समयसम्म साँग्लामा बाँधिएर वा कोठामा थुनिएर निकै कठीन जीवन विताएका छन् । नेपालमा पनि मानसिक तनाव र डिप्रेसनका कारण आफ्नो जीवनको अर्थ नरेहेको अनुभूत गरेर आत्महत्या गर्ने क्रम बढेर गएको छ । आधुनिक जीवनशैली र विकसित समाजका विभिन्न उमेरका सदस्यहरुले राखेका असङ्ख्य चाहनाहरु पूरा नहुनेबित्तिकै निराश हुने र आशा जगाउने खालको परिवेश प्राप्त नगर्ने सम्भावना बढ्दै गएको छ । खासगरी बढ्दो उमेरका किशोरकिशोरी र ३० वर्षभित्रका युवाहरुमा धैर्यता कम र मानसिक अस्थिरता बढी देखिन्छ । सो समयमा आमाबाबु तथा घरपरिवारका अन्य सदस्यहरुबाट पाउने सरसल्लाह वा सहयोग तथा उसले लामो समय बिताउने विद्यालय वा कार्यालय वा कारखाना वा अरु कुनै पेशा व्यवसायको वातावरणमा उसको संवेग व्यवस्थापन गर्ने र मानसिक स्वास्थ्यको बारेमा चासो देखाउने केही न केही प्रबन्ध हुनुपर्दछ । तर के हामीकहाँ त्यस्तो खालको वातावरण छ त ?  मानसिक स्वास्थ्यको सबालले समाजको र सरकारको ध्यान आकर्षण गर्न सकेको छ त ?  यो नै अहिलेको अहम् प्रश्न हो । खप्तड स्वामीले भन्नु भएको छ कि शुद्ध, स्वस्थ, सुखी मन सुन्दर स्वास्थ्यको प्रथम रहस्य हो । मन नै मनुष्यको सुख दुःखको कारण हो, जसले मनलाई जित्न सक्छ उसले जगतलाई जित्न सक्छ । मनलाई सुखी राख्नका लागि पुराना विकारहरुको निराकरण गर्नुहुँदैन र मनमा नयाँ दोष विल्कुलै आउन दिन हुँदैन । सावधानीपूर्वक जीवनलाई सधैँ नियमित रुपमा संयमित राख्न जरुरी छ । उदारचित्त भएर प्रभुभक्ति र जनसेवाको भावना राखेमा चित्त प्रश्न हुन्छ । प्रसन्नचित्त व्यक्तिको शरीरमा शक्ति, स्फूर्ति, बल, ओज र स्वस्थता हुन्छ । चिन्ता गरेमा शरीर कमजोर बन्दछ । यसबाहेक मन, बचन र कर्ममा एकता हुनु र मोह त्याग गर्नु पनि मानसिक स्वास्थ्यका लागि आवश्यक छ । संयम क्षमता बढाउनका लागि ब्रत वस्नु पनि उपयोगी हुन्छ । यसबाहेक पनि मानसिक स्वास्थ्य कायम राख्ने अरु विधिहरु पनि अपनाउन सकिन्छ । संस्थागत तथा सामूहिक तहमा मानसिक स्वास्थ्यका उपायहरु समाजमा मानसिक असन्तुलन बढिरहेको, जटिल जीवनशैलीका वीचमा चिन्ता र नैराश्यता बढ्दै जाँदा मानिसले जुनसुकै माध्यमबाट पनि प्राण त्याग्ने जोखिम हुने हुँदा संभावित आत्महत्याको न्युनिकरणका लागि समेत मानसिक स्वास्थ्य बढाउने खालका गतिविधिहरु अभियानकै रुपमा अगाडि बढाउनुपर्ने देखिन्छ । हाम्रो स्वास्थ्य प्रणालीमा शारीरिक खालका रोगहरुको उपचारमा ध्यान र जोड देखिएको छ तर मानसिक प्रकृतिका रोगहरुका सम्वन्धमा सर्वसाधरणले बुझ्ने र जान्ने मौका पाएका छैनन् र उपचारको उपलव्धता पनि कमै छ । तसर्थ मानसिक रोगको उपचारलाई सबैको पहुँचमा पुर्याउन आवश्यक छ । हाल रहेका अस्पतालहरुमा पनि मनोचिकित्सकको व्यवस्था गरेर मानसिक रोगको उपचारको प्रवन्ध गर्न सकिन्छ । मानसिक रोग र मानसिक रोगीलाई परिवार तह र समुदायको तहमै स्वीकार नगर्ने चलन तथा मान्यता रहिआएको छ । यो सरासर गलत विषय हो । तसर्थ मानसिक रोग भनेको अरु रोग जस्तै र त्यो भन्दा सरल समेत हुन सक्छ र उपचारपछि पूर्ण रुपमा निको हुन्छ भन्ने जागरण ल्याउनु जरुरी छ । मानसिक रोग लागेको अनुमान हुनासाथ निज व्यक्तिलाई मनोचिकित्सक, मनोविद, मनोसामाजिक परामर्शदातासँग सहयोग लिने खालको संस्थागत व्यवस्था तीन तहकै सरकारले प्राथमिकतापूर्वक गर्नुपर्ने देखिन्छ । यसरी हेर्दा कमसेकम एउटा जिल्लामा सरकारी तवरबाटै एकजना मनोचिकित्सक उपलव्ध हुनेगरी प्रवन्ध गरिनुपर्दछ । जटिल मानसिक रोग लागेमा मानसिक रोगको विशेषज्ञ अस्पतालमा रिफर गर्ने प्रबन्ध हुनुपर्दछ । यसखाले विशेषज्ञ अस्पताल सबै प्रदेश तहमा हुनु उपयुक्त हुन्छ । शुरुशुरुमा मानसिक रोगको उपचार सम्भव छ भन्ने विश्वास जागृत गर्नकै लागि पनि मानसिक रोगीलाई अस्पताल लगेर उपचार गरी सञ्चो गराउने प्रबन्ध सम्बन्धित स्थानीय तहले जिम्मा लिनु उपयुक्त हुन्छ । समुदायमा जागरण ल्याउने मार्गमा शिक्षक, विद्यार्थी र स्वास्थ्यकर्मीको पनि विशेष भूमिका हुने गर्दछ । खासगरी स्वास्थ्यकर्मीहरुलाई मानसिक रोगको कारण र समाधानका उपाय सम्वन्धमा प्रशिक्षित गर्नुपर्दछ । प्रतिस्पर्धा मात्र भन्दा पनि सन्तुलित रहने र मानवीयता प्रवद्र्धन एवं संस्कारसहितको शिक्षाको प्रवन्ध विद्यालयमा उपलब्ध हुनुपर्दछ । सबै शिक्षकहरुलाई आधारभूत अभिमुखीकरण गर्नुको साथै मानसिक स्वास्थ्यको विषय हेर्न एकजनालाई शिक्षकलाई फोकल पर्सन तोकिनु उपयुक्त हुन्छ । एक विद्यालय एक नर्स कार्यक्रम कार्यान्वयनमा रहेको विद्यालयमा ती नर्सहरुलाई पनि मानसिक स्वास्थ्यका लागि समेत प्रयोग गर्न सकिन्छ । स्थानीय अगुवाहरू, धार्मिक संस्था र समाजसेवीहरूको अग्रसरतामा मानसिक समस्याका विज्ञहरु तथा परामर्शकर्ता समेत संलग्न गरी समुदायमा आत्महत्या रोकथामसम्बन्धी सचेतना कार्यक्रमहरू, शिविरहरु सञ्चालन गर्नु आवश्यक छ, ताकी समाजमा मानसिक स्वास्थ्य समस्या र आत्महत्याबारे खुलारूपमा छलफल गर्न सकियोस्, समस्या पहिचान गरी समाधानको पहल पनि समयमै गर्न सकियोस् । व्यक्तिगत तहमा मानसिक स्वास्थ्य कायम गर्ने तरिकाहरु पूर्वीय सभ्यताका मूल आधारका रुपमा रहेका धर्मशास्त्रहरुमा वर्णित वा आध्यात्मिक साधक र गुरुहरुले भन्ने गरेका र खासगरी मानसिक स्वास्थ्य तथा स्वयम् व्यवस्थापनसम्बन्धी पुस्तकका लेखकहरुले अगाडि सारेका आधारभूत विषयहरुका आधारमा सारांश रुपमा भन्नुपर्दा देहायका १२ वटा विधि वा तरिका वा जीवनशैलीबाट मानसिक रुपमा सन्तुलित र स्वस्थ रहन सकिन्छ : ब्रम्हमुहुर्तमा नै दिनको सुरुआत गर्नु धेरै किसिमले उपयुक्त छ । बिहान ५ बजे वा सो भन्दा अगावै उठ्नु र दिन शुभारम्भ गर्नु भनेको जीवनलाई सार्थक बनाउने महत्वपूर्ण आधार हो । यसो हुन सक्यो भने आफ्नो काम व्यवस्थित हुने र अरुलाई सहयोग गर्नका लागि समेत समय निस्कने हुन्छ । बिहानी समयमा शारीरिक अभ्यासका साथै योग, ध्यानसहितको साधना गर्नु श्रेयस्कर हुन्छ । आजकल त अनलाइन माध्यमबाट पनि साधना संभव छ । समय मिल्दा १० दिन अवधिको विपश्यना ध्यानमा सहभागी हुन सकियो भने आफ्नो क्षमता र विकारहरुको सुक्ष्म समीक्षा गर्ने अवसर प्राप्त हुन्छ । समय मिल्नासाथ केही न केही काम प्रकृतिको सानिध्यमा गर्नु राम्रो हुन्छ । खेतीपातीलगायतका घरायसी काम, करेसावारीसँग सम्बन्धित काम भए झनै राम्रो हैन भने पनि आफू बसोबास गरेको स्थान वरपर उपलव्ध प्राकृतिक स्थलहरु पुग्ने, छतमा बसेर आकाश नियाल्ने, ताल, पोखरी, खोला नजिक पुगेर केही समय बिताउँदा आफु रिचार्ज भएको प्रतित हुन्छ । उपभोग्य बस्तु र चिजहरु अर्थात नभई नहुने र कम मात्र प्रयोग गर्ने गर्दा जीवन सरल बनेर जान्छ । यो अवधारणालाई कम प्रयोगवाद वा मिनिमालिज्म पनि भनिन्छ । आफूले सकेको सहयोग त आश्रमहरु र अनाथहरुलाई सहयोग गरेर पनि गर्न सकिन्छ । हाम्रो विचार चल्ने दिमाखमा दुईवटा शाखा छन् । एउटा ज्ञानेन्द्रीयसँग सम्बन्धित चेतन र अर्को कहिल्यै नरोकिने तर बाहिर निष्क्रिय देखिने अवचेतन दिमाग ।  अवचेतन मनलाई जागृत राख्ने र प्रयोग गर्ने कला सम्बन्धमा सुसूचित भई राति निदाउने बेला र बिहान उठ्ने बखत आफूले गर्न खोजेका सकारात्मक प्रतिज्ञाका विषयहरु चिन्तनमनन गरियो भने अवचेतन मनले ती विषयहरु प्राप्तिमा हरतरहले सहयोग गर्ने मनोवज्ञानिकहरुले बताएका छन् । अवचेतन मनमा चमत्कारिक क्षमता रहेको र प्रयोग गर्न जान्नुपर्ने विचार प्रसिद्ध मनोवैज्ञानिक एवं लेखक जोसेफ मर्फिले राखेका छन् । आफ्नो रुचिका अध्ययन, सङ्गीत, नाचगानलगायतका विषयमा समय दिनुपर्छ । नियमित रुपमा पढ्ने तथा पढेको तथा थाहा पाएको कुरा डायरीमा टिपोट गर्ने बानी बसाल्नुपर्छ । नयाँनयाँ स्थानको भ्रमण गर्ने र ती स्थानका विविध राम्रा पक्षको सम्बन्धमा डायरीमा लेखी राख्नु राम्रो हुन्छ । मनमिल्ने साथीसँग समय बिताउने, पारिवारिक हिसाबले पनि छलफल गर्ने र आफूमा आएको संवेग तथा मानसिक उतारचढाव सम्बन्धमा भरपर्दो व्यक्तिसँग सेयरिङ गर्नु राम्रो हुन्छ । दैनिक रुपमा गरिने सानातिना घरायसी कामका साथै आफू संलग्न भएको काम वा पेशा व्यवसायलाई पूरै मन दिएर काम गर्नु नै सफल हुने र खुशी हुने उचित मार्ग हो । खानपानमा सुधार नगरिकन स्वास्थ्य राम्रो हुँदैन । शारिरीक स्वास्थ्य तथा मानसिक स्वास्थ्य आपसमा अन्तरसम्वन्धित छन् र दुवैका लागि उचित खानपान आवश्यक छ । समयसमयमा मौन रहने कलाको विकास र अरुको कुरा सुनेर मात्र प्रतिकृया दिने बानी भयो भने मानसिक अस्थिरता र बेचैनी हुने संभावना घटेर जान्छ । अरुबाट प्राप्त भएको सहयोगका लागि कृतज्ञ हुनुपर्दछ । समय वा सहयोग प्राप्त गर्नु नै अवसरको विषय भएकोले अरुप्रति अहोभाव प्रकट गर्नु आवश्यक हुन्छ । यसबाट थप साथ सहयोग र ऊर्जा प्राप्त हुने पनि सम्भावना बढेर जान्छ । एउटा व्यक्तिले जीवनमा पूर्णता पाउनका लागि मानवीयता र सामाजिक सद्भाव आवश्यक पर्दछ । यसका लागि घरपरिवार र विद्यालयमा समेत यस्तो खालको गुण विकासका लागि सबैजना जागरुक हुनुपर्दछ । सबैभन्दा महत्वपूर्ण कुरा त के हो भने हरेक व्यक्तिले आफ्नो मन र विचारलाई आफ्नो नियन्त्रणमा राख्न सक्नुपर्दछ । जुनसुकै घटनाक्रम जीवनभित्रको एक अनित्य पाटोको रुपमा देखापर्ने र दुःख वा सुख दुवैखाले क्षणहरु सधैँका लागि रहँदैनन् भन्ने भाव राख्नु आवश्यक छ । अन्त्यमा जीवन जिउने क्रममा बेलाबखत तनाव हुनु अनि नैराश्यता आउनु अस्वाभाविक होइन । तर कुनै संवेग हावी हुनासाथ बिचलित हुनु भने समस्या हो । सकारात्मक भावका साथ अरुको सहयोग समेत लिएर काम गर्दै गयो भने तनाव व्यवस्थापन हुन्छ । सेवा भाव र आध्यात्मिक साधनाले पनि मनलाई अस्थिर हुन दिँदैन र अन्तर्ह्रदयको सन्देश पालना गरी काम गरेमा सबैको भलो हुने अवस्था आउँछ । सन्तुलित जीवन जिउने र अरुको समस्याप्रति समानुभूति राखी समाधानको पहल गर्नु नै मानसिक समस्या कम गर्ने सही बाटो हुन सक्छ । मानव स्वास्थ्यको महत्वपूर्ण आयामका रुपमा मानसिक स्वास्थ्यलाई लिइनु र सोहीअनुसारका अभियानरुपी कार्यक्रमहरु सबै सरोकारवालाको सहभागितामा सञ्चालन गर्न भने ढिलाई गर्नु हुँदैन । रासस (लेखक बाग्लुङका प्रमुख जिल्ला अधिकारी हुन्)

सरकारको नीति अटोबजारमैत्री भएन : नाडा अध्यक्ष चौधरी

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करन चौधरीले सरकारको नीतिहरू औद्योगिकमैत्री नभएको बताएका छन् । नाडाको ४८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रले ठूलो योगदान दिएको भन्दै सरकारले पनि अटोबजारमैत्री नीति तर्जुमा गर्नुपर्नेमा अध्यक्ष चाैधरीले ध्यानाकर्षण गराए । उनका अनुसार नेपालको अर्थतन्त्रमा अटोमोबाइलको योगदान २१ प्रतिशत, प्रत्यक्ष रोजगारी १ लाख, अप्रत्यक्ष रोजगारी १० लाख, बीमा क्षेत्रमा ५० प्रतिशत योगदान र विज्ञापन क्षेत्रमा ४० प्रतिशत छ । तर, यति ठूलो योगदान गर्ने अटो क्षेत्रको लागि सरकारले अटोमैत्री नीति नबनाएको उनको गुनासो थियो । अध्यक्ष चाैधरीले विशेषगरी विद्युतीय गाडीमा कर बढाएको, झन्झटिलो कर प्रणाली रहेको र राष्ट्र बैंकले मौद्रिक नीतिमा यस क्षेत्रको लागि केही पनि उल्लेख नगरेकोमा गुनासो गरेका थिए ।

ग्यास चुहावट भई आगलागी हुँदा ५ लाखबढीको क्षति

गोलबजार । जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा पाँच लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । शनिबार राति अचानक ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित पाँच लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सुलिन्दर दासको एक तले पक्की घरमा भरत साहले सटर भाडामा लिई किराना पसल र प्रिमा ग्यास डिलर सञ्चालन गर्दै आएका थिए । साहले पसल बन्द गरी घर गएको बेलामा  ग्यास चुहावट भई अचानक आगलागी हुँदा छ थान ग्यास विष्फोट हुनुका साथै साहको किराना पसल र सोही घरको अर्को सटरमा अनिलकुमार दासको किराना पसलमा पनि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासमानले जानकारी दिए । भरत साहको डिलरमा रहेको छ थान ग्यास, सहित किराना सामग्री, एनसेल र एनटिसीको दुई लाख रिचार्ज कार्ड रुपैयाँ, नगद पचास हजार रुपैयाँ गरी पाँच लाख ५५ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक पासमानले बताए । उनका अनुसार अनिलकुमार दासको किराना पसलमा आगलागी हुँदा चामल, गँहु, खाने तेललगायत दुई लाख २३ हजार बराबरको क्षति किराना सामग्री क्षति भएको अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोली, गोलबजार नगरपालिकाको पानी दमकल र स्थानीयको सहयोगमा शनिबार राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको बताउँदै मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक पासमानले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा विष्णुप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न तेस्रो महासभाबाट वरिष्ठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षमा राजकुमार राई, दिपक कुँवर र पुरुषेत्तम पौड्याल निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा रोशन भोयद्यो, सचिवमा घनश्याम पोखरेल र कोषाध्यक्षमा अरूण स्तोम त्रिपाठी निर्वाचित भएका छन् । त्यस्तै, सदस्यमा दशरथ पौडेल, उपेन्द्रप्रसाद अवस्थी, तुलसीप्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, लीलाबहादुर अधिकारी, मणिकुमार प्रसाईं र देवकुमार महत्तो निर्वाचित भएका छन् ।

एमाले राजनीति गर्न नभइ देश बनाउन बनेको पार्टी हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभइ देश बनाउनका बनेको बताएका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी भएको उल्लेख गरे । देशमासकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्याउनका लागि एमाले बनेको बताए । नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले कामहरु गरिरहेको बताए । परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए । ‘देशमा परिवर्तन ल्याउन, सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्याउनका लागि यो पार्टी बनेको हो । जहाँ जनता अधिकार सम्पन्न हुन्’, उनले भने । प्रधानमन्त्री ओलीले जनताले सजिलोसँग बाँच्न पाउनुपर्ने एमालेको मुख्य एजेण्डा रहेको जानकारी दिए ।