विकासन्युज

मुक्तिनाथ विकास बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौं । मुक्तिनाथ विकास बैंकले यस वर्ष सेयरधनीहरूलाई लाभांश नदिने भएको छ । संस्थाको पुष १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ । बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय बैंकले गरेको छ। अब सोहीअनुसारको वित्तीय विवरण प्रकाशन गर्नका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गरिने बैंकले जनाएको छ । राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट उक्त वित्तीय विवरण स्वीकृतिका लागि लैजाने बैंकले निर्णय गरेको छ ।

१२ प्रतिशत लाभांश वितरण गर्ने चिलिमे जलविद्युतको घोषणा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आइएमई लघुवित्तले लाभांश नदिने

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वा बोनस सेयर दुवै नदिने भएको छ । कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणका आधारमा सेयरधनीलाई नगद लाभांश र बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो । संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको बासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा, नोक्सान, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सो लाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३२ करोडको कुल ७.८९४७ प्रतिशतले हुन आउने १० करोड ४२ लाख १० हजार ५२६.३२ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश ७.५ प्रतिशतले हुन आउने ९९ करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३९४७ प्रतिशतले हुने आउने ५२ लाख १० हजार ५२६.३२ रुपैयाँबराबरको नगद लाभांश छन् । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका

दमौली । जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो । गाउँपालिकाको नेतृत्वमा काठमाडौंमा विभिन्न संघसंस्था, प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । पालिकाका अध्यक्ष थापाको नेतृत्वमा उपाध्यक्ष पञ्चमाया गुरुङ, पर्यटन शाखा प्रमुख सुरज भट्टराई, बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैश गुरुङ, राजु बानियाँलगायत प्रतिनिधिको टोली काठमाडौँ पुगेको उनले उल्लेख गरे । काठमाडौंमा विभिन्न तहका व्यक्ति, संघसंस्थाका प्रतिनिधिलगायत व्यक्तिसँग अन्तरक्रिया गर्नुका साथै भ्रमण वर्षको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सहयोगका लागि अनुरोध गरिएको अध्यक्ष थापाले बताए । थापाका अनुसार बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउन उक्त वर्षभरि यहाँ पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायत देशका मुख्य सहरहरूमा पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने उनले जानकारी दिए । पर्यटनलाई आम्दानीको स्रोत बनाएर स्थानीयको जीवनस्तर उकास्न पनि यो कार्यक्रम प्रभावकारी हुने भन्दै यसमा सबैको सहयोग आवश्यक पर्नेमा अध्यक्ष थापाले जोड दिए। उनले भने, ‘विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रूपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षित बनाउँदै पौराणिकता झल्किने कार्यक्रम सञ्चालन हुनेछन् ।’ गण्डकी प्रदेशको पोखरापछि प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने योजना रहेको थापाको भनाइ छ । उनले भने, ‘यहाँ प्याराग्लाडिङ, जिपलाइनलगायत साहसिक खेलहरूको सम्भाव्यता अध्ययन गरिनेछ ।’ थापाले गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूमा क्रमशः आउटडोर जिमको विस्तार गरिने तथा पर्यटन क्षेत्रहरूमा रहेका प्राकृतिक शिलाहरूलाई थप आकर्षक बनाइने लक्ष्य राखिएको उल्लेख गरे । उनले भने, ‘गाउँपालिकाभित्र रहेका पौराणिक चौतारा ठाँटी एवं बगैँचाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन हुने किसिमका कार्यक्रम सञ्चालन गरिनेछ । बन्दीपुरको २५ पोखरी ताल पार्कको निर्माण चालु आर्थिक वर्ष सुरुवात गर्नुका साथै वृहत् झप्री फाँट जलाशय र देवी थुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन अगाडी बढाउने छौँ ।’ अध्यक्ष थापाले पालिकाले बन्दीपुर आउने विदेशी पर्यटकको सहजताका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिने उद्देश्यले नौ भाषामा जानकारीमूलक सामग्री तयार गरिसकिएको बताए। गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाइ भाषामा बन्दीपुरका बारेमा जानकारीमूलक सामग्री तयार गरिएको उनले जानकारी दिए। खड्गदेवी, थानीमाई र महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणिमुकुन्द सेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्विटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस, अर्जेन्टिनालगायत मुलुकबाट पर्यटक आउने गरेका बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूका लागि आकर्षणको केन्द्रबिन्दु रहेका उनले बताए। सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किमी उकालो यात्रा हिँडेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरालगायत प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण,  माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ बाह्य पर्यटक आउने गरेका समितिका अध्यक्ष प्रधानले उल्लेख गरे । रासस

लिलाम सम्पत्ति बिक्रीबारे जानकारी दिन एनआईसी एशिया बैंकको अनलाइन पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसहितको लिलामबिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टल मार्फत बैंकले लिलामबिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सबै सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । यसको लागि ग्राहकले लिलामबिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी देखिने पोर्टल (https://auctionassistance.nicasiabank.com) भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सक्ने छन् । यसरी ग्राहकले लिलामबिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपछि खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने बैंकले व्यवस्था गरेको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रुपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलामबिक्रीमा रहेको सम्पत्तिहरु र लिलामबिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गर्ने हुँदा इच्छुक ग्राहकले अनलाइन पोर्टलको लिंकबाट विस्तृत विवरणहरूको जानकारी लिन सक्ने पनि बैंकले जानकारी दिएको छ ।

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार अदालतमा उपस्थित गराइने भएको छ । हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सकिएको छ । सोमबार नै म्याद सकिएकोले आज उनलाई अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । अभियोजन नगर्दासम्म उनलाई हिरासतमा राख्नुपर्ने भएकोले मंगलबार म्याद थपको लागि अदालतमा उपस्थित गराइने भएको हो । उनीविरुद्ध पुस ५ मा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुनाले पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदै छ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको मितिले पुस ५ मा ९० दिन पुग्छ । लामिछानेलाई जोशी पक्राउ परेकै मितिबाट म्याद मिलान गरिएको छ । आज उनलाई ४ दिन हिरासतमा राख्न अदालतमा अनुमति माग गरिने अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘५ गतेसम्म हिरासतमा राख्न अनुमति माग्छौँ, मुद्दा दर्ता भएपछि अदालतको प्रक्रिया अनुसार हुन्छ ।’

म्याग्दीमा बगैचाबाटै सुन्तला बिक्री

बेनी । मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ । बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ । उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरू बगैचामा आउन थालेपछि आफूहरूलाई उत्पादन भएको सुन्तालका लागि बजार र ग्राहक खोज्नुपर्ने झन्झट हटेको बिमको दुलेका स्थानीय किसान कृष्ण शर्माले बताए । “अहिले काठमाडौँका व्यवसायीले बगैचाबाटै सुन्तला खरिद गरेर लगेका छन्, गाउँका सबैजसो बगानमा सुन्तला खरिदका लागि व्यवसायी आइपुगेका छन्’’, उनले भने । यहाँका किसानले प्रतिकिलो रु ६५ मा सुन्तला बिक्री गरेका छन् । शर्माले मात्रै यस वर्ष रु दुई लाख बढीको सुन्तला बिक्री गरेका छन् । उनका बगानमा एक सय बढी सुन्तलाका बोट छन् । गाउँमा मोटरबाटोको सुविधा पुगेपछि स्थानीयलाई सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता हटेको हो । मोटरबाटो पुग्नुअघि स्थानीयले डोकोमा बोकेर छिमेकी गाउँ र दरबाङ बजारसम्म पुर्याएर सुन्तला बिक्री गर्दै आएका थिए । पछिल्ला केही वर्षयता बगानबाट सुन्तला बिक्री हुन थालेपछि यहाँका किसान व्यावसायिक सुन्तलाखेतीमा लागेका छन् । हरेक वर्ष सहरी क्षेत्रबाट व्यवसायी सुन्तला खरिदका लागि पेश्की रकम लिएर गाउँमा पुग्ने गरेका छन् । बिमको अर्कला, नराले, ओखलढुङ्गा, दुले, टुनीबोट, नौमाने, भारबाङ, खारलगायत क्षेत्रमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार भइरहेको छ । सुन्तलाखेतीबाट आम्दानी राम्रो हुन थालेपछि अन्नबाली लगाउनुको साटो सुन्तलाखेती विस्तार गरेको स्थानीय भीमप्रसाद विकले बताए । ‘विदेश गएर दुःख गर्नुभन्दा आफ्नै गाउँमा सुन्तला रोप्न सक्योभने त्यसबाट राम्रो आम्दानी गर्न सकिन्छ, उत्पादन भएको सुन्तलाको ग्राहक खोज्नुपर्ने बाध्यता पनि छैन, मैले यसै वर्ष थप नयाँ जग्गामा समेत सुन्तला विस्तार गर्ने योजना बनाएको छु’, उनले भने । यस क्षेत्रका किसानले सुन्तलाखेतीबाट रु ५० हजारदेखि आठ लाखसम्म कमाई गरेका छन्भने गाउँमा वार्षिक लाखौँ रुपैयाँ भित्रने गरेको छ । जिल्लामा उत्पादन भएको सुन्तला पोखरा, काठमाडाँै, बुटवल, भैरवालगायत ठूला सहरमा खपत हुने गरेको छ । व्यावसायिक सुन्तलाखेती भएका अधिकांश बगौचामा खरिदकर्ता आफैँ पुग्न थालेपछि किसानलाई सुन्तलाको बजार अभाव नहुने र ढुवानीलगायत झन्झट पनि हटेको छ । रासस