विकासन्युज

ग्राहक खोजेर ल्याउनूस्, सहकारी सञ्चालकको जगाा बेचेर बचत फिर्ता गर्छौं : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ग्राहक खोजेर ल्याए सहकारी सञ्चालकको जग्गा बिक्री गरेर बचत फिर्ता गर्ने बताएका छन् । सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले जग्गा खरिद गर्न ग्राहक ल्याए बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्ने बताएका हुन् । ‘बैंकको मोडल अनुसार सहकारी सञ्चालकले स्रोत देखाएर सम्पत्ति बिक्री गर्छु भन्यो भने पनि हामी सहजीकरण गर्छौं,’ मन्त्री अधिकारी भने, ‘बचतकर्ताले पनि ग्राहक खोजेर ल्याउनु भयो भने हामी सञ्चालकको सम्पति बिक्री गरेर बचत फिर्ता गर्छौं ।’ सबै सहकारी खराब नरहेकाले वितृष्णा फैलाउनु गलत भएको उनको भनाइ छ । सहकारीमा नजोडिएकाहरू नै सहकारी बिग्रियो भनेर भ्रम फैलाउनतर्फ लागेको उनले बताए । साथै आन्दोलन गर्नेको हल्लालाई चिर्न आवश्यक रहेको उनको भनाइ छ । ‘हामी यो यो कामले राम्रो छौं भनेर भन्न आवश्यक छ, सहकारी मर्जर गर्ने पछि डिमर्ज गरिदिनूस् भन्नु राम्रो हो कि नराम्रो ?,’ मन्त्री अधिकारी भने, ‘समस्या समाधानको उपाय निकाल्नुपर्छ, त्यसले नीति बनाउन पनि सजिलो हुन्छ, सहकारीको नेटवर्क परिचालन हुन सकेको छैन ।’ सहकारीका सदस्यमा कार्यक्रम तथा साधारण सभा गएर ५ सय पाउने लोभ रहेको उनले आरोप लगाए । सहकारी ऐन संशोधन विषयमा छलफल भइरहेको र समस्या समाधानका विषय पनि समेटिने उनले बताए । सहकारी कोष, कर्जा सूचना केन्द्र, सहकारी न्यायाधिकरण र नियमनको विषयमाथि छलफल भइरहेको उनको भनाइ छ । साथै दुई/तीन वटा सहकारीहरु समस्याग्रस्तमा थपिने तयारीमा रहेको उनले जानकारी दिए ।

दिगो विकासको लक्ष्यमा उल्लेखनीय प्रगति भएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं‌ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सीमित स्रोतहरू हुँदाहुँदै पनि सामूहिक प्रयासका कारण विश्वव्यापी रुपमा नै दिगो विकास लक्ष्य प्राप्तिका लागि अदिस अबाबा एजेन्डा कार्यान्वयनमा महत्वपूर्ण प्रगति भएको बताएका छन् । अल्पविकसित र विकासोन्मुख देशहरूमा वित्तीय अन्तर विकास गतिको निरन्तरताका लागि महत्वपूर्ण मुद्दा भएको धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले बजेट योजना, स्रोत विनियोजनमा कुशलता, प्रभावकारी परियोजना कार्यान्वयन क्षमता विकास र दिगो खर्च व्यवस्थापन बढ्दो चुनौतीका रुपमा रहेको बताएका छन् । अधिकांश अल्पविकसित र विकासोन्मुख देशहरूले राजस्व परिचालन क्षमतामा सुधार गर्न संघर्ष गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले डिजिटल आर्थिक कारोबारका नयाँ मोडालिटीहरूलाई करको दायरामा ल्याउने गरी कर प्रशासनको क्षमतालाई सुदृढ र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । उनले निश्चित लक्ष्यसहितको स्पष्ट आन्तरिक राजस्व परिचालन रणनीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयनको आवश्यकता पनि औल्याएका छन् । अर्थमन्त्री पौडेलले हाल विश्व्यापी रुपमा देखा परेका आर्थिक तथा सामाजिक अनिश्चितता, भूराजनीतिक समस्या, सार्वजनिक ऋणको बढ्दो भार र आर्थिक असमानतालाई सामुहिक प्रयासबाट समाधान गर्नुपर्ने बताए ।

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराएको छ । यसअघि सातौँपटक मंसिर १७ गते थपिएको थप ५ दिनको म्याद गएरातिबाट सकिएकाले प्रहरीले लामिछानेविरुद्ध आज आठौँ पटक म्याद थपको अनुमति लिन जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरुविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ । सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले ९० दिनसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । यस हिसाबले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पहिलो व्यक्तिबाट हिसाब गर्दा अब रविलाई हिरासतमा राख्न बाँकी म्याद ४ दिन मात्र छ । सोही कारण आज थपिने म्याद अन्तिम हुनेछ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।

‘सहकारीलाई राष्ट्र बैंकको नियमनमा राख्नु हुँदैन, अडिटरले पेशागत धर्म छोडेको दिन सिलिकन भ्यालीको हालत हुन्छ’

काठमाडौं । पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले सहकारी संस्थाहरूलाई राष्ट्र बैंकको नियमनमा राख्नै नहुने बताएका छन् । सहकारी सुशासन प्रवद्र्धन सम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । राष्ट्र बैंकको नियमनमा गएको खण्डमा भने स्वनियमन हटाउनुपर्ने उनले बताए । ‘सहकारीलाई राष्ट्र बैंकको नियमनमा राख्नै हुँदैन, राष्ट्र बैंकको मोह छोड्नुहोस्, राजनिती गर्नेले नियमनमा बस्न चाहँदैन,’ उनले भने, ‘सहकारीका अधिकांश सञ्चालक राजनीतिमा छन्, सहकारी राष्ट्र बैंकको नियमनमा गयो भने भोलि अर्कै समस्या आउँछ ।’ पूर्वअर्थमन्त्री खतिवडाले लेखापरीक्षक (अडिटर)हरूले पेशागत धर्म छोडेको दिन सिलिकन भ्यालीको हालत हुने बताए ।अर्थ सामाजिक व्यवस्थाको एउटा अंग भएको उनको भनाइ छ । बैंकिङ प्रणाालीबाट अब सहकारीमा समस्या नरहेको समेत उनले बताए । साथै बैंकिङ क्षेत्रको ब्याजदर उच्च हुँदा सबै क्षेत्रलाई समस्यामा पारेको उनको भनाइ छ । ‘सहकारी कोषहरू पारदर्शी हुनुपर्छ, लेखापरीक्षक सुशासनमा बस्नुपर्छ,’ पूर्वअर्थमन्त्री खतिवडाले भने, ‘अडिटरले पेशागत धर्म छोड्नु हुँदैन, अडिटरले कमजोरी गर्‍यो भने सिलिकन भ्यालीका बैंक डुबेका छन् । त्यो अवस्था हाम्रोमा आउन दिनु हुँदैन ।’ अर्थतन्त्र नबिग्रिएको तर अपेक्षाकृत नरहेको उनको भनाइ छ । ६० खर्ब बचतको ५ प्रतिशत ब्याज हुँदा बचतकर्तालाई धेरे घाटा भएको उनले बताए । जति सहकारी संस्था बिग्रिएपनि अब सुधारको बाटोमा जानुपर्ने उनको धारणा छ । सही वित्तीय व्यवस्थापन गरेका सहकारी संस्थाहरू समस्यामा नरहेको र सबै सहकारी नबिग्रिएको उनले बताए । साथै पछिल्लो समय सहकारीप्रतिको धारणा सकारात्मक हुँदै गएको समेत उनको बुझाइ छ । ‘बचतकर्ताको ५ लाखसम्मको बचत फिर्ता गर्ने विषय बहस बनेको छ, सरकारले चेक काटेर दिने होइन, सरकारले कसैको ऋण तिरिदिँदैन,’ उनले भने, ‘५ लाखसम्म बचत फिर्ता गर्ने भनेको संस्थाको सम्पत्ति बिक्री गरेर हो, ६ लाखले पनि पाउनु पर्‍यो नि, उसको बचत होइन र ?’ ‘टाउको दुख्यो भने घाँटी काटेर फाल्ने होइन, कारोबार र बचतको सीमा हुनु हुँदैन । त्यसको आधारमा वर्गीकरण गर्नुहुँदैन, साना बचतकर्तामा सहकारीको दाबी पहिलो पर्ने होकि, कर्जाभन्दा पनि ऋण सूचना केन्द्र बनाउनुपर्छ,’ उनले थपे । क्रिप्टोकरेन्सीबाट धेरै देशले राम्रो आम्दानी गरेको तर, नेपालमा त्यो अवैध रहेको उनको भनाइ छ । त्यसैले देशको नीति अनुसार काम गर्नुपर्ने पूर्वअर्थमन्त्री खतिवडाले  थपे ।

लक्ष्मी सनराइजको साधारण सभा आह्वान, लाभांश प्रस्ताव पारित गर्दै

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २४ गते कमलपोखरी, काठमाडौंमा २४ औं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

हिमालयन बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

चेतनाको कमीले साइबर आक्रमणमा फँस्दै नेपाली, आक्रमणमा परेपनि गर्दैनन् रिपोर्टिङ

काठमाडौं । सूचना र प्रविधिले मानवजीवन निकै सहज बन्दै गइरहेको छ । प्रविधिले विश्व गाउँसरह नै बन्दै गइरहेको छ । आज हामी कोठाको एक कुनामा बसेर विश्वभरका हरेक गतिविधि नियाल्न सक्छौं । यति मात्रै होइन, हामीलाई जुन कुराको आवश्यक हुन्छ, त्यो क्षणभरमै प्राप्त गर्न सकिन्छ । आजको समयमा सामाजिक सञ्जाल प्रयोग नगर्ने को होला ? बालकदेखि वृद्धसम्मका हरेक समूहले सामाजिक सञ्जाल प्रयोग गरिरहेकै हुन्छन् । फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालले जीवन एकातिर सहज बनाइरहेको छ भने त्यसको सही सदुपयोग गर्न नजान्दा त्यसैले मानिसलाई सिध्याइरहेको पनि छ । नेपालको सन्दर्भमा साइबर आक्रमण बढ्दो क्रममा छ । साइबर ब्यूरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार ८ हजार ६ साइबर आक्रमणका निवेदन दर्ता भएका छन् । जसमध्ये सबैभन्दा बढी फेसबुक म्यासेन्जरबाट साइबर आक्रमण भएका निवेदन छन् । त्यस्तै, पछिल्लो समय इन्स्टाग्राम, टिकटक, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने साइबर आक्रमणको दर बढ्दो क्रममा छ । तथ्यांकअनुसार पछिल्लो समय साइबर आक्रमणमा परेको भन्दै ब्यूरोमा निवेदन दर्ता गराउने विभिन्न बैंक तथा वित्तिय संस्थाहरूको दर पनि बढ्दो क्रममा छ । १२९ बैंक तथा वित्तिय संस्थाले साइबर आक्रमणको निवेदन दर्ता गरेको ब्यूरोले जनाएको छ । यसबाहेक वेबसाइट ह्याकिङ ७, ह्वाट्सएपबाट ९४१, टिकटक ५३५ निवेदन दर्ता भएको छ । ब्यूरोले पछिल्लो तथ्यांकअनुसार साइबर आक्रमणमा ४ हजार २९४ पुरुष र ३ हजार २१८ महिला पीडित भएको जनाएको छ । के भन्छन् सरोकारवाला ? प्रविधिले मानजीवन जति सहज बन्दै गइरहेको छ, त्यति नै जोखिमपूर्ण पनि बन्दै गइरहेको छ । सानातिना कुराहरू वेवास्ता गरिदिने र सर्तकता नअपनाउँदा नेपाल साइबर आक्रमणको उच्च जोखिममा पर्दै गइरहेको साइबर विज्ञहरूले बताउँदै आएका छन् । धेरैजसोको आफ्ना व्यक्तिगत गतिविधिहरू सामाजिक सञ्जालमा साझा गर्न बढी उत्साहित हुन्छन् । अरू माानिसको तुलनामा यस्ता प्रकारका मानिसहरू साइबर आक्रमणको निशानामा बढी पर्ने साइबर सुरक्षामा काम गर्ने कम्पनी लगपोइन्टका प्रमुख सुरक्षा सूचना अधिकारी रोशन पोखरेल बताउँछन् । उनले दैनिक गर्ने साना गल्तीहरूले साइबर ह्याकरको निशानामा पर्ने सुनाउँछन् । उनका अनुसार अनावश्यक र अनधिकृत लिंक खोल्ने, धेरैवटा एपमा एउटै प्रकारको पासवर्ड प्रयोग गर्नेलगायत कारणले साइबर आक्रमणमा परिन्छ । त्यस्तै, जानकारीकै कमी र प्रलोभनले गर्दा पछिल्लो समय धेरैजना विभिन्न स्क्यामहरूमा फस्ने गरेका छन्। साइबर अट्याकर्सले विभिन्न माध्यमबाट आक्रमण गर्न सक्छन् । जस्तै, र्‍यान्समवेरको प्रयोग गरेर, फरक–फरक पासवर्ड प्रयोग गरेर, विभिन्न वेव एप्लिकेशन, मानवीय त्रुटिको मौका छोपेर यी माध्यमको प्रयोग गरी आक्रमण गर्न सक्छन् । यसको असर स्वयं व्यक्ति र आफूसम्बद्ध संस्थाले भोग्नुपर्ने सूचना अधिकारी पोखरेल बताउँछन् । साइबर आक्रणमा पर्दा एकातिर व्यक्तिगत प्रतिष्ठामा असर पुग्न जान्छ भने अर्कोतिर आर्थिक रुपमा ठूलो क्षति बेहोर्नु पर्ने हुन्छ । बिजसर्भ आइटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रभात पोखरेलले नेपालको सन्दर्भमा साइबर आक्रमणका रिपोर्टिङ कम हुने हुँदा यस्ता तथ्यांकमा साइबर आक्रमणका घटना अझ कम देखिएको बताए । ‘विकसित मुलुकमा साइबर आक्रमण बढी हुन्छ तर त्यसअनुसारको रिपोर्टिङ पनि हुन्छ । तर हाम्रोमा रिर्पोटिङ कम हुन्छ, कति त लुकाइन्छ,’ उनले भने । त्यस्तै, हाम्रा सामाजिक संस्कृतिले गर्दा अरूले के भन्लान् भनेर धेरैजसो साइबर आक्रमणका विषयहरू पब्लिकमा सार्वजनिक नहुने उनले प्रष्ट्याए । पछिल्लो समय प्रविधि प्रयोगकर्ता बढ्दो संख्यामा छ । विश्व डिजिटलाइजेसन भइसकेको छ । विश्व जति डिजिटलाइजेसन भइरहेको छ, त्योअनुसारका चेत भने नेपालीहरूमा कम हुँदा बढी साइबर आक्रमणको निशानामा पने सीईओ पोखरेल बताउँछन् । उनी भन्छन्, ‘काम सहज र छिटो बनाउन प्रविधिको प्रयोग गर्ने हो, यसले सहज बनाउँछ । सँगसँगै जोखिम पनि निम्त्याउछ । त्यस्ता जोखिमबाट बच्न समयसापेक्ष जे-जे काम गर्नुपर्ने हुन्छ, त्यो गर्नुपर्छ । हाम्रो सन्दर्भमा हामीले प्रविधि पनि ल्याउँछौं, काम पनि गर्छौं तर कस्ता खालका जोखिमको सामना गर्नुपर्छ भनेर त्यसबारे तयार हुँदैनौं ।’ युर्निभर्सिटी अक्सफोर्डका तथ्यांकअनुसार साइबर क्राइमका हब राष्ट्रहरूमा पहिलो नम्बरमा जर्मनी रहेको छ । त्यस्तै, दोस्रोमा रसिया त्यसपछि क्रमश: युक्रेन, चाइना, अमेरिकालगायत देशहरू रहेका छन् । त्यस तथ्यांकमा नेपाल भने परेको छैन । ग्लोबल साइबर सेक्युरेटीको पछिल्लो तथ्यांकअनुसार हामी बंगलादेश र भारतको बीचमा छौं । यसअर्थमा हामी अरू राष्ट्रको तुलनामा सुधार्ने ठाउँ धेरै रहेकोले त्यसतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्ने सीईओ पोख्रेल बताउँछन् । साइबर आक्रमणबाट कसरी बच्ने ? लगपोइन्टका सूचना अधिकारी पोखरेल साइबर आक्रमणबाट बच्ने पहिलो उपाय भनेकै ‘सेल्फ अवेयर’ लाई जोड दिन्छन् । आफू सचेत हुने र आफूसँग सम्बन्धित व्यक्तिहरुलाई पनि सचेत गराउनुपर्छ । त्यस्तै, हामीले प्रयोग गर्ने डाटाहरूलाई सेक्युर्ड गर्नुुपर्छ । पोखरेल भन्छन्, ‘हाम्रा गल्ती यो पनि हो कि, मलाई कसैले टार्गेट गर्दैन, तर हामी प्रत्येक साइबर अट्याकरको टार्गेटमा छौं भनेर बुझ्नुपर्छ । त्यसैले गोपनीयता कायम राख्नुपर्छ, के कुरा सार्वजनिक गर्ने र नगर्ने त्यसमा ध्यान दिनुपर्छ ।’ त्यस्तै, भेरिफाइड र जेनुन एप्लिकेशनबाट मात्रै प्रयोग गर्नुपर्छ । बेलाबेला हामीले प्रयोग गर्ने सप्टवेयरहरू अपडेट गरिराख्नुपर्छ । यसबाहेक पब्लिक वाइफाईबाट पनि साइबर आक्रमण हुने हुँदा सकेसम्म चलाउनुहुँदैन । हाम्रो अर्को गल्ती साइबर सुरक्षाको जिम्वेवारी सम्बन्धित निकायको भनेर हामी पन्छिन खोज्छौं । वास्तवमा साइबर सुरक्षाको सन्दर्भमा हामी सबैजना जिम्मेवार हुनुपर्नेमा पोखरेल जोड दिन्छन् । बलियो पासवर्ड राखेको छु भनेर ढुक्क हुन सकिँदैन । बलियो पासवर्डले मात्रै हामीले प्रयोग गर्ने एप्लिकेशन सुरक्षित नहुने भएकाले बेलाबेला पासवर्ड अपडेट गर्नुपर्छ । बिजसर्भ आइटीका प्रमुख कार्यकारी अधिकृत पोखरेल धेरैलाई साइबर आक्रमण भयो भन्ने कुरा नै थाहा नै नहुने र थाहा भैहालेपनि ढिला गरी थाहा हुने बताउँछन् । विश्वको अनुसन्धानअनुसार ४० देखि ५० प्रतिशतले मात्रै साइबर आक्रमणमा परेको थाहा पाउँछन् त्यो पनि दुई सय दिनपछि । यो भनेको ६ महिनाभन्दा बढी समय हो । नेपालमा अझ कम अनुसन्धान हुने भएकाले त्यो संख्याभन्दा पनि कमले मात्रै साइबर आक्रमणमा परेको कुरा थाहा पाउने पोखरलको भनाइ छ । सिईओ पोखरेल नेपालमा इन्टरनेट प्रयोगकर्ता बढ्दै जानु, ई-कमर्स क्षेत्र फस्टाउनुसँगै ती क्षेत्र अपराधीको निशाना बन्दा जोखिम र चुनौती पनि थपिदै गएको बताउँछन् । अपराध न्युनीरणको लागि साइबार सुरक्षाको विषयमा विद्यालय तहबाटै सचेतना कार्यक्रम सञ्चालन हुनुपर्ने पोखरेलको भनाइ छ । नास आइटीका महासचिव दिपेन चापागाईं नेपालमा पछिल्लो प्रविधि र साइबर जोखिमका विज्ञ नेपालमा खासै नभएको बताउँछन् । चापागाईं साइबर आक्रणबाट हुन सक्ने जोखिमबाट बच्न आफ्नो भूमिका के हो त्यसलाई इमान्दारिताका साथ निभाउनुपर्नेमा जोड दिन्छन् ।

मुक्तिनाथ विकास बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौं । मुक्तिनाथ विकास बैंकले यस वर्ष सेयरधनीहरूलाई लाभांश नदिने भएको छ । संस्थाको पुष १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ । बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय बैंकले गरेको छ। अब सोहीअनुसारको वित्तीय विवरण प्रकाशन गर्नका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गरिने बैंकले जनाएको छ । राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट उक्त वित्तीय विवरण स्वीकृतिका लागि लैजाने बैंकले निर्णय गरेको छ ।