विकासन्युज

चन्द्रागिरिमा ५ लाख बराबरको चोरी

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१४ नैकापमा पाँच लाख रुपैयाँ बराबरको चोरी भएको छ । नैकपा बस्ने मैनु डिन मियाको घरबाट नगद ५० हजार रुपैयाँ, अन्दाजी ३ तोला बराबरको सुनका गरगहना र १ थान मोबाइल समेत गरी करिब ५ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

वेद इन्टरनेशनल एजुकेशनलले १४औं वार्षिक उत्सवको अवसरमा कार्यक्रम गर्दै

काठमाडौं । वेद इन्टरनेसनल एजुकेशनल कन्सल्टेन्सीले आफ्नो १४औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई सन् २०१० देखि परामर्श सेवा प्रदान गर्दै आइरहेको वेद इन्टरनेशनलले आफ्नो वार्षिकोत्सवलाई थप विशेष बनाउने उद्देश्यले ‘वेद फोर इभर’ नामक क्याम्पेन सञ्चालन गर्न लागेको हो । कन्सल्टेन्सीले वार्षिकोत्सवको १५ दिनअघिदेखि नै विभिन्न कार्यक्रमहरू आयोजना गर्ने तयारी गरेको छ । २६ डिसेम्बरमा वेदले वार्षिकोत्सव मनाउँदैछ । कार्यक्रम अन्तर्गत ‘फोर कन्ट्रिज रिप्रिजेन्टेटिभ मिट–अप’ हुनेछ । बेलायत, अमेरिका, क्यानडा र अस्ट्रेलियाका प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरूलाई भेट्ने अवसर विद्यार्थीले पाउनेछन् । जुन कार्यक्रममा विद्यार्थीहरूले आफ्नो रोजाईको देशको शैक्षिक अवसर र प्रक्रियाबारे प्रत्यक्ष जानकारी पाउनेछन् । त्यस्तै ‘फोर फेमिली फेस्ट’ कार्यक्रम अन्तर्गत भिसा पाइसकेका विद्यार्थीको अभिभावकहरूका लागि चिया–पान कार्यक्रम राखिने बताइएको छ । कार्यक्रममा अभिभावकहरूलाई माया र सम्मानस्वरूप विशेष चिनो प्रदान गरिनेछ । ‘फोर फ्री मक टेस्ट’ अन्तर्गत हाल आयल्स तयारी कक्षामा रहेका विद्यार्थीहरूको लागि ४ वटा निःशुल्क मक टेस्टको अफर सार्वजनिक गरिएको छ । त्यसैगरी ‘फोर फन एक्टिभिटिज फोर रिवार्ड’ अन्तर्गत कार्यक्रमलाई थप आकर्षक बनाउन चारवटा रमाइला खेलहरू आयोजना गरिनेछन् । विजेताहरूलाई विभिन्न आकर्षक पुरस्कार प्रदान गरिनेछ । बञ्जी जम्पको टिकट, चितवन/सौराहा जाने हवाई टिकट, जिपलाइनको टिकट, परिवारका लागि चलचित्र हेर्ने टिकट लगायत उपहार प्रदान हुनेछ । वार्षिकोत्सवको अवसरमा आयल्स तयारी गर्न चाहने नयाँ विद्यार्थीहरूका लागि निःशुल्क तयारी कक्षाहरू पनि उपलब्ध गराइने जनाइएको छ । यो महिनाभर आयल्स कक्षा निःशुल्क हुने सञ्चालक आशिक कार्कीले जानकारी दिए ।

घरजग्गाकाे काराेबारसँगै राजस्व पनि बढ्याे, मसिंरमा ३ अर्ब ८७ कराेड संकलन

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को मसिंर महिनामा घरजग्गाको काराबार बढ्सँगै त्यसबाट संकलन हुने राजस्वमा पनि वृद्धि भएको छ । चालु आवको मसिंर महिनामा गत आवको सोहि अवधिको तुलनामा घरजग्गाबाट संकलन हुने राजस्व ३५ प्रतिशतले वृद्धि भएको भुमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागकाअनुसार चालु आवको मसिंरमा ३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गते आवको सोहि अवधिमा २ अर्ब ८६ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आवको मसिंर महिनामा घरजग्गा सम्बन्धी १ लाख २८ हजार ३८२ पटक कारोबार भएको छ जसमध्ये ४३ हजार ३७९ पटक लिखत पारित भएको छ । गत आवको मसिंर महिनामा १ लाख २७ हजार ६३९ पटक कारोबार भएको थियो । जसमध्ये ४१ हजार ८५१ पटक लिखत पारित भएको थियो । मसिंर महिनामा ४६ हजार २९६ वटा कित्ता कित्ताकाट भएर १ लाख १ हजार ७४१ वटा कित्तामा विभाजन गरिएको छ । गत वर्षको मसिंरमा ४८ हजार ५१३ वटा कित्तालाई कित्ताकाट गरेर १ लाख १० हजार ८३ कित्तामा विभाजन गरिएको थियो ।

राष्ट्रिय जीवन बीमा कम्पनीले सुरू गर्याे वैदेशिक रोजगार बीमा

काठमाडाैं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा सुरु गरेको छ । श्रम इजाजत प्राप्त व्यक्तिले इसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर प्रयोग गरि बीमा गर्न सक्ने कम्पनीले जनाएकाे छ । साथै वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरुले पनि इसेवाबाट सम्बन्धित कामदारको लागि बीमा गराउन सक्ने जनाइएकाे छ । कम्पनी लामाे समयदेखि वैदेशिक राेजगार म्यादी जीवन बीमाबाट बाहिर रहेकाे  थियाे । गत साउन १ गतेदेखि लागु हुने गरि नेपाल बीमा प्राधिकरणले वैदेशिक राेजगार म्यादी जीवन बीमामा पुल प्रणाली लागु गरेकाे  थियाे । यससँगै कम्पनीले साे बीमालेख जारी गर्न सुरू गरेकाे हाे ।

माथिल्लो तामाकोशी नआएसम्म औद्योगिक क्षेत्रमा साँझ विद्युत् कटौती हुने

काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरुनभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको छ । हिउँदयाम सुरुसँगै खोला तथा नदीहरुमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नु पर्नेछ । चिसोका कारण यही समयमा विद्युत्को माग बढ्ने तर नेपालको विद्युत प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत आयोजनाहरूको उत्पादन घट्ने अवस्था छ । हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट विद्युत् आयात गर्नु पर्दछ । यस वर्ष झनै सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नु पर्ने अवस्था नरहेको प्रष्ट पारे । असोज ११ र १२ गतेको अविरला वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पुर्याएको थियो । आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मतसम्भार भइरहेको छ । विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आगामी चैत २ गते (१५ मार्च २०२५)सम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रुपमा ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ । तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत आयात गर्न नपाउने व्यवस्था छ । त्यसपछि ३ चैत २०८१– १६ असार २०८२ (१६ मार्च–३० जुन २०२५)सम्म सोलार आवर अर्थात बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ । कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयका ४ घण्टा भारतबाट विद्युत् आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नु पर्ने वाध्यात्मक अवस्था सिर्जना भएको बताए । घिसिङले भने,‘पिक समयमा आयात अनुमति पाएका छैनौं, माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो,माथिल्लो तामाकोशीको मर्मत तीब्र गतिमा भइरहेको छ, आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नु पर्ने अवस्था छ ।’ गत शुक्रबार बिहान साढे बजेतिर ढल्केबर–नवलपुर १३२ केभी प्रसारण लाइनको तार (कन्डक्टर) चुँडिंदा ढल्केबर पश्चिमका बारा र पर्सा औद्योगिक करिडोरमा विद्युत आपूर्ति प्रभावित भएको थियो । उक्त लाइनको मर्मत गरी सोमबार दिउँसोबाट सञ्चालनमा ल्याइएपछि विद्युत् आपूर्ति नियमित भएको छ । यसैगरी, दर्चुलाको चमेलियादेखि कैलालीको अत्तरियासम्मको १३२ केभी प्रसारण लाइनअन्तर्गत बैतडी खोचलेक भन्ने स्थानमा रुख ढलेर एउटा सर्किटमा क्षति पुगेको छ । उक्त लाइनको मर्मत भइरहेको छ ।

साना किसान विकासले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । लघुवित्तले पुस २३ गते कृषि विकास बैंक, केन्द्रिय तालिम प्रतिष्ठानमा २३ औँ वार्षिक साधारण सभा बोलाएको हो।  सो सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक पदमा नियुक्ति लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १७ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरेका हुन् । आईएमईले प्रति सेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

युक्रेन युद्धको प्रभाव : रुसी तेलको सबैभन्दा ठूलो खरिदार भारत, रिफाइनरीहरू मालामाल

काठमाडौं ।  भारत रुसबाट तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेको छ । चेन्नई-भ्लादिभोस्तोक समुद्री मार्गले आयातलाई झन् सहज बनाएको छ । यो मार्गले  यातायात समय र लागत घटाएको हो । यही नयाँ मार्गबाट नै  कोइला, एलएनजीजस्ता उत्पादनको व्यापार पनि हुने गरेको छ । यस मार्ग परम्परागत मार्गभन्दा १६ दिन कम समय लिन्छ, जसका कारण रुसी तेल खरिदमा भारतलाई फाइदा भइरहेको छ । नयाँ समुद्री मार्ग ‘पूर्वी समुद्री करिडोर’ मार्फत भारत र रुसबीचको व्यापार सहज भएको हो । यसले विशेषगरी तेल आयातमा धेरै सहयोग गरेको छ । सन् २०२४ को मध्यमा भारत रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेको थियो । नयाँ बाटो चेन्नईदेखि भ्लादिभोस्तोकसम्मको रुटले समय र पैसा दुबै बचत गरिरहेको छ । कच्चा तेल, कोइला र एलएनजीजस्ता उत्पादनका साथै अहिले मल र कन्टेनराइज्ड सामान पनि यही बाटोबाट पठाउने गरेको छ । यस मार्गबाट ​​सामान ढुवानी गर्न लाग्ने समय ४० दिनबाट घटेर २४ दिनमा पुगेको छ । भारतले चीनलाई उछिन्यो २०२४ को मध्यमा चीनलाई उछिन्दै भारत रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता बन्न पुगेको हो । परम्परागत रूपमा मुम्बईदेखि सेन्ट पीटर्सबर्ग सम्मको समुद्री मार्ग ८ हजार ६७५ समुद्री माइल लामो थियो । यसले ४० दिन वा बढी समय लिन्थ्यो । चेन्नई देखि भ्लादिभोस्तोक सम्मको नयाँ रुट करिब ५ हजार ६०० समुद्री माइल छ । यसले ढुवानी समय १६ दिन घटाएको छ, अर्थात् अब २४ दिन मात्रै लाग्छ । एउटा ठूलो जहाज लगभग ४५ किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्छ । यसले लगभग १२ दिनमा भ्लादिभोस्टोकदेखि चेन्नईको दूरी कभर गर्छ । यो परम्परागत सेन्ट पिटर्सबर्ग-मुम्बई मार्गले लिने समयको एक तिहाइ भन्दा कम हो । भ्लादिभोस्तोक प्रशान्त महासागरमा रहेको रुसको सबैभन्दा ठूलो बन्दरगाह हो । यो चीन र रुस सीमाबाट करिब ५० किलोमिटर टाढा रहेको छ । केके आयात निर्यात हुन्छ ? पानीजहाज मन्त्रालयको तथ्यांकअनुसार सन् २०२४ मा यस मार्गबाट ​​आयात भएका प्रमुख सामानमा कच्चा तेल, परियोजनाका सामान, कोइला र कोक, वनस्पति तेल र मल पर्छन् । रुसमा निर्यात गरिएका प्रमुख सामानहरूमा प्रशोधित खनिजहरू, फलाम र स्टील, चिया, समुद्री उत्पादनहरू र चिया-कफी समावेश थिए । परिमाणका हिसाबले कच्चा तेल, कोइला र कोक, मल, वनस्पति तेल र फलाम तथा स्टिल सबैभन्दा बढी आयात भएका छन् । त्यस्तै, प्रशोधित खनिज, फलाम तथा स्टिल, चिया, ग्रेनाइट र प्राकृतिक ढुङ्गा, प्रशोधित फलफूल र जुस निकासीमा प्रमुख छन् । भारतीय रिफाइनरीहरूको वार्षिक मर्मतसम्भारका कारण वर्षको दोस्रो ६ महिनामा कच्चा तेलको आयातमा केही कमी आएको थियो । समग्र आयातमा कमी आए पनि रुसको युराल कच्चा तेलको आयात अक्टोबरमा चार महिनाकै उच्चमा थियो । युराल भारतको रुसी तेल खरिदको मुख्य आधार हो । यो भारतीय रिफाइनरीहरूद्वारा आयात गरिएको रुसी तेलको तीन चौथाई हो । यद्यपि, केही अन्य रुसी कच्चा तेलको आयातमा तीव्र गिरावट आएको छ । यसअघि इराक र साउदी अरब सबैभन्दा ठूलो आपूर्तिकर्ता युक्रेन युद्धअघि इराक र साउदी अरब भारतलाई कच्चा तेलको शीर्ष दुई आपूर्तिकर्ता थिए । तर, जब पश्चिमी देशले रुसमाथि प्रतिबन्ध लगाए, रुसले आफ्नो तेलमा छुट दिन थाल्यो । यसको फाइदा भारतीय रिफाइनरीहरूले उठाए । तर, समयसँगै छुटमा कमी आएको छ । अझै पनि भारतीय रिफाइनरीहरू रुसी तेल किन्न इच्छुक छन् । कारण ठूलो परिमाणमा आयात भएकाले कम छुटमा पनि धेरै बचत हुने गरेको छ । भारतका लागि रुससँगको सम्बन्ध केवल तेल व्यापारमा मात्र सीमित छैन । यस सम्बन्धले रुसलाई चीनतर्फको झुकाव कम गर्न पनि मद्दत गर्ने विज्ञहरू बताउँछन् । यसैगरी, भारत आणविक पनडुब्बीमा सहयोगका लागि पनि रुसमा निर्भर छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ मा भारत भ्रमण गर्ने कार्यक्रम छ । (एजेन्सीहरूको सहयोगमा)