विकासन्युज

नेपाल एसबिआई बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा १५ प्रतिशत छुट

काठमाडौं । नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले र्‍याडिसन होटलमा छुट पाउने भएका छन् । बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले र्‍याडिसन होटेलमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । बैंक र र्‍याडिसनहोटलबीच डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमूख कार्यकारी अधिकृत (सीईओ) दीपक कूमार देको उपस्थितिमा प्रमुख संचालन अधिकृत विकास आनन्द र र्‍याडिसन होटेलका निर्देशक (खाध्य तथा पेय पदार्थ), केदार पाण्डेले आदानप्रदान गरेका थिए । हाल बैंकले १ सय शाखा कार्यालय, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

राष्ट्रिय बीमा कम्पनीले सञ्चालकको बैठक भत्ता बढाउने, २ वर्षको प्रतिवेदन तयार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले सञ्चालकहरूको बैठक भत्ता बढाउने भएको छ । कम्पनीले सञ्चालकहरूको बैठक भत्ता प्रतिबैठक ६ हजार रुपैयाँ, सञ्चार तथा पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक १२ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले पुस २४ गते काठमाडौंमा बिहान ११ बजे दोस्रो साधारण सभा बोलाएको हो । कम्पनीको सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । यस्तै, महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को नियुक्ति एवं पारिश्रमिक अनुमोदन गर्ने, महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिवाट आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एवं पारिश्रमिक समर्थन गर्नेछ । सञ्चालकहरूको आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को बैठक भत्ता एवं सुविधा अनुमोदन गर्नेछ ।

एनएमबि बैंकको पुँजी २१.३६ अर्ब रुपैयाँ पुर्याउने, अग्राधिकार सेयर पारित गर्न डाक्यो सभा

काठमाडौं । अग्राधिकार सेयर पारित गर्न एनएमबि बैंकले २९औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको बैठकले पुस २५ गते काठमाडौंमा बिहान १० बजे साधारण सभा बोलाएको हो । बैंकको सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रतिकित्ता १ सय रुपैयाँ दरका ३ अर्ब रुपैयाँको एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारीपश्चात् बैंकको अधिकृत पुँजी २० अर्ब रुपैयाँलाई २५ अर्ब रुपैयाँ पुर्याउने, जारी तथा चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँलाई वृद्धि गरेर २१ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुरÞ्याउने प्रस्ताव पारित गर्नेछ । बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समिति र २. लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गर्नेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेछ । (हालका लेखापरीक्षक एस.ए.आर. एशोसिएट्स, चार्टर्ड एकाउण्टेन्ट्स पुनः नियुक्त हुनका लागि योग्य रहेको बैंकले जनाएको छ ।

लाभांश पारित गर्न माउन्टेन इनर्जीले डाक्यो ११औँ सभा, १.३० अर्बको हकप्रद जारी गर्ने

काठमाडौं । लाभांश तथा हकप्रद सेयर प्रस्ताव पारित गर्न माउन्टेन इनर्जी नेपालले ११औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले पुस २८ गते काठमाडौंमा बिहान १० बजे ११औँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँको १५ प्रतिशतका दरले ३३ करोड ९४ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७८ प्रतिशतका दरले १ करोड ७८ लाख ६७ हजार रुपैयाँ नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बोनस वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले उक्त चुक्ता पुँजीको १ः०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार रुपैयाँको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । यस्तै, सञ्चालक समितिमा एक जना महिला सञ्चालक निर्वाचन र लेखापरीक्षक नियुक्त गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

आज सेयरधनी बने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश पाइने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज पुस २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । लाभांश प्रस्ताव पारित गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६औँ वार्षिक साधारण सभा पुस १९ गते मणिग्राम रुपन्देहीमा बिहान ११ बजे बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०८०/८१ को चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार रुपैयाँको ३ प्रतिशतका दरले १४ करोड २० लाख १० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले २३ करोड ६६ लाख ८४ हजार रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । यस्तै, सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्नेछ ।

सालझण्डी-ढोरपाटन खण्डः १४ वर्षमा ३० प्रतिशत काम

ढोरपाटन (बागलुङ) । सालझण्डी-ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो । रुपन्देहीको सालझण्डीबाट सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङगरी पाँच जिल्लालाई जोडेको छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने मुख्यमार्गका रूपमा रहेको यस खण्डको ट्र्याक खुलेदेखि स्तरोन्नति हुन नसकेको हो । सालझण्डीबाट ढोरपाटनसम्म एक सय ९७ किलोमिटर लामो यस खण्डअन्तर्गत हालसम्म १८ किमी मात्रै कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ । सोमध्ये रुपन्देहीमा ४.५ किमी र अर्घाखाँचीमा १३.५ किमी मात्रै सडक कालोपत्र भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इञ्जिनियर कृष्टिना थापाले जानकारी दिए । अहिले पाँचवटै जिल्लाका विभिन्न खण्डमा ग्राभेलिङसहित काम भइरहेका उनले बताए । इञ्जिनियर थापाका अनुसार बागलुङको बुर्तिबाङबाट फल्लेघरसम्मको २२ किमी ग्राभेल हुँदैछ भने रुपन्देही र पाल्पाको खण्डअन्तर्गत कञ्चनखोलाबाट खुर्सानेसम्म १३.५ किमी कालोपत्र भइरहेको छ । उनले पाल्पाको खुर्सानेबाट अर्घाखाँचीको पतौटसम्मको २२ किमी सडक पनि कालोपत्र भइरहेको जानकारी दिए । त्यस्तै अर्घाखाँचीको माटेबाट भण्डारासम्म ७ किमी, गुल्मीको पुर्कोटदहबाट सिर्सेनीसम्मको १९ किमी, सिर्सेनीबाट गुल्मीको अर्खबाङसम्मको ८.२ किमीसडक कालोपत्र भइरहेको थापाले उल्लेख गरे । अर्घाखाँचीमा १८, गुल्मी र बागलुङ ७÷७ गरी ३२ किमी सडक स्तरोन्नतिको काम अझै सुरु हुन नसकेको उनले बताए । पर्याप्त बजेट नआउँदा आयोजनाको प्रगति कम भएको उनको भनाइ छ । ट्र्याक खुलेको लामो समयसम्म सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नुपरेको ढोरपाटन–९ का बमबहादुर सुनारले बताए । साँघुरो सडक, खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारीसाधन बीच बाटोमा बिग्रिने हुँदा अलपत्र पर्ने गरेका उनको भनाइ छ । बर्खाको समय ठप्प हुने भन्दै हिउँदको समयमा पनि यातायातका साधन सहज रुपमा सञ्चालन हुन नसक्ने सुनारले बताए । ‘यो विकट ठाउँमा सडक आएपछि ठूलो राहत भए पनि लामो समयसम्म कालोपत्र नहुँदा यहाँका हजारौँ स्थानीय र पर्यटकले दुःख पाउँदै आएका छन् । टाढाटाढाबाट पर्यटक ढोरपाटन घुम्न आउँछन् तर बाटोको दूरावस्थाले गर्दा अर्को पटक आउने योजना सायद बनाउँदैनन्,’ उनले भने ।

सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम

काठमाडौं । कालीगण्डकी करिडोरको बलेवा-मालढुङ्गा खण्ड कालोपत्रका लागि गरिएको सम्झौता अवधिसकिएपछि मात्रै कामले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोरको बलेवा-मालढुङ्गा खण्डको सम्झौता सकिएसँगै कामले तीव्रता पाउन थालेको हो । अहिले नाली, कल्भर्ट, पर्खाल तथा ग्याबिन लगाउने काम भइरहेको छ । कालोपत्रका लागि विडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता सकिए पनि काम भने करिब ६० प्रतिशत सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । म्याद सकिएसँगै १० किमी सडक निर्माणले तीव्रता पाएको हो । निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरेपछि अहिले मालढुङ्गातर्फको खण्डमा धमाधम पूर्वाधारको काम भइरहेको आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी अरुण खत्रीले बताए । उनका अनुसार दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि हालसम्म ६० प्रतिशत मात्रै पूर्वाधारको काम सकिएको हो । सूचना अधिकारी खत्रीका अनुसार निर्माण व्यवसायीलाई छ महिनाभित्र कालोपत्र सक्न निर्देशन दिइएको छ । दुई वर्षमा आधामात्रै काम गरेको निर्माण व्यवसायीलाई छ महिनाका लागि म्याद थपेपछि कामले गति लिएको उहाँले उल्लेख गरे । ‘अहिलेको सन्तोषजनक काम भइरहेको छ, सम्झौता सकिँदासम्म कालोपत्र नहुनु समस्याको विषय हो, अहिले थपिएको समयभित्र काम सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेका छौँ,’ खत्रीले भने, ‘बागलुङको भकुण्डेस्थित गलुवाको पहिरोका कारण काममा ढिलाइ भएको थियो, अहिले त्यही खण्डमा काम भइरहेको छ ।’ खत्रीका अनुसार बलेवा-हर्मिचौरको ४४ किमी सडक सम्झौताअगावै कालोपत्र भइरहँदा छोटो खण्डको रूपमा रहेको बलेवा-मालढुङ्गा सडकको १० किमी सडक अलपत्र परेको हो । आगामी जेठभित्र कालोपत्र सक्नेगरी मिति थप गरिएको हो । उनका अनुसार १० किमी दूरी रहेको यो खण्डका लागि ५५ करोड रुपैयाँमा निर्माण कम्पनीले ठेक्का लिएको थियोे । थप गरिएको समयसीमाभित्र सक्न कामलाई तीव्रता दिइएको निर्माण कम्पनीका सञ्चालक ध्रुव विडारी जानकारी दिए । सुरुमा निर्माणले तीव्रता पाए पनि समयमा भुक्तानी नपाउँदा समस्या भएको उनको भनाइ छ । ‘थप गरेको समयसीमाभित्रै कामसक्ने हाम्रो प्रयास हुन्छ, अहिले समस्याग्रस्त अलुवा क्षेत्रमा काम भइरहेको छ, गर्मी सुरु हुनासाथ कालोपत्र थाल्ने छौँ,’ विडारीले भने । करिडोर कालोपत्रपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक क्रियाकलाप बढ्नेछन् । नेपालको उत्तरी सीमा चीनको कोरला र दक्षिणी सीमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइन्छ ।

अमेरिकी डलरले फेरी बनायो नयाँ रेकर्ड, नेपाली रुपैयाँ झन कमजोर

काठमाडौं । मंगलबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.४९ रुपैयाँ र बिक्रीदर १३६.०९ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि गत मंसिर २८ गते सबैभन्दा धेरै खरिददर १३५.४८ रुपैयाँ र बिक्रीदर १३६.०८ रुपैयाँ थियो । यससँगै नेपाली रुपैयाँ झन कमजोर बनेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.१३ रुपैयाँ र बिक्रीदर १४२.७६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.४० रुपैयाँ र बिक्रीदर १७२.१६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.८६ रुपैयाँ र बिक्रीदर १५२.५३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.०८ रुपैयाँ र बिक्रीदर ८६.४६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.१४ रुपैयाँ र बिक्रीदर ९५.५६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३६ रुपैयाँ र बिक्रीदर १००.८० रुपैयाँ, जापानी येन १० को खरिददर ८.८१ रुपैयाँ र बिक्रीदर ८.८५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०७ रुपैयाँ र बिक्रीदर ३६.२२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.१७ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८९ रुपैयाँ र बिक्रीदर ३७.०५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.४३ रुपैयाँ र बिक्रीदर ३०.५६ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३६ रुपैयाँ र बिक्रीदर १२.४१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१४ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४३ रुपैयाँ र बिक्रीदर १७.५० रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.२० रुपैयाँ र बिक्रीदर ४४२.१५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५९.२० रुपैयाँ र बिक्रीदर ३६०.७९ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.९२ रुपैयाँ र बिक्रीदर ३५३.४८ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।