विकासन्युज

इन्स्पेक्टरसहित सशस्त्र प्रहरीमा भर्ना खुल्यो, १ हजार १७९ जनालाई रोजगारीको अवसर

काठमाडौं । सशस्त्र प्रहरीमा १ हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो । शुक्रबार विभिन्न पदमा १ हजार १७९ जनाका लागि आवेदन आह्वान गर्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना पक्राशित गरेको हो। सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ । यसैगरी भान्छे २० जना, कूचिकार १९ जना, सूचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि भर्ना खुलाएको हो । दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ । 

निरन्तर नयाँ रेडर्क बनाउँदै सर्वाधिक उचाइमा अमेरिकी डलर, कुन देशको कति ?

काठमाडौं । नयाँ वर्ष २०२५ को तेस्रो दिन पनि अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज थप नयाँ उचाइमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.९१ रुपैयाँ र बिक्रीदर १३७.५१ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत हिजो पुस १८ गते खरिदर १३६.७४ रुपैयाँ र बिक्रीदर १३७.३४ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । आज युरोपियन यूरोको एकको खरिदर १४१.३२ रुपैयाँ र बिक्रीदर १४१.९४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.३१ रुपैयाँ र बिक्रीदर १७१.०६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५०.८७ रुपैयाँ र बिक्रीदर १५१.५३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.०६ रुपैयाँ र बिक्रीदर ८५.४३ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.९२ रुपैयाँ र बिक्रीदर ९५.३३ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३० रुपैयाँ र बिक्रीदर १००.७४ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७६ रुपैयाँ र बिक्रीदर १८.८४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५६ रुपैयाँ र बिक्रीदर ३७.७२ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९९ रुपैयाँ र बिक्रीदर ४.०१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.२७ रुपैयाँ र बिक्रीदर ३७.४४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५७ रुपैयाँ र बिक्रीदर ३०.७० रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३६ रुपैयाँ र बिक्रीदर १२.४१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९५ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६० रुपैयाँ र बिक्रीदर १७.६८ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४३.७९ रुपैयाँ र बिक्रीदर ४४५.७३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३.१५ रुपैयाँ र बिक्रीदर ३६४.७४ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५५.६१ रुपैयाँ र बिक्रीदर ३५७.१६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्विन्टल २० रुपैयाँ बढी र समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत

काठमाडौं । चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको हो । यसपालिको सिजनलाई सरकारले तोकेको मूल्यमा किसानले मन कुड्याएका छन् । गत वर्षको मूल्यमा १५ प्रतिशत वृद्धि गरिनुपर्ने किसानको माग भए पनि सरकारले भने प्रतिक्विन्टल २० रुपैयाँ वृद्धि गरेको छ । आफ्नो उत्पादनले उचित मूल्य नपाएको गुनासो पोख्ने किसानले भुक्तानी भने उद्योगले तौल भएको एक साताभित्रै गरिदिँदा राहत महसुस गरेका हुन् । यसपालि उखुको मूल्य ५८५ रुपैयाँ प्रतिक्विन्टल तोकिएको छ । गत वर्ष यो मूल्य ५६५ रुपैयाँ प्रतिक्विन्टल थियो । यसबाहेक सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानवापत दिनेछ । यो अनुदान रकम भने सरकारले दसैँ, तिहार पर्वका बेला पारेर दिँदै आएको छ । गत मङ्सिर २६ गतेदेखि उखु क्रसिङ थालेको चिनी मिलले यसबीचमा तीनपटक भुक्तानी दिइसकेको छ । ‘मूल्यमा त हामी थिचिएकै हौँ, तर भुक्तानी भने उद्योगले निकै सजिलो बनाएको छ, उखु तौल भएको सात दिन नकट्दै हाम्रै खातामा रकम आइसक्छ,’ भङ्गाहा-४ का किसान अरूण गिरी भन्छन्, ‘पछिल्ला दुई वर्षयता सहज हुँदै गएको भुक्तानी प्रक्रियाले नै उखुखेतीमा जाँगर जोडेको छ ।’ त्यसअघि उखु तौल भएको वर्ष दिनसम्म भुक्तानी नपाएर रूँदै हिँड्नुपरेको दुःख अहिलेको सहज भुक्तानीले बिर्साइदिएको किसान बताउँछन् । उद्योगले यसपालि क्रसिङ थालेको तीन साताभित्र नै तीनपटक भुक्तानी दिइसकेको छभने चौथोपटकको भुक्तानी दिने तयारी गरेको छ । ‘पुस १० गतेसम्म तौल भएको उखुको भुक्तानी भइसकेको छ, अब हामी पुस १५ सम्म भएको तौलको भुक्तानी तयारी गर्दैछौँ,’ उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्ला भन्छन्, ‘सामान्यतः तौल भएको ५/५ दिनमा भुक्तानी गर्ने नीति बनाइएको छ ।’ चौथोपटकको भुक्तानी भोलिसम्म गरिने उनको भनाइ छ । उद्योगले पुस १० सम्म तौल भएको उखुको जम्मा २५ करोड ६ लाख १३ हजार ९८६ रुपैयाँ भुक्तानी गरिसकेको छ । उखु उत्पादक किसानका प्रतिनिधि संस्थाले मूल्यमा आपूmहरूको माग सरकारले नसुनेको गुनासो गर्दै आएका छन् । ‘हामीले गत वर्षको मूल्यमा १५ प्रतिशत वृद्धिको माग गरेका थियौँ, तर सरकारले प्रतिक्विन्टल २० रुपैयाँ थपेर झारा टारेको छ,’ उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहा भन्छन्, ‘यसमा सरकारले पुनर्विचार गर्नुपर्छ ।’ आर्थिक वर्ष २०८१/८२ मा एभरेष्ट चिनी उद्योगले ३५ लाख उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । यो गत वर्षभन्दा छ लाख क्विन्टल बढी हो । यसपालि उखुको क्षेत्रफल र उत्पादन दुवै बढेको छ । २ दशकअघि जिल्लामा १५ हजार बिघामाथि पुगेको उखुखेती भुक्तानी झमेलाले घट्दै गएर ३ वर्षअघि ५ हजार बिघामा झरेको थियो । उद्योगले भुक्तानी सहज बनाउँदै लगेपछि किसानले फेरि उखुखेती बढाउँदै लगेका छन् । यसपालि ९ हजार बिघामा उखुखेती गरिएको छ । आउने वर्षका लागि माघसम्मै उखु रोपिने हुँदा खेती अझै केही बढ्नेछ ।

साढे ७ अर्बको आयोजना ५३ अर्ब पुग्यो, २ दशकमा प्रगति ४१ प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई आव २०६२/६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१/८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१.७९ प्रतिशत भौतिक प्रगति भएको छ । सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते २५ अर्ब २ करोड रुपैयाँ र २०७९ भदौ २६ गते अन्तिमपटक आव २०८९/९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर ५२ अर्ब ८९ करोड रुपैयाँ पुर्याइएको छ । ‘आव २०६१/६२ मा ७ अर्ब ४५ करोड रुपैयाँ अनुमानित लागतबाट सुरू भएको आयोजनाको १९ वर्ष बितिसक्दा तीनपटक लागत अनुमान संशोधित हुँदै ५२ अर्ब ८९ करोड रुपैयाँको बजेट पुगिसकेको छ,’ उनले भने । विसं २०६४ मङ्सिर ३ गते पहिलोपटक लागत संशोधन गरेर १२ अर्ब ८० करोड रुपैयाँ पुर्याइएको थियो । आयोजना सुरू भएदेखि चालु आवको मङ्सिरसम्ममा २१ अर्ब ५५ करोड रुपैयाँ खर्च हुँदा वित्तीय प्रगति ४०.७६ प्रतिशत रहेको र भौतिक प्रगति ४१.७९ प्रतिशत मात्र पुगेको इञ्जिनियर अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार चालु आवका लागि १ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन भएकामा हालसम्म २३ करोड रुपैयाँ खर्च भएको छ । इञ्जिनियर पोखरेलका अनुसार सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ । पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट ९ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ । ‘४२ हजार ७६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजनाबाट १९ वर्ष बित्दा हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ,’ इञ्जिनियर पोखरेलले भने, ‘पश्चिमी मूल नहरको ४५.२५ किलोमिटर निर्माण काम सम्पन्न भइसकेको छ । पूर्वी मूल नहरको ५३.५० किलोमिटरमध्ये ३७.६८ किलोमिटर निर्माण सम्पन्न भएको छ ।’ पश्चिमतर्फका शाखा–उपशाखा–प्रशाखाको ६० प्रतिशत निर्माण सम्पन्न भएको इञ्जिनियर पोखरेलले बताए । उनका अनुसार नहर संरचनाका लागि अधिग्रहण गर्नुपर्ने ४४० हेक्टरमध्ये हालसम्म केवल १७५ हेक्टर जमिन अधिग्रहण गरिएको छ । चालु आवमा पश्चिम मूल नहरको मुख्य डुडुवा शाखाको लागत अनुमान सम्पन्न भई ठेक्का आह्वान भइसकेको छ । ३३ हजार ७६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पश्चिमी मूल नहरबाट हाल १७ हजार हेक्टरमा सिँचाइ पुगेको र ९ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पूर्वी मूल नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा उपलब्ध गराइएको छ । त्यसैगरी मूल नहरभन्दा माथिल्लो भागमा रहेका जग्गामा सिँचाइ उपलब्ध गराउन राप्तीसोनारीका कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा चारवटा लिफ्ट सिँचाइ योजना सम्पन्न हुने चरणमा छन् । राष्ट्रिय गौरवको आयोजना भए तापनि स्रोत सहमतिमा सहजता नहुनु, बजेट विनियोजनमा प्राथमिकता नहुनु, मानव स्रोत र नेतृत्वको स्थायित्व नहुनु, प्रचलित ऐन कानुनमा सरलता नहुनु, जग्गा प्राप्ति प्रक्रिया र वातावरण अध्ययन सर्वेक्षण कार्य छिटोछरितो नहुनु पनि आयोजना कार्यान्वयनमा समस्या हुने गरेको सिक्टा सिँचाइका पदाधिकारीको भनाइ छ ।

विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नति, ४ महिनामा काम सक्ने

काठमाडौं । विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा तीनवटा सडक धमाधम स्तरोन्नति भएका छन् । स्तरोन्नति भइरहेको नगरपालिकाका तीन सडकको भौतिक प्रगति ६ महिनामा २५ प्रतिशत पुगेको छ । बागलुङ जिल्लाकै सबैभन्दा बढी लागतमा उक्त सडक कालोपत्र हुँदैछन् । विश्व बैंकको अनुदानमा उक्त सडकको स्तरोन्नति अहिले धमाधम भइरहेको छ । असारबाट काम थालिएको उक्त सडकमा अहिले सयौँ उपकरण र श्रमिक परिचालन गरिएको छ । बागलुङ नगरपालिका-७ को मूलपानीबाट तितौरेसम्मको ८.६ किलोमिटर, वडा नम्बर ४ स्थित ओडारचौरबाट ढोडेनीसम्म २.२ किलोमिटर र वडा नम्बर १ रामरेखास्थित गणेशथान घुम्तीबाट नीरयघाटको १.५ किमी सडक एकसाथ कालोपत्रका लागि स्तरोन्नति भइरहेको छ । तीनवटै सडक एकसाथ कालोपत्र भएमा नगरका स्थानीयलाई आवतजावतमा सहज हुनेछ । उक्त सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशभरका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको छ । निर्माण व्यवसायीका अनुसार अबको चार महिनामा पूर्वाधारतर्फको काम सकेर कालोपत्रको तयारी गर्ने निर्माण व्यवसायीतर्फका इञ्जिनियर मनोज शर्माले जानकारी दिए । शर्माका अनुसार एक वर्षको ठेक्का सम्झौता रहेको उक्त सडक आगमी असार मसान्तभित्र कालोपत्र सक्नुपर्ने छ । ‘झण्डै आधा अर्बको ठेक्का एक वर्षमा सक्नुपर्ने निकै चुनौतीपूर्ण काम हो, हामीले जनशक्ति र उपकरण थप गर्दै कामलाई तीव्रता दिएका छौँ, ६ महिनामै २५ प्रतिशत काम सम्पन्न गरेका छौँ, अबको ४ महिनामा पूर्वाधारको काम सक्ने लक्ष्य छ, पूर्वाधार सकिए दुई महिनामा सडक पूरै कालोपत्र गर्न सकिन्छ,’ इञ्जिनियर शर्माले भने, ‘उक्त सडक अहिलेसम्मकै स्तरीय र नमूना हुनेछ, सडक निर्माण अत्यन्तै नमूना भएकाले लागत बढी भएको हो ।’ सडक निर्माणका लागि चाहिने कच्चा सामग्री ढुङ्गा, गिट्टी र बालुवाको आयात बढाएर निर्माणलाई थप तीव्रता दिने निर्माण व्यवसायीकोे भनाइ छ । स्तरोन्नतिसँगै सडक कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवासँग २०८१ जेठ २३ गते एक वर्षमा सम्पन्न गर्नेगरी ४९ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तीनवटै सडकको लम्बाइ जम्मा १३ किमी छ । विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भए पनि गत जेठमा मात्र ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको अनुदान सहयोगमा नगरपालिकाभित्रका तीन सडक नमूना बनाइने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरपालिका र विश्व बैंकको सम्झौता अनुसार ५८ करोड रुपैयाँ अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्ने उल्लेख गरिएको भए पनि ठेक्का सम्झौतामा जादा ४९ करोड २२ लाख रुपैयाँ पुगेको थियो । नगरपालिकाभित्र निर्माण हुने तीन ठूला सडकले विकासको मोडेल पस्कने अपेक्षा गरिएको छ । उक्त सडक प्रविधिमैत्री हुनेछ । उक्त सडकहरू ८ मिटर चौडा हुनेछन् ।

९ वर्षपछि दोदा नदीमा पुल निर्माणले लियो गति, २०८२ माघमा सम्पन्न गर्ने

काठमाडौं । कञ्चनपुरको देखतभूली पर्सिया सडकखण्ड अन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको ९ वर्षपछि पुल निर्माण कार्य अगाडि बढेको हो । विसं २०७२ पुस २६ गते लुम्बिनी-राजेन्द्र-कुमार-श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि २४ करोड २२ लाख ५७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीले कार्य गर्न नसक्दा पुल निर्माणको काम अलपत्र परेको थियो । पुलका तीनवटा पिलर खडा गरे पनि ‘पाइल टेष्ट’मा फेल हुँदा काम अगाडि बढ्न सकेको थिएन । ‘त्यही अवस्थामा पुल निर्माणको काम अगाडि बढाउन सकिने अवस्था थिएन, मर्मत गर्न सकिने अवस्था पनि भएन, पुलको डिजाइन नै ‘रिभ्यू’ गरेर निर्माण अहिले अगाडि बढाएका छौँ,’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीले भने । लागत नबढ्नेगरी पुलका पिलरको फाउन्डेसनको ‘डायमिटर’ बढाएर कार्य अगाडि बढाइएको उनको भनाइ छ । पहिलेको डिजाइनअनुसार पुलको डायमिटर ८० सेन्टिमिटर थियो भने अहिले बढाएर १२० सेन्टिमिटर राखिएको छ । पुलको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । विसं २०८२ माघ २० गतेसम्म पुल निर्माण पूरा गरिसक्ने गरी म्याद थप गरिएको छ । पुलको लम्बाइ २११ मिटर रहेको छ भने चौडाइ ११ मिटर छ । ठेक्का सम्झौताअनुसार जेभीमा आबद्ध राजेन्द्र निर्माण सेवाले काम गर्न नसकेपछि अहिले जेभी पार्टनर कुमार श्रेष्ठले कार्य गरिरहेको छ । पुल निर्माणका लागि पहिला दिएको भुक्तानी १२ करोड रुपैयाँ बैंक धरौटीबाट असुलउपर गरिएको छ । निर्माण कम्पनीले १० करोड रुपैयाँ जतिको कार्य पूरा गरेको सूचना अधिकारी जोशीले बताए । निर्माणअनुसार पहिलो ‘रनिङ बिल’को भुक्तानी दिन काम अगाडि बढाइएको छ । बजेट अभावले भुक्तानी दिन ढिलाइ भइरहेको उनको भनाइ छ । लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले हिउँदयाममा नदीमा अस्थायी राखिने काठको पुलमा शुःल्क तिरेर तर्दै आएका छन् । वर्षात्का बेला बाढीमा नदी जोखिम मोलेर तर्नुपर्ने स्थानीय बासिन्दाको बाध्यता छ । पुल निर्माणले गति लिएपछि विगतको जोखिम मोलेर र शुःल्क तिरेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य हुने शुक्लाफाँटा नगरपालिका-१२ का वडाध्यक्ष नवलसिंह रानाले बताए । ‘पुल निर्माण बीचमा छाडेर निर्माण व्यवसायी बेखबर भएपछि पुल बन्ने आश छाडेका थियौँ, अहिले पुल निर्माणको कार्य दु्रतगतिमा अगाडि बढेकाले बन्ने आशा पलाएको छ, वर्षौदेखिको नदीमा जोखिम मालेर तर्नुपर्ने अवस्था अन्त्य हुने विश्वास छ,’ उनले भने । शिक्षक गेंदुराम राना पुल बनेपछि वर्षात्का बेला नदीमा बाढी आउँदा लालझाडी गाउँपालिकाका बासिन्दाको जिल्ला सदरमुकामसँगको सम्पर्कविच्छेद हुने समस्या सधैँका लागि हट्ने बताउँछन् ।

माइनस १५ डिग्रीमा पनि २ सय बढी पर्यटक, सगरमाथा क्षेत्रका होटल व्यवसायी उत्साहित

काठमाडौं । पछिल्लो एक सातामा २२८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीका अनुसार पुस ११ देखि १८ गतेसम्ममा ९१ महिला र १३७ पुरूष गरी २२८ जना विदेशी पर्यटक भ्रमणका लागि लुक्ला ओर्लिएका हुन् । पुस ११ गते २८, १२ गते ३१, १३ गते ३०, १४ गते ६६, १५ गते ३६, १६ गते १९, १७ गते चार र १८ गते १४ जना विदेशी पर्यटक भित्रिएको विमानस्थल कार्यालयको तथ्याङ्क छ । अफसिजनमा विगतमा पर्यटक आगमन शून्यजस्तै हुने गरे पनि यस वर्ष पर्यटकको आगमन राम्रो देखिएको पर्यटन व्यवसायी तोयाकुमार श्रेष्ठले बताए । चिसो समयको प्रवाह नगरी भ्रमण गर्ने विदेशीको सङ्ख्या बढेसँगै होटल व्यवसायी पनि उत्साहित भएका छन् । ‘अफसिजनमा भित्रिएका पर्यटकले हामीलाई निकै खुसी दिएको छ, पहिलापहिला त पुस-माघमा हामी यत्तिकै बस्नुपथ्र्यो, तर यो वर्ष अलिक राम्रैसँग विदेशी आइरहेका छन् । यसले होटल व्यवसायलाई राम्रो भएको छ,’ होटल व्यवसायी जाङ्मु शेर्पाले भने । खुम्बुमा यो समय चिसोका कारण हिँडडुल गर्न निकै सकस रहेको बताइएको छ । हिमपातपछि अत्यधिक चिसोले पानी जम्दा दैनिकी असहज भएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । चिसोका कारण पाइपमै पानी जम्दा पिउने पानी आपूर्तिमा समस्या भएको उनको भनाइ छ । करिब एक साताअघि परेको हिमपातले खुम्बुमा झन् चिसो बढेको स्थानीयले बताएका छन् । जसका कारण धेरैजसो व्यवसायी जाडो छल्न काठमाडौंसहित अन्यत्र गएका छन् । खुम्बुमा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको बताइएको छ । सुरक्षामा प्रहरी तल्लीन पर्यटकको आगमनलाई मध्यनजर गर्दै नेपाल प्रहरी सुरक्षामा सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पर्यटकको शान्ति, सुरक्षाका लागि खुम्बु क्षेत्रको प्रहरी युनिटलाई सक्रिय गराइएको छ । अफसिजन पर्यटकको आगमन बाक्लिएसँगै प्रहरीलाई मोबाइल गस्तीसहित सुरक्षा व्यवस्थामा चुस्त गरिएको छ । ‘खुम्बुमा अफसिजन विदेशी पर्यटकको सङ्ख्या बढेको भन्ने सूचना आएसँगै नेपाल प्रहरीलाई थप सक्रिय गराएका छौँ, विदेशी पाहुनाको सुरक्षा व्यवस्थापनका लागि सगरमाथा क्षेत्रअन्तर्गतका सबै प्रहरी युनिटलाई ब्रिफिङ गराई सक्रिय गराइएको छ, शान्ति सुुरक्षाका सवालमा हामी कुनै कमी हुन दिनेछैनौँ,’ प्रहरी नायब उपरीक्षक घिमिरेले भने ।

आज देशभर मौसम सफा रहने, शनिबारको पूर्वानुमान कस्तो छ ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने मुलुकका बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । शनिबार बिहान तराई तथा काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।