विकासन्युज

लेखा समिति सभापतिका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध ठगी आरोपमा पक्राउ पुर्जी जारी भएको छ । यो विषय सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका छन् । सप्तरीका बौआलाल चौधरीले २०७९ सालमा मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा हालेका थिए । एमबीबीएसको परीक्षामा नाम निकालिदिने भन्दै अनिलले रकम लिएको आरोप चौधरीको छ । उनीविरुद्धको उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएको छ । सभापति पोखरेलले संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेको जनाइएको छ । नेकपा एमालेको मोरङ जिल्ला कमिटी सदस्य समेत रहेका अनिल २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवारका लागि सिफारिसमा परेका थिए ।

एमसिसीले नेपाललाई थप ६ अर्ब ८० करोड प्रदान गर्ने, कुल लागत १०० अर्ब नजिक

वासिङ्टन । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले रु ६ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले जनाएको छ । ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर स्वीकृत गरेको छ । बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरूमार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्ने एमसिसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको छ,’ एमसिसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसिसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । एमसिसी परियोजनाअन्तर्गत चार सय केभीको डबल सर्किट तीन सय १५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ । काठमाडौँको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइने छ । प्रसारण लाइन निर्माणपछि नेपाल–भारतबीच तीन हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ । रासस

महुली लघुवित्तको एफपीओ बाँडफाँड, ९ जनाले पाए ११ कित्ता

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले पुस १९ गते शुक्रबार सेयर बाँडफाँड गरेको हो । गोलाप्रथाबाट सेयर बाँडफाँड गर्दा ४७ हजार ५ सय ४४ जनाले मात्र सेयर पाएका छन् । जसमध्ये मध्ये ९ जनाले ११ कित्ता सेयर पाएका छन् भने एक जनाले १०.१५ कित्ता सेयर पाएका छन् । बाँकिले भने १० कित्ताको दरले सेयर पाएका छन् । कम्पनीले पुस ५ देखि पुस ९ गतेसम्म एफपीओ निष्काशन गरेको थियो । लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४ सय ४९ कित्ता सेयर निष्काशन गरेको थियो । एफपीओमा कुल १६ लाख ९२ हजार १ सय ६ जनाले आवेदन दिएका थिए ।

चीनमा थप सक्रिय आर्थिक नीति लागू गरिने, जीडीपी करिब ५ प्रतिशतले बढ्ने अपेक्षा

काठमाडौं । चीनको २०२४ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १३० ट्रिलियन युआन (१७.८ ट्रिलियन डलर) भन्दा बढी हुने अपेक्षा गरिएको छ । मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ वर्षको सम्बोधन गर्दै २०२५ मा वृद्धिलाई प्रवर्द्धन गर्न थप सक्रिय आर्थिक नीतिहरू लागू गरिने उल्लेखसमेत गरे । चीनको अर्थतन्त्रले यस वर्ष लामो समयको मन्दी, बढ्दो स्थानीय सरकारी ऋण र उपभोक्ता विश्वासको कमीजस्ता समस्याहरूको सामना गरिरहेको छ । चीन विश्वको दोस्रो ठूलो अर्थव्यवस्था हाे । चीनको अर्थतन्त्रको प्रमुख हिस्सा निर्यात हाे । यो पनि सम्भावित उच्च ट्यारिफका कारण जोखिममा पर्ने सम्भावना छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हासिल गरेपछि डाेनाल्ड ट्रम्पले चीनलाई पनि ट्यारिफ लगाउने धम्की दिएका थिए । एक टेलिभिजन सम्बोधनमा सीले चीनले घरेलु र विदेशी परिवेशमा परिवर्तनको प्रभावलाई सम्बोधन गर्न र अघिल्लो वर्ष उच्च गुणस्तरको विकासको खोजी गर्न पूर्ण श्रृङ्खलाको नीतिहरू अपनाएको बताए । सेप्टेम्बरको अन्तदेखि अधिकारीहरूले प्रोपर्टी मार्केट र घरेलु मागलाई समर्थन गर्न व्यापक ब्याजदर कटौती र घर किन्ने नियमहरूमा ढिलोपनाजस्ता उपायहरू ल्याएका छन् । ‘वर्तमान आर्थिक सञ्चालनले नयाँ चुनौतीहरूको सामना गरिरहेको छ, जसमा बाह्य वातावरणमा अनिश्चितताको चुनौती र पुराना वृद्धि चालकहरूबाट नयाँमा रूपान्तरणको दबाब समावेश छ,’ शीले भनेका थिए । ‘तर हामी हाम्रो कडा परिश्रमबाट विजयी हुन सक्छौं । जस्तै सधैं हामी हावाहुरीमा अगाडि बढ्छौं र कठिन समयबाट गुज्रिँदै बलियो बन्छौं,’ उनले थपे, ‘हामी आत्मविश्वासी हुनुपर्छ ।’ एक सम्बोधनमा सीले यो वर्ष चीनको जीडीपी करिब ५ प्रतिशतले बढ्ने अपेक्षा गरेको जानकारी दिए, यसले २०२४ को आधिकारिक वृद्धि लक्ष्य पूरा गर्ने सङ्केत गर्छ । यस महिनाको सुरुमा शीर्ष नेताहरूले १४ वर्षमा पहिलो पटक ‘उचित रूपमा खुकुलो’ मौद्रिक नीतिमा परिवर्तन गर्ने प्रतिज्ञा गरेका थिए । उनीहरूले खपत बढाउन र अर्को वर्ष वृद्धिलाई थप बढाउन ऋण जारी गर्ने प्रतिज्ञा पनि गरेका छन् । चीनका अधिकारीहरूले स्रोतहरूको हवाला दिँदै रोयटर्सलाई बताएअनुसार २०२५ मा ३ ट्रिलियन युआन (४११ अर्ब डलर) बराबरको विशेष ट्रेजरी बण्ड जारी गर्न सहमति जनाएका छन् । देशको बजेट घाटा २०२५ मा जीडीपीको ४ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ । स्रोतका अनुसार सरकारले करिब ५ प्रतिशतको वृद्धि लक्ष्य कायम राख्ने योजना बनाएको छ ।

बीमा प्राधिकरणले माग्यो धेरै संख्यामा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न पदका लागि आवेदन खुलाएको छ । प्राधिकरणले कार्यकारी निर्दैशकदेखि साहायक प्रथमका लागि आवेदन माग गरेको हो । प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कद्वारा हुने बढुवा, आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा र खुला, समावेशी प्रतियोगितात्मक लिखित परिक्षाबाट कर्मचारी परिपूर्ति गर्न लागेको सूचनामा उल्लेख छ । जसअनुसार कार्यक्षमताको मूल्याङ्कद्वारा हुने बढुवा अन्तर्गत एक जना कार्यकारी निर्देशक, ४ जना निर्देशक र २ जना कानून तर्फको उपनिर्देशक सहित ५ जना उपनिर्देशकका लागि आवेदन खुलाएको हो । यसैगरी, आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा अन्तर्गत एक जना उपनिर्देशक पदका लागि आवेदन माग गरिएको सूचनामा उल्लेख छ । खुला तथा समावेशी तर्फ १० जना साहायक निर्देशक र ४ जना सहायक प्रथमका लागि आवेदन माग गरिएको छ । सहायक निर्देशकका लागि स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने छ । यसैगरी, सहायक प्रथमका लागि स्नातक तहको उपाधि प्राप्त गरेको हुनुपर्ने छ । आवेदन दिने अन्तिम मिति माघ १८ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आवेदन दिन सकिने छ ।

कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि आफूले एउटै कुरा गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्लो कार्यकालमा भ्रष्टाचारको विरुद्ध, सामाजिक विभेदको विरुद्ध र सुशासनको पक्षमा इमान्दारितापूर्वक देशलाई राहत दिने पक्षमा काम गरेको जिकिर गरे । उनले आफू भावुक रहेको र आफ्नो निष्ठा सफा रहेको बताए । उनले एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्नेकुरामा आफू सहमत रहेको जानकारी दिए । ‘म के भन्न चाहन्छु भने मैले कम्तिमा पनि पछिल्लो कार्यकाल मैले भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायको पक्षमा आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारितापूर्वक गरेँ’, उनले भने । अध्यक्ष दाहालले स्वच्छ, निष्पक्ष पत्रकारिताका लागि पत्रकार महासंघले खबरदारी गर्नुपर्ने बताए ।

टोखा-छहरे सुरुङमार्ग बन्ने पक्का, अध्ययन गर्न चिनियाँ टोली नेपाल आउँदै

काठमाडौं। राजधानीबाट नजिकै छ, टोखा-छहरे सुरुङमार्ग । जसको चर्चा हुन थालेको झण्डै डेढ वर्ष भइसकेको छ । गत मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका बेला बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत उक्त आयोजनालाई पनि समेटिएको थियो । दुई देशका उच्च अधिकारीले ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा हस्ताक्षर गरेका थिए । तर, उक्त आयोजना बीआरआई सहकार्य फ्रेमवर्कभित्र परे पनि निर्माण प्रक्रिया कसरी अघि बढ्छ भन्ने अन्याेल भने कायमै छ । जबकि प्रधानमन्त्री चीन गएको ठ्याक्कै एक महिना पुरा भइसक्यो । यसअघि सरकारले उक्त आयोजना अनुदानमा बनाइदिन चीनसँग आग्रह गरेको थियो । आजभन्दा ५ वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा चीनले आफ्नो देशको सीमाबाट सबैभन्दा छिटो नेपालको राजधानी जोड्ने उक्त सुरुङमार्ग र केही सडकखण्ड अनुदानमा बनाइदिने सहमति जनाएको थियो । साथै सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा उक्त आयोजना निर्माणका लागि नुवाकोटकै नेता तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुँदा बजेट वक्तव्यमा विस्तृत आयोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका कार्य अघि बढाउन एक अर्ब बजेट विनियोजन भएको थियो। तर सुरुङमार्गको काममा प्रगति नभएपछि उक्त रकम अन्य आयोजनामा रकमान्तर गरेको सडक विभागका अधिकारीहरूले बताएका छन्। सुरुङमार्गमा के हुँदैछ, के-के भयो ? सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैसीका अनुसार पाँच वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा टोखा-छहरे सुरुङमार्गको अध्ययन प्राथमिकतामा राखेको र पूर्वसम्भाव्यता अध्ययनका लागि चिनियाँ परामर्शदाता नेपाल आएको थियो । उक्त टोलीले सुरुङ मार्गको निर्माण गर्ने स्थानको अध्ययन गरेको थियो । अध्ययनपछि सडक विभागमा चिनियाँ परामर्शदाताले प्रस्तुतिकरण गरेका थिए । जसमा ३ वटा विकल्प देखाइएको थियो । अध्ययनअनुसार सुरुङको दूरी ४/५ किलोमिटर हुने अनुमान गरिएको थियो । चिनियाँ टोलीलाई त्यसम्बन्धी आवश्यक पर्ने सबै कागजात उपलब्ध गराएको जैसीले बताए । काठमाडौं-टोखा-छहरे-विदुर, काठमाडौं-ओखरपौवा-विदुर र काठमाडौं-नौबिसे-गल्छी सडकमा दैनिक गुड्ने सवारी साधनको तथ्यांकसमेत उपलब्ध गराइएको उनको भनाइ छ । चीनले टोखा-छहरे सुरुङमार्गको ईआईए रिपोर्ट समेत मागेको जैसीले जानकारी दिए । ‘डीपीआर नभई ईआईए गर्न मिल्दैन, हामी सबै अध्ययन गर्न अनुमति दिन्छौं भनेर वन तथा भू-संरक्षण विभागले चिठी लेखिदिएको छ,’ उनले भने, ‘उक्त चिठीपछि उनीहरू आउने भन्ने थियो, त्यसपछि केही जानकारी आएको छैन । अहिले आयोजनालाई बीआरआई सहकार्य फ्रेमवर्कभित्र राखिएको छ, ५/६ महिना अघिमात्रै उक्त सुरुङको अध्ययनका लागि चिनियाँ टोली आउने विषय थियो । तर, हालसम्म पनि आएको छैन ।’ लगानी बोर्डले एक दशकअघि गरेको अध्ययनमा ४ किलोमिटर लामो सुरुङ बनाउन करिब साढे २६ अर्ब रुपैयाँ खर्च हुने आँकलन गरिएको विभागका अधिकारीहरू बताउँछन् । सडक विभागका अनुसार चिनियाँ लगानीमा बन्ने भएपछि उक्त सुरुङमार्गको लगानीबारे नेपालले धेरै अध्ययनहरू गरेको छैन । सडक विभागलाई पनि यो सुरुङमार्गबारे सहजीकरणको लागि मात्रै पत्र लेखिएका कारण लागतबारे धेरै अध्ययन नभएको विभागका अधिकारीहरूको भनाइ छ । जापानी सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरुङ करिब १६ अर्ब रुपैयाँ ऋण लिएर नेपाल सरकारले निर्माणको काम अघि बढाएको थियो । यो परियोजनाअन्तर्गत सुरुङ निर्माणसहितका काममा ११ अर्ब रुपैयाँ जति खर्च भइसकेको सडक विभागका उप-आयोजना निर्देशक सञ्जय पन्थी बताउँछन् । निर्देशक पन्थीका अनुसार नागढुङ्गा सुरुङमार्गको ८४ प्रतिशत काम सकिएको छ । हाल ढलान, भेन्टीलेसन, टोल संकलन केन्द्र, अक्सिजनका भेन्टहरू, फायर एक्टिङ्गुइसर, कम्युनिकेसनलगायतको काम भइरहेको छ। हाल एक किलोमिटर सुरुङ बनाउन करिब ६ अर्ब रुपैयाँ लागत लाग्ने गरेको देखिन्छ। यसमा मुल सुरुङबाहेक सो सुरुङमार्गमा आपतकालीन उद्धारमा प्रयोग हुने २ हजार ५ सय ५७ मिटर लामो सहायक सुरुङ पनि रहनेछ । २.६८ किलोमिटर लम्बाइ भएको उक्त सुरुङमार्गमा ३.५ मिटर चौडाइका दुईवटा लेन रहने र दुवैतर्फ पानी बग्ने नालीहरूको व्यवस्था गर्ने जनाइएको छ । त्यहाँ पुल, कल्भर्ट र अन्य संरचना १२ वटा अनि दुवैतर्फ टोल स्थापना भइसकेका छन् । २४ घण्टा भेन्टिलेसन रहने भनिएको उक्त सुरुङमार्गमा आपतकालीन उद्धार प्रणाली पनि स्थापना गरिएको छ । उक्त सुरुङको जुनसुकै स्थानमा कुनै घटना भएको खण्डमा बढीमा ७ मिनेटभित्र त्यहाँ पुग्ने गरी व्यवस्थापन गरिने सडक विभागको प्रगति विवरणमा उल्लेख छ । यो सुरुङमार्ग साढे तीन वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको थियो । तर लक्ष्यअनुसार काम भएको छैन । काम सम्पन्न गर्न अब बढीमा ५ महिना लाग्न सक्ने बताइएको छ । अर्थमन्त्रालयका प्रवक्ता महेश भट्टराई टोखा-छहरे सुरुङमार्गबारे आफूलाई धेरै जानकारी नभएको बताउँछन् । उनले भने, ‘कहिले अगाडि बढ्छ, के-के हुन्छ यसबारे हामीलाई केही थाहा छैन ।’ उनले सम्भवतः आगामी वर्षको बजेटमा यो आयोजना समेट्ने तयारी भइरहेको बताए । के भन्छ परराष्ट्र मन्त्रालय ? परराष्ट्र मन्त्रालयका अनुसार सुरुङको पूर्वसम्भाव्यता अध्ययन यसअघि नै भइसकेको र अब सम्भाव्यता अध्ययन गरी डिपीआर तयार गर्ने विषयमा नेपाल सरकार र चिनियाँ सरकारबीच सहमति भएको छ । सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली छिट्टै नेपाल आउने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनले भने, ‘चिनियाँ टोली छिट्टै नेपाल आउने तयारीमा छ । तर, कहिले आउँछ भन्ने ठ्याक्कै मिति तोकिएको छैन । बिआरआई सम्झौतामा परेका आयोजनाहरूमध्ये यो आयोजना सरकारको प्राथमिकतामा छ । अब रोकिँदैन आगाडि बढ्छ ।’ सुरुङमार्ग बन्ने भएपछि नागरिक हर्षित  यो आयोजना अघि बढ्ने भएपछि नुवाकोट र रसुवाबासी निकै हर्षित छन् । सुरुङमार्ग निर्माण गर्ने सम्झौताले उत्साहित भएको नुवाकोटका स्थानीय सुशीला पौडेल बताउँछिन् । नागरिकहरूले उक्त सुरुङमार्ग बनेपछि आफूहरूलाई ठूलो राहत हुने उनको भनाइ छ । उनी भन्छिन्, ‘यो सुरुङ बन्ने हल्ला जताततै छ । हामीमा खुसीको उत्साह छाएको छ । यो सुरुङमार्ग छिट्टै सञ्चालनमा आउँछ भन्ने आशा छ ।’ आयोजनाले नेपालकै अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । नेपालमा भएको उत्पादन चीन निर्यात गर्न सकिने र चीनमा भएको उत्दपादनलाई नेपालमा आयात गर्न सहज हुने विश्वास गरिएको छ ।