विकासन्युज

एकैदिन तोलामा २ हजारले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५१ हजार ५ रुपैयाँमा कारोबार भइरहेको थियो । साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलामा १८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

माघ ४ देखि काठमाडौंमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं । माघ ४ देखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ सञ्चालन हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर इभेन्ट्स प्रा.लि. र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा.लि. (इ.टि.एस.पि..एल) को संयुक्त आयोजनामा मेला हुन लोगेको हो । मेलामा स्वदेशी तथा विदेशी गरी १ सय ५० भन्दा बढी स्टल रहने मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए । उनकाअनुसार फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र विक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि प्रदर्शनी कोशेढुंगा सावित हुँदै आएको छ । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुहरुको उल्लेखनीय सहभागिता रहने बताए । १० औं संस्करणमा धेरै नयाँ प्रविधी र सामग्रीका प्रदर्शनी रहने बताए । अवलोकनकर्ताहरुले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन उत्पादनहरू हेर्न पाउने जानकारी दिए । १० औं संस्करणमा फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनहरूको उल्लेख्य सहभागिता रहने जानकारी दिऐ । प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । ‘माघको ४,५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्निचर एक्स्पो हुँदैछ । यो हाम्रो वार्षिक कार्यक्रममध्येको एक हो । हामी अब नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनीको १० औं संस्करण गर्न गइरहेका छौँ’, उनले भने । प्रदर्शनीमा घर बनाउन चाहने आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने बताए । प्रदर्शनीले नेपालको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने विश्वास व्यक्त गरे । प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने प्रवन्ध निर्देशक भट्टराईले बताए । प्रदर्शनीमा घर सजावटलाई चाहिने सामग्रीहरु पनि राखिने जानकारी दिए ।

अस्ट्रेलियामा ज्याला चोरी गर्नेलाई १० वर्षसम्मको जेल सजाय हुने

काठमाडौं । अस्ट्रेलियाको नयाँ कानूनले बुधबारदेखि लागू हुनेगरी ज्याला चोरीलाई अपराध मानेको छ । जसमा व्यवसायमा बेइमान गर्नेहरूलाई १० वर्षसम्म कैद र भारी जरिवाना गराइनेछ । अस्ट्रेलियाका केही ठूला कम्पनीहरू वुलवर्थ, क्वान्टास र ७–इलेभेन जस्ता कम भुक्तानी घोटालामा संलग्न छन् । यद्यपि कम्पनी निर्देशकहरू हाल सिभिल कानूनअनुसार मात्र अनुसन्धान गर्न सकिन्छ । फेयर वर्क लेजिस्लेसन एमेन्डमेन्ट (क्लोजिङ लुफोल्स) ऐन २०२३ अन्तर्गत, सरकारी एजेन्सी फेयर वर्क ओम्बड्सम्यानले बेइमान रोजगारदातालाई १० वर्षसम्मको जेल सजाय र करिव ७.८३ मिलियन अस्ट्रेलियन डलर ९४.८७० सम्मको जरिवानासहितको नयाँ उपकरण प्रयोग गर्नसक्छ । नयाँ अपराध रोजगारदाताहरूलाई लागू हुनेछ । इमान्दार गल्ती वा गलत हिसावले ज्याला चोरी कसुरमा समातिने छैन ।

सूर्योदय नगरपालिकाका किसानलाई चिया काट्न धमाधम

इलाम । चिया उत्पादनको उर्वरभूमि सूर्योदय नगरपालिकामा चियाको बुट्यान काट्न (कटिङ) धमाधम सुरू भएको छ । सूर्योदय–१ मकर्जुङका जगन्नाथ अधिकारी यतिबेला बिहानदेखि साँझसम्म चिया कटिङमै व्यस्त छन् । ‘पुस लागेपछि कटिङ सुरू भएकामा महिनाभरि यत्तिकै हो । सबै व्यस्त छन् । खेताला पाइँदैन’, अधिकारीले भने, ]यो समयमा काँटछाँट मिलाउँदा अब पलाउने मुना राम्रो भएर आउँछ । पहिलो टिपाइ चैतमा हुन्छ ।’ चिया रोपण, मलजल, सिँचाइ र छाँटकाँटमा ध्यान पुर्याउन सक्दा उत्पादन वृद्धि हुने किसान बताउँछन् । ‘चियाको गुणस्तर सुधार गर्न रोपणबाट टिपानसम्म नै किसानले ध्यान दिनुपर्छ ।’ सूर्योदय–७ गोगनेका गणेश भट्टराईले भने, ‘कटिङ बिग्रियो भने चियाको उत्पादन घट्छ । गुणस्तर सुधार गर्न पनि कटिङमा सचेत हुनुपर्छ ।’ चिया कटिङ प्राविधिक ज्ञान र सीप भएकाले मात्र गर्नुपर्छ । सीप भएकालाई रोजगारीको राम्रो अवसर पनि छ । गत वर्ष राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा इलामका किसानले चिया कटाइसम्बन्धी तालिम प्राप्त गरेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले बताए । उनका अनसार उक्त तालिमले केही दक्ष जनशक्ति तयार भएको छ । चियाको काँटछाँट र टिपाइ सुधार हुन नसक्दा भारतलगायत मुलुकमा नेपाली चिया बिक्रीमा समस्या भएपछि सूर्योदय नगरपालिकाले यहाँ प्राङ्गारिक चिया उत्पादनको अभियान नै चलाइरहेको छ । छ वर्षअघि नै चियाको कार्यविधि बनाएर न्यूनतम समर्थन मूल्य तोकेको सूर्योदयले उत्पादन गुणस्तरीय बनाएर विश्वबजारमा निर्यात वृद्धि गर्न किसानलाई प्रोत्साहनका कार्यक्रम गरिरहेको नगरप्रमुख रणबहादुर राईले बताए । ‘पहिले हाम्रो चिया भारतले किन्दा सिएफएल परीक्षण गथ्र्यो तर अब त्यसका अलावा फसाइ परीक्षण गरेर मात्र चिया लिने भएको छ’, नगरप्रमुख राईले भने, ‘यसले गर्दा हाम्रो चिया भारतमा सजिलै बिक्री हुने अवस्था छैन । यदि चिया प्राङ्गारिक भएन भने सबै चिया नबिक्ने अवस्था हुन्छ । यो समस्या बुझेर किसानले उत्पादनलाई विषादीरहित र टिपाइ गुणस्तरको बनाउनुपर्छ ।’ चियाको टिपाइ सुधार गर्न नगरपालिकाले यस वर्ष तीन सय किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गरेको छ । ‘टिपाइमा सुधार भइसकेपछि न्यूनतम समर्थन मूल्य कार्यान्वयन हुन्छ । करिब तीन सयवटा चिया टिप्ने हातेमेसिन वितरण गरिएको छ,’ उनले भने, ‘चियालाई ‘ब्रान्डिङ’ गर्नुपर्छ, ‘टी’ परीक्षण गर्नुपर्छ भनेर निर्माण गरिएको ‘टी टेस्टिङ एण्ड रिसर्चिङ सेन्टर’ पनि भर्खरै सञ्चालनमा आएको छ ।’ ‘सूर्योदय नगरपालिकाको समृद्धि, प्राङ्गारिक कृषि पर्यापर्यटन र आर्थिक समानता’ नारा नै रहेको छ । विसं २०७५ साउन १ गते नै निषेधित विषादीमुक्त पालिका घोषणा गरी सबै १४ वडाका दुई सय ५२ टोलमा सचेतना कार्यक्रम भइसकेको नगर आर्थिक विकास समितिका संयोजक देवेन्द्र आचार्यले बताए । ‘गोठ सुधार, भकारो सुधार, माटो परीक्षणजस्ता कार्यक्रममार्फत प्राङ्गारिकउन्मुख अभियान चलाइरहेका छौँ’, उनले भने । नगरपालिकाले चियाबाट नै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । कार्यविधि बनाएर गुणस्तर सुधार गर्न लागिपरेको सूर्योदयले चियामा विषादीको प्रयोग रोक्न सकेको छैन । ‘उत्पादन नै विषादीयुक्त हुँदा चियाखेतीको बजार छैन । किसान व्यावसायिक बन्न सक्दैनन् । विषादीका कारण मानव स्वास्थ्यमा पारेको असरका बारेमा हामी संवेदनशील बन्नुपर्छ’, नगरप्रमुख राईले भने । अर्कातिर किसानलाई प्राङ्गारिक खेतीमा आकर्षित गर्न अनुदानको कार्यक्रम छैन । ‘असी प्रतिशतभन्दा धेरैको आयस्रोत बनेको चियामा प्रतिकिलो रू एक अनुदान दिँदा पनि करोडौँ लगानी चाहिन्छ । स्थानीय सरकारको एक्लो प्रयासले सहजै किसानको समस्या समाधान हुने देखिँदैन । प्रदेश र सङ्घले चिया सुधार गर्न लगानी नगर्दा स्थानीय सरकार मर्कामा परेको छ’, किसान छविलाल पौडेलले भने । नेपाली चियाको अन्तर्राष्ट्रिय ‘ब्रान्डिङ’ प्रवर्द्धनका लागि सहयोग, साना किसानका लागि हरियो पत्ती उत्पादनका आधारमा उखुमा जस्तै अनुदान दिनुपर्ने माग उद्योगीले गरेका छन् । उद्योगी उदय चापागाईँले कृषिका अन्य क्षेत्रमा जस्तै चियामा अनुदान दिन सरकारले कञ्जुस्याइँ गर्ने गरेको बताए । नेपालमा उत्पादित ५५ लाख तयारी अर्थोडक्स चियामध्ये तीन लाख किलोमात्र अग्र्यानिक रहेको तथ्याङ्क छ । सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन् । तीमध्ये सूर्योदय टी एशोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन् । यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ । यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायत किसानले उत्पादन गरेको हरियो पत्ती प्रशोधनका लागि पुग्ने गरेको छ । यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ । नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती हुँदै आएको छ । देशभरमै बढी चिया उत्पादन हुने जिल्ला इलाम हो । यहाँ छ हजार नौ सय ९५ बगान छन् । देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुने गरेको बगान सञ्चालक बताउँछन् । चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्म रू दुई अर्ब ७० करोड ३९ लाख ३६ हजारको चिया निर्यात भएको झापास्थित मेची भन्सार कार्यालयको तथ्याङ्क छ । यो समयमा एक करोड २७ हजार २१९ किलो चिया निर्यात भएको छ । अघिल्लो आव २०८०/८१ को सोही समय अर्थात् साउनदेखि मङ्सिरसम्म रू एक अर्ब ६४ करोड ७५ लाख ७३ हजारको मात्र चिया निर्यात भएको थियो । सो समयमा ६९ लाख ४० हजार छ सय ६० किलो चिया निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस

मुगुमा गयो भूकम्प

काठमाडौं । मुगुमा भूकम्प भएको छ । शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो । यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो ।

सम्पदा लघुवित्तले ३६२ सदस्यलाई दियो सिपमुलुक तालिम

काठमाडौं । सम्पदा लघुवित्तले ८ वटा शाखा कार्यालयहरु मार्फत आवद्ध सदस्यहरुलाई सिपमुलुक तालिम कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालयहरु क्रमशःमहराजगंज, कपिलवस्तु, रिमझिमचौक बाँके, औरही महोतरी, फेटाँ बारा, चरौदी धादिङ, जोशिपुर कैलाली, कोडैना सर्लाही र सर्केटारी स्याङजामा विभिन्न किसिमका सिपमुलुक तालिम सञ्चालन गरिएको छ । शाखा कार्यालय महराजगंज कपिलवस्तुमा व्यवसायिक तरकारी खेती रोग तथा किरा व्यवस्थापन तालिम सञ्चालन भएको र उक्त तालिममा ९० जना सदस्यहरुको सहभागिता रहेको थियो । यसै गरी शाखा कार्यालय रिमरिभमचौकमा व्यवसायिक च्याउ खेती तालिममा ३४ जना, शाखा कार्यालय औरही महोतरीमा व्यवसायिक तरकारी खेती तथा नर्सरी व्यवस्थापन तालिममा ३० जना, शाखा कार्यालय फेटा बारामा मौसमी तरकारी खेती तथा किरा व्यवस्थापन तालिममा ४० जना, शाखा कार्यालय चरौदी धादिङमा व्यवसायिक तरकारी खेती, रोग किरा व्यवस्थापन तालिममा ४८ जना, शाखा कार्यालय जोशिपुर कैलालीमा व्यवसायिक च्याउखेती तालिममा ४२ जना, शाखा कार्यालय सर्केटारी स्याङजामा आर्गेनिक तरकारी खेती,रोग किरा व्यवस्थापन तालिममा ३१ जना र शाखा कार्यालय कोडैना सर्लाहीमा बेमौसमी तरकारीखेती, रोग किरा व्यवस्थापन तालिममा ४७ जना गरि ३६२ जना सहभागी सदस्यहरुलाई सिपमुलुक तालिम कार्यक्रम प्रदान गरेको हो । उल्लेखित तालिमहरुमा जिल्ला कृषि कार्यालय तथा अन्य संस्थामा सम्बन्धित बिषयमा दखल भएको प्रशिक्षहरुद्धारा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई तालिम पश्चात तालिमको प्रमाण–पत्र समेत प्रदान गरिएको थियो । वित्तीय संस्थामा आवद्ध अन्य शाखा कार्यालयहरुमा पनि तालिम लिएर सिप विकास गरि उद्यमी बन्न खोज्ने सदस्यहरुलाई लौट लौट गरि तालिम संचालन गरिने भनि वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी गराएका थिए । वित्तीय संस्थाले हाल ४५ जिल्लामा १५५ वटा शाखा कार्यालय मार्फत १ लाख ७८ हजार जना सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको छ । हाल लगानीमा रहेको कर्जा रकम लगभग १० अर्बको हाराहारीमा रहेको कम्पनीले जनाएको छ ।

‘गरिमा समृद्धि योजना’ का इकाई बाँडफाँड

काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ बन्दमुखी योजनाको इकाईहरु बाँडफाँड सम्पन्न भएको छ । बिहीबार निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडमा इकाई बाँडफाँड सम्पन्न भएको हो । उक्त बाँडफाँडबाट एक अर्ब २५ करोड रुपैयाँ इकाई कायम गरिएको क्यापिटलले जनाएको छ । कम्पनीले पुस ७ गतेदेखि ११ गतेसम्म बन्दमुखी योजनाको बीज पूँजीसहित अंकितमूय १० रुपैयाँको दरले दश करोड इकाई निष्काशन गरेको थियो । उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४ हजार ६८१ जना आवेदकहरुमार्फत १२ करोड १८ लाख ७८ हजार इकाईकाक लागि आवेदन परेको थियो । इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान ‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’ मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने हुँदा इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ को अधिनमा रहि इकाई कायम गरिएको क्यापिटलले जनाएको छ ।

वीरगञ्जबाट धानचामल आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा तीन अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व सङ्कलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा रु दुई अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो । चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार रुपैयाँ मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व सङ्कलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ ।