काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा पूर्वीनाका झापाको काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख रुपैयाँ मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ तथा मट्टितेल आयात भएको हो ।
गत आवको ८ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजार रुपैयाँले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ ।
गत आवको ८ महिनामा १३ अर्ब ३८ करोड ३३ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताए ।
कार्यालयको तथ्याङ्कानुसार चालु आवका ८ महिनामा पेट्रोलिय पदार्थको आयातबाट ६ अर्ब १२ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढी हो । गत आव २०८०/८१ को ८ महिनामा ५ अर्ब ८० करोड १८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।