विकासन्युज

नोएल टाटाका छोरीहरू रतन टाटा इन्स्टिच्युटको बोर्डमा सामेल, बाहिरियो मतभेद

काठमाडौं । ‘टाटा ट्रस्ट’का अध्यक्ष नोएल टाटाका छोरीहरू ‘माया र लिया’ ‘सर रतन टाटा औद्योगिक संस्थान’ (एसआरटीआईटी) को बोर्ड अफ ट्रस्टीमा समावेश भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एसआरटीआईटी सर रतन टाटा ट्रस्टको एक उपसमूह हो, जुन समूहको होल्डिङ कम्पनी टाटा सन्सका दुई प्रमुख सेयरधारकहरूमध्ये एक हो । माया र लिया टाटाले अर्नाज कोतवाल र फ्रेडी तलाटीको स्थान लिएको जनाइएको छ । दुवै जनाले एसआरटीआईटीको बोर्ड अफ ट्रस्टीजबाट राजीनामा दिएका छन् । यससँगै नोएल टाटाका छोराछोरीहरू सबै साना टाटा ट्रस्टहरूको बोर्डमा सामेल भएका छन् । तिनीहरूलाई दुई मुख्य ट्रस्टहरू, सर रतन टाटा ट्रस्ट एण्ड एलाइड ट्रस्ट र सर दोराबजी टाटा ट्रस्ट एण्ड एलाइड ट्रस्टमा समावेश गर्न बाँकी छ । नोएल टाटाका तीन सन्तान छन्: लिया (३९), माया (३६) र नेभिल (३२) । नोएल टाटा स्वर्गीय रतन टाटाका सौतेनी भाइ हुन् । उनलाई अक्टोबर २०२४ मा टाटा ट्रस्टको अध्यक्ष नियुक्त गरिएको थियो । ट्रस्टीहरूको परिवर्तनले आन्तरिक मतभेदहरू निम्त्याएको देखिएको छ । निवर्तमान ट्रस्टी अर्नाज कोतवालले यसप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै ट्रस्टीहरूलाई पत्र लेखेका छन् । उनले नयाँ ट्रस्टीहरू ल्याउन जुन तरिकाले राजीनामा दिन भनियो त्यो सही नभएको बताए । अर्नाजको असन्तुष्टि ‘म अहिले दुबईमा भएकोले र धेरै विचार-विमर्शपछि मैले बुर्जिसको अनुरोध स्वीकार गरेको छु,’ अर्नाजले साथी ट्रस्टिजहरूलाई लेखेको पत्रमा उल्लेख छ । ‘तर म अत्यन्तै दुःखी छु कि तपाईंहरूमध्ये कसैले पनि यस विषयमा प्रत्यक्ष कुरा गर्न मलाई सम्पर्क गर्नुभएको छैन । सीईओ सिद्धार्थ शर्माको निर्देशनमा एक अपरिचित व्यक्तिले मलाई सम्पर्क गरेको देख्दा म छक्क परें । ती दुवैको एसआरटीआईआईसँग कुनै सम्बन्ध छैन,’ उनले लेखेका छन् । बुर्जिस तारापोरवाला टाटा ट्रस्टका कार्यकारी हुन् र सिद्धार्थ शर्मा सीईओ हुन् । तारापोरवालालाई पठाइएको छुट्टै इमेलमा उनले नोएल टाटाको तर्फबाट तारापोरवालाले उनलाई राजीनामा दिन आग्रह गरेको र सोहीअनुसार उनले राजीनामा दिएका छन् । उनले यस विषयमा मेहली मिस्त्रीबाट पनि फोन आएको बताए । टाटा ट्रस्टले यसबारे कुनै टिप्पणी गरेको छैन । सर रतन टाटा औद्योगिक संस्थानको सञ्चालनसँग नजिकबाट संलग्न माया र लिया टाटालाई हालै सर रतन टाटा ट्रस्ट (एसआरटीटी) को बोर्ड अफ ट्रस्टीमा मनोनित गरिएको यस मामिलामा संलग्न एक अधिकारीले बताए । एसआरटीटीलाई यसको ट्रस्ट डीडअनुसार एसआरटीआईआईका छ जना बोर्ड सदस्यहरूमध्ये तीन जनालाई मनोनित गर्ने अधिकार छ । ट्रस्टले के गर्छ ? नोयल टाटाका छोरीहरूलाई फ्रेडी तलाटी र अर्नाज कोतवालको स्थानमा समावेश गरिएको छ । फ्रेडी तलाटी हाल एनसीपीएमा छन् र उनले आफ्नो राजीनामा बुझाएका छन् । अर्नाज कोतवाल दुबईबाट भीएफएस ग्लोबलमा काम गर्दैछन् । एसआरटीआईआईको व्यापक स्तरोन्नति भइरहेको छ । यसलाई ध्यानमा राख्दै एसआरटीटी ट्रस्टीहरूले एसआरटीआईआईमा काम गर्ने अनुभव भएका र नियमित रूपमा मुम्बईमा बस्ने व्यक्तिहरू मनोनीत गर्न चाहन्थे । गरिब महिलाहरूलाई रोजगारी प्रदान गर्नका लागि लेडी नवजबाई टाटा र स्त्री जोरोस्ट्रियन मण्डलद्वारा सन् १९२८ मा एसआरटीआईआईको स्थापना गरिएको थियो । संस्थानले महिलाहरूका लागि खाना पकाउने, सिलाइ र मन्टेसरी शिक्षक तालिमजस्ता एकाइहरूमा संस्थानहरू स्थापना गरेको छ । लिया र मायालाई नियुक्त गर्ने निर्णय एसआरटीटी बोर्डले सर्वसम्मतिले गरेको अधिकारीले बताए । यसमा नोएल टाटा, विजय सिंह, वेणु श्रीनिवासन, दारियस खम्बट्टा, जहाँगीर एच. जहाँगीर र मेहली मिस्त्री समावेश थिए । एसआरटीआईआईको बोर्डमा रहेका अन्य ट्रस्टीहरूमा फरीदा टाटा, आलु टाटा, मेहनोश कपाडिया र धन खुसरोखान समावेश छन् । साना ट्रस्टहरूमा नयाँ पुस्ताको सहभागिताले उनीहरूलाई समूह स्तरमा ठूला भूमिकाहरूको लागि तयार पार्ने अपेक्षा गरिएको छ । माया र लिया माया र लिया टाटाले टाटा समूहका कम्पनीहरूमा व्यवस्थापकीय भूमिका पनि सम्हाल्छन् । माया टाटा डिजिटलमा छिन् र लिया इन्डियन होटल्समा छिन् । लिया टाटाले आईई बिजनेस स्कूलबाट मार्केटिङमा स्नातकोत्तर गरेकी छिन् र हाल इन्डियन होटल्समा उपाध्यक्ष छिन् । उनकी बहिनीले टाटा क्यापिटलबाट आफ्नो करिअर सुरु गरेकी थिइन् र उनी टाटा न्यु एप व्यवस्थापन गर्ने टोलीको हिस्सा हुन् । कोतवाल भीएफएस ग्लोबलमा जनरल काउन्सिल हुन् र यसअघि इन्डियन होटल्समा उपाध्यक्ष-कानुनी पदमा थिए । तलाटी अहिले एनसीपीएको सीओओ हुन् । यसअघि उनी एसोसिएटेड बिल्डिङ कम्पनीका सीईओ थिए । टाटा समूहको यो कम्पनी बम्बे हाउसको स्वामित्वमा छ ।

नेपाल आयल निगमले १० अर्ब नाफा गरेको कार्यकारी निर्देशक भट्टको दावी

काठमाडौं । नेपाल आयल निगम कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले निगमले यस वर्ष १० अर्ब रुपैयाँ नाफा गरेको दावी गरेका छन् । शुक्रबार निगमको ५५औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो दावी गरेका हुन्। उनले भने, ‘निगम देशको ठुलो संस्थाहरूमध्येको पहिलो ठूलो कारोबार गर्ने संस्था बन्न सफल भएको छ । हामीले १० अर्ब नाफा गर्न सफल भएका छौं ।’ कार्यकारी निर्देशक भट्टले पेट्रोलियम पदार्थको खपत बढिरहेको अवस्थामा देशको ऊर्जा सुरक्षालाई उच्च प्राथमिकता दिँदै पेट्रोलियम पदार्थको निरन्तर सहज र सुलभ आपूर्ति सुनिश्चित गरिएको बताए । उपभोक्ताको हितलाई ध्यानमा राखी संस्थाले अन्तर्राष्ट्रिय बजारले तोकेको मूल्य र गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री वितरण गर्न सफल भएको उनको जिकिर छ। यसका साथै उनले निगमले भण्डारण क्षमता विस्तार पेट्रोलियम पाइपलाइन विस्तार र डिपोको आधुनिकीकरणका साथै मानव संसाधनको विकिस तथा सूचना प्रविधिको विकासमा जोड दिँदै निगमको सुधारका कामहरू अघि बढाइएको बताए। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज दासले विद्युतीय गाडीहरूले बजार लिए भने पाइपलाइन विस्तार कति उपयोगी हुन सक्ला भन्ने चिन्ता व्यक्त गरे ।

त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड

काठमाडौं । राष्ट्रियसभा, सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले  त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् । ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९सँग सम्वन्धित प्रत्यायोजित विधायन सम्वन्धमा’ समितिमा आज भएको छलफलमा उनीहरुले विश्वविद्यालयको व्यवस्थापकीय पक्षलाई सबल बनाउन नयाँ ऐन आवश्यक भएको बताए । सांसद नरबहादुर बिष्ट र सांसद रुक्मिणी कोइराला लगायत सांसदले अधिवक्ता चक्रमान विश्वकर्माले अध्ययन गरेको ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ र त्यसअन्तर्गत बनेका प्रत्यायोजित विधानहरुको कार्यान्वयन’ प्रतिवेदनका आधारमा समितिमा पर्याप्त छलफल हुनुपर्ने बताए । अधिवक्ता विश्वकर्माको अध्ययनले ‘त्रिभुवन विश्वविद्यालयलाई आर्थिक भार पर्नेगरी कर्मचारी कल्याण कोष, औषधोपचार कोष, कर्मचारी सापटी कोषजस्ता कोषहरु विनियम बनाई स्थापना गरिएको देखिएकाले यस्ता कोषहरु विनियममा नराखी ऐनबाट व्यवस्था गर्नुपर्ने’ लगायत सुझाव दिएको छ । अध्ययन प्रतिवेदनमा ‘त्रिभुवन विश्वविद्यालयका विभिन्न पदाधिकारीहरुको पारिश्रमिक, सेवा, सर्त तथा सुविधाहरु नियममा उल्लेख गर्नुपर्नेमा नियममा तोकिएबमोजिम उल्लेख गरी विनियमहरुमा आफ्नो पारिश्रमिक, सेवा, सर्त तथा सुविधाहरु आफैँ तोकिनु विधिसम्मत नभएकाले यस्ता विषय नियममा नै उल्लेख गर्नुपर्ने ’ भनिएको छ ।

पराराष्ट्र मन्त्रालयका अमृतबहादुर राई सचिवमा बढुवा

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव अमृत बहादुर राई सचिवमा बढुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सहसचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । गत साउन महिनामा मन्त्रालयकी तत्कालीन सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूत सिफारिस भएकी थिइन् । त्यससँगै पराराष्ट्र मन्त्रालय सचिवविहिन बनेको थियो । लगत्तै कायम मुकायम सचिवको जिम्मेवारी राईले सम्हाल्दै आएका थिए । उनै राईलाई मन्त्रिपरिषदले सचिवमा बढुवा गरेको हो ।

ऊर्जा मार्गचित्र सुरु भइसक्यो, यो अभियानमा सबैले साथ दिऔं : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले २८ हजार ५ सय मेगावाट पारित भएको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले ऊर्जा मार्गचित्र सुरु भएको जानकारी दिए । मार्गचित्र तयार भैसकेको र यसमा सहभागी भएर सबैले सहयोग गर्नुपर्ने बताए । मार्गचित्र सुरु गरिदिएकोमा अध्यक्ष कार्कीले सरकारलाई धन्यवादसमेत दिए । उनले भने, ‘अहिलेको सरकारले केही गर्छ कि भन्ने लागेको छ । यसमा ऊर्जामन्त्रीको ठूलो सहयोग छ । अब २८ हजार ५ सय मेगावाटको यो मार्गचित्रलाई हामीले १० वर्षभित्र पूरा गर्नेगरी अगाडि बढ्नुपर्छ । यो अभियान हो । यो अभियानमा सबैले सहयोग गर्नु आवश्यक हुनेछ ।’ यो इतिहास ठूलो उपलब्धि भएको उनको दाबी छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्पन्न

काठमाडौं । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा सञ्चालक समितिका अध्यक्ष अपछकुमार यादवले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित भएको छ । यसैगरी, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको वासलात तथा आव २०८०/८१ को नाफा-नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू स्वीकृत भएका छन् । त्यस्तै, वित्तीय संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण भएको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले अन्य इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई गाभ्ने/गाभिने (मर्जर वा प्राप्ति) गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त संस्था पहिचान गर्ने, संस्थाको चल अचल सम्पत्ती र दायित्व तथा कारोवारको मूल्यांकन गर्न मान्यताप्राप्त मूल्यांकनकर्ता नियुक्त गरी पारिश्रमिक तोक्न तथा सहमतिपत्रमा हस्ताक्षर गर्ने तथा यससम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित भएको छ । नेपाल राष्ट्र बैंकबाट मिति २०६८ फाल्गुण २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त यस संस्थाले २०६९ जेष्ठ २२ गते नुवाकोटको बट्टारबाट लघुवित्त कारोबार सुरु गरेकोमा हाल आएर देशभर ५६ जिल्लामा ९० वटा शाखा कार्यालयमार्फत १ लाख भन्दा बढी ग्राहक सदस्यहरूलाई प्रत्यक्ष सेवा पुर्‍याएकाे छ ।

आरबीबी सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबीबी सेक्युरिटीज कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को कम्पनीको वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ । साधारण सभामा प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनालले हाल सहरी क्षेत्रमा मात्र सीमित रहेको ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोचअनुरूप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र ग्रामीण क्षेत्रमा रहेका जनताहरूले पनि ब्रोकर सेवा लिन सकिने वातावरण बनाउनुपर्ने बताए । आरबीबी सेक्युरिटीज कम्पनीका सीईओ बेनी श्रेष्ठले हाल २० करोड चुक्तापुँजी रहेको कम्पनीले धितोपत्र व्यवसायको व्यवसायिक कारोबार(ब्रोकर) मिति २०८१ असार २६ गतेबाट सुरु गरेको बताए । नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको आरबीबी सेक्युरिटीज कम्पनीले ब्रोकर, मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजार सम्बन्धी सेवाहरू प्रदान गरिरहेको छ । साधारण सभामा आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडका सञ्चालकहरू गायत्री श्रेष्ठ, राज्य लक्ष्मी खड्गी, सेयरधनीका प्रतिनिधि एवं बैंकका विभागीय प्रमुख आनन्द सुवेदी, बैंकका उपकार्यकारी अधिकृतहरू विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, रामकुमार थापा, कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार देविप्रसाद सुवेदी, बाह्य लेखापरीक्षक सिए आनन्दराज शर्मा वाग्ले लगायत आरविवि सेक्युरिटीजका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । आरबीबी सेक्युरिटीज कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

गरिमा क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको नवौंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलले बिहिबार बुढानीलकण्ठकमा रहेको लेमन ट्रि प्रिमियर होटलमा नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त नवौं वािर्षक साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरूले राखेको जिज्ञासाहरूको अध्यक्ष दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मल भट्टराईले स्पष्ट पारेका थिए । सभामा गरिमा विकास बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, पुर्व अध्यक्षहरू, गरिमा म्युचूअल फण्ड अन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरिवेक्षकहरू तथा सेयरधनीहरूको उपस्थिती रहेको थियो । नवौं वािर्षक साधारण सभाको कार्यक्रम सञ्चालन क्यापिटलका कम्पनी सचिवअशोक सुवेदी तथा स्वागत मन्त्यव्य क्यापिटलका सञ्चालक एवं गरिमा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले गरेका थिए । नवौं वािर्षक साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने निर्णय गरेकाे छ । साथै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको छैटौँ तथा आठौँ वार्षिक साधारण सभाबाट नियुक्त सञ्चालकहरूमध्ये एक (१)/एक (१) सञ्चालक पद रिक्त भएको र रिक्त पदमा सञ्चालक समितिद्वारा बाँकी कार्यकालका लागि सञ्चालकहरू नियुक्त गरेकोमा सो नियुक्ति अनुमोदन गर्ने सम्पूर्ण निर्णयहरू सर्वसम्मतले पारित गरेको थियो ।