विकासन्युज

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश नदिने भएको छ । पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

नागपोखरीमा शोरुम अनावरणसँगै नामीले गर्‍यो मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सद्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो शोरुमको उद्घाटन गरेको छ । कम्पनीले शुक्रबार काठमाडौंको नागपोखरी क्षेत्रको शोरुमको उद्घाटन गरेको हो । उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायतको उपस्थिति थियो। सन् २०२४ अगस्टमा वाइल्ड रिपर्ज, सबिन राई र फारोको प्रस्तुति र फेसन शोसहितको सफल सुरुवातपछि नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको कम्पनीको दाबी छ । सुरुवातको एक महिनाभित्रै नामीले ३५० भन्दा बढी ग्राहकहरू प्राप्त गरिसकेको जनाएको छ । नयाँ शोरुमको उद्घाटन आफ्ना सवारीसाधनहरू बुक गरिसकेका ग्राहकहरूसँग उत्सव मनाउने उत्तम अवसर पनि बन्यो । साँचो हस्तान्तरण कार्यक्रममा केक काट्ने समारोहको आयोजना गरिएको थियो र त्यसलगत्तै नयाँ सुविधाहरूको औपचारिक भ्रमण गरिएको थियो। ‘नेपालमा हाम्रो अत्याधुनिक शोरुम खोल्न पाउँदा हामी रोमाञ्चित छौं,’ एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौं ।’मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा नक्सालको नागपोखरीमा रहेको नयाँ शोरुममा जनवरी ११ देखि १६ सम्म आयोजना हुने गरी मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा गरिएको छ । यो क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्नेछ । ग्राहकहरूले ‘नाउ अर नेभर’ मेगा अफरहरूबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । जसमा ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट समावेश छ ।  यसबाहेक ग्राहकहरूले गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा नि:शुल्क नाइट स्टे गर्न पाउने जनाइएको छ । ग्राहकहरूले आफ्नो पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सकिने सुविधा छ ।

निगमले तेल बेचेर रमाइरहने दिन धेरै छैनन् : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम नयाँ ढंगले नसोच्ने निगम टिकिरहन नसक्ने बताएका छन् । शुक्रबार निगमको ५५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले निगमले तेल बेचेर रमाइरहने दिन धेरै नरहेको बताएका हुन् । ‘तेलमात्रै बेचेर मुनाफामा रहेको भन्दै रमाउने अब धेरै दिन छैन,’ उनले भने, ‘तेलमात्रै बेचेर नाफा कमायौं भनेर रमाइरहने आगामी दिनका हाम्रा यात्रा सहज छ या जोखिमपूर्ण छ भनेर हामीले सोच्नुपर्ने बेला आएको छ । आयल निगमले जे जति व्यवसाय गर्छ, त्यसका विकल्पहरू आइसकेका छन् । निगमको व्यवसाय घटिरहेको छ । नयाँ विकल्प नखोज्ने हो भने यसको व्यवसाय घटी नै रहन्छ ।’ आयल निगमको व्यवसाय घटिरहेको र यसको विकल्प बढ्दो रहेकाले निगमको व्यापार घट्दो अवस्थामा रहेको मन्त्री भण्डारीले बताए । आयल निगमले विकल्प खोज्दै नयाँ योजना अघि सार्नुपर्ने मन्त्रीको सुझाव छ । आयल निगमले नयाँनयाँ चिजको खोजी गरेर गुणस्तरीय सेवा दिन सोच्नुपर्ने उनले बताए । निगमले हाल गरिरहेको कामप्रति मन्त्री भण्डारीले असन्तुष्ट जनाए । जनशक्ति धेरै भए पनि सोहीअनुसार काम भने नभएको तर मागमात्रै बढेको उनले गुनासो गरे । उनले दैलेख पेट्रोलियम अन्वेषणको कामलाई सरकारले प्राथमिकतामा राखेको र त्यही अनुसार काम भइरहेको उनले बताए । ४ हजार मिटर गहिराइभन्दा तल पुगेको र यो ऐतिहासिक उपलब्धि हासिल भएको दाबी उनको छ । यस्तै, उनले यसबारे मन्त्रालयले आवश्यक समन्वय गरेर अगाडि कामा बढाउने सुनाए । त्यस्तै, उनले दाङ झापामा लगायत पेट्रोलियम पदार्थ भएका अन्य ठाउँहरूमा सम्भाव्यता अध्ययनको काम चाँडै अगाडि बढाइने बताए । उनले भने, ‘नयाँनयाँ कुराहरूको हामीले खोजी गर्नु आवश्यक छ । स्वचालित प्रणालीबाट अगाडि बढ्नुपर्छ । आयल निगमलाई सबैले सहयोग गर्नुपर्छ । यसलाई कसरी राम्रो बनाउन सकिन्छ । यससम्बन्धीका सबै प्रस्ताव ल्याएर आउनुस् । सरकार निर्णय गर्न आतुर छ ।’

भक्तपुर-नगरकोट सडक : निर्माण कम्पनीले प्रधानमन्त्रीको निर्देशन मानेन, ११ वर्षसम्मै उस्तै

भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेन । सडक निर्माणको माग गर्दै स्थानीयले पटकपटक आन्दोलन गरे । सरकारले पटकपटक म्याद थप गरेर सहजीकरण गरे पनि काम हुने अवस्था नदेखिएपछि अन्ततः सरकारले भक्तपुर-नगरकोट-सिपाघाट सडकको ठेक्का सम्झौता रद्द गरेको छ । पटकपटक म्याद थप गर्ने तर ठेकेदारबाट बारम्बार सम्झौता उल्लङ्घन हुन थालेपछि उक्त सडक स्तरोन्नति परियोजनाका लागि विकास परियोजना निर्देशनालयसँगको संयुक्त सम्झौता सरकारले रद्द गरेको हो । निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्न यसअघि पनि पटकपटक सूचना जारी गरेको थियो । त्यसताका अन्तिममा म्याद थप हुने गरेको थियो । सरकारले अन्तिम पटक मङ्सिर मसान्तसम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी १०औं पटक म्याद थप गरे पनि कम्पनीले सोअनुसार कुनै प्रगति गरेन । गत साता निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्नु नपर्ने कारणसहित सातदिने स्पष्टीकरण माग गरेको थियो । निर्देशनालयका भक्तपुर नगरकोट सडक निर्माण आयोजना प्रमुख मेघराज मरासिनीले गत बुधबार सरकारका तर्फबाट ठेक्का सम्झौता रद्द गरेको जानकारी दिए । उनले भने, ‘भक्तपुर नगरकोट सडकको ठेक्का सम्झौता रद्द भएको छ । अब निर्माण कम्पनीले सम्झौताअनुसारको गर्नुपर्ने काम कति बाँकी छ त्यसको अनुगमन एवं मूल्याङ्कन हुनेछ । त्यसपछि निर्माण कम्पनीसँग सोही मूल्याङ्कनको आधारमा जरिवाना लगाउने र सडकको बाँकी काम कसरी गर्ने भन्नेबारेमा छलफल गरेर अगाडि बढ्छ ।’ एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग विसं २०७३ असार ३ गतेसम्म सम्पन्न गर्नेगरी २०७१ जेठ २२ गते सैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्नेगरी रु २७ करोडमा ठेक्का सम्झौता भएको थियो । सडकको लागत बढेर भ्याटसहित रु ३१ करोड पुर्‍याउँदा पनि निर्माण कम्पनीले विभिन्न बहाना गर्दै सडक निर्माण सम्पन्न गरेको थिएन । सडक छिटो सम्पन्न गर्न माग गर्दै चाँगुनाराण नगरपालिका, नगरकोटका होटल एवं पर्यटन व्यवसायी, स्थानीयवासीलगायतले पटकपटक विरोध गर्दै आएका थिए । यता निर्माण कम्पनी एससिसिपिएल र यसको भारतीय साझेदार एआइपिएलले बिहीबार विज्ञप्ति जारी गर्दै भक्तपुर-नगरकोट-सिपाघाट सडक स्तरोन्नति परियोजनाका लागि विकास परियोजना निर्देशनालयसँगको संयुक्त उद्यम सम्झौता रद्द गरेको जनाएको छ। कम्पनीले निर्देशनालयले गरेको बारम्बारका गल्तीहरू समाधान गर्न असफल भएको र गत विसं २०८० असोज ९ गते प्रमाणित गरिएको आइपीसी-१४ भुक्तानी अहिलेसम्म नदिइएकाले परियोजनाको वित्तीय अवस्थामा गम्भीर असर पर्न गएकाले रद्द गर्नु परेको जनाएको छ । सडक निर्माणको ठेक्का सम्झौता रद्द भएपछि यहाँका सरोकारवाला भने खुसी भएका छन् । चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले सैलुङ कन्स्ट्रक्सनले ११ वर्ष लाग्दासमेत सडक निर्माण सम्पन्न नगरेर स्थानीयवासीलाई दुःख दिएकामा अब त्यसबाट मुक्ति पाइने आशा व्यक्त गरे । उनले यहाँका पर्यटन व्यवसायीलाई दुःख दिएको अवस्थामा ठेक्का सम्झौता रद्द भएसँगै अब थप काम गर्न बाटो खुलेको बताए। नगरपालिकाले विसं २०८२ वैशाखदेखि चैतसम्म एकवर्षे नगरकोट महोत्सव- २०८२ को आयोजना गर्ने घोषणा गरेर सडक निर्माण छिटो सम्पन्न गर्न पटकपटक दबाब, विरोध एवं आन्दोलन गर्दा पनि बेवास्ता भएपछि महोत्सव नै सङ्कटमा पर्ने डर अब हटेको बताए । उनले नगरकोट महोत्सवलाई दृष्टिगत गर्दै सरकारले सडकको स्तरोन्नति छिटो गर्नुपर्ने बताए । ‘चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट महोत्सव सिङ्गो देशको महोत्सव हो, यहीं सडकका कारणले महोत्सवमा समस्या आउने त्रास थियो । अब सरकारले महोत्सव अगाडि नै छिटोभन्दा छिटो सडक स्तरोन्नति गर्नुपर्छ, त्यसका लागि मन्त्रालयसँग पनि समन्वय र छलफलमा बस्छौं, नगरपालिका प्रमुख खत्रीले भने । उनले सरकारले पनि उक्त सडक निर्माणमा ढिलाइ गरे चाँगुनारायण नगरपालिका आफैले बहुवर्षीय आयोजनाअन्तर्गत स्तरोन्नति गर्ने बताए । चाँगुनारायण नगरपालिका–६ का अध्यक्ष धनबहादुर लामाले सडक सम्झौता रद्द हुँदा खुसी हुनुपर्ने बेला आएको भन्दै नगरकोट महोत्सवलाई सफल पार्न सरकारले सडक स्तरोन्नतिमा चासो दिनुपर्ने बताए । यस्तो छ सडकको अवस्था भक्तपुर नगरपालिका-१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो । अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका खाल्डा उस्तै । त्यसमाथि नेपाली सेनाको ब्यारेक क्षेत्रमा पर्ने घुमाउनेमा बाटो नै खस्नेगरी चर्किएको सडक, नगरकोटसम्म खाल्डोभरि जमेको पानी, कतै हिलाम्मे त कतै धुलाम्मे । दश वर्षअगाडि निर्माण सुरु भएर अझैसम्म सम्पन्न नहुँदा पटकपटक चर्चामा आइरहने ‘भक्तपुर-नगरकोट सडक’को दृश्य हो यो । कमलविनायकदेखि नगरकोटसम्म देखिएको सडकको दुरावस्था, ठाउँठाउँमा चर्किएर पहिरोको त्रास । समयमै सडक निर्माण नहुँदा खेप्नु परेको सास्ती कम दर्दनाक छैन । दुर्घटनामा ज्यान गुमाउने, वर्षायाममा सडकको हिलोपानी घरभित्र पस्ने, हिउँदमा धुलैधुलोका कारण बेहोर्ने स्वास्थ्य समस्याले सडक आसपासका बासिन्दाको दैनिकी कठिन छ । विशेषगरी भक्तपुर भत्केकोपाटीदेखि नगरकोटसम्मको १५ दशमलव छ किलोमिटर सडक क्षेत्रको अवस्था निकै समस्याग्रस्त छ । अनुगमनमाथि अनुगमन भक्तपुर नगरकोट सडकको प्रगतिबारे जान्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिसहितको टोलीले हालै यहाँको अवस्था अनुगमन गरेको छ । टोलीले सडक निर्माणमा गुणस्तरहीन काम भएको निष्कर्ष निकालेको छ । त्यसो त यसअघि विसं २०७९ फागुन १८ गते तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उक्त सडकको अनुगमनपछि फागुन महिनाभित्र सडक निर्माण नसके कारबाही र ठेक्का रद्द गरिने बताएका थिए । त्यसअघि विसं २०७८ कात्तिक २८ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले ले सडकको अनुगमन गरी दुई महिनाभित्रमा निर्माण सम्पन्न नभए ठेक्का रद्द गरेर कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । मन्त्रीद्वय श्रेष्ठ र यादवले अनुगमन गर्दा स्थानीयले सडकमै सुतेर र सडकमै घेराबन्दी गरेर अवरोध गरेका थिए । त्यसअघि विसं २०७६ साउन १३ गते तत्कालीन प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले अनुगमन गरी सन् २०२० को नेपाल भ्रमण वर्ष अगावै सडक कालोपत्र सम्पन्न गर्न निर्देशन दिएको थियो । विसं २०७६ मङ्सिर ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलगत्तै प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसाल संयोजकत्वको टोली, त्यसपछि तत्कालीन भौतिक योजनामन्त्री वसन्त नेम्वाङ, तत्कालीन मन्त्री एवं सांसद महेश बस्नेत, चाँगुनारायण नगरपालिकाका तत्कालीन प्रमुख सोमप्रसाद मिश्रसहितको टोली, वर्तमान नगरप्रमुख खत्री, उपप्रमुख रमेश बुढाथोकीसहितको टोलीले पटकपटक यस सडकको अनुगमन गर्दै छिटो निर्माण सम्पन्न गराउन दबाब दिँदै आएका थिए । प्रधानमन्त्रीकै निर्देशन मानेन निर्माण कम्पनीले सडक निर्माण सुरु भएपछि चाँगुनारायण नगरपालिकाका तत्कालीन नगरप्रमुख सोम मिश्रदेखि वर्तमान नगरप्रमुख जीवन खत्रीसम्मको नेतृत्वमा गएको टोलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा तथा यसअघि प्रधानमन्त्री भएका बखत हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेट गरी सडक छिटो निर्माणका लागि ध्यानाकर्षण गराएका थिए । पूर्वनगरप्रमुख मिश्र भन्छन्, ‘सरकार परिवर्तन हुनेबित्तिकै प्रधानमन्त्रीदेखि मन्त्रीलाई भेटेर ज्ञापनपत्र दिने र छिटो निर्माण सम्पन्न गराई दिन माग गर्दै दबाब दिँदा पनि काम भएन । ठेकेदार सरकारभन्दा बलिया हुँदा रैछन् जस्तो लाग्यो ।’ त्यसो त विसं २०७८ मा बागमती प्रदेशका तत्कालीन भौतिक योजनामन्त्री कृष्णलाल भँडेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय नेता डिपी ढकालले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग तत्कालीन नेपाल कम्युनिष्ट पार्टी भक्तपुरले तत्कालीन भौतिक योजनामन्त्री वसन्त नेम्वाङसँग र नगरपालिका प्रमुख खत्री, माओवादी केन्द्रका स्थानीय नेतासहित माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेटेर काम सम्पन्न गर्न सहजीकरणका लागि आग्रह गरेका थिए । सबैबाट आश्वासन पाए पनि कामले भने गति लिएन । स्थानीयले सडक अवरुद्ध गर्ने, ठेकेदार शारदाप्रसाद अधिकारीको तस्बिर व्यङ्ग्य गर्दै सार्वजनिक सवारीसाधन र सडकको भित्ता भित्तामा टाँस्ने, चाँगुनारायण नगरपालिका-६ र ७ का वडाध्यक्षले २०७९ साल असार १७ देखि १९ गतेसम्म सडकमै कार्यालय सञ्चालन गर्ने, नगरकोटका पर्यटन व्यवसायीले सडक अवरुद्ध गर्ने जस्ता क्रियापलाप गरेर दबाब बढाउँदै आएका छन् ।

तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग

काठमाडौं । गत मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको रु ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ । ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोङलाई सहायता रकम हस्तान्तरण गरेका हुन् । ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार सहायता रकम ग्रहण गर्दै अध्यक्ष लियोले महावाणिज्यदूतावास, कल्याणकोष र नेपाली समुदायप्रति आभार व्यक्त गरेका थिए । त्यस अवसरमा अध्यक्ष लियो र महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।

ट्राफिक लाइटको शुरुवातसँगै बुटवलमा ट्राफिक जाम हट्ने विश्वास

काठमाडौं । बुटवलको ट्राफिक चोकसहित मुख्य तीन चोकमा ट्राफिक लाइटको उद्घाटन भएको छ । ट्राफिक चोकसहित मिलन चोक र कालिकानगरमा जडान गरिएको ट्राफिक लाइटको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् । कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवलको ट्राफिक व्यवस्थापनका लागि हाल ट्राफिक चोकसहित मुख्य तीन चोकमा ट्राफिक लाइट जडान गरिएको भन्दै आगामी दिनमा गोलपार्क, हस्पिटल लाइन, राजमार्ग चौराह, योगिकुटीलगायतका ठाउँमा पनि ट्राफिक लाइट जडान गर्ने योजना रहेको जानकारी गराए । उपमहानगरपालिकाले आफ्नो लगानीमा हाललाई बुटवलका बढी भीडभाड हुने कालिकानगरस्थित कालिका चोक,मिलन चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गरिएको उल्लेख गर्दै नगर प्रमुख पाण्डेयले आगामी दिनमा आवश्यकताअनुसार अन्य ठाउँमा पनि ट्राफिक लाइट जडान गर्दै जाने बताए । सडक सुरक्षालाई मध्येनजर गरी उपमहानगरपालिकाले पहिलो चरणमा सडकमा छाडिएका छाडा चौपायाको ब्यवस्थापन गर्ने कार्य अगाडि बढाएको बताउँदै उनले दोस्रो चरणमा ट्राफिक लाइट जडान गरिएको उल्लेख गरे । बुटवललाई सफा, स्व्च्छ, हरियाली, उज्यालो र सुरक्षित शहरको रूपमा विकास गर्ने उदेश्यले बुटवलका मुख्य मुख्य चोकमा २३ वटा हाईमास्ड लाइट तथा १२५ सिसिटिभि क्यामेरा जडान गरिएको भन्दै उनले राजमार्ग चौराह–गोलपार्क–चिडयाखोला–चिडयाखोला सडक विस्तार कार्य सकिएपछि बुटवलको मुहार फेरिने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटना न्युनिकरणमा ट्राफिक लाइटको महत्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए । बुटवलको कालिका चोक, मिलनचोक लगायतका ठाउँमा धेरै दुर्घटनाहरू हुने गरेको भन्दै उनले ट्राफिक लाइट जडान पछि दुर्घटनामा कमि आउने विश्वास व्यक्त गरे । उपमहानगरपालिकाको वार्षिक योजनाअनुसार ५५ लाख ५ हजार ९२५ रूपयाको लागतमा कालिका चोकसँगै मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पाेज प्रालि काठमाडौसँग ठेक्का सम्झौता भएको उपमहानगरपालिकाका अनुगमन शाखाका प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए ।

साना किसानहरूलाई धितोबिना ऋण प्रदान गर्न ‘खेती’ मा आध्यन्तको २ करोड लगानी

काठमाडौं । आध्यन्तले कृषि-फिनटेक कम्पनी डीभी एक्सेलसमा २ करोड रुपैयाँको लगानी घोषणा गरेको छ । यो लगानीले कम्पनीको प्रमुख प्लेटफर्म ‘खेती’लाई समर्थन गर्नेछ, जसले साना किसानहरूलाई २ लाख रुपैयाँसम्मको धितोबिना ऋण प्रदान गरेर नेपालको कृषि क्षेत्रमा परिवर्तन ल्याइरहेको छ । खेती एपले कृषि सेवा र वित्तीय उत्पादनको व्यापक सुविधा प्रदान गरी किसानहरूलाई गुणस्तरीय उत्पादनमा पहुँच पुर्‍याउँछ र व्यावसायिक रूपमा लाभदायक खेती अभ्यासतर्फ रूपान्तरण गर्न सघाउँछ । आध्यन्त एक प्रमुख निजी इक्विटी र भेन्चर क्यापिटल फर्म हो । यो कदम साना किसान र कृषि व्यवसाय (सीएएसए) कार्यक्रमको लागि एक महत्त्वपूर्ण उपलब्धि हो, जसलाई विदेशी राष्ट्रमण्डल विकास कार्यालय (एफसीडीओ)ले समर्थन गरेको छ र नेपालमा स्विस कन्ट्याक्टद्वारा कार्यान्वयन गरिएको छ । सीएएसए कार्यक्रमले कृषि व्यवसायहरू र निजी क्षेत्रको लगानीबीचको खाडललाई कम गर्दै नेपालको कृषि क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटल (पीईभीसी) लगानी आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । ‘यो लगानीले प्रणालीगत परिवर्तनमा सहकार्यको शक्तिलाई दर्शाउँछ,’ सीएएसएका देश प्रबन्धक मनीषविक्रम शाहले भने, ‘पीईभीसी फर्महरूलाई डीभी एक्सेलसजस्ता कृषि व्यवसायहरूसँग जोडेर हामी कृषि क्षेत्रमा लगानी मात्र बढाइरहेका छैनौं, साना किसानहरूको दीर्घकालीन फाइदालाई पनि सुनिश्चित गर्दैछौं ।’ स्विस कन्ट्याक्टका दक्षिण र दक्षिणपूर्व एशियाका समावेशी वृद्धि प्रमुख सिद्धार्थ खडाले थपे, ‘स्विस कन्ट्याक्ट सधैं विकास प्रभावका लागि निजी क्षेत्रलाई परिचालन गर्न अग्रस्थानमा रहेको छ । र यो खेतीमा गरिएको लगानीले यसको उदाहरण दिन्छ।’ कृषि नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को लगभग ३० प्रतिशत हिस्सा ओगट्छ तर साना किसानहरूले प्रायः वित्तीय पहुँच र गुणस्तरीय उत्पादनमा महत्वपूर्ण बाधाहरूको सामना गर्नुपर्छ । आध्यन्तका प्रबन्ध निर्देशक मनोज पौडेलले खेतीजस्ता कृषि-प्रविधि नवप्रवर्तनहरूको समर्थनले यी चुनौतीहरू पार गर्न र क्षेत्रको वृद्धि सम्भावनालाई खुला गर्न महत्त्वपूर्ण रहेको बताए । सुरु भएदेखि डीभी एक्सेलसले एक हजारभन्दा बढी किसानहरूलाई १५ करोड रुपैयाँभन्दा बढी ऋण वितरण गरेको छ र हाल १५ हजारभन्दा बढी सक्रिय किसानहरूलाई सेवा प्रदान गर्दै आएको छ । नयाँ लगानीले कम्पनीको प्रयासलाई तीव्रता दिने अपेक्षा गरिएको छ, जसले साना किसानहरूलाई आत्मनिर्भर खेतीबाट थप दिगो, लाभदायक व्यावसायिक सञ्चालनतर्फ रूपान्तरण गर्न आवश्यक उपकरण, बीउ, र मलहरू प्रदान गर्नेछ । ‘यो साझेदारी एक खेल परिवर्तनकर्ता हो,’ डीभी एक्सेलसका सह-संस्थापक तुलसी गिरीले भने, ‘यो लगानीले हामीलाई हाम्रो सञ्चालनलाई विस्तार गर्न र हजारौं किसानहरूलाई उनीहरूको उत्पादनशीलता र लचिलोपन सुधार गर्न सशक्त बनाउनेछ, जसले नेपालको कृषि क्षेत्रको आर्थिक वृद्धिलाई अघि बढाउनेछ ।’

नेपाल माइक्रो इन्स्योरेन्सले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडाैं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डले कम्पनीलाई पुस २५ गते अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति प्रदान गरेको जनाएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा सेयर निष्कासन गर्ने छ। सेयर निष्कासनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्सले लघु निर्जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।