सर्वसाधारणलाई सेयर बेच्ने निर्णयमा पुग्यो स्काईवाक टावर
काठमाडौं । कमलादीमा स्काईवार्क टावर सञ्चालन गर्दै आएको वोन्डर्स नेपाल प्रालिले सर्वसाधारणलाई सेयर बिक्री गर्ने भएको छ । सर्वसाधारणलाई सेयर बेच्न कम्पनीको प्रालि संरचना परिवर्तन गरी लिमिटेड संरचनामा लैजाने निर्णय पनि कम्पनीले गरेको छ । शुक्रबार सम्पन्न सातौं वार्षिक साधारण सभाबाट कम्पनीलाई पब्लिक लिमिटेड बनाउने र सर्वसाधारणलाई सेयर बिक्री गर्ने निर्णय भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यद्यपि कम्पनीका संस्थापक सञ्चालक समितिका सदस्य लोकनाथ अधिकारीले कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने सोचेर प्रस्ताव मात्र गरिएको बताए । ‘सेयर निष्कासनका लागि धेरै कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाउनुपर्छ । त्यसको लागि लामो समय लाग्छ,’ उनले भने । पछिल्लो समय घाटामा गएका कम्पनीहरूले सेयर सर्वासाधारणमा जारी गर्ने र संस्थापकहरूले सेयर बेचेर कम्पनी छोड्ने प्रवृति बढ्दै गएको छ । तर स्काईवाक कम्पनी नाफामा रहेको संस्थापक अधिकारीले दावी गरे । ‘शुक्रबार सम्पन्न साधारण सभाले सेयरधनीलाई लाभांश दिने निर्णय गरेको छ । हामी नोक्सानमा छैनौं,’ उनले भने । साधारण सभाले कम्पनीको आयव्यव पास गरेको जनाएको छ तर वित्तीय विवरण सार्वजनिक गरिएको छैन । ‘वोन्डर्स नेपाल प्रालि हो । हाम्रो आयव्यव सार्वजनिक गर्नु पर्दैन । कर कार्यालय, कम्पनी, कार्यालय लगायत सरकारी अफिसमा आयव्यव बुझाएका छौं । कम्पनीले राम्रो व्यापार गरिरहेको छ,’ उनले भने । धरहरा सञ्चालनपछि स्काईवाक टावरमा मानिसहरू चढ्न छोडेको र व्यापार हुन नसकेपछि सेयर बेच्ने निर्णयमा कम्पनी पुगेको विश्लेषण व्यवसायिक जगतमा हुन थालेको छ । प्रतिव्यक्ति एक हजार शुल्क तिर्नु पर्ने स्काईवाक टावरमा हाल मानिसहरू चड्न छाडेका छन् । ‘टिकट मूल्य बढी भयो भन्ने गुनासो उपभोक्ताबाट आएको छ । अहिलेको मूल्य नै एसियाको सबैभन्दा सस्तो हो । तर ग्राहकको भावना बुझेर मूल्य घटाउने विषयमा सोचिरहेका छौं,’ उनले भने । शुक्रबारको साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पनि पुनर्गठन गरिएको छ । कम्पनीको अध्यक्ष तेजबहादुर सिंह र प्रबन्ध निर्देशक विष्णुहरि पाण्डे बनेका छन् । सिंह उक्त टावर क्षेत्रको जग्गाधनी हुन् । पाण्डे कलेज र एजुकेशन कन्सलटेन्सी क्षेत्रमा सफल व्यवसायी हुन् । पछिल्लो समय उनले बैकिङ र पूर्वाधारका क्षेत्रमा पनि लगानी विस्तार गरेका छन् । प्रबन्ध सञ्चालक पाण्डेले स्काईवाक टावरमा ३६० डिग्री भ्यू देखिने गरि रेस्टुरेन्ट र क्लब निर्माण भइसकेकोले त्यसलाई शीघ्र सञ्चालनमा ल्याउने, सोही क्षेत्रमा सिटी बन्जी जम्प, डोम प्रोजेक्ट जस्ता लगायत थप साहसिक गतिविधि विस्तार गरि सेवाको दायरा फराकिलो बनाउँदै लैजाने योजना रहेका बताए । संस्थापक सञ्चालक समितिका सदस्य लोकनाथ अधिकारीका भनाइ थप गरी पुस २७ गते ९ः५० मा अपडेट गरिएकाे छ । सम्पादक सम्बन्धित समाचार व्यावसायिक क्षमताको १५ प्रतिशतमा सीमित स्काई टावर, घाटामा गएपछि ६० करोड ऋणका लागि रेटिङ
कृषि बीमामा सफ्टवेयरको प्रभावकारिता बढ्दो, ४० दिनमै करिब ४ हजार बीमालेख जारी
काठमाडौं । सरकारले कृषि बीमालेख अनलाइनबाट नै जारी गर्नेगरी विकास गरेको सफ्टवेयरको प्रभावकारिता बढ्दो क्रममा रहेको देखिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत कार्तिक ५ गते कृषि बीमालेख जारी गर्ने रियल टाइम सफ्टवेरको उद्घाटन गरेको थियो । सफ्टवेयरको उद्घाटन कार्तिकमा भएपनि मंसिर १६ गतेदेखि सफ्टवेयरमार्फत आधिकारिकरूपमा बीमालेख जारी गर्न थालिएको थियो । यसरी सफ्टवेयरमार्फत अनलाइनबाट नै बीमालेख जारी गर्न सुरु भएको ४० दिनमा नै अनलाइनबाट ५ हजार बढी बीमितले आवेदन दिएका छन् । यस समाचार निर्माण गर्दै गरेको समय पौष २६ गते दिउँसो ५ बजेसम्म सफ्टवेरमार्फत बीमा गर्नका लागि अनलाइन आवेदन दिने बीमितको संख्या ५ हजार २१ जना पुगेको छ । जसमध्ये ३ हजार ८०४ जनाको बीमालेख जारी भइसकेको छ भने बाँकी बीमितको बीमालेख जारी हुने क्रममा रहेको छ । आमजनताले पनि हेर्न मिल्नेगरी सफ्टवेयरको विकास गरिएको छ । एएलआईएस डट एनआइए डट जीओभी डट एनपी टाइप गरेर जो कसैले उक्त सफ्टवेरमार्फत भएको बीमाको विवरण हेर्न सकिने छ । जहाँ बीमा गर्न आवेदन दिनेको संख्या, जारी बीमालेख संख्या, कुन बीमालेखअन्तर्गत कति संख्याको बीमालेख आवेदन पर्यो, कति बीमालेख जारी भयो, कति बीमाङ्क रकमको बीमालेख जारी भयो भनेर हेर्न सकिन्छ । यस्तै, सरकारले भुक्तान गर्नुपर्ने बीमाशुल्क अनुदान कति भयो, बीमित स्वयमले भुक्तानी कति गर्यो भनेर पनि हेर्न सकिन्छ । त्यस्तै, कुन प्रदेशबाट कति बीमालेख जारी भयो र कुन कम्पनीबाट कति बीमालेख जारी भयो भनेर पनि हेर्न सकिने छ । यसैगरी, दाबी भुक्तानीका लागि कतिले आवेदन दिए, कति रुपैयाँको दाबी पेश भयो, कति रकम भुक्तानी भयो, भुक्तानी हुन कति रकम बाँकी छ भन्ने विषय पनि अनलाइनबाट सबैले हेर्न सकिन्छ । यसरी हेर्दा हालसम्म दुई प्रकारको बीमालेखको मात्र बीमा भएको देखिन्छ । पशुतर्फ पशुधन र कृषितर्फ तरकारी बालीको मात्र बीमालेख जारी भएको देखिन्छ । नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले हाललाई २ प्रकारको बीमालेख मात्र सफ्टवेयरमार्फत गर्ने गरेको जानकारी दिए । पशुधनतर्फ हालसम्म ३ हजार ७५३ वटा बीमालेख जारी भएको छ भने तरकारी बालीतर्फ ३३ वटा बीमालेख जारी भएको देख्न सकिन्छ । हालसम्म सबैभन्दा धेरै बीमालेख बागमती प्रदेशबाट जारी भएको छ । बागमतीबाट १ हजार ७१६ वटा बीमालेख जारी हुँदा गण्डकी प्रदेशबाट ७४९ वटा, कोशी प्रदेशबाट ३९६ वटा, लुम्बिनी प्रदेशबाट ३९५ वटा, मधेश प्रदेशबाट ३६९ वटा, कर्णाली प्रदेशबाट १०२ वटा र सुदूरपश्चिम प्रदेशबाट ७७ वटा बीमालेख अनलाइनमार्फत नै जारी भइसकेको छ । अनलाइनमार्फत बीमा गर्न कति सहज ? उक्त सफ्टवेयरको लगइन पहुँच बीमित, अभिकर्ता, बीमा कम्पनी, बीमा प्राधिकरण, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लगायतलाई हुन्छ । अर्थात बीमितले यूजर नेम र पासवर्ड विकास गरेर सफ्टवेयरमार्फत अनलाइनबाट नै बीमा गर्नका लागि आवेदन पेश गर्न सक्छन् । जसका लागि बीमितले बीमा गर्ने पशुधन तथा बालीको पुरा विवरण, फोटो लगायत अपलोड गर्नुपर्ने हुन्छ । माग गरिएको सम्पूर्ण कागजातसहितको फर्म अनलाइनबाट भरेपछि समिट गरेर बीमाको आवेदन पेश गर्न सकिन्छ । त्यहाँ कुन कम्पनीबाट बीमा गर्ने भनेर पनि अप्सन दिइएकाे हुन्छ । यसरी समिट गरेपछि सम्बन्धित बीमा कम्पनीले त्यस पशुधन तथा बालीको बीमा गर्न ठीक छ कि छैन भनेर जाँच गर्छ । ठीक भएको खण्डमा बीमालेख जारी गरिदिन्छ । सुरुमा बीमितले अनलाइनको प्रयोग गर्न नजान्लान् भन्ने प्रश्नहरू पनि आउने गर्थ्याे । तर, पछिल्लो ४५ दिनमा अनलाइनबाट भएको बीमालेख संख्या हेर्दा यो भाष्य गलत सावित पुष्टि भएको सूचना अधिकारी निर्मल अधिकारी बताउँछन् । प्राधिकरणका उपनिर्देशकसमेत रहेका अधिकारीले भने, ‘हालसम्म २ वटा बीमालेखमात्र अनलाइनमार्फत गर्न सकिन्छ । जबकि कृषि तथा पशुपंक्षी बीमामा २१ भन्दा धेरै प्रकारका बीमालेख छन् । यसरी २ वटा बीमालेखतर्फ नै ४५ दिनमा ५ हजार बढी बीमाको लागि आवेदन आउनु भनेको धेरै राम्रो कुरा हो । बीमितले अनलाइन प्रयोग गर्न जानेनन् भन्न अब मिल्दैन ।’ यस्तै, नेपालमा पहिलो पटक यसरी अनलाइनमार्फत बीमा गर्न सुरु भएकाले केही बीमित, अभिकर्ता वा बीमा कम्पनीका कर्मचारीलाई पनि असहज लाग्नु स्वाभाविक भएको उनको भनाइ छ । तर, बिस्तारै अनलाइनतर्फ सबैजना फेमिलियर हुने उनको आशा छ । यस्तै, अनलाइनबाट बीमालेख जारी गर्नका लागि प्राधिकरणले तालिम पनि दिने उनले बताए । माघ महिनाको पहिलो साताबाट देशव्यापीरूपमा तालिम सञ्चालन गर्ने प्राधिकरणको तयारी रहेको उनले बताए । तालिम विशेषगरी बीमा कम्पनीका कर्मचारीलाई, पालिकाको बीमाका फोकल पर्सनलाई, प्राधिकरणका प्रादेशिक कार्यलयका कर्मचारीलाई दिइने उनले जानकारी दिए । सम्भव भएसम्म बीमितलाई पनि तालिम दिने उनले बताए । यस्तै, बीमा कम्पनीलाई पनि तालिम सञ्चालनका लागि निर्देशन दिने उनले जानकारी गराए । सफ्टवेयरले पारदर्शीता बढ्ने कुन बीमितले कहाँको कति रकमको कुन बीमा कम्पनीसँग बीमा गर्यो भनेर सबै डिटेल्स हेर्न मिल्ने भएपछि यसले पारदर्शीता बढाउने सूचना अधिकारी निर्मलको दाबी छ । यसका साथै प्राधिकरण र मन्त्रालयलाई अनुगमन तथा निगरानी गर्न पनि सहज हुनुका साथै सबै डिटेल अनलाइनबाट नै हेर्न मिल्ने भएपछि बीमित र बीमा कम्पनीले जालसाजी गर्ने सम्भावना पनि न्यून रहने उनको भनाइ छ । कृषि र पशुपंक्षीतर्फका सबै बीमालेखमा सफ्टवेयर प्रणाली लागू गर्ने तयारी सफ्टवेयरमार्फत हालसम्म विषयहरूको गहन अध्ययन र विश्लेषणपछि कृषि तथा पशुपंक्षी तर्फका सबै बीमालेख रियल टाइम सफ्टवेयरमार्फत हुने सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए । सफ्टवेयरमार्फत गर्न आइपर्ने समस्याहरू के के छन्, तिनको पहिचान गर्ने, सवल पक्षको पनि पहिचान गर्ने, समस्याको समाधानको उपाय खोज्ने र विस्तारै सबै बीमालेखमा सफ्टवेयरमार्फत बीमा गर्ने गरी विश्लेषण गरिने उनले जानकारी दिए । अहिलेको २ वटा बीमालेख ट्रायलको लागि गरिएको भन्दै उनले गहन अध्ययन र छलफलपछि अन्य बीमालेखलाई पनि क्रमश: सफ्टवेयर मार्फत नै गर्ने बताए ।
बैंकमा तालाबन्दी, ढुङ्गामुढा तथा होहल्ला गर्नेलगायतका गतिविधिप्रति बैंकिङ संगठनहरूको आपत्ति
ऋणीले स्थानीयको सहयोगमा पुस ११ गते कृषि विकास बैंकको लहान शाखामा तालाबन्दी गरेका थिए । काठमाडौं । बैंकरहरूले कृषि विकास बैंकको लहानस्थित शाखा लगायत अन्य विभिन्न बैंकका केही शाखामा कार्यरत कर्मचारीहरूप्रति लक्षित गरी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा कपोलकल्पित तथा भ्रमपूर्ण समाचारप्रति आपत्ति जनाएका छन्। शुक्रबार वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघ, डेभलमेन्ट बैंकर्स संघ र नेपाल वित्तीय संस्था संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कर्मचारीप्रति लक्षित गरी भ्रमपूर्ण समाचार छाप्ने, बैंकमा तालाबन्दी, ढुङ्गामुढा तथा होहल्ला गर्नेलगायतका गतिविधिप्रति आपत्ति जनाएका हुन् । यस्ता खालका गतिविधिले गर्दा ग्राहकहरू बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित भएकाे संगठनहरूले जनाएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले पारदर्शी रूपमा नियामक निकायबाट जारी गरिएको नीति/निर्देशन तथा विभिन्न ऐनको अधिनमा रही निक्षेप संकलन, कर्जा प्रवाह तथा असुली जस्ता कार्यहरू गर्दै आइरहेको र लिलामलगायत अन्य प्रक्रिया चित्त नबुझेको अवस्थामा ग्राहक नियमानुसार कानुनी प्रकृयामा जानसक्ने विज्ञप्तिमा उल्लेख छ । बैंकिङजस्तो संवेदनशील सेवा नै अवरुद्ध हुने गरी बाधा सिर्जना गर्नु कदापि उचित नहुने संगठनहरूले जनाएका छन् । संगठनहरूले सामाजिक सञ्जालहरूमा देखिने गलत तथा भ्रामक टिप्पणीमा कुनै ध्यान नदिन समस्त ग्राहकवर्ग तथा आम जनमानसमा अनुरोध गर्नुका साथै सम्बन्धित सरोकार निकायले सम्प्रेषण गरेको सूचना/समाचारलाई मात्र आधिकारिक रूपमा लिनसमेत अनुरोध गरेका छन् । कृषि बैंकको लहान शाखामा कर्जा असुली तथा लिलामी सम्बन्धमा आएका भ्रमपूर्ण समाचारको बैंकद्वारा खण्डन
सिंहदरबारमा सबै मन्त्री तथा कर्मचारीले नेपाली जुत्ता लगाऊन् : अध्यक्ष न्यौपाने
काठमाडौं । फुटवेयर म्यानुफ्याक्वरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रुद्र न्यौपानेले सिंहदरबारभित्रका सबै मन्त्री तथा कर्मचारीहरूले नेपाली जुत्ता लगाउनुपर्छ भन्ने नारालाई उद्योगमन्त्री दामोदर भण्डारीले सम्बोधन गरेका बताएका छन् । फुटवेयर म्यानुफ्याक्वरर्स एसोसिएसन अफ नेपालको २३ औं वार्षिक साधारण सभा तथा २५ औं स्थापना दिवस कार्यक्रममा अध्यक्ष न्यौपानेले सबै मन्त्री तथा कर्मचारीले नेपाली जुत्ता लगाउनुपर्छ भन्ने उद्देश्य रहेको बताए । उनले भने, ‘यो अभियान सडक, गल्ली अनि चोकमा गरिनुपर्छ । यस अभियानमा सबैको साथ सहयोग आवश्यक रहेको छ । नेपाली जुत्ता चप्पल नेपाली ब्रान्डलाई स्वदेशीमै लगाइनुपर्छ ।’ ‘हाल हामीसँग जनशक्ति कम छ । यसलाई बढाएर ७५ प्रतिशत पुर्याउँछाैं । यसका लागि मन्त्रीज्यूले आवश्यक पहल गर्नु जरुरी छ,’ उनले थपे । अध्यक्ष न्याैपानेले नेपालीहरूले विदेशी जुत्ताचप्पल लगाउने गरेको गुनासाे गरे । उनले विदेशी जुत्ताचप्पल लाखाैं करोडौंका हिसाबमा नेपालमा खपत भइरहेको र यो चाेरीपैठारी काराेबारलाई रोक्नुपर्ने उनले आग्रह गरे । कार्यक्रमको उद्घाटन उद्योगमन्त्री दामोदर भण्डारीले गरेका छन् । कार्यक्रममा महामन्त्री गगन थापा, एमाले महासचिव प्रदिप ज्ञवाली, श्रम विभागका सचिव लगायतको सहभागी रहेको छ । एसोसिएसनका अनुसार २०८०/८१ मा नेपालमा साढे ११ लाख जुत्ता नेपाल खपत भएको छ । फुटवेयर म्यानुफ्याक्वरर्स एसोसिएसन अफ नेपाल २०५७ सालमा स्थापना भएको थियो । यसले ७५ प्रतिशत बजार ओगटेको दावी छ ।
शोधनान्तर स्थिति २ खर्ब २५ अर्बले बचतमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा शोधनान्तर स्थिति २ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको देखिएको हो । तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब १६ अर्ब ५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६७ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खातासमेत बचतमा रहेको छ । तथ्यांकअनुसार मंसिरसम्ममा चालु खाता १ खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४१ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४ करोडले बचतमा रहेको छ । विदेशी विनिमय सञ्चितिमा ११ प्रतिशतको वृद्धि चालु आवको मंसिर मसान्तसम्ममा कुल कुल विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले वृद्धि भई २२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा १०.० प्रतिशतले वृद्धि भई २० खर्ब ३३ अर्ब २७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा २४.६ प्रतिशतले वृद्धि भई २४०अर्ब रुपैयाँ कायम भएको छ । २०८१ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ ।
रूसमा उडान भर्न ‘उच्च जोखिम’ : इयू उड्ययन सुरक्षा निकाय
काठमाडौं । युक्रेनमा जारी युद्धका बीच अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ रहेको देखिएको युरोपेली सङ्घको उड्डयन सुरक्षा निकाय (इएसएस)ले शुक्रबार जनाएको छ । इएएसएले एक सुरक्षा बुलेटिनमा भनेको छ, ‘द्वन्द्वले ‘सम्भावित नागरिक–सैन्य समन्वयको कमी र गलत पहिचानको सम्भावनाका कारण रूसी सङ्घको हवाई क्षेत्रमा नागरिक विमानहरू अनाहकमा निशाना हुने खतरा उत्पन्न गरेको छ।’ इएसएसले पश्चिमी रूसी हवाई क्षेत्रमा उडान नगर्न एयरलाइन्सका लागि आफ्नो सिफारिस लाई पुनः नवीकरण गरेको छ । रूसले युरोपेली सङ्घ (इयू) का विमानलाई आफ्नो हवाई क्षेत्रमा उडान भर्न प्रतिबन्ध लगाएको छ तर चीन, टर्की, खाडी मुलुक र अन्य मुलुकका विमानलाई भने अनुमति दिइएको छ । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले गत डिसेम्बर २५ मा कजाकिस्तानमा ३८ जनाको ज्यान जाने गरी दुर्घटनाग्रस्त भएको अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमानलाई रुसी शहर ग्रोज्नीमाथि ‘जमिनबाट’ गोली हानेको दावी गरेका छन् । रूसले युक्रेनी ड्रोनलाई प्रतिकार गर्ने समयमा आफ्नो एयर डिफेन्सले काम गरिरहेको बताएको छ, तर उसले विमानमा गोली लागेको स्वीकारेको छ । इएएसएले युक्रेनी क्षेप्यास्त्र र रुसमा प्रक्षेपण गरिएका ड्रोनको सामना गर्न रुसी हवाई प्रतिरक्षा प्रणालीको सक्रियताले ‘प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसहित धेरै स्थानहरूमा उडान संचालनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ’ भनेको छ। बुलेटिनमा भनिएको छ, ‘ड्रोन आक्रमण वा हवाई प्रतिरक्षा प्रणालीको सक्रियताका बेला रुसी महासङ्घले बन्द नगरेको हवाई क्षेत्रमा अधिकांश घटना भएका छन् ।’ सन् २०२४ डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको फ्लाइट ८२४३ मा भएको घटनाले देखाएझैं यसले उडान सञ्चालनका लागि उच्च जोखिम निम्त्याएको छ। रासस
यस्तो छ देशको पछिल्लो समयको आर्थिक अवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ५ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको बारेमा मासिक रिपोर्ट सार्वजनिक गरेको छ । देशको केन्द्रीय बैंकसमेत रहेको राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार देशका महँगी, सरकारको खर्च लगायतका सूचांकहरू निराशाजनक छ । त्यसैगरी, विदेशी विनिमय सञ्चिति ह्वात्तै बढेको छ । देशमा भित्रिनै रेमिट्यान्स पनि सकारात्मक दिशातिर गइरहेको देख्न सकिन्छ । हेरौं देशको वर्तमान अवस्थाको आर्थिक सूचकहरू वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ९.९९ प्रतिशत रहेको छ । यसैगरी, गैरखाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ । आयात ३ प्रतिशतले र निर्यात १६.५ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.४ प्रतिशतले र अमेरिकी डलरमा २.५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ६ खर्ब ४० अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७६ करोड पुगेकोछ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति मंसिर मसान्तमा २० खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४० अर्ब कायम भएको छ । बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको आंकलन छ । नेपाल सरकारको खर्च ५ खर्ब ५६ अर्ब १२ करोड र राजस्व परिचालन ३ खर्ब ९९ अर्ब ६० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.३ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.२ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको छ ।
उपभोक्ता मुद्रास्फीति बढ्यो, कुन प्रदेशको कति ?
काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति बढेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४.९५ प्रतिशत रहेकोमा यो वर्ष ६.०५ प्रतिशत पुगेको हो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.०० प्रतिशत र ४.९२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ भनेमरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको०.८३ प्रतिशतले घटेको छ । गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.९८ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिब तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.५२ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.८९ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३६ प्रतिशत, मधेश प्रदेशको ६.७७ प्रतिशत, बागमती प्रदेशको ५.८४ प्रतिशत, गण्डकी प्रदेशको४.८१ प्रतिशत, लुम्बिनी प्रदेशको ५.५३ प्रतिशत, कर्णाली प्रदेशको ४.१९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत रहेको छ । मीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२ प्रतिशत, तराईको ६.३१ प्रतिशत, पहाडको ५.६५ प्रतिशत र हिमालको ६.५८ प्रतिशत रहेको छ । २०८१ मंसिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.६३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १२.५९ प्रतिशत, ३.७७ प्रतिशत र ३.२० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.१४ प्रतिशतले घटेको छ।