लुटेराको प्रतिकार गर्ने महिलालाई आइजिपी कार्कीले गरे सम्मान
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नैना एन्ड ईशान ज्वेलर्समा कार्यरत सञ्जिता शाक्यलाई सम्मान गरेका छन् । काठमाडौं महानगरपालिका– २२ शाक्यलाई लुटपाट गर्न आएका व्यक्तिहरूविरुद्ध प्रदर्शन गरेको साहसिक कार्यको कदर गर्दै सम्मानित भएकी हुन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रमबिच प्रहरी महानिरीक्षक कार्कीले उनलाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् । काठमाडौं महानगरपालिका– २४ तुछेनानी गल्लीस्थित नैना एन्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दिउँसो दुईजना व्यक्तिहरूले पेस्तोल देखाई लुटपाट गर्ने उद्देश्यका साथ आतंक सिर्जना गर्दा आफ्नो ज्यानको प्रर्वाह नगरी प्रदर्शन गरेको हिम्मत, आत्मविश्वास तथा निर्वाह गरेको नागरिक दायित्वको उच्च कदर गर्दै उनलाई सम्मान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी महानिरीक्षक कार्कीले त्यस्तो विषम परिस्थितिमा समेत सम्मानित व्यक्ति सञ्जिता शाक्यले देखाएको अदम्य साहस, चेतना र जिम्मेवारीबोधको प्रशंसा गरे । सभ्य र सुरक्षित समाज निर्माण तथा अपराधको सफल अनुसन्धानमा प्रहरी र नागरिकको साझेदारीपूर्ण भूमिका महत्त्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समेत नागरिकसँग आवश्यक सहकार्य गर्दै प्रविधिको प्रयोगलाई समेत उच्च प्राथमिकतामा राखी कार्य गर्दै जानुपर्ने उनको भनाइ छ । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्तालगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सम्मानित व्यक्ति सञ्जिता शाक्यले घटनाबारे आफ्नो अनुभवसहितको मन्तव्य व्यक्त गरे । सञ्जिताले उक्त घटनामा संलग्न व्यक्तिहरूको हुलिया र सिसिटिभी फुटेज समयमै उपलब्ध गराउन देखाएको तदारुकताले कुनै पनि आपराधिक घटनाको सफल अनुसन्धानमा प्रहरीका लागि शीघ्र जानकारी र प्रविधिको भूमिका महत्त्वपूर्ण रहन्छ भनेर आमनागरिकहरूलाई सुसूचित गराउन निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ‘साथै उनले प्रदर्शन गरेको साहसले सम्भावित आपराधिक घटना नियन्त्रण हुन गई समाजमा सुरक्षा सचेतना तथा अपराधविरुद्ध प्रतिरोध गर्ने सकारात्मक सन्देश प्रवाह भएको नेपाल प्रहरीले विश्वास लिएको छ,’ प्रधान कार्यालयको बुलेटिनमा भनिएको छ ।
दाइको आवेदन, भाइको राजीनामा
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले राजीनामा दिएका छन् । सरकारले उपाध्यक्ष भट्टको संयोजकत्वमा धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवनकुमार दाहाल रहेका थिए । तर, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टले पनि धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन दिएपछि गुणाकर भट्टले समितिबाट राजीनामा दिएका हुन् । गोपाल भट्ट नातामा गुणाकर भट्टका दाइ पर्छन् । दाइले नै आवेदन दिएपछि भट्टले नैतिकताको आधारमा राजीनामा दिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । सेबोन अध्यक्ष पदका लागि कुल ४७ जनाले आवेदन दिएका छन् । सिफारिस समितिले आवेदनमध्येबाट तीन जनाको नाम छनोट गरी सरकारसमक्ष सिफारिस गर्ने र तीमध्ये एक जनालाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ । तर, भट्टले नै राजीनामा दिएपछि अब सरकारले नयाँ संयोजक नियुक्त गरेपछि मात्रै अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।
फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नुपर्ने प्रावधान हट्यो
काठमाडौं । बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नुपर्ने प्रावधान हटेको छ। नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा तेस्रो संशोधन गर्दै दफा (४)को उपदफा (६) र (७)मा रहेको प्रावधान हटाएको हो । यसअघि निर्देशिकाको दफा (४)को उपदफा (६) मा बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नुपर्ने व्यवस्था रहेको थियो । संशोधित निर्देशिकामार्फत पुनर्बीमकले प्रस्ताव अस्वीकार गरेमा बीमकले उक्त पुनर्बीमा अन्य गर्न सक्ने (४)को उपदफा (७) मा प्रावधान पनि हटाइएको छ । यसअघि स्वदेशी पुनर्बीमकले उक्त प्रस्ताव स्वीकार वा अस्वीकार के गर्ने हो सो कुरा खुलाई २४ घन्टाभित्र जबाफ पठाउनुपर्ने व्यवस्था पनि थियो । प्राधिकरणले निर्देशिकाको दफा ८ मा रहेको पुनर्बीमकसँग पुनर्बीमा गर्नुपर्ने प्रावधानमा पनि संशोधन गरेको छ । अब बीमकले निर्देशिकाको दफा (७) को उपदफा (१) को अधीनमा रही ट्रिटी पुनर्बीमाअन्तर्गत प्रत्यक्ष हिस्सा (डाइरेक्ट सेसन) स्वेदशी पुनर्बीमकलाई प्रदान गर्नुपर्नेछ । दफा (७) को उपदफा (१) भएको व्यवस्था हिस्सा प्रदान गरेपछि बाँकी रहेको हिस्साको कम्तीमा ३० प्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । त्यस्तै बीमा कम्पनीले जीवन बीमा, मोटर, कृषि, पशुपन्छी तथा जडीबुटी बीमा, हुलदंगा तथा आतंकवाद बीमा र विविध (यात्रा, ट्रेकिङ तथा स्वास्थ्य बीमाबाहेक) बीमालाई दफा १८ को अधीनमा रही स्वदेशमै सतप्रतिशत पुनर्बीमा गर्नुपर्नेछ । प्राप्त पुनर्बीमा स्वदेशी पुनर्बीमकले अस्वीकार गर्न नपाउने व्यवस्था संशोधित निर्देशिकामा गरिएको छ । संशोधनमार्फत अब यो निर्देशनलाई पुनर्बीमक (तेस्रो संशोधन) निर्देशिका, २०८३ भनिनेछ।
महासंघमा राजनीतिको अन्त्य गरी आर्थिक मुद्दामा केन्द्रित हुने पदाधिकारीहरूको प्रण
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित पदाधिकारीहरूले महासंघभित्र हुने राजनीतिक खिचातानीलाई अन्त्य गर्दै अब पूर्ण रूपमा देशको आर्थिक एजेन्डामा केन्द्रित हुने प्रतिबद्धता जनाएका छन् । नवनिर्वाचित पदाधिकारीहरूको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै उनीहरूले निजी क्षेत्रको आत्मसम्मान र लगानीमैत्री वातावरणका लागि सरकारसँग सहकार्य गर्दै अघि बढ्ने बताएका हुन् । महासंघका एशोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डेले विगतमा महासंघभित्र विधान संशोधन र सदस्यताका विषयमा धेरै राजनीति हुने गरेको स्मरण गर्दै अब ती दिन सकिएको बताए । ‘अब हामी आर्थिक मुद्दामा कटिबद्ध हुने गरी प्रण गरौं,’ उनी भन्छन्, ‘विगतमा सरकार सुस्त थियो होला, तर अब उद्योगी व्यवसायीहरू सरकारको गतिमा मात्र होइन, निजी क्षेत्रले नै देशको आर्थिक गति बढाउन नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।’ त्यसैगरी, वस्तुगत तर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चुनावी प्यानलको प्रसङ्ग अब समाप्त भइसकेको उल्लेख गर्दै सबैलाई एउटै परिवारको रूपमा अघि बढ्न आग्रह गरे । ‘आगामी कार्यसमिति बैठक, समिति गठन वा विभागहरूमा अब पक्ष–विपक्ष हुनुहुँदैन,’ उनले भने । श्रेष्ठले बैंकहरूमा थुप्रिएको तरलता अहिले बैंकहरूकै लागि बोझ बनेको टिप्पणी गर्दै लगानीको वातावरण निर्माणमा जोड दिए । साथै निर्यातमा पाइरहेको अनुदान कटौती भएकोमा चिन्ता व्यक्त गर्दै वैदेशिक लगानी भित्र्याउन निजी क्षेत्रले नै अग्रसरता लिनुपर्ने उनको तर्क थियो । त्यस्तै, जिल्ला नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माले आफ्नो निर्वाचनलाई ऐतिहासिक भन्दै नारायणी नदी पारिबाट जिल्ला नगरको नेतृत्वमा पुग्नु गौरवको विषय रहेको बताए । उनले व्यवसायीमाथि हुने पटक–पटकको धरपकड र नेतृत्व थुनिएर बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्घोष गरे । ‘निजी क्षेत्रको आत्मसम्मानका लागि म सदैव अगाडि बढ्नेछु, मप्रतिको विश्वासलाई डगमगाउन दिने छैन,’ शर्माले प्रतिबद्धता जनाए । अर्का उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले जिल्ला नगरका व्यवसायीहरू अहिले एमआरपीको समस्याले पिरोलिएको बताए । भन्सारमा गाडीहरूको लर्को लाग्ने समस्याप्रति संकेत गर्दै उनले सबै व्यवसायीलाई एकजुट हुन आह्वान गरे । सरकारको आलोचना गर्दै श्रेष्ठले भने, ‘राजस्व अनुसन्धान विभाग खारेज गर्ने अर्थमन्त्रीले चोरीपैठारी रोक्न सक्नुभएन। सरकारले व्यापारीलाई दुःख दिने नियत राख्नुहुँदैन । उनले पनि निर्वाचनका प्यानलहरू बिर्सेर अब अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा एकढिक्का भएर अघि बढ्ने स्पष्ट पारे ।
जोसिलो र जीवन्त महासंघ बनाउँछु, निजी क्षेत्रको मनोबल गिर्न दिन्नँ : नवनिर्वाचित अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउँदै महासंघको गरिमालाई उच्च राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवनिर्वाचित पदाधिकारीहरूको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा महासंघलाई थप प्रभावकारी र जुझारु बनाउने संकल्प गरे। आफ्नो बाल्यकालको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘विसं २०३६/३७ सालतिर पोखरा उद्योग वाणिज्य संघको रजत जयन्तीमा ठूलो बुवासँग गएको थिएँ । त्यतिबेला मनमा परेको छाप र परिवारबाट महासंघका बारेमा बुझ्ने अवसर पाएका कारण नै आज यो नेतृत्व गर्ने स्थानसम्म आइपुगेको हुँ ।’ वर्तमान आर्थिक अवस्थाप्रति चासो व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले बैंकिङ क्षेत्रमा पर्याप्त तरलता हुँदाहुँदै पनि उद्योगी व्यवसायीहरूको मनोबल खस्किएका कारण लगानी प्रवाह हुन नसकेको तर्फ ध्यानाकर्षण गराए । उनले आगामी तीन वर्षभित्र सरकार र निजी क्षेत्रबीचको सम्बन्धको परिभाषा र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने, नेपालमा निजी लगानी अभिवृद्धि गर्ने र महासंघलाई जिल्ला, वस्तुगत र क्षेत्रगत आधारमा वर्गीकरण गरी थप सुदृढ बनाउने योजना अघि सारेका छन् । अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालका लागि ‘जोसिलो महासंघ, जीवन्त महासंघ’ को नारा अघि सारेका छन् । उनले आगामी तीन वर्षभित्र पूरा गर्ने गरी ६ स्तम्भ र ६० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । ६ स्तम्भ र ६० बुँदे प्रतिबद्धता
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि २ महिना थप
काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि लागू गरिएको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको अवधि थप दुई महिना लम्ब्याउने निर्णय गरेको छ । आइएमएफले बुधबार जारी गरेको विज्ञप्तिअनुसार उक्त कार्यक्रम अब सन् २०२६ जुलाई ११ सम्म कायम रहनेछ । आइएमएफका अनुसार इसिएफ कार्यक्रमअन्तर्गत सातौँ तथा अन्तिम समीक्षा पूरा गर्न पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले कार्यक्रमको अवधि थप गरिएको हो । नेपालका लागि ३८ महिनाको इसिएफ कार्यक्रम सन् २०२२ जनवरी १२ मा स्वीकृत भएको थियो । उक्त कार्यक्रमअन्तर्गत नेपालले २८ करोड २४ लाख २० हजार अमेरिकी डलर अर्थात् ‘स्पेसल ड्रइङ राइट’ (एसडीआर) कोटाको १८० प्रतिशत बराबरको पहुँच प्राप्त गरेको थियो । आइएमएफका अनुसार इसिएफ कार्यक्रमअन्तर्गत सातौँ तथा अन्तिम समीक्षाका लागि पर्याप्त समय उपलब्ध गराउन दुई महिना थप गरिएको हो । नेपालले आइएमएफसँगको इसिएफ कार्यक्रममार्फत वित्तीय स्थायित्व कायम गर्ने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउने, सार्वजनिक वित्त व्यवस्थापन सुधार गर्ने तथा आर्थिक सुधारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
‘बिचुटेन डेटा वर्ल्ड’ दुई महिनामै सञ्चालनमा आउने, लगानी साढे २ अर्ब
काठमाडौं । नेपाललाई सूचना प्रविधिको क्षेत्रमा विश्व मानचित्रमा स्थापित गर्ने उद्देश्यका साथ नेपाली लगानीमा अत्याधुनिक डेटा सेन्टर परियोजना बिचुटेन डेटा वर्ल्ड सञ्चालनमा आउने भएको छ । नेपालमा बढ्दो डिजिटल माग र कृत्रिम बाैद्धिकता (एआई) को भविष्यलाई मध्यनजर गर्दै साढे २ अर्ब रुपैयाँको प्रारम्भिक लगानीमा यो परियोजना सुरु गरिएको हो । नेपालमा पहिलो पटक सञ्चालनमा आउन लागेको बिचुटेन डेटा वर्ल्ड अन्तर्राष्ट्रिय स्तरको ‘टियर ४ प्रमाणीकरण प्राप्त गर्ने देशकै पहिलो अत्याधुनिक डेटा सेन्टर हुनेछ । यसको सबैभन्दा ठुलो विशेषता भनेको यसले प्रदान गर्ने ९९.९९ प्रतिशत अपटाइम हो । जसको अर्थ यहाँ राखिएका डिजिटल तथ्याङ्क र सेवाहरू वर्षभरि नै बिना कुनै अवरोध निरन्तर सञ्चालनमा रहनेछन् । उच्च स्तरको सुरक्षा र ब्याकअप प्रणाली हुने भएकाले जस्तोसुकै कठिन प्राविधिक समस्या वा मर्मत सम्भारको समयमा पनि सेवा बन्द नहुने जनाइएकाे छ । विशेषगरी एआई कार्यभार र ठूला डिजिटल डाटाहरू व्यवस्थापनका लागि यो पूर्वाधार खडा हुने कम्पनीको भनाइ छ । किन राखियो बिचुटेन नाम ? परियोजनाको नाम बिचुटेन भगवान विष्णुको जापानी नामबाट जुराइएको हो । कम्पनीका अनुसार जसरी भगवान विष्णुलाई सृष्टिको रक्षक र संरक्षक मानिन्छ, त्यसैगरी यो डेटा सेन्टरले नेपालको महत्त्वपूर्ण डेटालाई सुरक्षित र संरक्षित राख्ने, डेटा सार्वभौमिकताको रक्षा गर्ने कम्पनीका अध्यक्ष नवीन अग्रवालले जानकारी दिए । उनका अनुसार कम्पनीले काठमाडौंको चोभार र वीरगञ्ज गरी दुईवटा स्थानमा डेटा सेन्टर निर्माण गरिरहेको छ । चोभारको सेन्टर मुख्य केन्द्रको रूपमा रहनेछ भने वीरगन्जको सेन्टरलाई डिजास्टर रिकभरी साइटका रूपमा प्रयोग गरिनेछ । २४० किलोवाट क्षमताबाट सुरु भइ सन् २०३० सम्ममा ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ । चोभारमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र आगामी जुलाईसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको अध्यक्ष अग्रवालले बताए । उनले भने, ‘स्वदेशी जनशक्ति र हरित ऊर्जाको प्रयोग यो परियोजनाले नेपालको दक्ष जनशक्तिलाई स्वदेशमै अवसर प्रदान गर्ने लक्ष्य हामीले राखेको छौं । नेपालका इन्जिनियर र प्राविधिकहरूलाई विदेश पलायन हुनबाट रोक्न यसले ठूलो मद्दत पुर्याउनेछ । साथै नेपालको सस्तो र स्वच्छ जलविद्युत लाई उपयोग गर्दै यसलाई वातावरणमैत्री र किफायती बनाइनेछ ।’ अन्तर्राष्ट्रिय साझेदारी र भविष्यको सोच बिचुटेनले एआई प्रविधिलाई नेपालको कुना–कुनासम्म पुर्याउन भिभिडीएन र गुगल क्लाउडजस्ता विश्वविख्यात प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरेको उनको भनाइ छ । यसले नेपालको शिक्षा, स्वास्थ्य अर्थात् अस्पतालको रिपोर्ट डिजिटलाइज गर्ने, कृषि र सरकारी सेवाहरूमा आमूल परिवर्तन ल्याउने अपेक्षा रहेको कम्पनीले जनाएको छ । कम्पनीले सन् २०३० सम्ममा आफ्नो क्षमता ५ मेगावाटसम्म पुर्याउने दीर्घकालीन योजना अघि सारेको छ । ‘यो केवल एउटा भवन मात्र होइन, यो डिजिटल नेपालको एउटा बलियो जग हो,’ बिचुटेनका अध्यक्ष अग्रवालले भने । यस परियोजनाको सफल कार्यान्वयनसँगै नेपाल दक्षिण एसियाकै एक प्रमुख डेटा सेन्टर हब बन्ने र डिजिटल अर्थतन्त्रमा ठूलो योगदान पुग्ने कम्पनीको भनाइ छ । बिचुटेन डाटा भोल्ट प्रालि नेपाली निजी कम्पनी हो । यसले डिजिटल पूर्वाधार निर्माणको काम गरिरहेको अध्यक्ष अग्रवालले जानकारी दिए । यसमा उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयल संलग्न रहेका छन् ।
महिला उद्यमशीलता प्रवर्द्धनमा लक्ष्मी सनराइज बैंक र आईएफसीको साझेदारी
काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँग ‘बैंकिङ अन वुमन’ (बीओडब्ल्यू) पहलअन्तर्गत ग्लोबल डब्लूएमएसएमई सेक्स डिसएग्रेगेटेड डाटा (एसडीडी) सम्बन्धी सहकार्य सम्झौता गरेको छ । उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल ‘वुमन इन्टरप्रेनर्स फाइनान्स इनिसियटिभ’ (वी–फाई) ले सहयोग गरिरहेको छ । वी–फाई विश्वभरका महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यम (डब्लूएमएसएमई) मा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बहुदातृ अन्तर्राष्ट्रिय प्लेटफर्म हो । यसअन्तर्गत सञ्चालन हुने ‘वुमन इन्टरप्रेनर्स फाइनान्स कोड’ वित्तीय संस्था, नियामक निकाय तथा वित्तीय प्रणालीसँग आबद्ध सरोकारवालाबीचको साझा प्रतिबद्धता हो । यसले महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा योगदान पुर्याउने लक्ष्य राखेको छ । सम्झौतामा लक्ष्मी सनराइज बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका थिए । सहकार्यअन्तर्गत आईएफसीले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांक (सेक्स डिसएग्रेगेटेड डाटा–एसडीडी) को संकलन, विश्लेषण तथा उपयोग प्रक्रिया सुदृढ बनाउन सहयोग गर्नेछ । यसले महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरूको आवश्यकता, चुनौती तथा अवसरबारे गहिरो बुझाइ विकास गर्न मद्दत पुग्ने बैंकले जनाएको छ । बैंकका अनुसार यस सहकार्यका आधारमा महिला उद्यमीका लागि अझ प्रभावकारी तथा उपयुक्त वित्तीय समाधान विकास गर्न सहज हुनेछ । साथै, यो साझेदारीले जिम्मेवार बैंकिङ अभ्यासप्रति लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।