विकासन्युज

आइसिएफसि फाइनान्सले ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

काठमाडौं । आइसिएफसि फाइनान्सले माघ ९ गते ऋणपत्र निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको जानकारी दिएको छ । कम्पनीका अनुसार १ लाख ८० हजार कित्ता अर्थात् १८ करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट र १ लाख २० हजार कित्ता अर्थात् १२ करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ । सर्वसाधारणलाई छुट्याईएको १ लाख २० हजार कित्ता मध्येबाट ६ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि बिक्री गरिने छ। ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। लगानीकर्ताले छिटोमा माघ १३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ २३ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । ७ वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने कम्पनीले जनाएको छ। ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

सानिमा रिलायन्स लाईफका सेयरधनीले कर तिरेपछि मात्रै बोनस सेयर पाउने

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योेरेन्स कम्पनीले सेयरधनीलाई बोनस सेयर वापतको कर भुक्तान गर्न अनुरोध गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९।०८० को बोनस सेयरको कर भुक्तान गर्न सेयरधनीलाई भनेको हो । तत्कालिन सानिमा लाईफ र रिलायन्स लाईफ एक आपसमा गाभिएर सानिमा रिलायन्सको नामबाट २०७९ चैत ९ गते एकिकृत कारोबार भएको थियो । आयकर ऐनमा भएको व्यवस्थ अनुसार गाभिएको मितिमा कायम सेयरधनीले २ वर्षसम्मको लाभांशको कर तिर्नु पर्दैन । तसर्थ उक्त दुई कम्पनी गाभिएको मिति २०७९ चैत ९ गते पछि बनेका सेयरधनीले मात्र बोनस सेयर वापतको कर जम्मा गर्न कम्पनीले अनुरोधद गरेको हो । कम्पनीले आव २०७९।०८० को मुनाफाबाट १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गरेको छ । २०७९ चैत ९ गतेपछि कायम सेयरधनीले सो बोनस वापत ५ प्रतिशत लाभकर भुक्तान गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ । कर वापतको रकम जम्मा गरेपछि मात्रै हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिने पनि कम्पनीले स्पष्ट पारेको छ । कर वापतको रकम एनएमबी बैंक रहेको सानिमा रिलयन्स डिभिडेण्ड ट्याक्स खाता नम्बर ९९०००५३६६७८००१७३ जम्मा गर्नुपर्ने जनाइएको छ । करको विवरण सानिमा रिलायन्स इन्स्योरेन्सको वेवसाइटमा गएर हेर्न सकिने पनि कम्पनीले जनाएको छ ।

सिँचाइ विभागका इञ्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा, खर्च १६ करोड गर्दा बैध आम्दानी ११ करोड मात्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इञ्जिनियर विष्णुकुमार श्रेष्ठ विरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले श्रेष्ठ सार्वजनिक सेवामा प्रवेशगरेदेखिको आर्जनको हिसाब किताब गरेको जनाएको छ । इञ्जिनियर श्रेष्ठ २०४६ असार ३० गते सरकारी सेवामा प्रवेश गरे । आयोगले सरकारी सेवामा प्रवेश गरेपछि २०७७ असार ३१ गतेसम्मको सम्पत्तिको विषयमा अध्ययन गरेको थियो । वैधानिक रुपमा श्रेष्ठले ११ करोड २५ लाख ६५ हजार एक सय ९९ बराबरको आर्जन गरेको पाइएको छ । यस्तै, १६ करोड १३ लाख ९५ हजार पाँच सय २८ बराबर लगानी एवम् खर्च गरेको पाइएको छ । चार करोड ८८ लाख ३० हजार तीन सय २९ बराबरको रकमको वैधानिक स्रोत नखुलेको आयोगले जनाएको छ । सार्वजनिक सेवामा रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक जीवनयापन गरेको पुष्टि भएको आयोगको ठहर छ । गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरिकुमार श्रेष्ठ, आमा इन्द्रकमारी श्रेष्ठ, छोरा विवेक श्रेष्ठसमेतको नाममा राखेको पाइएकाले सबैलाई प्रतिवादी बनाइ आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आजदेखि स्वस्थानी व्रतकथा, नेपालमा मात्र गरिने मौलिक आराधना

काठमाडौं । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्दै छन् । धेरैजसो महिलाले यो व्रत बस्ने गर्छन् । नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गरेकी अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज यो परम्परा दक्षिण एसियाकै अरु देशमा नभेटिएको बताए । जेसिका हाल अमेरिकाको इलिनोय विश्वविद्यालयमा धर्म विषयको उपप्राध्यापकका रुपमा कार्यरत छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात् हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।

काठमाडौं भ्युटावरको नक्सा निष्क्रिय, निर्माणकर्ताको लगानी डुब्ने जोखिम

काठमाडौं । साविकको पुरानो वसपार्कमा निर्माणाधिन काठमाडौं भ्युटावरको नक्सा काठमाडौं महानगरपालिकाले निष्क्रिय बनाएको छ । महानगरले आइतबार एक सूचना जारी गर्दै काठमाडौ भ्युटावर भवनको नक्सा पासको छानविन समितिले काम गरिरहेकोले समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मका लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको जनाएको हो । महानगरले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘काठमाडौं महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लि. बिच मिति २०७१/११/२२ मा काठमाडौं महानगरपालिका वडा नं. २८ पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माणका लागि सम्झौता भएको र उक्त प्रा.लि. बाट निर्माण हुदै गरेको काठमाडौ भ्युटावर भवनको नक्सा पासको सम्बन्धमा छानविन समिति गठन भई छानबिनको कार्य भइरहेको हुँदा छानविन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मका लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको व्यहोरा सरोकारवालाको जानकारीको लागि सूचित गरिन्छ ।’ महानगरको यस निर्णयसँगै भ्यूटावर निर्माणकर्ताको लगानी डुब्ने जोखिम बढेको  छ ।  यसको मुख्य लगानीकर्ता मनोज कुमार भेटवाल हुन् । उनले आन्तरिक कागज गराएर सयौं मानिससँग करोडौं रुपैयाँ लिएको र लगानी गरेको जानकारहरु बताउँछन् । यस भवन निर्माणमा संलग्न धेरै कामदार, निर्माण सामाग्री विक्रेताले पनि पैसा नपाएर प्रहरीमा उजुरी दिएका छन् । यस परियोजना निर्माणका क्रममा कयौंले भुक्तानी स्वरुप चेक पाएका छन् तर भुक्तानी पाएका छैनन् । यस भवनमा अहिलेसम्म कुनै पनि बैंकले कर्जा लगानी गरेका छैनन् ।साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तला सम्पन्न भइसकेको छ । यसअघि १२औँ तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको थियो । उक्त टावर वि.सं २०७२ को भूकम्पअघि बढीमा २९ तला बनाउने गरी कम्पनीसँग सम्झौता भएको थियो । तर भूकम्प पछि १२ तला मात्र बनाउन महानगरले निर्देशन दिएको थियो । पुल्चोक इन्जिनियरिङ कलेजको प्रतिवेदनले १२ तलालाई बढाएर २४ देखि २६ तलासम्म बनाउन सकिने सुझाव दिएका कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले गत जेठमा विकासन्युजलाई जानकारी दिएका थिए ।

नाफा वृद्धिमा नेपाल बैंक र एनआईसी एसियाको उत्कृष्ट ‘कमब्याक’, नबिलको पहिलो ताज कायमै

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा वाणिज्य बैंकहरूले साढे ३० अर्ब खुद नाफा गरेका छन् । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म वाणिज्य बैंकहरूले ३० अर्ब ५९ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार नाफा आर्जनमा सबैभन्दा अगाडि नबिल बैंक रहेको छ । नबिलले ५ महिनामा ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गर्दा ग्लोबल आइएमई बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेको छ । कात्तिकको तुलनामा नाफा वृद्धिमा भने नेपाल बैंक अगाडि देखिएको छ । नेपाल बैंकले कात्तिकको तुलनामा ६१.४५ प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले कात्तिकसम्म ९३ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेकोमा मंसिरसम्म कुल १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ कायम गरेको छ । यस्तै, एनआईसी एसिया बैंकले कात्तिकसम्म ३८ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेकोमा मंसिरसम्म भने ६३ प्रतिशतले बढाएर ६३ करोड ३० लाख रुपैयाँ कायम गरेको छ । कात्तिकको तुलनामा यी दुई बैंकले राम्रो नाफा वृद्धि गरेका छन् । यस्तै, कात्तिकको तुलनामा सिटिजन्स बैंकले ५८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५६ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ५३.४१ प्रतिशतले नाफा बढाएको छ । बढी नाफा गर्ने बैंकको तेस्रो स्थानमा नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक छ । यस बैंकले २ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गर्दा कुमारी बैंकले १ अर्ब ९९ करोड, प्राइम बैंकले १ अर्ब ९६ करोड, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड, एनएमबी बैंकले १ अर्ब ९० करोड, प्रभु बैंकले १ अर्ब ८३ करोड, लक्ष्मी सनराईज बैंकले १ अर्ब ६५ करोड र नेपाल बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसैगरी, स्टान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ३४ करोड, हिमालयन बैंकले १ अर्ब ३३ करोड, सिद्धार्थ बैंकले ९७ करोड, सानिमा बैंकले ९० करोड, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड, माछापुच्छ्रे बैंकले ८२ करोड र सिटिजन्स बैंकले ६९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कृषि विकास बैंक भने घाटामा छ ।

एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्नेभएको छ । एनआरएनएले आइतबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णयानुसार थाइल्याण्डको बैंककमा उक्त सम्मेलन गर्न लागेको जानकारी दिएको हो । एनआरएनएका अध्यक्ष डा बद्री केसीले विदेशमा रहेका युवा र दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई अपनत्व महसुस गराई मातृभूमिसँग जोड्न सम्मेलन गर्न लागेको बताए । यसैगरी एनआरएनएले आगामी चैत ३ र ४ गते कम्बोडियाको न्होम पेन्ह सिटीमा १०औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजना गर्नेभएको छ । यसपटक सङ्घले एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘सङ्गम’ नामकरण गरेको छ ।

एनसेलको ‘सधैं अन’मा अब ‘फ्री अनलिमिटेड नाइट डेटा’

काठमाडौं । एनसेलले आफ्ना सधैं अन प्याकहरू लिने ग्राहकलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन् । गत बिहीबार (पुष २५)बाट सुरु भएको यो योजनाअन्तर्गत सधैं अनका ३९९ रुपैयाँबाट सुरु हुने बेस्ट र ७९९ रुपैयाँबाट सुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन् । यसको मतबल प्याकमा पाइने बन्डल सेवा, सुविधाबाहेक अब ग्राहकले यो नाइट डेटा पनि पाउँछन् । सधैं अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागु गरेको हो । ३९९, ४९९, ५९९ का बेस्ट प्याक र ७९९, ९९९ र १ हजार ४९९ का अनलिमिटेड प्याक लिने ग्राहकहरूले यो योजनाबाट फाइदा लिन सक्छन् । यो थप सुविधाबाहेक कम्पनीले यी प्याकहरू लिने ग्राहकलाई पहिला नै अनलिमिटेड यूट्युबमा पहुँच प्रदान गर्दै आएको छ । २८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याकअनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ । त्यसैगरी सधैं अनको अनलिमिटेड प्याकका ग्राहकहरुले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अन लिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन् । एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैं अन योजना सञ्चालनमा ल्याएको थियो ।