विकासन्युज

ललितपुरमा नेपाटपले मनायो २५ औं वार्षिकोत्सव

काठमाडौं । नेपाटपले २५ औं वार्षिक उत्सव मनाएको छ । कम्पनीले शनिबार २५ औं वार्षिकोत्सव ललितपुरमा एक कार्यक्रम गरेर मनाएको हो । वार्षिक उत्सवको कार्यक्रममा कम्पनीले आफ्ना वितरक र डिलरहरूलाई सम्मानसमेत गरेको थियो । वार्षिक उत्सव कार्यक्रको प्रमुख अतिथिको नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश कुमार अग्रवाल थिए । अग्रवालले नेपाटपले २५ औं वर्ष पुरा गरेकोमा बधाई तथा शुभकामना पनि दिएका थिए । कार्यक्रममा कम्पनीका अध्यक्ष दिपक श्रेष्ठले नेपापटले २५ औं वार्षिकोत्सव मनाउन सफल भएको खुसी व्यक्ति गरेका थिए । विगतमा दुई साथी मिलेर ट्यांकी बनाउँदाको दिनदेखि २५ वर्षसम्म पुगेको इतिहास पनि श्रेष्ठले स्मरण गरेका थिए । अध्यक्ष श्रेष्ठले नेपाटप उत्कृष्ट प्रोडक्टहरु उत्पादन गरेकाले गर्दा आजको दिनमा यो स्थानसम्म आउन सकेको बताएका थिए । आफ्नो यात्रामा साथ दिने सबैलाई श्रेष्ठले कम्पनीको तर्फबाट धन्यवाद समेत दिएका थिए ।

भारतबाट आयात हुँदा नेपाली तरकारीले मूल्य पाएन, किसानलाइ लागत नउठ्ने चिन्ता

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उनी जस्तै गाउँका अन्यलाई काउली काट्न त, कोही बजार लैजाने तयारीमा देखिन्छन् । सापकोटाले विगतमा जस्तै यसवर्ष पनि आफ्नो खेतमा रोपेकी थिइन्, तर काउलीको मूल्य घटीरहेकामा निकै चिन्तामा परेको बताउँछिन् । ‘मैले बारीभरी काउली रोपेको थिएँ, अहिले मध्य सिजन भएकाले होला काउली १५ रुपैयाँमा पनि बिकिरहेको छैन, लगानीसमेत नउठ्ने भयो’, सापकोटाले दुःखेसो पोखिन् । करिब महिनाअघिसम्म प्रतिकेजी एक सय रुपैयाँसम्ममा बिक्री भएको काउली अहिले एकाएक सस्तिएपछि यहाँका किसान निकै चिन्तामा छन् । उक्त वडाका करिब एक सय ३० किसान परिवारले आफ्नो खेतबारीमा काउली रोपेका थिए । तर भाउ नपाउँदा उनीहरूको लगानी जोखिममा परेको बताइन्छ । बारीमै छोडौँ नहुने, टिपेर बजार पठाउँदा ज्याला पनि नउठ्ने भइसकेकामा स्थानीय अर्का किसान सङ्गीता सापकोटालाई पनि निकै चिन्ता पर्न थालेको छ । ‘यहाँ यो सिजनमा दैनिक एक हजार केजीसम्म काउली उत्पादन हुने गरेको छ, तर बजारमा राम्रो मूल्या नपाउँदा भने लगानी र ज्यालासम्म नउठ्ने भए पनि घाटा ब्याहोर्न बाध्य भइयो’, उनले भनिन् । स्थानीय व्यापारीलाई तरकारी पठाउने गरेका यहाँका किसान आफूहरूलाई पायकपर्ने स्थानमा हाटबजार राखिदिन नगरपालिकासँग अनुरोध गरेको उनले बताइन् । स्थानीय चिरञ्जीवी सापकोटा दम्पतीलाई पनि हालका दिनमा काउली काट्ने र बजार लैजान तयारी गरिदिन हतारोनै हुने गरेको छ । साँझ व्यापारी तरकारी लिन आउने भएकाले उनीहरू समय मिलाएर काउली काट्न निस्कन्छिन् । व्यापारी तरकारी लिन बारीमै आउने र मोल नगरी लिएर जाने र बनेपा तथा काठमाडौंमा लगेर बिक्री गरेपछि आफूलाई नाफा राखेर पैसा दिने गरेको सापकोटाले बताइन् । उनी पनि आफूले गरेको मेहनतअनुसारको आम्दानी नपाएकोमा निकै चिन्तामा परेको बताउँछिन् । ‘व्यापारीलाई विश्वासकै भरमा तरकारी दिन्छौँ, समय नभएकाले हामी आफैँ बिक्री गर्न बजार जाँदैनौँ, त्यही भएर व्यापारीको भरपर्ने हो’, उनले भनिन् । उनले हाल व्यापारीले प्रतिकिलो काउली १० रुपैयाँका दरले पैसा दिएको बताइन् । सापकोटाले पाँच रोपनीमा लगाएको काउलीबाट गत वर्ष एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरेकी थिइन् । तर यस वर्ष मूल्य राम्रो नपाएकाले फाइदा निकाल्न सक्ने स्थितिमा नरहेको उनको भनाइ छ । यस वर्ष ८० हजार रुपैयाँ नकट्ने उनको अनुमान छ । हालसम्म स्थानीय किसानले काउलीको राम्रो मूल्य पाएको प्रतिकिलो १७ सम्म मात्रै हो । उपभोक्ताले बजारमा काउलीको मूल्य प्रतिकिलो ५० रूपैयाँसम्म तिर्दा पनि यहाँका किसानले भने १० देखि १५ रुपैयाँ मात्रै पाइरहेका छन्  । गतवर्ष एउटै किसानले एक सिजनमा काउली, बन्दा र गोलभेडा बेचेर पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका थिए, तर यो वर्ष एक लाख रुपैयाँ उठाउन पनि कठिन देखिएको स्थानीयको भनाइ छ । सापकोटाको भनाइमा काउली फलाउन किसानले धेरै मेहनत गर्नुपर्छ, काउली रोप्न खेत वा बारी तयारी गर्ने, काउलीको बेर्ना तयारी गर्ने, रोप्ने, गोडमेल गर्ने, मलजल गर्ने, समय–समयमा कीटनाशक विषादी हाल्नेलगायत काम गर्नुपर्छ, यतिका काम गर्दा लागेको खर्च हालको बजार मूल्यले धान्न सक्दैन । ‘हाल किसानले प्रतिकिलो काउलीको मूल्य ३५ देखि ४० रुपैयाँसम्म पाउनसके लगानी उठाउन सकिनेछ’, सापकोटाले भने । तरकारीबाट उचित मूल्य नपाएपछि यहाँका किसानमा निराशा छाउँदै गएको अर्का किसान कृष्णप्रसाद सापकोटा बताउँछन् । उनी भन्छन्, ‘भारतबाट तरकारी आयात हुँदा नेपालका किसानले तरकारीको उचित मूल्य पाउँदैनन्, मौसमी काउली अहिलेको समयमा बढी उत्पादन भएकाले पनि उचित मूल्य नपाएको हो ।’ राम्चेबेँसीमा हरेक वर्ष तरकारीखेती हुन्छ । यहाँका सयौँ रोपनी जग्गामा किसानले मौसमी तथा बेमौसमी तरकारी रोप्दै आएका छन् । तर पछिल्ला केही वर्षयता भने मण्डनदेउपुरमा विविध कारण खेतीपातीमा लाग्ने किसान विस्तारै घट्न थालेको देखिएको छ । निकै दुःख गरेर उत्पादन गरे पनि बजारका राम्रो मूल्य नपाउँदा किसानले खेतीमा गरेको लाखौँ रूपैयाँ जोखिममा पर्ने गरेको घटना देखिएका छन् । मल, बीउ समयमा नपाउने र पाइए पनि महँङ्गो तिर्नुपर्ने कारण लाखौँ लगानी गर्नुपर्ने बाध्यता रहेको छ । रासस

वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

काठमाडौं । वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे । उनका दुई छोरा र तीन छोरी छन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए । पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत हुन् । केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।

नेपाल क्लियरिङ हाउसको वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा आइतबार सम्पन्न साधारण सभाले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर गरी २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बैठकले लेखापरीक्षण प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गरेको छ । साधारण सभामा प्रस्तुत प्रतिवेदन अुनसार एनसीएचएलको चुक्ता पूँजी १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९०० रुपैयाँ बराबरको हुनेछ भने अधिकृत पूँजी वृद्धि गरी २ अर्ब २५ करोड पुर्‍याउन स्वीकृत गरेको छ । कम्पनीले पूँजी वृद्धि मार्फत नेसनल पेमेन्ट स्वीच, नेसनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतिका लागि प्रयोग गर्नेछ । आव २०८०/८१ मा कम्पनीबाट फर्छ्योट भएका कारोबारहरूको संख्या ५४ प्रतिशतले वृद्धि भएको उल्लेख छ । जसबाट कम्पनीको खुद नाफा ६.२ प्रतिशतले वृद्धि भएको छ । सोही आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणाली मार्फत कुल १५६ खर्ब बराबरको १२ करोड ६ लाख भुक्तानी कारोबार राफसाफ भएको जनाइएको छ । बैठकले कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरू निर्विरोध चयन गरेको छ । वाणिज्य बैंकहरूबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा हिमालयन बैंक लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सिद्धार्थ बैंक लिमिटेडका प्रमुख सूचना प्रविधि सृजन मल्ल छन् ।

सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंकको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार काठमाण्डौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभाले बैंकको चुक्ता पूँजी बाह्र अर्ब बाउन्न करोड चौवालीस लाख छब्बीस हजार आठ सय एकतीस रुपैँयाको १२.५० प्रतिशत बराबर एक अर्ब छपन्न करोड पचपन्न लाख त्रिपन्न हजार तीन सय चौवन्न रुपैयाँ बोनस सेयर तथा ०.६६ प्रतिशत बराबर ८,२३,९७,५४५ रुपैयाँको नगद लाभांश (बोनस सेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित, विदेशी पनि आउन थाले पढ्न

झापा । जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो । काठमाडौं विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर- १२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको पढाइ सुरू हुनु झापावासीका लागि गर्वको विषय भएको बताए । ‘समाजमा पछाडि पारिएका आदिबासी, जनजाति, दलित र महिला समुदायलाई एमबीबीएस पढ्ने कोटा दिन सके अझ राम्रो हुन्थ्यो,’ उनले भने,’राजबंशी, सन्थाल, मेचे, धिमाल, ताजपुरियालगायत आदिवासी समुदाय प्राविधिक शिक्षाको पहुँचबाट टाढै छ ।’ नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाइँले खाडी मुलुकमा पसिना गालेर कमाएको पैसा छोराछोरीलाई डाक्टर र इञ्जिनीयर पढाउन अस्ट्रेलिया, यूरोप र अमेरिका पठाउनुपर्ने बाध्यता अब हट्ने भन्दै जिल्लामा मेडिकल शिक्षा सुरू भएकोमा खुसी व्यक्त गरे । उनले देशभित्रै पढ्न नपाउँदा बर्सेनि अर्बौ रकम विदेश गइरहेको जनाउँदै बिएन्डसी मेडिकल कलेजले अध्ययनको नाममा नेपाली पुँजीको विदेश पलायन रोक्न ठूलो सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । झापा अब मेडिकल हब बन्ने धारणा राख्दै उनी भन्छन्,’कलेजको नाफा र घाटा सञ्चालकको भए तापनि मेडिकल कलेज सम्पूर्ण झापावासीको साझा सम्पत्ति हो । हिजोका दिनहरूमा झापालीहरू डाक्टर पढ्न विदेश जान्थे, अब विदेशबाट झापा आउने क्रम सुरू भएको छ ।’ महिला मानवाधिकार रक्षा सञ्जाल झापाकी अध्यक्ष कविता बाँस्तोलाले छोरी बुहारीका लागि स्वास्थ्य विज्ञान विषयमा अध्ययन गर्न जिल्लामै सुनौलो अवसर आएको बताइन् । उनले विदेशमा डाक्टर पढ्न जाँदा सुरक्षाका लागि विवाह गर्नैपर्ने र परनिर्भर हुनैपर्ने बाध्यताबाट छोरीहरूले छुटकारा पाएको जनाउँदै जिल्लामै यस्तो अवसर सिर्जना हुनु लैङ्गिक दृष्टिकोणले सकारात्मक भएको बताइन् । ‘छोरीहरूले विदेश पढ्न जान सहज थिएन,’ उनी भन्छिन्,’पुरूष साथी खोज्नुपर्ने र कतिपय अवस्थामा विवाह गर्नैपर्ने बाध्यतात्मक अभ्यास थिए । अभिभावक पनि त्यस्तै चाहन्थे । तर, जिल्लामै एमबीबीएस पढ्ने अवसर पाउँदा ती तमाम समस्याको एकैचोटी समाधान भएको छ । जिल्लामै अभिभावकसँग बसेर पढ्न पाइने भएको छ ।’ नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश कमिटी सदस्य एवं झापा क्षेत्र नं १ का इञ्चार्ज प्रकाश भण्डारीले बिएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ सुरू हुनु भनेको झापाको शैक्षिक इतिहासमा नयाँ युगको थालनी भएको बताए । ‘अझ धेरै अगाडि एमबीबीएसको पढाइ झापामा हुनुपथ्र्यो,’ उनले भने,’क्षमता भएका जिल्लाबासीका छोराछोरीले आफ्नै आँगनमा मेडिकल शिक्षा हासिल गर्नसक्ने अवस्था आउनु गौरवको विषय हो । विदेशमा मात्रै पढ्नुपर्ने बाध्यताको अन्त्य भएको छ । बङ्गलादेशमा गत वर्ष आन्दोलन हुँदा नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन सकस भएको हामीले भुल्नुहुँदैन । अब जिल्लामै पढ्न पाएपछि विदेशको अनेक जोखिम मोल्नु परेन ।’ नेपाल अडिटर्स एशोसिएशनका केन्द्रीय सचिव जयधर्म पोखरेलले बङ्गलादेशमा एउटा नेपालीले एमबीबीएस कोर्स पूरा गर्न रू एक करोड तिर्नु परिरहेको जनाउँदै बिएन्डसीले जिल्लामै पठनपाठन गराउँदा हरेक ब्याचमा रू ५० करोड पुँजी विदेश जानबाट रोकिने बताए । उनले दुई वर्ष अघि बिएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ सञ्चालन हुनसकेको भए आफ्नो छोराले बङ्गलादेश जानुनपर्ने स्मरण गर्दै ढिलै भए पनि झापामा पढाइ हुँदा अभिभावकमा खुसीको माहौल छाएको बताए । उनी भन्छन्, ‘मेरो छोराले बाध्यताबस बङ्गलादेशमा पढ्न जानुपर्यो । हामी विदेशमा ठूलो धनराशी खर्चेर पढ्न जानुपर्ने अवस्थाको अन्त्य भएको हेर्न चाहन्थ्यौँ । झापामा एमबीबीएसको पढाइ अलि अगाडि नै सुरू हुनुपथ्र्यो ।’ विदेशीहरू पनि आउन थाले पढ्न यही पुस २६ गतेदेखि पठनपाठन सुरू भएको बिएन्डसी मेडिकल कलेजमा अध्ययनरत् ५० जनामध्ये ३४ जना नेपाली र १४ जना विदेशी विद्यार्थी छन् । स्वदेशी ३४ जनाध्ये पाँच जनाले नेपाल सरकारको नियमानुसार शतप्रतिशत निःशुल्क छात्रवृत्ति प्राप्त गरेको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । ‘पश्चिम बङ्गालको बागडोग्रा विमानस्थलबाट ३५ किलोमिटरको दूरीमा मेडिकल कलेज रहेको हुँदा भारतीय विद्यार्थीका लागि बिएन्डसी पहिलो रोजाइ बनेको पाइयो,’ जनसम्पर्क अधिकृत गिरीले भने, ‘हिजोका दिनमा नेपाली मेडिकल शिक्षा लिन विदेश जानुपर्ने बाध्यता थियो, अब विदेशीहरू धाएर नेपालमा आउन थाले ।’ आफ्नै जिल्लामा एमबीबीएस तहको पठनपाठन गराउने झापावासीको दशकौँं पुरानो चाहना बल्ल पूरा भएको जनाउँदै उनले मेडिकल कलेजका लागि विसं २०६८ मा सरकारबाट आशयपत्र पाउँदा र विसं २०७१ मा ३०० शय्याको अस्पताल सञ्चालन हुँदासमेत पठनपाठन सुरू हुन एक दशक कुर्नुपरेको बताए । सत्तरी जना प्रोफेसर कार्यरत बिएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन पाएका ११ वटामध्ये बीएन्डसी कान्छो कलेज भएको स्मरण गर्दै पठनपाठन सुरू हुँदै गर्दा ७० जना प्रोफेसर (पूर्णकालीन फेकेल्टी) कार्यरत रहेको बताए । उनले पहिलो सत्रमै देशका राम्रो श्रेणीका विद्यार्थीले बिएन्डसी मेडिकल कलेज रोजेको जनाउँदै मेचीनगर–१२ स्थित साइन्स ब्लकमा एनाटोमी, फिजियोलोजी, बायो केमेस्ट्री, माइक्रो बाइलोजी, कम्युनिटी मेडिसिन, फर्माकोलोजीलगायतका सुविधासम्पन्न फेकेल्टीमा पठनपाठन भइरहेको बताए । ‘शान्त र सुविधासम्पन्न छ पढाउने भवन,’ प्राडा शर्माले भने, ‘बेसिक साइन्स भवनमा पाँच तला छन् । दुई वटा ठूला सेमिनार हल छन् । सात वटा डिपार्टमेन्टका अलग अलग कक्षा कोठाहरू छन् । अत्याधुनिक प्रयोगशाला र पुस्तकालय छ ।’ सबै विद्यार्थीलाई छात्रावास सुविधा र शैक्षिक वातावरण राम्रो रहेको उल्लेख गर्दै उहाँले झापामा बिएन्डसी अस्पतालको स्थापनापछि एक हजार जनाले प्रत्यक्ष रोजगार पाएको र अब कलेज सञ्चालन भएपछि अरू एक हजार रोजगारी सिर्जना हुने बताए । ‘भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिका दृष्टिले बिएन्डसीले धेरै अगाडि मेडिकल कलेजको सम्बन्धन पाउनु पथ्र्यो,’ प्राडा शर्माले भने, ‘सुरूमै पढाइ हुन पाएको भए यतिखेर एक हजार जनाले एमबीबीएस उत्तीर्ण गरिसक्थे भने यहाँ पढ्नेहरू प्रोफेसर भइसक्थे ।’ झापाको आर्थिक विकासमा बिएन्डसी मेडिकल कलेज र हस्पिटलले ठूलो टेवा पुर्‍याएको र जिल्लालाई मेडिकल शिक्षा र मेडिकल टुरिज्मको हब बनाउने बाटो खुलाएको उहाँको धारणा छ । सर्वोच्च अदालतले विसं २०८० चैत १३ गते बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो । रासस

अमेरिकी डलर स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ आज पुनःस्थिर रहेको छ । यस्तै, युरोपियन युरो, जापानी येनको मूल्य बढेको छ । त्यस्तै, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र हङकङ डलरको मूल्य भने ओरालो लागेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो  एकको खरिददर एक सय ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ २९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ४९ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ४२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८४ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ १६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ७० पैसा र बिक्रीदर आठ रुपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ २३ पैसा र बिक्रीदर १२ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६४ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ०८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आज यी स्थानमा हुनसक्छ वर्षा, उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।