अत्याधुनिक काईयी एक्स थ्री प्रो ईभी शून्य ब्याजदरमा उपलब्ध
काठमाडौं । काईयी नेपालले अत्याधुनिक काईयी एक्स थ्री प्रो ईभीमा विशेष अफर घोषणा गरेको छ । यो ईभी ५ वर्षसम्म शून्य प्रतिशत ब्याजदरमा उपलब्ध रहेको छ । काईयी एक्स थ्री प्रोमा शक्तिशाली प्रदर्शनका लागि १२० किलोवाटको मोटर, लामो समयसम्म चल्ने र भरपर्दो ऊर्जाका लागि ५३.६ किलोवाट-घण्टा ब्याट्री, ४०१ किलोमिटरको माइलेज र यसको २८० एनएम टर्कले रोमाञ्चक ड्राइभिङ अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएकाे छ । काईयी नेपालले थापाथली (नेपाल राष्ट्र बैंकको विपरीत) स्थित आफ्नो शोरूमा भ्रमण गर्न अनुरोध पनि गरेको छ ।
मञ्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न, ६.३५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको करसमेत) वितरण गर्ने निर्णय पारित गरेको छ । सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीहरूको तर्फबाट ३ जना यादव अधिकारी, रामहरि शर्मा तथा सुमनप्रसाद अधिकारी र सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट सतिश गौतम गरी ४ जना जना सञ्चालक आगामी ४ वर्षका लागि निर्विरोध निर्वाचित भए । यसैगरी, वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालयलाई काठमाडौं महानगर- १० बाट ठाउँसारी गरी वडा नम्बर ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रबन्धपत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भएकाे छ । मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्तसम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ । यस फाइनान्सको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रही २७ वटा शाखा तथा एक बिस्तारित काउन्टरमार्फत देशभरका प्रमुख सहरमा १ लाख २० हजारभन्दा बढी ग्राहकलाई सेवा पुर्याउँदै आएको छ ।
नबिल बैंकले पायो सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ २७००१ : २०२२ प्रमाणपत्र
काठमाडौं । नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त आईएसओ २७००१ : २०२२ प्रमाणपत्र प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्टले प्रदान गरेको हो । यो उपलब्धिले नबिल बैंकको ग्राहकको डेटा सुरक्षा र संवेदनशील सूचनाको सुरक्षा अभ्यासप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ । आज नबिल बैंकको मुख्य कार्यालयमा आयोजित प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बैंकले प्रमाणपत्र प्राप्त गरेको हो । कार्यक्रममा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो । नबिल बैंकले आफ्नो सुरक्षात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेको पुष्टि प्रमाणपत्र प्रदान गर्ने संस्थाले गहन परीक्षण गरेर गरेको हो । नबिल बैंकले आफ्नो सुरक्षा प्रणाली, अभ्यास र नियन्त्रणको विस्तृत मूल्यांकनपछि यो मान्यता प्राप्त गरेको हो । साइबर जोखिम र चुनौतीहरू बढिरहेका बेला यस्तो प्रमाणपत्रले बैंकको सुरक्षाप्रतिको गम्भीर प्रतिबद्धता झल्काउँछ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो प्रमाणपत्रले डाटा सुरक्षामा नबिल बैंकको गुणस्तरलाई मान्यता दिएको बताए । उनले भने, ‘हामी ग्राहकहरूको डाटा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छौं । यो प्रमाणपत्रले सुरक्षात्मक उपायलाई निरन्तर सुधार्न गरिएको हाम्रो प्रयासलाई मान्यता दिइएको छ । यो प्रकृयालाई हामी निरन्तर सुधार गर्ने प्रतिबद्धता पनि गर्छाैं ।’ आईएसओ २७००१ : २०२२ प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्ड हो । यो प्रमाणपत्र प्राप्त गर्नु नबिल बैंकको सुरक्षाको उच्च मापदण्ड कायम राख्न गरिएको प्रयासको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले बैंकलाई थप विश्वासिलो बनाउनुका साथै बैंकको ग्राहकप्रति दायित्व झल्काएको छ । इन्टरसर्ट एक विश्वव्यापी सर्टिफिकेसन संस्था हो, जसले विभिन्न व्यवस्थापन प्रणालीहरूको लागि सर्टिफिकेसन सेवा प्रदान गर्दछ । नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरूलाई सेतो छडी सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अपाङ्गता संरक्षण नेपालसँगको सहकार्यमा ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ । मधेस प्रदेशको सप्तरी जिल्लामा अपाङ्गता संरक्षण नेपालद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित दृष्टिविहीनहरूलाई बैंकले सो सामग्री हस्तान्तरण गरेको हो । बैंकको यो सानो पहलबाट दृष्टिविहीनहरूको दैनिक कामकाज र आवतजावतमा सहजता प्राप्त हुने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम,३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरूबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
मनोकामना मनिचेञ्जरको इजाजत रद्द, भारतीय रूपैयाँ खरिद-बिक्रीमा बदमासी
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरिदिएको छ । राष्ट्र बैंकले मनोकामना मनिचेञ्जर वीरगञ्ज प्रालिको इजाजतपत्र रद्द गरिदिएको जनाएको छ । नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ चौंथो संशोधनसहितको विनियम १९ को उपविनियम ३ मा भएको व्यवस्थाबमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय भएको नेपाल राष्ट्रले उल्लेख गरेको छ । अब उप्रान्त सो मनिचेञ्जरसँग कुनै पनि कारोवार नगर्न/नगराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । राष्ट्र बैंकको वीरगञ्ज कार्यालयबाट भारतीय रूपैयाँ खरिद-बिक्री गर्नका लागि उक्त कम्पनीलाई इजाजतपत्र प्रदान गरेकाे जनाइएको छ ।
माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्विरोध निर्वाचित
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिलनारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेकाे छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । यसैगरी, सभाले जीपी राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेकाे छ । साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकास सँगसँगै यसमा देखा परेका चुनौतीहरूलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न बैंक अगाडि बढिरहेको जानकारी गराए । त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिरहेको बताए।
समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापनका लागि तिम्सिना छनौट, माघ २ गतेभित्र नियुक्ति लिनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापनका लागि राजेन्द्रप्रसाद तिम्सिनालाई छनौट गरेको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै उक्त कम्पनीको व्यवस्थापनका लागि तिम्सिनालाई छनौट गरेको हो । यस्तै, राष्ट्र बैंकले छनौट भएका तिम्सिनालाई नियुक्ति लिनका लागि माघ २ गतेभित्र राष्ट्र बैंकको वित्तिय संस्था सुपरिवेक्षण विभागमा सम्पर्क गर्न भनेको छ । यदि माघ २ गतेभित्र नियुक्ति लिनका लागि तिम्सिना उपस्थित नभएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ । तिम्सिनाका साथै राष्ट्र बैंकले अन्य २ जनाको नाम वैकल्पिकमा राखेको छ । वैकल्पिकको पहिलो नम्बरमा रामप्रताप यादव छन् भने दोस्रो नम्बरमा प्रकाश घिमिरे रहेका छन् । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापनका राष्ट्र बैंकले एक जना माग गर्दै मङ्सिर १२ गते दर्खास्त खुलाएको थियो। त्यसको लागि परेका आवेदनहरूमध्येबाट ४ जनाको आवेदन स्वीकृत भएको जनाइएको छ। प्रकाश घिमिरे, कुमार अधिकारी, राम प्रताप यादव र राजेन्द्रप्रसाद तिम्सिनाको आवेदन फारम स्वीकृत भएका मध्ये कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्तापछि राष्ट्र बैंकले फाइनान्सको व्यवस्थापन तथा सञ्चालनको लागि तिम्सिनालाई छनौट गरेको हो । राष्ट्र बैंकले तिम्सिनालाई माघ २ गतेभित्र सम्पर्क गर्न अनुरोध गरेको छ । यदि उनले माघ २ गतेभित्र नियुक्ति लिन नगएमा राष्ट्र बैंकले वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने छ। वैकल्पिक उम्मेदवारमा रामप्रताप यादव र प्रकाश घिमिरे रहेका छन् । राष्ट्र बैंकले सो पदको लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी लेखासम्बन्धी कार्यमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको वा चार्टर्ड एकाउण्टेन्सी (सीए) पास गरी ५ वर्षको कार्य अनुभव हासिल गरेको लेखा विज्ञले आवेदन दिन सक्ने जनाएको थियो । नियुक्त भएका उम्मेदवारले करसहित १ लाख ३ हजार ६ सय रुपैयाँ मासिक पारिश्रमिक प्राप्त गर्नेछन्। दशैंखर्चवापत एक महिनाको पारिश्रमिक बराबरको रकम र भैपरिआउने बिदा वार्षिक १२ दिनसम्म प्रदान गर्नेछ । छनौट भएका उम्मेदवारले नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको रामशाहपथस्थित कार्यालयमा काम गर्नु पर्ने छ।
भरतपुर महानगरपालिकाले ल्यायो १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट
काठमाडौं । भरतपुर महानगरपालिकाले १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ । आइतबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा भएको १६ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो । एक सय ४ वटा वडास्तरीय तथा नगरस्तरीय योजनाहरूको कार्यक्रम संशोधन तथा रकमान्तर भएको १४ करोड २८ लाख रुपैयाँ ल्याइएको हो । उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको बताए । बजेट शीर्षक तथा उपशीर्षकअन्तर्गत स्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पुर्याउन, साधन-स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन, सेवा प्रवाहलाइ सरल तथा प्रभावकारी बनाउन, र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको उनले बताए । चालु आर्थिक वर्षको अर्ध वार्षिक प्रगति स्थितिको विष्लेशणको आधारमा बजेट तथा कार्यक्रम संशोधन एवम् समायोजन गरिएको उनले बताए । महानगरले आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५६ करोड १ लाख ४३ हजार बजेट विनियोजन गरेको थियो । नगर सभालाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले नारायणी नदीको किनारमा २३ किलोमिटर तटबन्धको कार्य अन्तिम चरणमा रहेको उल्लेख गरिन् । उनले भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणधिन अवस्थामा रहेको र धावनमार्ग निर्माण प्रक्रिया सुरु भएको बताइन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको, एशियाली मापदण्डको सिक्स लेन सडक निर्माणको अन्तिम चरणमा रहेको उनले जानकारी दिइन् । यस्तै, प्रमुख दाहालले ८८ किलोमिटर लामो रिङरोडसहित संघ, प्रदेश र महानगरपालिकाको लगानीमा १ हजार ३ किमि कालोपत्रे सडक निर्माण भएको बताइन् । महानगरको प्रशासकीय भवन, सिटी हल, जंगली जनावरबाट मानव तथा पशु वालीमा हुने क्षति न्युनीकरणको लागि फाउण्डेशनसहितको मेस जाली निर्माण भइरहेको उल्लेख गरिन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमले दूध उत्पादनमा उल्लेख्य वृद्धि भई आम कृषकको आर्थिक अवस्थामा सुधार आएको उनको भनाइ छ । उनले विभिन्न निकाय सँगको समन्वयमा ७ हजार ९ सय विगाहा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको, नारायणी लिफ्ट सिँचाइ आयोजनालाई १२ महिनै सञ्चालन गर्ने गरी काम अगाडि बढेको जानकारी दिइन् । संस्थागत विद्यालयबाट वितरण हुने कक्षा १२ सम्मका छात्रवृत्तिलाई लक्षित वर्ग केन्द्रित गरी १४५ जना युवा स्वयंसेवक शिक्षकहरूको व्यवस्था गरी सबै विद्यालयमा शिक्षक व्यवस्थापन गरिएको उल्लेख प्रमुख दाहालले उल्लेख गरिन् । महानगरका स्थायी बासिन्दा महिलाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका ८ सय ९१ जना छोरीहरूको बालउमङ्ग जीवन बिमा गरिएको उनले बताइन् । भरतपुर भ्रमण वर्ष २०२४ को अवधिमा भरतपुर महानगरपालिकामा ११ लाख ६४ हजार आन्तरिक पर्यटक र २ लाख ८४ हजार वाह्य पर्यटकसहित जम्मा १४ लाख ४९ हजार जना पर्यटकले भरतपुर भ्रमण गरेका उनले जानकारी दिइन् । महानगरको फोहर व्यवस्थापनका लागि भ्याटबाहेक ७ करोड ६१ लाख रुपैयाँमा तीन वर्षे आय ठेक्का सम्झौता भई मंसिर १ गतेबाट फोहोरमैला संकलन र व्यवस्थापनको काम सुरु भएको उनले बताइन् । अति सीमान्तकृत र लोपोन्मुख ७९६ जना र दलित समुदायका ४हजार ९सय ७६ जना गरी सामुदायिक विद्यालयको आधारभूत तहमा अध्ययतरत लक्षित वर्गका सबै बालबालिकाहरूलाई शैक्षिक प्रोत्साहन कार्यक्रम अन्तरगत छात्रवृत्ति वितरण गरिएको उनको भनाइ थियो ।