विकासन्युज

१५ बैंकको ब्याजदर स्थिर, २ वटाको बढ्दा ३ वटाले घटाए

काठमाडौं । माघ महिनाका लागि अघिकांश वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । हाल सञ्चालनमा रहेका २० मध्ये १५ वटा वाणिज्य बैंकले माघका लागि ब्याजदर स्थिर राखेका हुन् । यसैगरी, ३ वटा बैंकले ब्याजदर घटाएका छन् भने २ वटा बैंकले ब्याजदर बढाएका छन् । नेपाल एसबीआई बैंकले ब्याजदर ०.५० प्रतिशत घटाएको छ । एसबीआईले व्यक्तिगत निक्षेप र संस्थागत निक्षेप दुवैतर्फ ०.५० प्रतिशत ब्याजदर घटाएको हो । पौष महिनाका लागि एसबीआई बैंकले व्यक्तिगत निक्षेपका लागि ६ र संस्थागत निक्षेपका लागि ५ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले माघ महिनामा व्यक्तिगततर्फ ५.५० र संस्थागत तर्फ ४.५० प्रतिशत ब्याजदर तोकेको छ । यसैगरी, नेपाल बैंकले माघ महिनाका लागि संस्थागत निक्षेपतर्फ ब्याजदर घटाएको छ भने व्यक्तिगत निक्षेपतर्फ स्थिर राखेको छ । बैंकले पौष महिनामा संस्थागत निक्षेपकर्तालाई ४.७० प्रतिशत ब्याज दिएको थियो । माघ महिनामा संस्थागतलाई ४.१५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । अर्थात संस्थागत निक्षेपतर्फ बैंकले ०.५५ प्रतिशत ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगततर्फ पौष महिनाको ५.६० प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिएको छ । यसैगरी, कृषि विकास बैंकले व्यक्तिगत ब्याजदर घटाएको छ भने संस्थागत ब्याजदर स्थिर राखेको छ । पौष महिनामा बैंकले व्यक्तिगततर्फ ५.५७ प्रतिशत ब्याज दिएको थियो । माघ महिनामा व्यक्तिगततर्फका निक्षेपकर्तालाई ५.५१ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । अर्थात माघ महिनामा व्यक्तिगततर्फ बैंकले ०.०६ प्रतिशत ब्याज घटाएको हो । संस्थागततर्फ पौष महिनामा बैंकले लागू गरेको ३.२५ प्रतिशतलाई नै निरन्तरता दिएको छ । यता, लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंकले ब्याजदर बढाएका छन् । लक्ष्मी सनराइजले व्यक्तिगत निक्षेपका लागि ब्याजदर बढाएको छ भने सिटिजन्सले संस्थागत निक्षेपका लागि ब्याजदर बढाएको छ । पौष महिनामा लक्षी सनराईजले व्यक्तिगततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको थियो । माघ महिनामा उक्त ब्याजदर बढाएर ५.७५ प्रतिशत पुर्‍याएको छ । अर्थात माघ महिनामा बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत ब्याजदर बढाएको हो । संस्थागततर्फ भने बैंकले पौष महिनाकै ब्याजदर ४.५० प्रतिशतलाई नै निरन्तरता दिएको छ । सिटिजन्स बैंकले पौष महिनामा संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको थियो । माघ महिनाका लागि बैंकले संस्थागततर्फ ४.५० प्रतिशत पुर्‍याएको छ । अर्थात ०.५० प्रतिशत ब्याजदर बढाएको छ । यसैगरी, व्यक्तिगततर्फ बैंकले पौष महिनामा कायम ५.५६ प्रतिशतलाई नै निरन्तरता दिएको हो । ब्याजदर स्थिर राख्ने बैंकहरू १५ वटा बैंकले संस्थागत र व्यक्तिगत दुवै तर्फको ब्याजदर स्थिर राखेका छन् । ग्लोबल आईएमई र नबिल बैंकले पौष महिनामा कायम व्यक्तिगततर्फ ५.५७ र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदरलाई नै माघ महिनामा पनि निरन्तरता दिएका छन् । यसैगरी, कुमारी बैंकले व्यक्तिगत तर्फ ५.९१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदरलाई नै माघ महिनामा पनि निरन्तरता दिएको छ । माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिइँदा सिद्धार्थ र एभरेष्ट बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरलाई नै माघ महिनाका लागि पनि निरन्तरता दिएका छन् । यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ३.५० प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ६.०५ र संस्थागततर्फ ४.३० प्रतिशत, प्रभु बैंकले व्यक्तिगततर्फ ६.१० र संस्थागततर्फ ५.१०, प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ६.२५ र संस्थागततर्फ ४ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ६.२५ र संस्थागततर्फ ३.२५ र हिमालयन बैंकले व्यक्तिगततर्फ ६.२५ र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदरलाई नै माघ महिनाका लागि पनि निरन्तरता दिएको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ६.५० र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदरलाई माघ महिनामा निरन्तरता दिँदा एनएमबी र एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ६.६० र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदरलाई नै माघ महिनामा पनि निरन्तरता दिएको जनाएको छ ।

सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिवन्ध

काठमाडौं । मोटोपन नियन्त्रण गर्न र स्वस्थ आहार प्रवद्र्धन गर्न सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिवन्ध लगाउने दक्षिण अस्ट्रेलिया पहिलो अष्ट्रेलियाली राज्य बनेको छ । जुलाई १, २०२५ मा लागू हुने यो प्रतिवन्धले सार्वजनिक बस, रेल र ट्राममा चकलेट, लली, कन्फेक्शनरी, मिठाई, आइसक्रिम, सफ्ट ड्रिंक्स र चिप्स जस्ता अस्वस्थ उत्पादनहरूको तस्बिरहरू राख्न निषेध गरेको छ । खाना र पेय पदार्थको मार्केटिङले बच्चाको पोषण ज्ञान, खानाको प्राथमिकता र उपभोग ढाँचालाई असर गर्नसक्ने बताइएको छ ।

५ अर्ब लगानीमा केबलकारसहित होटल र क्यासिनो व्यवसाय, सुदूरको आर्थिक गतिविधिमा कोशेढुङ्गा

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स पुग्नुअघि देखि नै कीर्तिपुर रङ्गशालामा अर्कै माहोल थियो । खेलको बीचबीचमा बजाइने लोकप्रिय देउडा गीत र नृत्यमा झुम्दै गरेका दर्शकहरुले सुदूरपश्चिमलाई राम्रैसँग परिचित गराएका थिए । सुदूरपश्चिम अब टाढा होइन, आम नेपालीको मनमुटुमा र केन्द्रमै छ भन्ने सन्देश त्यहाँ देखिन्थ्यो, सुनिन्थ्यो । देशको भूगोलमा त सुदूरपश्चिम टाढै छ, तर धेरै कुरामा केन्द्रमा छ । राजनीति होस् या कला सङ्गीत, प्रशासन होस् या सुरक्षा । अनेक आयाममा राष्ट्रको केन्द्रमा छ सुदूरपश्चिम । यी क्षेत्रमा प्रायः प्रभावशाली भूमिकामै देखिन्छ यो प्रदेश । अहिले पनि सुदूरपश्चिम प्रदेशबाट सङ्घीय मन्त्रिपरिषद्मा सङ्ख्या र प्रभावका आधारमै महत्वपूर्ण जिम्मेवारीमा छन् । यसअघि पटकपटक सुदूरपश्चिमले मुलुकको शासनको बागडोर सम्हालेको त छँदैछ । यसबाहेक संस्कृति, पर्यटन र प्रकृतिको कुरा गर्ने हो भने पनि अरूभन्दा सम्पन्न छ, सुदूरपश्चिमको भूगोल । धार्मिक पर्यटकीय क्षेत्र, जलस्रोतको अथाह भण्डार, जडीबुटीसमेत अनेकन प्राकृतिक स्रोतसाधनले भरिपूर्ण मानिन्छ यहाँको माटो । यति हुँदाहुँदै पनि यो क्षेत्रमा पर्यटन होस् या अन्य पूर्वाधारले भने अपेक्षाकृत कमी नै छ यहाँ । जलविद्युत् उत्पादनमा केही लगानी त देखिन्छ तर मुलुकको निजी क्षेत्र खासै ठूला परियोजनामा यहाँ अघि सरेको देखिएको छैन । सायद यसैकारण पनि हुनसक्छ राजधानी काठमाडौँबाट निकै टाढा भएकैले आफूहरु हेपिएको गुनासो यहाँका आम मानिसमा व्याप्त छ । सरकार र निजी क्षेत्र दुवैको लगानी सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा अन्य प्रदेशको तुलनामा कमै रहेको मात्र होइन मानव विकास सूचकाङ्कमा पनि यी दुवै प्रदेश धेरै पछि रहेका छन् तर यतिखेर भने सुदूरपश्चिममा पूर्वाधारको लगानीमा उत्सुकता देखिन थालेको महसुस भएको छ । खासगरी पर्यटन पूर्वाधार निर्माण, उद्योग स्थापना तथा मेडिकल कलेज स्थापनाजस्ता केही क्षेत्रमा निजी क्षेत्र आकर्षित हुन थालेका छन् । रोजगारीको विकराल समस्या भोगिरहेको सुदूरपश्चिमबाट बर्सेनि हजारौँ मानिस छिमेकी भारतका विभिन्न सहर, बजारमा कामका लागि भौँतारिरहेको अवस्थामा नेपालभित्रै रोजगारी सिर्जना गर्ने प्रयत्न हुनु आफैँमा ठूलो उपलब्धि हो । यही सिलसिलामा हालै मात्र आइएमई समूहले सुदूरपश्चिममै पहिलो पटक झण्डै पाँच अर्ब लगानीमा जाल्पादेवी केबलकार निर्माण गर्नेगरी शिलान्यास गरेको छ । पछिल्ला वर्षहरुमा सरकारी एवं निजी क्षेत्रको लगानी खुम्चिरहेको र लगानीकर्ताहरुमा संशयका बीच कैलालीको कर्णाली पुल नजिक चिसापानीमा जोखिम मोलेर यति ठूलो लगानीमा केबलकारसहित पर्यटन पूर्वाधार बन्न लागेको छ । नेपालसहित सीमावर्ती भारतीय पर्यटकलाई समेत आकर्षित गर्नेगरी निर्माण हुन लागेको यस पर्यटन पूर्वाधारमा केबलकारसहित पाँचतारे होटल, बालउद्यान, जिपलाइन, क्यासिनो समेतका संरचना बन्न लागेको आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले बताए । निजी क्षेत्रबाट सुदूरपश्चिममा यति ठूलो लगानी भएकै यो पहिलो हो, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका ढकालले भने, ‘हामी जोखिम मोलेरै यो ठाउँमा आएका छौँ । यस परियोजनाले अरूलाई पनि सुदूरपश्चिममा लगानी गर्न उत्प्रेरित गर्ने हाम्रो विश्वास छ । देशका सातै प्रदेशमा कम्तीमा एउटा केबलकारसहित होटल तथा अन्य एकीकृत पर्यटकीय संरचना निर्माणको अभियानअन्तर्गत सुदूरपश्चिम आइपुगेका छौँ ।’ सुन्दर कर्णाली पुल तर्नासाथ सुदूरपश्चिम प्रदेश सुरु हुन्छ । यो पुलको पश्चिमतर्फ कैलाली जिल्लामा निर्माण हुने यो बृहत् पर्यटन पूर्वाधारको परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हालै शिलान्यास गरेको हो । यो पूर्वाधार सुदूरमै लगानीको नयाँ ढोका खुल्न लागेको शिलान्यास समारोहमा मन्त्री डा राणासहितका सहभागी मन्त्रीहरु र पर्यटन व्यवसायीहरुले बताएको थियो । अध्यक्ष ढकालका अनुसार झण्डै ३.२ किलोमिटर लामो यस केबलकारले चिसापानी र मोहन्याल गाउँपालिकाको राजकाँडालाई जोड्नेछ । यो नेपालमा हाल सञ्चालित केबलकारमध्ये सबैभन्दा लामो हो । यसमा ४० वटा गोन्डोला रहने पनि ढकालले जानकारी दिए । विश्वकै उत्कृष्ट इटालियन कम्पनीका उपकरण जडान गरेर निर्माण हुने यस केबलकारले कैलालीको सबैभन्दा दुर्गम मानिएको मोहन्याल गाउँपालिकाको राजकाँडालाई जोड्नेछ । तुलनात्मक रुपमा हरेक मौसममा चिसो हावा बहने राजकाँडाबाट कर्णाली नदी, उत्तरतर्फ अपी र सैपाल हिमाल, सुर्खेत, डडेल्धुरा समेतका धेरै जिल्लाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । जाल्पादेवी केबलकार निर्माणको शिलान्यास समारोहमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा राणाले कर्णाली नदी पश्चिममा लगानी गर्न निजी क्षेत्र आउनु प्रदेशकै लागि गौरवको कुरा भएको बताए । ‘हामी त वर्षौंदेखि यो दिनको पर्खाइमा थियौँ, आज त्यो दिन आएको छ । अब अरू व्यवसायीलाई पनि सुदूरपश्चिम आउने ढोका खुलेको छ । सुदूरपश्चिममा त जनता पनि गरिब छन् । यहाँ साधनस्रोत पनि छैन, लगानी उठ्दैन भन्ने धेरैको सोचलाई अब यो परियोजनाले बदलिदिएको छ । कसै न कसैले जोखिम लिनै पथ्र्यो, आइएमई ग्रुपले यो आँट लिएर अरूलाई पनि अब यहाँ आउन ढोका खोलिदिएको छ,’ मन्त्री डा राणाले भनिन् । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले पनि सुदूरपश्चिममा निजी क्षेत्रले यति ठूलो परियोजना विकास गर्न थालेकामा खुसी हुँदै भने, ‘पूर्वाधार निर्माणमा वन क्षेत्र बाधक भए त्यसलाई सुल्झाउन र सहजीकरण गर्न वन मन्त्रालय तयार रहेको छ । हामी निजी क्षेत्रसँग हातेमालो गर्न तयार छौँ ।’ अझ, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न चाहने निजी क्षेत्रका लागि जमिन, विद्युत् र सडक निर्माणमा सहजीकरण गरी उपयुक्त वातावरण तयार गर्न हरक्षण तत्पर रहेको बताए। आफूहरुले प्रदेशमा लगानी सम्मेलन आयोजना गरेको, निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई प्रदेशमा लगानीका लागि निरन्तर संवाद र आग्रह गरिरहेको बताउँदै उनले चिसापानीमा केबलकार बनाउने योजना सुनेदेखि नै आफूले सहजीकरण गरिरहेको सुनाए । कैलालीका उद्योगी एवं जाल्पादेवी केबलकार परियोजनाका साझेदार सूर्यबहादुर थापाले केबलकार निर्माणका क्रममा आफूहरुले अनेकन चुनौतीको सामना गरे पनि अन्ततः सफलतातर्फ उन्मुख भएको बताए । उनले भने, ‘सरकार र निजी क्षेत्र मिलेर सिङ्गो सुदूरपश्चिमका आकर्षक धार्मिक तथा पर्यटकीय गन्तव्यहरुलाई विकास गर्नुपर्छ । यी पूर्वाधार निर्माणले यहाँ रोजगारी सिर्जना हुनाका साथै राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।’ सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रुपमा पनि चिनिन्छ । यो प्रदेशसँगै महाकालीपारिको भारतको उत्तराखण्ड क्षेत्र समेतमा थुप्रै मठमन्दिर रहेकाले यो समग्र क्षेत्रलाई देवभूमि भन्ने गरिएको हो । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गम क्षेत्र खप्तड पर्यटकीय रुपमा महत्वपूर्ण छ । यहाँ त्रिवेणीधामका साथै २२ पाटन छन् । समुद्री सतहबाट तीन हजार दुई सय २७ मिटरको उचाइमा रहेको यो क्षेत्र दुई सय २५ वर्ग किमीमा फैलिएको छ । कैलालीको कर्णाली नदीमाथि बनेको एक खम्बे (स्टेट केबुल ब्रिज) पुल, तत्कालीन राजा महेन्द्रले विसं २०२८ मा एक महिना बसेर राजकाज गरेको इतिहास रहेको कैलालीको टीकापुरस्थित टीकापुर उद्यान, कैलालीकै घोडाघोडीस्थित विश्व रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी ताल क्षेत्र यहीँ छ । यसैगरी, बाह्रसिङ्गाको झुण्ड देख्न सकिने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, सोही जिल्लाको महाकाली नदी माथि बनेको नेपालकै लामो मध्येको झोलुङ्गे पुल, डडेल्धुराको ऐतिहासिक अमरगढी किल्ला, अजयमेरुकोटको दरबार, अछामको रमारोशन क्षेत्र (१२ ताल अठार ठूला मैदान भएको क्षेत्र), वैद्यनाथधाम, चुरे पहाडको फेदमा रहेको कैलालीको गोदावरीधाम क्षेत्र, सीमापारि भारतीय नागरिकका कुलदेवता मानिने कैलालीको बेहँडाबाबा धाम, डडेलधुराको उग्रतारा मन्दिर, घटाल बाबाको मन्दिर र महाकाली नदी किनारको पर्शुराम धाम, डोटीको शैलेश्वरी मन्दिर र बड्डीकेदारधाम, बैतडीको त्रिपुरासुन्दरी मन्दिर, निङ्लाशैनी र भूमेश्वर महादेवको गुफा, बाजुराको बडिमालिका आदि मुख्य छन् । कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवर कर्णाली चिसापानीमा केबलकार स्थापनाको योजनाले प्रदेशको आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने बताउँछन् । होटेल, रेष्टुरेन्ट, यातायातलगायत क्षेत्रको गतिविधि पनि बढ्न गई समग्रमा आर्थिक समृद्धिमा टेवा पुग्नेछ । चिसापानी क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको केन्द्र भाग रहेकाले यहाँ बन्न लागेको केबलकार मुख्यगरी भारतीय पर्यटकलाई लक्षित गरेर स्थापना गर्न लागिएको भन्दै उनले भने, ‘सुदूरपश्चिम र लुम्बिनी प्रदेश नजिकका भारतीय क्षेत्रमा केबलकार सञ्चालनमा नरहेकाले चिसापानीमा केबलकारको योजना ल्याउनु निकै सान्दर्भिक छ ।’ उनले भने, ‘हाम्रो यहाँ त्यति धेरै जनसङ्ख्या छैन, भारतको उत्तरप्रदेशमा झण्डै २४ करोड बढी जनसङ्ख्या छ, आन्तरिक पर्यटकसँगसँगै भारतीय पर्यटकलाई भित्र्याउन सकेमा केबलकारको योजनाले आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ ।’ मोहन्याल गाउँपालिकाका प्रमुख देवीदत्त उपाध्यायले विकास पूर्वाधारका दृष्टिले सबैभन्दा पिछडिएको चुरे पहाडमा अवस्थित मोहन्यालको आर्थिक विकासमा यस परियोजना निर्माणले ठूलै टेवा दिने विश्वास व्यक्त गरे । मोहन्याल क्षेत्रमा उत्पादन हुने वस्तुको खपत हुने, स्थानीय जनताले उत्पादित वस्तुको राम्रो मूल्य पाउने, ‘होम स्टे’ अझ फस्टाउने तथा गाउँपालिका क्षेत्रमा रहेका अन्य पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा मद्दत पुग्ने बताए। कैलालीको चिसापानी समेत ठूलो बजार र औद्योगिक क्षेत्र ओगटेको लम्कीचुहा नगरपालिकाका प्रमुख सुशिला शाहीले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रुपमा रहेको चिसापानीमा केबलकार निर्माणले पर्यटकीय गतिविधि बढ्ने र व्यावसायिक पूर्वाधार निर्माणमा निजी क्षेत्र थप उत्साहित हुने बताए । सुदूरपश्चिमको कैलाली चिसापानीमा निर्माण हुने यस पूर्वाधारले सुदूरपश्चिमका साथै लुम्बिनी क्षेत्रका नेपालगञ्ज, बर्दिया समेतका क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउने व्यवसायी सूर्यबहादुर थापाको भनाइ छ । हुन पनि कर्णालीवारि लुम्बिनी प्रदेशको बर्दिया छभने पुल तर्नासाथै दाहिनेपट्टिबाट लाग्ने बाटोले छोटो दूरीमै सुर्खेत भएर कर्णाली प्रदेशलाई जोड्छ । अनि केबलकार निर्माणस्थल त सुदूरपश्चिमको कैलाली भइहाल्यो । जसरी यो स्थान तीन प्रदेशको सङ्गमस्थल छ त्यसैगरी, पर्यटनको पनि त्रिवेणी छभन्दा हुन्छ । किनभने कर्णालको र्याफ्टिङ र बर्दिया राष्ट्रिय निकुञ्ज त पर्यटनका विश्वप्रसिद्ध आकर्षण नै हुन् । त्यसैले आफैँमा सुन रहेको यो ठाउँमा केबलकारले सुगन्ध थप्ने विचार शिलान्यास समारोहमा उपस्थित स्थानीयले राखेका थिए । रासस

बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ । विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा कुनै पनि स्वास्थ्य केन्द्रको आकस्म्कि कक्षमा बिना कुनै सोधखोज अनिवार्य जीव्न रक्षको उपचार तत्काल शुरु गनुैपर्ने र सम्भव नभएका उपचार निकटतम केन्द्रमा सेवाको सुनिश्चितता गरी सुरक्षित रेफरको दायित्व सम्बन्धित केन्द्रको हुने व्यवस्था मिलाउने घोषणा गरेका थिए । सोही बुँदालाई आधार मानेर निर्देशिका जारी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले बिरामीको जीवनरक्षा र अस्पतालहरुमा चाप व्यवस्थापन यसको उद्देश्य रहेको बताए । एकातिर बिरामी कतै गए पछि बिनाकुनै ढिलाइ उपचार पाउनुपर्ने सुनिश्चित गर्न खोजेका हौं, उनले भने, अर्कोतिर अस्पतालहरुमा चापको व्यवस्थापनसमेत गर्ने लक्ष्य छ । निर्देशिकाले आकस्मिक तथा भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा अर्को अस्पतालमा नपुर्याउँदासम्मको जिम्मेवारी प्रथम अस्पतालको हुने निश्चित गरेको छ । जसअनुसार प्रथम बिन्दुको अस्पतालले त्यहाँ सम्भव नभएको उपचारका लागि मात्र नजिकको अस्पतालमा रेफर गर्नुपर्नेछ । यसैगरी, प्रथम बिन्दुको स्वास्थ्य संस्थाले बिरामीलाई रेफर गर्नुपूर्व सम्बन्धित अस्पतालमा सम्पर्क गरेर त्यहाँ उपचार, शैय्या तथा आवश्यक सेवा भए नभएको सुनिश्चित गर्दै समन्वय गर्नुपर्नेछ । निर्देशिकामा प्रत्येक अस्पताल, स्थानीय तह, प्रदेश र राष्ट्रियस्तरमा रेफरल एकाइ अनिवार्य हुने गरी व्यवस्था मिलाइएको छ । निर्देशिकामा बिरामीका बारे आवश्यक जानकारी साझा हुने भएकाले भैसकेको परीक्षण दोहोर्याउनु नपर्ने गरी थप जाँच हुने व्यवस्था गरिएको छ । अहिले सरकारी अस्पतालहरुमा बढिरहेको चाप कम गर्नका लागि आवश्यकताका आधारमा मात्र बिरामी रिफर गर्ने गरी निर्देशिका जारी भएको छ । बिरामीलाई आफू उपचार गर्न जाने ठाउँबारे पूर्ण अधिकार दिएको निर्देशिकाले उपचार सम्भव भएसम्म अस्पतालका तर्फबाट रिफर गर्ने कुरालाई भने नियन्त्रण गर्न खोजेको छ । स्थानीय तह, प्रदेश र संघीय तहमा व्यवस्था गरिएका रेफर एकाइले ती ठाउँको स्वस्थ्य सेवाको गुणस्तर र रेफर सम्बन्धमा स्वास्थ्य संस्थालाई निर्देशन दिने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।निर्देशिका यसैसाथ संमलग्न छ ।

२०२४ मा मर्सिडिज बेन्जको बिक्रीमा गिरावट

काठमाडौं । जर्मन लक्जरी कार निर्माता मर्सिडिज बेन्जको सन् २०२४ मा मुख्य कार बिक्रीमा गिरावट आएको छ । चीनमा कमजोर अर्थतन्त्रका कारण बिक्री घटेको कम्पनीले शुक्रबार जनाएकाे छ । यसको बावजुत पनि मर्सिडीजको सेयर ४ प्रतिशतले बढेको थियाे । कम्पनीको सेयर मूल्य २०२४ मा लगभग १५ प्रतिशतले घटेको थियो। स्टिफिल विश्लेषक डेनियल श्वार्जले तेस्रो त्रैमासिकको कमजोर प्रदर्शनपछि कम्पनीको उच्चस्तरीय सेग्मेन्टमा ३४ प्रतिशतको त्रैमासिक बिक्री वृद्धिलाई सकारात्मक संकेतको रूपमा औंल्याएका छन् । कम्पनीले २०२४ मा आफ्नो नाफा मार्जिन लक्ष्य दुई पटक घटाएको थियो र लागत कटौतीलाई तीव्र बनाउने योजना बनाएको छ । कम्पनीले २०२४ मा १९ लाख ८३ हजार ४०० कारहरू बेचेको छ, जुन २०२३ को तुलनामा ३ प्रतिशतले कम हो । चीनमा बिक्री ७ प्रतिशत र युरोपमा ३ प्रतिशतले घटेको छ । ब्याट्री-इलेक्ट्रिक कारहरूको वार्षिक बिक्री २३ प्रतिशतले घटेर १ लाख ८५ हजार १०० मा पुगेको छ, जसले नयाँ ईयू सी‌ओटू उत्सर्जन कटौती लक्ष्यहरूको सामना गर्न थप चुनौती प्रस्तुत गरेको छ । युरोपेली प्रतिद्वन्द्वीहरूको बढ्दो संख्याले पनि मर्सिडिजको बिक्रीमा कमी आएकाे हाे। बजारको अवस्था निकट भविष्यमा सुधार हुने सम्भावना नभएकोले मर्सिडिजले आफ्नो मध्यकालीन नाफा लक्ष्य पनि घटाउने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले २०२४ को वित्तीय विवरण फेब्रुअरी २० मा सार्वजनिक गर्दैछ । होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने झन् सशक्त बन्दै बीवाईडी, अर्को वर्ष नयाँ पुस्ताको ब्लेड ब्याट्री लन्च गर्ने चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस

स्वस्थानी व्रतकथा प्रारम्भ (तस्बिरहरू)

काठमाडौं । आजदेखि स्वस्थानी व्रतकथा प्रराम्भ भएको छ । वैदिक सत्य सनातन परम्पराअनुसार आफ्ना वरपरका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमासअनुसार माघ महिनालाई विशेष रुपमा लिने गरिन्छ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजाआरधना गरिन्छ । सतीदेवीको अंग पतन भएका शक्तिपीठहरुमा विशेष मेला लाग्दछ । आजबाट काठमाडौंको शालीनदीमा स्नान गरी स्वस्थानी व्रतकथा प्रारम्भ गर्नेहरुको भीड रहेको छ । आइतबारदेखि नै व्रतालुहरु शालीनदीमा पुगि जाग्रम बसेर बिहानै स्नान गरी स्वस्थानी व्रत प्रारम्भ गरेका छन् । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रत प्रारम्भ गरिन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।  

लुम्बिनी केबलकारको एक वर्षमै साढे १३ करोड आम्दानी, एक अर्ब ऋण

काठमाडौं । सञ्चालनमा आएको एक वर्षमै लुम्बिनी केबलकारले करिब साढे १३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । केबलकारले सन् २०२४ मा १३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको केबलकार गत आर्थिक वर्षदेखि सञ्चालनमा आएको थियो । यो केबलकार परियोजनाको स्टेशन पाल्लामा पर्दछ । केबलकार परियोजना सञ्चालनमा आइसके पनि होटल भने सञ्चालनमा आउन सकेको छैन । अहिले होटलको डिजाइनको काम भइरहेको छ । केबलकार र रिसोर्टसहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको लुम्बिनी केबलकार प्रालिले जनाएको छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र ननभेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काइवाक, जीपलाइन निर्माणको क्रममा छन् । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ । यस कम्पनीमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, रमेश शर्मा र हेमराज ढकालको लगानी छ । केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भएको थियो । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्याइरहेको छ । मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने कम्पनीको भनाइ छ । लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले सातै प्रदेशमा केबलकार बनाउने योजनाअनुरूप काम गरिरहेका छन् । केबलकारले एक अर्ब ऋणका लागि रेटिङ गराएको छ । कम्पनीले एलबी प्लस रेटिङ पाएको छ ।

पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ । आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो । यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा २७ दशमलव ४ किलोमिटर दूरीमा अन्तिम चरणको कालोपत्रकार्य सम्पन्न भएको पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा ६ सेन्टिमिटर र दोस्रो चरणमा चार सेन्टिमिटर गरी दश सेन्टिमिटर सडक कालोपत्र गरिएको छ । उक्त सडक खण्डमध्ये ६९ किमी सडक दूरीमा दुई लेनका सडक कालोपत्रकार्य सम्पन्न गरिएको पूर्वीखण्डका सूचना अधिकारी पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार अन्तिम चरणको कालोपत्र गर्ने काम भइरहेको छ । जिल्लाको डुम्रे, छिर्कन र दमौली खण्डमा निर्माण कार्य तीब्रगतिमा अघि बढाइएको छ । बन्दीपुर, आँबुखैरेनी र व्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढाइएको छ । पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरू गरिनेछ, अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढाइने आयोजनाले जनाएको छ । पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि कालोपत्र गरिँदै छ । दमौली बजारमासमेत सडक विस्तारका लागि अहिले नाली बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्र विन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम भइरहेको छ । यस खण्डमा साना चौध वटा पुल निर्माणकार्य सकिएका छन् । ठूला तीन वटामध्ये डुम्रे बजार नजिकैको एउटा पुल अन्तिम चरणमा पुगेको छ, दुई वटाको निर्माणकार्य सम्पन्न भइसकेको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ५० प्रतिशत बढी पूरा भइसकेको छ । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरू भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको थियो । यस खण्डको सम्झौता म्याद समाप्त भएपछि पुनः फागुन २ गतेसम्मका लागि म्याद थप गरिएको छ ।