अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर
काठमाडौं । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा ६ खर्ब ६७ अर्ब ६० करोड १९ लाख रुपैयाँ बराबर खर्च भएको छ । यो अवधिको खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ८९ प्रतिशत हो । चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याइएकोमा हालसम्म ३९ दशमलव ६३ प्रतिशत अर्थात् ४ खर्ब ५२ अर्ब रुपैयाँ खर्च भएको छ । पुँजीगत शीर्षकको खर्च झनै कमजोर छ । यो शीर्षकमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन भएकोमा पुस मसान्तसम्ममा १६ दशमलव १६ प्रतिशत अर्थात् रु ५६ अर्ब ९३ करोड ५० लाख बराबर मात्र खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४३ दशमलव दुई प्रतिशत छ । यो शीर्षकमा ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बराबर बजेट विनियोजन भएकोमा हालसम्म १ खर्ब ५८ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ बराबर खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । गत पुस मसान्तसम्ममा रू पाँच खर्ब ७४ अर्ब ७६ करोड ७९ लाख राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको ३९ दशमलव ०६ प्रतिशत हो । कर राजश्वतर्फ ३८ दशमलव ११ प्रतिशत अर्थात् ४ खर्ब ८९ अर्ब ३९ करोड ९२ लाख र गैरकर राजस्वतर्फ ५१ दशमलव ९७ प्रतिशत अर्थात् ७० अर्ब २० करोड ८२ लाख सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान सहायता लिने लक्ष्य लिएकामा हालसम्म रु सात अर्ब ३७ करोड छ लाख बराबर वैदेशिक सहायता प्राप्त भएको छ ।
भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै
काठमाडौं । भक्तपुरका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिए । भक्तपुरका चार नगरपालिकामध्ये सूर्यविनायक नगरपालिकाका चार हजार एक सय ६२, भक्तपुर नगरपालिकाका छ हजार सात सय ४२, मध्यपुरथिमि नगरपालिकाका चार हजार दुई सय तीन र चाँगुनारायण नगरपालिकाका दुई हजार पाँच सय ८४ किशोरीलाई एचपिभी खोप लगाइने उनले जानकारी दिए । उनका अनुसार कक्षा ६ देखि १० सम्मका १६ हजार छ सय २८ र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका एक हजार ६३ किशोरीलाई खोप लगाइने छ। कार्यालयले खोप लगाउन खोप केन्द्र र जनशक्तिको विभाजन एवं तालिकासमेत सार्वजनिक गरेको छ । जसमध्ये सूर्यविनायकमा ६५ विद्यालय र ११ अन्य, भक्तपुर नपामा ७४ विद्यालय र छ अन्य, मध्यपुरथिमि नपामा ५६ विद्यालय र १० अन्य तथा चाँगुनारायण नपामा ४८ विद्यालय र १९ अन्य स्थान गरी कुल दुई सय ४३ विद्यालय र ४६ अन्य ठाउँमा खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियानलाई सफल पार्न कुल दुई सय ८९ स्वास्थ्यकर्मी र पाँच सय ७० स्वयंसेवक परिचालन गरिने भएको छ । कार्यालय प्रमुख खतिवडाका अनुसार जिल्लाका चारवटै स्थानीय तहसँग समन्वयात्मक कार्यक्रम गरी स्थानीय स्वयंसेवकलाई तालिम दिइ सकिएको छ । खोप लगाउँदा कसैलाई स्वास्थ्यमा कुनै समस्या नआउने दाबी गर्दै उनले समस्या आइहालेमा उपचारका लागि भक्तपुर अस्पताल, ख्वप अस्पताल, सूर्यविनायक नगर अस्पताल, चाँगुनारायण नगर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार गरिने जानकारी दिए । सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर एचपिभी खोप अभियान सञ्चालन गर्न लागेको हो । यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने बताइन्छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा छभने स्तन क्यान्सर दोस्रोमा पर्छ । भक्तपुर जिल्लामा खोप अभियानलाई सफल बनाउन स्थानीय तह र अन्य निकायसँग समन्वय भइरहेको छ । जिल्ला समन्वय समितिका सभापति ईश्वरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललगायतले अभियान सफल बनाउन आह्वान गरेका छन् ।
चीनले अमेरिकी टिकटक मस्कलाई बेच्ने सम्भावना खोज्दै : रिपोर्ट
न्युयोर्क । चिनियाँ अधिकारीहरूले भिडियो–सेयरिङ प्लेटफर्म टिकटकले चीनबाट तत्काल विनिवेश गर्नुपर्ने अमेरिकी कानूनको सामना गरिरहेको बेला अर्बपति एलन मस्कलाई अमेरिकी टिकटक सञ्चालन बेच्ने सम्भावना खोजिरहेको ब्लुमबर्ग न्युजले सोमबार रिपोर्ट गरेको छ । यस मामिलासँग परिचित अज्ञात व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्टले बेइजिङमा छलफल भइरहेको एउटा परिदृश्यलाई उल्लेख गरेको छ । त्यहाँ मस्कको सोशल मिडिया कम्पनी एक्सले चिनियाँ मालिक बाइटडान्सबाट टिकटक खरीद गर्नेछ र यसलाई पहिले ट्विटर भनेर चिनिने प्लेटफर्ममा एकीकृत गर्नेछ । रिपोर्टले टिकटकको अमेरिकी सञ्चालनको मूल्य ४० देखि ५० अर्ब डलरको बीचमा रहेको अनुमान गरेको छ । यद्यपि मस्क हाल विश्वको सबैभन्दा धनी व्यक्तिका रूपमा रहे पनि मस्कले लेनदेन कसरी कार्यान्वयन गर्न सक्नुहुनेछ वा उनलाई अन्य सम्पत्तिहरू बेच्नु पर्ने हो कि होइन भन्ने स्पष्ट नभएको ब्लुमबर्गले बताएको छ । अमेरिकी सरकारले गत वर्ष एउटा कानून पारित गरेको थियो । उक्त कानूनअनुसार टिकटकको बाइटडान्सलाई या त अत्यन्त लोकप्रिय प्लेटफर्म बेच्न वा बन्द गर्न आवश्यक छ । राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा एक दिनअघि यो आइतबार लागु हुनेछ । अमेरिकी सरकारले टिकटकले बेइजिङलाई डाटा सङ्कलन गर्न र प्रयोगकर्ताहरूको जासुसी गर्न अनुमति दिएको आरोप लगाएको छ र यो प्रचार प्रसारको माध्यम हो । चीन र बाइटडान्सले ती दावीलाई कडा रूपमा अस्वीकार गरेका छन् । टिकटकले अमेरिकी सर्वोच्च अदालतमा अपिल गर्दै कानूनलाई चुनौती दिएको छ । अदालतले शुक्रबार मौखिक तर्क सुनेको थियो । सुनुवाइमा नौ सदस्यीय बेन्चका बहुमत कन्जरभेटिभ र लिबरल न्यायाधीशहरू बिक्री गर्न बाध्य पार्नु पहिलो संशोधनको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको उल्लङ्घन हो भन्ने टिकटकका वकिलको तर्कप्रति शङ्कास्पद देखिएका थिए । चिनियाँ अधिकारीहरूले कसरी अघि बढ्ने भन्नेमा अझै सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै ब्लुमबर्गले बेइजिङको सम्भावित मस्क कारोबारको विचारलाई ‘अझै प्रारम्भिक’ का रूपमा वर्णन गरेका छन् । चिनियाँ सरकारको योजनाका बारेमा बाइटडान्सलाई कति थाहा थियो भन्ने स्पष्ट नभएको अधिकारीहरूले बताए । टिकटकले टिप्पणीका लागि एएफपीको अनुरोधलाई तुरुन्तै जवाफ दिएन तर भेराइटीले एक प्रतिनिधिलाई उद्धृत गर्दै भनेको छ, ‘हामीलाई शुद्ध काल्पनिक कुरामा टिप्पणी गर्न अपेक्षा गर्न सकिँदैन ।’ ट्रम्पका निकट सहयोगी मस्कले आगामी चार वर्षमा वासिङ्टनमा प्रभावशाली भूमिका खेल्ने अपेक्षा गरिएको छ । उनले विद्युतीय कार कम्पनी टेस्ला पनि चलाउँछन् । टेस्लाको चीनमा प्रमुख कारखाना छ र देश अटो निर्माताको सबैभन्दा ठूलो बजारहरूमध्ये एक हो। ट्रम्पले चिनियाँ वस्तुहरूमा नयाँ शुल्क लगाउने बारम्बार धम्की दिएको छ । यसले उनको पहिलो कार्यकालमा सुरु भएको व्यापार युद्धलाई विस्तार गर्नेछ । यसलाई निवर्तमान राष्ट्रपति जो बाइडेनले मोटामोटी कायम राखे र केही मामलामा थप गरे । रासस
शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाज निर्माण हुन्छ : शिक्षामन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविविधमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताएकी छन् । राष्ट्रिय योग दिवसको अवसरमा काठमडाौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताइन् । उनले शिक्षासँग योगसँग नजोडिकन समाजलाई समृद्ध बनाउन नसकिने बताइन् । योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी रहेको र अब आगामी शैक्षिकसत्रदेखि योगलाई विद्यार्थीको जीवनसँग जोड्ने प्रतिवद्धता उनले जनाइन् । शिक्षा र स्वास्थ्य आजको महत्त्वपूर्ण विषय भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य राज्यका लागि पनि सुदृढ गर्नुपर्ने विषय रहेको बताउइन् । योगलाई जीवनमा ग्रहण गर्नुपर्ने आवश्यकता औंल्याइन् । मन्त्री भट्टराईले भनिन्,’योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी छ । अब हामी संकल्प गरौँ । योगलाई विद्यार्थीको जीवनसँग जोडौँ । शिक्षासँग योग नजोडिकन हामीले समाजलाई समृद्ध बनाउन सक्दैनौँ ।’
तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यक छ : अध्यक्ष प्रचण्ड
सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताएका छन् । आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उनले बताए । यहाँको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आउनुभएका अध्यक्ष प्रचण्डले मंगलबार पत्रकार भेटघाट कार्यक्रममा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको बताए । नाका पुनः सहज रुपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले बिच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले पहिलोपटक नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुकुटेमा राखेको बेला सुकुटेले देशकै ध्यान केन्द्रित गरेको स्मरण गर्दै सिन्धुपाल्चोकको विकासका लागि चासो र चिन्ता गरिरहेको उल्लेख गरे ।
पौष मसान्तसम्म २७ बीमा कम्पनीले पेश गरेनन् वित्तीय विवरण, प्राधिकरण भन्छ- कारबाही गर्छौं
काठमाडौं । बीमा ऐन, २०७९ को व्यवस्थाअनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र बीमा कम्पनीहरूले लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने हुन्छ । त्यसका लागि कम्पनीहरूले आव समाप्त भएको ३ महिनाभित्रै लेखापरीक्षण गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ । बीमा ऐन, २०७९ को दफा ८७ को उपदफा २ अनुसार ३ महिनाभित्र लेखापरीक्षण गर्न नसकेको खण्डमा कारण खुलाई २ महिना अवधि थप गर्न सकिने उल्लेख छ । यसरी, थप भएको समयभित्र लेखापरीक्षण समाप्त गरी एक महिनाभित्र वित्तीय विवरण प्राधिकरणमा पेश गर्नुपर्छ । अर्थात पौष मसान्तसम्ममा प्राधिकरणमा स्वीकृतिका लागि वित्तीय विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अधिकांश कम्पनीहरूले त्यसको उल्लङ्घन गरेको पाइएको छ । चालु आवको ६ महिना अर्थात् पौष मसान्त आज सोमबार सकिँदै छ । पौष मसान्त सकिसकेको अवस्थापमा पनि अधिकांश बीमा कम्पनीहरूले कानुनमा नै भएको व्यवस्था पालना नगरेको पाइएको छ । हाल नेपालमा १४ जीवन बीमा कम्पनी, १४ निर्जीवन कम्पनी, ७ वटा लघु र २ वटा पुनर्बीमा कम्पनीसहित जम्मा ३७ वटा बीमा कम्पनीहरू रहेका छन् । जसमध्ये पौष मसान्तसम्म २७ वटा बीमा कम्पनीले वित्तीय विवरण पेश नगरेको प्राधिकरणले जनाएको छ । वित्तीय विवरण पेश नगर्ने बीमा कम्पनी पौष मसान्तसम्म प्राधिकरणमा वित्तीय विवरण पेश नगर्ने कम्पनीहरूमा १० वटा जीवन बीमा कम्पनी, १० वटा निर्जीवन बीमा कम्पनी, ५ वटा लघु बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी रहेका छन् । जीवन बीमा कम्पनीहरूमा एशियन लाइफ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल, सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, नेशनल लाइफ, सिटिजन लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी, हिमालयन लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पौष मसान्तसम्म वित्तीय विवरण पेश गरेका छैनन् । यसैगरी, निर्जीवनतर्फ ओरिएन्टल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, राष्ट्रिय जीवन बीमा कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, यूनाइटेड अजोड, नेशनल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले पौष मसान्तसम्म वित्तीय विवरण पेश गरेका छैनन् । यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सले वित्तीय विवरण पेश गरेका छैनन् । यस्तै, पुनर्बीमा कम्पनीद्वय नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सले पनि विवरण पेश नगरेको प्राधिकरणले जनाएको छ । समयमै वित्तीय विवरण पेश गर्ने कम्पनी प्राधिकरणका अनुसार १० वटा कम्पनीले समयमा वित्तीय विवरण पेश गरेका छन् । यसरी समयमा विवरण पेश गर्नेहरूमा आईएमई लाइफ, मेटलाइफ, सूर्यज्योति लाइफ, नेपाल लाइफ, सानिमा जीआईसी, शिखर इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, गार्डियन माईक्रो लाईफ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् । जसमध्ये मेटलाइफ, सूर्यज्योति लाइफ र नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय विवरण प्राधिकरणबाट स्वीकृत भइसकेको प्राधिकरणका उपनिर्देशक विरोध वाग्लेले जानकारी दिए । जसमध्ये सूर्यज्योति लाइफले वार्षिक साधारणसभा समेत गरिसकेको छ । प्राधिकरणले कारबाही गर्ने प्राधिकरणका अध्यक्ष मदन दाहालले कानुनको पालना नगर्ने कम्पनीलाई कारबाही गर्ने बताएका छन् । विकासन्यूजसँग कुरा गर्दै उनले समयमा वित्तीय विवरण पेश नगर्ने कम्पनीहरूरुलाई कारबाही गर्ने उद्घोष गरे । उनले भने, ‘कानुनको पालना सबैले गर्नुपर्दछ । पालना नगर्ने कम्पनीहरूलाई हामी कारबाही गर्छाैँ ।’ के कारबाही गर्नुहुन्छ भन्ने पश्नमा उनको जवाफ छ , ‘कानुनमा उल्लेख भएअनुसार कारबाही गर्छौँ ।’ तर, अध्यक्ष दाहालले बीमा कम्पनीहरूले समयमा वित्तीय विवरण पेश नगर्नुको केही कारणहरू पनि रहेको बताए । विशेषगरी नेपालमा एक्चुअरी नभएको र एक्चुअरी भ्यालुएसनका लागि भारत फाइल पठाउनु परेकाले विवरण पेश गर्न ढिलाइ हुने गरेको उनले बताए । तर, जुनै कारणले ढिला भएको खण्डमा पनि कानुनअनुसार कारबाही गर्ने उनले दोहोर्याए । कस्तो कारबाही हुन्छ ? कारबाहीको बारेमा बीमा ऐन, २०७९ को दफा १३८ ले स्पष्ट पारेको छ । दफा १३८ अनुसार आव सकिएको ६ महिनाको समाप्त भएको एक हप्तासम्म विवरण पेश नगर्ने कम्पनीलाई दैनिक २५ हजार रुपैयाँका दरले जरिवाना लाग्छ । विवरण पेश गर्ने म्याद नाघेको २ हप्तासम्म दैनिक ५० हजार रुपैयाँका दरले जरिवाना लाग्छ । यदि २ हप्ता पनि पार गरेको खण्डमा दैनिक एक लाख रुपैयाँका दरले कारबाही हुने कानुनी व्यवस्था रहेको छ ।
वारेन बफेटको साम्राज्य विभाजित हुने, उत्तराधिकारीहरूको नाम सार्वजनिक
काठमाडौं । विश्वका प्रसिद्ध लगानीकर्ताहरूमध्येका एक वारेन बफेटले आफ्नो सम्पत्ति विभाजन गर्ने नयाँ योजनाको खुलासा गरेका छन् । ९४ वर्षीय बफेट बर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन् । उनले वाल स्ट्रिट जर्नलसँगको एक अन्तर्वार्ताका क्रममा बाँकी रहेको लगभग सबै सम्पत्ति नयाँ परोपकारी ट्रस्टमा जाने उल्लेख गरेका छन् । यो निर्णय उनको पुरानोभन्दा फरक छ । यसले पारिवारिक मूल्यमान्यता र दीर्घकालीन प्रभावमा जोड दिन्छ । बफेटका तीन छोराछोरी- सुसी, होवी र पिटरले नयाँ ट्रस्टको व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । पैसा कसरी प्रयोग गर्ने भन्ने बारेमा तीनै जनाले मिलेर निर्णय गर्नुपर्नेछ । यद्यपि, ट्रस्टले आफै काम गर्नेछ । वारेन बफेटले आफ्ना बच्चाहरूलाई उनीहरूको कामको दिशाको बारेमा केही सल्लाह दिएका छन् । बफेटले संसारमा आठ अर्ब मानिस रहेको र जसमध्ये आफू र उनका छोराछोरी सबैभन्दा भाग्यमानी व्यक्तिहरूमध्ये पर्ने बताए । बफेटले आफ्ना छोराछोरीमाथि आफ्नो विश्वास सुम्पने सचेत निर्णय गरेका हुन् । उनले आफ्ना छोराछोरीहरूले आ-आफ्नो फाउन्डेसनमार्फत महान कार्यमा कसरी रुचि देखाएका छन् भनेर बुझेका छन् । यी प्रतिष्ठानहरूले बालबालिकाको प्रारम्भिक शिक्षा, खाद्य सुरक्षा, मानव बेचबिखन र आदिवासीहरूको अधिकार जस्ता मुद्दाहरूमा काम गर्छन् । यो अनुभव ट्रस्टको पैसाको उचित प्रयोग गर्न र परिवारको परोपकारको परम्परालाई अगाडि बढाउन धेरै उपयोगी हुनेछ । बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई अब दान नदिने वारेन बफेटको नयाँ योजनामा सबैभन्दा ठूलो परिवर्तन भनेको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई थप दान नदिने हो । २००६ देखि बफेटले फाउन्डेसनलाई ३९ अर्ब डलरभन्दा बढी दान गरिसकेका छन् । तर, उनको निधनपछि थप कुनै योगदान गरिने छैन । बफेटले स्पष्ट शब्दमा भनेका छन्, ‘मेरो मृत्युपछि गेट्स फाउन्डेसनले कुनै पैसा पाउने छैन ।’ समयसँगै परोपकारी दानको बारेमा बफेटको विचार परिवर्तन भएको छ । पहिले उनी आफ्नो सम्पत्ति आफैमा राख्न चाहन्थे र पछि बाँड्न चाहन्थे । तर, २००६ मा उनले गेट्स फाउन्डेसन र धेरै पारिवारिक फाउन्डेसनहरूलाई वार्षिक दान दिन थाले । उनको धेरैजसो सम्पत्ति पहिले नै दान गरिसकिएको छ, तर बाँकी रहेको सम्पत्तिको भविष्य अहिलेसम्म अनिश्चित थियो । बफेटले स्वीकार गरेझैं उनका छोराछोरीहरू सम्पत्ति व्यवस्थापन गर्न र परिवर्तनशील कर कानुनहरूसँग तालमेल मिलाउन सक्षम छन् । नयाँ ट्रस्टले पारिवारिक मूल्यमान्यतालाई अगाडि बढाउने नयाँ ट्रस्ट केवल पैसाको बारेमा मात्र होइन- यो बफेटले आफ्नो जीवनभर समर्थन गरेका मूल्यमान्यतलाई अगाडि बढाउने बारेमा पनि हो । शेरवुड फाउन्डेसन चलाउने सुसी बफेटले आफ्नो योजनाको बारेमा अहिले नै केही भन्नु हतार हुने बताइन् । तर, उनी अहिलेसम्म गरेका कामलाई अगाडि बढाउन प्रतिबद्ध छन् । हावर्ड जी. बफेट फाउन्डेसनका प्रमुख होवी बफेटले पनि यही कुरा दोहोर्याए । उनले भविष्यमा गरिने दानको बारेमा आफ्नो बुबाको सोच महत्त्वपूर्ण भएको बताए । बफेटको छुट्टै फाउन्डेसनबाट पारिवारिक ट्रस्टमा सर्नुले दिगो परिवर्तन सिर्जना गर्न सँगै काम गर्नु कति महत्त्वपूर्ण छ भनेर देखाउँछ । उनका छोराछोरीले उनको विरासतलाई अगाडि बढाउन तयार छन् । तिनीहरू सबैभन्दा बढी विभिन्न समुदायहरूमा अर्थपूर्ण परिवर्तन ल्याउनमा केन्द्रित छन् । आफ्नो सम्पत्ति पारिवारिक ट्रस्टलाई हस्तान्तरण गर्ने बफेटको निर्णयले परिवारको शक्ति र परोपकारको दिगो प्रभावमा उनको अटल विश्वासलाई प्रतिबिम्बित गर्दछ । सुसी, होवी र पिटरका लागि यो केवल आर्थिक जिम्मेवारी मात्र होइन, तर उनीहरूका बुबाले सिकाएको कडा परिश्रम र उदारताको मूल्यमान्यतालाई निरन्तरता दिनु सम्मानको कुरा हो ।
आईएमई लाईफको नयाँ बोनसदर सार्वजनिक, बीमितले ८० रुपैयाँसम्म पाउने
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ का लागि बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार बीमितले अधिकतम ८० रुपैयाँ प्रतिहजार बोनस पाउनेछन् । सावधिक तथा आजीवन बीमालेख ३० वर्ष वा सोभन्दा धेरै अवधिका लागि खरिद गरेका बीमितले ८० रुपैयाँ बोनस पाउने कम्पनीले जनाएको छ । सोही बीमालेख २५ देखि २९ वर्ष अवधिकालागि खरिद गर्दा ६५ रुपैयाँ बोनस दिने कम्पनीले जनाएको छ । यसैगरी, सामूहिक सावधिक बीमालेख ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि खरिद गर्ने बीमितले ७५ रुपैयाँ र सोही बीमालेख २५ देखि २९ वर्षका लागि खरिद गर्ने बीमितले ७० रुपैयाँ बोनस पाउने जनाइएको छ । यस्तै, सावधिक, सीमित अवधि भुक्तानी सावधिक तथा वाल सावधिक बीमालेख ३० वर्ष वा सोभन्दा बढी अवधिकालागि खरिद गर्ने बीमितले पनि ७० रुपैयाँ बोनस पाउनेछन् भने २५ देखि २९ वर्षसम्मका लागि खरिद गर्दा ६७ रुपैयाँ बोनस पाउने कम्पनीले जनाएको छ । कुन बीमालेखमा कति बोनस ?