विकासन्युज

अमेरिकी डलरले फेरि बनायो नयाँ रेकर्ड, १ डलर बराबर १३८ रुपैयाँ ९२ पैसा

काठमाडौं । अमेरिकी डलरले निरन्तर नयाँ रेकर्ड बनाएको छ। हिजो मंगलबार १३८ रुपैयाँ ८३ पैसा पुगेर रेकर्ड बनाएको डलरको मूल्यले आज बुधबार पनि फेरि नयाँ रेकर्ड बनाएको हो। आज अमेरिकी डलरको बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा रहेको छ भने खरिददर १३८ रुपैयाँ ३२ पैसा छ। यो हालसम्मकै उच्च मूल्य हो । त्यस्तै, युरोपियनको खरिददर एक सय ४१ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङको खरिददर एक सय ६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ६३ पैसा कायम छ। अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९० पैसा, क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलरको खरिददर एक सय रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ। जापानी येन १० को खरिददर आठ रुपैयाँ ७६ पैसा र बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा कायम भएको छ। केन्द्रीय बैंकका अनुसार थाई भाटको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७० पैसा र बिक्रीदर ३० रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० तोकिएको छ। हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ०४ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ २९ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ८५ पैसा तय भएको छ।

आज केहि स्थानमा हिमपातको सम्भावना

 काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । तराईका केही भू-भागमा हुस्सु रकुहिरो लागेको अवस्था छ। आज दिउँसो देशभर आंशिक बदली देखि मूख्यतया सफा रहने छ । आज राति लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

ग्लोकल स्किल हिरो अवार्ड- २०२५ सम्पन्न, गायक केसीलगायत ४ जना सम्मानित

काठमाडौं । ग्लोकल आफ्टर स्कुल प्रालिको आयोजनामा ग्लोकल स्किल वीक २०२५ सफलतापूर्वक सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू र १०० भन्दा बढीको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रम हिजो द सोल्टी होटेलमा सम्पन्न भएको हाे । एक हप्तासम्म सन्चालन गरिएको उक्त ग्लोकल स्किल वीकमा सीपमूलक तालिमलगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडीहरू एवम विभिन्न मनोरन्जनात्मक गतिविधिमार्फत सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवम विभिन्न निकायसँगको साझेदारीको लक्ष्य लिई सीपमुलक रोजगारीका अवसर, सीपप्रतिको बढदो महत्त्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्त्व उजागर गर्ने लक्ष्यका साथ पौष २२ देखि पौष २९ सम्म स्किल वीक कार्यक्रम सञ्चालन भएको थियो । यस कार्यक्रममा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, एवम विज्ञान तथा प्रविधि गरी ४ फरक क्षेत्रका सीपहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा यिनै ४ विधाका ४ प्रेरक व्यक्तित्वहरूलाई ग्लोकल स्किल हीरो अवार्ड २०२५ बाट सम्मानित गरिएको थियो । कलाको पहिलो स्तम्भअन्तर्गत गायक तथा गीतकार सुशान्त केसीलाई सम्मान गरिएको थियो । उनी २०२४ मा स्पटिफाइमा सर्वाधिक सुनिने नेपाली गायक हुन् । त्यसैगरी, उद्यमशीलता विधामा स्किल हिरोको रूपमा सामाजिक उद्यमी र खाली सिसी म्यानेजमेन्ट प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुषी केसीलाई सम्मान गरियो । ‘खाली सिसी फ्रेन्ड्स’ अन्तर्गत खालि सिसीले १३ हजारभन्दा बढी फोहोर बेच्ने व्यक्तिहरूको सञ्जाल बनाएको छ जसले नेपालमा फोहोरलाई कुशलतापूर्वक एवम सहज रुपमा व्यवस्थापन गर्दै आएको छ । आयुषी २०१८ मा फोर्ब्सको ३० अन्डर एसियाको सामाजिक उद्यमी वर्गमा पर्न सफल भएकी थिइन् । यसका साथै पर्यटन तथा हस्पिटालिटी विधाका लागि सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट कलेजका संस्थापक तथा प्रिन्सिपल समीर थापालाई सम्मानित गरियो । नेपालमा विश्वस्तरीय आतिथ्य सेवा र शिक्षा ल्याउन उनको महत्त्वपूर्ण योगदान रहेको छ । आतिथ्य क्षेत्रको बृहत अनुभवको साथ उनले यस क्षेत्रमा योग्य कामदारहरुको गम्भीर कमीलाई सम्बोधन गर्न २००१ मा सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टको स्थापना गरेका थिए । साथै विज्ञान तथा प्रविधि विधामा सानुकाजी श्रेष्ठ सम्मानित भए । वनले सानैदेखि गर्मी मौसमसँग लड्न बाँसबाट बन्ने लचिलो फ्यान लगायत व्यावहारिक आविष्कारहरू सिर्जना गरेका थिए । १८ वर्षको उमेरदेखि लजिस्टिकमा काम गर्न थालेका सानुकाजीले सरकारी कार्यालयहरू, कूटनीतिक नियोगहरू, निगमहरू र यु.एन.डि.पि मा विविध अनुभवहरू हासिल गरेका छन् । इम्बार्क कलेजले सञ्चालन गरेको उक्त ग्लोकल स्किल वीकमा सीएनआई र नेपाल चेम्बर अफ कमर्सले इन्डोर्स गरेको थियो । त्यस्तै, नेपाल पर्यटन बोर्डले प्रोमोट गरेको थियो भने युरोपियन युनियन, भारतीय दूतावास, र अस्ट्रेलियन दूतावास रणनीतिक साझेदारको रुपमा सहभागी थिए । त्यस्तै, होन्डा, कोका–कोला, डब्लुडब्लुएफ र सिजि मोटर्स पार्टनरको रुपमा सहभागी थिए । कार्यक्रमका प्राविधिक साझेदारको रुपमा यूएनडीपी र यूके स्किल्स पार्टनरशिप थिए । होटल पार्टनर द सोल्टी काठमाडौं रहेको थियो भने इन्टरनेट पार्टनर वल्र्डलिंक रहेको थियो । यति एयरलाइन्स, एयरलाइन्स पार्टनर थियो र नो नेक्स्ट क्वेस्चन आउटरीच पार्टनर रहेको थियो ।

आठौं संस्करणको विराट एक्स्पोमा व्यावसायिक सहकार्यका लागि विराट बजार बीटुबी पेभिलियनको व्यवस्था

काठमाडौं । उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म आठौं संस्करणको विराट एक्स्पो २०२५ आयोजना गर्ने भएको छ । उक्त एक्स्पोको अवलोकन गर्ने उद्योगी व्यवसायीहरूका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरूप एक्स्पो स्थलमा बिजनेश क्लिनिक पेभिलियन राख्ने तयारी गरिएकाे छ । यो पेभिलियनमा सबै प्रकारका व्यवसायीहरूले अर्को सम्बन्धित व्यवसायसँगको व्यावसायिक सहकार्यका लागि भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन् । यो पेभिलियनमा औद्योगिक विकासका लागि व्यावसायिक विकासका सेवाहरूको इकोसिष्टम अभिवृद्धि गर्ने विश्वास गरिएकाे छ । साथै एक्स्पोका मुख्य कार्यक्रमहरू उजागर गर्न यस पेभिलियनलाई आयोजक उद्योग संगठनले सेन्टर फर एक्सिलेन्सका रूपमा प्रस्तुत गर्दै छ । पेभिलियनअन्तर्गत बीटुबी डेस्कमा सबै प्रकारका व्यवसायीहरूले अर्को सम्बन्धित व्यवसायसँगको व्यावसायिक सहकार्यका लागि भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन् । विशेषगरी एसएमईसहरूसँग अन्य उद्योगहरूको व्यावसायिक सम्पर्क बढाउने गरी यसले काम गर्ने छ । त्यसैगरी, बजार प्रवर्धनका लागि मेरो देश मेरै उत्पादन, बिजनेश क्लिनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रक्रिया तथा स्टेपवाई स्टेप प्रक्रिया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, वैदेशिक लगानीको प्रक्रिया लगायतका उद्योग व्यवसायसँग सम्बन्धीत सबै सूचनाहरू भएको एकीकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जी इफिसियन्सी कार्यक्रम, इण्डष्ट्रिज एकेडेमिया लगायत संगठनका कार्यक्रमहरूको डिजिटलाइजेशन भर्सनसहितको एकीकृत सेवाहरूको व्यवस्था यो पेभिलियनमा गरिने छ ।

पुछारसिटमा गुन्जिइन् केशु शर्मा

पोखरा । माघको महिना । मकर सङ्क्रान्तिको बिहान । चिसो वातावरण । पोखराका साहित्यकारहरू, कलाकारहरू, विभिन्न संस्थाका नेतृत्वकर्ताहरू एवम् शुभेच्छुक व्यक्तित्वहरू पोखराको चिप्लेढुङ्गामा रहेको दि भिलेज रेष्टुरेन्टको परिसरमा न्यानो घाम ताप्दै गफमा मस्त थिए । चिसो बिहानमा बिस्तारै मानिसहरूको उपस्थिति बाक्लिँदै गयो र माहोल न्यानो हुँदै गयो । वरिष्ठ कलाकार प्रकाश घिमिरे, सरस्वती श्रेष्ठ ‘सरू’, डा. ईश्वरमणि अधिकारी, दीपक समीप, लक्ष्मण थापा, रीता अधिकारी ‘ऋतु’, रुपिन्द्र प्रभावी, अदिति शर्मा, सविना सुनाम लगायतका व्यक्तित्वहरू बडो रसिक पारामा माहोलमा सरिक भइरहेका देखिन्थे । वसन्त विनोद, सुरज उपाध्याय, मोहन भण्डारी, विष्णु सुवेदी, उमा दोरङ्गालगायतका पुछारसिटे अभियानका अभियन्ताहरू कार्यक्रमको व्यवस्थापनमा खटिरहेका थिए । केहीबेरमा मदरल्यान्ड माविका प्राचार्य नारायण बराल उपस्थित भए। सँगसँगै विद्यालय र कलेज उमेरका विद्यार्थीहरू पनि कार्यक्रम परिसरमा बाक्लिँदै गए । प्रकाश ज्ञवाली, भुवन क्षेत्री, उपेन्द्र पौडेलका मिठा गफले माघे घाममा थप न्यानो थपिरहेको थियो । कार्यक्रममा उपस्थित प्रायः सबैसँग मुस्कुराउँदै स्वागत गर्दै देखिन्थिन् कवयित्री केशु शर्मा । घिउ, चाकु, तरुल, सखरखण्ड, खुदो, तिलको लड्डु, चिउरा आदि खानेकुराको व्यवस्थापनमा दि भिलेजका कर्मचारीहरू सक्रिय थिए । केही व्यक्तिहरू कार्यक्रम परिसरमा र केही भित्र कार्यक्रम हलमा छरिएर रहेका थिए । एकैछिनमा अभियानका एक अभियन्ताले उपस्थितहरूलाई खाजा खानका निम्ति आग्रह गरे । उपस्थित सबै माघेसङ्क्रान्तिका परिकार ग्रहण गर्नतिर लागे । चियापान सकिएपछि अभियानका संयोजक सञ्जीव पौडेलले कार्यक्रमको हलतिर जान सबैलाई आग्रह गरे । सन्दर्भ थियो पुछारसिटे अभियान, पोखराले आयोजना गरेको एकल कविता वाचनको । कार्यक्रमको नाम राखिएको थियो – ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा केशु शर्मा । पुछारसिटे अभियानले आयोजना गर्ने एकल कविता वाचनको दशौं शृङ्खलामा कविता वाचकका रूपमा उभिएकी थिइन् कवि केशु शर्मा। एकैछिनमा मञ्चमा माइक समाएर उभिए पुछारसिटे अभियानका अभियन्ता अमृत क्षेत्री । पुछारसिटे अभियानका बारेमा केही जानकारी गराएर उनले कार्यक्रमको थालनी गरे । थालनीसँगै उनले स्वागत मन्तव्यका लागि बोलाए अभियानका संयोजक सञ्जीव पौडेललाई । उपस्थितलाई स्वागत गरिसकेपछि कवि शर्माको छोटो परिचय राखेर पुछारसिटमा बसिरहेकी केशु शर्मालाई कविता वाचनका लागि उनले अगाडि आमन्त्रण गरे । पछाडिको सिटबाट उठेर कविता सुनाउँदै अगाडि आइन् केशु र थालिन् थप कविता सुनाउन : च्याउ उम्रे झैं उम्रिरहन्छन् राजनेताहरू अरबौं खरबौं बगिरहन्छन् हर्के, साहिँला र माहिलाका सपनाहरू दुखिरहन्छन् कमली, बाटुली र चमेलीका जिन्दगीहरू साँच्चै मृत्युअगि मान्द्राभरि आश्वासनका बिस्कुन नसुकाउनेहरूले कसैको मनमुटु नदुखाउनेहरूले यो देश हाँकेको हेर्ने रहर छ । यो कविताबाट आफ्नो एकल कविता वाचन सुरु गरेकी उनले बीचबीचमा आफ्नो जीवनयात्राका अनेक मोड र घुम्तीहरू सम्झिन् । सम्झँदासम्झँदै उनले घर सम्झिन्, परिवार सम्झिन्, साथीभाइ सम्झिन् र सम्झिन् विद्यार्थीहरू । २०५० को दशकको पूर्वाद्र्धमा पोखरामा हुने हरेकजसो साहित्यिक कार्यक्रममा भाग लिँदै आफ्नो लेखनलाई अगाडि बढाएकी उनी विवाहपश्चात् भने कार्यक्रममा उपस्थित हुन भ्याइनन् । पातलो साहित्यिक उपस्थितिका बिचमा उनी आफ्नो घरायसी जिम्मेवारी र पेशागत जीवनलाई अगाडि बढाउँदै लगिन् । यी सबैका बीच पनि लेखनमा भने निरन्तरता दिइनैरहिन् । यसै क्रममा पोखराको मदरल्यान्ड माविमा विसं २०५४ सालदेखि शिक्षिकाका रूपमा आबद्ध भइन् । यही आबद्धताले उनलाई पोखराको सुन्दर शैक्षिक गन्तव्य बनेको मदरल्यान्ड माविमा प्राथमिक तह इन्चार्जसम्म बनायो । उनी हाल उक्त विद्यालयमा प्राथमिक तहको कुशल व्यवस्थापक बनेकी छिन् । वि.सं. २०७० को उत्तरार्धसम्म साहित्यिक माहोलमा पातलो उपस्थिति देखाएकी केशु शर्मा त्यसपछि भने आफ्नो उपस्थिति बाक्लो बनाउँदै लगेकी छिन् । पछिल्लो समय उनी विविध साहित्यिक कार्यक्रममा उपस्थित हुँदै आएकी छिन् । गीत, कविता, गजल लगायतका विविध साहित्यिक सिर्जनामा कलम चलाउँदै आएकी उनी हालै पोखराको वाङ्मयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारकी साहित्य संयोजक चयन भएकी छिन् । उनका कवितामा सरल शब्दमा गहन भाव प्रकट हुन्छन् । साथै उनका कवितामा सहरभित्रको ग्रामीण जनजीवनको यथार्थ चित्रण, देशको राजनीतिक एवम् सामाजिक विकृति विसङ्गतिमाथिको विद्रोह, प्रकृतिप्रेम, मानवतावाद, देशप्रेमको भाव ओतप्रोत भएर आएको पाइन्छ । नेपाली नारीका दुःख एवम् सङ्घर्षका अनुभूतिहरू उनका कविता एवम् गीतका मुख्य विशेषता बनेर आएका छन् । यस्तै यस्तै गीत र कविता वाचन गर्दैगर्दा उनले शुभकामना मन्तव्यका लागि प्रसिद्ध कलाकार प्रकाश घिमिरेलाई आग्रह गरिन् । घिमिरेले केशुको लेखनका विविध आयामका साथै पुछारसिटे अभियानका विशिष्ट प्रकारका कार्यक्रम गर्ने विशेषताको प्रशंसा गर्दै कविको साहित्यिक उन्नयनको शुभकामना प्रकट गरे । त्यसलगत्तै आफ्ना दुई कविता वाचन गरेर उनले एकल वाचनको मैदारो गरिन् । पुनः मञ्चमा देखिए अमृत क्षेत्री । कार्यक्रमका सहयोगी हातहरूलाई मायाको चिनो प्रदान गर्नका लागि उनले संस्थाका सल्लाहकार लक्ष्मण थापालाई मञ्चमा निम्त्याए । त्यसपछि कुसुमकृष्ण आयुर्वेद फर्माका सञ्चालक कृष्णबहादुर राउत र मदरल्यान्ड मा.वि.का प्राचार्य नारायण बराललाई क्रमैसँग मायाको चिनो ग्रहण गर्न निम्ता दिए । अनि पालो आयो कविलाई मायाको चिनो प्रदान गर्ने । सल्लाहकार थापाले मायाको चिनो र संस्थाका संयोजक सञ्जीव पौडेलले कविलाई नगद उपहार हस्तान्तरण गरेलगत्तै कार्यक्रम समापन भएको घोषणा गरे उद्घोषण गरिरहेका अभियन्ता अमृतले । पुछारसिटे अभियानले पोखरामा वि.सं. २०७४ सालमा स्थापना भएदेखि नै विविध साहित्यिक, सामाजिक एवम् पर्यटकीय गतिविधि गर्दै आइरहेको छ । आगामी समयमा शिक्षा, स्वास्थ्यलाई पनि केन्द्रमा राखेर संस्थाले विविध क्षेत्रमा प्रतिभा भएका सहरदेखि गाउँसम्मका व्यक्तिलाई मूलधारको मञ्चमा जोड्ने योजना रहेको संस्थाका अभियन्ता वसन्त विनोदले जानकारी दिए । यसभन्दा अगाडि प्रकट पँगेनी ‘शिव’, अल्पज्ञानी, अर्जुन ढकाल, लक्ष्मण थापा, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ ‘सरू’, इन्द्र राना ‘प्रतीक’, डा. वसन्त गौतम, डा.ईश्वरमणि अधिकारीलाई संस्थाले एकल वाचकका रूपमा मञ्चमा उभ्याइसकेको छ ।

घले जातिलाई आदिवासीमा सूचीकृत गर्न आवश्यक छ : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घले जातिलाई आदिवासीमा सूचिकृत गर्न आवश्यक रहेको बताएका छन् । लिःल फङ्ग (घले) समाज चितवनले ल्होसरको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले घले समुदायलाई सूचीकृत गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको पनि उल्लेख गरिन् । प्रमुख दाहालले भरतपुर महानगरपालिका सबै जातजाति, समुदाय, क्षेत्र, वर्ग, संस्कृतिलाई समान व्यवहार गर्दै हातेमालो गर्दै अघि बढिरहेको उल्लेख गरिन् । उनले महानगरपालिकाले आदिवासीमा सूचीकृत गर्न ऐन कानुन हेरेर यहाँको माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् । पहिचान र अधिकार प्राप्त गर्न एकजुट भई राज्यका विभिन्न निकायलाई ध्यानाकर्षण गर्नुपर्ने धारणा राखिन् । घले समाजका केन्द्रीय अध्यक्ष दिनेश कुमार घलेले पहिचानको मुद्धालाई अझ शसक्त बनाउनुपर्ने उल्लेख गरे । नेपालमा आदिवासी जनजाति उत्थान प्रतिष्ठान गठन भएपछि बिभिन्न आदिवासी जनजातिहरू सूचीकृत हुने क्रममा घलेहरूलाई छुटाइएको अध्यक्ष दिनेश घलेको दावी छ । घलेलाई गुरुङ नै भनेर धेरैले बुझे पनि आफूहरू गुरुङ नभएको अध्यक्ष घलेले बताए। घलेहरूको बसोबास पूर्वको संखुवासभादेखि पश्चिम बाग्लुङसम्म २५ जिल्लामा रहेको छ । नेपालको प्राचिन इतिहासदेखिनै आफ्नै भाषा,संस्कृति र लिपी रहेको आदिवासी जनजाति समुदाय घलेलाई गत वर्ष सम्पन्न स्थानीय चुनावमा अल्पसंख्यक आदिवासीको मान्यता सरकारले दिएको थियो । ०६८ सालको जनगणना अनुसार करिब २३ हजार जनसंख्या रहेको घलेलाई आदिवासी जनजाति महासंघले भने घटक संगठनको मान्यता दिएको छैन । माघ १ गतेलाई थारु,मगर र हिन्दू समुदायको पर्वका रूपमा मान्यता दिए जस्तै घलेको नयाँ वर्षको मान्यता दिइनुपर्ने उनीहरूको माग छ ।

२०२४ मा फक्सवागनको बिक्रीमा गिरावट

काठमाडौं । जर्मन अटोमेकर भोल्क्सवागनको सन् २०२४ मा बिक्री २.३ प्रतिशतले घटेर ९० लाख सवारीसाधनमा सीमित भएको छ । यसको मुख्य कारण जर्मनी र चीनमा भएका चुनौतीलाई लिइएको छ । जर्मनीमा कम्पनीको बिक्री २.२ प्रतिशतले घट्यो जबकि चीनमा यो गिरावट १० प्रतिशत थियो । यद्यपि चीनमा ब्याट्री-इलेक्ट्रिक सवारीसाधनहरूको बिक्री ८ प्रतिशतले बढेको थियो, जबकि विश्वव्यापी रूपमा यो ३.४ प्रतिशतले घटेको छ । तैपनि ब्याट्री-इलेक्ट्रिक बिक्रीले चीनमा राम्रो प्रदर्शन गर्‍यो, विश्वव्यापी रूपमा ३.४ प्रतिशत गिरावटको तुलनामा ८ प्रतिशतले वृद्धि भयो । फक्सवागनले प्रतिस्पर्धा र घट्दो मागका कारण २०२४ को बिक्री पूर्वानुमानलाई सेप्टेम्बरमा करिब ९ मिलियनमा घटाएको थियो । अन्य जर्मन अटोमेकरहरू जस्तै मर्सिडीज-बेन्ज, बीएमडब्ल्यू र पोर्शेले पनि २०२४ मा घरेलु र चिनियाँ बजारमा बिक्रीमा गिरावटको सामना गरेका छन् । जर्मनीका शीर्ष कार निर्माताहरू मर्सिडीज बेन्ज र पोर्शेलेको बिक्री तथ्याङ्कले २०२४ मा जर्मनी र चीनमा उनीहरूले ठूलो धक्का भोगेको देखाएको छ । स्कोडा र सीट/क्युप्रा ब्रान्डहरूले फक्सवागन प्यासेन्जर कार्सलाई उछिन्दै करिब ७ प्रतिशतको बिक्री वृद्धि हासिल गरेका छन्, जबकि मुख्य ब्रान्डको बिक्री १.४ प्रतिशतले घटेको छ। फक्सवागनले यस वर्ष ३० नयाँ मोडलहरू सार्वजनिक गर्ने योजना बनाएको छ । पश्चिमी युरोपमा अर्डर इन्टेक ८८ प्रतिशतले वृद्धि भएको छ, जसमा नयाँ मोडलहरूको ठूलो भूमिका रहेको छ । २०२४ मा मर्सिडिज बेन्जको बिक्रीमा गिरावट चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस

सपना अधूरै छाडेर अस्ताए चुङ्बा

सोलुखुम्बु । चुङ्बा शेर्पा केहीदिन अघिदेखि वन्यजन्तुको फोटो खिच्न इन्डोनेसिया जाने तयारीमा थिए । उनले १० दिनपहिले नै यात्राका लागि आवश्यक तयारी पूरा गरेका थिए । पारिवारिक स्रोतका अनुसार, उनले प्लेन टिकट पनि लिइसकेका थिए । यस यात्रालाई उनले फोटोग्राफी जीवनकै महत्त्वपूर्ण यात्राको रुपमा उनले लिएका थिए । तर उनी एक साताअघि अचानक बिरामी परे । कलेजोसम्बन्धी समस्याले ग्रसित बनेपछि उनलाई काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरियो । भेन्टिलेटरमा उपचाररत शेर्पाले ६४ वर्षको उमेरमा आइतबार राति १२ः१५ बजे अन्तिम सास फेरे । बाँकी सपना सधैँका लागि अधूरो छाडेर उनी स्वर्गीय भए । खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्लामा जन्मिएका शेर्पा ‘वाइल्डलाइफ फोटोग्राफी’को क्षेत्रमा पछिल्लो पाँच वर्षदेखि सक्रिय थिए । उनले नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज र दुर्गम स्थानहरूमा पुगेर दुर्लभ वन्यजन्तुका तस्बिरहरु खिचेका छन् । उनले खिचेको जङ्गली याक, हिउँचितुवा र बाघका तस्बिरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाएका छन् । चुङ्बाको जीवन सङ्घर्ष र उपलब्धि जो कोहीका लागि प्रेरणादायी छ । विसं २०४० मा तत्कालीन चौँरीखर्क गाउँ पञ्चायतका प्रधानपञ्चबाट उनको सार्वजनिक जीवनको सुरुआत भएको थियो । बहुदल आएपछि नेपाली कांग्रेसमा प्रवेश गरेका शेर्पा पछिल्लो समय खुम्बु पासाङल्हामु गाउँपालिका समितिका सभापति थिए । उनले शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । लुक्ला विमानस्थलदेखि चौँरीखर्कमा माध्यमिक विद्यालय स्थापनामा उनको ठूलो योगदान रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ का वडाध्यक्ष फुनुरु शेर्पाले बताए ।  उनले भने,‘खुम्बुको एउटा धरोहर गुमायौँ, उहाँ असाध्यै सहयोगी र दयालु हुनुहुन्थ्यो, कुनै लोभलालच र स्वार्थ बिना अथक समाजसेवा गर्ने मान्छे हामीले सायद पाउँदैनौँ होला ।’ सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुका तत्कालीन प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले चुङ्बा शेर्पाको योगदानलाई सम्झँदै प्रतिक्रिया दिए । उनले भने,‘चुङ्बा शेर्पा नेपालमा मात्रै नभई विश्वभर ख्यातिप्राप्त प्रतिभाशाली वाइल्डलाइफ फोटोग्राफर हुनुहुन्थ्यो । उहाँको फोटोग्राफीले वन्यजन्तु पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका निर्वाह गरेको छ ।’ चुङ्बा शेर्पा कुनै सामान्य फोटोग्राफर नभएर प्रकृतिप्रति गहिरो माया गर्ने व्यक्ति भएको उपाध्यायको ठम्याइ छ । चुङ्बा शेर्पा ५७ वर्षको उमेरमा वाइल्डलाइफ फोटोग्राफीमा होमिएको थियो । लामो समयसम्म यती एयरलाइन्समा जागिर र होटल व्यवसाय सफलतापूर्वक सञ्चालन गरेका उनी छोराछोरीलाई सबल बनाइसकेपछि सानैदेखिको सपना पूरा गर्न फोटोग्राफीमा लागेका थिए । उनले क्याननको उच्चस्तरीय क्यामेरा र लेन्स प्रयोग गर्न विदेशीहरूबाट अनलाइन कक्षा लिएका थिए । वन्यजन्तुका फोटो खिच्न शेर्पाले धेरै जोखिम मोलेका थिए । जङ्गली याकको फोटो खिच्ने क्रममा उनलाई याकले आक्रमण गरेको उनले आफ्नो अन्तरवार्तामा भनेका छन् । बाघको फोटो खिच्दा पनि बाघले झम्टिएपछि भागेर ज्यान जोगाए। नेपालको निकुञ्ज विभागले देशैभरका संरक्षित क्षेत्रमा फोटो खिच्न उनलाई अनुमति दिएको थियो । शेर्पाले सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ३३ पटक फोटो खिचेको वडाध्यक्ष फुनुरु बताउँछन् । उनले तिब्बतसँगको सिमाना लिमी भ्याली पुगेर दुर्लभ जङ्गली याकको सुन्दर तस्बिर खिचेका थिए । यसअघि नरेश कुसीको टिमले जङ्गली याकलाई क्यामेरामा कैद गर्न सफल भएको थियो । वाइल्डलाइफ फोटोग्राफरका रूपमा चुङ्बाले खिचेको तस्बिर नै हालसम्मकै सुन्दर भएको जानकारहरू बताउँछन् । शेर्पाले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पु-याएका छन् । नेपाल पक्षी संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पर्यटन बोर्डजस्ता थुप्रै संस्थाबाट उनले सम्मान प्राप्त गरेका छन्  । शेर्पाका दुई छोरा र दुई छोरी छन् । जेठा छोरा छेवाङ शेर्पा चिकित्सक छन् भने छोरी बन्दा फुटी शेर्पा जहाजकी क्याप्टेन छिन् । पत्नी आङफुटी शेर्पाको निधन १० महिनाअघि भएको थियो भने छोरी मिङ्मा शेर्पाको पाठेघरको क्यान्सरबाट डेढ वर्षअघि निधन भएको थियो । उनका परिवारका सदस्यहरुका अनुसार शेर्पाले फोटोग्राफीबाट कहिल्यै आर्थिक लाभको अपेक्षा गरेन्न । आफ्नो फोटोहरूले नेपालको वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान दिन सकून् भन्ने उनको चाहना थियो । रासस