विराट एक्स्पो २०२५ : उद्योगका समस्या समाधान गर्न विजनेश क्लिनिक
काठमाडौं । उद्योग संगठन मोरङ आयोजना गर्ने विराट एक्स्पोमामा बिजनेस क्लिनिक राख्ने तयारी थालेको छ । माघ ११ देखि २० गतेसम्म आयोजना गर्ने आठौँ संस्करणको विराट एक्स्पो २०२५ को अवलोकन गर्ने उद्योगी व्यवसायीहरूका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरूप एक्स्पो स्थलमा बिजनेस क्लिनिक पेभिलियन राख्ने तयारी गरेको हो । एक्स्पोमा बिजनेस क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रूपमा व्यवस्थित गरेर अवलोकनकर्ता उद्योगी व्यवसायीहरूका उद्योग विशेष समस्याहरू दर्ता गर्ने र दर्ता गरिएका समस्याहरूलाई वर्गीकरण तथा आवश्यक प्रशोधन गरी तथ्यमा आधारित समाधान गर्ने गरी बिजनेस क्लिनिक सञ्चालन गर्न लागिएको उद्योग सङ्गठन मोरङले जनाएको छ । समस्यालाई गहन छलफल र अन्तरक्रिया गरेर समस्या समाधानको प्रयत्न गर्ने सङ्गठनको योजना रहेको सङ्गठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए। सङ्गठनले यो क्लिनिक विगत तिन वर्ष देखि सञ्चालन गर्दै आएको छ । त्यस अवधिमा सुनसरी मोरङ औद्योगिक क्षेत्रका विभिन्न ७५ वटा उद्योगको स्थलगत भ्रमण गरेर सम्बन्धित उद्योगका १२२ वटा मुद्दा पहिचान गरी समाधानको पहल भइरहेको उनले जानकारी दिए । फिजिकल अवस्थालाई सङ्गठनले एक्स्पो मार्फत भर्चुअल प्लेटफर्मको रूपमा विकास गर्न खोजेको जनाएको छ । यो प्लेटफर्म विकास भएपछि उद्योगीहरूले आफ्नो समस्या उद्योगमै बसेर दर्ता गरेर सङ्गठनको डिजिटल प्लेटफर्ममार्फत समाधान खोज्न सक्ने अवस्थाको सृजना हुनेछ । सङ्गठनले यो क्लिनिकलाई नियमित र व्यवस्थित बनाउन कार्य समिति सदस्य पारस लुनियाको नेतृत्वमा बेग्लै समिति गठन गरेको छ । सङ्गठनले सञ्चालन गर्दै आएको यही बिजनेस क्लिनिकको उपलब्धि र अवधारणालाई आधार मानेर चेम्बरहरूले गर्ने बहस पैरवीको क्षेत्रमा नयाँ आयाम थपेको मान्दै कन्फीडिरेशन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्ड्रष्ट्रिले उद्योग सङ्गठन मोरङलाई गत कात्तिकमा उत्कृष्ट च्याम्वर अवार्ड प्रदान गरेको थियो ।
छिमेक लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिको २३औं वार्षिक साधारण सभा हेटौंडाको होटल सामनामा सोमबार सम्पन्न भएको छ । उक्त साधारण सभाले सेयरधनीहरुलाई आ व २०८०/८१ को मुनाफाबाट ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयर गरि कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय समेत पास गरेको छ । त्यसै गरी यस वित्तीय संस्थाको चुक्ता पूँजी २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार १०० रुपैयाँबाट बृद्धि गरि ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८६८ पुऱ्याउने निर्णय समेत यस साधारण सभाले गरेको छ । काठमाडौंको मध्य बानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल सम्ममा ६९ जिल्लामा १९७ वटा शाखा मार्फत कुल ४ लाख २३ हजार ४ सय २७ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको सस्थाले जनाएको छ । वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न सभामा वित्तीय संस्थाका वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ९४ करोड ४४ लाख १५ हजार ८७९ रुपैंया २५ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यस अवसरमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तव्य राखेका थिए । साथै यस वित्तीय संस्थाको सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागी कर्ण बहादुर घले र दिलिप राज रेग्मी निर्विरोध निर्वाचित भएका छन ।
तरुलबाट बनाइएको म:म, पकौडा अवलोकनकर्ताको रोजाइमा
झापा । माघे संक्रान्तिका अवसरमा मेचीनगर नगरपालिकाको वडा नं ४ बाहुनडाँगीमा आयोजित तरुल महोत्सव नेपाल र भारतका परम्परागत उत्पादन अवलोकनकर्ताको आकर्षण बनेको छ । मेचीनगर नगरपालिकाद्वारा आयोजित तीन दिवसीय उक्त महोत्सव तरुललगायत रैथाने खानेकुरा र ग्रामीण उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन हुँदै आएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । उनका अनुसार महोत्सवमा भारतका चारवटासहित ३५ वटा प्रदर्शनी कक्ष रहेको छभने तीन दिनमा रु ५० लाखबराबरको कारोबार गर्ने अपेक्षा गरिएको छ । भारतस्थित पश्चिम बंगालका पर्यटन अभियन्ता राज बसु नेपालमा ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको धारणा व्यक्त गर्दै तरुल महोत्सवले दुवै देशको ग्रामीण भेगमा उत्पादित उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने बताउँछन् । महोत्सवमा तरुलका विभिन्न प्रजाति बिक्रीका लागि राखिएका छन् भने तरुलबाट बनाइएको स्टिम मःम, पकौडा, छोयला, साँधेको अचार, तारेको फुरौलालगायत परिकार महोत्सवको आकर्षण बनेको छ । सिमल तरुल, घर तरुल, वन तरुल, सुठुनी तरुल, पताले तरुल, पिडालु, कच्छुलगायत विभिन्न प्रकारका तरुल बिक्रीमा राखिएको छ । त्यस्ता प्रदर्शनी कक्षमा ग्राहकको घुइँचो लाग्ने गरेको स्थानीय ग्रिन जेनेरेसनका महासचिव मञ्जिल देवानले बताए । बाहुनडाँगीको हात्तीमैत्री किसान समूहले उत्पादन गरेको बेल्चनाको चाना, कोदोको पिठो, तामाको मेसु, मोरिंगाको पिठो, किम्बुको वाइन, रातो केराको बिरुवा, मरिच, सुपारी र तेजपत्ताको बिरुवा महोत्सवमा छुट्टै स्टलमा राखिएको समूहका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । रासस
‘शिक्षकलाई निजामती सेवा सरह सुविधा दिनुपर्छ’
फाइल फोटो कर्णाली । ‘विद्यालय शिक्षा विधेयक- २०८०’ सम्बन्धी कर्णाली प्रदेशस्तरीय छलफलमा शिक्षकको सेवा सुविधा, सरुवा, बढुवा, विद्यालय व्यवस्थापन समितिको पदावधि, शैक्षिक नीति, पाठ्यक्रम, स्थानीय भाषा र उनीहरूको मर्यादाक्रम पनि ऐनमै व्यवस्था गर्न माग गरिएको छ । संघीय संसद्, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘विद्यालय शिक्षा विधेयक– २०८०’ बारेमा प्रदेशस्थित सरोकारवालाको सहभागितामा सुझाव संकलन गरिएको हो । उक्त अन्तरक्रियामा जन नमूना मावि सुर्खेतका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले संविधानमा लेखिएका कुरा वस्तुगत र व्यावहारिक कार्यान्वयन गर्न माग गरे । उनले आधारभूत तह स्थानीय सरकार, मावि प्रदेश र त्यसभन्दा माथिको शिक्षाका विषयमा संघीय सरकारले अपनत्व लिनेगरी कानुन निर्माण गर्नसमेत सुझाए । अमरज्योति मावि नेवारका प्रधानाध्यापक खगेन्द्र थापाले शिक्षकलाई निजामती सरह सेवा, सुविधा र सम्मान दिनुपर्छ भने । बालविकास शिक्षा प्रतिनिधि गीता बटालाले ऐनमै बाल विकास सहयोग नभनी शिक्षक भनेर राख्नुपर्ने सुझाव दिए। संस्थागत विद्यालयका प्रतिनिधि नैनसिंह खत्रीले राज्यले व्यहोर्न सक्ने स्थिति भए अहिले पनि संस्थागत सबै विद्यालय राज्यको जिम्मा लगाउन तयार भएको जिकिर गरे । नेपाल शिक्षक संघ कर्णाली प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष मक्कबहादुर बुढा क्षेत्रीले दलहरूले शिक्षकलाई राजनीतिक सिकार बनाएको आरोप लगाए । गाउँपालिका राष्ट्रिय महासंघका तर्फबाट पूर्णप्रसाद धितालले संघीय शिक्षा नीतिमा टेकेर विद्यालय शिक्षाको गुणस्तर र मापदण्ड निर्माण हुनेगरी ऐन ल्याउन समितिलाई आग्रह गरे । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले संविधानमा व्यवस्था गरिएका कुरा कानुन निर्माण गर्दा प्रष्ट रूपमा आउनुपर्ने सुझाव दिए । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले शैक्षिक क्षेत्रमा खुला राजनीति हुने कामले शिक्षामा बेथिति देखिएको बताए । नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले शैक्षिक क्षेत्रमा देखिएका तमाम समस्या सम्बोधन गर्ने र आधुनिक सूचना र प्रविधिलाई आत्मसात् गर्दै अगाडि बढ्ने ऐन आउनेमा विश्वास रहेको बताए। कार्यक्रममा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ५३ वर्षपछि पहिलो पटक यसरी शिक्षा विधेयकलाई छलफलमा ल्याइएको जिकिर गरे । उक्त अन्तरक्रियामा, प्रदेशसभा विषयगत समितिका पदाधिकारी तथा सदस्य, सचिव, सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखा, जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका राष्ट्रिय महासंघ, शिक्षक महासंघका प्रमुख, शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, संस्थागत विद्यालय र बाल विकास प्रतिनिधिको सहभागिता थियो । रासस
सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म पाउने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ का लागि वितरण गर्ने बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार बीमितले अधिकतम ८० रुपैयाँ प्रतिहजारसम्म बोनस पाउने छन् । ३० वर्ष वा सोभन्दा बढी समयका लागि सवधिम तथा आजिवन बीमालेख खरिद गरेका बीमितले उक्त ८० रुपैयाँ बोनस पाउने कम्पनीले जनाएको छ । सोहि बीमालेख २५ देखि २९ वर्षका लागि खरिद गर्ने बीमितले ६५ रुपैयाँ बोनस पाउनेछन् । यस्तै, सिटिजन बाल भविश्य योजना सावधिक बीमालेख २५ देखि २९ वर्षकालागि खरिद गर्ने बीमितले ६७ रुपैयाँ बोनस पाउँदा सोहि बीमालेख २० देखि २४ वर्षका लागि खरिद गर्दा बीमितले ५२ रुपैयाँ बोनस पाउने जनाइएको छ । यस्तै, सिटिजन शुभारम्भ योजना ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि खरिद गर्ने बीमितले ७५ रुपैयाँ र २५ देखि २९ वर्षका लागि खरिद गर्ने बीमितले ६५ रुपैयाँ बोनस पाउने जनाइएको छ । कुन बीमालेखमा कति बोनस ?
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि तरकारी र फलफूलको मूल्य तोकेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४८, आलु रातो (भारतीय) प्रतिकेजी रु ४४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल) प्रतिकेजी रु ८०, गाजर (तराई) प्रतिकेजी रु ७०, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु ३०, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३०, काउली (तराई) प्रतिकेजी रु २०, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ४०, भन्टा लाम्चो प्रतिकेजी रु ३५, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ । यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ९०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७९, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ५०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग रु ६०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु ८०, तरुल प्रतिकेजी रु १२०, च्याउ (कन्य) प्रतिकेजी रु ११०, च्याउ (डल्ले) प्रतिकेजी रु ३८० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ९०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १४०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १३०, हरियो धनियाँ प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १५०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १६०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।
गरिमा विकास बैंकको साधारण सभा सम्पन्न, अध्यक्षमा दिलिप प्रताप खाँड चयन
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतले पारित गर्दै अठारौँ सभा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनका साथै शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ । त्यस्तै, सभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति गठन गरेको छ।त्यस्तै संस्थापक शेयरधनी प्रतिनिधिमा दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल, र दिपेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनी प्रतिनिधि: विमल पाण्डे, शोभाकान्त ढकाल, र आयुष्मा कोईराला निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै , साधारण सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले दिलिप प्रताप खाँडलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ। गरिमाको हाल चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । साधारण सभाले पारित गरेको लाभांश २०८१ पौष १७ गते कायम रहेका शेयरधनीहरूले प्राप्त गर्नेछन् । गरिमा विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरू, १ एक्स्टेन्सन काउण्टर, ५१ एटिएम, र नविनतम डिजिटल बैंकिङ मार्फत सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ । यस साधारण सभाले बैंकको स्थायित्व र वित्तीय सुदृढतालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
तनहुँ । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । उनका अनुसार मेला अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए । साथै मुग्लीनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र सोही रुटबाट फर्कने व्यवस्था मिलाइएको छ । चिवनतर्फ सवारीसाधनको पार्किङ गर्न साना सवारीसाधनका लागि सीताराम संस्कृत माविको कम्पाउण्डभित्र व्यवस्था मिलाइएको छ । ठूला सवारीसाधन (बस, मिनिबस, माइक्रो) आदिको पार्किङ दाहसंस्कारस्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार) बाट उत्तर पूर्वक्षेत्रमा प्रबन्ध गरिएको समितिका कार्यकारी निर्देशक बरालले जानकारी दिए । ‘त्रिशूली नदीको झोलुङ्गे पुलमा एकपटकमा एक सय यात्रुमात्र हिँड्ने व्यवस्था मिलाइएको छ । वैकल्पिक मार्गका रूपमा बेणीमा प्रशस्तमात्रामा डुङ्गाहरूको व्यवस्था गरिएको छ’, उनले भने । डुङ्गा, र्याफ्टिङबाट नदी वारपार गर्दा लाइफ ज्याकेट अनिवार्य लगाउनुपर्ने व्यवस्था मिलाइएको छ भने डुङ्गा तथा र्याफ्टिङबाट एकतर्फी भाडा रु ५० कायम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले बताए । पद्मम पुराणका अनुसार सूर्य मकर राशिमा गएका बेला माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहिआएको छ । पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन भएको दिन मकर सङ्क्रान्तिको दिन भएको मानिन्छ । सोही कारण पनि माघे सङ्क्रान्तिमा देवघाटमा स्नान गर्नेको ठूलो घुइँचो लाग्ने गर्दछ । तीर्थस्थलमा धुम्रपान, मदिरा एवं सुर्तीजन्य पदार्थहरु निषेध गरिएको छ । ती वस्तुहरू बिक्री, ओसारपसार एवं सेवन कार्य नगरी सहयोग पुर्याइदिनुहुन सम्बन्धित सबै पक्षसँग अनुरोध गरिएको कार्यकारी निर्देशक बरालले बताए । ‘बेणीमा नुहाउने स्नान क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ । नुहाउँदा हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखी देवघाट क्षेत्र विकास समितिबाट दुई वटा काठका स्थानीय डुङ्गामा रेडक्रसको झण्डा राखी उद्धार व्यवस्था मिलाइएको छ’, निर्देशक बरालले भने, ‘सशस्त्र प्रहरीबल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार र नेपाली सेना, नयाँ सबुज गण भरतपुरबाट दुई/दुई वटा उद्धार र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ ।’ सवारी पार्किङ शुल्कको दररेटमा मेला अवधिभर साइकललाई १०, मोटरसाइकल रु २०, कार/जिप, भ्यान तथा हल्का सवारीलाई ५० तथा बस ट्रकसहित भारी सवारीसाधनर्ला एक सय निर्धारण गरिएको समितिले जनाएको छ । देवघाट गाउँपालिका-५ का अध्यक्ष पूर्णबहादुर कुँवरले विगतका कमीकमजोरी सच्याउँदै यसपटक मेलालाई व्यवस्थित बनाइएको बताए । रासस