विकासन्युज

पहिलोपटक ‘स्काइवाक टावर’मा योगाभ्यास

काठमाडौं । कमलादिस्थित ‘स्काइवाक टावर’मा आज विभिन्न कार्यक्रम गरी दसौँ राष्ट्रिय योग दिवस मनाइएको छ । स्काइवाक, अष्टाङ्गयोग, योगभूमि, विश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा टावरको दुई सय ५६ फिटमाथिको स्काइवाकमा योगाभ्याससँगै योगबारे चर्चा गरिएको ‘स्काइवाक टावर’का प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जानकारी दिए । प्रबन्ध निर्देशक पाण्डेका अनुसार साहसिक योगाभ्यासको विकास गर्ने उद्देश्यले ‘स्काइवाक टावर’मा योग दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो । त्यसअवसरमा अष्टाङ्गयोग, कीर्तिपुर योग समाज, तारकेश्वर योग केन्द्र, अनामनगर महिला योग समाज तथा योग भूमिकाका करिब एक सय ५० जनाको सहभागिता रहेको स्काइवाक टावरका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले जानकारी दिए । ‘दसौँ राष्ट्रिय योग दिवसका अवसरमा स्काइवाकमा योगाभ्यास गरेका छौँ । अब प्रत्येक साता स्काइवाकमा योगाभ्यासलाई निरन्तरता दिइनेछ’, उनले भने । योग शिक्षालाई सबै तहमा अझ फराकिलो बनाउँदै नागरिकलाई स्वस्थ बनाउने विषयलाई आफूहरुले प्राथमिकतामा राखेको ज्ञवालीको भनाइ थियो । | यस्ता कार्यक्रमहरूले योगका आयामलाई सन्तुलित राख्दै जीवनपद्धतिका रूपमा विकसित गर्ने विश्व शान्ति ध्यान केन्द्रका योग गुरु स्वामी कल्याणले विश्वास व्यक्त गरे । योग साधनालाई आफूलाई आफैले बुझ्ने परम साधनका रुपमा बुझ्नुपर्ने उनले बताए । आजको योगाभ्यासका क्रममा एकसय पटक आठ सूर्य नमस्कार गरिएको थियो । बिहान ६ बजेदेखि ९ बजेसम्म चलेको योगाभ्यासमा महिला तथा  पुरुषहरुको उल्लेख्य सहभागिता थियो ।

सबैभन्दा बढी घरकर्जा दिने एनआईसी एसियाको एक अर्ब ऋण घट्यो, तीन वर्षअघिकै ब्याजमा फर्कियो बैंकिङ क्षेत्र

काठमाडौं । बैंकिङ क्षेत्रमा सबैभन्दा बढी घरकर्जा प्रवाह गर्ने एनआईसी एसिया बैंकले एक महिनामै १ अर्ब बढी ऋण घटाएको छ । बैंकले कार्तिकको तुलनामा मंसिरमा एक अर्ब ११ करोड ८० लाख रुपैयाँ घरकर्जा घटाएको हो । गत कार्तिकमा कुल ५ अर्ब ८ करोड ६० लाख रुपैयाँ घरकर्जा प्रवाह गरेको बैंकले मंसिरमा कर्जा घटाएर ५३ अर्ब ९६ करोड ७० लाख रुपैयाँ कायम गरेको हो । यस्तै, कुमारी, लक्ष्मी सनराइज, एभरेष्ट, कृषि विकास, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) माछापुच्छ्रे, हिमालयन र नेपाल एसबीआई बैंकले पनि घरकर्जा घटाएका छन् । यी बैंकले क्रमशः ५४ करोड ८० लाख, १० करोड २० लाख, ३ करोड ३० लाख, ७ करोड १० लाख, ६ करोड ९० लाख, १ करोड १० लाख, ३ करोड ८० लाख र १० लाख रुपैयाँले घरकर्जा घटाएका हुन् । अन्य बैंकले भने कर्जा बढाएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार ग्लोबल आइएमई बैंकले मंसिरसम्म कुल ३६ अर्ब ६७ करोड, नबिलले २६ अर्ब ८८ करोड, राष्ट्रिय वाणिज्य बैंकले २६ अर्ब ४९ करोड, एभरेष्टले २२ अर्ब ७२ करोड, लक्ष्मी सनराइजले १८ अर्ब ३७ करोड र एनएमबि बैंकले १६ अर्ब २६ करोड रुपैयाँ घरकर्जा प्रवाह गरेको छ । यस्तै, प्रभुले १३ अर्ब २६ करोड, सिद्धार्थले १२ अर्ब ९३ करोड, कुमारीले १२ अर्ब ७० करोड, कृषि विकासले ११ अर्ब १६ करोड, सिटिजन्सले १० अर्ब ३३ करोड, नेपाल बैंकले १० अर्ब १४ करोड र सानिमा बैंकले ९ अर्ब १९ करोड रुपैयाँ घर कर्जा लगानी गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८ अर्ब ७९ करोड, प्राइम कमर्सियलले ८ अर्ब ३० करोड, एनआईएमबीले ७ अर्ब ५६ करोड, माछापुच्छ्रेले ६ अर्ब ३५ करोड, हिमालयनले ५ अर्ब ४ करोड र नेपाल एसबीआईले २ अर्ब १९ करोड रुपैयाँ घरकर्जा लगानी गरेको छ । तीन वर्षअघिकै ब्याजदर बैंकिङ क्षेत्र घरकर्जामा तीन वर्षअघिकै स्थितिमा फर्किएको छ । २०७८ असोजमा घरकर्जाको ब्याज औसत ९.३१ प्रतिशत थियो । त्यतिखेर कुल २ खर्ब ५७ अर्ब २ करोड ६० लाख रुपैयाँ घर कर्जा प्रवाह भएको थियो । त्यसपछि प्रत्येक महिना निरन्तर बढ्दै गएको ब्याज २०७८ माघमै १०.७४ प्रतिशत पुगेको थियो । जतिबेला कुल २ खर्ब ७९ अर्ब ९८ करोड ५० लाख रुपैयाँ घर कर्जा प्रवाह भएको थियो । यस्तै, २०७९ बैशाखमा कुल २ खर्ब ८० अर्ब ६३ करोड ८० लाख रुपैयाँ घरकर्जा प्रवाह भएकोमा ब्याजदर औसत ११.६५ प्रतिशत पुगेको थियो भने २०७९ को साउनमा १२.१० प्रतिशत औसत ब्याजदर पुगेको कुल कर्जाको परिमाण २ खर्ब ८२ अर्ब ७ करोड ३० लाख रुपैयाँ थियो । यस्तै, २०७९ को माघमा घरकर्जाको औसत ब्याजदर १३.२१ प्रतिशत पुगेको थियो भने कुल कर्जा २ खर्ब ८२ अर्ब १ करोड २० लाख रुपैयाँ कायम भएको थियो भने २०८० को बैशाखमा पुनः ब्याजदर घटेर औसत १२.८७ प्रतिशतमा झरेर कुल कर्जा पनि १ खर्ब ८१ अर्ब १८ करोड ८० लाख रुपैयाँमा झरेको थियो । २०८० को साउनमा ब्याजदर थप घटेर ११.९८ कायम हुँदा कुल कर्जा बढेर २ खर्ब ८८ अर्ब ६५ करोड २० लाख रुपैयाँ कायम भएको थियो । सोही वर्षको चैतमा ब्याजदर थप घटेर १०.९१ प्रतिशत कायम भएपछि त्यसपछि निरन्तर ब्याज घट्दै गएको देखिन्छ । यस्तै, २०८१ को साउनमा कुल घरकर्जा ३ खर्ब १६ अर्ब रुपैयाँ कयम हुँदा औसत ब्याजदर भने १०.१५ प्रतिशत र भदौमा कुल कर्जामा ३ खर्ब १७ अर्ब रुपैयाँ पुग्दा औसत ब्याजदर ९.९३ प्रतिशतमा झरेको थियो । यो वर्ष पनि प्रत्येक महिना निरन्तर ब्याजदर घटिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यस वर्षको असोजमा कुल ३ खर्ब १९ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह हुँदा ब्याजदर ९.७१ प्रतिशत, कार्तिकमा कुल ३ खर्ब १९ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह हुँदा औसत ब्याजदर ९.४२ प्रतिशत र मंसिरमा कुल ३ खर्ब १९ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह हुँदा औसत ब्याजदर ९.३१ प्रतिशत कायम भएको छ । जुन ब्याजदर तीन वर्षअघिको बराबर हो ।

पूर्वजले देखाएको बाटोमा लागौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजले गरेको खोज, अध्ययनको बाटोमा सबैलाई लाग्न प्रेरणा लिएर अघि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले योग दिवसका अवसरमा आज पूर्वज र प्रकृतिप्रति गौरव गर्दै ज्ञान पैदा गर्ने खोज, अध्ययन र अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्ने बताएका हुन् । ‘पूर्वजहरुप्रति शिर झुकाएर श्रद्धापूर्वक नमन गर्नुपर्दछ, उहाँहरुको आदर्शबाट सिक्ने र उनीहरुको जस्तो ज्ञान पैदा गर्ने खोज, अध्ययन, अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्दछ, जीवनमा त्यसलाई आत्मसात् गर्ने प्रयास गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘योग दिवसले देशभक्ति, पूर्वजहरुप्रति, प्रकृतिप्रति, यो भूखण्ड, यो देशप्रति हामीलाई गर्व गर्न सिकाओस् र त्यसबाट प्रेरणा लिएर अगाडि बढ्न प्रेरित गरोस्, म सबैमा यही शुभकामना व्यक्त गर्न चाहन्छु ।’ दशौँ राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीले स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय योग दिवस मनाइएको बताए । ‘योग यस भूमिको उपज, पूर्वजहरु, जसले गणितको, आयुर्वेदको, अन्तरिक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो असाधारण थियो भन्ने पुष्टि हो यो’ प्रधानमन्त्री ओलीले भने, ‘योगको महत्व अझ बढी प्रखररुपमा प्रकट भएको र मानिसको सबैभन्दा महत्वपूर्ण कुरा हो स्वस्थ्य रहनु हो, शारीरिक र मानसिक रुपले स्वस्थ्य रहनु, स्वस्थ्य रहनका लागि योगअसाधारण उपयोगी छ, साधना र लामा ध्यान चिन्तकका लागि आवश्यक हुन सक्छ ।’ विश्वलाई मानवोचित विश्व बनाउन चाहिरहेका र विश्व भनेको धर्ती र मानव समाज भएको प्रधानमन्त्रीको भनाइ छ । प्रकृति र मानव समाज सन्तुलन कायम यस ठाउँलाई आदियोग भूमि भन्न सक्ने उल्लेख छ । ‘आदियोग गुरु, आदियोगी शिव अर्थात् शम्भुनाथले यसै भूमिबाट हजारौँ वर्षअघि योगको अभ्यास, योगको चिन्तन र योग दर्शन अर्थात् जीवनसँग सम्बन्धित सम्पूर्ण विषय र जीवन र प्रकृतिको सम्बन्धको चिन्तन, ध्यानादि कुराको प्रारम्भ गर्नुभएको थियो’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण शिवलाई आदियोगी मान्दछौँ । योग आदियोगी शिवबाट शुरू भएको हो । योग कुनै धर्म, जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचारधारामा सीमित छैन । यो सम्पूर्ण मावन जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको एउटा यस्तो विधा हो जुन अत्यन्तै वैज्ञानिक ढङ्गले शुरू भएको थियो ।’ प्रधानमन्त्रीको शुभकामनामा भनिएको छ, ‘योग अलिक ओझेल पर्दै गयो, विभिन्न प्रकारका भ्रम, भ्रान्ति पनि यसमा मिसिए, अहिले योग भ्रान्तिबाट मुक्त, मानवीय हित र कल्याणका लागि सम्पूर्णरूपमा समर्पित र व्यापक, विस्तृत हुन जरूरी छ, मानव समाजव्यापी हुन जरूरी छ, यस प्रयासमा जुटेका छौं ।’ प्रधानमन्त्री ओलीले योग कुनै धर्म विशेषसँग सम्बन्धित नभएको र योग अध्यात्मसँग सम्बन्धित नभइ दर्शनको सृष्टिभन्दा अगाडि शैव दर्शनसँग सम्बन्धित भएको बताएका छन् । सन्देशमा भनिएको छ, ‘दर्शनकै प्रारम्भ यहीँबाट भयो, योगबाट दर्शनको प्रारम्भ भयो, योगबाट ध्यान, ध्यानबाट चिन्तन, चिन्तनबाट मनन, मननबाट ज्ञान विकास भयो । संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मान्यो । जसको इतिहासले हाम्रो भूमिसँग १५ हजार वर्ष अगाडिको नाता राख्दछ । यसको सम्बन्ध कपिलवस्तुका कपिलमुनिसँग जोडिएको छ ।त्यसपछि कपिलवस्तुकै सिद्धार्थ गौतम, गौतम बुद्धसँग नाता जोडिएको छ ।’

यी हुन् लक्ष्मी सनराइज बैंकका ३७ ठुला सेयरधनीहरू, कसको स्वामित्व कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकका ठुला लगानीकर्ताहरूको संख्या ३७ रहेको पाइएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को विवरणअनुसार बैंकमा ०.५ वा सोभन्दा धेरै सेयर स्वामित्व कायम भएका लगानीकर्ताहरुको संख्या ३७ रहेको छ । जसमध्ये सबैभन्दा धेरै सेयर स्वामित्व लक्ष्मी कर्प नेपालको रहेको छ । बैंकमा लक्ष्मी कर्प नेपालको १ करोड ८० लाख ४२ हजार ८४१ कित्ता सेयर रहेको छ । अर्थात् ७.७८ प्रतिशत सेयर लक्ष्मी कर्पको स्वामित्वमा रहेको छ । यसैगरी, नागरीक लगानी कोषको स्वामित्वमा ४.६५ प्रतिशत रहेको छ । बैंकमा कोषको नाममा १ करोड ७७ लाख १ हजार ७९७ कित्ता सेयर रहेको छ । सारिका खेतानको नाममा ९६ लाख ६९ हजार ३९८ कित्ता सेयर तथा ४.१७ प्रतिशत स्वामित्व रहेको छ । यसैगरी, स्नेहा खेतानको नाममा ९० लाख ५६ हजार ९०४ कित्ता सेयर तथा ३.९१ प्रतिशत स्वामित्व, मोतिलाल दुगडको नाममा ६४ लाख २७ हजार ८२७ कित्ता सेयर तथा २.७७ प्रतिशत स्वामित्व, मालचन्द दुगडको नाममा ५५ लाख ६७ हजार ९५८ कित्ता सेयर तथा २.४० प्रतिशत स्वामित्व, रतन लाल संघाईको नाममा ५५ लाख ४२ हजार ९०१ कित्ता सेयर तथा २.३९ प्रतिशत स्वामित्व, गापि कृष्ण सिकारिया र राजेन्द्र कुमार खेतानको नाममा समान २.३५ प्रतिशत स्वामित्व, हिमालयन एक्जीमको १.९७ प्रतिशत स्वामित्व, श्रवण कुमार गोयलको १.४२ प्रतिशत स्वामित्व र सुरेन्द्रा दुगडको १.४१ प्रतिशत सेयर स्वामित्व रहेको छ । यसैगरी, विवेक दुगडको १.३३ प्रतिशत, एमटीसी इन्भेष्टमेन्टको १.२८ प्रतिशत, बच्छराज तातेडको १.१५ प्रतिशत, कैलाशचन्द्र गोयलको १ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको ०.९९ प्रतिशत, निर्मला देवी गायलको ०.९५ प्रतिशत, पूजा अग्रवाल खेतानको ०.८६ प्रतिशत र विवेक तातेडको ०.७८ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै, शौरभ तातेड, विशाल तातेड र निवास शारडाको समान ०.७७ प्रतिशत सेयर स्वामित्व रहेको छ भने ओमप्रकाश सिकारिया, निधि दुगड, पूजा दुगड, श्रद्धा दुगड, प्रियंका अग्रवाल र सरोज दुगडको क्रमशः ०.७६, ०.७५, ०.७२, ०.७१, ०.६४ र ०.६० प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यसैगरी, जमुना पौड्याल, राधेश्याम शारडा र पवनकुमार शारडाको समान ०.५५ प्रतिशत, शिव रतन शारडा र सुभम दुगडको समान ०.५४ प्रतिशत, भोगेन्द्र कुमार गुरागाईंको ०.५२ प्रतिशत, कविता लोहिया र मानव अग्रवालको समान ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संसोधनको तयारी

काठमाडौं । स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संसोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तिमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यससम्बन्धी संसोधन प्रस्ताव मन्त्रिपरिषद बैठकमा लगेकामा स्वीकृत भइ कानून संसोधन भएको हो । संसोधित ऐनको व्यवस्थाअनुसार यसअघि बीमा सदस्य बने पनि पालिकामा सेवा लिन नपाउने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ । ऐन संसोधनको प्रष्टीकरण खण्डमा ‘यसअघि स्थायी ठेगाना भएको तहबाट रेफरल लिनुपर्ने भएकामा अबको व्यवस्थाले प्रथम सेवा विन्दु भन्नाले विमितले सर्वप्रथम स्वास्थ्य सेवा लिने गरी रोजेको स्वास्थ्य संस्था सम्झनु पर्छ,’ भनेर व्याख्या गरिएको छ । यस आधारमा अब बिमित कार्यरत क्षेत्रमा प्रथम बिन्दु कायम गर्न चाहेमा सम्भव हुने भएको छ । यसका लागि स्वास्थ्य बिमा नियमावलीसमेत संसोधन गर्ने गरी तयारी अघि बढेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । यसअनुसार नियमावली संसोधन भएपश्चात कार्यरत स्थानबाट बीमा सुविधा लिन स्थायी ठेगाना भएको ठाउँमा जानैपर्ने अवस्था कम हुने विश्वास मन्त्रालयले गरेको छ । मन्त्री पौडेलले बिमित रहेकै स्थानबाट सेवा लिन मिल्ने गरी व्यवस्था गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका थिए । मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार संसोधनमार्फत अब कार्यकारी निर्देशक नियुक्त नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था भएको छ । ऐनको (४)दफा २५ को उपदफा (५) पछि देहायको उपदफा (६) थपिएको छ । जसमा ‘कुनै कारणले कार्यकारी निर्देशकको पद रिक्त भएमा दफा २२ को उपदफा (३) बमोजिम कार्यकारी निर्देशक नियुक्ति नभएसम्मको लागि कार्यकारी निर्देशकको रुपमा काम गर्न मन्त्रालयले मन्त्रालय र अन्तर्गतको नेपाल स्वास्थ्य सेवाको कम्तीमा एघारौँ तहको कर्मचारीलाई खटाउन सक्ने’ उल्लेख छ । यसले कार्यकारी निर्देशक नियुक्त नहुँदासम्म निमित्त कार्यकारीका सट्टा पूर्ण अधिकारसहितकै कार्यकारी निर्देशकका रुपमा कर्मचारी खटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बाटो खुला गरेको छ । यसले भावी दिनमा कार्यकारी निर्देशकको रिक्ततासम्बन्धी समस्या सम्बोधन गर्न सक्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

संसारको सबैभन्दा महँगो घडीको मूल्य ७२९ करोड रुपैयाँ, ३० जना डिजाइनरको ४ वर्ष बढी मेहनत

काठमाडौं । अनन्त अम्बानी लक्जरियस घडीका शाैखिन हुन् । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका छोरा अनन्त हालै आफ्नो एउटा घडीका कारण चर्चामा आए । उनले यो घडी घुम्न जाँदा लगाएका थिए । यो घडीको मूल्य ३५.२ करोड रुपैयाँ छ । यो लक्जरी घडी बनाउने कम्पनी रिचर्ड मिलद्वारा बनाइएको हो । जब संसारको सबैभन्दा महँगो घडीको कुरा आउँछ, तब यो घडीले प्रतिस्पर्धामा पनि उत्रिन सक्दैन । २०१४ मा लन्डनमा आधारित गहना कम्पनी ग्राफ डायमन्ड्सले बेसवर्ल्डमा आफ्नो एउटा घडी प्रस्तुत गरेको थियो । सबैभन्दा महँगो घडीको मूल्य कति विलासी घडीहरू केवल समय बताउने उपकरण मात्र होइनन् । यी कला, सम्पदा र उत्कृष्ट शिल्प कौशलको संयोजन हुन् । यी सामान्य सामान जस्तै बजारमा बेचिँदैनन् । यी सुन्दर घडीहरू पारिवारिक विरासत हुन् । उनीहरूका कथाहरूले उनीहरूको मूल्य बढाउँछन् । २०१४ मा ग्राफ डायमन्ड्सले बेसवर्ल्डमा आफ्नो एउटा घडी प्रस्तुत गर्‍यो । यो अद्भूत घडी कम्पनीका संस्थापक लरेन्स ग्राफले डिजाइन गरेका हुन् । यसमा लगभग ११० क्यारेट दुर्लभ रंगीन हीरा जडित छ । यसलाई बनाउन ३० जना डिजाइनर, रत्नविद् र कालिगढहरूलाई चार वर्षभन्दा बढी समय लागेको थियो । यसको लागत लगभग ७२९.६ करोड रुपैयाँ छ । यो संसारकै सबैभन्दा महँगो घडी हो । एक वर्षपछि ग्राफ डायमन्ड्सले द फेसिनेशन घडी प्रस्तुत गर्‍यो । यो घडीलाई औंठी पनि बनाउन सकिन्छ । यसमा १५२.९६ क्यारेट सेतो हीरा र बीचमा ३८.१३ क्यारेटको नासपाती आकारको हीरा जडित छ । यसको मूल्य लगभग ५२९.६ करोड रुपैयाँ छ । यो संसारको दोस्रो सबैभन्दा महँगो घडी हो । राजकुमारी डायनाको घडी राजकुमारी डायनाको कार्टियर ट्याङ्क फ्रान्सेज घडी उनका छोरा राजकुमार ह्यारीलाई हस्तान्तरण गरिएको थियो । पछि राजकुमार ह्यारीले मेघन मार्कललाई उक्त घडी उपहार दिए । अभिनेता पल न्यूम्यानको रोलेक्स पल न्यूम्यान डेटोना घडी २०१७ मा लगभग २२४ करोड रुपैयाँमा लिलामी भएको थियो । मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी दुर्लभ घडीहरूको ठूलो सङ्कलक हुन् । उनीसँग पटेक फिलिप ग्रान्डमास्टर चाइम घडी छ । यसको लागत २८.८ करोड रुपैयाँभन्दा बढी छ ।

२० लाख ५० हजारको चेक बाउन्स कसुरमा एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

काठमाडौं । चेक अनादर सम्बन्धी कसुरमा नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । पक्राउ परेका मल्ल हाल महाराजगञ्जमा रहेको प्रहरी कार्यालयमा रहेका छन् । मल्लको २० लाख ५० हजार रुपैयाँको चेक बाउन्स भएको बताइएको छ । युवा संघका नेतासँग उक्त लेनदेन भएको विषयमा प्रहरीमा जाहेरी परेको थियो । उक्त जाहेरीका आधारमा अनुसन्धानका लागि मल्ललाई पक्राउ गरिएको बताइएको छ । चेक बाउन्स भएको घटनामा दुई पक्षबीच जुनसुकै चरणमा पनि मिलापत्र हुनसक्छ । त्यसैले दुवै पक्षलाई राखेर छलफल गराइराखिएको प्रहरीले जनाएको छ ।

मगर र थारु समुदायले मनाए माघी (तस्बिरहरू)

काठमाडौं । आज माघे संक्रान्ति पर्व देशभर विभिन्न समुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । यो पर्वका अवसरमा थारु र मगर समुदायले काठमाडौंको टुँडिखेलमा छुट्टा छुट्टै विशेष कार्यक्रम गरेका छन् ।