दिगो बैकिङमा सिटिजन्स बैंक, व्यवसाय विस्तारसँगै खराव कर्जामा सुधार
काठमाडौैं । सिटिजन्स बैंकले दिगो बैकिङमा जोड दिदै व्यवसाय विस्तारमा जोड दिएको छ । बैंकले प्रकाशित गरेको पुस मसान्तसम्म वित्तीय विवरण अनुसार विगत ६ महिनामा सिटिजन्स बैंकले कर्जा लगानी करिव ६ प्रतिशतले वृद्धि गरेको छ । असार मसान्तसम्ममा कर्जा १ खर्ब ५७ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा पुस मसान्तमा ९ अर्ब १४ करोडले वृद्धि गर्दै १ खर्ब ६६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । पछिल्लो समय बैंकहरुको कर्जा प्रवाह उच्च दरले बढेको देखिएको छ । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा सिटिजन्स बैंकको निक्षेप वृद्धि ३.१० प्रतिशत रहेको छ । बैंकले यस अवधिमा ५ अर्ब ९५ करोड रुपैयाँ निक्षेप वृद्धि गरी १ खर्ब ९७ अर्ब ६४ करोड रुपैयाँ पुर्याएको छ । चालु वर्षमा बैंकहरुले निक्षेप आकर्षित गर्ने काम गरेका छैनन । बैकिङ क्षेत्रमा निक्षेपको व्याजदर निरन्तर घट्दै गएको छ । कर्जा र निक्षेपमा भएको वृद्धिसँगै बैंकको व्याज आम्दानी वृद्धि भएको छ । २०८० पुस मसान्तमा बैंकको व्याज आम्दानी २ अर्ब ८४ करोड थियो भने २०८१ पुस मसान्तसम्ममा व्याज आम्दानी ३ अर्ब ७ करोड रुपैयाँ भएको छ । गत वर्षको तुलनामा बैंकको व्याज आम्दानी ८.२७ प्रतिशतले बढेको बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको शुल्क तथा कमिशन आम्दानी १५.२६ प्रतिशतले वृद्धि भई ६४ करोड ४७ लाख रुपैयाँ पुगेको छ । बैंकको नेट ट्रेडिङ आम्दानी ११९ प्रतिशतले र अन्य सञ्चालन आम्दानी १७७ प्रतिशतले वृद्धि भएकोछ । बैंकले पुस मसान्तसम्ममा सेयरधनीलाई वितरणयोग्य नाफा १५ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष सोहि अवधिमा बैंक २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक थियो । बैंकको खराव कर्जा ४ दशमलव ८५ प्रतिशत छ जुन गत असोज मसान्तको तुलनामा केही सुधार भएको हो । गत असोज मसान्तमा खराव कर्जा ५.४१ प्रतिशत थियो । पुस मसान्तमा बैंकको बसे रेट ७.३ प्रतिशत छ । बैंकको बेसरेट घट्दा कर्जाको व्याज पनि कम हुन्छ र ऋणीलाई राहात हुन्छ । बैंकको पुँजी प्रर्याप्तता अनुपात १२.८७ रहेको छ भने प्राथमिक पुँजी अनुपात ९.०३ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड छ भने रिर्जभसहितको पुँजी कोष २२ अर्ब १२ करोड रुपैयाँको भएको छ ।
राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा १५ प्रतिशतले बढ्यो, २ वटाको घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा बढेको छ । विकास बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार राष्ट्रिय स्तरका विकास बैंकहरुको खुद नाफा १४.७८ प्रतिशतले वृद्धि भएको हो । हाल नेपालमा ८ वटा राष्ट्रि स्तरका विकास बैंकहरु रहेका छन् । ८ मध्ये ६ वटाको नाफा वृद्धि हुँदा २ वटा विकास बैंकको नाफा भने घटेको छ । नाफा वृद्धिमा सबैभन्द अगाडी ज्योति विकस बैंक रहेको छ । ज्योतिले १४७.५५ प्रतिशतले नाफा वृद्धि गरेको छ । गत आवको दोस्रो त्रैमाससम्म ज्योतिले १० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जियो । चालु आवको सोहि अवधिमा यस्तो नाफा २५ करोड १ लाख रुपैयाँ पुगेको छ ।साङग्रिला डेभलपमेन्ट बैंकको नाफा ९६ प्रतिशतले वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा १० करोड रुपैयाँ नाफा क्माएको साङग्रिलाले चालु आवको सोहि अवधिमा १९ करोड ६५ लाख रुपैयाँ कमाएको छ । कामना सेवा विकास बैंकले गत आवको दोस्रो त्रैमासमा २५ करोड ८९ लाख नाफा कमाएको थियो । चालु आवको सोहि अवधिमा यस्तो नाफा वृद्धि गरेर ३२ करोड २४ लाख पुर्याएको छ । जुन २४.५५ प्रतिशत वृद्धि हो । १९.७९ प्रतिशतले वृद्धि गरेर मुक्तिनाथ विकास बैंकले खुद नाफा ५० करोड ३१ लाख पुर्याएको छ । गत आवको सोहि अवधिमा विकास बैंकले ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गरिमा विकास बैंकको नाफा ७.१६, महालक्ष्मी विकास बैंकको खुद नाफा ३.४० प्रतिशतले बढ्दा साइन रेसुङगा डेभलपमेन्ट बैंकको नाफा १०.८७ र लुम्बिनी विकास बैंकको नाफा ३०.४६ प्रतिशतले घटेको छ । गरिमाले गत आवको दोस्रो त्रैमासमा ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोहि अवधिमा गरिमाको खुद नाफा ५४ करोड ९२ लाख रहेको छ । यसैगरी, महालक्ष्मी विकास बैंकले २७ करोड ८० लाख रुपैयाँबाट खुद नाफ वृद्धि गरेर २८ करोड ७४ करोड रुपैयाँ पुर्याएको छ । साइन रेसुङगाको नाफा ३७ करोड १२ लाखबाट घटेर ३३ करोड ८ लाखमा झरदा लुम्बिनीको नाफा २१ करोड २२ लाखबाट १४ करोड ७६ लाखमा सिमित भएको छ । समग्रहमा ८ विकास बैंकले गत आवको दोस्रो त्रैमाससम्म २ अर्ब २५ करोड ४२ लाख नाफा आर्जन गरेका थिए । चालु आवको सोहि अवधिमा यस्तो नाफा बढेर २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
डोनाल्ड ट्रम्पले लिए अमेरिकी ४७औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण
काठमाडौं । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण लगत्तै उनले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना रहेको जनाए । उनले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उचाइमा पुर्याउने आफ्नो प्रतिबद्धता रहेको सुनाए । ट्रम्पले शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गरे । ‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो। यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छु’ उनले भने ।
बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको संख्या बढ्दै, १३७ वटाविरूद्ध उजुरी
बागमती । बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो पटक बागमती प्रदेश सरकारले थप तीनवटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । योसँगै बागमती प्रदेशमा समस्याग्रस्त घोषणा हुने सहकारीको सङ्ख्या पाँच पुगेको छ । प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयअन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजन पोखरेलका अनुसार पछिल्लो पटक सुमेरू सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ पुलचौक ललितपुर, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था काठमाडौँ र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था काठमाडौँलाई समस्याग्रस्त घोषणा गरेको छ । वित्तीय दायित्व पूरा नगरेको, बचतकर्ताको बचत माग गर्दा फिर्ता नगरेको, बचत फिर्ता गर्ने कार्ययोजना बनाएर पनि कार्ययोजनाअनुसार काम नगरेको लगायत कारणले ती सहकारी संस्थाहरूलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको रजिष्ट्रार पोखरेलले बताए । समस्याग्रस्त घोषणा गरिएकामध्ये लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थामा तालाबन्दी गरिएको रजिष्ट्रार पोखरेलको भनाइ छ । यसअघि प्रदेश सरकारले काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ र काठमाडौँको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी सस्ंथालाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । दर्शन सहकारीलाई यही कात्तिक १२ गते र सिभिललाई गत २०८० साल भदौ २१ गते समस्याग्रस्त सहकारी घोषणा गरेको रजिष्ट्रार पोखरेलले बताए । बचत गरेको रकम फिर्ता नगरेको भन्दै बचतकर्ताहरूले प्रदेशभरिका एक सय ३७ भन्दा बढी सहकारी संस्थाविरूद्ध उजुरी दर्ता भएको र दर्ता भएका उजुरीमाथि छानबिन भइरहेको रजिष्ट्रार पोखरेलले बताए । उनका अनुसार तीमध्ये ८० वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरी कार्यालयमा पत्राचार गरिएको छ । बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि पत्राचार गर्दा पनि सम्पर्क नआउने सहकारी संस्थाका सञ्चालकमाथि कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा पत्राचार गरिएको रजिष्ट्रार पोखरेलको कथन छ । उनका अनुसार कारबाहीका लागि प्रहरी कार्यालयमा पत्राचार गरिएका अधिकांश सहकारी संस्थाहरू उपत्यकाभित्रका तीन जिल्लाका छन् । ‘बचत गरेको रकम फिर्ता नपाएको भन्दै पीडितहरूले दिएको निवेदनका आधारमा हामीले सम्बन्धित सहकारी संस्थाका सञ्चालकहरूलाई पत्राचार गर्यौँ,’ रजिष्ट्रार पोखरेलले भने, ‘तीमध्ये धेरै सहकारीका सञ्चालकहरू सम्पर्कमा आउनै चाहेन, कतिपय सम्पर्कमा आए पनि रकम फिर्ता गर्न आलटाल गर्ने गरेको छ । त्यसैले कारबाहीका लागि सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेका छौँ ।’
अर्थमन्त्री र गर्भनरले कृषि विकास बैंकको प्रशंसा गर्दै भने- ‘बैंकको व्यवस्थापन अब्बल’
काठमाडौं । कृषि विकास बैंकको व्यवस्थापनबारे अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरले खुलेर प्रशंसा गरेका छन् । सोमबार बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीले खुलेर प्रशंसा गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पछिल्लो समय कृषि विकास बैंक अब्बल र प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए । उनले उक्त बैंकले विगतमा धेरै समस्या झेल्दै अघि बढेको उल्लेख गर्दै अब्बल व्यवस्थापन र कर्मचारीका कारण अन्य बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘कृषि विकास बैंकले जुन समस्या झेल्दै आएको थियो, बैंकिङ क्षेत्रको प्रतिस्पर्धामा पछाडि पर्दै गएको थियो । तर, पछिल्ला दिनमा बैंकको व्यवस्थापन र कर्मचारीले गरेको सामूहिक प्रयासका कारण आज अब्बल बैंक, राम्रो बैंक, अन्य बैंकको तुलनामा प्रतिस्पर्धा गर्न सामर्थ्य राख्ने बैंकका रूपमा आफूलाई चिनाएको छ ।’ यस्तै, अर्थमन्त्री पौडेलले पछिल्लो समयमा बैंकले गरेको प्रगतिमा रमाएर बस्न नहुने धारणा व्यक्त गरे । उनले कर्मचारी र व्यवस्थापनलाई सुझाव दिँदै भने, ‘पछिल्लो समय बैंकले गरेको प्रगतिमा रमाएर बस्ने होइन । थप उपलब्धी आर्जन गर्ने, थप सफलता आर्जन गर्न स्पेस छ । त्यो स्पेसलाई यहाँहरूले भरपुर सदुपयोग गर्नुहोस् ।’ बैंकका कर्मचारी र व्यवस्थापनको राम्रो सम्बन्ध भएको बैंकले धेरै प्रगति गर्ने सम्भावना धेरै हुने उल्लेख गर्दै उनले बैंकका कर्मचारी तथा संगठनका पदाधीकारीहरूलाई बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाउन अनुरोध गरे । ‘बैंक सफल भयो, प्रभावकारी भयो र बैंकको इज्जत माथि उठ्यो भने समग्र कर्मचारीको इज्जत माथि उठ्छ । यसैगरी, बैंकको प्रतिष्ठा, पफर्मन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिने भएकाले बैंकको उन्नति र प्रगतिमा प्रहिलो प्राथमिकता दिनुपर्छ,’ उनले भने । कर्मचारी र व्यवस्थापनबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरूले अपेक्षित प्रगति गर्न नसकेको तीतो अनुभव रहेको बताउँदै अर्थमन्त्री पौडेलले भने, ‘कृषि विकास बैंकमा अन्यको तुलनामा सम्बन्ध राम्रो रहेको महशुस मैले गरेको छु । यो सम्बन्धलाई अझै राम्रो बनाउनु पर्दछ ।’ यस्तै, गभर्नर अधिकारीले कर्मचारी र व्यवस्थापनको सुमधुर सम्बन्ध रहेको भन्दै बैंक बधाईको पात्र भएको उल्लेख गरे । उनले सम्बोधन गर्नुअघि बैंकका कर्मचारी यूनियनका पदाधीकारीहरूले आ-आफ्नो मन्तव्य राखेको थिए । कर्मचारीहरूले खुलेर आफ्नो कुराहरू राखेको विषयलाई उदृत गर्दै उनले यसरी सञ्चालक र व्यवस्थापनको बारेमा कर्मचारीले खुलेर कुरा राखेको दुर्लभ पाइने गरेको बताए । त्यसकारण पनि कर्मचारी, व्यवस्थापन र सञ्चालकहरू बधाईको पात्र भएको उनको भनाइ थियो । कृषि विकास बैंकको विगतलाई कोट्याउँदै गभर्नर अधिकारीले उक्त बैंकको सुधारका लागि राष्ट्र बैंक र नेपाल सरकार मिलेर लगानी गरेको इतिहास सम्झिए । त्यस्तै, उनले कृषि विकास बैंकले हाल धेरै अब्बल व्यवस्थापकहरूमध्यको व्यवस्थापक पाएको दाबी गरे । उनले भने, ‘व्यवस्थापकीय सीपको सन्दर्भमा केही सीमित व्यवस्थापकहरूको व्यवस्थापन बैंकले पाइरहेको महसुस भएको छ ।’ राष्ट्र बैंकले निरीक्षण गर्दा र तथ्यांकहरू केलाउँदा पनि सो बैंकको पफर्मेन्स राम्रो रहेको पाइएको उनले बतए । यसका साथै गभर्नर अधिकारीले गत वर्षको मुनाफाबाट बैंकले १० प्रतिशत लाभांश वितरण गरेको, कर्मचारी र कर्मचारी युनियनको गुनासो बैंकले राम्रोसँग सम्बोधन गरेको उल्लेख गर्दै उनले साैहार्द किसिमले बैंक अघि बढेको बताए । यस्तै, उनले बैंकको ऋण नतिर्न उक्साउने गतिविधिहरू रहेको बताउँदै कृषि विकास बैंकको लाहान शाखामा भएको घटनाप्रति नेपाल राष्ट्र बैंक र नेपाल सरकार संवेदनशील रहेको बताए । त्यस विषयमा आफूहरू सरकारका निकायहरूसँग निरन्तर छलफल गरिरहेको जानकारी उनले दिए । सम्बन्धित निकायहरूलाई बैंकिङ क्षेत्रमा यस्तो अराजकताको असर कति पर्छ ? अर्थतन्त्रमा कति असर पर्छ भनेर विषय उठान गराएको पनि उनले जानकारी दिए । कृषि विकास बैंक वाणिज्य बैंक भए पनि कृषि कर्जामा यस बैंकले नेतृत्व गरिरहेको गभर्नर अधिकारीले बताए । उक्त बैंकले कृषिमा गरेको लगानी समग्र बैंकिङ क्षेत्रमा ठूलो योगदान रहेको भन्दै साना तथा मझाैला उद्योगमा पनि सो बैंकले लगानी बढाउँदै गएको उनले बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बैंकले ५ वर्षे व्यावसायीक रणनीती ल्याएको जानकारी दिए । ‘साझा समृद्धिका लागि सबैको रोजाइको बैंक’ भन्ने दूरदृष्टिका साथ २०८१ देखि २०८६ सम्मको ५ वर्षे व्यावसायीक योजना बैंकले अघि सारेको उनले बताए । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ७९ करोड खुद नाफा आर्जन गरेको उल्लेख गर्दै सीईओ गुरुङले अघिल्लो आर्थिक वर्षको तुलनामा २१७ प्रतिशतले नाफा वृद्धि गरेको बताए । खुद नाफाको आधारमा २० वटा बैंकमध्ये कृषि विकास बैंक ७औं नम्बरमा रहेको छ । गत आवको मुनाफाबाट बैंकले ७.५३ प्रतिशत नगत र ३ प्रतिशत बोनस सेयर गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । धेरै लाभांश वितरण गर्ने वाषिज्य बैंकको चौथो नम्बरमा कृषि विकास बैंक रहेको पनि उनले जानकारी दिए ।
माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा सोमबार आफ्नो कार्यालय प्राङ्गण जेडीए कम्प्लेक्स, बागदरबार, काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रम क्यापिटलले नेपाल रेडक्रस सोसाइटी, भृकुटीमण्डपसँगको सहकार्य तथा काठमाडौं महानगरपालिकाको सहयोग/समन्वयमा सम्पन्न गरेको हो । कार्यक्रममा ५४ जनाले रक्तदान गरे । आफ्नो स्थापनाको पाँचौं वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरि रक्तदान लगायत, वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरूलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवामा छुट लगायतका विविध कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ मनाइरहेको छ । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।
एलिट क्यापिटलले चिकित्सकका लागि ल्यायो ‘डक्टर्स पीएमएस’, सेयर बजारमा लगानी गर्न सघाउने
काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरूलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तर्गत यो विशेष योजना ल्याएको हो । क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको सेयर भएपछि सो योजनामा सहभागी हुन सकिन्छ । यसमा वार्षिक सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरिएको छ भने लगानीमा भएको मुनाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबण्डा हुने गरी बाँडफाड गरिनेछ । साथै मुनाफा भएको रकम त्रैमासिक रूपमा चाहेको बेला झिक्न सकिने र यसमा ५ लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिने समेत जनाइएको छ । यो योजनामा सहभागी हुने स्वास्थ्यकर्मीका परिवारलाई नि:शुल्क डिम्याट खाता तथा मेरो सेयर सेवाको सुविधा समेत प्रदान गरिने जनाइएको छ । साथै यस लगानी योजनामा सहभागी हुने लगानीकर्तालाई नि:शुल्क बीमा सुविधासमेत प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै सेयर बजारसम्बन्धी नि:शुल्क तालिम र अन्य परामर्श सेवाहरूसमेत नि:शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आवद्ध व्यक्तिहरूका लागि यो योजना लागू हुने क्यापिटलले जनाएको छ ।
स्वास्थ्य बीमामा सुधारका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा आन्तरिक थालनी, कार्ययोजना सुरु
काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाएका छन् । प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यवहारिक र नीतिगत सुधार तथा दीर्घकालीन सुधारका लागि आन्तरिक गृहकार्य अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले यसका लागि मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको संयोजकत्वमा आन्तरिक कार्यदल गठन गरेका छन् । कार्यदलका सदस्यहरुमा मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा. सरोज शर्मा, निर्देशक डा. अनुप बास्तोला, कानुन उपसचिव गोपीकृष्ण रेग्मी सदस्य तथा उपसचिव शालिकराम दाहाल सदस्य सचिव छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कुराकानीका क्रममा सरकारले प्रतिवेदनका आधारमा कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने तयारी थालेपछि मन्त्री पौडेलले मन्त्रालयगत तयारी अघि बढाएका हुन् । आइतबार प्रतिवेदनका सुझावका आधारमा स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्ने मन्त्री पौडेलको प्रस्तावमा प्रधानमन्त्री ओलीले सकारात्मक जवाफ दिएका थिए । प्रधानमन्त्रीको स्वीकृतिपछि मन्त्री पौडेलले चरणबद्ध रूपमा सुधार अघि बढाउने प्रक्रिया अघि बढाएका हुन् । कार्ययोजना एक साताभित्र तयार पारेर मन्त्रिपरिषदमा लैजाने मन्त्रालयको तयारी छ । यसका लागि गठित कार्यदलले प्रतिवेदनलाई टेकेर तत्काल तथा दीर्घकाललमा लागु गर्न सकिने विषय कार्ययोजनामा समावेश गरेर प्रतिवेदन दिनेछ । यसैगरी नीतिगत तथा अन्य सुधारका विषयका लागि समेत कार्यदलले आन्तरिक अवस्थाका आधारमा सुझाव दिनेछ । ‘स्वास्थ्य बीमामा सुधार भएमात्र यसले राम्रोसँग नागरिकको चाहनाअनुसार सेवा सुविधा दिनसक्छ भन्ने हाम्रो विश्वास छ,’ मन्त्री पौडेलले भने, ‘प्रधानमन्त्रीज्यूले समेत सुधारका लागि सकारात्मक हौसला दिनुभएकाले हामीलाई अघि बढ्न सजिलो भएको छ ।’ उनले केही दिनभित्रै कार्ययोजना र प्रतिवेदन दुवै सार्वजनिक गर्ने बताए । उनले सरकार सुधारका लागि तयार रहेकाले सम्भव भएसम्मका सुधार अघि बढाउने बताए।