काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताएका छन् । नेकपा एमालेको झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्चाए पनि उनीहरुलाई जनताले नपत्याएको बताए ।
‘देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैंक डुबाउनेहरू, आगजनी गर्नेहरू रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्याँकिसकेको राजतन्त्र ब्यूँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन । ठूला कुरा गर्ने र हल्ला गर्नेहरूले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरुको असली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनाबाट देखिइसकेको छ,’ प्रधानमन्त्री ओलीले भने ।
विगतमा आफू प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेको उनले बताए । साथै अदालतको समेत प्रयोग गरेर सरकारबाट बाहिर पठाए भएपनि जनताको अभिमतबाट पुनः सरकारको नेतृत्वमा आएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले निर्माण कार्य रोकिएका र बन्न बाँकी रहेका बाटा र आयोजनाहरू अब अगाडि बढ्ने जनाउँदै आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढंगले अगाडि बढाउने उचित नीति र कार्यक्रम लिएर आउने जनाए । कृषिको आधुनिकीकरण र विस्तारका लागि प्राथमिकता दिँदै उद्यमशीलताको विकास गर्न सरकारले प्राथमिकता दिने उनको भनाइ छ ।
‘हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्वपूर्ण कानुन ल्याएका छौँ । भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ । यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा रहेको छ । घाटामा रहेको अर्थतन्त्र उकालो लाग्न थालेको छ,’ उनले भने, ‘भूमिहीन सुकुम्बासीहरूका समस्या समाधान गर्न अब आउने संसदको अधिवेशनको सुरुमै कानुन ल्याइनेछ । मुलुकलाई गरिवीबाट मुक्त गराउन हामी क्रियाशील रहनेछौँ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी दत्तचित्त भएर लाग्नेछौँ । एमालेबिनाको नेपालको सपना देख्नेहरूको देशद्रोही सपना पूरा हुँदैन । एमाले झन् ठूलो भएर विजयी भएर आउनेछ । जनतामा आधारित यो पार्टी देशको भविष्य हो । एमाले असफल भए देश असफल हुन्छ ।’
कोशी प्रदेश विविधता युक्त र जागरूक प्रदेश भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस जागरणलाई व्यवहारमा उतार्न एमालेको प्रदेश र मातहतका कमिटी नयाँ उत्साहका साथ सक्रिय र चुस्त दुरुस्त रुपमा घरघर र व्यक्ति व्यक्तिमा पुग्ने गरी परिचालित हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले युवाहरूलाई आफ्नो देश आफैले बनाउँछु भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताए । एमालेले वैशाख ११ गते (लोकतन्त्र दिवस) का दिन काठमाडौंमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्ष मुनिका युवाहरू त्यस दिन काठमाडौं आएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन आव्हान गरे ।
‘एमालेको साथमा युवा छैनन् । एमालेका युवाहरू सिद्धिए भन्नेहरूलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौँ । म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले यति धेरै युवाहरूलाई भेला पार्न सक्दैन,’ उनले भने, ‘युवाहरूले आफ्नो सामर्थ्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ । आफ्नो पेसा गत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ ।’