विकासन्युज

प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड

सिरहा । प्रतिबन्धित औषधि बिक्री भइरहेको भन्दै त्यस्ता औषधिको बिक्रीलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बिहीबार लहानमा नेपाल औषधि व्यवसायी सङ्घ मधेस प्रदेशको नवनिर्वाचित समितिको शपथ ग्रहण कार्यक्रमका वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश खन्दवालले औषधि बिक्रीका बेथिति रोक्न नियमित अनुगमन गर्नुपर्ने बताए । ‘औषधि विभागमा दर्ता नभएका, नवीकरण नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित ‘फर्मास्युटिकल’ बनावट भएका औषधि बिक्री भइरहेको गुनासो आएकाले त्यसलाई रोक्न आवश्यक भएको छ’, उनले भने । अध्यक्ष खन्दवालले नयाँ औषधि ऐन बन्ने प्रक्रियामा रहेको पनि जानकारी दिए । त्यसैगरी, औषधि व्यवसायी सङ्घ मधेस प्रदेशका नवनिर्वाचित अध्यक्ष शिवनाथ सिंहले औषधि व्यवस्था विभागसँग समन्वय गरी आफूहररुले औषधि व्यवसायका समस्या समाधान गर्ने बताए । महासचिव पप्पुकुमार झाले औषधि व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै गाउँका जनतालाई सहज रुपमा औषधिको व्यवस्थापन गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास सारडाले प्रतिबन्धित औषधिको सहज बिक्रीले यहाँका युवालाई प्रभावित पारेको धारणा व्यक्त गरे । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले औषधि व्यवसायीको पेसा संवेदनशील छ भन्दै नगरभित्रका औषधि पसलको दर्ता, नवीकरण, अनुगमन तथा व्यवस्थापन गर्न नगरका तर्फबाट सरोकारवालासँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।गत पुस १३ गते सम्पन्न अधिवेशनबाट शिवनाथ सिंहको अध्यक्षतामा नेपाल औषधि व्यवसायी सङ्घ मधेस प्रदेशको १८ सदस्यीय निर्वाचित कार्यसमितिलाई कानुनी सल्लाहकार राजदेव यादवले शपथ गराएका थिए ।   रासस

२७ लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण

म्याग्दी । बेनी नगरपालिका–५ सेतोढुङ्गामा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । गैरसरकारी संस्था गुड नेभरहुडको २७ लाखको लागतमा तीनकोठे एकतले पक्की भवन निर्माण भएको हो । सहरी स्वास्थ्य केन्द्रबाट बेनी नगरपालिका–४ को डाँडाखेत, वडा नं ५ को सेतोढुङ्गा, कुमाल्नी, वडा नं ६ को छापका बासिन्दाले सेवा प्राप्त गर्न सहज भएको छ । वडास्तरका स्वास्थ्यचौकीमा सेवा लिन अपायक पर्ने बस्तीलाई लक्षित गरेर नगरपालिकाले सेतोढुङ्गाको साथै वडा नं ४ को सिङ्गा र वडा नं ९ को गलेश्वरमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरेको छ । केन्द्रबाट स्वास्थ्य परीक्षण, परामर्श, खोप सेवा प्रवाह हुने बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले बताए ।

अमेरिकी डलरको भाउ बढ्दा कुन-कुन विदेशी मुद्राको घट्यो?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनरको भाउ भने घटेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ०४ पैसा र बिक्रीदर एकसय ३८ रूपैयाँ ६४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रूपैयाँ १५ पैसा र बिक्रीदर एक सय ७० रूपैयाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रूपैयाँ १९ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ८५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ९२ पैसा र बिक्रीदर ९६ रूपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रूपैयाँ २१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रूपैयाँ ८२ पैसा र बिक्रीदर आठ रूपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १९ रूपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८० पैसा र बिक्रीदर ३६ रूपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०६ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रूपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६१ पैसा र बिक्रीदर नौ रूपैयाँ ६५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १२ रूपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २७ पैसा र बिक्रीदर १९ रूपैयाँ ३५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७२ पैसा र बिक्रीदर १७ रूपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रूपैयाँ ८३ पैसा र बिक्रीदर चार सय ४९ रूपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रूपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ६७ रूपैयाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रूपैयाँ ६३ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ १९ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा निर्धारण भएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

चिया बेचेरै मासिक ५० हजार आम्दानी

मोरङ । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराए । चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो त हुँदैन, तर औषतमा दैनिक अढाइदेखि तीन सय कप चिया बिक्री हुन्छ । हाल ३० लिटर दूधको चिया बिक्री हुन्छ । सबै खर्च कटाएर मासिक कम्तीमा ५० हजार आम्दानी हुन्छ । २५ वर्षअघि पसल सुरू गर्दा दुई रूपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ । त्यसबेला प्रतिलिटर १३ मा किनेको दूध हाल ८० पर्छ, महँगी धेरै बढ्यो । स्वामकुमारीले भनिन् “त्यस समयमा जमिन सस्तो थियो, त्यही भएर नाफाले अलिअलि गर्दै एक बिघा जमिन जोड्न सफल भयौँ । त्यसबेला चिया दुई किसिमको बनाउनुपथ्र्योे, ‘लोकल’ अनि ‘स्पेसल’, लोकलमा पानी मिसाइन्थ्यो भने स्पेसलमा दूधको मात्रको हुन्थ्यो ।” त्यसबेला लोकल चिया प्रतिकप दुई र स्पेसल रू तीन थियो । छोराछोरीलाई काखैमा राखेर चिया बेचिन्थ्यो, अहिले उनीहरू जवान भए । यही पसलको कमाईले छोराछोरी दुवैलाई उच्च माध्यमिक तहसम्म पढाएको स्वामकुमारीका श्रीमान् सर्गे खवास बताए । कुनै पनि व्यवसाय इमान्दारीपूर्वक निरन्तर गरिरहने होभने एक दिन अवश्य सफलता मिल्ने रहेछ स्वामकुमारीले बताए । “त्यसबेला जङ्गल गएर दाउरा ल्याइन्थ्यो, दुई सयमा एक रिक्सा दाउरा आउँथ्यो, अहिले ग्यास चुलोको प्रयोग गर्छौँ”, उनी बताँउन् । स्थानीय नेता, समाजका अगुवा सबै चिया खान आउनुहुन्छ । समाजका हरेक सूचना पनि थाहा पाइन्छ । चिया पकाउँदा आम्दानीमात्र होइन, आदत नै बनिसक्यो खवास दम्पतीको । अझै शरीरले साथ दिइन्जेल चिया व्यापार गर्ने उनीहरू बताउँछन् । स्थानीय वलिराम राजवंशी ७६ वर्ष पुगिसकेका छन् । उनी आधा घण्टा हिँड्दै उक्त पसलमा चिया पिउन आए । “वर्षौँदेखि उक्त होटलमा चिया खाने बानी परेकाले बूढो भए पनि घरको चियाले धित मर्दैन”, राजवंशीले बताए । बुबाकै पालादेखि डाँगीहाटमा चिया खाइरहेको छु । बुबाको जमानामा भारू पैसा चल्थ्यो, त्यसबेला दुई आना कप चिया रहेको याद छ । बुबासँगै आएर चिया खाने बानी परेको राजवंशीले बताए ।

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३८ प्रतिशतले घट्यो, बढ्यो निष्क्रिय कर्जा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३८.४१ प्रतिशतले नाफा घटेको हो । गत आवको दोस्रो त्रैमाससम्म संस्थाले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोहि अवधिका कम्पनीको नाफा ५ करोड २३ लाख रुपैयाँमा खुम्चिएको हो । यस्तै, संस्थाको खुद ब्याज आम्दानी २७.५६ प्रतिशतले घटेको छ भने खुद कमिशन आम्दानी ८६.२६ प्रतिशत घटेको छ। कुल सञ्चालन आम्दानी ३१.७५ प्रतिशत, सञ्चालन मुनाफा ४३.३८ प्रतिशत, प्रतिशेयर आम्दानी पनि ५ रुपैयाँ ९८ पैसा घटेर ७ रुपैयाँ ७८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा संस्थाको मूल्य आम्दानी अनुपात ९४.४७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३३ पैसा रहेको छ। संस्थाको निष्क्रिय कर्जा २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ।

बेष्ट फाइनान्सको ५ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले ५ लाख बढी कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ । विभिन्न व्यक्तिको नाममा रहेको ५ लाख ३५ हजार ९०९ कित्ता सेयर विक्रीमा रहेको कम्पनीले जनाएको छ । राजेन्द्र प्रसाद ध्वजुको नाममा रहेको ३ लाख ५१ हजार २२ कित्त संस्थापक सेयर विक्रीमा रहेको छ । यसैगरी, इन्द्रलाल श्रेष्ठको नाममा रहेको १ लाख कित्ता, निर्मला कुमारी सुवाल ध्वजुको नाममा रहेको ४३ हजार ६०४ कित्ता, राजेश किरण श्रेष्ठको १२ हजार ८१ कित्ता, सुरश प्रजापतिको ९ हजार २८६ कित्ता, दिनेश बज्रचार्यको १९ हजार ९३४ कित्ता सेयर विक्रीमा रहेको कम्पनीले सूचना मार्फत जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सो सेयरहरु खरिद गर्नका लागि पहिला संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोहि अुनसार ३५ दिन भित्र फाइनान्सको केन्द्रिय कार्यलयमा आवेदन दिन संस्थापक सेयरधनीहरुलाई कम्पनीले आह्वान गरेको सूचनामा उल्लेख छ । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने पनि कम्पनीले स्पष्ट पारेको छ ।

काठमाडौं उपत्यकाको तापक्रम बढ्दो क्रममा, तराइमा हुस्सु र सितलहर

काठमाडौं । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । साथै तराइका धेरै भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी साताभर तराई भेगमा कुहिरो नफाट्ने तथा त्यसपछि क्रमशः त्यो हराउँदै जाने मौसमविद् प्रतिभा मानन्धरले बताए । काठमाडौँ उपत्यकाको तापक्रम पनि क्रमशः वृद्धि हुन थालेको छ । बिहीबार बिहान यहाँकोको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन गरिएकामा आज त्यो ६.१ डिग्री सेल्सियस कायम भएको छ । आज यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस रहने विभागको पूर्वानुमान छ । विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावन छ । त्यसैगरी, आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आगामी २४ घण्टामा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शनिबार बिहान तराईका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

१४ घरपरिवारले मुआब्जा गरेर राेके रेलमार्ग निर्माणको काम

जलेश्वर । स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकिएको छ । अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै बर्दिबास नगरपालिका–१४ का जग्गाधनीले रेलमार्ग निर्माणको काम रोकेका छन् । जनकपुर–बर्दिबास रेल परियोजनाअन्तर्गत बर्दिबास नगरपालिकामा रहने रेल्वे स्टेशन क्षेत्र नजिकको जग्गामा वर्षौँदेखि बसोबास गर्दै आएका १४ घरपरिवारले सीमाङ्कन गरी विवाद समाधान गरेर मुआब्जा वितरण गर्न रेल विभागसँग माग गरेका थिए । तर, विभागले मनोमानी गरेका कारण आफूहरूले विरोध गर्दै कामकाज ठप्प पारेको स्थानीय मालती खनालले बताइन । विभागले लामो समयदेखि ती स्थानमा जग्गाको मुआब्जा विवाद नसुल्झाई हतारमा बोलपत्र प्रक्रिया थालेका कारण स्थानीयले रेल्वेको काममा विरोध गरेपछि कामले गति लिनसकेको छैन । रेल विभागले सीमाङ्कनबिना बोलपत्र आह्वान गरिदिँदा स्थानीयवासीको जग्गा जथाभावी अधिग्रहण गरिएका छन् । एउटै मापदण्डमा परेका जग्गाको मुआब्जा आफूखुसी फरक–फरक दरमा दिइएको छ । कतिलाई समयमै मुआब्जा दिइएको छभने कतिलाई वर्षौँ धाउँदा पनि उपलब्ध नगराउँदा स्थानीय आन्दोलित भएको स्थानीय अगुवा नीरज अधिकारीले बताए । उनले हतारमा बोलपत्र प्रक्रिया थाल्नुले विभागको नियतमा शङ्का उत्पन्न भइरहेको आरोप लगाए । स्टेशन छेउको उक्त जग्गा २०२२ सालमा नापीले नापजाँच गरेको थियो । तर त्यतिबेला लालपुर्जा भने लिन छुटेको थियो । लालपुर्जा लिएको जग्गा २०७८ सालमा नै प्रतिकट्ठा रू ६१ लाखमा मुआब्जा वितरण भइसकेको छ । तर, लालपुर्जा लिन छुटेका १४ परिवारको मुआब्जा प्राविधिक कारणले रोकिएको स्थानीय खड्गबहादुर सिंहले बताए । पूर्ववडाध्यक्ष भरतबहादुर हमालका अनुसार उक्त जग्गालाई मुआब्जा दिनुपर्छ भन्नेमा रेल विभाग प्रष्ट रहेको भए पनि लालपुर्जा नभएका कारण दिन नसकिएको हो । उक्त जग्गामा मुआब्जा दिनुपर्छ भनेर मन्त्रालयमा सिफारिस गरिसकिएको भन्दै सरकारले निर्णय नगरी मुआब्जा दिने अवस्था नभएको रेल विभागलाई उद्धृत गर्दै पूर्ववडाध्यक्ष हमाल बताए । यस सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रवक्ता उपेन्द्र न्यौपानेले सो क्षेत्रका स्थानीयले पनि चलनचल्तीभन्दा कम मुआब्जा दिने निर्णय भएको भन्दै लिन अस्वीकार गरेको बताए । “आफूहरूले जायजेथा छाडेर हिँड्नुपर्ने अवस्था आएको भन्दै अर्को ठाउँमा बसोबास गर्नसक्ने पैसा सरकारले दिनुपर्ने रेल्वेपीडितको भनाइ छ । यसबारे पीडितसँग विभाग र ठेकेदारले पटकपटक वार्ता गरेका थिए । तर, स्थानीयले सीमाङ्कन गरी मुआब्जा नदिएसम्म काम गर्न नदिने अडान राखेपछि ठेकेदारले पनि यी क्षेत्रमा काम अघि बढाएका छैनन्”, सहायक प्रजिअ न्यौपानेले भने । यस सन्दर्भमा जनकपुर रेल्वेका सूचना अधिकारी कमल साहले ऐन, कानुनअनुसार लालपुर्जा नभएको जग्गाको हकमा मुआब्जा दिन नमिल्ने साथै मुआब्जा के र कुन आधारमा दिने भनी नखोलिएका कारण बर्दिबासका १४ घरपरिवारलाई मुआब्जा वितरणमा समस्या उत्पन्न भएको बताए । उनले ती घरपरिवार विगत २० वर्षभन्दा पनि बढी समयदेखि त्यस स्थानमा बस्दै आएका भए पनि उनीहरूसँग जग्गाको लालपुर्जा नभएका कारण विभागले मुआब्जा दिन नसकेको बताए । तर, उनीहरूकै कारण रेल्वेको कामकाज रोकिएपछि सरोकारवाला निकायसँग मिलेर उनीहरूको समस्याबारे मन्त्रालय हुँदै भूमि आयोगसम्म कुरा पुगिसकेको साथै, मन्त्रिपरिषद्ले समेत उनीहरूको समस्यालाई सम्बोधन गर्न निर्णय गरेर उनीहरूलाई मुआब्जा पाउन जग्गाको लिखित प्रमाण (लालपुर्जा वा अन्य जग्गाको स्वामित्व खुल्ने आधार) बनाइदिन आदेश दिइसकेकाले अब चाँडै समस्या समाधान हुने सूचना अधिकारी साहले बताए । उनले चाँडै बर्दिबासका आन्दोलित जग्गाधनीले मुआब्जा पाउने विश्वास पनि व्यक्त गरे ।