यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त
काठमाडौं । यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त भएका छन् । यशोदा फुड्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार बिस्तारका लागि शाहलाई नियुक्त गरेको जनाएको छ । शाहको लामो व्यावसायिक अनुभव छ । उनले यसअगाडि केडिया ग्रुपमा ७ वर्ष र चौधरी ग्रुपमा २४ वर्ष काम गरिसकेका छन् । उत्पादन, इन्जिनियरिङ, प्राजेक्ट मेनेजमेन्ट, सेल्स तथा मार्केटिङमा उनको अनुभव रहेको छ । यशोदा फुड्सका अध्यक्ष चुनप्रसाद पौडेलले शाहको प्रवेशसँगै यशोदाको उत्पादन अन्तर्राष्ट्रिय बजारमा बिस्तार हुने विश्वास व्यक्त गरे । कम्पनीले भारत, अमेरिका, युरोप, अष्ट्रेलियालगायत १५ भन्दा बढी देशमा आफ्नो उत्पादन निर्यात गर्दै आइरहेको छ । कम्पनीले करेन्ट चाउचाउ, चिजबल्स र चिप्सलगायतका खाद्यवस्तु उत्पादन गर्दै आइरहेको छ ।
पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका
पोखरा । पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट । उचित रणनीति, पूर्वाधार विकास, र दीर्घकालीन योजना निर्माण नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको भन्ने टिप्पणी भएको थियो । तथापि, पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै यस क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा महत्वपूर्ण फाइदाहरू लिने विश्वासले पोखराका पर्यटन व्यवसायीमा बेग्लै ऊर्जा थपेको छ । घोषणापश्चात् पोखरालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनाका साथै स्थानीय अर्थतन्त्रमा वृद्धि, रोजगारीका अवसर सिर्जना र पूर्वाधार विकासको गति तीव्रसँगै यसले पर्यटकहरूलाई आकर्षित गर्दै स्थानीय कला, संस्कृति र प्राकृतिक सौन्दर्यको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास सरोकारवाला सबैमा रहेको पाइन्छ । यतिबेला पोखरा महानगरपालिकाले अहिले पोखरा भ्रमण वर्ष २०२५ लाई भव्य रुपमा मनाउने तयारी गरिरहेको छ । महानगरको नीति तथा कार्यक्रममा समेटेको भ्रमण वर्षलाई यही जनवरी महिनाको अन्तिम या फेब्रुअरीमा औपचारिक कार्यक्रम गरेर अघि बढाउने तयारी गरिरहेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । उनले पोखरा भ्रमण वर्षलाई सफल बनाउन विशेष तयारीमा साथ लागिपरेको बताए । ‘पोखरा भ्रमण वर्ष २०२५ हाम्रो महानगरको पर्यटन क्षेत्रको उन्नति र प्रवद्र्धनका लागि कोसेढुङ्गा साबित हुने विश्वाससहित हामीले गृहकार्य थालेका छौँ, सफल बनाउँछौँ,’ प्रमुख आचार्यले भने । उनले नेपालको पर्यटकीय राजधानीका रूपमा रहेको पोखरालाई उत्कृष्ट गन्तव्य बनाउनका लागि विभिन्न पर्यटकीय गतिविधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिएको बताए । ‘पोखराको पर्यटनलाई साँचो अर्थमा नयाँ उचाइमा पुर्याउनका लागि सबै पक्षको समन्वय र दीर्घकालीन दृष्टिकोण अपनाउनु पर्छ,’ आचार्यले भने । उनले मित्रराष्ट्र चीनले आफ्ना नागरिकका लागि नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको र यसले नेपालको पर्यटन प्रवद्र्धनमा ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘यो कदमले नेपाल र चीनबीचको मित्रता अझ सुमधुर बनाउनाका साथै पोखरालगायत नेपालको पर्यटकीय गन्तव्यलाई विश्वव्यापी रूपमा चिनाउने अवसर प्रदान गरेको छ ।’ नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्षका अवसरमा ठमेल र भक्तपुरमा आयोजना गरिएका सांस्कृतिक महोत्सवहरूले नेपालको सांस्कृतिक विविधता, परम्परा र पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । पोखरा महानगरपालिकाका पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीले पोखरा महानगरले वर्ष २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा सफल बनाउन विभिन्न योजना समेटेको बताए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रमुख देशहरूमा नियमित उडान सुरु गर्ने, पर्यटन विविधीकरणका लागि साहसिक पर्यटनसँगै सांस्कृतिक, ग्रामीण र पर्यावरणीय पर्यटनलाई प्राथमिकता दिने तथा स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा आधारित योजनाहरू लागू गरेर उनीहरूको आर्थिक स्थिति सुधार गर्ने उद्देश्य रहेको छ । साथै, डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा पोखराको प्रचार–प्रसार गर्दै पर्यटकलाई अविस्मरणीय अनुभव प्रदान गर्ने ‘लाइफटाइम एक्सपेरियन्स’ दिने नयाँ कार्यक्रमहरू सञ्चालन गरिनेछ । महानगरले यो घोषणापश्चात १५ लाख पर्यटक भित्र्याउने महत्वाकाङ्क्षी योजना अघि सारेको कार्कीले जानकारी दिए । ‘यस योजनामा पर्यटन, पूर्वाधार विकास, वातावरणीय दिगोपन, र सामुदायिक उत्थानलाई प्राथमिकता दिइएको छ,’ कार्कीले भने, ‘निजी क्षेत्रसँग सहकार्य गर्दै वर्षभरि पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य महानगरले राखेको छ ।’ प्रत्येक वडामा कम्तीमा एक पर्यटकीय गन्तव्य विकास गरी तालदेखि ताल, गुफादेखि गुफा, हाइकिङ मार्ग निर्माण गरिनेछ । विशेष परियोजनाहरूअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण, डेभिज फल्समा ग्लास ब्रिज, सेती नदी खोँचमा पर्यटक पूर्वाधारको विकास, फोहोर व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । फेवाताल, सराङकोट, र अन्नपूर्ण परिपथजस्ता गन्तव्यहरूलाई थप प्रवद्र्धन गर्नाका साथै नयाँ पारिस्थितिक पर्यटन पहल, सांस्कृतिक पर्यटन कार्यक्रम र समुदाय–आधारित परियोजनामार्फत पर्यटकलाई विविध अनुभव प्रदान गर्ने प्रयास पनि भइरहेको छ । त्यसैगरी, प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदामा आधारित पर्यटन कार्यक्रम सञ्चालन गर्नाका साथै मुक्तिनाथ प्रवेशद्वार निर्माण, फेवातालमा बाँध निर्माण, कोत्रेमझुवामा बहुउद्देश्यीय प्रवेश पार्क, फेवातालको माथिल्लो भागमा फेवा बीच विकास, रत्न मन्दिरलाई दरबार सङ्ग्रहालयका रूपमा पुनर्निर्माण, हेरिटेज ट्रेल र मेट्रो ट्याक्सी सेवाजस्ता पूर्वाधार विकास योजनाहरू कार्यान्वयन गरिने जनाइएको छ । एसियाली विकास बैङ्क (एडिबी) को आर्थिक सहयोगमा पोखराको पर्यटन विकास र स्थानीय जीविकोपार्जन सुधारका लागि विभिन्न परियोजनाहरु अहिले सञ्चालित रहेको पोखराको पर्यटन सुधार परियोजनाहरुबाट काम सुरुआत भएका छन् । एडिबीबाट सहरी उत्थानशील तथा जीवनयापन सुधार आयोजनाका लागि ३१.७९ मिलियन डलर आर्थिक सहयोग गरेको आयोजनाका म्यानेजर इन्जिनीयर कविता पौडेलले जानकारी दिए । पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले पोखरा महानगरपालिकाले घोषणा तयारी गरेको पोखरा भ्रमण वर्षले पर्यटन क्षेत्रको विकास र पोखराको विश्वव्यापी पहिचानका लागि महत्वपूर्ण अवसरका रूपमा लिन सकिने बताए । उनले हालै मात्र सम्पन्न ड्रागन बोट रेस प्रतियोगिता, सडक महोत्सव, हट एयर बेलुन महोत्सवजस्ता जल, जमिन र आकाश लक्षित महोत्सवहरुले अन्तर्राष्ट्रियजगत्मा पोखरालाई चिनाउन थप सहयोग पुर्याएको बताए । भ्रमण वर्षका लागि पनि साहसिक पर्यटन, ग्रामीण पर्यटन र सांस्कृतिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ । पोखरा महानगर सहरी योजना आयोगका पूर्वउपाध्यक्ष तथा पर्यटन रणनीतिका योजनाकार डा रामचन्द्र लामिछानेले भ्रमण वर्ष घोषणा मात्र नगरी यसको लक्ष्य हासिल हुनेगरी काम गर्नुपर्ने बताउँछन् । ‘पोखरा भ्रमण वर्ष घोषणा गरेर मात्र पर्यटक आउँदैनन्, रणनीतिक योजनासहितका कार्यक्रम र पूर्वाधार विकासमा ध्यान दिनुपर्छ ।’ उनले घोषणलाई व्यवहारमा उतार्नका लागि स्पष्ट रणनीति र दृढ इच्छाशक्ति हुनुपर्ने आवश्यकता औँल्याए । पोखरालाई अन्तर्राष्ट्रियस्तरको गन्तव्यका रूपमा स्थापित गर्न यातायात, होटल, गाइड, सुरक्षा, हस्पिटालिटी र स्थानीय समुदायको सशक्त सहभागिता सुनिश्चित गर्नुपर्छ । पोखराको पर्यटनलाई दिगो र समृद्ध बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता, पर्यावरणीय संरक्षण र उत्कृष्ट पूर्वाधार विकास अनिवार्य हुन्छ । साथै, पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय उडान सञ्जालको प्रवद्र्धन र पर्यटन कार्यक्रमहरूको विविधताजस्ता पक्षहरूलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरुको भनाइ छ । रासस
६ महिनामा भित्रियो पौने १६ अर्बको मोबाइल, सरकारले उठायो ३ अर्ब राजस्व
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा पौने १६ अर्बको मोबाइल भित्रिएको छ । चालु आवको पौष मसान्तसम्म नेपालमा १६ अर्ब ७१ करोड रुपैयाँ बढीको आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार ११ लाख ११ हजार वटा स्मार्टफोन आयात हुँदा ३ अर्ब ११ करोड रुपैयाँ बढीको राजस्व संकलन भएको छ । उक्त्त स्मार्टफोन विभिन्न ५० वटा देशहरूबाट आयात हुने गर्छ । विशेषगरी नेपालमा चीन, भारत, जापान, जर्मनी, युनाइटेड अरब, फ्रान्स र कोरीया जस्ता मुलुकबाट स्मार्टफोन आयात हुने विभागको तथ्यांकले देखाएको छ । सबैभन्दा धेरै चीनबाट स्मार्टफोन आयात हुन्छ । चीनबाट ११ अर्ब ५८ करोड रुपैयाँ बढीको स्मार्टफोन आयात हुँदा २ अर्ब १६ करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ । साथै, दास्रोमा भारतबाट बढी आयात भएको तथ्यांकले देखाएको छ । भारतबाट ४ अर्ब ८२ करोड रुपैयाँ बढीको आयात हुँदा ८९ करोड ९९ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । यस्तै, जापानबाट ४ करोड ७४ लाख रुपैयाँ बढीको स्मार्टफोन आयात हुँदा ८८ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । युनाइटेड अरबबाट ५करोड ८३ लाख रुपैयाँ बढीको आयात हुँदा १ करोड ७ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । त्यसैगरी अस्ट्रेलियाबाट २ करोड ८९ लाख रुपैयाँ बढीको स्मार्टफोन आयात हुँदा ५४ लाख १९ हजार रुपैयाँ बढीे राजस्व संकलन भएको विभागले जनाएको छ ।
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताएका छन् । पाल्पाको तिनाउ गाउँपालिकाको दोभानस्थित प्रशासकीय भवनको ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्वसहमतिबमोजिम अघि बढ्ने उनले स्पष्ट पारे । | प्रधानमन्त्री ओलीले कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्ने प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको उल्लेख गर्दै नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी कामना गरे । पाल्पाको विकास निर्माणको मार्गलाई अझ तीव्र रुपमा अगाडि बढाउन उनले आग्रह गरे । केही व्यक्तिले विकासका कामलाई सुन्न नचाहेर विकास विरोधी कुरा गरिरहे पनि त्यस्ता कुराको अर्थ नहुने प्रधानमन्त्री ओलीले स्पष्ट पारे । रासस
मेटलाइफ र इयर केयर नेपालबीच सम्झौता, स्कूल इयर हेल्थ कार्यक्रम सञ्चालन गरिने
काठमाडौं । मेटलाइफ नेपालले इयर केयर नेपालसँग मिलेर काठमाडौं, भक्तपुर र ललितपुरका सरकारी विद्यालयका २ हजार ४०० विद्यार्थीहरूलाई लक्षित गर्दै १० हप्ताको ‘स्कूल इयर हेल्थ कार्यक्रम’ गर्ने भएको छ । यस कार्यक्रम अर्न्तगत सामुदायिक विद्यालय जाने बालबालिकामा कान सम्बन्धी समस्याको पहिचान, रोकथाम र सचेतना बढाउने उद्देश्य रहेको मेट लाइफले जानकारी दिएको छ । इयर केयर नेपालका विशेषज्ञहरूले ८ देखि १० विद्यालयहरूमा बालबालिकाको कान परीक्षण गर्नेछन् । पोर्टेबल अडियोग्राम मेशिनद्वारा श्रवण परीक्षण गरिने र सामान्य समस्याको उपचार तुरुन्तै हुने जनाएको छ । जटिल केसहरूलाई भने थप उपचारका लागि सिफारिस गरिने र विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई कानको स्वास्थ्यबारे जानकारी दिने विशेष सामग्री मार्फत् श्रवण स्वास्थ्य शिक्षा प्रदान गरिनेछ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘हामी यस महत्त्वपूर्ण पहलमा इयर केयर नेपालसँग साझेदारी गर्न पाउँदा गर्व गर्छौं । यस कार्यक्रमले कान र श्रवणलाई गम्भीर रूपमा सम्बोधन गरेर बालबालिकाको स्वास्थ्य र कल्याणमा सुधार गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ । स्वास्थ्य समस्याहरू नियन्त्रण गर्दै, हामीले दिगो प्रभाव सिर्जना गर्न सक्छौं र हाम्रो समुदायको लागि स्वस्थ भविष्य बनाउन मद्दत गर्न सक्छौं ।’
नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गरेका छन् । मन्त्रालयमा मन्त्री भण्डारी र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीबीच आज भएको शिष्टाचार भेटका क्रममा सबै मुलुकसँग नेपालले व्यावसायिक सहकार्यलाई बढावा दिन चाहेकाले पाकिस्तान सरकारलाई पनि उनले सो आग्रह गरेका हुन् । नेपालको सङ्घीय संसदले नेपाल–पाकिस्तान संसदीय मैत्री समूह गठन गरेको विषय जानकारी गराउँदै मन्त्री भण्डारीले यस संसदीय आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, ‘हामीले दुई राष्ट्रबीच अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोग र विदेश सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको स्थापना गरेका छौं, हामीले यी संयन्त्रमार्फत सम्वाद र सम्पर्क जारी राख्नु आवश्यक छ, अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोगको सातौँ बैठक र विदेश सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको पाँचौँ बैठक नेपालमा आयोजना हुने भएको छ ।’ नेपाल र पाकिस्तान निकट छिमेकी भए पनि सोचेजस्तो द्विपक्षीय व्यापार हुन नसकिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले व्यापार र आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक रहेको बताए । नेपाल र पाकिस्तानबीचको व्यापार तथा आर्थिक अन्तरनिर्भरता बढाउनका लागि दुवै देशको व्यापार सहजीकरण गर्ने र ‘लजिस्टिक’ चुनौतीलाई सम्बोधन गर्नेतर्फ संयुक्त रुपमा थप प्रयास गर्नुपर्ने उनको भनाइ थियो । ‘हामीले वर्तमान आर्थिक वास्तविकता प्रतिबिम्बित गर्न र व्यापार सहजीकरण बढाउन नयाँ सम्झौता बनाउने वा यसलाई पुनरावलोकन गर्ने समय आएको छ, दुई देशबीचको विद्यमान व्यापार घाटालाई सम्बोधन गर्न हामी नेपालका विभिन्न क्षेत्रमा पाकिस्तानी लगानीलाई प्रोत्साहित गर्न चाहन्छौं’, उनले भने, ‘जसमा कपडा र पर्यटन आदि समावेश छन् ।’ उनले नेपाली वस्तुहरूले पाकिस्तानमा नियामक चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै नेपाली वस्तुहरुलाई पाकिस्तानमा आयात प्रक्रिया सरल बनाउन र प्रमुख नेपाली निर्यातमा भन्सार शुल्क घटाउन विशेष अनुरोध गर्न चाहन्छु । लगानी, पर्यटन, संस्कृति र जनता–जनताबिचको सम्बन्धलगायत पारस्परिक लाभका लागि दुवै देशले मिलेर काम गर्नसक्ने धेरै क्षेत्र रहेका उनले उल्लेख गरे । उनले कृषि र पर्यटन सम्बन्धी संयुक्त कार्य समूहहरूको नियमित बैठकहरू आयोजना गर्ने कुरालाई प्राथमिकता दिनु आवश्यक रहेकामा जोड दिए । साथै मन्त्री भण्डारीले नेपालले जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना प्रविधि आदि क्षेत्रमा लगानी गर्न पाकिस्तानी लगानीकर्तालाई आग्रहसमेत गरे । उनले भने, ‘नेपालले पाकिस्तानी पर्यटकहरूका विशेष आकर्षक पर्यटकीय सेवाहरु उपलब्ध गराउँछ, हामीलाई विश्वास छ कि नेपालको प्राकृतिक, पुरातात्विक र सांस्कृतिक सम्पदाले पाकिस्तानका मानिसलाई बढी सङ्ख्यामा नेपाल भ्रमण गर्न आकर्षित गर्नेछन् ।’ पाकिस्तानी राजदूत हश्मीले पाकिस्तान सरकारले नेपालमा व्यावसायिक गतिविधि बढाउन चाहेको बताए । उनले नेपालको चिया तथा कफि पाकिस्तानमा राम्रै परिणाममा निर्यात भइरहेको उल्लेख गर्दै ब्राण्डिङ र गुणस्तर सुधार गरिए निर्यात वृद्धि हुने जानकारी गराए । हामीले दुई देशबीच व्यापारिक गतिविधि बढाउन दोहोरो करको समस्या रहेकाले त्यसको समाधान गर्नुपर्नेमा जोड दिए । यस वर्ष ३२ जना विद्यार्थीले पाकिस्तानमा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको जानकारी गराउँदै उनले छात्रवृत्ति रकम वृद्धि गराउन सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए । उनले नेपालको सगरमाथा र पाकिस्तानको केटु हिमालसम्म जोड्न पर्यटकीय मार्ग बनाउनुपर्नेमा जोड दिए । साथै उनले काठमाडौं–लाहोर नियमित सिधा हवाई उडानका लागि पहल थाल्ने प्रतिबद्धता जनाए ।
स्याम्पु किन्न बाहिरियो ६५ करोड रुपैयाँ, ३७ वटा देशबाट आयात
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६५ करोड रुपैयाँ बढीको स्याम्पु आयात भएको छ । चालु आवको पौष मसान्तसम्म ६५ करोड २१ लाख रुपैयाँ बढीको स्याम्पु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएकाे छ । विभागका अनुसार उक्त स्याम्पु आयात हुँदा ३८ करोड ६ लाख रुपैयाँ बढीको राजस्व संकलन भएको छ । नेपालमा ३७ वटा मुलुकबाट विभिन्न प्रकारका स्याम्पु आयात हुने गरेको छ । विषेशगरी अस्ट्रेलिया, चीन, जापान, जर्मनी र भारतबाट स्याम्पु आयात हुने तथ्यांकले देखाएको छ ।
विश्वकै सबैभन्दा ठूलो डेटा सेन्टर बनाउँदै मुकेश अम्बानी
काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले विश्वको सबैभन्दा ठूलो डाटा सेन्टर बनाउने तयारी गरिरहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्लूमबर्गको रिपोर्टअनुसार रिलायन्स इन्डस्ट्रिजको यो महत्त्वाकांक्षी परियोजना गुजरातको जामनगरमा निर्माण हुनेछ । यससँगै रिलायन्स कृत्रिम बाैद्धिकता (एआई) क्षेत्रमा प्रवेश गर्न लागेको छ । रिपोर्टका अनुसार अम्बानीले एआई प्रविधिमा विश्व अग्रणी एनभीडीयाबाट सेमिकन्डक्टर किन्दैछन् । अडानीको पहिला नै प्रवेश अडानी समूह भने पहिले नै यस क्षेत्रमा प्रवेश गरिसकेको छ । अडानी इन्टरप्राइजेजले अमेरिकी कम्पनी एजकोनेक्ससँग संयुक्त उद्यम स्थापना गरेको छ । यसको नाम अडानीकनेक्स राखिएको छ, जसले भारतमा हाइपरस्केल डेटा सेन्टरहरूको नेटवर्क निर्माण गर्ने योजना बनाएको छ । सन् २०२४ को अक्टोबरमा भएको एनभीडीया एआई शिखर सम्मेलनको क्रममा रिलायन्स र एनभीडीयाले भारतमा एआई पूर्वाधार निर्माण गर्न मिलेर काम गर्ने घोषणा गरेका थिए । त्यतिबेला एनभीडीयाले रिलायन्सले निर्माण गरिरहेको एक गिगावाट डेटा सेन्टरको लागि आफ्नो ब्ल्याकवेल एआई प्रोसेसरहरू आपूर्ति गर्ने बताएको थियो । त्यसपछि जेनसेन हुआङले अम्बानीसँगको कुराकानीमा भारतले आफ्नै एआई विकास गर्नुपर्छ भनेका थिए । भारतमा राम्रो डिजिटल कनेक्टिभिटी पूर्वाधार अमेरिका र चीनपछि भारतसँग सबैभन्दा राम्रो डिजिटल कनेक्टिभिटी पूर्वाधार छ । गत वर्ष सेप्टेम्बरमा रिलायन्स इन्डस्ट्रिज र एनभीडीयाले भारतमा एआई सुपर कम्प्युटरहरू विकास गर्न र देशका विभिन्न भाषाहरूमा ठूला भाषा मोडेलहरू निर्माण गर्न साझेदारीको घोषणा गरेका थिए । पछि एनभीडीयाले पनि टाटा समूहसँग यस्तै साझेदारी गरेको थियो । भारतमा एआई भारत सरकारले स्टार्टअप, एआई परियोजना र एलएलएमको विकासका लागि १० हजार करोड रुपैयाँभन्दा बढी लगानी गर्ने वाचा पनि गरेको छ । यद्यपि यसमा धेरै चुनौतीहरू छन् । भारतको चिपमेकिङ उद्योग अझै पनि प्रारम्भिक चरणमा छ । सेमिकन्डक्टर निर्माण सुविधाहरू (फ्याब्स) स्थापना गर्दा पूँजीगत खर्च बढी हुन्छ र यसलाई साकार पार्न धेरै समय लाग्छ । यी फ्याबहरू सञ्चालन गर्न विशेषज्ञ कर्मचारीहरूको पनि आवश्यक पर्दछ । भारत हाल यो प्रक्रिया विकास गर्नमा संलग्न छ । यद्यपि भारतमा अझै चिप उत्पादन गरिएको छैन ।