विकासन्युज

नेपालले बेच्यो ९ करोडको अचार, अस्ट्रेलियादेखि जापानसम्म निर्यात

काठमाडौं । नेपालको अचार अस्ट्रेलियादेखि जापानसम्म निर्यात भएको छ । चालु आर्थिक वर्षको पौष मसान्तसम्म विदेशमा ९ करोड रुपैयाँ बढीको अचार नेपालले बेचेको भन्सार विभागको तथ्यांकले जनाएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालबाट ९ करोड रुपैयाँ बढीको अचार निर्यात भएको छ । ६ महिनाको अवधिमा नेपालबाट १ लाख १३ हजार ३३७ किलो अचार निर्यात हुँदा ९ करोड ८५ लाख ८१ हजार रुपैयाँ आम्दानी भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार नेपालबाट १० वटा विदेशी मुलुकमा अचार निर्यात भएको छ । नेपालबाट विशेषगरी अस्ट्रेलिया, बेलजियम, क्यानडा, डेनमार्क, इटली, जापान, कोरीया, मलेसिया, युनाइटेड किङडम र युनाइटेड स्टेड जस्ता मुलुकमा अचार निर्यात हुने गरेको छ । साथै, सबैभन्दा धेरै अचार निर्यात अस्ट्रेलियामा हुन्छ । अस्ट्रेलियामा ३६ हजार किलो अचार निर्यात हुँदा ३ करोड ७ लाख रुपैयाँ आम्दानी हुन्छ । त्यसैगरी बेलजियममा ६४ लाख ८६ हजार रुपैयाँको अचार निर्यात हुन्छ । क्यानडामा ४० लाख ८८ हजार, डेनमार्कमा १६ लाख ९६ हजार, इटलीमा १ करोड ६४ लाख, जापानमा ६९ लाख ४६ हजार, कोरियामा ७६ लाख ९८ हजार, मलेसियामा १९ लाख २९ हजार, युनाइटेड किङडममा २० लाख ८ हजार र युनाइटेड स्टेडमा २ करोड ५ लाख रुपैयाँ बढीको अचार निर्यात हुने गरेको हो ।

अमेरिकी ट्यारिफले विश्वभर तनाव, आर्थिक परिवर्तनदेखि कूटनीति र सुरक्षासम्म असर

काठमाडौं । छिमेकी मुलुक चीन पछिल्लो दुई दशकदेखि विश्वको कारखाना बनेको छ । विश्वभरका बजारहरू चीनमा बनेका सामानहरूले भरिएका छन् । तर दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पको एउटा भनाइले चीनलाई तनाव दिएको छ । ट्रम्पले विश्वभरका व्यापारिक नेताहरूलाई अमेरिकामा सामान उत्पादन गर्न आमन्त्रित गरेका छन् । ट्रम्पले यदि उनीहरूले त्यसो गरेनन् र विदेशमा आफ्ना उत्पादनहरू उत्पादन गरे भने उनीहरूले अमेरिकामा शुल्कको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । राष्ट्रपति बनेसँगै ट्रम्पले मेक्सिको, क्यानडा र चीनबाट आउने सामानहरूमा कर लगाउने घोषणा गरेका थिए । उनले चिनियाँ सामानहरूमा ६० प्रतिशतभन्दा बढी कर लगाउने कुरा पनि गरेका छन् । स्वीट्जरल्याण्डको डाभोसमा भिडियो कन्फरेन्सिङमार्फत् विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै ट्रम्पले कच्चा तेलको मूल्य, ब्याजदर र कर घटाउन चाहेको बताए । उनले युक्रेन र रुसबीच लगभग तीन वर्षदेखि चलिरहेको लडाइँ अन्त्य गर्न चाँडै नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न चाहेको पनि उल्लेख गरे । कच्चा तेलमा गिरावट ट्रम्पले भनेका छन्, ‘म ब्याजदर तुरुन्तै घटाउन माग गर्दछु । विश्वभरि यसमा कमी आउनुपर्छ । म साउदी अरेबिया र ओपेकलाई पनि तेलको मूल्य घटाउन आग्रह गर्नेछु ।’ उनको यो बयान यस्तो समयमा आएको छ जब बजारहरू आयातित सामानहरूमा व्यापक कर लगाउने उनको योजनाको बारेमा चिन्तित छन् । ट्रम्पको बयान आउनेबित्तिकै कच्चा तेलको मूल्य घटेको छ भने युरोमा पनि गिरावट देखिएको छ । ट्रम्पले क्यानडा र युरोपेली संघको आयात नीतिको आलोचना पनि गरे । उनले भने कि यी नीतिहरूका कारण अमेरिकाले घाटा बेहोरिरहेको छ । उनले भनेका छन्, ‘हामी अन्य देशहरूबाट सम्मान चाहन्छौं । क्यानडासँग हाम्रो ठूलो घाटा छ । हामी यो खर्च धान्न सक्दैनौं ।’ यता उद्योगविज्ञहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि ट्यारिफ लगाउने धम्की कार्यान्वयन गरेको खण्डमा इन्धनको मूल्य बढ्न सक्ने आशंका गरेका छन् । ट्रम्पले भन्सार, नियमन र कर कटौतीका साथै अवैध आप्रवासनको बारेमा पनि कुरा गरे । उनले अमेरिकालाई एआई, क्रिप्टोकरेन्सी र जीवाश्म इन्धनको हब बनाउने प्रतिबद्धता जनाउँदै मुद्रास्फीति घटाउने वाचा पनि गरे । चीनले पनि विशेष कदम चाल्न सक्ने ट्रम्पको बयानले चीनको समस्या बढाएको छ । चीन र अमेरिकाबीच विगत केही वर्षदेखि व्यापार युद्ध चलिरहेको छ । अमेरिकासँग चीनको व्यापार अधिशेष १ ट्रिलियन डलरको नजिक पुगेको छ । यसबाट तपाईं अनुमान लगाउन सक्नुहुन्छ कि अमेरिकी बजार चीनको लागि कति महत्त्वपूर्ण छ । ट्रम्प यो अवस्था परिवर्तन गर्न चाहन्छन् । चिनियाँ सरकारले अमेरिकी व्यवसायलाई लक्षित गर्न थप उपायहरू अपनाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यी कदमहरू आर्थिक परिवर्तनदेखि कूटनीति र सुरक्षासम्मको विषयसम्म पुग्न सक्ने जानकारहरू बताउँछन् । यसबाहेक अमेरिकी र चिनियाँ सम्बन्धमा अझ टकरावपूर्ण अवस्था आएमा चीनमा बढ्दो राष्ट्रवादका कारण जनताले विदेशी ब्रान्डहरूलाई बहिष्कार गर्न सक्छन् । अमेरिकाको ऋण ३६ ट्रिलियन डलर पुगेको छ र यदि चाँडै केही कदम नचालिएमा देशको अर्थतन्त्र धराशायी हुनक्छ । ट्रम्पको ट्यारिफ योजनाले आगामी १० वर्षमा अमेरिकी कोषमा लगभग ३.३ ट्रिलियन डलर ल्याउने विश्वास गरिएको छ । विशेषज्ञकाे चेतावनी विज्ञहरूले अमेरिकी प्रशासनलाई ट्रम्पले विभिन्न कर लगाउने चेतावनी दिइसकेका छन् । उनीहरूले ट्रम्पले कर लगाउने घोषणा गर्नासाथ चेतावनी दिएका हुन् । यस्तो आयात करले आर्थिक वृद्धिमा मात्रै नभई मुद्रास्फीति पनि बढाउने विज्ञहरूको भनाइ छ । विज्ञहरूका अनुसार ट्यारिफले अमेरिकी कम्पनीहरूलाई अन्य आपूर्तिको स्रोत खोज्न बाध्य पार्नुका साथै अमेरिकी उपभोक्ताहरूलाई उच्च मूल्य तिर्नुपर्ने स्थिति सिर्जना गर्नेछ र धेरै विशेषज्ञका अनुसार रोजगार गुम्ने सम्भावना पनि बढाउनेछ । कर नीतिमा कठोर बने ट्रम्प, कुन देशलाई कति लगाउँदैछन् भन्सार शुल्क ? ट्रम्पले क्यानडामाथि ट्यारिफ लगाए इन्धनको मूल्य बढ्ने आशंका

प्रधानमन्त्री सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रुमा नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पा जिल्लाको सिद्धबाबा सुरुङमार्गको अन्तिम ब्रेक थ्रुमा सहभागी नहुने भएका छन् । अस्वस्थ भएपछि पाल्पा र रुपन्देहीमा तय भएका पूर्वनिर्धारित कार्यक्रममा उनी सहभागी नहुने भएका हुन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अनुकूल नरहेको र डाक्टरको सिफारिस अनुसार उनले उक्त कार्यक्रमहरूमा भौतिक उपस्थिति रद्द गरेका हुन् । कार्यक्रमहरूमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलले प्रधानमन्त्रीको प्रतिनिधित्व गर्ने भएका छन् । प्रधानमन्त्री ओली भने ब्रेकथ्रु कार्यक्रममा भर्चुअल माध्यमबाट सहभागी हुनेछन् । गत मंगलबार बेलुकादेखि अस्वस्थ रहेका प्रधानमन्त्री ओलीको घाँटीमा समस्या देखिएको र स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला एक लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६० हजार छ सय रुपैयाँमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको चाँदी आज प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा किनबेच हुनेछ ।

चितवन महोत्सवमा स्काईवेलका पाँच इभी बिक्री, पायो बेस्ट स्टल अवार्ड

काठमाडौं । चितवन महोत्सब २०८१ मा प्रिमियम ब्राण्ड स्काईवेलका ५ वटा प्रिमियम ईभी बिक्री भएको छ । हालै सम्पन्न महोत्वसमा स्काईवेलको एक करोड १५ लाख मूल्यमाथिका नेपालकै सर्वाधिक रेन्ज (६२० कलोमिटर) प्रिमिय ईटी५ को बिक्री भएको कम्पनीले दाबी गरेको छ । स्काईवेलका लागि नेपालको आधिकारिक बिक्रेता जि मोटर्स प्रा.लि. रहेको छ । कम्पनीले महोत्सवका अवसरमा ५ वटा ईटी५ डेलभरी भएको र थप बुकिङ समेत भएको कम्पनीका बिजनेस हेड युग प्रसाद रिमालले जानकारी दिए ।   त्यसो त चितवन महोत्सब २०८१ को अवसरमा स्काईवेल अटोको तर्फबाट जि मोटर्सले बेस्ट स्टल अवार्ड समेत प्राप्त गर्न सफल भएको छ । यो सफलता र उपभोक्ताहरुको माया कम्पनी थप उत्साहित भएको जनाएको छ । यसै अवसरमा कम्पनीले अब छिट्टै ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै चितवनमा समेत आफ्नो सेल्स शोरुम सर्विससहितको पूर्ण सुविधा उपालब्ध गराउने प्रतिवद्धता जनाएको छ । चितवन महोत्सब २०८१ मा उपलब्ध ईभीमा स्काईवेलकै प्रिमियम र लङ्ग रेन्ज रोज्नुको कारण गाडीमा नेपालको बाटो सुहाउँदो १९७ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स हुनु र सबैभन्दा बढी रेन्ज दिनुनै रहेको जि मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए । थप स्काईवेलका सवारी युरोपियन बजारमा समेत निकै अब्बल सावित भएको र राम्रो बिक्री वितरण भइरहेकाले पनि सबैको ध्यान तानेको उनले बताए ।

बाजेसँगै एमडीआरटी, अभिकर्ताबाट डीसीईओ

काठमाडौं । बाल्यकालमा दाङको फाँटहरुमा क्रिकेट खेलेको स्मृतिराज कँडेलको ‘स्मृति’ अझै पनि ताजै छ । साथीहरुसँग खेल जित्नैका लागि हानेका लामा-लामा छक्काहरु उनलाई हिजोजस्तै लाग्छन् । तर, समय न हो, आफ्नो चालमा चल्नैपर्छ । जीवनका आरोह, अवरोह र उतार–चढावहरुलाई झल्नै पर्छ । जसरी उनले साथीहरुसँगै क्रिकेट खेल्दा छक्का प्रहार गर्थे, त्यही किसिमको छक्का उनले बीमा क्षेत्रमा पनि प्रहार गरे । एउटा अभिकर्ता पनि बीमा कम्पनीको उच्च व्यवस्थापनमा पुग्न सक्छ भन्ने उदाहरण पस्किए । र, त अहिले उनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर काम गरिरहेका छन् । यो पदमा पुग्न उनलाई पक्कै सहज भएन । तर, निरन्तरको मिहिनेत, लगाव र झुकावले त्यसलाई सम्भव तुल्यायो । वि.सं २०३५ सालमा ललितपुरमा जन्मिएका कँडेलको बाल्यकाल पश्चिम नेपालकोे दाङ जिल्लामा बित्यो । वि.सं २०५१ सालमा दाङबाटै एसएलसी पास गरे । कक्षा १२ सम्मको अध्ययन दाङमै पुरा गरेका उनी वि.सं २०५३ सालमा स्नातक तहको अध्ययनका लागि काठमाडौं प्रवेश गरे । पिपुल्स कलेजमा भर्ना भए । वि.सं २०५७ सालमा सोही कलेजबाट बीबीएस पास गरे । उनले बीबीएस पढ्नुको कहानी पनि रोचक छ । उनका बुबा व्यवसायी । व्यावसायिक पृष्ठभूमिमै हुुर्किएको कारण उनी पनि व्यवसायी नै बन्न चाहन्थे । उनका बुबा (हरीराज कँडेल)ले त्यतिखेर हार्डवेयरको व्यापार गर्थे । दाङमै साल्ट ट्रेडिङको डिलर पनि सञ्चालन गरेका थिए । बुबा पनि व्यवसायी भएकोले आफूपनि व्यवसायी बन्ने इच्छाले नै व्यवस्थापन पढेको उनी सुनाउँछन् । ‘बीबीएस पास गरेर आफ्नै बुबाको व्यापार सम्हाल्छु, सोही व्यापारलाई विस्तार गर्छु भन्ने योजना थियो । तर, सम्भव भएन,’ विगत स्मरण गर्दै स्मृतिले भने । त्यसपछि मोडियो बाटो उनले वि.सं २०५७ सालमा बीबीएसको पढाइ सकाए । उनका हजुरबुबा (नन्दराज कँडेल) भारतमा लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको काम गर्थे । उनले बीबीएसको पढाइ सकाउने समयमा नै नेपाललमा एलआईसी भित्रियो । उनको बुबा पनि उनलाई हजुरबुबाजस्तै बीमा क्षेत्रमै काम गरुन् भन्ने चाहन्थे । बीबीएस पढेका स्मृतिराजलाई अभिकर्ता बनाउन उनको बुबाले भूमिका खेले । र, उनले सुरु गरे लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालमा अभिकर्ताको काम । बुबाको जोडबलले नै उनले तत्कालीन बीमा समितिबाट तालिम लिएर अभिकर्ताको लाइसेन्स प्राप्त गरे । तालिम लिनु र अभिकर्ता बन्नुजस्तो सजिलो थिएन र छैन ग्राहक बनाउने काम । बाल्यकाल दाङमा बिताएका उनलाई काठमाडौंमा ग्राहक बनाउन गाह्रो भयो । ‘भर्खर स्नातकको पढाइ सकेको थिएँ, साथी र आफन्तबाहेक काठमाडौंमा चिनेजानेको कोही थिएनन्, काठमाडौंमा ग्राहक बनाउन सकिएन,’ उनले त्यतिखरेको निराशा सुनाउँदै भने । स्मृतिराजले अब आफ्नो बुबाको सम्बन्धलाई सदुपयोग गर्न चाहे । बुबाको सम्बन्धलाई आफ्नो प्रोफेसनसँग जोड्ने सुनौलो अवसर ठाने उनले । उनको बुबाले पनि दाङमै आएर अभिकर्ताको काम गर्न सल्लाह दिए । सोही अनुसार उनी पनि दाङ फर्किए । वि.सं २०५८ साल माघमा पहिलो बीमा पोलिसी बिक्री गरेको उनको मानसपटलमा अझै ताजै छ । त्यतिखेर बीमाको बजार पनि अहिलेको जस्तो थिएन । बीमा ठगी हो भन्ने गलत बुझाइ मानिसमा थियो । ग्राहक बनाएर बीमा पोलिसी बिक्री गर्नु अभिकर्ताका लागि ठूलो सफलता हात पारेजस्ते हुन्थ्यो । अभिकर्ता हुँदाका सुरुवाती दिनहरु स्मरण गर्दै उनी सुनाउँछन्, ‘बीमा पोलिसी बेच्नका लागि बुबाले चिनेजानेका मानिसहरूलाई छोरा एजेन्ट भएको जानकारी दिँदै बीमा गर्नका लागि आग्रह गर्नुहुन्थ्यो, बुबाले आग्रह गरेका मानिसहरु मलाई भेट आउनुहुन्थ्यो, मैले बीमाको बारेमा बुझाएपछि उहाँहरु कन्भिन्स भएर बीमा गर्नुहुन्थ्यो । कतिपय त्यतिकै फर्किनु हुन्थ्यो ।’ बीबीएस अध्ययन गरेको, बीमासम्बन्धी पढेको र बीमा प्राधिकरणबाट तालिम लिएकै कारण पनि उनलाई बीमाको महत्व र आवश्यकता बुझाउन गाह्रो हुन्थेन । उनले विस्तारै बीमा पोलिसी बिक्री गर्दै गए । बुबाको सम्बन्धबाट फाट्टफुट्ट पोलिसी बिक्री भए पनि उनी सन्तुष्ट भने भएनन् । बीमाबारे मान्छेमा रहेको भ्रमले उनलाई आजित बनाइरहेको थियो । तर, उनी निरन्तर लागिरहे, आफ्नो काम गरिरहे । भुल्नै नसकिने ‘टर्निङ प्वाइन्ट’ कलेज जीवनले उनलाई जिस्क्याइरहेको थियो । काठमाडौंमा बीबीएस पढ्दाका क्षणहरु उनको मानसपटलमा छचल्किँदै दिए । साथीहरु काठमाडौंमा थिए । रमाउने उमेर थियो । आफू भने बीमाको एजेन्ट भएर काम गरिरहेको । स्मृतिको मनले काठमाडौं फर्क भन्ने संकेत गरिरहेको थियो । उनी आफैं पनि बीमाको अभिकर्ता भएर काम गरिरहेकोमा सन्तुष्ट थिएनन् । मनमा चाँडै काठमाडौं फर्किने हतारो थियोे उनलाई । उनी दाङमा थिए, दिल काठमाडौंमा । त्यस बेलासम्म पनि उनीमा बीमाकै कामलाई निरन्तरता दिन्छु भन्ने सोचेका थिएन । तर, जीवन न हो, भोलि कसले देखेको छ । आज एउटा सोचेको कुरा भोलि अर्कै बनिदिँदो रहेछ । स्मृतिराज कँडेलको जीवनमा पनि त्यस्तै भयो । उनको जीवनमा एउटा ‘टर्निङ प्वाइन्ट’ आइपुग्यो । उनलाई स्कूलमा पढाएका शिक्षकहरूले मिलेर बोर्डिङ स्कुल खोलेका थिए । कँडेलले बीमा एजेन्टको काम गर्ने कुरा सुनेपछि एक जना शिक्षकले उनलाई बीमाको विषयमा जानकारी दिन भन्दै स्कूलमै बोलाए । उनी त्यो स्कूलमै पुगेर उनीहरुलाई बीमाको विषयमा जानकारी गराए । बीमाको आवश्यकता, महत्व र यसको फाइदाको विषयमा लामो प्रस्तुति दिए । उनको त्यो प्रस्तुतिपछि १७ जना शिक्षकले नै बीमा गर्ने निर्णय गरे । उनले एकैदिन १७ वटा बीमा पोलिसी बिक्री गरे । कँडेल यसलाई आफ्नो जीवनको ‘टर्निङ प्वाइन्ट’ सम्झिन्छन् । एकैपटक १७ वटा पोलिसी बिक्री गरेपछि बीमाबाट पनि राम्रो आम्दानी गर्न सकिने क्षेत्र रहेछ भन्ने आत्मविश्वास उनमा जाग्यो । अब उनको मनमा बीमा क्षेत्रलाई नै निरन्तरता दिने सोच पलाउन थाल्यो । उनलाई थप काम गर्ने हुटहुटी जाग्यो । दिनरात अभिकर्ताको काममै खट्न थाले । काम गर्दै जाँदा बीमामै रमाउन थाले उनी । उनको ठूलो मिहिनेतले नेपालबाट एकै वर्षमा मिलियन डलर राउण्ड टेबुल (एमडीआरटी) बन्न सफल भए । उनी एमडीआरटी बन्दा २ वटा संयोग भयो । उनी नेपालको पहिलो एमडीआरटी मध्येमा पर्न सफल भए । र, अर्को उनी आफ्नो हजुरबुबासँगै एमडीआरटी बने । नेपालबाट स्मृति एमडीआरटी बन्दा उनका हजुरबुबा पनि भारतबाट सोही सिजनमा एमडीआरटी बनेका थिए । अर्थात् नाति र हजुरबुबा सँगै एमडीआरटी बने । नेपालमा एमडीआरटीको अवधारणा एलआईसीले नै ल्याएको हो । त्यतिबेला एमडीआरटी बन्नका लागि एक वर्षमा १० लाख रुपैयाँको पोलिसी बिक्री गर्नुपर्थ्याे । उनले त्यसलाई सम्भव तुल्याए । एमडीआरटी बनेका १३ जनालाई एलआईसी नेपालले नगरकोटमा ‘एमडीआरटी मिट’ राखेको थियो । एमडीआरटी बनेपछि छुट्टै सान र मान पाएको महसुस कँडेलले गरे । उनी त्यसबेला २४ वर्षका थिए । त्यो उमेरमा नै कम्पनीले दिएको सम्मान देख्दा उनको मनमा लाग्यो, ‘यो पेशा त गज्जबकै रहेछ, अब मैले यो काम छोड्नु हुँदैन ।’ अभिकर्ता हुँदै शाखा प्रमुख उनले अभिकर्ताको रुपमा कम्पनीलाई राम्रै बिजनेस दिइरहेका थिए । त्यतिखेर एलआईसी नेपालले देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै थियो । उनी एमडीआरटी भएपछि कम्पनीमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा एसके सकुजा आए । उनलाई एक दिन सीईओ सकुजाले बोलाएर हिन्दीमा भने, ‘नोकरी करेगा ?’ स्मृतिले जवाफ दिए, ‘गर्दिनँ ।’ सीईओले गरेको त्यो अफर उनले इन्कार गरे । तर, घरमा भने जागिरको अफर आएको सुनाए । स्मृतिका बुबा हरिराजले पनि आफ्नो बुबा अर्थात कँडेलको हजुरबुबा नन्दराजलाई सोधे । हजुरबुबा नन्दाराजले एलआईसीमा जागिर पाउँछ भने गर्नुपर्छ भन्ने सल्लाह दिए । हजुरबुबाको सल्लाहअनुसार कँडेलले फेरि सीईओ सकुजालाई भेटे र आफू जागिर गर्न तयार रहेको सुनाए । सकुजाले अन्तर्वार्ताको लागि मिति तोकेर कँडेललाई बोलाए । उनलाई अन्तर्वार्ताबारे खासै ज्ञान थिएन । के सोध्छन् होला, कस्तो प्रश्न सोध्छन् होला भन्ने कौतुहल्ता बढ्यो । तर, उनको त्यो भाव बुझ्दै सीईओ सकुजाले भने, ‘कामको बारेमा सोध्ने हो, आत्तिनु पर्दैन ।’ उनी अन्तर्वार्तामा पास भए । वि.सं २०५९ सालमा उनले बुटवल शाखाको शाखा प्रमुखको रुपमा जागिर सुरु गरे । उनले साढे ७ वर्षमा सो क्षेत्रमा एलआईसी नेपाललाई मजबुत बनाए । धेरै एजेन्ट बनाए, त्यस क्षेत्रका बासिन्दालाई बीमा गर्नुपर्छ भन्ने चेतना फैलाए । कम्पनीले पनि सो क्षेत्रबाट राम्रो व्यापार गर्यो । उनको आत्मविश्वास थप बढ्दै गयो । बुटवलमा काम गरेको साढे ७ वर्षपछि कँडेल नारायणघाट शाखामा सरुवा भए । ४ वर्षमा नारायणघाट शाखालाई पनि एउटा लेबलमा पुर्याएको कँडेल सुनाउँछन् । नारायणघाट शाखापछि उनी भक्तपुर शाखामा सरुवा भए । भक्तपुरमा एक वर्षमात्रै काम गरेर उनी चावहिल शाखा पुगे । चावहिल शाखा भर्खर खुलेको थियो । नयाँ शाखाबाट उनले ऐतिहासिक व्यापार गरे । चावहिल शाखाले खुलेकै वर्ष २२ करोड बीमाशुल्क संकलन गरेर नयाँ रेकर्ड बनाएको उनी बताउँछन् । आफू शाखा प्रमुख भए पनि त्यो ऐतिहासिक व्यापारको श्रेय भने उनी त्यस शाखाका कर्मचारी, अभिकर्ता र समग्र टिमलाई दिन्छन् । चावाहिल शाखामा २ वर्ष नेतृत्व गरेपछि उनी हेड अफिस तानिए । उनले मार्केटिङ हेडको जिम्मेवारी पाए । हेड अफिसमा सरुवा हुँदा उनले जागिर गरेको १४ वर्ष बितिसकेको थियो । उनले काठमाडौं शाखामा चिफ म्यानेजर हुँदै बागमती प्रदेश प्रमुखको पनि जिम्मेवारी पनि पाए । दुई दशकपछि डीसीईओ स्मृतिराज कँडेलले महत्वपूर्ण दुई दशक अर्थात् १९ वर्ष ६ महिना एलआईसी नेपालमा जागिर गरे । एउटा अभिकर्तादेखि संस्थाको बागमती प्रदेश प्रमुखको जिम्मेवारी उनले सम्हाले । उनले सो संस्थामा जति काम गरे त्यसमा उनी पूर्ण सन्तुष्ट रहेको सुनाउँछन् । करिब दुई दशक एलआईसी नेपालमा काम गरेका उनी २०७८ सालमा तात्कालीन गुराँस लाईफ इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रुपमा काम सुरु गरे । उनले सो कम्पनीमा १० महिना काम गरेपछि कम्पनी मर्जरको प्रक्रियामा अघि बढ्यो । त्यसपछि उनी नेपाल लाईफमा छोटो समयका लागि जोडिएर नेशनल लाइफमा प्रवेश गरे । वि.सं २०७९ असार १ गतेबाट उनले नेशनल लाईफमा डीसीईओको काम सुरु गरे । उनले बीमा क्षेत्रमा काम गरेको २४ वर्ष बितिसकेको छ । अभिकर्तादेखि डीसीईओसम्म गरेको आफ्नो काम र पाएको उपलब्धिमा उनी पूर्ण सन्तुष्ट छन् । यो साढे दुई दशकको अवधिमा उनले कुनै हरेस खाएनन् । पाइँला–पाइँलामा सफलता प्राप्त गरे । जब उनले एकै दिन १७ वटा बीमा पोलिसी बिक्री गरे, त्यो दिनदेखि आजको दिनसम्म उनले काम गर्दा सकिँदैन कि भन्ने सोच्दै सोच्दैनन् । त्यो १७ वटा पोलिसीले नै उनको जीवनमा नयाँ किसिमको ‘कोर्स क्रियट’ गर्यो । ‘टार्गेट मिट गर्दै, हरेक पाइँलामा सफलता पाउँदै अघि बढ्न सक्नु पनि क्षमता हो, उनी भन्छन्, ‘एलआईसीको स्कुलिङले मलाई अगाडि बढ्न प्रेरित गर्यो, हरेक काम गर्दा उच्च कन्फिडेन्स आउँछ ।’ उनी एलआईसीको काम गर्ने संस्कार र स्कुलिङ नै बेग्लै खालको रहेको अनुभव सुनाउँछन् । उनी नेशनल लाईफ इन्स्योरेन्समा पनि काम गर्ने कल्चर राम्रो रहेको सुनाउँछन् । एलआईसीमा सीकेको सीप नेशनलमा प्रयोग गर्न पाउँदा खुसी रहेको उनी बताउँछन् । आफूले काम सुरु गरेदेखि हालसम्म बीमा क्षेत्रमा ठूलो परिवर्तन आइसकेको उनी बताउँछन् । ‘मैले करिअर सुरु गर्दा बीमा क्षेत्रलाई हेर्ने मानिसको दृष्टिकोण पृथक थियो, नेटवर्किङको नाममा जनता ठगिन्थे, बीमा क्षेत्रलाई पनि मान्छेले ठगीको रुपमा हेर्थे, अहिले परिवर्तन भइसकेको छ,’ उनी भन्छन्, ‘अहिले धेरैमा बीमा सम्बन्धी ज्ञान आइसकेको छ, प्रतिस्पर्धा बढेको छ, यो क्षेत्रमा लागेर खुसी छु ।’

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ आज

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम छ । आयोजनाका योजना प्रमुख कृष्णराज अधिकारीले आज प्रधानमन्त्रीबाट अन्तिम ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो । यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।

पढ्नेलाई शिक्षा, नपढ्नेलाई सीप

काठमाडौं । ६ वर्षीय बालक । आमाबुवाको लाड प्यारमा हुर्कनु पर्ने,  साथीभाइसँगै खेल्ने र शिक्षकसँग  कखरा सिक्नु पर्ने समय । तर, कमल (नाम परिवर्तित) को कलिलो उमेर एउटा आश्रममा पुगेर अडियो । देशको दुर्गम जिल्ला हुम्लामा जन्मेका उनले सानै छँदा बुवा गुमाए । घरको खम्बा ढलेपछि परिवार शोकमा मात्रै डुबेन, सबै तितरबितर हुने अवस्था सिर्जना भयो । कुरा आजभन्दा २५ वर्ष अगाडिको हो । हुम्लाका ती बालक आश्रममा पुग्नुको पछाडि उनको आर्थिक अवस्था थियो । उनी जन्मेको केही वर्षपछि उनको बुबाको निधन भयो । परिवारमा पैसा कमाउने मुख्य खम्बा ढलेपछि उनले पढ्न लेख्न पाउने अवस्था थिएन । केही व्यक्तिले बा-आमा नभएका अनाथ बालबालिकाको पालन पोषणसहित शिक्षा दिने संस्था खोजिदिने भन्दै काठमाडौं पुर्‍याए । कमललाई काठमाडौंको एउटा अनाथालयमा राखियो । जहाँ उनीजस्ता धेरै टुहुरा बालबालिकाहरू थिए । त्यही बेला टुहुरा, अनाथ सडक बालबालिकाको लागि शिक्षा दिने उद्देश्यले स्थापना भयो- युवा क्रियाकलाप उत्थान केन्द्र । जहाँ सडकमा भेटिएका बालबालिकालाई ल्याएर राखिन्थ्यो । यो संस्था स्थापना भइसकेपछि कमललाई यही संस्थामा राखियो । जहाँ उनी हुर्के, बढे र पढे पनि । हुम्लाबाट अनाथ बालकको रूपमा काठमाडौं ल्याएका कमल अहिले तन्नेरी बनिसकेका छन् । युवा क्रियाकलाप उत्थान केन्द्रमा रहेर स्नातकतह उत्तीर्ण गरे । अहिले उनी आफ्नै गाउँको विद्यालयमा सहायक प्रधानाध्यापकको रूपमा काम गरिरहेका छन् । ६ वर्षमा काठमाडौं ल्याएका उनी अहिले युवा भएर गाउँ फर्किए । उनी कसरी काठमाडौं पुगे, कसले पुर्‍यायो भन्ने त्यति याद छैन उनलाई । तर, उनी आफूलाई यो स्थानमा पुर्‍याउने संस्था युवा क्रियाकलाप उत्थान केन्द्र रहेको बताउँछन् ।  एकताका काठमाडौं पढाइदिने भन्दै विकट गाउँका बालबालिकालाई काठमाडौं ल्याउने चलन निकै धेरै थियो । त्यो बेला पढाइदिने भन्दै काठमाडौं ल्याएका धेरैजसो बालबालिका अहिले कहाँ छन् पत्तै छैन । आर्थिक अवस्था कमजोर भएका, बाआमा नभएका बालबालिका काठमाडौंमा पहुँच भएकाहरूको नजरमा पर्थे । गाउँमा अभिभावकबाट पैसा उठाएर काठमाडौंका विभिन्न अनाथालयका ती बालबालिकालाई राखिन्थ्यो । कतिपय बालबालिका पढेर अहिले आफ्नै गाउँमा काम गरिरहेका छन् भने कोही काठमाडौंमा काम गरिरहेका छन् । तर यसरी ल्याइएका कतिपय बालबालिका अहिलेसम्म सम्पर्कविहीन छन् । उनी भने आफूले राम्रो संस्थामा बस्न र पढ्न पाएको भन्दै आफू यहाँसम्म पुग्नु यही संस्थाको हात रहेको बताउँछन् । असहायको सहारा युवा क्रियाकलाप उत्थान केन्द्र यो केन्द्र असहाराको सहारा हो । जसले बाआमा गुमाउनुपरेको छ वा बाउआमा भएर पनि शिक्षा पाउन सक्ने अवस्था छैन वा सडकमा बस्नुपरेको छ, उनीहरूलाई यस संस्थाले राख्दै आएकाे छ । साथै संस्थाले अनाथ वा सडकमा रहेका बालबालिकालाई पनि राख्दै आएकाे छ । यस्ता बच्चाहरूको पालनपोषणसहित शिक्षादीक्षाको जिम्मेवारी पनि यही संस्थाले लिँदै आएको छ । युवा क्रियाकलाप उत्थान केन्द्रमा बसेर पढेका उनीजस्तै धेरै बालबालिका अहिले कोही स्वदेशमै छन् भने कोही विदेश पुगेका छन् । कोही नेपालमै आफैले अध्ययन गरेको कलेजमा पढाइरहेका छन् भने कोही आफ्नो जन्मभूमि खोज्दै फर्किएका छन् । युवा क्रियाकलाप उत्थान केन्द्रका अध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार यो केन्द्रमा अध्ययन गरिरहेका विद्यार्थी कोही डेनमार्क, साउथ कोरिया, जापान छन् भने कोही अहिले नेपालमै अध्ययन गरिरहेका छन् ।   यसरी स्थापना भयो संस्था तेजप्रसादको घर झापा हो । उनी पढाइको सिलसिलामा काठमाडौं आए । अहिले उनी काठमाडौंको स्थायी बासिन्दा भइसके । उनलाई शिक्षा क्षेत्रमा काम गर्न बढी रमाइलो लाग्छ  । अहिले उनले आफ्नै वैकल्पिक विद्यालय सञ्चालन गरिरहेका छन्, जहाँ पढ्ने रहर हुँदा पढ्न नपाएका वा पढ्नुपर्छ भनेर पढ्न खोज्नेहरूले अध्ययन गरिरहेका छन् । विभिन्न कारणले पढाइ छोडेर फेरि पढ्नुपर्छ भन्ने भावना भएकाहरू उनको विद्यालयमा अध्ययन गरिरहेका छन् । उनैले युवा क्रियाकलाप उत्थान केन्द्र पनि सञ्चालन गरिरहेका छन् ।  तेजप्रसाद काठमाडौंमा बस्न थालेपछि उनको आऊजाऊ गर्ने बाटो बौद्ध चावहिल क्षेत्र थियो । त्यो बेला अहिलेको जस्तो सफा काठमाडौं थिएन ।  ठाउँठाउँमा ठूलाठूला फोहोरका डंगुर हुन्थे । उनले सडकमा मागिरहेका बालबालिका सधैं देखिरहेका थिए । हेर्दा नरमाइलो लाग्थ्यो । तर एकदिन उनले यस्तो दृश्य देखे जहाँ केही बालबालिका फोहोरमा खानेकुरा छानेर खाइरहेका थिए । यो दृश्यले उनको मन अमिल्यायो । उनलाई यस्ता बालबालिकालाई संरक्षण दिन मन लाग्यो । तेजप्रसादले आफ्ना साथीहरूसँग उक्त घटना सुनाए । उनीहरूले पनि यसमा सहमति जनाए । त्यो बेला काठमाडौंमा यस्ता अनाथ आश्रमहरू थुप्रै थिए ।  तर उनलाई अनाथ आश्रमको नाममा संरक्षणमा लिएइका बालबालिकाहरू हुर्काउनु थिएन ।  त्यसपछि संस्थाको नाम रह्यो युवा क्रियाकलाप उत्थान केन्द्र । २०५६ सालमा स्थपना भएको यो संस्थाले एचआइभी संक्रमित, टुहुरा, आफन्त कोही नभएका सडक बालबालिकालाई पालनपोषणसहित शिक्षा दिँदै आएको छ । पढाउनेदेखि हुर्काउनेसम्मको जिम्मा  यो संस्थामा सुरुमा तीनजना सडकबाट उद्धार गरिएका बालबालिका थिए । बिस्तारै अरू बालबालिकाहरू पनि थपिँदै गए । उनीहरूलाई लिएर चावहिलको एउटा कोठामा राखियो । तेजप्रसाद र उनका साथीहरूले उनीहरूलाई बस्न, खानदेखि स्कुल पढाउने व्यवस्था गरे । संरक्षण केन्द्रमा आउँदा सबै बच्चाको उमेर ५, ६ वर्षको थियो । तेजप्रसादले अन्य साथीभाइलाई गुहारे । कसैले चाम, कसैले दाल दिन थाले । त्यही खाने कुरा लिएर उनले पकाएर बालबालिकालाई दिन थाले । नजिकका विद्यालयमा गएर बालबालिकालाई पढाइदिन अनुरोध गरे । ‘केही शुल्क हामी तिर्थ्याैं, केही स्कुलले मिलाइदिन्थ्यो । यसरी हामीले ८० जनाभन्दा बढीलाई संरक्षण दिइसकेका छौं, ’ उनले भने ।  उनले ३० अनाथ, सडक बालबालिकालाई आश्रयस्थल दिएरै  सहयोग गरेका छन् भने ५० जनालाई शिक्षामा सहयोग गरेका छन् ।  अनाथ बालबालिका आफ्नै सन्तानजस्ता संरक्षणमा राखेका सबै बालबालिकालाई तेजप्रसाद आफैले पकाएर दिन्थे । उनलाई बाहिर अन्य काममा पनि जानुपर्ने हुँदा उनले खान, बस्न र बालबालिकाको रेखदेखको जिम्मा श्रीमतीलाई लगाए । सँगै बस्ने अनि खाने गर्न थालेपछि सबै बालबालिकाले उनलाई बुवा भन्न थाले । उनलाई पनि यी बालबालिका आफ्नै सन्तान जस्तो लाग्छन् । ‘मैले यही मायामा र अरूले हेर्ने नजरमा फरक ल्याउन हाम्रो संस्थाको नाम युवा क्रियाकलाप उत्थान केन्द्र राखेको हुँ,’ उनी भन्छन्, ‘यहाँ आइसकेपछि उनीहरू टुहुरा होइनन्, उनीहरू संरक्षक हामी छौं भन्ने आभास होस् भन्ने मेरो चाहना हो । त्यसैले पनि उनीहरू मलाई बुवा अनि श्रीमतीलाई आमा भन्छन् ।’ यो संस्थाबाट पढेर घर फर्केका वा बाहिर गएकाहरू अहिले पनि तेजलाई फोन गर्छन् । उनीहरूले फादर्स डेमा सम्झन्छन् । नजिक हुने भेट्न आउँछन् भने टाढा हुनेहरू फोनबाट सम्झन्छन् ।  पढ्नेलाई शिक्षा नपढ्नेलाई सीप तेजप्रसादकाे संरक्षणमा आएका सबैजसो बालबालिका अध्ययन गरिरहेका छन् । कतिपय बालबालिका पढ्ने मन लगाउँदैनन् । पढ्न मन नभएकाहरूलाई उनीहरूले चाहेअनुसार सीप सिकाउने गरिएको छ । सबैले किताब नै पढ्नुपर्छ भन्ने हुँदैन, कसैलाई पढाइबाहेक अन्य क्षेत्रमा रुचि हुन सक्छ । यस्तो बालबालिकालाई पढ्नैपर्छ भन्ने दबाब दिइँदैन,’ उनी भन्छन्, ‘हाम्रो एकजना बाबुले राम्रो आर्ट गर्छन्, उनी राष्ट्रिय स्तरको प्रतियोगीतामा समेत सामेल भएका छन् । कोही गीत गाउँछन्, कोही राम्रो डान्स गर्छन्, उनीहरूको रुचिअनुसार हामी सहयोग गर्छौं ।’ उनको संस्थामा बालबालिकाहरूका लागि छुट्टै नियम बनाइएको छ । जहाँ बालबालिकाले धेरै मोवाइल प्रयोग गर्न मिल्दैन । मोबाइल हेर्ने निश्चित समय बनाइएको छ । तेजप्रसाद आजभोलिका बालबालिकाले मोबाइलबाट राम्राभन्दा धेरै नराम्रा कुरा सिकिरहेको बताउँछन् । बाध्यताले सडकमा बालबालिका  बालबालिका तब सडकमा आउँछन् जब घरमा राम्रो व्यवस्था हुँदैन । कोही बालबालिकाकाको बुवाआमा हुँदैनन्, कसैको बुवा हुँदैनन् आमा हुन्छन्, आमाले हेरचाह गर्न नसकेर पनि बच्चा सडकमा आउँछन् । यसैगरी, कतिपय बलात्कृत भएका महिलाबाट जन्मेका बच्चाहरू पनि सडकमा आउँछन् । तर, आजभोलि पहिलेको जस्तो अवस्था छैन । पहिले सडक जताततै माग्न बस्ने, फोहोरबाट खानेकुरा टिपेर खाइरहेको दृश्य सायदै देखिँदैन । अहिले राज्यको नीति नियम छ । अहिले घरमा कुनै एक बुवा अथवा आमा छैन भने अर्को भएको एक जनाले पाल्नुपर्छ, आमावुवा दुवै छैनन् भने आफन्तले पाल्नुपर्छ, आफन्त पनि कोही छैन भने त्यसको जिम्मा सरकारले लिने नीति बनेको छ । यही कारण पनि पहिले जस्तो बालबालिका अहिले सडकमा देखिँदैनन् । अहिले स्थानीय सरकारले पनि यस्ता बालबालिकाहरूको जिम्मा लिने गरेको छ । तर नेपाल र भारतको खुल्ला सिमाका कारण पनि यो समस्या कतै देखिने गरेको उनी बताउँछन् । अहिले काठमाडौंका सडकमा अहिले पनि भारतका बालबालिका देखिरहेका छन् ।  शिक्षा मन्त्रालयबाट २ लाख पाउँदा यो संस्थाले बालबालिकाको क्षेत्रमा राम्रो काम गरेको बताउँदै शिक्षा मन्त्रालयले पुरष्कृत पनि गरेको छ । दुर्व्यसनमा फसेका, सडक बालबालिकालाई शिक्षा दिन सहयोग गरेको भन्दै मन्त्रालयले गत असोजमा उत्कृष्ट संस्था भन्दै यो वर्षको समाज कल्याण शिक्षा पुरस्कार दिएको हो ।  उक्त पुरस्कारकाे राशि २ लाख रुपैयाँ रहेको थियो ।  संस्थालाई पुरिष्कृत हुँदा थप जिम्मेवारी बढेको आभास भएको तेजप्रसादकाे भनाइ छ ।