विकासन्युज

४० प्रतिशतले बढ्यो धनियाँको मूल्य, यस्तो छ आज तरकारीको भाउ

काठमाडौं । आज धेरैजसो तरकारीको मूल्य घटेको छ भने केहि तरकारीको मूल्य बढेको छ । आज रातो मुलाको मूल्य सबैभन्दा धेरै प्रतिशतले घटदा धेरै मूल्य बढ्ने तरकारीमा बरेला र हरियो धनियाँ परेका छन् । कालिमाटी फलफलु तथा तरकारी बजार विकास समितिका अनुसार रातो मुलाको मूल्य २८.५७ प्रतिशतले घटेको छ । हिजो शुक्रबार प्रतिकेजी ३५ रुपैयाँ रहेको रातो मुलाको मूल्य आज २५ रुपैयाँ तोकिएको छ । यस्तै, पालुगोंं साग, चमसुरको साग र मेथीको सागको मूल्य समान २२.२२ प्रतिशतले घटेको छ । उक्त ३ वटै सागको मूल्य हिजो ४५ रुपैयाँ थियो । आज ३५ रुपैयाँमा झरेको छ । आज बकुला र हरियो माछे खुर्सानीको मूल्य समान १८.१८ प्रतिशतले घटेर ४५ रुपैयाँ कायम हुँदा १६ प्रतिशतले घटेर भिण्डीको मूल्य १०५ रुपैयाँमा झरेको छ । यसैगरी, लोक्कल काक्रो ११.५४ प्रतिशतले घटेर ११५ रुपैयाँ, लोक्कल र तराईको काउली १०.७९ प्रतिशतले घटेर ११ रुपैयाँ मूल्य कायम हुँदा सेतो मुलाको मूल्य १०.६८ प्रतिशतले घटेर २२.३३ रुपैयाँ कायम भएको छ । आज मूल्य बढेका तरकारीहरु हरियो धनियाँ र बरेलाको मूल्य समान ४० प्रतिशतले वृद्धि भएर ३५ रुपैयाँ प्रतिकेजी पुगेको छ । यस्तै, हरियो प्याजको मूल्य २८.५७ प्रतिशतले बढेर ४५ रुपैयाँ, सखरखण्डको मूल्य १५.३८ प्रतिशतले घटेर ७५ रुपैयाँ, पिंडालुको मूल्य १३.३३ प्रतिशतले घटेर ८५ रुपैयाँ पुगेको छ । अन्य तरकारीको मूल्य भने हिजोका दरमा नै किनबेच भइरहेका समितिले जनाएको छ ।

नेपाल प्रहरीका ३७ जना डीएसपी ‘एसपी’मा बढुवा (सूचिसहित)

काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिले ३७ जना नायब उपरीक्षक(डीएसपी) लाई बढुवा गरेको छ । प्रहरी प्रधान कार्यालयमा बसेको समितिको बैंठकले ३७ जनालाई उपरीक्षक(एसपी)मा बढुवा गरेको हो । प्रधान कार्यालयल एक सूचना जारी गर्दै बढुवा भएको जानकारी गराएको छ । बढुवा हुनेहरुमा कुलदीप चन्द, सुमित खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट, दीपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेवे, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही, टेकबहादुर कार्की, फणीन्द्र प्रसाईं, शरतकुमार थापा, युवराज खड्का रहेको सूचनामा उल्लेख छ । यसैगरि राजन चापागाईं, किशोरकुमार श्रेष्ठ, मुकुन्दप्रसाद रिजाल, पवनकुमार भट्टराई, रवीन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निसान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुकेश तण्डुकार, दधिराम न्यौपाने, नवीन कार्की, श्यामकुमार सारुमगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्लीनारायण पाण्डेय, लालध्वज सुवेदी र रुगमबहादुर कुँवर बढुवा भएको जनाइएको छ ।

आजको मौसमः कोशीमा शीतलहर, तराईमा हुस्सु र कुहिरो

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भू-भागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

चिसो र शीतलहरको जोखिममा दलित मुसहर परिवार

सर्लाही । चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन । बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ । उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन् । अन्य समयमा अवस्था सामान्य भएपनि बर्सातको डुबान र हिउँदको ठण्डीले उहाँहरूलाई निकै पिरोल्छ । यस बस्तीका बालबालिका र वृद्ध वृद्धा निकै सकसपूर्ण जीवन व्यतित गरिरहेका छन् । सोही बस्तीमा १० दिनकी सुत्केरी जोनिता माझी अत्यन्त कष्टले दिन रात काटिरहेकी छिन् । चिसो दिन प्रतिदिन बढ्दै जाँदा नवजात शिशु र आफूलाई लगाउने न्यानो कपडासमेत नभएको उनले गुनासो गरिन । खरले छाएको मुस्किलले चार जना टुसुक्क बस्न मिल्ने ठाउँमा पराल ओच्छ्याएर उनले बिस्तरा बनाएकी छिन । त्यसैमा उहाँको १० दिनको शिशु पनि सुताएकी छिन् । दैनिक ज्याला मजदुरी गर्नु पर्ने परिवार चिसोका कारण बाहिर निस्कनसमेत नपाएका कारण दुई छाकको जोहोसमेत गर्न समस्या परेको उनकी सासु जितनी देवी माझीले बताइन् । “भुइको चिसो पनि आउँछ ।” सुत्केरी माझीले भनिन् “माथिबाट शीत चुहिरहन्छ । ओड्ने कुरा पनि राम्रो छैन् । बाँसको टाटीको प्वालबाट छिरेको चिसो स्याँठले मुटु छेडेर जान्छ ।” जोनिताजस्तै सोही बस्तीकी २१ वर्षीया पुनीता माझीले पनि गत कात्तिकमा तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिइन । सुरुमा चिसो कम हुँदा जसोतसो दिन रात कटाएकी उनलाई शीतलहर सुरु भएपछि भने समस्या भएको बताइन् । चिसोले रातभरि शिशु रोएर नसुत्ने उनले दुखेसो पोखिन । चिसोका कारण आफू पनि निकै पटक बिरामी परिसकेको उनको भनाइ थियो । पुनिताका श्रीमान् पन्निलाल माझी र ससुरा हरिन्द्र माझी पनि मजदुरीका लागि पन्जाव पुगेका छन् । श्रीमान्ले कमाएर ल्याउलान र मिठो मसिनो खाने तथा बालबच्चा र आफूसमेतले न्यानो कपडा लगाउने आशमा रहेको पुनिताले बताइन । कमाइ जम्मा भएपछि पठाउँछु भनेर श्रीमानले भनेको उनले सुनाइन् । सुत्ने ओछ्यान नजिकै बालेको घुर हेरेर रात कटाउने गरेको उनको दुखेसो छ । बस्तीकै अर्को कुनामा रहेको सानो बासको टाँटी र खरको मुस्किलले भित्र छिर्न मिल्ने छाप्रोमा २० वर्षकी विना माझी महिना दिनको छोरा च्यापेर बसिरहेकि छिन् । “भुइमा राख्यो की चिसोले बच्चा रोही हाल्छ,” उनले भनिन्, “छातीमा च्यापी राख्यो भने न्यानो हुन्छ क्यार रुदैन ।” मङ्सिर अन्तिममा जन्मिएको छोराले पेटभरि दूधसमेत खान नपाएको उनले गुनासो गरिन । चिसो बढेकाले परिवारको अन्य सदस्य मजदुरीमा जान नसक्दा आफूसमेतले कयैँन रात भोकै बस्नुपरेको भन्दै शिशुलाई खुवाउन दूध नआएको उनले सुनाइन् । बिनाका श्रीमान् पनि पन्जाबमा उखु काट्ने मजदुरको काम गरिरहेका छन् । यता गाउँपालिकाले विगतमा राहतको व्यवस्था गरेको भएपछि यस पटक केही ढिला भएको पालिका अध्यक्ष रामसिंहासन रायले जानकारी दिए । मुसहर परिवारको अवस्था दयनीय रहेको कुरा जानकारी नआएको भन्दै अध्यक्ष रायले त्यस्तो अवस्था भए बुझेर राहत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । विपन्नका लागि ल्याएको योजनामा विपक्षी र सम्पन्नले काम नै गर्न नदिने गरेको उनको गुनासो थियो । “यस गाउँका पाँच परिवारको घर गत चैतमा आगोले जलेर नष्ट भयो ।” उनले भने, “हामीले सिफारिस गरेर पठायौँ । पछि राजनीति गरेर अनेक गरेपछि उहाँहरूसमेतले जिल्ला विपद्मार्फत पाउने घर बनाउने पैसा पाउनुभएको छैन् । सुरुमा पालिकाले १०(१० हजार नगद र केही खाद्यानन्न दिएका थियो ।” मधेशमा काम गर्न नदिने र गरेन भनेर बदनाम गर्ने प्रवृत्ति व्यापक बनेको उनले बताए । आगलागीबाट घरबार गुमाएका परिवार अहिले पनि चिसोमा आफन्तको कहाँ बसिरहेका छन् । आगोले उक्त वस्तीमा रहेको विन्देश्वर माझी, रामविश्वास माझी, दिनेश माझी, जोखु मुखिया र गुलरी देवीको घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । भने, रासनारायण माझी, मिश्री माझी, हरिनु माझी, नरेश राय, राजकिशोर मुखिया र गोपी मुखियाको घरमा आंशिक क्षति पुगेको वडा सदस्य सितादेवी माझीले बताइन् ।

बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन, कसको सम्भावना बढी ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् । बीमा प्राधिकरणको अध्यक्ष बन्न पूर्वअध्यक्षसहित १२ जनाले आवेदन दिएका हुन् । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले गत पुस २६ गते आवेदन आह्वान गरेको थियो । सोही बमोजिम आज अन्तिम दिनसम्म १२ जनाले आवेदन दिएका हुन् । बीमा प्राधिकरणको अध्यक्ष बन्न कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णु बावु मिश्र, बुद्धकाजी श्रेष्ठले आवेदन दिएका छन् । यस्तै, दामोदर बसौला, डिम प्रसाद पौडेल, रामशरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठले आवेदन दिएको मन्त्रालयले जनाएको छ । रेग्मी प्राधिकरणमा निर्देशक पदमा कार्यरत छन् भने डा. रोका युवा स्वरोजगार कोषका पूर्वउपाध्यक्ष हुन् । प्राधिकरणको अध्यक्ष बन्न आवेदन दिएकामध्ये ओझा अध्यापन गराउँछन् भने चापागाईं साविक बीमा समितिका पूर्वअध्यक्ष हुन् । यस्तै, मिश्र निक्षेप तथा कर्जा सुरक्षण कोषका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् भने बुद्धकाजी श्रेष्ठ तत्कालीन लुम्बिनी जनरल इन्स्योरेन्सको उच्च व्यवस्थापक तहका कर्मचारी हुन् । हाल उनी सर्भेअर पेशामा आवद्ध छन् । उनी तत्कालिन यूनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिको सदस्य भएर १८ महिनासम्म काम गरेका थिए । बस्यौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक हुन् भने डिमप्रसाद पौडेल नेपाल एयरलाइन्सका पूर्वमहाप्रबन्धक हुन् । रामशरण पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् । उनी हाल कृषि विकास बैंकको अध्यक्ष समेत हुन् । विक्रान्त पाण्डे नेपाल इन्स्योरेन्सका पूर्वउपमहाप्रबन्धक हुन् । रमण नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं नागरिक लगानी कोषका पूर्वप्रमुख हुन् । उनी हाल लक्ष्मी सनराइज बैंकका अध्यक्ष छन् । गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टाचार मुद्धामा सूर्यप्रसाद सिलवालविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि बीमा प्राधिकरण अध्यक्षविहीन छ । सिलवाल निलम्बित भएपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

सम्पदा पुनःनिर्माणमा काठमाडौं महानगर, कहाँ-कहाँ हुँदैछ काम ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले विगतदेखि नै महानगरलाई खुला संङ्ग्रहालयका रूपमा विकास गर्न तथा यसको पहिचानलाई जोगाइराख्न नगरभित्रका मन्दिर, सत्तल, बहाल, विहार, गुठी, ढुंगेधारा तथा पोखरीजस्ता सम्पदाहरूको पुनःनिर्माण, संरक्षण र सम्वद्र्धनमा जुट्दै आएको छ । महानगरले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत समेत यस्ता सम्पदाहरूको निर्माण र संरक्षण प्राथमिकताका साथ अगाडि बढाइएको छ । जसअन्र्तगत यस वर्ष पनि महानगरले महानगरभित्रका विभिन्न स्थानमा रहेका सम्पदाहरुको पुर्ननिर्माण, संरक्षण, सम्वद्र्धन र सरसफाइ गर्ने योजना राखेको छ । त्यसअन्र्तगत नै अहिले विभिन्न ठाउँमा पुनःनिर्माणका कार्यक्रम सञ्चालन भइरहेको महानगरले जनाएको छ । महानगरका सम्पदा तथा पर्यटन विभागीय प्रमुख कुमारी राईका अनुसार यो चालु आवमा ठेक्का प्रक्रियामार्फत झण्डै ५० वटा साना तथा ठूला प्रोजेक्टका सम्पदाहरूको पुनःनिर्माण हुँदैछ । त्यसमा मन्दिर, बहाल, सत्तलह रहेका छन् । ठेक्का प्रक्रियाबाहेक उपभोक्तामार्फत ३० वटा मन्दिर तथा सत्तलहरु पुनःनिर्माणको क्रममा रहेको प्रमुख राइले बताइन् । त्यसैगरी, चालु आवमा ४०/४५ ठाउँको ढंगेधाराहरु पुनःनिर्माण भइरहेको छ । राईका अनुसार श्रमबैंकबाट दैनिक हाजिरीमा कामदार राखेर प्रत्येक वडामा भएका ढुंगेधारा सफा गर्ने कार्यक्रम भइरहेको छ । सरसफाइ कार्यक्रमका लागि एक जना सुभरभाइजर र १० जना कर्मचारी खटिएका छन् । सरसफाइमा जोड दिन थालेसँगै पुराना ढुंगेधाराहरुको मुहार नै बद्लिएको राइले बताइन् । ढुंगेधारा, हिटी, पोखराबाहेक मन्दिरहरुको सरसफाइ र मर्मतसम्भारमा जोड दिइएको छ । यसका लागि अहिले मन्दिरहरुको खोजीकार्य पनि भइरहेको राईको भनाइ छ । पुनःनिर्माण हुँदै गरेका मुख्य सम्पदा काठमाडौं महानगरले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर निर्माण–पुनःनिर्माणलाई अघि बढाइरहेको छ । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएकाे र जीर्ण भएका सम्पदाहरुलाई पुनः निर्माण गर्ने, मर्मतसम्भार, सरससफाइ गर्ने काममा निरन्तर खट्दै आएकोमा यो चालु आवमा पनि निरन्तरता दिएको छ । मल्लकालमा बनेका ठूला तथा साना मठ, मन्दिरहरु भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको महानगरले जनाएको छ । भद्रकाली मन्दिर महानगरले ०७२ सालको भूकम्पले जीर्ण बनाएको ११ वडामा पर्ने भद्रकाली मन्दिर परिसरको सत्तलको पुनःनिर्माण गर्दैछ । महानगरका सम्पदा विभाग राईले महत्वपूर्ण शक्तिशाली पीठ भद्रकाली मन्दिरले बहुपक्ष सम्बन्धलाई स्थापित गर्ने भएकाले यसको संस्कृतिलाई बचाइराख्नुपर्ने बताइन् । उक्त मन्दिरको पुनःनिर्माण असार अन्तिम साताबाट सुरु भएको हो । बीचमा केही विवाद सिर्जना भएर काम रोकिएपनि अहिले धमाधाम भइरहेको महानगरले जनाएको छ । यसको पुनःनिर्माण नेवारी शैलीमा हुँदैछ । विभागका प्रमुख राईका अनुसार तुलसी अम्बुजा जेभीले पुनःनिर्माणको जिम्मा लिएको छ । उक्त निर्माण कम्पनीले ३४ करोड ८० लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । आगामी तीन वर्षभित्र पुनःनिर्माण गरिसक्नुपर्ने ठेक्का सम्झौता छ । महाकाल भैरव टुँडिखेलको पश्चिमतर्फ रहेको मल्लकालीन समयमा निर्माण गरिएको महाकाल भैरव मन्दिर परिसरको सत्तल पुनःनिर्माण हुँदैछ । यो मन्दिर परिसरमा पनि सत्तलहरुको पुनःनिर्माण भइरहेको छ । यो मन्दिर परिसरको सत्तल पुनःनिर्माणको लागि १० करोड ५ लाख रुपैयाँ रुपैयाँ बराबरको सम्झौता भएको छ । पुनःनिर्माणको ठेक्का विनायक एसपी बोहरा जेभी निर्माण कम्पनीले पाएको हो । यो मन्दिरको पुनःनिर्माण २०८३ असारसम्ममा सकाउनुपर्ने सम्झौता भएको महानगरले जनाएको छ । भवानी  शंकर मन्दिर वडा न २५ स्थित केलटोलमा अवस्थित भवानी शंकर मन्दिरको पुनःनिर्माण भइरहेको महानगरले जनाएको छ । पुनःनिर्माणको लागि सिएल एटु जेड निर्माण कम्पनीले ठेक्का पाएको छ । उक्त निर्माण कम्पनीसँग ६ करोड रुपैयाँमा सम्झौता भएको सम्पदा तथा पर्यटन विभाग प्रमुख राईले बताइन् । भर्खर काम सुरु भएको उक्त मन्दिरको पुनःनिर्माण आगामी २ वर्षभित्र अर्थात २०८२ को अन्त्यतिर सकाउनुपर्ने ठेक्का सम्झौता छ । इखा पोखरी वडा न १७ मा रहेको ऐतिहासिक इखा पोखरीको पुनःनिर्माण हुँदैछ । कन्या मन्दिरभित्र पुनःनिर्माण हुन लागेको उक्त पोखरीको लागत ४ करोड रुपैयाँ रहेको छ । ऐतिहासिक महत्व बोकेको उक्त पोखरी हाल सुकेको अवस्थामा छ । यो पोखरीले करिब ७ रोपनी जग्गा ओगटेको छ । यो पोखरीले ओगटेको जग्गा अतिक्रमणमा पर्दै आइरहेको थियो । पोखरीको पुनःनिर्माण हुने भएपछि यसले नयाँ जीवन पाउने भएको महानगरले जनाएको छ । रणमुक्तिश्वर मन्दिर काठमाडौं महानगरले खिचापोखरीमा अवस्थित रणमुक्श्विर मन्दिरको पुनःनिर्माण प्रक्रियासमेत अगाडि बढाइसकेको छ । यसभन्दा अघि पनि पुनःनिर्माण गर्ने भनिएपनि विभिन्न कारणहरुले उक्त मन्दिरको पुनःनिर्माण हुन सकेको थिएन । महानगरका अनुसार यो पटक भने रणमुक्तिश्वर मन्दिरको पुनःनिर्माण हुने जनाएको छ । यसका लागि टेन्डरसमेत आह्वान भइसकेको सम्पदा विभाग प्रमुख राईले बताइन् । उनका अनुसार यो मन्दिरको पुनःनिर्माणका लागि ९ करोड लागत लाग्ने अनुमान गरेको छ । इट्टा चप्पा त्यसैगरी, काठमाडौं महानगर असनमा इट्टा चप्पा सतल पुनःनिर्माण हुँदैछ । यो मन्दिरको पुनःनिर्माणका लागि २ करोड ८४ लाख लागत रहेको महानगरले जनाएको छ । मन्दिर पुनःनिर्माणको ठेक्का शुभश्री कन्सक्ट्रक्सनले पाएको छ । महानगरका अनुसार उक्त मन्दिरको पुनःनिर्माण ९० प्रतिशत सम्पन्न भइसकेको छ । यीबाहेक स-साना योजनाहरु पनि प्रत्येक वडाहरूमा कम्तीमा तीन÷चार वटा मन्दिर, गुम्बा, सत्तलहरुको पुनःनिर्माण भइरहेको छ सम्पदा विभाग प्रमुख कुमारी राईले बताइन् । बस स्टप फल्चाको पुनःनिर्माण काठमाडौं महानगरले मन्दिर, गुम्बा, सत्तलजस्ता सम्पदाको पुनःनिर्माणमात्रै नभएर बस विसौनीमा ‘फल्चा’ निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाइरहेको छ । महानगर प्रमुख बालेन्द्र शाहले चुनावी घोषणापत्रमा समेत ‘बस बिसौनीमा परम्परागत शैलमा फल्चा निर्माण गर्ने’ भनेर उल्लेख गरेका थिए । चुनाव जितेपछि अर्थात आव ०७९/८० को पहिलो नीति तथा कार्यक्रममार्फत उनले महानगरभित्रका बस स्टपहरूमा फल्चा निर्माण गर्न विभिन्न संघसंस्थालाई प्रोत्साहन गर्ने विषय समेटिएको थियो । त्यसैअनुरुप अहिले महानगरले फल्चा निर्माण–पुननिर्माण कार्यलाई अघि बढाएको छ।सम्पदा विभाग प्रमुख राईका अनुसार उपभोक्ता समितिमार्फत २ वटा फल्चा निर्माण सम्पन्न भइसकेको छ । बिजुली बजार पुल नजिकै र बबरमहल औषधी विभागनजिक अगाडि फल्चा निर्माण भइसकेको हो । उनले महानगरभित्रका मूख्य सडकका बस स्टपहरुमा झण्डै २२ वटा फल्चाहरु निर्माण हुने क्रममा रहेको बताइन् । फल्चाहरु निर्माणको ठेक्का आरआर कन्सक्ट्रक्सनले पाएको छ । थप १२ ठाउँमा पनि फल्चा निर्माणको लागि टेन्डर खुलाइसकेको सम्पदा विभाग प्रमुख राईले बताइन् । महानगरले गरेको अध्ययनअनुसार महानगरभित्र २६४ भन्दा बढी स्थानमा बस बिसौनीहरू रहेका छन् । महानगरले व्यवहारिक रुपमा आवश्यकता भएको ठाउँको पहिचान गरेर फल्चा निर्माण गर्दै जाने योजना रहेको छ । फल्चाहरू परम्परागत शैलीमा नै निर्माण हुनेछन् ।

बंगलादेश र विश्व बैंकबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता

काठमाडौं । बंगलादेश सरकार र विश्व बैंकबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि थप दुई करोड २९ लाख एसडीआर (अन्तर्राष्ट्रिय रिजर्भ एसेट अर्थात् तीन करोड अमेरिकी डलर) बराबरको एक सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बङ्गलादेशको आर्थिक सम्बन्ध महाशाखाका सचिव मोहम्मद शाहरियार कादर सिद्दिकी र विश्व बैंकका कार्यवाहक देशीय निर्देशक गेल मार्टिनले हस्ताक्षर गरेका छन् । पावर ग्रिड बङ्गलादेशले यो परियोजना कार्यान्वयन गरिरहेको छ, जसको उद्देश्य दक्षिणपूर्वी बङ्गलादेशका केही भागहरूमा बिजुलीको बढ्दो माग पूरा गर्नु हो । महाशाखाले एक वक्तव्य जारी गरी विश्व बैङ्कको स्केल–अप सुविधा अन्तर्गत सन् २०१८ अप्रिलमा ४५ करोड ६४ हजार डलरको यस परियोजनाको प्रारम्भिक वित्तीय सम्झौतामा हस्ताक्षर गरिएको थियो। त्यसपछि कोभिड–१९ परियोजनाका लागि कुल पाँच करोड अमेरिकी डलर खर्च गरिएको थियो । यस पृष्ठभूमिमा, परियोजनाको सफलतापूर्वक सम्पन्न गर्नका लागि अब विश्व बैंकबाट तीन करोड डलरको थप वित्तपोषण आवश्यक छ ।

कर प्रणालीमा पराजुली र पाण्डेको पहुँच, भाटभटेनीले तिर्नुपर्ने ६.२६ करोडलाई १३ करोड पुर्‍याए

काठमाडौं । भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई विद्युतीय कसूर गरेको आरोपमा २ जना प्रक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटको युजर आइडी र पासवर्डको अनधिकृत प्रयोग गरी अस्वाभाविक कर विवरण पेस गर्ने पर्वतको बिहादी गाउँपालिका ३ घर भएका सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका ४ घर भएका परिन पाण्डेलाई प्रक्राउ गरेको हो । प्रक्राउ परेका पराजुली र पाण्डे हाल चितवनको भरतपुर महानगरपालिका ११ मा बस्छन् । उनीहरू चितवनमा बसेर लेखापरीक्षण गर्ने निजी फर्म बिहादी बिजनेश म्यानेजमेण्टमा आवद्ध रहेको सीआईबीले जनाएको छ । विभागको सफ्टवेयरबाट भाटभटेनी सुपरमार्केटको युजर आइडीको अनधिकृत प्रयोग गरी अस्वाभाविक कर विवरण पेस गरेको हुँदा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विभागले गत पुस २५ गते पत्र पठाएको थियो । सोही आधारमा उनीहरूलाई गत माघ ५ गते प्रक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता प्रवक्ता एवं सूचना अधिकारी सुधिरराज शाहीले बताए । भाटभटेनी सुपरमार्केटबाट सरकारलाई प्राप्त हुने राजस्वको दायराभित्र आउने जम्मा कारोबार रकम २ अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ रुपैयाँको राजस्व कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ रुपैयाँ थियो । तर, पराजुली र पाण्डेले आन्तरिक राजस्व कार्यालयको एकीकृत कर प्रणाली सूचनामा पहुँच पुर्‍याएर उक्त तथ्याङ्कलाई परिवर्तन तथा हेरफेर गरी १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ गलत तथ्याङ्क राखेर करदातालाई बढी कर दायित्व सृजना गराएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सीआईबीले जनाएको छ । साथै राज्यको आधिकारिक कम्प्युटर सूचना प्रणालीमा अनधिकृत रूपमा प्रविष्ट गर्ने कार्य गरेको देखिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सीआईबीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा कसुरमा संलग्न व्यक्तिहरूले आफू संलग्न अडिट फर्मबाट विभागको पोर्टलमा गई विभिन्न करदाताहरूको कारोबारको विवरण आफू अनुकूल करदाताहरूको यथार्थ विवरणभन्दा बढी वा कम (फरक) हुने गरी प्रविष्ट गरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कसैलाई हानी निक्सानी पुर्‍याउने र लाभ लिने गरेको सीआईबीको भनाइ छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३, परिच्छेद ९ (कम्प्यूटरसम्बन्धी) कसूरमा प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रवक्ता शाहीको भनाइ छ । उनीहरूको साथबाट ल्यापटप ३ थान, सीपीयू एक थान, वाइफाइ राउटर एक थान, डीभीआर एक थान, मोबाइल फोन २ थान बरामद गरिएको छ । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई पहिलो पटक ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।