बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ बराबरको तरलता बैंकिङ प्रणालीबाट खिच्न लागेको छ । मौद्रिक प्रणालीमा देखिएको अतिरिक्त तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै २१ दिनका लागि यो रकम संकलन गर्न लागेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार, बैंक तथा वित्तीय संस्थाहरूले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोल गर्दा घटिमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँको गुणा हुनेगरी निःशेष भाग रहने हिसाबले प्रस्ताव पेश गर्न सकिनेछ । निक्षेप संकलन उपकरण ब्याजदरमा प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमा आधारित हुनेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ । संकलित रकमको मूलधन र ब्याजको भुक्तानी भने २८ वैशाखमा गरिने राष्ट्र बैंकले जनाएको छ । यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन् । साथै, निक्षेप संकलन उपकरण खरिद गरेपछि सो उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।
ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा
काठमाडौं । जनरल मोटर्स (जीएम) अन्तर्गतको ब्रान्ड बुइकले राम्रो प्रदर्शन गरिरहेको थियो । इनभिजन, इनकोर जीएक्स र इनभिस्टाजस्ता नयाँ डिजाइनमा आधारित सस्तो एसयूभीहरूको कारण कम्पनीको बिक्री पहिलो त्रैमासिकमा ३९ प्रतिशतले वृद्धि भएको थियो । इनभिस्टा त ३० हजार डलरभन्दा सस्तोमा पाइने बुइकको सबैभन्दा धेरै बिक्री भएको एसयूभी बनेको थियो । तर त्यसपछि पूर्वराष्ट्रपति ट्रम्पको ट्यारिफ नीति लागू भयो । ब्युइकका ती तीन सबैभन्दा लोकप्रिय मोडलहरू अमेरिकाबाहिर निर्माण गरिन्छन्- इनभिस्टा र इनकोर जीएक्स दक्षिण कोरियामा बनाइन्छन् भने इनभिजन एसयूभी चीनमा निर्माण गरिन्छ । त्यसैले यी सबै मोडलहरू अहिले भारी ट्यारिफको चपेटामा परेका छन्, जसले अमेरिका भित्रको बिक्री मूल्यमा हजारौं डलर थप्न सक्छ । बारक्लेसको विश्लेषण अनुसार बुइकका कोरियामा बनेका मोडलहरूमा २७.५ प्रतिशत ट्यारिफ लाग्छ । चीनमा बनेको इन्भिजनमा भने कुल ४७.५ प्रतिशत ट्यारिफ लाग्छ- जसमा २५ प्रतिशत अटो ट्यारिफ, २० प्रतिशत चीन फेन्टानिल ट्यारिफ र पहिल्यै रहेको २.५ प्रतिशत अटो कर समावेश छ । यो बुइकका लागि नराम्रो खबर हो । वर्षौंसम्म ’पुरानो शैलीको गाडी’ को छवि बोकेको ब्रान्डले अन्ततः नयाँ र आकर्षक मोडलहरू ल्याएर छवि परिवर्तन गरिरहेको थियो तर अहिले त्यो प्रगति जोखिममा छ । विश्लेषकहरू भन्छन्- मूल्य वृद्धि हुने हो भने बुइकको बजार गति थुनिन वा अन्त्यतिर धकेलिन सक्छ । अटोफोरकास्ट सोलुसन्सका उपाध्यक्ष साम फिओरानी भन्छन्- 'बुइकका पछिल्ला गाडीहरू सस्तो, राम्रो गुणस्तरका र राम्रो डिजाइनका छन् । तर उत्पादन लागत बढ्दा यी गाडीहरूलाई बजारमा टिकाइ राख्न गाह्रो हुन्छ ।’ पोर्टफोलियो पुनर्मूल्यांकन ट्रम्पले ल्याएको ट्यारिफका कारण अटो उद्योगका उच्च अधिकारीहरू अहिले आफ्नो उत्पादन पोर्टफोलियोको समीक्षा गर्दैछन्- 'के विदेशी उत्पादनलाई अमेरिकाभित्र ल्याउने खर्च दीर्घकालीन रूपमा उचित छ?’ भन्ने प्रश्न उठेको छ । यस महिनाको सुरुमा लागू भएको ट्यारिफले पहिले नै केही परिवर्तन गराइसकेको छः जीएमले इन्डियानामा रहेको ट्रक उत्पादन प्लान्टको उत्पादन बढाएको छ । स्टेलान्टिस (राम र जीप निर्माता) ले मेक्सिको र क्यानडाका दुई प्लान्टहरूमा अस्थायी रूपमा उत्पादन रोकिदिएको छ । बारक्लेसको १५ अप्रिलको नोटमा भनिएको छ- 'अब अटो कम्पनीहरूले लाभ नहुने गाडीहरू बेच्ने छैनन्, विशेषगरी चीन र कोरियाबाट आयात गरिएका मोडलहरू ।’ जीएमले चीन र कोरियाबाट ४.५ लाख गाडी आयात बन्द गर्ने अपेक्षा गरिएको छ । बारक्लेसले जीएमको २०२५ को आम्दानी पूर्वानुमान ४० प्रतिशतले घटाएको छ- ९.५ अर्ब डलरको ट्यारिफ असरका कारण । फोर्डका लागि ६० प्रतिशत गिरावटको पूर्वानुमान गरिएको छ- फोर्डले लिनकोन नटिलस चीनबाट ल्याउँछ । इनभिस्टा र सेभरोलेट ट्र्याक्सजस्ता सस्तो मूल्यका गाडीहरू (दुबै दक्षिण कोरियामा बनाइएका) मा ट्यारिफको सबैभन्दा ठूलो असर पर्नेछ, किनभने यी सवारीहरू धेरैजसो अमेरिका बाहिर बनाइन्छन् । कक्स अटोमोटिभका अनुसार अहिले नयाँ गाडीको औसत मूल्य ४८ हजार डलर माथि छ । ट्यारिफका कारण प्रभावित मोडलहरूको मूल्य १०-१५ प्रतिशतले बढ्न सक्छ । बाँकी मोडलहरूमा पनि ५ प्रतिशतसम्म मूल्य वृद्धि हुन सक्छ । बुइकको गति रोकिँदै बुइकले पछिल्ला २० महिनामा सबै मोडलहरू नयाँ लुकमा ल्याएको छ, जसले बिक्रीमा उल्लेखनीय वृद्धि गरेको हो । २०२५ को पहिलो त्रैमासिकसम्म बजार हिस्सा ०.८ प्रतिशतबाट बढेर १.६ प्रतिशत पुगेको छ । इनभिस्टाको (सुरुवाती मूल्य २३ हजार ८००) ले ब्रान्डलाई नयाँ उचाइमा पुर्यायो । इनभिजन (सुरुवाती मूल्य ३६ हजार ५००) मा पनि नयाँ स्टाइल ल्याइएको थियो, जसले बिक्री बढायो । डिट्रोइटका बुइक-जीएमसी डिलर जेफ लेथम भन्छन्- 'इनभिजन अहिलेको सबैभन्दा बिक्री हुने मोडल हो । जब इनभिस्टाको डिजाइन त्यसमा लागू गरियो, त्यसपछि बिक्रीमा उछाल आयो ।’ एडमन्डका विश्लेषक इभान ड्रुरी भन्छन्– 'बुइकले दशकौंपछि सबैभन्दा राम्रो गति लिएको छ । यो गति रोकिएमा ब्रान्ड मर्दैन तर एउटा ऐतिहासिक सपना भने टुट्न सक्छ ।’ एडमन्डका अनुसार २०२५ अप्रिलको सुरुमा बुइकका डिलरहरूमा ५३ दिनको स्टक थियो, जुन उद्योग औसत ४७ दिनभन्दा धेरै हो । चीनमा पनि चुनौती बुइकका लागि चीन बजार अत्यन्तै महत्त्वपूर्ण हो, तर त्यहाँ पनि समस्या देखिएको छ । जीएम र अन्य विदेशी अटो कम्पनीहरू चीनमा बनेका विद्युतीय गाडीहरूसँग प्रतिस्पर्धा गर्न नसकेर संघर्ष गरिरहेका छन् । टेलिमेट्रीका अनुसार बुइकको चीनमा बिक्री २०२० देखि २०२४ सम्म ६५ प्रतिशतले घटेको छ । टेलिमेट्रीका उपाध्यक्ष साम अबुलसामिद भन्छन्- 'चीनको बजारमा अनिश्चितता र अमेरिकी ट्यारिफका कारण बुइक ब्रान्डकै अस्तित्व जोखिममा छ ।’ सम्बन्धित समाचार ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
५ करोडमा पुनःनिर्माण हुँदै नव देग मन्दिर, पुरानै शैलीमा बनाइने
काठमाडौं । काठमाडौं महानगरपालिका–२५ मा अवस्थित ऐतिहासिक नव देग मन्दिर, जसलाई भवानी शंकर मन्दिरको नामले पनि चिनिन्छ, पुरानै कलात्मक शैलीमा पुनःनिर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । साढे ५ करोड रुपैयाँको लागतमा पुनःनिर्माण भइरहेको यो मन्दिर सन् १६७५ मा प्रताप मल्लका महामन्त्री देवीदास चिकुथिले निर्माण गराएका थिए । तत्कालीन मल्लकालीन वास्तुकलाको उत्कृष्ट नमुना मानिने यो मन्दिरको पुनःनिर्माण कार्य २०८१ भाद्र २ गतेबाट सुरु गरिएको हो, जसलाई २०८२ फागुन ४ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुनःनिर्माणको क्रममा भेटिएको ऐतिहासिक शिलालेखमा ४९ पङ्क्ति छन्, जसमा २५ पङ्क्तिमा महादेवको स्तुति र बाँकीमा मन्दिर सञ्चालन, नित्य पूजा, आरती लगायतका विधिहरू उल्लेख गरिएका छन् । ब्राह्मण पुजारीमार्फत दैनिक पूजाआजा गरिने यस मन्दिरमा हरेक महिनाको पहिलो दिन, पूर्णिमा र महाशिवरात्रिमा विशेष पूजाको परम्परा छ । हाल बनाइँदै गरेको नयाँ संरचनामा मन्दिरको तल्लो भागमा पाँच तले ईँटको भर्याङ र त्यस माथि तीनतले मन्दिर निर्माण गरिँदैछ । यद्यपि सन् १९७५ को अभिलेखमा यो मन्दिर एकतले देखिए पनि अन्य अभिलेख र प्रमाणका आधारमा हाल तीनतले स्वरूपमा पुनर्निर्माण भइरहेको हो । २०३९ सालको एक अभिलेख अनुसार यो स्थानमा पहिले एक भव्य, कलात्मक मन्दिर रहेको पुष्टि हुन्छ । अझै पनि यहाँ पाँचवटा भुइँतला संरचना बाँकी छन्, जसले पुरातात्त्विक महत्व झल्काउँछन् । गर्भगृहमा शिवलिङ्गका साथै विष्णु, गणेश, सूर्य र देवीका मूर्तिहरू रहेका छन्, जसले पाँचायन देवताको प्रतिनिधित्व गर्छन् । यो मन्दिर केवल धार्मिक स्थल मात्र नभई काठमाडौंको सांस्कृतिक इतिहासको जीउँदो स्मृति पनि हो । पुनःनिर्माणपछि नव देग मन्दिर राजधानीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
माईतीघरमा १९ दिनदेखि शिक्षकहरूको आन्दोलन जारी
काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि प्रदर्शन गर्दै आफ्नो अडान दोहोर्याएका छन् । १९ दिनदेखि काठमाडौंको माईतीघरमा लगातार प्रदर्शन गर्दै आएका शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनु पर्ने हो । उनीहरूले ऐन नआएसम्म आन्दोलन नगर्ने अडान दोहोर्याएका छन् । आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने भए पनि शिक्षकहरूले सो परीक्षामा संलग्न नहुने जानकारी दिए । शिक्षकहरूले शनिबारसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म प्रदर्शन गर्दै आएका थिए । तर, आइतबारदेखि भने आन्दोलनको समय परिवर्तन गरी बिहान ९ बजेदेखि १२ बजेसम्म पुर्‍याइएको छ ।
नेपालमा लोकप्रिय बन्दै इनड्राइभ, यात्रुले आफैं तय गर्न सक्छन् भाडा र चालक
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुको स्वतन्त्रता र पारदर्शितामाथि आधारित सेवा मोडेलमार्फत गतिशीलताको नयाँ परिभाषा दिएको छ । 'आफ्नो यात्राको भाडा आफैं तय गर्नुहोस् र मनपर्ने चालक छान्नुहोस्' भन्ने मोडेलमा इनड्राइभ नेपाली बजारमा अग्रणी राइड–हेलिङ सेवा प्रदायक बन्न पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इनड्राइभको याे मोडेलले यात्रुहरूलाई आफैंले गन्तव्य अनुसार भाडा प्रस्ताव गर्ने, उपलब्ध चालकहरूमध्ये छनोट गर्ने र सवारी साधनको प्रकार समेत रोज्ने स्वतन्त्रता दिन्छ । यो सुविधा परम्परागत एपहरूभन्दा भिन्न छ, जहाँ मूल्य निर्धारण एआई एल्गोरिदमको भरमा हुन्छ । इनड्राइभले यात्रु र चालकबीच पारदर्शी सहमतिको आधारमा मूल्य निर्धारण हुने सुविधा दिएको छ । यस मोडेलले ग्राहक सन्तुष्टि, सुलभ भाडा दर, र पारस्परिक समझदारीलाई प्राथमिकता दिएर नेपाली बजारमा नयाँ मानक स्थापित गरेको छ । कम्पनीले आफ्नो सफलता र लोकप्रियताको मूल कारण प्रयोगकर्तामैत्री सेवा मोडेललाई मानेको छ । इनड्राइभले अन्य परम्परागत राइड–हेलिङ एपहरूभन्दा बढी लचिलोपन र प्रयोगकर्ताको स्वतन्त्रता सुनिश्चित गर्दै आएको छ । इनड्राइभका एपीएसी कम्युनिकेसन लिड पवित्र नन्द आनन्दका अनुसार, 'सन् २०२२ मा नेपालमा यो सुविधा सुरु गरिएको हो । नेपाली बजारमा यात्रुहरूलाई आफूले भाडा निर्धारण गर्न दिने सुविधा ल्याउने पहिलो एप इनड्राइभ नै हो ।' यात्रुहरूले मूल्य, सवारी प्रकार, दूरी, र पिकअप समयका आधारमा आफूलाई उपयुक्त चालक छनोट गर्न सक्ने सुविधा पाइरहेका छन् । इनड्राइभ निष्पक्षता र पारदर्शितामा आधारित मूल्य निर्धारण मोडेलका कारण विश्वव्यापी रूपमा लोकप्रिय बन्दै गएको छ । हाल इनड्राइभ विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड भएको राइड–हेलिङ एप बनेको छ र पछिल्ला तीन वर्षदेखि यस स्थानमा कायम रहन सफल भएको छ । सेन्सर टावरका अनुसार, इनड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा नेपालमा पहिलो स्थान हासिल गरेको छ । यो तथ्यले इनड्राइभको नेपाली बजारमा बलियो उपस्थिति र ग्राहकबीचको विश्वासलाई पुष्टि गर्छ । इनड्राइभ एप २०२४ को डिसेम्बर महिनामा मात्रै विश्वभर ६१ लाखभन्दा बढी पटक डाउनलोड भएको छ । यसले इनड्राइभको अन्तर्राष्ट्रिय सफलता र प्रयोगकर्तामाझको लोकप्रियतालाई स्पष्ट देखाएको छ । पवित्र नन्द आनन्दका अनुसार, इनड्राइभले यात्रु र चालक दुवैको हितलाई ध्यानमा राख्दै सन्तुलित र आत्मनिर्भर इकोसिस्टम निर्माण गरेको छ । 'यहाँ प्रत्येक सवारी गन्तव्यसम्मको यात्रा मात्र होइन, आपसी समझदारी र सन्तुष्टिको अनुभव पनि हो,' उनले भनिन् । यात्रु र चालकबीचको सीधा संवादमार्फत भाडा निर्धारण हुने यो मोडेलले दुवै पक्षको आवश्यकता र सुविधाअनुसार यात्रा सम्भव बनाएको छ ।
बैंकहरूको नाफा ४१.२४ अर्ब रुपैयाँ, नेपाल बैंकको छलाङ, नबिल नम्बर वान
काठमाडौं । वाणिज्य बैंकहरूले ९ महिनामा सवा ४१ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा २० बैंकले १.३८ प्रतिशत अर्थात् ५६ करोड ३८ लाख रुपैयाँ बढाएर ४१ अर्ब २४ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत वर्षको चैतसम्म यी बैंकको खुद नाफा ४० अर्ब ६७ करोड ८९ लाख रुपैयाँ थियो । पछिल्लो समय अर्थतन्त्र सुस्ताएका कारण बैंकहरूले व्यवसाय विस्तार गर्न सकेका थिएनन् । जसको कारण बैंकहरूको आम्दानी घट्न गई त्यसको असर नाफामा परेको देखिन्छ । समीक्षा अवधिमा ११ वटा बैंकको नाफा बढेको छ भने ९ बैंकको नाफामा गिरावट आएको छ । यसअवधिमा सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा नेपाल बैंक अग्रस्थानमा देखिएको छ । यस बैंकले २ हजार ३२ प्रतिशत नाफा बढाएर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । जबकी गत वर्षको चैतमा नेपाल बैंकको नाफा १३ करोड ५ लाख रुपैयाँ मात्रै थियो । तर, नबिल बैंक भने सर्वाधिक नाफा गर्ने बैंक बनेको छ । नबिल बैंकले चैतसम्म ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैतमा बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबी) बैंकको ३८.६१ प्रतिशत बढेर ४ अर्ब ५४ करोड रुपैयाँ, ग्लोबल आइएमईको ३७.१२ प्रतिशत बढेर ४ अर्ब ५३ करोड रुपैयाँ, एभरेष्ट बैंकको ३२.५५ प्रतिशत बढेर ३ अर्ब ४५ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको २८.८९ प्रतिशत बढेर १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै, सानिमा बैंकको १४.७९ प्रतिशत बढेर १ अर्ब ६५ करोड रुपैयाँ, एनएमबि बैंकको ५.८७ प्रतिशत बढेर २ अर्ब ३७ करोड रुपैयाँ, प्रभु बैंकको ३.५० प्रतिशत बढेर १ अर्ब ८७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३.३५ प्रतिशत बढेर १ अर्ब २० करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २.२४ प्रतिशत बढेर १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । समीक्षा अवधिमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको नाफा घटेको छ । एनआईसी एशियाको ९१.८१ प्रतिशत घटेर १५ करोड ६७ लाख रुपैयाँमा नाफा सीमित भएको हो । हिमालयन बैंकको ७४.३३ प्रतिशत घटेर ५० करोड ४८ हजार रुपैयाँ, कुमारी बैंकको ७२.८५ प्रतिशत घटेर २८ करोड ५८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४९.२८ प्रतिशत घटेर १ अर्ब २० करोड रुपैयाँ, प्राइम बैंकको २२.५५ प्रतिशत घटेर २ अर्ब २२ करोड रुपैयाँमा नाफा झरेको छ । यस्तै, सिटिजन्स बैंकको २०.५९ प्रतिशत घटेर ९६ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.१७ प्रतिशत घटेर २ अर्ब १७ करोड रुपैयाँ, कृषि विकास बैंकको १०.१६ प्रतिशत घटेर १ अर्ब ८४ करोड रुपैयाँ र सिद्धार्थ बैंकको १.१९ प्रतिशत घटेर १ अर्ब ६६ करोड रुपैयाँ मात्रै नाफा गरेका छन् ।
सम्पदा लघुवित्तको साधारण सभा सम्पन्न, मर्जर प्रक्रिया अघि बढाउने प्रस्ताव पारित
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा शनिबार तनहुँको बन्दिपुर–५ स्थित मर्स्याङ्दी रिभर भ्यू रिसोर्टमा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पारित गरिएको छ । सभामा ५६.१९ प्रतिशत सेयर सदस्यको उपस्थिति रहेको थियो। राष्ट्रिय स्तरमा सेवा विस्तार गर्दै आएको सम्पदा लघुवित्तले हालसम्म ४४ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थाको हालको चुक्ता पुँजी ७० करोड ८ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ । प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले साधारण सभामा दिएको जानकारीअनुसार संस्थाको पुँजीकोष अनुपात ८.१५ प्रतिशत, खराब कर्जा ४.८० प्रतिशत, प्रति सेयर आम्दानी (इपिएस) १० रुपैयाँ ४८ पैसा रहेको छ । सोही अवधिमा संस्थाले ७ करोड ३४ लाख २१ हजार ९० रुपैयाँ खुद नाफा आर्जन गरेको छ । हाल संस्थाले ९ अर्ब ६९ करोड ६५ लाख ७८ हजार ३ सय ४२ रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, २ अर्ब ५४ करोड ३२ लाख १३ हजार ५८ रुपैयाँ निक्षेप संकलन गरिएको छ । यसबाहेक, संस्थाले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ५६ करोड २८ लाख ५४ हजार ९ सय १३ रुपैयाँ ऋण लिएर लघुवित्त कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ । देशभर १५५ शाखा रहेको सम्पदा लघुवित्तमा हाल १ लाख ७७ हजार ९ सय २ जना सदस्य छन् भने ७६ हजार ९ सय २० जना ऋणी रहेका छन् । सभामा सेयर सदस्यहरूले राखेका जिज्ञासामा अध्यक्ष कृष्ण बहादुर थापा, कम्पनी सचिव पवन कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत पौडेलले स्पष्ट पारेका थिए । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष, सेयर सदस्य तथा पूर्व सञ्चालकहरूले मन्तव्य राखेका थिए । सभाबाट संस्थापक तर्फ अर्जुन कुमार सिंह, हरि प्रसाद डुम्रे, जिब मूर्ती पन्त र प्रदिप सिग्देल शर्मा सञ्चालकमा निर्वाचित भएका छन् । सर्वसाधारण तर्फबाट भेष राज रोकाया र विनोद तमाङ्ग सञ्चालकमा चयन भएका छन् । अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकमा बीपी एसोसिएट्स एण्ड चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ । साथै, अन्य लघुवित्तसँग सम्भावित मर्जरको प्रक्रिया अघि बढाउन नयाँ सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाबाट पारित गरिएको छ ।
कामना सेवा विकास बैंकको वित्तीय विवरण सार्वजनिक, निक्षेप र कर्जामा वृद्धि
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको कर्जा प्रवाह र निक्षेप संकलनमा उल्लेख्य वृद्धि देखिएको छ । बैंकको निक्षेप संकलन अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा ५९.०६ अर्ब रुपैयाँ रहेकोमा यस वर्ष सो बढेर ६१.८९ अर्ब रुपैयाँ पुगेको छ। निक्षेपसँगै कर्जा प्रवाह पनि बढेको छ । अघिल्लो वर्ष ४५.९८ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको बैंकले यस त्रैमासमा कर्जा प्रवाह ४९.४७ अर्ब रुपैयाँ पुर्याएको छ । समिक्षा अवधिमा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ भने कुल सम्पत्ति ७०.२७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा कुल सम्पत्ति ६७.१९ अर्ब रुपैयाँ थियो । बैंकको गैर–सञ्चालक कर्जा (एनपीए) अनुपात ३.५५ प्रतिशतबाट वृद्धि भई ४.२७ प्रतिशत पुगेको छ । यद्यपि, बैंकको निष्कृय कर्जा र कर्जा नोक्सानी व्यवस्थाको अनुपात भने १०४.६४ प्रतिशत रहेको छ, जुन बैंकको जोखिम व्यवस्थापन क्षमताको सूचक हो । बैंकले ब्याजदरको चाप, बढ्दो बजार प्रतिस्पर्धा र साइबर सुरक्षाका चुनौतीहरूबीच पनि व्यवसाय विस्तार गर्न सफल भएको जनाएको छ । हाल बैंकको देशभर १३० वटा शाखा छन्, जसबाट डिजिटल प्रविधिमार्फत विभिन्न वित्तीय सेवा प्रदान गरिँदै आएको छ । बैंकले अघिल्लो वार्षिक साधारणसभाबाट अविमोच्य अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको छ । अहिले उक्त प्रस्ताव नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको प्रक्रियामा रहेको छ ।