‘वार्षिक ८ खर्ब विदेशी मुद्रा आर्जन गर्न सकिन्छ, युवालाई नरोकेर विदेशीलाई नेपाल आउने वातावरण बनाऔं’
काठमाडौं । व्यवसायीहरुले नेपालले सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार गरेर ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सकिने धारणा राखेका छन् । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा बुधबारबाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रूपान्तरण’ विषयक प्यानल डिस्कसन कार्यक्रममा बोल्दै वक्ताहरूले सूचना प्रविधिको निर्यातबाट राम्रो विदेशी मुद्रा आर्जन गर्न सकिने बताएका हुन् । कार्यक्रममा नास आईटीका उपाध्यक्ष गौरव पाण्डे युवालाई विदेश जान रोक्नुभन्दा पनि विदेशिएका युवालाई नेपाल फर्काएर व्यवसाय गर्नको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । आईटी क्षेत्रमा नेपालले धेरै अघि बढेको बताउँदै करिब १ लाख युवा यस क्षेत्रमा आवद्ध रहेको बताए । अबको १० वर्षमा ४ लाख युवालाई रोजगारी प्रदान गर्न सकिने र वार्षिक ८ खर्ब विदेशी मुद्रा आर्जन गर्न सकिने बताए । यसका लागि सरकारको नीति, बैंकिङ सर्पोट महत्वपूर्ण हुने उनको भनाइ छ । कार्यक्रममा गोल्डस्टार सुजका कार्यकारी निर्देशक विदुषी रानाले उत्पादनमूलक क्षेत्रमा नेपालले लगानी बढाउन जरुरी रहेको बताइन् । नेपाली युवाहरूलाई सीप, तालिम प्रदान गरेर, नेपाली राखेर रोजगारी दिन सकिने उनको भनाइ छ । ‘व्यवसाय गर्न नेपालमा मात्रै नभएर विश्वमै चुनौती छ । तर, नेपालमा धेरै चुनौती छन् । जुनसुकै व्यवसायमा प्रविधिको अनिवार्य भैसकेको छ । यदि प्रविधिलाई प्रयोग गरेनाैं भने पछि परिन्छ’, उनले भनिन् । उत्पादनमूलक उद्योगलाई बैंकहरूले प्रवाह गर्ने कर्जा महँगो भएको रानाले बताइन् । ‘नेपालमा करिब १५ सय वटा फुटवेयर कम्पनीहरु छन् । करिब १५० कम्पनी मझौता र ४/५ वटा ठूला कम्पनी छन् । करिब ५० हजार जनालाई प्रत्यक्ष रोजगारी फुटवेयर उद्योगहरुले दिएका छन् । जसमध्ये ७५ प्रतिशत महिला जोडिएका छन् । नेपालबाट विदेश निर्यात हुने जुत्ताहरूमध्ये ९० प्रतिशत गोल्डस्टार रहेका छन् । पछिल्लो १० वर्षयता निर्यात गर्न गाह्रो भएको छ । बैंकको ब्याजदर महंगो छ । ट्रेडिङ र उत्पादनमूलक क्षेत्रमा व्याजदर फरक हुनुपर्छ, ’ उनले भनिन् । उत्पादनमूलक उद्योगलाई सरकारबाट प्रोरेक्शन हुनुपर्नेमा उनको जोड छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले विभिन्न कानुन संशोधन हुने गरी अध्यादेश ल्याएपछि निजी क्षेत्र उत्साहित भएको बताउँदै श्रेष्ठले व्यवसायीमा नयाँ ऊर्जा पलाएको बताए । निजी क्षेत्रले धेरै वर्षदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेको बताउँदै अध्यादेश पास भएपछि अर्थतन्त्र चलायमान हुने उनको दाबी छ । ‘अध्यादेशमा केही अपुग कुराहरू पनि छन् । त्यस विषयमा अध्यादेश टेबल भैसकेपछि छलफल गरौंला’, श्रेष्ठले भने, ‘हामी हाम्रा सुझावहरू पनि पेश गर्ने छौं । त्यसमा माननीयहरूमा अहम भूमिका हुनेमा हामी आशावादी छौं ।’ मुलुकको वर्तमान परिस्थितिलाई सुधार्न गर्न सबै एकजुट हुनुपर्ने उनले बताए । उनले भने, ‘२०/४० प्रतिशतमा मात्रै उद्योग चलिरहेको छ । व्यवसाय सुस्ताएको छ । माग कम छ । व्यवसायिमा नैराश्यता छ । व्यवसायीको मनोदशा गम्भीर छ । मनोदशालाई परिवर्तन गर्न जरुरी छ । नीतिगत स्थिरता र निरन्तरता प्रमुख कुरा हो ।’ राज्यले उद्योग व्यवसाय गर्ने नभई अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ । ‘व्यवसाय गर्दा राज्यलाई के फाईदा दियो त्यो हेर्ने, हो नाफा हेर्ने होइन । हाम्रो पनि व्यावसायिक धर्म हो । हामी नाफा हेर्छौं । उचित र अनुचित नाफामा सरकारले हेर्नुपर्छ,’ श्रेष्ठले भने । उद्यमशीलता विषय घरबाटै सिकाउनु पर्ने श्रेष्ठको भनाइ छ । उद्यमशीलता पाठ्यक्रमा समावेश गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल हुने धारणा राखे । स्टार्टअप सुरु सुरुमै असफल हुने उनको भनाइ छ । बैंकले बिजनेश असफलको रिक्स लिन नसक्ने कारणले स्टार्टअपलाई बैंकहरूले लगानी नगर्ने बताए । स्टार्टअपहरूले बैंकहरु खोज्नेभन्दा पनि सरकारी स्रोतहरू खोज्नुपर्ने उनको सुझाव छ । ‘यदि स्टार्टअप गर्ने हो भने आफ्नो सञ्चित रकमबाट सुरु गर्नुहोस् । यदि पुगेन भने परिवारका सदस्यहरूबाट लिनुहोस् । त्यसले पनि पुगेको भने भेन्चर क्यापिटलहरूमा जानुहोस् । त्यसले पनि पुगेन भने सरकारमा पुग्नुहोस् । यति गरेपछि स्टार्टअप ग्रो हुन्छ र बैंक त्यसपछि तपाईंको पछि-पछि लाग्छ, ’ उनले भने । यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले सरकारको ‘सर्पोट विना’ स्टार्टअप र उद्यमशीलताले गति लिन नसक्ने बताएका छन् । स्टार्टअपलाई सरकारको नीति, शिक्षा र तालिम, बैंकिङ सर्पोट आवश्यक हुने उनको भनाइ छ । उनले नेपालले उद्यमशीलता विषय प्रारम्भिक शिक्षाबाट नै हुनुपर्ने धारणा राखे । स्टार्टअप र उद्यमशीलताका लागि सरकारको सहुलियत कर्जा बढाउनु पर्ने उनको भनाइ छ । सहुलियतपूर्ण कर्जा केन्द्रीय बैंकबाट जान नसकेको बताउँदै नेपालले कर्जा प्रवाह बढाउनुपर्नेमा उनको जोड छ ।
दक्षिण कोरियाली विमानमा आगलागी, १७६ जनाको सकुशल उद्धार
काठमाडौं । दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् । दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागहरूमा आगलागी भएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । विमानका १६९ यात्रु, छ जना चालकदलका सदस्य र एक जना इन्जिनियरलाई एस्केप स्लाइड प्रयोग गरेर बाहिर निकालिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय अग्नि नियन्त्रण निकायले जारी गरेको विज्ञप्तिमा उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको जनाएको छ । अग्नि नियन्त्रण निकायले घटनास्थलमा दमकल र दमकलकर्मीहरू परिचालन गरेको एक घन्टापछि स्थानीय समयानुसार राति ११ः३१ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको बतायो । आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन । यातायात मन्त्रालयले उक्त विमान ए३२१ मोडेलको रहेको बताएको छ । मङ्गलबारको घटना दक्षिणी दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको यात्रु विमान दुर्घटना भएको एक महिना पछि आएको हो । जेजु एयरको विमान दुर्घटनामा विमानमा सवार १८१ जना मध्ये दुई जना बाहेक सबै मारिएका थिए । यो दक्षिण कोरियाको उड्डयन इतिहासमा सबैभन्दा घातक दुर्घटनामध्ये एक थियो । बोइङ ७३७–८०० विमान डिसेम्बर २९ मा ल्यान्डिङ गियर खुल्न नसकेपछि विमानस्थलको धावनमार्गबाट चिप्लिएर कङ्क्रिटको संरचनामा ठोक्किएर आगोको लपेटामा परेको थियो । उक्त उडान बैंककबाट फर्किएको थियो र दुई थाई नागरिक बाहेक सबै पीडित दक्षिण कोरियाली थिए । सोमबार जारी गरिएको दुर्घटनाको पहिलो प्रतिवेदनमा अधिकारीहरूले विमानको इन्जिनमा चराहरू ठोक्किएको प्रमाण फेला पारेको पुष्टि गरेका छन् । यद्यपि अधिकारीहरूले दुर्घटनाको कारण निर्धारण गरिसकेका छैनन् । रासस
लौरेपालो गरेर हुर्काइएको ‘राम्चेवन’ पर्यटकीय गन्तव्य बन्दै
रामपुर। लौरेपालो शब्द अहिले कतै सुनिँदैन। यो शब्द सुन्दा आश्चर्यजनक लाग्छ । लौरेपालेको जीवन्त कथा जोडिएको छ, राम्चे सामुदायिक वनसँग । पाल्पाको रामपुर नगरपालिका–५ मा रहेको राम्चे सामुदायिक वनको नाम लिँदा लौरेपालोको रोचक स्मरण उपभोक्तामा ताजै छ । तर अहिले लौरेपालेको चलन यहाँ छैन । वनले नयाँ स्वरुप धारण गरेर एउटा पर्यटकीय केन्द्रको रुपमा विकसित बनेको छ । अहिले यहाँको पर्या–पर्यटनले पर्यटकलाई आकर्षित बनाएको छ । रामपुरको केन्द्र भागमा अवस्थित रहेकाले हराभरा, पर्यटक लोभ्याउने वनको दृश्यले मनलाई आनन्दमय बनाइरहेको हुन्छ । पर्यटनको गहना बनेको राम्चेवन अहिले उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनेको देख्न पाउँदा खुसी हुन्छन्, ७४ वर्षीय नगिलाल पौडेल । उजाड नाङ्गो डाँडोलाई स्थानीयवासीले संरक्षणमा जोड दिएकाले वनको शीतलता, स्वच्छ हावापानी उपभोग गर्न, पर्यटकीय विकासको रुपमा उपभोग गर्न पाइँदैनथ्यो, एउटा पर्यटक घुम्ने मात्र भई यहाँ प्राकृतिक वस्तुको अध्ययन अवलोकन गर्ने, प्रकृतिको संरक्षण गर्ने थलो बनेको पौडेल बताउँछन् । ‘अवलोकन गर्न लायकको नमूना बनेको छ, आफ्नै जीवनकालमा नाङ्गो डाँडोको रुपमा देखेको वन अहिले यति धेरै परिवर्तन देख्न पाउँदा म एउटा भाग्यमानी उपभोक्ता हुँ भन्ने आफैँलाई गर्व महसुस भएको छ’, उनले भने, ‘२०३९ सालमा उजाडिएको नाङ्गो डाँडो मात्रै थियो, रुख बिरुवा लगाएर यसलाई हराभरा बनाएर भविष्यमा एउटा नमूना वन बनाउन सकिन्छ भनेर स्थानीय बासिन्दा लागेपछि अहिले आफ्नै जीवनकालमा परिवर्तन देख्दा गरे के नहुने रहेछ र ?’, उनले भने। स्थानीयको सक्रियतामा २०३९ सालदेखि वन संरक्षणको प्रयास थालिएको हो । त्यस समय वनको संरक्षणका लागि पञ्चायत समितिमा रहेर काम गरेका पौडेलले सामुदायिक वनको रुपमा दर्ता भएपछि समिति, उपाध्यक्ष, अध्यक्ष पदमा विभिन्न समयमा सक्रियताका साथ सेवा गरे । स्थानीयले संरक्षण नगरेको भए यो वन नाङ्गै डाँडा रहन्थ्यो । उनी भन्छ, ‘चरिचरन गर्न जङ्गलतिर गएका पशु नाङ्गो डाँडोमा छर्लङ्ग देखिन्थे, गाईबाख्रा माथितिर पठाएर हामी तल फाँटमै बसेर हेरिन्थ्यो, अहिले भने घनाघोर, हराभरा, पर्यापर्यटनको रुपमा वन विकास भएको छ, संरक्षणमा उपभोक्ता सबै सचेत छन्।’ करिब एक सय दुई हेक्टर क्षेत्रफलमध्ये पाँच हेक्टर क्षेत्रफल पर्या–पर्यटन क्षेत्र छुट्टाएर पर्यटकीय पूर्वाधार विकासका कार्यहरु गरिरहेको वन उपभोक्ता समूहका अध्यक्ष दयाराम गैरेले बताउनुभयो । जिल्ला डिभिजन वन कार्यालयको सहयोगमा दृश्यावलोकन (भ्युटावर) स्तम्भ, वनभोज गर्ने स्थान, शौचालय, रुखघर, झुला, पानीको फोहोरा, रामसीता र हनुमानको मूर्ति, प्रतीक्षालय, खानेपानीको सुविधा, पक्की पैदलमार्ग, फूलवारी तयार पारिएको अध्यक्ष गैरेले बताउनुभयो । करिब तीन सय ५० जना अट्ने क्षमताको सभाहल रहेको छ । यहाँ विभिन्न सङ्घसंस्थाको सभा, समारोह, गोष्ठीजस्ता कार्यक्रम हुने गरेको छ । उहाँका अनुसार पर्यटकीय क्षेत्रमा दिनमा एक सय बढी अवलोकन गर्न आउने गर्छन् । शनिबार र बिदाको दिन धेरै भीड हुने गर्दछ । हाल भ्युटावर क्षेत्र प्रवेश र पर्या–पर्यटन क्षेत्र रेखदेखका लागि वन समूहबाट हेरालु राखिएको छ । “रामपुरको बजार नजिकै भएकाले यस क्षेत्रमा पछिल्लो समय धेरै टाढाबाट घुमघाम तथा वनभोज गर्न आउने क्रम बाक्लिदै गएको छ, तल बाक्लो वस्ती भएकाले दिउँसो र साँझको समय वनको शीतलता खोज्न आउनुुहुन्छ”, अध्यक्ष गैरेले भन्नुभयो । बेझाड बजारदेखि सजिलै साना तथा ठूला गाडीमा पुग्न सकिने भएकाले अहिले राम्चेवन धेरैको रोजाइमा पर्छ । यहाँको प्राकृतिक वातावरणमा घुमेर मनलाई आनन्दित पार्न युवा समूहको आकर्षण अझ बढ्दो पाइन्छ। रामपुरको मुख्य बजार बेझाड बजारदेखि करिब दुई सय ५० मिटर माथि पर्छ । गत वर्ष वनको स्रोतबाट दुईवटा झुला, रुखघर, रामसीता र हनुमानको मूर्ति निर्माण कार्य गएिको छ । वनभित्र साल, चिलाउने, साज, साज, जामुनो, अमला, सर्पगन्ध, हर्रोबर्रोजस्ता प्रमुख प्रजाति छन् । यहाँ मृग, कालिज, कुखुरा, बाघजस्ता वन्यजन्तु छन् । प्रत्येक उपभोक्ताबाट वनको हेरचाह, रेखदेख भइरहेको छ । वन समूहमा हाल तीन सय २१ घरधुरी संख्या रहेको छ । सरकारले पर्यावरण र पर्यटन प्रवद्र्धनका लागि ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अगाडि सारेकाले पनि सोही अनुरुप यस राम्चे सामुदायिक वनले धमाधम पर्यटकीय क्षेत्र विकासका काममा जोड दिएको छ । विसं २०५४ देखि वनभोजस्थलका रुपमा विकास गर्न थालियो । वनमा पर्यापर्यटनको उद्देश्यले २०६५÷६६ देखि वनभोजका रुपमा निकै चहलपहल हुँदै गयो । २०७२ मा दृश्यावलोकन स्तम्भ सञ्चालनमा आएपछि पर्यटकको थप आकर्षण बढ्दै जान थाल्यो। रामपुर उपत्यका, स्याङ्जाको चापाकोट, तनहुँको घिरिङ्ग क्षेत्रलगायतका विभिन्न कालीगण्डकी बेँसीको उपत्यकाको वारिपारिको दृश्य यहाँको पाँच तलाको दृश्यावलोकन स्तम्भबाट छर्लङ्ग देख्न सकिन्छ । विसं २०१३ मा वनहरु सरकारीकरण भएपछि वन मासेर जग्गा बनाउने काम भएकाले २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि नयाँ वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार सामुदायिक वन दिने भनी व्यवस्था भएअनुरुप वनलाई विधिवत रुपमा समुदायमा हस्तान्तरण गरी संरक्षण र उपभोग गर्न पाउने नीतिका साथमा उपभोक्ता समूह दर्ता भएको हो । विसं २०३०÷३२ देखि राम्चे वनको अवधारणा आएको हो । तत्कालीन रामपुर गाउँ पञ्चायतले राम्चे वनलाई संरक्षण गर्नुपर्छ भन्ने धारणा ल्याएर वडाको कार्यालय सहयोगी खटाएर वनको रेखदेख गर्न थालियो । विसं २०४७ मा सामुदायिक वनका रुपमा हस्तान्तरण गरिएपछि धेरै सुधार हुँदै हराभरा बन्न सकेको छ । जङ्गली जनावरको डर, त्रास, आक्रमण सहेर आफूले दैनिक सेवा गरेर हुकाईएको वनमा हिजोआज वनभोज, घुमघामका लागि पर्यटक भित्रिदा रमाइलो अनुभूति गर्नुहुन्छ, ८० वर्षीया चन्द्रकला नेपाली । जीवनको धेरै समय उहाँले वनको रेखदेखको जिम्मेवारी लिएर बिताइन् । साना बिरुवा अहिले बढेर ठूला भएको देख्दा आफूले जन्माएको सन्तान हुर्काए सरह नै वनप्रति माया बसेको उनले सुनाए । ‘बिहान ४ बजे उठेर वनको रेखदेख गर्न जान्थेँ, जङ्गली जनावरको डर हुन्थ्यो । चितुवा, बाँदरलगायतका जनावरको आक्रमणबाट बचेर घर फर्केका दिन धेरै छन्, दैनिक सबै वन हेरेर घर फर्कदा साँझ रात पथ्र्यो, निकै दुःख गरेर हुर्काएको वन अहिले यति धेरै परिवर्तन र ठूलो वन बनेको देख्दा खुशी लागेको छ’ उनले भने । वन समूहको आयस्रोत वनमा उत्पादन भएका दाउरा, काठपात बिक्री नै आयस्रोत रहेको छ । साथै पर्या–पर्यटनबाट पनि वनले आयआर्जन गरिरहेको छ । काठपात, दाउराबाट वन समूहले वार्षिक रुपमा सरदरमा रु छ लाख बराबरको आयआर्जन हुने गरेको छ । गतवर्ष मात्रै काठपात, दाउरा बिक्री गरेर रु नौ लाख आम्दानी गरेको जनाइएको छ । वार्षिक रुपमा पर्या–पर्यटन, सभाहल, वनभोजबाट करिब रु एक लाख आम्दानी हुने गरेको छ । विपन्न वर्गको आयस्तर उकास्न करिब दुई हेक्टर क्षेत्रफलमा अम्रिसो, घाँसपात लगाइएको छ । यसबाट विपन्न व्यक्तिले आयआर्जन गरिरहेका छन् । नयाँ उपभोक्ता सदस्य बन्न चाहनेको हकमा उपभोक्ता समितिले निश्चित मापदण्ड तोकेको छ । एकाघर परिवारबाट छुट्टाभिन्न भएका सदस्यलाई सामान्य शुल्क रु तीन सय तोकिएको छ भने नयाँ उपभोक्ता बन्नेलाई हाल रु २५ हजार प्रवेश शुल्क बुझाउनुपर्नेछ । हाल वनको अवस्था उपभोक्ता समितिले संरक्षण गरेका सालका रुख हर्लक्कै हुर्केका छन् । सालका रुखको उमेर ३५ वर्षको भयो । सरदरमा ४० इन्च गोलाइका रुखहरु तयार भएका छन् । दशवटा ब्लक विभाजन गरेर वनको संवद्र्धन भइरहेको छ । प्रत्येक वर्ष झाडी सुधारबाट निस्केको काठपात, दाउरा उपभोक्तालाई निःशुल्क वितरण गरिन्छ। उपभोक्तालाई सुलभ मुल्यमा काठ, दाउरा उपलब्ध गराइन्छ । प्राकृतिक रुपमा निस्केका बिरुवालाई संरक्षण गरिदै अहिले वनले पर्यटकीय क्षेत्रको रुपधारण गरेको छ। उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्व तथा विभिन्न समय समयमा घाँस, दाउरा, स्याउला उपलब्ध गराइएको छ। प्राकृतिक विपत्तिमा उपभोक्तालाई निःशुल्क काठ, दाउरा निःशुल्क वितरण गरिनेछ । धार्मिक, सामाजिक कार्यका लागि उपभोक्ताको निवेदनको आधारमा काठदाउरा उपलब्ध छ । वन समूहले आर्जन गरेको आम्दानीबाट २५ प्रतिशत रकम विपन्न वर्गको हितमा खर्चिइएको छ भने २५ प्रतिशत वन सम्बद्र्धनमा लगानी र बाँकी रकम सडक, पँधेराजस्ता सामाजिक क्षेत्रमा खर्चिने गरिएको छ । बिरुवा हुर्काउन लौरेपालो बिरुवा हुर्काउन वन समूहले उपभोक्ताबाट लौरेपालो सुरु गर्यो । प्रत्येक घरधुरीबाट दैनिक दुई जनाको पालो कायम गरेर वनको रेखदेख गरिन थालियो । यो कार्य करिव एक दशक चल्यो । बिरुवा बढ्दै जान थालेपछि वन समूहले लौरेपालो छाडेर उपभोक्ताभित्रबाट निश्चित पारिश्रमिक दिने गरी एक जना हेरालु राखेको जनाइएको छ । लौरेपालो टोलअनुसार विभाजन गरेर गरिन्थ्यो । यो निरन्तर चलिरहन्थ्यो । बिहानदेखि साँझसम्म दैनिक दुई जना उपभोक्ताले वन घुमेर रेखदेख गर्नु पर्दथ्यो । वनबाट फर्केपछि साँझ पालोअनुसार अर्को उपभोक्ताको घरमा लैरो बुझाउनुपर्ने चलन थियो। भोलिपल्ट सो लौरो लिएर जानुपर्ने नियम अनुसार सबै उपभोक्ताले अनिवार्य वन रेखदेख गर्नुपर्यो । नयाँ योजना यस्ता छन् यहाँ आउने पर्यटकलाई लक्षित गरेर मिनि चिडियाखाना निर्माण गरिने वन समूहको योजना छ । त्यसको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । बेलखोल्सीमा बाँध बाँधेर पोखरी निर्माण गरी सिमसार क्षेत्र बनाइनेछ । पानी सञ्चित गर्न, वन व्यवस्थापन र वनभित्र रहेका पानीका मूल संरक्षणका लागि सिमसार क्षेत्र बनाउने तयारी छ । यस क्षेत्रमा पर्यटक लक्षित सिमसार क्षेत्रको माथि वारपार गर्न काठको झोलुङ्गे पुल, वन समूहको कार्यालय भवन परिसरमा उद्यानसहितको बृहत् पार्क निर्माण गरिने योजना रहेको जनाइएको छ । रासस
ओपनएआई भन्छ- प्रविधि जोगाउन अमेरिकी सरकारसँग मिलेर काम गर्छौं
काठमाडौं । कृत्रिम बाैद्धिकता (एआई) च्याटजीपीटी निर्माता ओपनएआईले प्रविधि जोगाउन अमेरिकी सरकारसँग मिलेर काम गर्ने जनाएकाे छ । मंगलबार विज्ञप्ति जारी गर्दै ओपनएआईले यस्तो बताएकाे हाे । ओपनएआईको यो टिप्पणी ह्वाइट हाउसले चीनको डीपसीकबाट हुनसक्ने राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताहरूको मूल्याङ्कन गरिरहेको खबर सार्वजनिक भएपछि आएको हो। ‘एआईको अग्रणी विकासकर्ता भएकाले हामी हाम्रो बौद्धिक सम्पत्ति (आईपी) को रक्षा गर्न विभिन्न उपायहरू अपनाइरहेका छौं । जसमा सार्वजनिक मोडेलहरूमा कुन अत्याधुनिक क्षमताहरू समावेश गर्ने भन्ने कुरा सावधानीपूर्वक छनोट गर्ने प्रक्रिया पनि समावेश छ। हामीलाई विश्वास छ कि आगामी दिनहरूमा अमेरिकी प्रविधिलाई प्रतिस्पर्धी तथा प्रतिद्वन्द्वीहरूको हस्तक्षेपबाट बचाउन अमेरिकी सरकारसँग घनिष्ठ रूपमा सहकार्य गर्नु अत्यन्त महत्त्वपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ । ओपनएआईले चिनियाँ कम्पनीहरूले एआई मोडेलहरूलाई सुधार गर्न अमेरिकी प्रतिस्पर्धीहरूबाट प्रविधि सिक्न प्रयास गरिरहेकाे पनि उल्लेख गरेको छ । ह्वाइट हाउसका एआई र क्रिप्टो नीति निर्देशक डेविड स्याक्सका अनुसार डिस्टिलेसन भन्ने एक एआई प्रविधि प्रयोग गरी चिनियाँ कम्पनीहरूले अमेरिकी प्रविधि सिक्न सक्छन् ।
स्वास्थ्य बीमामा ५ लाख रूपैयाँसम्मको उपचार खर्च दिन प्रस्ताव, स्वास्थ्य बीमा ऐन संसोधन हुने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन्। स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखत विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले भनेका थिए । सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएपछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएका हुन् । कार्ययोजनाका आधारमा मन्त्रिपरिषद बैठकमार्फत स्वास्थ्य बीमामा सुधारसम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै ५ लाख पुर्याउने गरी तयारी गरिरहेको बताएका थिए । प्रतिवेदनमा ५ लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश छ । मन्त्रिपरिषदबाट निर्णय भएमा संसदको अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संसोधनको प्रक्रिया अघि बढाउने तयारी उनले गरेका छन् । समितिले विभिन्न संगठित संस्थाका उपचार कोषलाई स्वास्थ्य बीमा कोषसँग आवद्ध गर्दै लग्नुपर्ने बताएको छ । आकस्मिक बाहेक निःशुल्क उपचारका सबै कार्यक्रमलाई बीमामा आबद्ध गरी निःशुल्क उपचारका लागि स्वास्थ्य संस्थालाई उपलब्ध गराउने अनुदान बीमा मार्फत दिने विषय पनि प्रतिवदेनमा उल्लेख छ ।
नेक्सजेन म्यानेजमेन्टले फागनु १ गतेदेखि कर्जा प्रवाहपछि व्यवस्थापकीय परामर्श सेवा दिने
काठमाडौं । नेक्सजेन म्यानेजमेन्टको संचालक समितिले कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा संचालन गर्ने भएको छ । कम्पनी संचालक समितिको बैठकले फागुन १ गतेदेखि बैंक तथा वित्तीय संस्थाका ऋणीहरूलाई यस्तो सेवा प्रदान गर्ने भएको हो । बैंकिङ क्षेत्रमा खराब कर्जा बढदै छ । कर्जा प्रवाह पछि ऋणीले कर्जा रकम उचित प्रयोग गर्न नजान्दा चाहेर नचाहेर पनि समस्यामा पर्दै गईरहेका छन । ऋणीसँग उद्योग व्यवसाय संचालनको उचित ज्ञान नहुने र कर्जा प्रवाहपछि बैंकले नियमित परामर्श पनि नदिने भएकोले कर्जाहरू क्रमशः खराब कर्जा बढ्न पुगेको कम्पनीका प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार खराब कर्जाको अवस्थालाई समयमै संबोधन नगर्ने हो भने संकट आउन सक्नेछ । बैंकहरूले प्रवाह गरेको कर्जा असुल नहुने र ब्याजदर न्यून बिन्दुमा पनि नयाँ कर्जा नजाने स्थितिले आर्थिक अवस्था भयावह हुने संकेत गरेको उनले बताए । त्यसैले समयमा समस्या समाधानका लागि विशेषज्ञ सेवा लिन आवश्यक रहेको उनको भनाइ छ । नेक्सजेन म्यानेजमेन्ट बैंकका पूर्वकार्यकारी प्रमुखहरूको संस्था हो । यो कम्पनीले सम्पत्ती व्यवस्थापन र व्यवसायिक परामर्शको कार्य गर्दै आईरहेको छ । नेक्सजेनका विशेषज्ञहरूले कर्जा प्रवाहपछि न्यूनतम शुल्कमा परमर्श सेवा दिई कर्जालाई खराब हुनबाट रोक्ने प्रयास गर्नेछ । यस अन्तर्गत उद्योग व्यवसायले लिने कर्जा र बिक्री रकमको उचित प्रयोग, लेखाप्रणालि र करको व्यवस्थापन, कस्टुमर रिलेशनसिप तथा बजार व्यवस्थापनमा परामर्श दिनेछन । त्यसैगरी उधारो बिक्री र असुली व्यवस्थापन, फण्ड म्यानेजमेन्ट, बैक कर्जा भुक्तानी तथा नियमकीय व्यवस्था परिपालनको लागि आवश्यक पर्ने परामर्श नियमित रूपमा दिने योजना बनाईएको छ । नेक्सजेन र बैंकबिच सम्झौता भएर निश्चित रकम सेवाशुल्क तोकि मासिक रूपमा उद्योगी व्यवसायीको सम्पर्कमा रहि स्थलगत अवलोकन गरि आवश्यक परामर्श दिने कार्यक्रम रहेको छ ।
बीवाईडीको संसारकै ठूलो कार क्यारियर ‘बीवाईडी शेनजेन’ सार्वजनिक, ९ हजार बढी गाडी बोक्न सक्ने
काठमाडौं । चीनको नयाँ ऊर्जा गाडी (एनईभी) निर्माण गर्ने अग्रणी कम्पनी बीवाईडीले ‘बीवाईडी शेनजेन’ सार्वजनिक गरेको छ । यो संसारकै ठूलो रोल-अन रोल-अफ कार क्यारियर हो । यस जहाजले ९ हजार २०० गाडी बोक्न सक्ने क्षमता राख्छ । चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल-फ्युल प्रविधि, बीवाईडीका अत्याधुनिक ब्याट्री प्याक र शाफ्ट जेनेरेटरद्वारा सञ्चालित छ । बीवाईडीले सन् २०२६ सम्म आफ्नो जहाज संख्या ८ पुर्याउने योजना बनाएको छ, जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पुर्याउने विश्वास लिइएकाे छ । २०२४ मा बीवाईडीले ४ लाख १७ हजार ००० भन्दा धेरै विद्युतीय गाडी विदेश पठायो जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो । विद्युतीय गाडीको माग बढ्दै जाँदा बीवाईडी नयाँ प्रविधि, दिगो समाधान, र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको छ ।
७ सय ९० गर्भवती तथा सुत्केरी महिलाको उद्धारमा २२ करोड ५८ लाख खर्च
काठमाडौं । नेपाल सरकारले ७ सय ९० जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरेको छ । आर्थिक वर्ष २०७५/०७६देखि सुरु भएको हवाई उद्धार कार्यक्रममा चालु आव २०८१/०८२ को पुस मसान्तसम्ममा ७ सय ९० जना महिलाको उद्धार गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशबाट महिलाको उद्धार गरिएको छ । यो प्रदेशबाट अहिलेसम्म २ सय २९ गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । त्यस्तै, कोशी प्रदेशबाट २ सय ११, बागमती प्रदेशबाट १ सय ७, गण्डकी प्रदेशबाट ३५, लुम्बिनी प्रदेशबाट १४ जना महिलाको उद्धार गरिएको छ भने सुदूरपश्चिम प्रदेशबाट १ सय १७ जना महिलाको उद्धार गरी आमा र बच्चाको ज्यान जोगाइएको छ । २२ करोड ५८ लाख खर्च जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाइ उद्धारका लागि सरकारले २२ करोड ५८ लाख खर्च गरेको छ । ७ सय ९० जना महिलाको उद्धारका लागि २२ करोड ५८ लाख खर्च लागेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका हवाई उद्धार सम्पर्क व्यक्ति इन्दिरा आचार्यले उद्धारका लागि छुट्याइएको ३० करोड ९९ लाख मध्ये २२ करोड ५८ लाख खर्च भएको बताइन् । उनका अनुसार उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिन्छ । एउटा चार्टरमा कति जति खर्च लाग्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘यसमा ठ्याक्कै यति नै खर्च लाग्छ भन्ने हुँदैन, कहिले राम्रो मौसम नहुँदा भनेकै बेला जान र ल्याउन सकिँदैन । कतिपय हुम्ला जुम्लाका महिलालाई पनि काठमाडौं नै ल्याउनुपर्ने हुन्छ । यस्ता विविध कारणले यति नै खर्च लाग्छ भन्न सकिँदैन ।’ मन्त्रालयका सूचना अधिकारी केशवप्रसाद उपाध्याय कतिपय अवस्थामा अन्य हेलिकोप्टर पनि प्रयोग गर्नुपर्ने अवस्था आएकाले ठ्याक्कै एक चार्टरमा कति खर्च लाग्छ भन्ने विषयमा भन्न नसकिने बताउँछन् । नेपाली सेनाले भने आफ्नो हेलिकोप्टरको दररेट तोकेको छ । उसले आफ्नो तोकिएको दररेट अनुसार पैसा लिने गरेको छ । मातृ र बाल मृत्युदर घटाउन नेपालका दुर्गम र विकट जिल्लामा सुत्केरी हुन नसकी ज्यान गुमाउनुपर्ने अवस्थामा आएका महिलाहरूको तत्काल हेलिकाेप्टरमाफर्त उद्धार गरी ज्यान जोगाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दार्चुला, बैतडी बाजुरा, संखुवासभा, ओखलढुङ्गा लगायत देशभरका १९ जिल्लामा पूर्ण र २९ जिल्लामा आंशिक गरी ४८ जिल्लामा यो कार्यक्रम जारी छ । कुनैपनि आमाले सुत्केरी हुन नसकेर आफ्नो ज्यान जोगाउन नपरोस् र बच्चाको पनि ज्यान तलमाथि नहोस् भन्ने यो उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ । १३ अस्पतालमा निःशुल्क सेवा सरकारले हेलिकोप्टरमार्फत उद्धार गरेका महिलाहरूको देशका १३ अस्पतालमा नि:शुल्क उपचार गराउँदै आएको छ । देशका सात वटै प्रदेशमा तोकिएका अस्पतालमा महिलाको कुनै उपचार खर्च लाग्दैन । जसमा सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको सेती अस्पताल, कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतको कालगाउँमा रहेको कर्णाली प्रदेश अस्पताल, लुम्बिनी प्रदेशको लुम्बिनी अञ्चल अस्पताल, दाङस्थित राप्ती उपक्षेत्रीय अस्पताल र बाँकेस्थित भेरी अञ्चल अस्पतालमा उपचार गराउँदै आएको छ । यस्तै, कोशी प्रदेशको कोशी अञ्चल अस्पताल, मधेश प्रदेशको सगरमाथा अञ्चल अस्पताल, धनुषाको जनकपुरस्थित जनकपुर अञ्चल अस्पताल र पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई तोकिएको छ । त्यस्तै, बागमती प्रदेशको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, चितवनको भरतपुरस्थित भरतपुर अस्पताल र गण्डकी प्रदेशको कास्कीको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई तोकिएको छ ।