विकासन्युज

काव्य स्कूलले थप्यो १६ हाइगर ईभी भ्यान

काठमाडौं । काव्य स्कूलले एकैदिन १६ वटा हाइगर ईभी भ्यान थपेको छ । काठमाडौंस्थित सशीला मोटर्स प्रालिले विद्यालयलाई एकै पटक १६ वटा विद्युतीय गाडी हस्तान्तरण गरेको हो । नयाँ बानेश्वरस्थित काव्य स्कूलको प्रांगणमा आयोजित कार्यक्रममा सशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले विद्यालयका प्रिन्सिपल नवराज बास्कोटालाई गाडीको चाबी हस्तान्तरण गरेका हुन् । विद्यालयले १६ सिट क्षमताका ४ र १४ सिट क्षमताका १२ वटा हाइगर ईभी भ्यान खरिद गरेको हो । प्रिन्सिपल बास्कोटाले हाइगर ब्राण्डको विश्वसनीयता र सशीला मोटर्सको सर्भिसका कारण विद्यालयले हाइगर इभी भ्यान रोजेको बताए । उनले नयाँ विद्युतीय भ्यान थपिएपछि विद्यार्थीलाई प्रदान गरिने सेवा झनै गुणस्तरीय हुने विश्वास व्यक्त गरे । सशीला मोटर्सका प्रबन्ध निर्देशक खतिवडाले गाडी बिक्री मात्र नभई बिक्रीपछिको सेवा प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको उल्लेख गरे । उनले गाडीको दीर्घकालीन सञ्चालनका लागि आवश्यक सेवा तथा समन्वय सुनिश्चित गर्ने प्रतिबद्धता जनाए । सशीला मोटर्स नेपालमा कमर्सियल गाडीहरूको बिक्री तथा वितरणमा स्थापित डिलर हो। कम्पनी विश्व प्रसिद्ध हाइगर ब्राण्डको आधिकारिक बिक्रेता रहेको छ । हाइगरले १३० भन्दा बढी देशमा उपस्थिति जनाइसकेको छ भने ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’को उपाधि समेत प्राप्त गरेको छ ।

भूमिगत वितरण प्रणालीमार्फत विद्युत आपूर्ति सुरु, ५४ प्रतिशत निर्माण सम्पन्न

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पर्यटकीय नगरी पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ । पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउने काम सम्पन्न भएको क्षेत्रका ग्राहकहरूलाई सोही प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । पहिलो चरणमा पोखराको कुँडहर १३२/११ केभी सबस्टेसनदेखि पश्चिमतर्फ अमरसिंह चोक, बुद्धचोक हुँदै सेती नदी पुल खण्डसम्मको वितरण लाइन भूमिगत गरी त्यस क्षेत्रका करिब तीन सय ग्राहकलाई विद्युत् आपूर्ति दिइएको हो । मुग्लिङ–पोखरा सडक विस्तार आयोजनासँगको समन्यमा प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गरी त्यहाँस्थित जमिनमाथिको (ओभरहेड) लाइन र पोलहरु हटाइएको छ । तार भूमिगत गरिएपछि गुजुल्टिएको तारले बनाएको कुरुपता हटी उक्त क्षेत्र सुन्दर देखिएको छ । सुरुमा कुँडहर सबस्टेसनसम्मको वितरण प्रणालीमात्र भूमिगत गर्ने व्यवस्था भएता पनि पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निक्लनासाथ यात्रुहरूले गुजुल्टिएको तारले कुरूप बनेको सहर देख्ननपरोस् भनी विमानस्थलको मुख्य प्रवेशद्वारसम्म विस्तार गरिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वितरण प्रणाली भूमिगत बनाउने कार्यको अनुगमन गरी काम सम्पन्न भएको क्षेत्रमा क्रमश: विद्युत् आपूर्ति दिन र ओभरहेड संरचनाहरू हटाउन निर्देशन दिए । कार्यकारी निर्देशक घिसिङले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड, एयरपोर्ट लगायतमा क्षेत्रमा भइरहेको कामको अनुगमन गरेका थिए । महानगरपालिका, सडक कार्यालयलगायतका निकायसँग समन्वय गरी लेकसाइडको बाँकी काम तत्काल सम्पन्न गरी भूमिगत प्रणालीमार्फत विद्युत आपूर्ति दिन प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय प्रमुख र आयोजनालाई कार्यकारी निर्देशक घिसिङले निर्देशन दिए । पोखरा वितरण केन्द्रअन्तर्गत पर्ने पोखराको मुख्य सहर तथा सडकहरूमा रहेका ११ केभी एवम् ४०० भोल्ट लाइनलाई भूमिगत गर्ने र उक्त क्षेत्रहरूमा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ । हालसम्म पोखरा क्षेत्रको समग्र निर्माण प्रगति ५४ प्रतिशत रहेको आयोजना प्रमुख आनन्द सुवेदीले बताए । लेकसाइडस्थित अधिकतम स्ट्रिट क्षेत्रमा काम सम्पन्न भएकाले अव त्यहाँ पनि छिट्टै भूमिगत प्रणालीमार्फत विद्युत् आपूर्ति दिइने प्रमुख सुवेदीले बताए । विद्युतीय तारसँगै अप्टिकल फाइबर बिछ्याउने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् । हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको चालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने छ । हावाहुरी, पानी, चट्याङ इत्यादिको कारणले विद्युत् प्रणालीमा अवरोध नहुने हुँदा भूमिगत वितरण प्रणालीबाट प्रदान गरिने विद्युत् भरपर्दो, गुणस्तरीय र सुरक्षित हुँदा विद्युतीय दुर्घटनाबाट हुनसक्ने जनधनको क्षति न्यून हुनेछ । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो । आयोजनाको निर्माणका लागि असोज २०७८ मा टाटा प्रोजेक्ट लि भारतसँग १ करोड ६७ लाख अमेरिकी डलर र ४९ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पोखरा क्षेत्रको काम आगामी साउनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

शिखर इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। माघ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २०८०/८१ को सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रहेको छ । नियामक निकाय बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुने छ ।

तोलामा २ हजार ३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

ग्लोबल कार उद्योग ट्रम्पको मेक्सिको र क्यानडाविरुद्धको ट्यारिफ धम्कीको शिकार

मेक्सिकोमा रहेको अडी कारको प्लान्ट । काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १ देखि मेक्सिको र क्यानडाबाट आयात गरिने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने प्रतिबद्धता जनाएका छन् । मेक्सिको र क्यानडाबाट निर्यात गरिने करिब ९० प्रतिशत कारहरू अमेरिका जाने मेक्सिकोको अटोमोटिभ म्यानुफ्याक्चरर्स एसोसिएसन (एएमआईए) र क्यानाडाको भेहिकल म्यानुफ्याक्चरर्स एसोसिएसनले जनाएको छ । जर्मन कार निर्माता कम्पनीहरू प्रभावित हुने फक्सवागनजस्ता जर्मन कार निर्माता कम्पनीहरूले ट्यारिफविरुद्ध चेतावनी दिएका छन् । उनीहरूका अनुसार यसले उपभोक्ताहरूका लागि मुद्रास्फीति निम्त्याउनेछ । अडी अडी फक्सवागनको अडी प्लान्ट मेक्सिकोको सान जोस चिआपामा रहेको छ, जसले क्यू फाइभ उत्पादन गर्छ । यसले २०२३ मा लगभग १ लाख ७६ हजार कार उत्पादन गरेको थियो, जसमध्ये २०२४ को पहिलो छ महिनामा मात्रै ४० हजार कार अमेरिका निर्यात गरियो । बीएमडब्ल्यू बीएमडब्ल्यूको मेक्सिकोको सेन लुइस पोतोसीमा रहेको कारखानाले ३ सिरिज, २ सिरिज कुपे र एम टु उत्पादन गर्छ । फर्ड फर्डसँग मेक्सिकोमा तीन प्लान्ट छन् । यसले २०२४ को पहिलो छ महिनामा करिब १ लाख ९६ हजार कार उत्तर अमेरिका निर्यात गर्‍यो, जसको ९० प्रतिशत अमेरिका गयो । क्यानडामा फर्ड र जीएम फर्ड क्यानडाको ओकभिलमा रहेको प्लान्टले २०२६ बाट ठूलो ग्यास इन्जिनयुक्त ए–सिरिज पिकअप ट्रक उत्पादन गर्ने जनाइएको छ । जनरल मोटर (जीएम)ले २०२४ मा क्यानडा र मेक्सिकोबाट ७ लाख ५० हजार कारहरू अमेरिका आयात ग¥यो, जसमा सेभ्रोलेट सिल्भराडो, जीएमसी सिएरा र मध्यम आकारका एसयूभीहरू छन् । अन्य कार निर्माता कम्पनीहरू होन्डाले आफ्नो मेक्सिको उत्पादनको ८० प्रतिशत अमेरिका निर्यात गर्छ । माज्दाले २०२३ मा करिब १ लाख २० हजार कार अमेरिका निर्यात ग¥यो तर ट्यारिफ लागेमा लगानी पुनर्विचार गर्ने बताएको छ । निसानले मेक्सिकोका दुई प्लान्टमा सेन्ट्रा, भर्सा र किक्स उत्पादन गर्छ । टोयोटाले मेक्सिकोका दुई प्लान्टमा टकोमा पिकअप ट्रक बनाउँछ । फक्सवागनको ठूलो लगानी फक्सवागनको पुएब्लामा रहेको कारखाना मेक्सिकोको सबैभन्दा ठूलो अटो प्लान्ट हो। क्यानडा फक्सवागनले ओन्टारियोमा ७ अर्ब क्यानेडियन डलरको ब्याट्री गिगाफ्याक्ट्री निर्माण गर्दैछ, जसको उत्पादन २०२७ मा सुरु हुने अपेक्षा छ । अटो पार्ट्स आपूर्तिकर्ताहरू पनि प्रभावित हुने ट्रम्पको ट्यारिफले अटो पार्ट्स आपूर्तिकर्ताहरू पनि प्रभावित हुने बताइएको छ । अटोलिग एयरब्याग र सीट बेल्ट निर्माता कम्पनी हो, जसको मेक्सिकोमा १ लाख ५ सय कर्मचारी छन् । यसैगरी, मिचेलिन टायर उत्पादक कम्पनी हो, जसका मेक्सिको र क्यानडामा कारखाना छन् । त्यस्तै, चिनियाँ कम्पनी यानफेङ, जसले जीएम र टोयोटालाई सिट आपूर्ति गर्छ । यदि ट्रम्पले ट्यारिफ लागू गरेमा अमेरिका र उत्तर अमेरिकी अटो उद्योगमा ठूलो असर पर्नेछ । सान्दर्भिक सामग्री :  ट्रम्पको शुल्कको धम्कीले युरोपका अटो दिग्गज सशंकित, फरारीलाई भने छैन तनाव २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने विश्वव्यापी मुख्यालय विस्तार गर्दै रोल्स-रोयस, लगानी ३७० मिलियन डलर स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी

ट्रम्पले अमेरिकामा भएको भयानक हवाई दुर्घटनाको दोष कर्मचारीमाथि लगाए, ‘ब्ल्याक बक्स’ भेटियो

काठमाडौं । अमेरिकामा दुर्घटना भएको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । अन्तर्राष्टिय सञ्चार माध्यमहरुले खोजीकार्यका क्रममा ब्ल्याक बक्स भनिने विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परेको उल्लेख गरेका हुन् । ब्ल्याक बक्स जाँच गरेपछि हवाइ दुर्घटनाको कारण खुल्नेछ । अब राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा ब्ल्याक बक्स जाँच गरिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । स्थानीय समयानुसार बुधबार राति करिब ९ बजे अमेरिकी एयरलाइन्सको विमान वासिङटन डीसीनजिकै आकाशमा ब्ल्याक हक हेलिकोप्टरसँग ठोक्किएको थियो । दुर्घटनामा विमानमा सवार सबै ६४ जनाको मृत्यु भएको जनाइएको छ । बम्बार्डियर कम्पनीको यो सीआरजे ७०० विमान कन्सासबाट वासिङटनतर्फ जाँदै थियो । यो दुर्घटना अमेरिकामा साढे दुई दशकपछि भएको बुझिएको छ । सन् २००१ मा एअर फ्लोरिडाको फ्लाइट ९२९ दुर्घटनामा परेको थियो जसमा ७८ जनाको ज्यान गएको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार ह्वाइट हाउसमा पत्रकार सम्मेलन राख्दै हवाइ दुर्घटनाको कारण यसअघिको सरकारको कमजोरी रहेको बताएका छन् । उनले आफूभन्दा अगाडिको डेमोक्र्याटिक पार्टीको प्रशासनले फेडरल एभिएशन एड्मिनिस्ट्रेशनमा एअर ट्राफिक कन्ट्रोलरहरू भर्ती गर्दा कमजोर र न्यून मापदण्ड अपनाइएको हुनाले दुर्घटना निम्तिएको हुन सक्ने आरोप लगाएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा ।

बेलचौतारा- मुस्ताङ पुल निर्माणमा ढिलाइ, चार वर्षमा ३० प्रतिशत प्रगति

तनहुँ । बेलचौतारा– मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका छन् । चारवर्षमा जम्मा ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । मूल्य अभिवृद्धि करसहित १५ करोड ५९ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले कोभिडकालमा भएको आर्थिक क्षतिका कारण निर्धारित समयमा काम पूरा नभएको बताएको छ । यसैबीच, पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले भने निर्माण कम्पनीलाई हालसम्म रु.आठ करोड १३ लाख भुक्तानी भइसकेको बताएका छन् । ‘टेल फाउण्डेशन’मा निर्माण हुने पुलको लम्बाइ एकसय ५० दशमलव ४ मिटर हुनेछ । चारवटा स्पानमध्ये हालसम्म एउटा मात्र बनेको छ ।

संस्थापकले बिक्रीमा राखे एनएमबि बैंकको सेयर, सर्वसाधारणले समेत किन्न पाउने

काठमाडौं । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार विविन्न सेयरधनीहरूले ५१ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।