विकासन्युज

ललितपुर महानगरको १३ र २५ वडा जोड्ने नख्खु खोलाको मोटरेबल पुल आजदेखि सञ्चालन

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं १३ कुसुन्ती र वडा नं २५ भैंसीपाटी जोड्ने मोटरेबल पुल आजदेखि सञ्चालनमा आएको छ । शुक्रबार महानगरका नगरप्रमुख चिरीबाबु महजर्नले उक्त पुलको उद्घाटन गरेसँगै पुल सञ्चालनमा आएको हो । यो पुल सञ्चालनमा आएसँगै वडा न. १३, १४ २५ तथा दक्षिण ललितपुर बुंगमती, खोकनातर्फ जाने जनताले बैकल्पिक सडकको रुपमा सुविधा लिन सक्ने भएका छन् । यस ठाउँको पुल निर्माण श्री तामाङ मरिन कन्सट्रक्सन प्रालिले पाएको थियो । उक्त कम्पनीले २ करोड ७० लाख रुपैयाँमा ठेक्का पाएको हो । सम्झौता २०७९ भदौ ३ गते भएको थियो भने काम सुरु २०७९ भदौ ५ गतेबाट भएको थियो । काम सुरु भएको २ वर्षभित्र सकाउने सम्झौता भएपनि सम्पन्न नभएपछि म्याद थप गरिएको महानगरले जनाएको छ । महानगरका अनुसार २०८१ मंसिर २० गते म्याद थप भई निर्माण सुरु भएर सम्पन्न भएको थियो ।

रास्वपाले गर्‍यो प्रतिनिधिसभा बैठक बहिस्कार, सभामुखले दिएनन् बोल्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा संसद बैठक बहिस्कार गरेको छ । रास्वपाले अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यसूची अघि बढाएपछि रास्वपाका सांसदले बैठक बहिस्कार गरेका हुन् । रास्वपाले हिउँदे अधिवेशन सुरु हुनासाथ आकस्मिक समय मागेर अवरोध गरेको थियो । उनीहरूले बैठकको सुरुमै आफूहरूले आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै अवरोध गरिरहेका थिए । तर, सभामुख घिमिरेले समय नदिएपछि उनीहरुले सभा नै बहिस्कार गरेर बैठकबाट बाहिरिएका हुन् ।

निलम्बन फुकुवा गरिदिन सभापति लामिछानेले सभामुख घिमिरेलाई दिए निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेसँग भेट गर्दै आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि निवेदन दिएका छन् । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको उक्त भेटमा सभापति लामिछानेले सभामुख घिमिरेसमक्ष निलम्बन फुकुवाका लागि निवेदन बुझाएका हुन् । सभापति लामिछानेले आफू थुनामुक्त भएको व्यहोरा उल्लेख गर्दै निलम्बन फुकुवाको निवदेन बुझाएका हुन् । सभापति लामिछानेसँगै उपसभामुख इन्दिरा राना, रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियारलगायतका सांसदहरुले सभामुख घिमिरेसँग भेट गरे । सङ्घीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । निलम्बीत सांसद लामिछानेले संसदको बैठकमा सहभागी भई विधायीकाको जिम्मेवारी बहन गर्न मार्ग प्रशस्त गर्न वातावरण मिलाइ दिन सभामुख घिमिरेसमक्ष अनुरोध गरे । प्रतिनिधिसभा सदस्य लामिछानेलाई गत पुस ८ गते प्रतिनिधिसभा सचिवालयले सांसद पदबाट निलम्बन गरेको थियो ।

प्रभु ग्रुपका कम्पनीको धमाधम रेटिङ, आईपीओका लागि तयारी, आम्दानी कस्तो छ ?

काठमाडौं । प्रभु ग्रपको लगानी रहेका अधिकांश कम्पनीले धमाधम रेटिङ गराउन थालेका छन् । पछिल्लो अवधिमा आधा दर्जन बढी कम्पनीले रेटिङ एजेन्सीमार्फत् रेटिङ गराएका हुन् । केही दिनअघि मात्रै प्रभु हेलिकोप्टर, प्रभु क्यापिटल र प्रभु मनि ट्रान्सफरले रेटिङ गराएका छन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार प्रभु हेलिकोप्टरले सन् २०२४ मा २६ करोड रुपैयाँ आम्दानी गरेको छ । यस हेलिकोप्टरले यसअघि सन् २०२३ मा ४१ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो एक वर्षको अवधिमा यस कम्पनीले ३७.६४ प्रतिशतले सञ्चालन आम्दानी घटेको छ । कम्पनीले ६४ करोड रुपैयाँ ऋणका लागि रेटिङ पनि गराएको छ । कम्पनीले एनपी बी माइनस रेटिङ पाएको छ । यस्तै, कम्पनीले आईपीओ निष्कासनको तयारी पनि गरेको छ । कम्पनीले फागुन ४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी बढाउने प्रस्ताव साधारणसभामा गर्ने जानकारी दिएको छ । यस्तै, प्रभु ग्रुपको लगानी रहेको प्रभु मनि ट्रान्सफरले पनि रेटिङ गराएको छ । यस मनि ट्रान्सर्फरले सन् २०२४ मा १८ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यसअघि सन् २०२३ मा कम्पनीले सन् ३० करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो एक वर्षको अवधिमा यस कम्पनीको पनि आम्दानी ४०.७७ प्रतिशत घटेको छ । पछिल्लो चार आर्थिक वर्षमा यस कम्पनीको आम्दानी निरन्तर घट्दै गएको छ । कम्पनीको सन् २०२१ मा ५४ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा सन् २०२२ मा ४४ करोड १० लाख रुपैयाँ मात्रै गरेको थियो । कम्पनीले एक अर्ब १० करोड रुपैयाँ ऋणका लागि पनि रेटिङ गराएको छ । जसमा कम्पनीले एनपी ए फोर रेटिङ प्राप्त गरेको छ । प्रभु ग्रुपकै लगानी रहेको प्रभु क्यापिटलले पनि रेटिङ गराएको छ । कम्पनीले एक अर्ब ऋणका लागि रेटिङ गराएको हो । जसमा कम्पनीले केयर रेटिङ नेपालबाट दीर्घकालीन ऋणका लागि एनपी थ्री बी माइनस र अल्पकालीन ऋणका लागि एनपी ए थ्री रेटिङ पाएको छ ।   यसका हलावा प्रभु ग्रुपकै लगानी रहेको प्रभु इन्स्यारेन्स, प्रभु बैंक र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि सन् २०२४ मै रेटिङ गराएका छन् । प्रभु ग्रुपकै लागनीमा अहिले दुई रिसोर्ट पनि छन् । सेकोङ रिसोर्ट मुस्ताङमा छ भने धोरपाटन रिसोर्ट हाल निर्माणाधीन छ । प्रभु ग्रुपको डेढ दर्जन करिब दुई दर्जन कम्पनीमा लगानी छ ।

आरविवि मर्चेन्ट बैंकिङको १० औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । श्री राष्ट्रिय वाणिज्य बैंक लिको शत प्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले १० औं वार्षित्कोसव सम्पन्न भएको छ । सञ्चालक समितीका अध्यक्ष सरस्वती अधिकारीको सभापतित्वमा वार्षिकोत्सव मनाइएको हो । उक्त अवसरमा प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, विशेष अतिथि राष्ट्रिय वाणिज्य बैंक लिका प्रमख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, सिडिएस एण्ड क्लियरिङ लिका प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाक लगायतको उपस्थिति रहेको थियो । कम्पनीको ९ वर्षमा भएका कार्य प्रगतिमा संस्थाको आर्थिक वर्ष २०७३/७४ मा ०.३५ रुपैयाँ ईपीएस रहेकोमा २०८०/८१ मा १९.०७ रुपैयाँ प्रति सेयर ईपीएस कायम भएको छ । साथै आ.व २०७३/७४ मा १००.७५ रुपैयाँ नेट वर्थ रहेको मा आ.व २०८०/८१ मा १२८.०५ रहेको छ । कुल आयमा आर्थिक वर्ष २०७३/७४ देखि आ.व २०८०/८१ मा आइपुग्दा २०१ प्रतिशतले वुद्धि भएको र खुद मुनाफामा ६६० प्रतिशतले वृद्धि गरी आ.व.२०८०/८१ मा १८ प्रतिशत नगद लाभांशसमेत गरी कुल ५३.६६ प्रतिशद नगद लाभांश राष्ट्रिय वाणिज्य बैंकलाई दिएको छ । यसरी समग्र रूपमा आर्थिक प्रगतिका सूचकांकहरूलाई हेर्दा कम्पनीको मुनाफामा उल्लेख्य वृद्धि भएको छ । सो अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिका शाखा कार्यालयहरूमध्ये उत्कृष्ट हितग्राही खाता खोल्ने १० वटा शाखा कार्यालयहरू, बानेश्वर, कीर्तिपुर, इटहरी, चरिकोट, ललितपुर, नक्साल, सल्लेरी, सुर्खेत, हेटौडा, बालाजु शाखाहरूका शाखा प्रमुखहरूलाई सम्मान गरियो । साथै संस्थाका २ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान पत्रका साथै नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

व्यवसायीले कर छल्न नसक्ने प्रकारको प्रणाली विकास गर्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवसायीले कर छल्न नसक्ने प्रकारको कर प्रणाली स्थापित गरिनुपर्नेमा जोड दिएका छन् । नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षाको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २८ औं वार्षिकोत्सव मूल समारोहलाई सम्बोधन गर्दै उनले कर र राजस्वको क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको भन्दै उनले कर प्रणालीमा धेरै सुधार चाहिएको बताए । अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र सही दिशामा चलायमान गराउन र वित्तीय अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण रहेको बताए । ‘कर सुधार र राजस्व वृद्धिका कुरा गरिरहे पनि पछिल्ला कतिपय तथ्याङ्कले यस्तो नदेखाएको भन्दै उनले भने, ‘कर प्रणालीमा सुधारको कुरा गर्छौं तर त्यसमा चाहेअनुसार  सुधार गर्न सकिरहेका छैनौं । कुनै पनि व्यवसायीले कर छल्न नसक्ने र औचित्यमा आधारित कर प्रणाली स्थापित गर्ने सन्दर्भमा हामीले अझै धेरै काम गर्न बाँकी छ ।’ चार्टर्ड एकाउन्टेन्टको काँधमा वित्तीय लेखाजोखा मूल्याङ्कन गर्ने जिम्मेवारी रहेको भन्दै उनले त्यो ठीक भएको खण्डमा वित्तीय सुशासन आफै सही ठाउँमा आउने दावी अर्थमन्त्री पाैडेलको छ । उनले सार्वजनिक वित्त व्यवस्थापन सुधारमा महत्वपूर्ण भूमिका खेल्ने समेत सुझाव दिए । मुलुकको कर प्रणाली सुधार र राजस्व वृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरूको महत्त्वपूर्ण सहकार्यको अपेक्षा सरकारले गरेको उनले बताए पूँजीबजार दीगो, भरपर्दो र विश्वसनीय तरिकाले अगाडि बढाउन र कुनै पनि प्रकारका चिटिङ प्रवेश हुन नदिन आइक्यानले आफ्नो ठाँउबाट भूमिका खेल्न सक्ने उनको अपेक्षा छ । सरकारले अर्थतन्त्र सामु आएका समस्या समाधान गर्न एकसाथ २९ कानून संशोधन गर्न अध्यादेश ल्याएको बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउन, लगानी बढाउन, उत्पादन बढाउन, रोजगारी बढाउन र विदेशी लगानी आकर्षण गर्न सरकारले प्रयास गरिरहेको दावी गरे । सो अवसरमा महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेले अर्थतन्त्र विकासमा वित्तीय प्रणाली सुधार आवश्यक हुने र यसमा चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण रहेको बताए । विश्वमै चार्टर्ड एकाउन्टेन्ट एक प्रतिष्ठित व्यवसाय भएको भन्दै उनले सरकारको प्रतिनिधि र कर अधिकृतका रूपमा रहेको उनको भनाइ छ । सो अवसरमा आइक्यानका अध्यक्ष प्रविण कुमार झाले लेखा, लेखापरीक्षण तथा कर लगायत विषयमा चार्टर्ड एकाउन्टेन्टले गहन अध्ययन र सोही क्षेत्रमा तालिम तथा व्यावसायिक अनुभव प्राप्त गर्ने हुनाले चार्टर्ड एकाउन्टेन्टलाई विज्ञको रूपमा हेरिँदै आइएको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष सीए प्रवीणकुमार झाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन तथा २०८१–८२ देखि २०८५/८६ सम्मको पञ्चवर्षिय रणनीतिक योजना सार्वजनिक गरे । यस रणनीतिमा ४ प्रमुख रणनीतिक नियत, २० रणनीतिक लक्ष्य र ८० कार्यनीति रहेको संस्थाले जनाएको छ । रणनीतिहरुमा लेखा व्यवसायको पहुँच र विश्वसनीयता बिस्तार गर्ने, सदस्यहरुलाई अधिकतम सहभागिता र सरोकारवालासँग सहकार्य गर्ने, आर्थिक समृद्धिका लागि सरकारको साझेदारीका रुपमा बिस्तार गर्ने र ग्लोबल स्ट्यान्डिङ अभिवृद्धि गर्ने तथा संस्थागत प्रभावकारीता र दीगो विकास रहेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अर्थात इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल विशेष ऐन “नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तरगत स्थापना भएको नियमनकारी निकाय हो । यसले नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षालाई नियमित गर्न नियमनकारी निकायको रूपमा कार्य गर्दै आएको छ । आधा दिवसीय सम्मेलनमा दुई कार्यपत्र संस्थाको २८ औं वार्षिकोत्सवका अवसरमा काठमाडौं र उपत्यकाबाहिर विभिन्न गतिविधि आयोजना गरिएका थिए । बिहीबार नै २८ औं वार्षिकोत्सवका अवसरमा संस्थाले आधा दिवसीय सम्मेलन समेत आयोजना गरेको छ ।  सम्मेलनमा दुई कार्यपत्र प्रस्तुत भए । संस्थाका निर्देशक सीए किरण कुमार खत्रीले प्रस्तुत गरेको पहिलो कार्यपत्रमाथि संस्थाका अध्यक्ष झा, नेपाल राष्ट्र बैंकका एएमएल/सीएफटी विशेषज्ञ डा. हरि नेपाल र फाइनान्सियल इन्टिलिजेन्स यूनिट प्रमुख बासुदेव भट्टराई, सीए अमन उप्रेती र सम्पत्ति शुद्धीकरण निवारण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले छलफल गरेका थिए । दोस्रो कार्यपत्र सिए शैलेन्द्र उप्रेतीले प्रस्तुत गरेका थिए । संस्थाले बिहीबार नै सातौं चार्टर्ड एकाउन्टेन्ट दीक्षान्त समारोह आयोजना गर्‍यो । यस अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशर जंग बरालले चार्टर्ड एकाउन्टेन्सीका विभिन्न तहमा उत्कृष्ट अंकसहित उत्तीर्ण हुने विद्यार्थीलाई पदक तथा प्रमाणपत्र प्रदान गरे । सो अवसरमा ७७ जना विद्यार्थी दीक्षित भएका छन् ।

सामसङ नेपालले लन्च गर्‍यो आजसम्मकै शक्तिशाली ग्यालेक्सी एस २५ सिरिज, मूल्य २ लाख

काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५+ र ग्यालेक्सी एस २५ स्मार्टफोन लन्च गरेको छ। समारोहमा सामसङ नेपालका निर्देशक प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१६ की अश्मी श्रेष्ठले ग्यालेक्सी एस २५ सिरिजको अनावरण गरे । ग्यालेक्सी एस २५ सिरिज सामसङको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम हो, जसले एआई एजेन्ट र मल्टिमोडल क्षमताहरूलाई प्रयोगकर्ताको अन्तरक्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ । यस सिरिजमा विशेष रूपमा कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलीट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईको लागि उच्चतम प्रोसेसिङ पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्ने कम्पनीले जनाएको छ । ग्यालेक्सी एस २५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजÞाइन गरिएको सामसङको एआई फर्स्ट प्लेटफर्म वन युआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज हो । ग्यालेक्सी एस २५ सिरिजको साइड बटन थिचेर जेमिनीलाई एक्टिभ गर्न सकिन्छ । गोपनीयता सुरक्षितसँग हाइपर–पर्सनलाइज्ड अनुभव ग्यालेक्सी एस २५ सिरिजले पर्सनल डेटा इन्जिनको माध्यमबाट व्यक्तिगत डेटा उपकरणमै सुरक्षित रूपमा विश्लेषण गरी व्यक्तिगत एआई फिचर प्रदान गर्दछ । नोक्स भाल्टले सबै व्यक्तिगत डेटालाई गोप्य र सुरक्षित राख्छ । क्वान्टम कम्प्युटिङ प्रविधि विकाससँगै देखा पर्न सक्ने नयाँ खतरा विरुद्ध तपाईँको डेटा सुरक्षित राख्न ग्यालेक्सी एस २५ सिरिजले पोस्ट–क्वान्टम कृप्टोग्राफी को सुविधा पनि प्रदान गर्दछ । ग्यालेक्सी एस २५ सिरिजः सबैभन्दा शक्तिशाली ग्यालेक्सी ग्यालेक्सी एस २५ सिरिजमा ग्यालेक्सीको लागि बनिएको स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरिएको छ, जुन ग्यालेक्सी एस सिरिजकै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रोसेसर हो । यसले अघिल्लो पुस्ताको तुलनामा एनपियुमा ४० प्रतिशत, सीपीयूमा ३७ प्रतिशत र जीपीयूमा ३० प्रतिशत प्रदर्शन सुधार प्रदान गर्छ । मजबुत र टिकाउ डिजाइन ग्यालेक्सी एस २५ अल्ट्रा अहिलेसम्मकै सबभन्दा पातलो, हलुका र बलियो ग्यालेक्सी एस सिरिजको स्मार्टफोन हो । यसमा टिकाउ टाइटेनियम र नयाँ कोर्निंग गोरिल्ला अर्मर २ समावेश गरिएको छ । ग्यालेक्सी एस २५+ र एस २५ का प्रत्येक बाह्य भागमा कम्तीमा एउटा पुनः प्रयोग गरिएको सामग्री समाहित गरिएको छ र पहिलो पटक मेटल फ्रेममा पुनः प्रयोग गरिएको आर्मर एल्युमिनियम प्रयोग गरिएको छ । सात जेनेरेसनको ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेटसहित, ग्यालेक्सी एस २५ सिरिजले लामो समयसम्म भरपर्दो र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ । प्रि–अर्डर अफरहरू ग्यालेक्सी एस २५ सिरिजको प्रि–अर्डर अफर बिहीबारदेखि सुरु भएको छ । १ फाल्गुनसम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रि–अर्डर गर्ने ग्राहकहरूले ग्यालेक्सी एस २५ अल्ट्रा खरिद गर्दा १२/२५६जीबीबाट १२/५१२जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स ३ प्रो, जसको मूल्य रु ३१,९९९ रहेको छ, मात्र रु १४,९९९ मा प्राप्त गर्न सक्नेछन् र साथै, रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन् । ग्यालेक्सी एस २५+ र ग्यालेक्सी एस २५ बेस प्रि–अर्डर गर्दा ग्राहकहरूले रु ३१,९९९ मूल्य रहेको ग्यालेक्सी बड्स ३ प्रो रु १४,९९९मा र रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन् । ग्यालेक्सी एस २५ १२/२५६ जीबीकाे मूल्य १ लाख १५ हजार र १२/१२८ जीबीकाे मूल्य १ लाख ५ हजार रुपैयाँ रहेकाे छ । ग्यालेक्सी एस २५ प्लस १२/२५६ जीबीकाे मूल्य १ लाख ४२ हजार रुपैयाँ रहेकाे ५ । ग्यालेक्सी एस २५ अल्ट्रा १२/५१२ जीबीकाे मूल्य २ लाख रुपैयाँ रहेकाे छ भने १२/२५६ जीबीकाे मूल्य १ लाख ८५ हजार रुपैयाँ रहेकाे छ ।  

काव्य स्कूलले थप्यो १६ हाइगर ईभी भ्यान

काठमाडौं । काव्य स्कूलले एकैदिन १६ वटा हाइगर ईभी भ्यान थपेको छ । काठमाडौंस्थित सशीला मोटर्स प्रालिले विद्यालयलाई एकै पटक १६ वटा विद्युतीय गाडी हस्तान्तरण गरेको हो । नयाँ बानेश्वरस्थित काव्य स्कूलको प्रांगणमा आयोजित कार्यक्रममा सशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले विद्यालयका प्रिन्सिपल नवराज बास्कोटालाई गाडीको चाबी हस्तान्तरण गरेका हुन् । विद्यालयले १६ सिट क्षमताका ४ र १४ सिट क्षमताका १२ वटा हाइगर ईभी भ्यान खरिद गरेको हो । प्रिन्सिपल बास्कोटाले हाइगर ब्राण्डको विश्वसनीयता र सशीला मोटर्सको सर्भिसका कारण विद्यालयले हाइगर इभी भ्यान रोजेको बताए । उनले नयाँ विद्युतीय भ्यान थपिएपछि विद्यार्थीलाई प्रदान गरिने सेवा झनै गुणस्तरीय हुने विश्वास व्यक्त गरे । सशीला मोटर्सका प्रबन्ध निर्देशक खतिवडाले गाडी बिक्री मात्र नभई बिक्रीपछिको सेवा प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको उल्लेख गरे । उनले गाडीको दीर्घकालीन सञ्चालनका लागि आवश्यक सेवा तथा समन्वय सुनिश्चित गर्ने प्रतिबद्धता जनाए । सशीला मोटर्स नेपालमा कमर्सियल गाडीहरूको बिक्री तथा वितरणमा स्थापित डिलर हो। कम्पनी विश्व प्रसिद्ध हाइगर ब्राण्डको आधिकारिक बिक्रेता रहेको छ । हाइगरले १३० भन्दा बढी देशमा उपस्थिति जनाइसकेको छ भने ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’को उपाधि समेत प्राप्त गरेको छ ।