बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी एकीकृत विद्युतीय प्रणाली लागू गर्ने मन्त्री पौडेलको निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रूपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् । हाल हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियन्त्रणमा रहने एकीकृत राष्ट्रिय प्रणालीमा सबै स्वास्थ्य संस्थाका अभिलेख प्राप्त गर्ने व्यवस्था मिलाउने निर्णय मन्त्री पौडेलले गरेका हुन् । सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरुले अब विद्युतीय चिकित्सा अभिलेख प्रणाली २०८१ अन्तर्गत एक अर्कासँग बिरामीका तथ्यांक तथा विवरण साझा गर्न मिल्ने गरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्नेछ । त्यसो भएमा बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनाको अन्त्य हुनुका साथै स्वास्थ्यसम्बन्धी नीति निर्माणमा एकीकृत तथ्यांक प्राप्त हुने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । ‘रोगको निदान तथा उपचार पद्धतिमा बिरामीलाई कम भार परोस् भन्ने हाम्रो चाहना हो,’ मन्त्री पौडेलले भने, ‘बिरामीको खर्च र परीक्षणको दोहोरोपना रोक्न र प्रभावकारी सेवा दिन नयाँ व्यवस्थाले सघाउ पुर्याउने अपेक्षा गरेका छौं ।’ उनले सदर गरेको विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ ले एकीकृत अभिलेखन गर्दा सेवाप्रदायक तथा सेवाग्राही दुवै कागजी झण्डझटबाट जोगिनुका साथै अर्को पटक पुनः सेवा लिन आउँदा पहिलेकै रेकर्डका आधारमा उपचार हुने भएकाले सेवाग्राही र प्रदायक दुवैलाई सहजता हुन गई सेवा प्रवाह चुस्त र शुलभ हुने मन्त्रमलयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । हाल विद्युतीय प्रणाली अस्पतालहरुमा लागू भए पनि एक अर्काबीच तथ्यांक आदानप्रदान गर्नेखालका छैनन् । यसले गर्दा बिरामीले पटक-पटक एकै खालका जानकारी हरेक ठाउँमा बुझाउनुपर्ने बाध्यता छ । नयाँ व्यवस्थापछि यो समस्या हट्ने अपेक्षा गरिएको प्रवक्ता बुढाथोकीले बताए । अब स्वास्थ्य संस्थाहरूले प्रणालीको स्थापना गरी एक अर्कालाई कार्यक्षेत्र र कार्य विवरणका आधारमा बिरामीका विवरणमा पहुँच दिनुपर्नेछ । प्रणालीमा बिरामीको पहिचान नम्बरका आधारमा स्वस्थ्य समस्या निदान, चिकित्सकीय सुझाव, प्रयोगशाला तथा रेडियोलोजी जानकारी अनिवार्य प्रविष्ट हुनुपर्ने निर्देशिकामा छ । बिरामीको चिकित्ससकीय सेवावापतको भुक्तानी समेत अनलाइन हुने व्यवस्था गरिएको छ । प्रणालीमा नाम दर्तादेखि सेवाग्राही, आकस्मिक सेवा, फार्मेसी, प्रतिवेदन, ब्लक बैंक, बेड मोड्युल हुनुपर्ने निर्देशिकामा छ । मन्त्रालयले सेवाग्राही पोर्टल विकास गरेर उपचारमा संल्गन स्वस्थ्यकर्मीबाहेकलाई सूचनामा पहुँच नहुने तथा सरकारले कानून बमोजिम माग गरेमा सूचना उपलब्ध गराउन सक्ने गरी प्रणाली सञ्चालन गर्नेछ । नागरिकका स्वास्थ्य समस्याका जानकारीका आधारमा राज्यले लिने नीति र कार्यक्रममासमेत एकीकृत प्रणालीले मद्दत पुर्याउने अपेक्षा गरिएको छ । मन्त्रालयले यस प्रणाली तीनै तहमा र हरेक स्वास्थ्य संस्थामा विद्युतीय अभिलेखका लागि एउटा एकाई बेग्लै एकाइ परिकल्पना गरिएको छ । साथै संघीय तहमा मन्त्रालयले अतिरिक्त सचिवको नेतृत्वमा निर्देशक समिति गठन गरेर प्रणालीको अनुगमन तथा समस्या समाधानमा भूमिका खेल्ने निर्देशिकाले परिकल्पना गरेको छ । [pdf id=537432]
सवा २० अर्ब लगानीमा मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत आयोजना बन्ने, ४ बैंकको लगानी
काठमाडौं । मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा ४ बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । बिहीबार कुमारी बैंक लिमिटेडको अगुवाइमा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडको संयुक्त लगानीमा हुने गरी ऋण सम्झौता भएको हो । हाल ४ वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि लगानी गर्ने बताइएको छ । निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ । प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ कुमारी बैंक लिमिटेडले ४ अर्ब, प्रभु बैक लिमिटेडले ३ अर्ब, सिद्धार्थ बैक लिमिटेडले २ अर्ब र कृषि विकास बैंक लिमिटेडले १.५ अर्ब लगानी गर्नेछन् । स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुने जनाइएको छ । डोल्मा इम्पाक्ट फण्डले पनि स्वपुँजी लगानी गर्न पूर्व आवश्यक व्यावसायिक मूल्यांकन अध्ययन अगाडि बढाएको कम्पनीका अध्यक्षले बताएका छन् । यही समूहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड सेतीखोला जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कार्तिक ०१ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन सुरु गर्नु पर्ने मिति २०८६ साल वैशाख २२ रहेको छ । आयोजना प्राविधिक परामर्शदाता श्री क्लिन इनर्जी कन्सलटेन्स प्रालि रहेको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) स्वीकृतिका लागि सम्बन्धित निकायमा पेश भएको छ कम्पनीका अध्यक्षले बताएका छन् । आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब-स्टेशनमा २२०/१३२ केभी मा जोडिने छ । मर्स्याङ्दी नदी गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहु जिल्लाको भानु नगरपालिका भएर बग्छ ।
नेपालगञ्जमा अब अशोक लेल्यान्डको नयाँ रिटेल पार्ट्स आउटलेट
काठमाडौं । परिचित कमर्सियल सवारीसाधन निर्माता कम्पनी अशोक लेल्यान्डले विशेष रिटेल पाट्र्स आउटलेट ‘जेके पाट्र्स’ सञ्चालनमा ल्याएको छ । कम्पनीले उक्त बिक्री केन्द्र मार्फत अशोक लेल्यान्डका जेन्युइन स्पेयर पार्ट्स र एसेसरिजसहितको वान-स्टप सोलुसन उपलब्ध गराउने जनाएको छ । नेपालगञ्जको भुजैगाउँमा खुलेको सो नयाँ आउटलेटमा अशोक लेल्यान्डका सवारीधनी र फ्लिट अपरेटरका विविध आवश्यकता पुरा हुने गरी उच्च गुणस्तरीय, फ्याक्ट्रीद्वारा प्रमाणित पार्ट्स र एसेसरिज उपलब्ध हुनेछन् । एक कार्यक्रमका बीच उक्त आउटलेटको उदघाटन अशोक लेल्यान्ड भारतका पार्ट्स प्रतिनिधि मलय साहु र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले संयुक्त रूपमा गरेका थिए । अशोक लेल्यान्ड भारतका पाट्र्स प्रतिनिधि मलय साहुले भने, ‘रिटेल पार्ट्स आउटलेटले हाम्रा ग्राहकलाई अझै सेवा प्रदान गर्न र जेन्युइन अशोक लेल्यान्ड पाट्र्स उपलब्ध गराउन सहयोग गर्नुका साथै आफ्नो सवारी साधनको पर्फमेन्स बढाउन र लामो समय चल्न सक्षम बनाउने छ ।’ त्यसैगरी, अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले भने, ‘आईएमई मोटर्सले ग्राहकलाई सधैं उच्च स्तरीय सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी दिनमा जेन्युइन अशोक लेल्यान्ड पार्ट्स उपलब्ध गराएर हाम्रो सेवाको गुणस्तर अझै वृद्धि हुने र सवारी साधनको विश्वसनियता र सुरक्षा समेत अझै बढाउने हाम्रो लक्ष्य छ ।’
तेल उत्पादनमा महिला, मनग्य नाफा
काठमाडौं । हामीलै दैनिक भान्छामा प्रयोग गर्ने तेल कति स्वस्थकर छ भन्ने कुरा विभिन्न कारकहरूमा निर्भर हुन्छ । बजारमा विभिन्न प्रकारका तेल उपलब्ध छन् । तीमध्ये हामीले कुन तेल प्रयोग गरिरहेका छौँ, कति मात्रामा प्रयोग गरिरहेका छौं त्यसले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ । हामीले प्रयोग गर्दै आएका खाने तेल कुनै पनि हालतमा शुद्ध छैनन् । तेलमात्रै नभएर हामीले प्रयोग गर्ने हरेक वस्तुमा मिसावट छ । गोकर्णेश्वर नगरपालिकाको बेंसीगाउँस्थित सिद्धिदात्री महिला समूहले यही कुरालाई मध्यनजर गरी तेल मिल सञ्चालन गरी शुद्ध तोरीकोे तेल उपलब्ध गराउँदै आइरहेका छन् । बजारमा प्याकेजिङ भएर आएको मिसावट तोरीको तेलको सट्टामा शुद्ध तोरीको तेल उपभोक्तासामु उपलब्ध गराउने उद्देश्यले तेल उत्पादन थालिएको समूहका संस्थापक अध्यक्ष तारादेवी फुयाँलले बताइन् । ‘हामी धेरैजसो महिलाहरूको जिम्मेवारी भान्सा सम्हाल्ने नै हो । भान्सामा हामी आफैले मिसावट तेल प्रयोग गरिहँदा मन खिन्न हुन्छ । हामीलाई सकेसम्म परिवारलार्ई शुद्ध नै खुवाऔं भन्ने हुन्छ । यसले हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ,’ अध्यक्ष फुयाँलले भनिन्, ‘हामीले स्वास्थ्यमा पनि लाभ हुने, उत्पादन खपत पनि सहजै हुने भएकाले तेल मिल सञ्चालन गर्ने निर्णय गरेर तेल उपलब्ध गराउन थालेका हौं ।’ तेल मिल सञ्चालन हुनुअघि सबै महिलाहरू छलफलमा जुटेका थिए । सबैको सुझाव तेल मिलले स्वस्थ तेल भान्छामा पुग्ने, अर्कोतिर रोजगारी पनि हुने अनि यसले समाजमा राम्रो सन्देश प्रवाह हुने भएकाले सुरु गर्ने निष्कर्ष निस्केको फुयाँलले सुनाइन् । नगरपालिकाको सहयोग कुनै पनि व्यवसाय या उद्योग सुरु गर्छु भनेर मात्रै हुँदैन । त्यसको लागि पुँजीको ठूलो आवश्यकता हुन्छ । समूह आफैसँग मिल सञ्चालनको लागि पुँजी पर्याप्त थिएन । तसर्थ समूहले मात्रै यो व्यवसाय सुरु गर्न सक्ने अवस्था थिएन । शुद्ध तेल नगरबासीलाई दिने उद्देश्य प्रष्ट पार्दै मिल सञ्चालन गर्न सहयोगको लागि नगरपालिका पुगेको फुयाँलले सुनाइन् । नगरपालिकाबाट सकारात्मक प्रतिक्रिया आएसँगै सहयोगसमेत प्राप्त भएको फुयाँलले कुराकानीको क्रमममा बताइन् । अध्यक्ष फुयाँलका अनुसार तेल मिल सञ्चालनको लागि नगरपालिकाले १३ लाख रुपैयाँ सहयोग जुटायो । उक्त रकमले मेसिन किन्नको लागि ठूलो राहत मिलेको उनले बताइन् । नगरपालिकाको सहयोगले मात्रै मिल सञ्चालनको लागि आवश्यक सामग्रीहरू नपुगेपछि महिला समूहले सहकारीमार्फत कर्जा लिएर तेल मिल सञ्चालन गरेको फुयाँलले सुनाइन् । उनका अनुसार कुल १९ लाख लागतमा २०७८ साल असारबाट तेल मिल सञ्चालनमा आएको हो । अहिले धेरै ठाउँबाट यस कामको लागि सकारात्मक प्रतिक्रिया पाइरहेको उनी बताउँछिन् । ‘स्थानीय स्तरमा उत्पादन भएको तोरी प्रयोग गरेर, यही पेलेर यहाँका बासिन्दालाई तेल खुवाउन पाउँदा हामी खुसी छौं, उहाँहरू पनि खुसी हुनुहुन्छ,’ उनले भनिन् । यहाँ उत्पादन भएको तेल नगरपालिकाभित्र मात्रै नभएर बाहिरी जिल्लाहरूमा पनि बिक्री हुँदै आएको फुयाँलले बताइन् । ‘हामीले उत्पादन गरेको तेलको खपत निकै नै राम्रो छ,’ उनले भनिन्, ‘अहिले उत्पादित तेल नगरपालिकाभित्र मात्रै नभएर भक्तपुर, बानेश्वर, सुन्दरीजल, नयाँपाटी, गोर्खासम्म पुग्छ ।’ महिला समूहले अहिलेसम्म तेललाई कुनै ब्राण्डिङ, प्याकेजिङबिना नै बिक्री गर्दै आइरहेको छ । धेरैजना ग्राहकहरू मिलमै आएर तेल किनेर लाने गरेको उनले बताइन् । ‘हामीले तेलको ब्राण्डिङ गरेका छैनौं, घरायसी खाना प्रयोगको लागि उपभोक्ता आफै नै लिन आउनुहन्छ । कसै–कसैले आफ्नो पसलमा लगेर बिक्री गर्छु भन्दै सहजीकरणको लागि लानुहुन्छ,’ उनले भनिन् । फुयाँलका अनुसार दैनिक १२० देखि १३० लिटरसम्म तेल उत्पादन र ५० देखि सय लिटरसम्म तेल बिक्री हुने गरेको छ । चाडपर्वको बेलामा तेलको प्रयोग बढी हुने भएकाले त्यो बेलामा भने त्योभन्दा बढी तेल जाने उनले जानकारी दिइन् । सुरुवाती चुनौती नगरपालिकाको सहयोगमा सञ्चालन भएको हुँदा सुरुवाती चरणमा थप आलोचनाहरूको सामना महिला समूहले गर्नुपर्यो । नगरपालिकाले पैसा चलाएर आफै खायो कि भन्नेसम्म सुन्नुपरेको फुयाँलको अनुभव छ । विभिन्न व्यक्ति र ठाउँबाट आएका आलोचनालाई पनि सुझावको रूपमा लिएर काम गर्दा अहिले सफलता प्राप्त भएकोमा खुसी छिन् उनी । हिजो पैसा लिएर खायो भन्नेहरूले पनि अहिले सकारात्मक प्रतिक्रिया दिन थालेको उनी सुनाउछिन् । ‘हामीले नगरपालिकाबाट सहयोग लिएको पैसाको सही सदुपयोग गरेका छौं, त्यसलाई घटाएका छैनौं बरु बढाउँदै लगेका छौं,’ उनले भनिन्, ‘बाधाहरू काम गर्ने मान्छेलाई आउने हो । हामीले उद्योग दर्ता गरेका छौं, सरकारलाई कर तिरेका छौं, हरहिसाब राखेका छौं ।’ कुनै काम गर्न सहज छैन । व्यक्ति एक्लैले गर्ने काम र समूहमा आवद्ध भएर गर्नुमा थप चुनौतीको सामना गर्नुपर्छ । अध्यक्ष फुयाँलले एक सय जना महिलाको नेतृत्व गर्दै आफै नै तेल मिलको व्यवस्थापन गरिरहेकी छिन् । मिलको व्यवस्थापनदेखि बिक्रीवितरणसम्म उनी आफैले गर्र्दै आएकी छिन् । उनी भन्छिन्, ‘काम गर्न सहज छैन, सहज बनाउँदै जाने हो । मिल सञ्चालन गरिरहँदा चुनौतीसँगै सकारात्मक प्रतिक्रिया पनि पाइरहेको छु, यसले थप हौसला मिलेको छ ।’ वार्षिक २ लाख बचत नेपालमा रोजगारी छैन, व्यवसाय गर्ने वातावराण छैन भन्दै अधिकांश युवाहरूको रोजाइ वैदेशिक रोजगारी बनिरहेको अवस्थामा महिला समूहले भने नयाँ कामको सुरुवात गरेर रोजगारीसमेत प्रदान गर्दै आएको छ । केही गर्ने जागर र आँट भए नेपालमै गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ समूह । महिलाद्वारा सञ्चालित उक्त तेल मिलबाट तीन जनाले रोजगारीसमेत पाएका छन् । आगामी दिनमा थप रोजगारी दिन सक्ने गरी काम भइरहेको फुयाँलले सुनाइन् । महिला समूहको कामलाई देखेर धेरै जना युवाहरू सल्लाहसमेत लिन आउने गरेकोमा खुसी छिन् उनी । उनले भनिन्, ‘हाम्रो काम देखेर धेरै जना सल्लाह लिन आउनुहुन्छ, गर्यो भने यहीं हुने रहेछ, किन विदेश जाने हामी यहाँ गर्न चाहन्छौं, के गर्नुपर्छ भनेर सोध्न आउनुहुन्छ । त्यसले हामीलाई खुसी मिल्छ ।’ समूहले वार्षिक रूपमा सबै खर्च खटाएर २ लाखभन्दा धेरै बचत गर्दे आइरहेको सुनाउँछिन् अध्यक्ष फुयाँल । महिला समूहले तोरी किन्नको लागि पछि ५ लाख सहकारीबाटै कर्जा लिएकाे थियो । उनका अनुसार अझै साढे पाँच लाखको हाराहारीमा सहकारीमा ऋण चुक्ता हुन बाँकी छ । उक्त ऋण चुक्तापछि भने बचत भएको पैसा समूहमा जम्मा हुने उनले बताइन् । त्यसपश्चात आवश्यकताअनुसार विभिन्न सामाजिक कार्यको लागि पैसा प्रयोग गरिने योजना समूहको छ । विदेशी वस्तु बढी रोजाइमा विदेशबाट आयात भएको वस्तुको तुलनामा नेपालमै उत्पादन भएको वस्तुको मूल्य अलि बढी नै हुन जान्छ । त्यसले गर्दा पनि उपभोक्ताको रोजाइमा गुणस्तरभन्दा मूल्य हेरेर विदेशी वस्तु बढी रोजाइमा पर्ने गरेको छ । अध्यक्ष फुयाँल स्वदेशी उत्पादनमा कच्चा पदार्थदेखि हरेक कुरामा बढी लागत लाग्ने हुँदा स्वतः विदेशी उत्पादनभन्दा अलिकति महँगो पर्न जाने बताउँछिन् । उपभोक्ताले मूल्यलाई भन्दा पनि स्वास्थ्यलाई असर नपर्ने गुणस्तर प्रडक्टलाई जोड दिनुपर्ने बताउँछिन् उनी । ‘हामी नेपालको उत्पादन सस्तोमा खोज्छौं, तर नेपालमा तोरी कम उत्पादन हुँदा हामीले किन्दा नै महँगो पर्न जान्छ । तेल पनि कम निस्किन्छ । विदेशी हाईब्रिड तोरीबाट तेल पनि बढी आउँछ, सस्तो पनि पर्न जान्छ । हामी नेपाली उत्पादन भनिरहँदा विदेशी तोरी किन प्रयोग गर्ने भनेर स्थानीय उत्पदान नै प्रयोग गर्छौं जुन केही महँगो पर्न जान्छ र तर गुणस्तरीय हुुन्छ ।’ समूहको आगामी योजना महिला समूहको आगामी प्राथमिकतामा तेल मिललाई थप विस्तार गर्दै लैजाने रहेको छ । त्यसको लागि समूहले घरेलु महासंघमा सहुलियत ऋणको मागसमेत गरिसकेको छ । ऋण स्वीकृत भएपछि मिललार्इं थप विस्तार गर्ने, ब्राण्डिङ गर्ने र कर्मचारीसमेत बढाउँदै लैजाने योजना रहेको अध्यक्ष फुयाँलले सुनाइन् । त्यसबाहेक यहाँ उत्पादन भएको तेललाई देशभरै पु¥याउने लक्ष्य रहेको छ । सहकारीमा एक सयभन्दा सदस्य रहेका छन् । समूहद्वारा महिलालाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यसमेत समूहले लिएको छ । आगामी दिनमा महिलालाई रोजगारी दिने खालका थप कार्यक्रम सञ्चालन गर्ने योजना समूहले राखेको उनले बताइन् । महिलालाई रोजगारसँग जोड्न सक्यो भने यसले महिला सशक्त मात्रै नभएर त्यसले देशकै अर्थतन्त्रमा योगदान पुग्ने उनले सनाइन् । अध्यक्ष फुयाँलले नेपाली उत्पादन र नेपाली व्यवसायलाई प्रात्साहन गर्नुपर्ने बताउँछिन् । पछिल्लो समय गाउँघरका जग्गाजमिन बाँझो राखेर विदेश पलायन भइरहेको हुँदा नेपालमै बस्ने वातावारण सरकारले बनाइदिनुपर्ने र त्यसका लागि युवालक्षित कार्यक्रम ल्याउनुपर्ने सुझाव दिन्छिन् । ‘नेपालमै बस्छु, काम गर्छु भनेर मात्रै हुँदैन, काम गर्ने वातावारण हुनुपर्छ । त्यसमा सरकारले सोच्नुपर्ने लाग्छ । गाउँघरका जमिन बाँझो छोड्दा त्यसको असर उत्पादनमा पर्न जान्छ । त्यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ,’ उनले भनिन् । साथै उनले नेपालमा व्यवसाय गर्नेहरूको लागि सरकारका नीतिहरू व्यवसायमैत्री नभएको हुँदा त्यसमा पनि सरकारले विचार गर्नुपर्ने उनको धारणा छ । सकेसम्म नेपाली उत्पादन प्रयोग गर्न र आयातित वस्तुलाई निरुत्साहित गर्दै जानुपर्ने उनी बताउँछिन् ।
एनसेल र क्यानबीच ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य
काठमाडौं । युवा तथा खेलकुदसँगको आफ्नो अटुट सम्बन्धलाई निरन्तरता दिँदै, एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)सँगको यस सहकार्य अन्तर्गत, यो खेलले नेपाली क्रिकेटप्रेमीहरूलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा महिला प्रतिभाको विकासमा योगदान पुऱ्याउन याउने विश्वास लिइएको छ । यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ । क्रिकेट नेपालमा सबैभन्दा बढी लोकप्रिय खेलकुदमध्ये एक हो । यो सिरिज अन्तर्गतको खेल बिहीबार (माघ १७) गतेबाट त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, किर्तिपुरमा सुरु भएको छ । नेपाली महिला क्रिकेट टोलीलाई यस सिरिजमा समर्थन गर्न आह्वान गर्दै क्यानले सम्पूर्ण खेलहरूको प्रवेश निःशुल्क बनाएको छ । सिरिजमा सहभागी टिमहरूले एकअर्कासँग तीन पटक प्रतिस्पर्धा गर्नेछन् । आजको पहिलो खेलमा आयोजक टिम नेपालले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्यो । अन्य खेलहरूमा, नेपालले माघ १९ मा थाइल्याण्डविरुद्ध, माघ २० मा नेदरल्यान्ड्सविरुद्ध, माघ २२ मा थाइल्याण्डविरुद्ध, माघ २३ मा नेदरल्यान्ड्सविरुद्ध, र माघ २५ मा फेरि थाइल्याण्डविरुद्ध खेल्नेछ । नेपाली टिम यो सिरिजमा इन्दु बर्माको कप्तानीमा खेल्दैछ । कप्तान इन्दुसँगै टिममा पूर्व कप्तान रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमति ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट समावेश छन् । नेपाल र आम उपभोक्ताहरूलाई सधैं जोडिराख्ने एनसेलको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोशसँग मेल खान्छ । यसले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यो खेलकुद र नेपालसँगको अटुट सम्बन्धको उदाहरण हो । यो सहकार्य वृद्धि विकास, नवप्रवर्तन, र उत्कृष्टताप्रतिको आपसी समर्पणको ज्वलन्त उदाहरण भएको एनसेलले जनाएको छ । कम्पनीले खेलकुदको विकास, युवा सशक्तिकरण र सामाजिक एकताको प्रवर्द्धनमा योगदान दिँदै नयाँ उचाइ हासिल गर्ने लक्ष्य रहेको बताएको छ । एनसेलले आफ्नो स्थापना कालदेखि नै एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, नेपालमा खेलकुद र प्रतिभा विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । उदाहरणका लागि एनसेलले यो वर्षको नेपाल प्रिमियर लिगमा पावर्ड बाई पार्टनरको रुपमा आवद्ध भएको थियो । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ । यसै गरि एनसेलले पाँचौ टाईगर कप, त्रिकोणत्मक टी ट्वान्टी आई सिरिज २०२४, आईसीसी लिग २, र नेपाल–क्यानडा एकदिवसीय सिरिजलाई पनि सहयोग गरेको थियो । एनसेलले बिर्तामोड गोल्ड कप र झापा गोल्ड कप लगायतका विभिन्न फुटबल प्रतियोगिताहरूलाई पनि सहयोग प्रदान गरेको थियो । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत, राष्ट्रिय प्यारालिम्पिक समिति (एनपीसी) नेपालसँग सहकार्य गर्दै राष्ट्रिय पारा खेलाडीहरुलाई सहयोग र समर्थन गर्दै आएको छ । गत भदौमा पारा–ताइक्वान्डो खेलाडी पालेशा गोवर्धनले पेरिस प्यारालिम्पिक्स २०२४ मा ऐतिहासिक जित हासिल गरेपछि, एनसेल फाउन्डेसनले उनलाई रु १० लाख रुपैयाँ पुरस्कार बाट सम्मान गरेको थियो । र अन्य प्यारालिम्पिक टोलीका सदस्यहरूलाई पनि एनसेल फाउन्डेसनले नगद पुरस्कारसहित सम्मान गरेको थियो ।
ब्रिक्स शुल्कको खतरा दोहोर्याउँदै ट्रम्प
वासिङ्टन । क्यानडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूमा शतप्रतिशत कर लगाउने आफ्नो धम्की दोहोर्याएका छन् । यसअघि ट्रम्पले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका ब्रिक्स राष्ट्रहरूलाई अमेरिकी डलरको प्रतिस्पर्धी मुद्रा सिर्जना गरेमा शत प्रतिशत कर लगाउने धम्की दिएका थिए । ‘ब्रिक्स देशहरूले डलरबाट टाढा जाने प्रयास गरिरहेको र हामी हेरेर बस्ने अवस्था अब समाप्त भएको छ”, उनले बिहीबार आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘हामी यी देखिने रूपमा शत्रुवत देशहरूबाट प्रतिबद्धता माग्नेछौँ कि उनीहरूले न त नयाँ ब्रिक्स मुद्रा सिर्जना गर्नेछन्, न त शक्तिशाली अमेरिकी डलरको प्रतिस्थापन गर्न कुनै अन्य मुद्रालाई समर्थन गर्नेछन्, अन्यथा उनीहरूले शतप्रतिशत भन्सार महसुलको सामना गर्नुपर्नेछ ।’ ब्रिक्स भन्सार महसुलबारे ट्रम्पको टिप्पणी पद आसीन भए लगत्तै तोकिएको फेब्रुअरी १ को समय सीमाभन्दा केही दिनअघि आएको छ । जसअनुसार छिमेकी क्यानडा र मेक्सिकोले अमेरिकी सीमा पार गर्ने अवैध आप्रवासीहरू र घातक फेन्टानलको प्रवाहमाथि कडा कारबाही नगरे तिनीहरूमाथि २५ प्रतिशत भन्सार महसुल लगाउने बताएका छन् । ट्रम्पले छुट्टै ब्रिक्स समूहको सदस्य चीनमाथि व्यापार असन्तुलन र अमेरिकी फेन्टानल आपूर्तिमा कथित भूमिकाका कारण फेब्रुअरी १ देखि नै वस्तुहरूमा थप १० प्रतिशत कर लगाउने धम्की दिएका छन् । रासस
नेपाल ग्रे लिष्टमा पर्नेमा प्रधानमन्त्री ओली पनि निश्चित, प्रचण्ड सरकारलाई दोष
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ग्रे लिष्टमा पर्न सक्ने सम्भावना रहेको बताएका छन् । उनले शुक्रबार प्रतिनिधिसभा संसदको बैठकमा बोल्दै उनले यसअघिको सरकारको कारणले नेपाल ग्रे लिष्टमा पर्न सक्ने खतरा रहेको बताएका हुन् । ‘यसअघिको कमजोरी र गल्तीका कारण नेपाल ग्रे लिष्टमा पर्न सक्ने खतरा देखियो, त्यसले पनि त्यो सरकारले काम नगरेको देखियो, त्यसको भारी हामीले बोक्नु पर्ने भयो,’ उनले भने । यस्तै, प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व लिँदा अर्थतन्त्रको अवस्था जर्जर रहेको सुनाउँदै अहिले सुधार हुँदै गएको दाबी गरे । ‘म सरकारमा आउनुअघि देशप्रति आम जनताको भरोसा टुटेको थियो, अर्थतन्त्र सकसपूर्ण अवस्थामा थियो, विकासका काम ठप्प थिए । तर, मैले नेतृत्व लिएपछि धेरै सुधार भएको छ, अर्थतन्त्रले एउटा लय समातेको छ, जनतामा आशा पलाएको छ,’ उनले भने । अहिले नेपाल ग्रे लिष्टमा पर्न सक्ने विषयले चर्चा पाइरहेको छ । वित्तीय कार्यदलअन्तर्गत रहेको एसिया प्यासिफिक ग्रुपद्वारा सार्वजनिक गरिएको पारस्परिक मूल्यांकन प्रतिवेदनले नेपाल ‘ग्रे लिस्ट’ मा पर्न सक्ने सम्भावना देखिएको भन्दै वित्तीय क्षेत्रका जानकार र सरकार पनि चिन्तामा देखिएको छ । नेपाल कानुनी सुधारमा प्रगति भए पनि त्यसको कार्यान्वयनको पक्षमा भने कमजोर रहेको भन्दै ग्रे लिष्टमा पर्ने सम्भावना देखिएको हो। नेपालले ‘टेक्निकल कम्प्लायन्स रेटिङ’ अन्तर्गत ४० मापदण्डमध्ये आवश्यक न्यूनतम २१ मापदण्ड पूरा गरेको छ । ‘इफेक्टिभ रेटिङ’ मा कमजोर देखिएको प्रतिवेदन बाहिरिएको छ । एफएटीएफका अनुसार ‘इफेक्टिभ रेटिङ’ अन्तर्गत ११ मापदण्डमध्ये कम्तीमा ३ वटामा ‘हाइली कम्प्लायन्स’ वा ‘सब्स्टान्सियल कम्प्लायन्स’ हुनु आवश्यक छ । नेपालले भने ४ मापदण्डमा ‘मध्यम’ र ७ मापदण्डमा ‘न्यून’ मूल्यांकन पाएको छ । यसले नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगिन नसक्ने स्थिति देखिएको छ । नेपाल यसअघि पनि ‘ग्रे लिस्ट’मा परिसकेको छ । तर, विभिन्न कुटनीतिक पहल र कानुनी सुधारबाट त्यसबाट बाहिर आउन सफल भएको थियो । ग्रे लिस्ट सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्सको नकारात्मक सूची हो । ‘ग्रे लिस्ट’ एफएटीएफले तयार गर्ने यस्तो सूची हो, जसमा सम्पत्ति शुद्धीकरण अर्थात मनी लाउन्डरिङ र आतंकवादी क्रियाकलापमा वित्तीय सहायता रोकथाम गर्न आवश्यक मापदण्ड पूरा गर्न नसक्ने मुलुकहरूलाई राखिन्छ । ग्रे लिष्टकाे असर ग्रे लिष्टमा परेका मुलुकहरूलाई अन्तर्राष्ट्रिय वित्तीय सहायता, वैदेशिक व्यापार, वैदेशिक लगानी र कूटनीतिक सम्बन्धमा ठूलो असर पर्छ । त्यसको सम्पूर्ण नकारात्मक प्रभाव नेपालको अर्थतन्त्रमा पर्नेछ । जसमा आयात महँगो हुनेछ भने निर्यात प्रक्रिया थप झन्झटयुक्त हुनेछ । नेपाल ग्रे लिष्टमा पर्दा विदेशी ऋणको ब्याजदर बढ्नेछ भने विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक लगायतका संस्थाले नेपाललाई आर्थिक सहायता तथा ऋण प्रवाहमा कडाइ गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि कमजोर हुन गई विदेशी लगानी घट्नेछ भने व्यापारिक सम्झौतामा थप कठिनाइ सिर्जना हुनेछ । यसको सम्पूर्ण प्रभाव देशको अर्थतन्त्रमा परेर कुल ग्राहस्थ उत्पादनमा नकारात्मक असर पर्नेछ ।
प्लास्टिक उद्योगमा आगलागी, चार करोडभन्दा बढी क्षति
बरहथवा । सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो । विद्युत् ‘सर्ट’ भएर राति एक्कासि लागेको आगोले उद्योग रहेको नेत्रबहादुर कार्कीको घर पूर्ण रूपमा नष्ट भएको छभने छिमेकी नवलकिशोर साहको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । चन्द्रनगर गाउँपालिका–४, पोखरिया टोल निवासी रामछविला साहले कार्कीको घर भाडामा लिएर उद्योग सञ्चालन गरेका थिए । आगलागीबाट उद्योगमा रहेको सम्पूर्ण उपकरण, तयारी सामग्री, कच्चापदार्थलगायत सामान नष्ट हुँदा सात करोड पचास लाख रुपैयाँ बढीको क्षति पुगेको उद्योग सञ्चालक साहले दाबी गरे । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, हरिवन र मलङ्गवा नगरपालिकाबाट पुगेको वारुणयन्त्रको सहयोगमा साढे २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए । आगलागीबाट अनुमानित चार करोड रुपैयाँ बढीको क्षति भएको प्रहरको अनुमान रहे पनि क्षति र घटनास्थलको मुचुल्का संकलनको काम भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।