विकासन्युज

दूधकोशी-चुहार-फलामढुंगा-घोडेटार सडक कालोपत्र सुरु

भोजपुर । भोजपुर जिल्लाको दूधकोशी–चुहार–फलामढुंगा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको उद्घाटन गरेका हुन् । दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना (आरसीआइपी) कार्यान्वयन एकाइ, कोशी प्रदेशको बजेटमा निर्माण हुने जनाइएको छ । २२.७ किलोमिटरको यो सडक कालोपत्र ७२ करोड ९८ लाख रुपैयाँ लागतमा गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष राईले यो सडकले हतुवागढीलाई तराईका जिल्लासँग जोड्न सहजता हुने बताए । यो सडकमार्ग कालोपत्र भएपछि जिल्लाका नागरिकलाई आवतजावतमा सहजता हुनेछ । अध्यक्ष राईका अनुसार दूधकोशी–चुहार–फलामढुंगा–घोडेटार सडक कालोपत्रको शुभारम्भ भएको यो सडकले दक्षिणी क्षेत्रलाई तराईका जिल्लासँग जोड्नका लागि निकै ठूलो भूमिका खेल्छ । निर्माण कम्पनीका प्रतिनिधि दाहालले सडक निर्माणको काम चार स्थानबाट एकसाथ थालनी गर्ने लक्ष्य रहेको बताए । सडकले भोजपुरको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने बताइएको छ । दूधकोशी चुहार–फलामढुङ्गा–घोरेटार सडक निर्माणले जिल्लाको यातायात सुविधालाई मजबुत बनाउने हतुवागढी–५ होम्ताङका स्थानीय एक्सन राईले बताए । सडक निर्माणपश्चात कृषि उपजको बजारीकरणसँगै शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने उनले सुनाए । रासस

गोलभेँडा किलोको २५ रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु १८, काउली (तराई) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १२, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु ९०, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ६०, रातो बन्दा प्रतिकेजी रु ६०, सजिवन प्रतिकेजी रु २५०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १४०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, तरबुजा हरियो प्रतिकेजी रु ६०, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिकोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

पाल्पामा ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री, बजारीकरण पनि सहज

पाल्पा । यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो । यस वर्ष रु ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको केन्द्रका प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए । उनका अनुसार गत वर्ष रु ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको थियो । रु छ करोड ६९ लाख १२ हजार बराबरको रकम अघिल्लो वर्षभन्दा बढी यस वर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको छ ।‘सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय यहाँका किसान व्यावसायिक उत्पादनमा लाग्नुभएको छ, अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन क्षेत्र बढेको छ, बजारीकरण सहज भएको छ,’ उनले भने । रैनादेवीछहरा गाउँपालिकामा चार सय ५२ हेक्टर क्षेत्रफलमा तीन हजार छ सय ३९ मेट्रिक टन, रिब्दिकोटमा तीन सय ९६ क्षेत्रफलमा तीन हजार एक सय ८४ मेट्रिक टन, बगनासकालीमा एक सय १३ हेक्टरमा नौ सय १० मेट्रिकटन, पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा सात सय २८ मेट्रिक टन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा पाँच सय ४६ मेट्रिक टन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला उत्पादनका लागि एक हजार एक सय ९६ हेक्टर क्षेत्रफल रहेता पनि एक हजार एक सय ३० हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्र हो । जिल्लाका दश पालिकामध्ये छवटा पालिकामा व्यावसायिक हिसाबले सुन्तला हुने गरेको छ । अन्नबालीको तुलनामा सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायिक उत्पादनमा जोड दिएका छन् । रासस

काँक्रोको बीउ बेचेर ६ करोड आम्दानी

पर्वत । पर्वतको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर ६ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष ६ करोड ३० लाख आम्दानी गरेका हुन् । स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा विसं २०५७ मा नारायणस्थान बीउ उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा बीउ उत्पादनमा लागेका कृषकले यस वर्ष ६३ क्विन्टल काँक्रोको बीउ उत्पादन गरेका छन् । प्रतिकिलो १० हजारका दरले बिक्री गर्दा उक्त रकम भित्र्याउन सफल भएको कृषक बाबुराम भुसालले जानकारी दिए । उनका अनुसार गत वर्ष ७० क्विन्टल बीउ उत्पादन भएकामा यस वर्ष ६३ क्विन्टल मात्र भएको हो । गत वर्ष सात करोड आम्दानी भएको थियो । उनका अनुसार कृषकले भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् । समूह गठन भएको सुरुको वर्ष चार किलो काँक्राको बिउ र ६५ किलो ४० दिने मूलाको बीउ उत्पादन भएको कृषक भुसालले जानकारी दिए । सुरुआतमा आठ सयका दरले बिक्री गरेका कृषकले अहिले मूल्य वृद्धि भएर १० हजारमा बिक्री गर्दै आएका उनले उल्लेख गरे । केही वर्ष मूला, उन्नत जातको गोलभेँडा, चम्सुरलगायत बीउ उत्पादन हुँदै आएको थियो । काँक्राको बीउबाट मनग्य आम्दानी हुन थालेपछि केही वर्षदेखि यसको मात्र व्यावसायिक उत्पादनमा गर्न थालिएको भुसालले बताए । उनका अनुसार यहाँका ७२ परिवारले व्यावसायिक रूपमा काँक्रोखेती गर्दै आएका छन् । प्रत्येक वर्ष हरेक कृषकले न्यूनतम पाँच लाखदेखि १८ लाखसम्म बीउ बिक्री गरेर आम्दानी गर्दै आएका अर्का कृषक टुकप्रसाद पौडेलले जानकारी दिए । यस वर्ष आफूले एक क्विन्टल काँक्राको बीउ बिक्री गरी १२ लाख आम्दानी गरेको उनको भनाइ छ । पौडेलले दुःख गरेअनुसारको प्रतिफल बीउ उत्पादनबाट हुने गरेकामा खुसी हुँदै भने, ‘काँक्राको बीउ नगदेँ बाली हो । गाउँबाटै बिक्री गर्न पाइएको छ । बीउ उत्पादनसँगै हिउँदे आलुखेती गर्न र पोखरेली जेठो बुढो धान पनि लगाउन पाइएको छ ।’ उनका अनुसार पहिले मकैखेती गर्ने बारीमा यहाँका कृषकले व्यावसायिक काँक्रो खेती गर्दै आएका हुन् । कृषकले फागुनको पहिलो साता रोपेको काँक्रा जेठ महिनामा तयार भई थन्क्याउने काम गर्छन् भने उत्पादित बीउलाई असारसम्ममा बिक्री गर्दै आएका छन् । यहाँ उत्पादित अधिकांश बीउ काठमाडौँको कालीमाटी बजारका व्यापारीहरूले खरिद गर्दै आएका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख पर्शुराम अधिकारीले जिल्लाको फलेबास नगरपालिका–११ पाङ्राङ र जलजला गाउँपालिका–७ धाइरिङमा व्यावसायिक रूपमा काँक्राको बीउ उत्पादन हुँदै आएको जानकारी दिए। उनले उत्पादित बीउ कृषि अनुसन्धान केन्द्र र नार्कमार्फत विभिन्न क्षेत्रमा सिफारिस गर्ने गरिएको छ भन्दै व्यावसायिक कृषकलाई केन्द्रबाट विभिन्न अनुदान र प्राविधिक सहयोग गर्ने गरिएको बताए । पर्वतको धाइरिङका कृषकले बीउ बिक्री गरी यसवर्ष ४ करोड भित्र्याएका छन् । रासस

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

फाइल फोटो सुर्खेत । कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त रहेको बताए ।  कर्णालीमा दुई हजार नौ सय ३१ सामुदायिक विद्यालयमा ११ हजार आठ सय ६५ दरबन्दीमा मात्र शिक्षक छन् । हाल विद्यालयका आधारमा १७ हजार तीन सय ८४ हो । नौ सय २७ प्राविमा छ सय ४४ जना शिक्षक अपुग छन् । यसमा हुनुपर्ने शिक्षक दरबन्दी आठ हजार सात सय ९३ होभने अहिले आठ हजार एक सय ४९ जनामात्र छन् । यस्तै एक हजार १४० निम्नमाध्यमिक विद्यालयमा दुई हजार छ सय ९९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने चार हजार पाँच सय ६० शिक्षक हुन्भने अहिले एक हजार आठ सय ६१ जना कार्यरत छन् । यसैगरी, छ सय पाँच माविमा एक हजार सात सय ४९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने तीन हजार २५ शिक्षक हुन् भने अहिले एक हजार दुई सय ७६ जना शिक्षक मात्र छन् । दुई सय ५९ उच्च माविमा चार सय ५७ शिक्षक अपुग छन् । यस तहमा एक हजार ३६ शिक्षक हुनुपर्ने हो भने अहिले पाँच सय ७९ जना कार्यरत रहेको अधिकृत सुनारले जानकारी दिए । उनका अनुसार कर्णालीमा विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव छ । कानुनअनुसार न्यूनतम हुनुपर्ने शिक्षक दरबन्दीमा प्रावि तहमा तीन, निमावि तहमा चार, मावि तहमा पाँच र उच्च मावि तहमा चारजना हुनुपर्छ । शिक्षक अपुग भएपछि विभिन्न विकल्पमा शिक्षक नियुक्त गरिएका छन् । निजी स्रोतबाट, स्थानीय तह, प्रदेश तह र सङ्घीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनुपरेको उनले बताए । बालविकासदेखि उच्च माविसम्म छ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत रहेको छ ।

रिट खारेजपछि एनआइएमबिमा ६ जना सञ्चालकको निर्वाचन हुँदै, फागुन १५ गते तोकियो मिति

काठमाडौं । सर्वाेच्च अदालतले रिट खारेज गरेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) मा नयाँ सञ्चालकहरूका लागि निर्वाचन हुने भएको छ । बैंकको सञ्चालकको निर्वाचन प्रक्रिया रोक्न सर्वाेच्चमा परेको रिट खारेज भएपछि निर्वाचन हुने भएको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समितिको माघ २१ गते बसेको बैठकले ३८औँ वार्षिक साधारण सभा फागुन १५ गते बिहान १० बजे राष्ट्रिय सभा गृह काठमाडौंमा बोलाएको छ । सभाले संस्थापक सेयरधनीहरूबाट ४ जना र सर्वसाधारण सेयरधनीहरूबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । सञ्चालकहरूको निर्वाचन गर्ने सम्बन्धी उक्त प्रस्ताव वि.सं २०८० चैत २० गते सम्पन्न ३७औँ वार्षिक साधारण सभामा समेत थियो । सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशका कारण निर्वाचनको कार्य स्थगित भएको थियो । तर, सर्वोच्च अदालतले गत कात्तिक १४ गते साविकको अन्तरिम आदेश र रिट निवेदन समेत खारेज हुने गरी फैसला गरेपछि बैंकको सञ्चालकहरूको निर्वाचन गर्न बाटो खुलेको हो । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआइएमबि एस क्यापिटल र एनआइएमबि स्टक मार्केट्सको वित्तीय विवरण स्वीकृत गर्नेछ । आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न वर्तमान लेखापरीक्षक जिपी राजवाहक एण्ड कम्पनीका तर्फबाट अशेष राजवाहकलाई निय्क्त गर्ने साधारण सभाको निर्णयमा नियमनकारी निकाय वा कार्यालबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिनेछ ।

सेयर बेचेर बाहिरिँदै कुमारी र गरिमा विकास बैंकका संस्थापक

काठमाडौं । कुमारी बैंक र गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेका हुन् । कुमारी बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको ५ हजार ८७० कित्ता सेयर बिक्रीमा राखेका छन् । यस्तै, गरिमा विकास बैंकका अनुसार संस्थापक सेयरधनीहरूमध्ये केही सेयरधनीहरूले २ लाख ६६ हजार ४४ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र आवेदन नदिए सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने दुवै बैंकले जनाएका छन् ।

५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत, मापदण्ड पूरा नभएका सवारीलाई रोक लगाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाद्वारा ५९९ सवारीसाधन परीक्षण गरिएकामा ३४५ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत रहेका छन् । कामपाले निकायगत समन्वयमा गरेको प्रदूषण जाँचका क्रममा ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत भेटिएका हुन् । जाँच गरिएका सवारीसाधनमध्ये पेट्रोलबाट सञ्चालित २३ र डिजेलबाट सञ्चालित ३२२ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत भेटिएका कामपा वातावरण विभागले जनाएको छ । पेट्रोलभन्दा डिजेलबाट सञ्चालित सवारीसाधन बढी मापदण्ड विपरीत रहेका विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । उनका अनुसार सवारीसाधनबाट वायु प्रदूषणमा पार्ने असर घटाउन कामपाले सडकमा आकस्मिक चेकजाँच गरिरहेको छ । यस क्रममा मापदण्ड विपरीत भएका सवारीसाधनलाई मर्मत गरेर सञ्चालन गर्न सुझाव दिइएको उनले बताइन् । प्रदूषण नियन्त्रणका लागि गत पुस २९ गतेदेखि थालिएको सचेतनात्मक कार्यक्रम नियमित सञ्चालन भइरहेको प्रमुख राईले उल्लेख गरिन् । उक्त कार्यक्रमबाट सुधारको मौका दिँदा मापदण्ड पूरा नभएका सवारीसाधनलाई क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मका कारबाहीको तयारी भइरहेको उनको भनाइ छ । ‘सञ्चालनमा रोक लगाउनु अघि सुधार गरेर सञ्चालनको मौका दिइनेछ । यो अवसरलाई प्रयोग गर्न अटेर गर्नेलाई जरिवाना तिराएर सञ्चालनमा रोक लगाइने छ,’ प्रमुख राईले भनिन् । उनका अनुसार हालसम्म कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल भएर सञ्चालित सवारीसाधनको परीक्षण भएको छ । परीक्षणका क्रममा मापदण्ड विपरीत पाइएका सवारीमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालित तथा स्कूल बस, सरकारी कार्यालयद्वारा सञ्चालित, सामान बोक्ने ट्रकलगायत रहेका विभागले जनाएको छ । परीक्षणमा मापदण्डबाहिर रहेका सवारीसाधनलाई मर्मत गर्न, त्यसपछि पुनःपरीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कवुलियतनामा गराइएको प्रमुख राईले बताइन् । कामपाको वातावरण व्यवस्थापन विभागले सङ्घीय सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र कामपाको नगर प्रहरी बलसँगको सहकार्यमा सवारी जाँचको काम गरिरहेको छ ।