१९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा
काठमाडौं । जर्मनीको कार निर्माता कम्पनी फक्सवागनले भारतीय कर अधिकारीहरू विरुद्ध मुद्दा दर्ता गरेको छ । यो विषय कर छलीसँग सम्बन्धित छ । यस मामिलामा कर अधिकारीहरूले कम्पनीलाई १.४ अर्ब डलर (१९ हजार करोड रुपैयाँ) को नोटिस जारी गरेका थिए । त्यसपछि कम्पनीको भारतीय एकाइले कर अधिकारीहरू विरुद्ध बम्बई उच्च अदालतमा मुद्दा दर्ता गरे । हाल भारतमा फक्सवागन समूहको नेतृत्व स्कोडा अटो फक्सवागन इन्डियाले गरिरहेको छ । बम्बई उच्च अदालतमा यस मामलाको सुनुवाइ फेब्रुअरी ५ मा हुने जनाइएको छ । खास कुरा के हो ? भारतीय भन्सार विभागले सेप्टेम्बर २०२४ मा स्कोडा अटो फक्सवागन इन्डियामाथि आरोप लगायो कि कम्पनीले फक्सवागन, स्कोडा र अडी कारहरूलाई छुट्टाछुट्टै पार्ट्सको रूपमा आयात गरेर करमा हेरफेर गर्यो । अधिकारीहरूले कम्पनीले कारलाई छुट्टा-छुट्टै भागहरूमा आयात गरेर कर बचाएको आरोप लगाए, जसले गर्दा सरकारलाई नोक्सान भयो । यस मामिलामा कम्पनीलाई १.४ अर्ब डलरको कर नोटिस दिइएको थियो । कर अधिकारीविरुद्ध जवाफी मुद्दा नोटिस पाएपछि कम्पनीले कर अधिकारीहरूविरुद्ध जवाफी मुद्दा दायर गरेको छ । यसमा कम्पनीले १.४ अर्ब डलरको मागलाई खारेज गर्न माग गरेको छ । रोयटर्सको एक रिपोर्टअनुसार कम्पनीले करको माग कार पाट्र्सको लागि सरकारको आयात नियमहरूको विपरीत रहेको जनाएको छ । यसले भारतमा कम्पनीको व्यावसायीक योजनामा कठिनाइ हुनेछ । करबारे के भन्छ कम्पनी ? कम्पनीले भनेको छ कि उसलाई थप कर तिर्नु पर्दैन किनभने उसले कारका पार्ट्सहरूलाई एकैसाथ एक ‘किट’को रूपमा आयात गरेन, बरु तिनीहरूलाई छुट्टा-छुट्टै मगाएको थियो । कम्पनीले भारतमा आफ्ना कारहरू बनाउन स्थानीय कम्पोनेन्टहरूको पनि प्रयोग गरेको जनाएको छ । ‘विदेशी लगानीकर्ताहरूलाई चोट’ कम्पनीले अदालतलाई कर विवादका कारण भारतमा उसको १.५ अर्ब डलरको लगानी जोखिममा रहेको जनाएको छ । साथै यो विदेशी लगानीको वातावरणको लागि पनि राम्रो होइन । कम्पनीले आफ्नो मुद्दामा नोटिसले विदेशी लगानीकर्ताहरूलाई चोट पुर्याएको उल्लेख गरेको छ । जुलाई २०१८ मा फक्सवागन समूहले भारत २.० परियोजनाको भागको रूपमा लगभग एक अर्ब युरो (करिब १४ हजार करोड रुपैयाँ) को लगानीको घोषणा गरेको थियो । कति कर लाग्छ ? यदि कुनै कम्पनीले विदेशबाट भारतमा पार्ट्सहरू मगाउँछ भने त्यसमा ५ देखि १५ प्रतिशत कर लाग्छ । त्यसैगरी, पूर्ण रूपमा बनेको कारमा ३० देखि ३५ प्रतिशत कर तिर्नुपर्छ । कर अधिकारीहरूको आरोप छ कि कम्पनीले पूर्ण रूपमा बनेका कारहरू मगाई तिनीहरूलाई पार्ट्सको रूपमा देखायो । यसले गर्दा कम्पनीले कर छली गर्यो । (एजेन्सीहरूको सहयोगमा) सान्दर्भिक सामग्री : एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने
गौरादह नगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र गौरादह नगरपालिका, झापाबीच रोजगारमुखी सीप विकास तालिम कर्जा सुरक्षण योजना, २०८१ बमोजिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र नगरपालिकाको तर्फबाट नगर प्रमुख छत्रपति सुबेदीले हस्ताक्षर गरेका हुन् । साथै, सम्झौतामा गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडा र कोषका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । यस समझदारी पत्रमा हस्ताक्षर भएसँगै, गौरादह नगरपालिका क्षेत्रका युवाहरुलाई सूचना प्रविधि लगायतका रोजगारमुखी सीप विकास तालिम प्रदान गर्न कर्जा सुरक्षण योजना शुरु गरिनेछ । यस योजनाअन्तर्गत, सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कर्जा बैंक र वित्तीय संस्थाबाट बिना धितो सुलभ तरिकाले प्रवाह हुनेछ, जसको सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्नेछ । नगरपालिकाले तालिमको लागि लिएको कर्जाको आधारमा कोषलाई सुरक्षण रकम योगदान गर्ने व्यवस्था रहेको छ ।
एकैदिन तोलामा १९ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर एक लाख ६४ हजार ७०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।
म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष दाहाल
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन् । बेनी नगरपालिका-४ सिङ्गा र तातोपानीमा आयोजित कार्यक्रममा उनले भौतिक पूर्वाधार र पर्यटन विकासले म्याग्दीको उन्नति हुने छ भने । ‘छ वर्षअघि पनि म यहाँको तातोपानी कुण्डमा परिवारसहित आएको थिएँ’, उनले भने, ‘त्यसबेला यहाँहरूले उठाउनुभएको बेनी-दरवाङ–ढोरपाटन सडक, तातोपानी कुण्डको संरक्षण, प्रवर्द्धन र नदी नियन्त्रणसम्बन्धी केही योजनामा बजेट व्यवस्थापन गरेर थालेका कामलाई निरन्तरता दिएका छौँ ।’ पूर्वप्रधानमन्त्री दाहालले दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा बेनी–दरवाङ, बेनी–जोमसोम–कोरला, बेनी बजार संरक्षण योजना सुरु गराएको स्मरण गर्दै पछिल्लो कार्यकालमा तातोपानीको बस्ती संरक्षणका लागि विनियोजन गरेको रु दुई करोड बजेटबाट रु १० करोडको बहुवर्षीय योजना कार्यान्वयन सुरु भएकामा खुसी व्यक्त गरे । उनले बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा गण्डकी प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, बेनी नगरपालिका-४ का वडाध्यक्ष अणबहादुर खड्का(भगवान), सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले सिङ्गा र तातोपानीको विकास निर्माणलगायत विषयमा जानकारी गराएका थिए । साथै अध्यक्ष दाहालले बेनी नगरपालिका-४ ठूलोखोला, सिङ्गा, बेनीमा सहिद परिवारसँग भेटघाट र साक्षात्कार गरेका छन्। सो क्रममा अध्यक्ष दाहालले सहिद परिवारको अवस्थाका बारेमा जानकारी लिनुका साथै सहिदहरूको योगदानको सधैँ उच्च मूल्याङ्कन हुने बताए । सिङ्गामा स्थानीय किसानको गुनासो सुनेका थिए। किसानले कृषिलाई प्रविधियुक्त, बजारमा सहज पहुँच र उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाउन माग गरेका थिए । सो क्रममा अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा कृषि अनुदानका लागि रु सात अर्ब बजेट विनियोजन गरेको जनाउर्दै त्यसको कार्यान्वयनका अवस्थाबारेमा सरकारको ध्यानाकर्षण गराउने बताए ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधारणसभा, लाभांश नदिने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले फागुन १५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा बोलाएको बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकले माघ २८ गतेदेखि फागुन १५ गतेसम्म बुक क्लोज जनाएको छ । माघ २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
३० प्रतिशत लाभांश दिने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको घोषणा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
क्यान्सरको न्युनिकरण गर्दै निवारणको स्थितिमा पुग्ने नेपालको लक्ष्य छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्युनिकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले क्यान्सर निवारणका लागि धेरै कामहरु गर्न बाँकी रहेको बताए । उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताए । पाठेघरको क्यान्सरको समस्या ठूलो रहेको भन्दै यसलाई सबैको सहकार्यबाट न्युनिकरण गर्दै लैजानुपर्ने बताए । क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको जानकारी दिए । ‘खासगरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै कामहरु गर्न जरुरी छ । आज पाठेघरको क्यान्सरबाट मेरो आमाहरु, मेरो दिदिहरु, मेरो समकक्षी साथीहरु थुप्रैको मृत्यु भएको छ । दिनमा ४ जनाको मृत्यु हुने तथ्यांक हामीसँग उपलब्ध छ,’ उनले भने । मन्त्री पौडेलले काम गर्ने चाहना भएपनि आवश्यक श्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्युनिकरण गर्न सकिने उल्लेख गरे ।
ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रालिका स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुबंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्ने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकिङ इकोसिस्टममा बजेट ३६० को प्रयोगले बैंकको बजेट र योजना क्षमतामा बृद्धि हुनुको साथै श्रोतहरूको उपयुक्त परिचालन सुनिश्चित गर्न, बैंकको वित्तीय उद्देश्यहरू पूरा गर्न र वित्तीय व्यवस्थापनमा प्रभावकारी निर्णय लिन मद्दत पुर्याउने र साथै समग्र बैंकको दिगो विकासमा योगदान पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे । इन्फोडेभलपर्स प्रा.लि. का स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुवंशीले ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेर बजेट ३६० कार्यान्वयन गर्न पाउँदा उत्साहित भएको बताउँदै यस सफ्टवेयरले बैंकको वित्तीय योजनाहरूको कार्यलाई सरल बनाउन र डेटा–आधारित निर्णय लिन सहयोग पुर्याउने समेत जानकारी दिए । ‘बजेट ३६०’ स्वचालित रूपमा वित्तीय व्यवस्थापन गर्ने एक आधुनिक वित्तीय व्यवस्थापन प्रणाली हो । इन्फोडेभलपर्सले विकास गरेको यस सफ्टवेयरमा स्वचालित लक्ष्य निर्धारण, रियल-टाइम रिपोर्टिङ, निरन्तर ट्रर्याकिङ लगायतको सुविधा जडित प्रणाली हो । यो सफ्टवेयर बैंकले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ । यो प्रणाली कुनै पनि कोर बैंकिङ सिस्टम (सीबीएस) सँग सहज रुपमा इन्ट्रिगेट गरेर जान सकिने गरी डिजाइन गरिएको छ । उक्त कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत, सुमन पोखरेल, सहायक प्रमुख कार्यकारी अधिकृत, चन्द्रराज शर्मा र इन्फोडेभलपर्स प्रालिको तर्फबाट कर्पोरेट म्यानेजर, सुबास पौडेलको समेत उपस्थिति रहेको थियो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३७९ एटिएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।