विकासन्युज

टेलिकम क्षेत्रमा पूर्वाधारको आयु ५ देखि ७ वर्ष मात्रै, कानुन संशोधन नगरे कम्पनीहरू सङ्कटमा

काठमाडौं । टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरूको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरूको भविष्यसमेत सुखद नदेखिएको जानकारहरू बताउँछन् । कुनै समय कुल आम्दानीको झन्डै आधा रकम पूर्वाधार विकासमा खर्च गर्ने टेलिकम कम्पनीहरुले अहिले उक्त खर्चलाई १० प्रतिशतको हाराहारीमा सीमित गरेका छन् । ओभर द टप (ओटिटी) प्लेटफर्मलगायतका कारणले घट्दो आम्दानी, आवश्यक कानुनमा संशोधन नहुनु, चर्को नवीकरण शुल्क र सञ्चालनमा सहजीकरण नहुँदा टेलिकमले पूर्वाधारमा आवश्यक लगानी गर्न हिच्किचाइरहेको टेलिकम क्षेत्रका विज्ञहरुको बुझाइ छ । तथ्याङ्क हेर्दा टेलिकम कम्पनीहरुले सन् २००८ देखि २०१६ सम्मको अवधिमा पुँजीगत खर्चमा जोड दिएको देखिन्छ । यस अवधिलाई पुँजीगत खर्चका हिसाबले ‘हाइपर ग्रोथ’ भन्न सकिने विज्ञ बताउँछन् । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेल त्यो समय टेलिकम कम्पनीका लागि लगानीको समय थियो । पुँजीगत खर्चको अवस्था सन् २०१७ सम्म पनि राम्रै थियो । त्यसपछि भने आम्दानीसँगै आवश्यक पुँजीगत खर्च पनि घट्न थालेको उनको बुझाइ छ । हाल सञ्चालनमा रहेको दुईवटा टेलिकम कम्पनीको आम्दानी आर्थिक वर्ष २०७३/७४ मा ९७ अर्ब ३० करोड रुपैयाँ थियो । आव २०७४/७५ मा आइपुग्दा १.४४ प्रतिशतले बढेर ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेकामा त्यसयता आम्दानी निरन्तर ओरालो लागेको छ । नेपाल दूरसञ्चार प्राधिकणका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७९/८० मा आइपुग्दा करिब २६ प्रतिशतले ओरालो लागेर ७३ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ । निरन्तरको लगानी टेलिकम व्यवसाय अन्य क्षेत्रहरूको तुलनामा बढी पुँजीगत खर्च हुने क्षेत्रमा पर्छ । गुणस्तरीय सेवा प्रवाह, पूर्वाधार निर्माण, मर्मत तथा स्तरोन्नति, बिटिएस निर्माण, फाइबर अप्टिकल केबल, डाटा सेन्टर, स्पेक्ट्रम शुल्कमा निरन्तर ठूलो खर्च भइरहेको हुन्छ । टेलिकम सेवाका लागि रेडियो स्पेक्ट्रमबापत नेपास सरकारलाई शुल्क तिर्नुपर्ने हुन्छ, जुन निकै महङ्गो पर्छ । फोर जी र फाइभ जीलगायतका सेवा प्रवाहका लागि नयाँ स्पेक्ट्रम आवश्यक पर्छ । यसले पुँजीगत खर्च ह्वात्तै बढाउँछ । प्राधिकरणका पूर्वअध्यक्ष कँडेल टेलिकम क्षेत्रमा पुँजीगत खर्चको माग निरन्तर हुने बताउँछन् । ‘टेलिकम क्षेत्रमा हुने प्रविधिको विकास, सेवा विस्तार तथा गुणस्तर सुधारको काम निरन्तर चलिरहने भएकाले यसमा लगानी पनि प्रत्येक वर्ष आवश्यक छ, थ्री जीबाट फोर जी र त्यसबाट फाइभ जी प्रविधि ल्याउँदा कम्पनीहरुले ठूलो लगानी ल्याउनुपर्ने हुन्छ । तर आम्दानी नै नभएपछि सोही अनुसारको लगानी भने ल्याउन नसकिरहेको देखिन्छ,’ उनले भने । उनका अनुसार फाइभ जीका सेवाका लागि फोर जीको तुलनामा कम्तीमा तीन गुणा बढी खर्च हुन्छ । ‘नेपाल टेलिकमले १९ अर्ब रुपैयाँ खर्चेर फोर जी सेवा विस्तार गरेको थियो, फाइभ जीको हकमा त्यो झन्डै ६० अर्ब रुपैयाँ पुग्न सक्छ,’ उनले भने, ‘फाइभ जी मात्रै होइन सेवा विस्तार र पूर्वाधार मर्मतसम्भारको खर्च धान्न अहिलेको आम्दानीले टेलिकम कम्पनीलाई समस्या हुन्छ ।’ टेलिकम क्षेत्रमा पूर्वाधारको आयु औसत ५ देखि ७ वर्ष मात्रै हुने भएकाले पुँजीगत खर्च निरन्तर भइरहने उनको भनाइ छ । ‘यो यस्तो क्षेत्र हो, जहाँ पुँजीगत खर्च निरन्तर भइरहेको हुन्छ, एकपटक लगानी गरेर ढुक्क हुने अवस्था रहँदैन,’ पूर्वअध्यक्ष कँडेल भन्छन्, ‘सेवा विस्तार, नयाँ प्रविधिमा लगानी, स्पेट्रम, पूर्वाधार निर्माण तथा मर्मतसम्भारका लागि बर्सेनि ठूलो बजेट विनियोजन गर्नुपर्छ ।’ दूरसञ्चारविज्ञ विशाल उपाध्याय टेलिकम क्षेत्रमा पुँजीगत खर्चको माग बढे पनि सो अनुसारको आम्दानी बढ्न नसकेको बताउँछन् । यो क्षेत्रमा अहिले पनि आम्दानीको १५ देखि २० प्रतिशत रकम पुँजीगत क्षेत्रमा गर्नुपर्ने अवस्था छ । जबकि उत्पादनमूलक क्षेत्रमा पाँचदेखि १० प्रतिशत, प्रविधि (हार्डवेयर तथा क्लाउड) मा ५ पञ्तिशतदेखि १० प्रतिशत, रिटेल क्षेत्रमा दुईदेखि ५ प्रतिशत र बैंकिङ्ग क्षेत्रमा आम्दानीको एकदेखि ५ प्रतिशत मात्रै पुँजीगत खर्च गरे पुग्छ । अर्थतन्त्रमा असर पुँजीगत खर्च कम हुँदाको प्रभाव मुलुकको कुल ग्राहस्थ उत्पादनमा पनि पर्छ । विश्व बैंकको एक अध्ययनले पनि इन्टरनेट लगानीमा हुने प्रत्येक १० प्रतिशतको वृद्धिले १.३ प्रतिशतको आर्थिक वृद्धि हुने देखाएको छ । आम जनसमुदायसम्म इन्टरनेट सेवा पुगेपछि यसको प्रभावबाट थप आर्थिक वृद्धि हुने उक्त फ्रेमवर्कमै उल्लेख छ । तर टेलिकम कम्पनीहरुको घट्दो पुँजीगत लगानीका कारण अपेक्षाकृत रुपमा इन्टरनेटको पहुँच विस्तार हुन नसक्ने देखिन्छ । तर लगानी नै घट्दो भएपछि त्यसले जिडिपीमा गर्न सक्ने योगदान बढ्न सक्ने देखिन्न । तथ्याङ्कअनुसार सन् २०१६ मा मुलुकको अर्थतन्त्रमा कूल ३.९ प्रतिशत टेलिकम क्षेत्रको योगदान रहेकामा सन् २०२३ मा आइपुग्दा १.८ प्रतिशतमा सीमित भएको छ । टेलिकम क्षेत्रको जिडिपीमा योगदान सन् २०१७ मा ३.४ प्रतिशत, सन् २०१८ मा ३ प्रतिशत, सन् २०१९ मा २.७ प्रतिशत, सन् २०२० मा २.४ प्रतिशत, सन् २०२१ मा २.२ र सन् २०२२ मा १.९ प्रतिशतमा सीमित भएको छ । टेलिकम क्षेत्रको आम्दानी मात्रै होइन, यसबाट राज्यले पाउँदै आएको राजस्वमा पनि कमी आएको छ । आव २०७६/७७ मा नेपाल टेलिकम र एनसेलले समग्रमा ६७ अर्ब ४८ करोड रुपैयाँ राजस्व बुझाएकामा आव २०७९/८० मा आइपुग्दा २० अर्ब रुपैयाँले घटेर आएर ४७ अर्ब रुपैयाँमा सीमित भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल तत्कालै कानुनमा संशोधन नगर्ने हो भने टेलिकम कम्पनीहरू सङ्कटमा पर्ने बताउँछन् । ‘टेलिकम कम्पनीहरुको आम्दानी निरन्तर घट्दो छ, यसको अर्थ उनीहरु सङ्कटमा पर्दैछन् भन्ने हो, खर्च बढिरहने तर आम्दानी कम हुँदै जाने हो भने यसले टेलिकम क्षेत्रलाई राम्रो गर्दैन,’ उनले भने, ‘सरकारले तत्कालै उनीहरुका समस्या सम्बोधन नगर्ने हो भने समस्या सृजना हुन्छ ।’ खनाल कुनै एउटा टेलिकमले पुँजीगत खर्च गर्दाको फाइदा उक्त कम्पनीका लागि मात्रै नभई समाजका सबै वर्गलाई हुन्छ । जस्तै एउटा टेलिकमको टावर राख्दा मात्रै पनि घरधनीले मासिक रुपमा भाडा पाउँछन्, राज्यले कर पाउँछ, त्यसबाहेक आम नागरिकले टेलिफोन र इन्टरनेटको सेवा पाउँछन् । टेलिफोन र इन्टरनेटका माध्यमबाट हुने लाभ त छँदैछ । त्यसैले पूर्वाधारमा लगानी गर्नका लागि पनि कम्पनीहरुले पहिले कमाउनु जरुरी भएको उनको बुझाइ छ । पूर्वनिर्देशक खनाल अहिले बजारमा तेस्रो टेलिकम कम्पनीको सम्भावना भए पनि टेलिकम कम्पनीहरुको घट्दो आय र बढ्दो खर्चका कारण तत्काल नै नयाँ प्रतिस्पर्धी आउनेमा भने शङ्का रहेको बताउँछन् । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले नयाँ बन्न लागेको दूरसञ्चार ऐनको मस्यौदामा आफूहरूले यस प्रकारको समस्या समाधान हुने गरी सुझाव दिएको बताउँछिन् । उनका अनुसार नयाँ ऐनमार्फत आवश्यक संशोधन नहुने हो भने टेलिकम कम्पनीहरू समस्यामा पर्छन् । ‘टेलिकम क्षेत्रले अहिले भोगिरहेका समस्या समाधानका लागि नयाँ ऐन निर्माण जरुरी छ, हामीले यसमा आवश्यक सुझाव पनि दिइसकेका छौं, नयाँ ऐन निर्माणपछि अहिलेका अधिकांश समस्या समाधान हुनेछ भन्ने विश्वास छ,’ उनले भनिन् । टेलिकम सेवाप्रदायक एनसेलका अनुसार अहिले टेलिकम कम्पनीहरुको कुल आम्दानीको तुलनामा पुँजीगत खर्च बढी गर्नुपर्ने अवस्था छ । कुल आम्दानीको ४८ प्रतिशत राजस्व विभिन्न शीर्षकमा सरकारलाई बुझाउनुपर्छ । १३ प्रतिशत मूल्य अभिवृद्धि कर, १० प्रतिशत सेवा शुल्क र २ प्रतिशत स्वामित्व कर गर्दा कुल २१.२ प्रतिशत करमै जान्छ । बाँकी रकमबाट सञ्चालन खर्च, स्पेक्ट्रम शुल्क, रोयल्टी शुल्क र ग्रामीण दूरसञ्चार कोषमा बुझाउनुपर्ने ४ प्रतिशत रकम कटौती गर्दा रकम ३८ प्रतिशत रकम बचत हुन्छ । त्यसबाट लागत कट्टा, वित्तीय खर्च, अनुमतिपत्र नवीकरण शुल्क र किस्ता ऋणको तिर्दा औसतमा ८ प्रतिशत मात्रै रकम बाँकी रहन्छ । त्यसमा पनि संस्थागत कर तिरेपछि ५ प्रतिशत रकमलाई नाफा मान्न सकिन्छ । ‘केही वर्षअघिसम्म ५ प्रतिशत भए पनि रकममा ठूलो थियो, टेलिकम सेवा प्रदायकको आम्दानी नै करिब १ खर्ब रुपैयाँ थियो तर अहिले आम्दानी नै झन्डै २५ प्रतिशतले ओरालो लागिसकेको छ भने आगामी वर्षमा अझ घट्ने अध्ययनले देखाएको छ,’ दूरसञ्चार विज्ञ उपाध्यायले भने । टेलिकम कम्युनिकेसन पनि खानेपानी, विद्युत्, फोहोर व्यवस्थापनलगायत जस्तै सार्वजनिक सेवा भएको उल्लेख गर्दै उनले मुद्रास्फीतिकै आधारमा शुल्क वृद्धि गर्न आवश्यक रहेको बताउँछन् । यद्यपि अन्य सेवामा जस्तो यस टेलिकम कम्पनीहरुले भने हालसम्म मुद्रास्फीतिकै आधारमा शुल्क वृद्धि पाएका छैनन् । वार्षिक ६ अर्ब लगानी आवश्यक टेलिकम क्षेत्रका विज्ञहरू टेलिकम क्षेत्रलाई यही अवस्थामा निरन्तर सञ्चालनका लागि वार्षिक रुपमा ६ अर्ब रुपैयाँको पुँजीगत खर्च आवश्यक रहेको बताउँछन् । तर टेलिकम कम्पनीले आम्दानी र नाफा घट्न थालेपछि पुँजीगत खर्च पनि घटाउँदै लगेका छन् । पछिल्लो वर्षहरुमा भ्वाइसबाट आम्दानी घटिरको छ भने डाटा सेवामा उत्साहजनक वृद्धि भएको पाइँदैन र सेवा प्रदायकहरुले आफ्ना सेवाका शुल्कहरु परिमार्जन गर्दै बढाउन पनि सकेका छैनन् । ‘आजका दिनमा सेवा सञ्चालन गरिराख्नका लागि मात्रै पनि वार्षिक ६ अर्ब रुपैयाँ लगानी आवश्यक छ । तर अहिले त्योभन्दा कम खर्च भइरहेको छ, यदि आम्दानी नबढ्ने हो भने टेलिकम क्षेत्रले सेवा विस्तार र गुणस्तर सुधारमा खर्च गर्न नसक्ने अवस्था रहन्छ,’ प्राधिकरणका पूर्वनिर्देशक खनाल भन्छन् ।

निरोगी नेपाल बनाउन व्यापक प्रयास गर्नेछौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरु गरिरहेको बताएका छन् । मंगलबारबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली नागरिकहरु बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको बताए । निरोगी नेपालका लागि व्यापक प्रयास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । आफूले खाने खाना पेट भर्नका लागि मात्रै नभइ स्वस्थ रहनका लागि खानुपर्ने बताए । स्वस्थ, सन्तुलित खानाले मात्रै आफूलाई निरोगी बनाउने जानकारी दिए । ‘खाना भनेको स्वस्थ मात्रै होइन,पुग्दो, सन्तुलित र ठिक्क मात्रामा पनि हो । स्वस्थ खाना, सन्तुलि त खाना, आवश्यक मात्रामा खाना हुनुपर्छ । खानेकुराहरु जो उत्पादन गर्छौं त्यसको स्वस्थतामा छ,’ उनले भने । स्वस्थ रहनका लागि सबैभन्दा पहिला व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्ने बताए । बिरामी हुनै नदिने कुरा महत्वपूर्ण रहेको बताए । सन् २०३० सम्म पाठेघरको क्यान्सरविरुद्धको अभियानलाई पूर्ण रुपमा सफल बनाउने प्रतिवद्धता जनाए ।

ट्रम्पको निमन्त्रणामा मोदी अर्को हप्ता ह्वाइट हाउस जाने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता ह्वाइट हाउसको भ्रमण गर्ने तयारी भएको ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । जनवरी २७ मा दुई नेताबीच हालैको टेलिफोन वार्ताको केही दिनपछि यो निमन्त्रणा आएको हो । टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतालाई जोड दिएका थिए । जनवरी २७ को कुराकानीमा ट्रम्पले आप्रवासनको बारेमा कुरा गरे भने भारतले थप अमेरिकी–निर्मित सुरक्षा उपकरणहरू किन्ने र द्विपक्षीय व्यापारिक सम्बन्धको महत्त्वमा जोड दिए । ‘दुई नेताले सहकार्य विस्तार र गहिरो बनाउने विषयमा छलफल गर्नुभएको छ, उहाँहरूले इन्डो–प्यासिफिक, मध्यपूर्व र युरोपको सुरक्षासहित विभिन्न क्षेत्रीय मुद्दामा पनि छलफल गर्नुभएको छ’, वार्तापछि  ह्वाइट हाउसको वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपतिले भारतले अमेरिकी निर्मित सुरक्षा उपकरणको खरिद बढाउने र निष्पक्ष द्विपक्षीय व्यापारिक सम्बन्धतर्फ अघि बढ्ने महत्त्वलाई जोड दिए ।’ नेताहरूले प्रधानमन्त्री मोदीको ह्वाइट हाउस भ्रमणको योजना र इन्डो–प्यासिफिक क्वाड साझेदारीको बारेमा पनि छलफल गरे । भारतले यस वर्ष पहिलो पटक क्वाड नेताहरूको आतिथ्यता गर्दैछ । विशेष गरी दुई देशको महत्त्वपूर्ण व्यापार सम्बन्ध छ । द्विपक्षीय व्यापार सन् २०२३–२४ मा एक खर्ब १८ अर्ब अमेरिकी डलर नाघेको छ र भारतले ३२ अर्ब अमेरिकी डलरको व्यापार बचत हासिल गरेको छ । चीनको प्रतिरोध गर्ने प्रयासमा संयुक्त राज्य अमेरिकाको रणनीतिक साझेदार भारत अमेरिकासँग व्यापारिक सम्बन्ध बढाउन र आफ्ना नागरिकहरूलाई कुशल श्रमिक भिसा प्राप्त गर्न सहज बनाउन उत्सुक छ । प्रधानमन्त्री मोदी ट्रम्पलाई पुनः निर्वाचित भएकोमा बधाई दिने पहिलो नेतामध्ये एक हुन् । उनले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भएकोमा साथै कङ्ग्रेसको चुनावमा रिपब्लिकन पार्टीको सफलताका लागि बधाई दिँदै नोभेम्बर ६ मा उनीसँग टेलिफोन कुराकानी पनि गरेका थिए । प्रधानमन्त्री मोदी र ट्रम्पबीच न्यानो र मैत्रीपूर्ण सम्बन्ध छ । दुई नेताबीचको यो मैत्रीपूर्ण सम्बन्धले विभिन्न वैश्विक मुद्दाहरूमा भारत र अमेरिकाको एकजुटता देखाएको छ । यो भ्रमण भारत फिर्ता पठाइने आप्रवासीहरू बोकेको एक अमेरिकी सैन्य विमान उडेको केही घन्टापछि आउँदैछ । यो ट्रम्प प्रशासन अन्तर्गत यस्ता उडानहरूको सबैभन्दा टाढाको गन्तव्य हो । रोयटर्सका अनुसार अमेरिकी उत्पादनहरूमा भारतको उच्च शुल्कलाई उद्धृत गर्दै ट्रम्पले विगतमा धम्की दिएको शुल्कबाट बच्न पनि भारत उत्सुक छ । रासस

स्टेलान्टिसमा सीईओको खोजी जारी, व्यवस्थापन र संरचनामा परिवर्तन

काठमाडौं । विश्वको चौथो ठूलो अटोमेकर स्टेलान्टिसले सोमबार व्यवस्थापन परिवर्तनको घोषणा गर्‍यो, जुन डिसेम्बरमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्लोस टाभारेसको आकस्मिक बहिर्गमनपछि सुरु गरिएको कम्पनीको पुनर्संरचनाको एक हिस्सा हो । अध्यक्ष जोन एल्कानको नेतृत्वमा रहेको कम्पनीको अन्तरिम कार्यकारी समितिले एक विज्ञप्तिमा जनाएअनुसार नयाँ स्थायी सीईओको खोजी ‘राम्रोसँग अघि बढिरहेको छ’ र यो प्रक्रिया यस वर्षको पहिलो छ महिनामा समाप्त हुने कुरा दोहोर्‍याएको छ । सोमबार कम्पनीले समूहको नयाँ सीईओ बन्ने सम्भावित उम्मेदवारको रूपमा हेरिएका उत्तर अमेरिकी सञ्चालन प्रमुख एन्टोनियो फिलोसाले गुणस्तरका लागि विश्वव्यापी प्रमुखको अतिरिक्त भूमिका लिने घोषणा गरेको छ । उनले जीप ब्रान्डको प्रमुखको पद बब ब्रोडरडोर्फलाई छोड्नेछन् । एलेन फावेलाई समूहको प्यूजो ब्रान्डको प्रमुख नियुक्त गरिएको छ, जसले टाभारेस अन्तर्गत लामो समयसम्म सेवा गरेकी लिन्डा ज्याक्सनलाई प्रतिस्थापन गर्नेछन्, जसले अवकाश लिँदैछिन् । एन्न एबाउडले स्टेलान्टिसको प्रो वन व्यावसायिक सवारीसाधन इकाइ जीन-फिलिप इम्पाराटोबाट ग्रहण गर्नेछिन्, जसले अक्टोबरदेखि स्टेलान्टिसको युरोपेली सञ्चालनको नेतृत्व गर्दै आएका छन् । पुनर्गठन योजनाको भागको रूपमा स्टेलान्टिसले आफ्नो सफ्टवेयर र इन्जिनियरिङ गतिविधिहरूलाई प्रमुख इन्जिनियरिङ तथा प्रविधि अधिकृत नेड क्युरिकअन्तर्गत एकीकृत गरेको कम्पनीले जनाएको छ । स्टेलान्टिस र पहिले प्युजो मालिक पीएसए दुवैका अनुभवी प्रमुख सफ्टवेयर अधिकृत इभ्स बोन्नेफोन्ट समूह छोड्दैछन् । स्टेलान्टिसले आफ्ना क्षेत्रीय प्रमुखहरूलाई उत्पादन योजना र विकास तथा औद्योगिक र व्यावसायिक गतिविधिहरूमा थप अधिकार दिइरहेको पनि जनायो । टाभारेसले २०२१ को सुरुमा पीएसए र फियट क्राइस्लरबीचको विलयको व्यवस्थापन गरेका थिए । त्यसपछि उनले स्टेलान्टिसको सीईओको रूपमा काम गरे तर सेप्टेम्बरमा प्रमुख सेयरधनीहरूसँगको मतभेदपछि गत वर्षको अन्त्यतिर अचानक राजीनामा दिएका थिए । सान्दर्भिक सामग्री :  १९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी

प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ (तस्बिरहरू)

काठमाडौं । देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका–३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरे । आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिव १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले क्यान्सर विश्वमा मृत्युको कारणमध्ये एक भएको उल्लेख गरे । विश्वमा कुल ६ जनाको मृत्युमध्ये एकको मृत्यु क्यान्सरका कारण हुने गरेको बताए । नेपालको कुल मृत्युको ११ प्रतिशत भन्दा बढी क्यान्सरबाट मृत्यु हुने गरेको बताए । नेपालमा क्यान्सरको मृत्युबाट भएका मृत्युको ४० प्रतिशत भन्दा बढी मृत्यु फोक्सो र पाठेघरको क्यान्सरबाट हुने गरेको जानकारी दिए । नेपालमा हरेक दिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको र हरेक दिन ४ महिलाको मृत्यु पाठेघरको क्यान्सरको कारण हुने गरेको जानकारी दिए । उनले आगामी वर्षदेखि नियमित खोप तालिकामा एचपिभी खोपलाई समावेश गर्ने सरकारको लक्ष्य रहेको बताए । आउँदो फागुन महिनालाई नसर्ने रोगको स्क्रिनिङ महिना घोषणा गरी कम्तिमा ५ लाखको परीक्षण गर्ने व्यवस्था मिलाइएको बताए ।  

ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो

भोजपुर । औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र टक (डोली पैसा) छाप्ने टक्सार बजार केही वर्षयता सुनसान छ । यहाँ निर्माण भएका धातुका सामानहरु देश विदेशमा परिचित छन् । राणाकालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक बजार हो टक्सार । भोजपुर सदरमुकाम नजिकै रहेको टक्सार कुनै समय व्यापारिक केन्द्रको रुपमा स्थापित बजार पनि हो । यस बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बुढापाकाहरुले बताउने गरेका छन् । १८७२ सालदेखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य रहेको स्थानीयवासी किशोरकुमार ताम्राकारले बताए । यहाँ खानी अड्डा स्थापना गरेर तत्कालीन समयमा पाटनबाट ल्याइएका कालिगडले फलाम र तामाका डोली पैसा बनाउने गरेको उनले जानकारी दिए । अहिले पनि ती पैसाहरु पाउन सकिने उनको भनाइ छ । यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका (टक डोली) पैसा राणाकालमा प्रचलित थियो । यहाँ टक काट्ने पहिलो कालिगड देवदत्त शाक्य रहेको ताम्राकारले जानकारी दिए । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यस स्थानमा भित्र्याएका थिए । ‘यो स्थान टक अर्थात् पैसा बनिने रुपमा चिनिन्छ,’ उनले भने, ‘अहिले पनि यहाँ बनेका टक पाउन सकिन्छ । त्यति मात्र हैन यो स्थान औद्योगिक क्षेत्रको रुपमा समेत परिचित थियो । यहाँका अधिकांश घरमा धातुका सामग्रीहरु निर्माण हुन्थ्यो । तर अहिले यो पेसा पनि लोप हुने अवस्थामा पुगेको छ भने बजार सुनसान बन्दै गएको अवस्था छ ।’ तत्कालीन नेपाल सरकारले १८७२ सालदेखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र इलामसहितका पूर्वी पहाडका जिल्लामा खनिज पदार्थ उत्खनन गर्न टक्सारमा खानी अड्डा स्थापना गरेको थियो । टक्सारमा टक छाप्ने पेसा शाक्य वंशले गर्दै आएको ताम्राकार बताउँछन् । पैसा काटेर बढी भएको धातु यहाँका कालिगडलाई दिएर धातुका सामग्री बनाउने कामको थालनी भएको उनको भनाइ छ । त्यतिबेला यहाँका हरेक घरमा धातु उद्योग तथा धातुका सामग्री बिक्री हुने गर्दथ्यो । ‘यहाँ १८७२ सालमा खानी अड्डा स्थापना गरेर टकमारी गरेको देखिन्छ’, उनले भने, ‘यहाँ पूर्वी क्षेत्रबाट खनिज पदार्थ सङ्कलन गरेर टकमारी गरेको पाइन्छ । टक काटेर बढी भएको धातुलाई यहाँका स्थानीयलाई दिएर धातुका सामग्री बनाउने कामको थालनी भएको देखिन्छ । विभिन्न सरकारी अड्डाहरु स्थापना भएपछि यहाँ बस्ती विस्तार भएको पाइन्छ ।’ विसं २०१३ मा राजा महेन्द्रले टक्सारलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको उनले जानकारी दिए । त्यो समयमा यहाँ दुईदेखि ३०० परिवारको बसोबास रहेको थियो । त्यतिबेला बजारमा मानिसहरुको चाप धेरै हुने गरेको स्थानीयवासीको भनाइ छ । २००७ सालपछि यहाँ रहेका सरकारी अड्डा भोजपुर बजारमा स्थानान्तरण गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको यहाँका जानकारहरु बताउँछन् । टक्सारमा बनेका हस्तकलाका सामग्री भूटान, चीनको तिब्बत, भारतको दार्जलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो । यहाँ रहेका हस्तकलाका धातुका सामग्री बन्ने उद्योगहरु पनि बर्सेनि बन्द भइरहेका छन् । यहाँका कालिगडहरुले हातेउद्योगको सहायताले बनाएका काँसका थाल, करुवा, आङ्खोरा, बोकुटालगायत सामग्री अहिले पनि देश–विदेशमा परिचित छन् । दशकौँ अघिसम्म दर्जनौँको सङ्ख्यामा रहेका धातु उद्योग अहिले पाँचवटामा समिति भएको स्थानीय कालिगड विमल शाक्यले बताए । यी उद्योगहरुले बजारको मागलाई धान्न समस्या रहेको उनको भनाइ छ । यसलाई पुस्तान्तरण नगरिएमा पेसा नै सङ्कटमा पर्ने अवस्था रहेको उनले बताए । यो पेसाप्रति मानिसको चासो हराउँदा पछिल्लो समयमा आएर टक्सारको मौलिकतासँगै ऐतिहासिक महत्व मेटिने अवस्था आएको उनको भनाइ छ । ‘टक्सार धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बजार हो’, उनले भने, ‘तर यो बजार सुनसान बन्दै गएको अवस्था छ । विगतमा दर्जनौँको सङ्ख्यामा रहेका धातु उद्योग पाँचवटामा सीमित छन् । यहाँ उत्पादन भएका धातुका सामग्रीको धैरै माग हुन्छ तर हामीले बजारको मागलाई धान्न सकेका छैनौँ ।’ एक समयमा ‘सानो पाटन’ को नामले समेत परिचित यो ठाउँमा रहेका कलात्मक घरहरु पनि भत्किँदै गएका छन् । यहाँको मौलिकता बोकेका धातु उद्योगहरु धमाधम बन्द भइरहेको स्थानीयवासी सुर्जबहादुर उदासले बताए । बसाइँसराइका कारण टक्सारको अतिस्व मेटिँदै गएको उनको भनाइ छ । कोइलालगायत कच्चा सामग्रीको अभावका कारण पनि धातु उद्योग सङ्कटमा परेको उनले बताए । ‘टक्सार पूर्व क्षेत्रको एक ऐतिहासिक बजार हो’, उनले भने, ‘तर यो बजारको ऐतिहासिकतासँगै मौलिकता पनि हराउँदै गएको छ ।’ मुख्य रुपमा बसाइँसराइका कारण यो बजार खण्डहर बन्दै गएको अवस्था छ । अधिकांश कलात्मक घर प्रायः खाली छन्भने कतिपय घरहरु भत्किसकेका छन् । टक्सारका पम्परागत धातु उद्योग बन्द हुँदा भोजपुर जिल्लाकै चिनारी धमिलिँदै बन्दै गएको उदासले बताए । घर अलपत्र छाडेर यहाँका मानिसहरु काठमाडौँ, धरान विराटनगरलगायत ठाउँमा बस्दै आएको उनको भनाइ छ । यहाँका करिब ५० देखि ६० प्रतिशत मानिसहरु घर छाडेर अन्यत्र बसाइँ गइसकेको उदासले बताए । ‘टक्सार बजार देशकै पहिचान बोकेको ऐतिहासिक बजार हो,’ उदासले भने, ‘मिनी पाटन उपनामले चिनिएको यो बजार बसाइँसराइको कारण उजाड बनेको छ । कलात्मक शैलीमा निर्माण गरिएका मठमन्दिर पनि जीर्ण बनेका छन् । बजार सुनसान छ ।’ राणाहरूले टक्सारबाट डोली पैसा चलाएको समयमा नै यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्तिहरू बनाइएको स्थानीय बुढापाकाहरु बताउँछन् । तत्कालीन समयमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर टकसँगै विभिन्न सामग्रीहरु निर्माण गरिन्थ्यो । इतिहास अनुसार १६औँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत रहेको पाइन्छ । माझ किरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यति बेला यहाँ थुप्रै माल, अड्डा अदालतहरु पनि खोलिएको स्थानीय जानकारहरुको भनाइ छ । अहिले आएर टक्सारवासी आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजार सुनसान बनेकोे स्थानीयवासी रोशन शाक्यले बताए । पिता पुर्खाले गरी ल्याएको पेसाको निरन्तरतास्वरुप आफूले अहिले धातुका सामग्री बनाउने काम गरिरहेको उनको भनाइ छ । त्यो समयका यहाँ बसोबास गर्ने हुनेखाने वर्ग अन्यत्र गएपछि बजारको थप विकास तथा विस्तारमा बाधा पुगेको उनको भनाइ छ । बसाइँ सरेर गएका मानिसहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका त्यस्ता घरहरु जीर्ण बनेको भोजपुर नगरपालिका–१२ टक्सारका वडाध्यक्ष देवी कार्कीले बताए । यहाँको ऐतिहासिकतालाई बचाई राख्न वडाका तर्फबाट आवश्यक काम गरिरहेको वडाध्यक्ष कार्कीको भनाइ छ । मुख्य रुपमा यहाँका धातुका सामग्री बनाउने पेसालाई संरक्षण गर्न आवश्यक रहेको उनले बताए । विगतमा धेरैको सङ्ख्यामा रहेको धातु उद्योग अहिले लोप हुँदै गएको वडाध्यक्ष कार्कीले भनाइ छ । ‘यहाँ परम्परागत रुपमा गरिँदै आएको धातुका सामग्री बनाउने उद्योगहरु बन्द हुँदै गएका छन्,’ वडाध्यक्ष कार्कीले भने, ‘अहिले थोरैको सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा छन् । मुख्य रुपमा बसाइँसराइका कारण टक्सार बजारको विकास हुन सकेको छैन ।’ यहाँको घर छाडेर काठमाडौँ विराटनगरलगायत सहरमा बस्नेहरुले हालसम्म पनि घरजग्गा अलपत्र छाडिदिँदा बस्ती विस्तारमा समस्या रहको उनको भनाइ छ । ‘धेरैले घर छाडेर हिँडेका छन्,’ उनले भने, ‘ती छाडिएका घरहरु भत्किन थालेको अवस्था छ । नयाँ बस्ती विस्तार हुन सकेको छैन ।’ यहाँको सौन्दर्यलाई ध्यानमा राख्दै भावी दिनका कामलाई अघि बढाउने उनले बताए । टक्सारमा शाक्यमुनि बौद्ध विहार रहेको छ । यो बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुन सकेको छैन । टक्सार बजार भोजपुर सदरमुकामबाट करिब दुई किलोमिटरको दूरीमा अवस्थित छ । यहाँ नजिकै टक्सार विमानस्थल छ । टक्सार बजारका धातु उद्योगहरुलाई ब्युँताएर यस बजारको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीहरुलाई अभिप्रेरित गर्नुपर्ने खाँचो रहेको स्थानीय जानकारहरु बताउँछन् । यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी देखिएको छ । अहिले बजारको मागलाई यहाँका उद्योगहरुले धान्न सकिरहेका छैनन् । बजारमा जनघनत्व घटेसँगै विभिन्न खालका धातुका सामग्री बनाउने जनशक्ति बाहिर पलायन भएपछि यस्तो अवस्था आएको स्थानीयवासीको भनाइ छ । रासस

नबिल बैंकद्वारा कतारमा ‘घर त नेपाल’ नामक बैंकिङ सेवाबारे जनचेतना कार्यक्रम सम्पन्न

दोहाः नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको र्‍याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा नबिल बैंकका विभिन्न विभागका प्रतिनिधिले रेमिट्यान्स, निक्षेप, डिजिटल बैंकिङ, कर्जा तथा लगानीका साथै वित्तीय सचेतना, वित्तीय सेवाको उपयोग, बचत र लगानीका सम्बन्धमा अन्तरक्रियात्मक छलफल गरेका थिए । कार्यक्रममा विदेशबाट फर्किएका नेपाली कामदारहरूको उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ को बारेमा जनकारी दिइएको थियो । त्यस अवसरमा कतारका लागि नेपाली राजदूत रामेशचन्द्र पौडेलले औपचारिक माध्यमबाट रकम नेपाल पठाउँदा नेपालको सम्रग अर्थतन्त्रलाई फाइदा पुग्ने भएकाले पैसा पठाउँदा औपचारिक माध्यमको प्रयोग गर्न आग्रह गरे । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल र कतार दुवै देशको अर्थतन्त्रको विकासमा नेपाली श्रमिकहरूको महत्त्वपूर्ण योगदान रहेकामा जोड दिए । कतारमा भारतीयपछि नेपाली श्रमिकको संख्या सबैभन्दा धेरै रहेको उल्लेख गर्दै उनले आफूहरू यहाँ आउनुको उद्देश्य डिजिटल सेवाबारे जानकारी गराउनु रहेको बताए । जसमा कतारको मोबाइल प्रयोग गरी अनलाइनमार्फत बैंकमा खाता खोल्न, कर्जाका लागि आवेदन दिन तथा बैंकअन्तर्गतका अन्य कम्पनीमार्फत एसआईपी, म्युचुअल फण्ड र सेयर बजारमा लगानी गर्न सकिने उनको भनाइ थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए), कतारका अध्यक्ष रमेश भट्टले प्रवासी समुदायमा वित्तीय सचेतनाको आवश्यकतामा जोड दिए । नबिल बैंकले लामो समयदेखि कतारमा रहेका नेपाली श्रमिकलाई नेपालमा पैसा पठाउनका लागि सेवा प्रवाह गर्दै आएको छ । कतारबाट श्रमिकहरूले पठाएको पैसा नेपालका कुनै पनि बैंक खातामा तुरुन्तै जम्मा गर्न सकिन्छ । बैंकले रेमिट्यान्स पठाउने ग्राहकका लागि विशेष बचत खाता, डिजिटल बैंकिङ सुविधा तथा सरल ऋण सेवा प्रवाह गरिरहेको छ । नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

क्यान्सरबाट जोगिन सावधानीका साथ स्वास्थ्यको हेरचाह गरौँ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीकासाथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गरेकी छन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउनु जरुरी रहेको बताइन् । क्यान्सर पीडितलाई पनि परिवारको माया र प्रेम आवश्यक हुने बताइन् । समाजको काम गर्न कुनै ठूलो फण्ड आवश्यक पर्ने भन्दै सँगै मिलेर कामहरु गर्न जरुरी रहेको जानकारी दिइन् । उपसभामुख रानाले भनिन्, ‘क्यान्सर लाग्नबाट जोगिन हामीले सावधानी अपनाउनुपर्छ । लाग्यो भनेपनि कसरी बच्न सकिन्छ भनेर हेर्नुपर्छ । सँगै मिलेर अलिअलि पैसा उठाएर हामी धेरै कामहरु गर्नसक्छौँ ।’ उपसभामुख रानाले क्यान्सरपीडितलाई माया गर्नुपर्ने बताइन् ।