स्थापना भएको पाँच वर्षपछि औषधी लिमिटेडले पायो जीएमपी प्रमाणपत्र
काठमाडौं । नेपाल औषधी लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधी उत्पादन अभ्यास (जीएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । स्थापना भएको पाँच दशकपछि जीएमपी प्रमाणपत्र पाएको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले बताए । विसं २०२९ सालमा कम्पनी स्थापना हुँदा जीएमपीको प्रावधान थिएन । यो प्रावधान आएपछि कम्पनीले औषधी उत्पादन बन्द गरेको थियो । विसं २०७४ सालदेखि कम्पनीले मापदण्डमा औषधी उत्पादन सुरु गरेपछि सोमबार प्रमाणपत्र प्राप्त गरेको हो । पनेरुले प्रमाणपत्र प्राप्त गर्नु आफैमा ठूलो उपलब्धी भएको बताए । हाल कम्पनीले ओरल रिहाइड्रेसन साल्ट (ओआरएस), ट्याबलेट र हेमोडालाइसस फ्लूड (पार्ट–१ र २) अन्तर्गत १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ । कम्पनीले आगामी दिनमा दीर्घरोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधी उत्पादनका योजना बनाएको महाप्रबन्धक पनेरुले बताए । सरकारबाट आवश्यक बजेट विनियोजन भए कम्पनीको योजनामा रहेका सबै ९८ वटा प्रकारका औषधि उत्पादन गर्न समेत सकिने पनेरुलेको भनाइ छ । दीर्घरोगीका लागि औषधी उत्पादन गर्न काठमाडौं महानगरपालिकासँग सहकार्य सुरु गर्ने बताइएको छ । पनेरुले कम्पनी र काठमाडौँ महानगरपालिकाबीच दीर्घरोगीका लागि औषधि उत्पादनका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको बताए ।
कोशी प्रदेशमा भइरहेको बन्दले लगानीमैत्री वातावरण बिथोलियो : निजी क्षेत्र
काठमाडौं । नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरूले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै बन्द हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन्। उनीहरूले परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवनसमेत अस्तव्यस्त भएको सर्वसाधारणले सास्ती भोगनु परेको र यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना हुने बताएका छन् । ’नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको सर्वविदितै छ । उद्योग, व्यापार, बैंकिङ, ऊर्जा, कृषि, पर्यटन, सञ्चारलगायत अन्य विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुर्याएकाे छ । तर विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालाहहरूलाई यस विषयमा गम्भीर बन्न,विकास निर्माणको कार्यलाई सहज र निर्वाध रूपमा सञ्चालन गर्ने वानतावरण सिर्जना गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । पर्यटनमा निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरिसकेको, हजारौं नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको अवस्थामा पाथिभरा (मक्कुम्लुङ) मा बन्ने पर्यटकीय पूर्वाधारले त्यहाँ जान चाहने वृद्धवृद्धा, अशक्त बालबालिकासहित अन्य यात्रुहरूलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउनुका साथै पूर्वाधार निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटन प्रवद्र्धन, कृषि, हस्तकलाको विकासमार्फत व्यवसायको प्रवद्र्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने र देशकै पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै, केवलकार निर्माणका लागि स्थानीय तह र स्थानीय बासिन्दाहरू सहमत रहेको बन्नुपर्छ भन्ने धारणा राखिरहेको सन्दर्भमा केवलकार बन्न दिनु हुँदैन भनेर बाह्य हस्तक्षेपसहित केवलकार निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयासका रूपमा निजी क्षेत्रले लिएको समेत विज्ञप्तिमा उल्लेख छ । उनीहरूले विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोध मात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना हुनुको साथै नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई यसले नकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् । यस्तै उनीहरुले समस्याको समाधान वार्ताबाट गर्न सकिने जनाउँदै विकासको यो प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न र पाथिभरा (मक्कुम्लुङ) केवलकार परियोजनालाई सहज र निर्वाध रूपमा अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई निजी क्षेत्र हार्दिक अपिल गरेका छन् । यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका कोशी र गण्डकी र कर्णाली प्रदेशका सभापतिरूले पनि आज छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस विषयमा महासंघ प्रदेश समितिको ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरूले कोभिड महामारी लगायतका कारण संकटमा परेको अर्थतन्त्रको विकास गरी पुरानै अवस्थामा ल्याउनका लागि नेपाल सरकार र निजी क्षेत्र लागि परिरहेको अवस्थामा विकासका लागि भइरहेका प्रयासमा अवरोध हट्नु पर्ने धारणा राखेका छन्। ‘राज्यको नियम कानुन तथा प्रणालीले स्वीकृति तथा अनुमति प्रदान गरेर तथा स्थानीय नागरिकको भावना र चाहना बमोजिम नै निर्माणको काम सुरु गर्दैगर्दा उत्पन्न भएको बाह्य परिस्थितिले यो आयोजनालाई जे जसरी अवरोध उत्पन्न गर्न खोजिएको छ ।यसबाट नेपालको आर्थिक विकासका लागि अत्यावश्यक स्वदेशी एवं विदेशी लगानीका क्षेत्रमा पक्कै पनि सकारात्मक सन्देश दिएको छैन,’ जारी विज्ञप्तिमा भनिएको छ । यस्तै, विज्ञप्तिमा देशका कैयौं स्थानमा पर्यटन पूर्वाधारहरुको निर्माण गरी दशौं हजार व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको तथा राजस्वका माध्यमबाट मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेको देशको व्यावसायिक ग्रुपको अगुवाइमा निर्माण हुन लागेको केबलकार आयोजनाका विरुद्धमा जेजस्ता क्रियाकलापहरू हाल देखिएका छन् । त्यसले पक्कै पनि देशमा लगानीको वातावरण बनाउने नभएर भत्काउने काम गरिरहेको उल्लेख छ ।
भरतपुरका किशोरीहरूलाई एचपीभी खोप अभियान सुरु, मेयर दाहालले गरिन् उद्घाटन
चितवन । भरतपुरका सामुदायिक र संस्थागत विद्यालयमा अध्यययन गर्ने किशोरीलाई एचपीभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी हो । विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले श्री मावि गौरीगञ्जबाट अभियानको उद्घाटन गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो अभियानमा कक्षा ६ देखि १० मा पढ्ने सम्पूर्ण छात्राहरुलाई अनिवार्य सहभागी हुन आग्रह गरिन्। भरतपुर महानगरले मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने कार्य गरिसेको र अब भने विभिन्न उमेर समूहको लागि यस्तै अभियान ल्याउने उनले बताइन् । महानगरका अनुसार अभियान फागुन २ गतेसम्म अर्थात् १० दिनसम्म चल्नेछ । विद्यालय जाने ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरू र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका छात्राहरूलाई खोप लगाउन लागिएको स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिए । भरतपुर महानगरका स्वास्थ्य अधिकृत केशव भट्टका अनुसार विद्यालयका अध्ययरत १६ हजार १ सय ६९ र विद्यालय बाहिर रहेका ४ सय २३ गरी १६ हजार ५ सय ९२ जनालाई खोप लगाइने छ । खोप सेवाका लागि १ सय ९३ खोप केन्द्रहरु, २ सय १ जना स्वास्थ्यकर्मी र ४ सय २ जना स्वास्थ्यकर्मी खटिने छन् । आगामी वर्षदेखि कक्षा ६ मा अध्ययन गर्ने छात्रालाई फागुन महिनामा नियमित खोप दिने तालिका रहेको अधिकृत भट्टले जानकारी दिए ।
युवापुस्तामा रफ्तारले बढ्दै क्यान्सर, यसरी बनौं सजग
क्यान्सर एक जटिल रोग हो । यो खर्चालु पनि उत्तिकै हुन्छ । नेपालमा बर्सेनि क्यान्सर हुने र क्यान्सरबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको पाइन्छ । नेपालीलाई सबैभन्दा धेरै हुने फोक्सो क्यान्सर हो । त्यसपश्चात् अनौठो तरिकाले पाचन प्रणाली सम्बन्धीको क्यान्सर देखिन थालेको छ । जस्तै- मुख, पेट, आन्द्रा, मलाशय लगायतका विभिन्न ठाउँमा क्यान्सर देखा परिरहेको छ । पाचन प्रणाली सम्बन्धी क्यान्सरबाट युवाहरू बढी प्रभावित भएका छन् । नेपालमा फोक्सोको क्यान्सरपछि आमाशयको क्यान्सर निकै बढेको देखिन्छ । हामीकहाँ प्रोष्टेट क्यान्सर अलि कम छ तर, पश्चिमी देशहरूमा प्रोष्टेट क्यान्सर धेरै बढेको छ । नेपालमा क्यान्सर : विगत र वर्तमान नेपालमा क्यान्सरका रोगमा प्याटर्न परिवर्तन हुन थालेको छ । पहिले कम देखिने रोग अहिले बढी देखिन थालेका छन् भने पहिले धेरै देखिने क्यान्सर अहिले केही कम हुन थालेको छ । तर, नेपालमा पहिलेदेखि अहिलेसम्मै अग्रस्थानमा रहेको फोक्सोको क्यान्सर अहिले पनि उही स्थानमा छ । किनकि नेपाल अत्यधिक चुरोट खाने देशमा पर्छ र अहिले कलेजमा अध्ययनरत विद्यार्थीले पनि यसको सेवन बढी गर्न थालेको पाइन्छ । अर्को कुरा नेपालमा पहिले पाठेघरको मुखको क्यान्सर पनि बढी देखिएको थियो तर अब विस्तारै स्तन क्यान्सर अग्रस्थानमा जाँदै छ । स्तन क्यान्सर अहिले पश्चिमी देशहरूमा सबैभन्दा बढी छ । अहिले नेपालमा पनि यो बढिरहेको छ । मैले पढ्ने बेला अथवा म वीर अस्पतालमा आवद्ध हुने बेलामा समेत अहिले देखिरहेका क्यान्सर त्यो बेला यति धेरै मात्रामा देखिँदैनथ्यो । आन्द्राको क्यान्सर कुरा गर्दा मैले त्यो बेला पनि रिसर्च गरेको थिएँ जतिबेला युवाहरूमा अलि बढी नै आन्द्राको क्यान्सर देखिएको थियो तर यति धेरै नम्बरमा बिरामी थिएनन् । अहिले निकै धेरै नम्बरमा बिरामीको संख्या बढ्दै गएको छ । यो अवस्था हेर्दा हामीले जुन तरिकाले पहिले खानेकुरा खान्थ्यौं, अब फेरि त्यहीँतिर फर्कन आवश्यक देखिन्छ । जस्तै पहिले हामी आफ्नै बारीमा आफैले फलाएको चामल, दाल, तरकारी खान्थ्यौँ भने दूध दही पनि आफ्नै घरमा बनाइन्थ्यो । अहिले अवस्था निकै फेरिएको छ । केटाकेटीदेखि युवापुस्ताले जंक फुड खाने बानी बसालिसकेका छन् । हुँदाहुँदै मासु पनि अहिले अष्टे«लियाबाट आयात हुन थालेको छ । हामी धेरै परनिर्भर हुँदा रोग पनि नयाँ नयाँ किसिमका देखिन थाले । गहुँ, तोरी, लसुन, फलफुल सबै आयात हुन्छ । अब जबसम्म यो प्रक्रिया रोकिँदैन तबसम्म अवस्था जोखिमपूर्ण हुन्छ । खानामै गडबड विगतमा निकै कमदेखि पाचन प्रणाली सम्बन्धीको क्यान्सर अहिले आएर निकै बढ्नुमा हामीले खाइरहेको खानामा शंका गर्नुपर्ने अवस्था आएको छ । किनकि आन्द्राको क्यान्सर भएकाहरू युवा उमेरमै देखिएको हुन्छ । २५/३० वर्षको उमेरमै आन्द्राको क्यान्सर भएर बिरामी आइरहेका छन् भने पक्कै पनि खानामा कहीँ न कही कमजोर छ भन्ने हो । यो अवस्थाले हामीले खाइरहेका कुरामा प्रयोग गरेको विषादीहरू निकै धेरै रहेको अनुमान लगाउन सकिन्छ । विशेषगरी प्याकेजिङ गरिएका खानेकुरामा बाहिर एउटा लेवलिङ गरिएका हुन्छ भने भित्र अर्कै चीज प्रयोग गरिएको हुन्छ । अब लेबलिङ अनुसारको भित्र छ कि छैन भन्ने विषयमा निगरानी गर्नुपर्ने अवस्था आएको छ । हामीले खाने खानामा समस्या छ, यो प्रष्ट छ किनभने आन्द्राको क्यान्सर, पेटको क्यान्सर लिभरको क्यान्सर एकदमै बढ्नु भनेको यो सबै पाचन प्रणालीसँग सम्बन्धित समस्या हो । हामीले खाने बजारमा आयातित फलफूल, सागसब्जी लगायत हरेक सामग्रीमा केमिकल मिसिएको छ कि छैन जस्ता कुरामा निगरानी राख्न अब निकै आवश्यक भइसकेको छ । वीर अस्पतालमा आउने दैनिक सय जनामध्ये झण्डै १५ देखि २० प्रतिशत बिरामीमा पाचनसम्बन्धी क्यान्सर बोकेर आउँछन् । यो अलाराम वार्निङ हो । यही अवस्थामा हामी सचेत बनेनौँ वा सरकारले केही गर्न सकेन भने भोलिको अवस्था डरलाग्दो हुने छ । अहिले वीर अस्पतालमा दैनिक १ सय जना क्यान्सर रोगका बिरामी उपचारका लागि आउने गर्छन् । जसमा नयाँ र पुराना बिरामी रहेका छन् भने वर्षमा करिब १ हजार क्यान्सरका नयाँ बिरामी र ६-७ हजार पुरानो बिरामीहरू हामीले हेर्नुपर्छ । हाम्रो अस्पतालको कुरा गर्दा अहिले क्यान्सरका बिरामीको त्यति धेरै रस पनि छैन, तर थोरै बिरामी अहिले पनि छैनन् । म पहिले यो अस्पतालमा सुरु गर्दा नेपालमा धेरै अस्पतालहरू थिएनन् । चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र काठमाडौंको वीर अस्पतालमा मात्र क्यान्सरको उपचार गरिन्थ्यो । वीर अस्पतालमा बिरामीको निकै चाप हुन्थ्यो । तर, आजभोलि क्यान्सर रोगको उपचार हुने अस्पतालको संख्या बढेको छ भने निजी अस्पतालले पनि राम्रो सेवा दिन थालेका छन् । जसका कारण वीर अस्पतालमा केही चाप घटेको छ । पहिलेको भन्दा चाप रेडियशनमा कम छ तर, पालो भने बैशाखसम्म पुगिसकेको छ । यो राम्रो होइन । क्यान्सर लागेको बिरामीलाई चाँडै उपचार दिनुपर्ने हुन्छ । केही क्यान्सर छ जसलाई अलि ढिलो गरेपनि फरक पर्दैन । मुख र फोक्सोको क्यान्सरको उपचार जतिसक्दो चाँडो गर्नुपर्छ । यस्तो खालको बिरामीको लागि हामीलाई नयाँ मेशिनको तुरुन्त आवश्यकता परेको छ । क्यान्सर यही कारणले लाग्छ भनी किटान गर्न सकिने अवस्था अहिलेसम्मै पनि छैन । तर अन्दाज भने गर्न सकिन्छ । जस्तै आजभन्दा २५–३० वर्ष अगाडि पाचन प्रणालीमा अहिले जस्तो क्यान्सरको समस्या थिएन । त्यो बेला अहिले जस्तो खानेकुराहरू बाहिरबाट आयात पनि हुँदैनथ्यो । जब बाहिरबाट खानेकुरा आयात गरेर खान सुरु गरियो त्यसपछि यो क्यान्सर देखिन थाल्यो । त्यस्तै नेपालमा चुरोट सुर्तीको सेवन बढ्न थालेसँगै फोक्सोको क्यान्सर पनि बढ्दै छ, मुखको क्यान्सर बढ्दै छ । कुनै क्यान्सरको कारण के हो भन्ने नै थाहा हुँदैन । क्यान्सरका चरण क्यान्सर लागेका बिरामी उपचारका लागि अस्पतालमा पुग्ने भनेको स्टेज थ्री वा फोरमा हो । त्योभन्दा अगाडि प्रायः बिरामी अस्पताल पुग्दैनन् । कतिपय क्यान्सर रोगमा कुनैपनि लक्षण देखिँदैन । लक्षण नदेखिँदा कोही पनि व्यक्ति अस्पताल पुग्दैनन् । जब खोकी लाग्न थाल्छ, टाउको दुख्न थाल्छ वा ढाड दुख्न थाल्छ अनि अस्पताल पुग्दा स्टेज तेस्रो, चौथोमा पुगिसकेको हुन्छ । फोक्सोमै भयो भने पनि फैलिसकेको हुने, ब्रेनमा पुगिसकेको हुने हुन्छ । ढाड किन दुख्यो भनी एक्सरे गर्दा त्यहाँ ढाड भाँच्चिसकेको हुन्छ । किन भनेर हेर्दा क्यान्सर भइसकेको हुन्छ । स्टेजमा थ्रीमा आउँदा उसको निको हुने चान्स उपचार गर्दा ३० प्रतिशत हुन्छ भने चौथो स्थानमा पुगेका बिरामीको ५ प्रतिशत मात्र उपचार हुन्छ । क्यान्सरको आफ्नै संसार हुन्छ । कुनै क्यान्सर हामीले गरेको उपचारमा तुरुन्त काम गर्छ । बिस्तारै हराउँछ पनि कतिपय जति उपचार गर्दा पनि राम्रो हुँदैन । यो रोग निकै खर्चालु पनि हुन्छ । ज्यान जोगाउन पनि गाह्रो हुन्छ । स्टेज थ्री, फोरमा आएपनि केही हदसम्म सर्वाइभल बढाउने र बाँचिएन भने पनि जुन पीडा हुन्छ त्यो कम बनाउन सकिन्छ । यस्तो अवस्थामा आए पनि प्यालिएटिभ केयर गर्न सक्छौँ भने कतिपय व्यक्ति स्टेज फोरमा पुगेर पनि निको भएको बिरामी पनि हुनुहुन्छ । नेपालमा उपचार आजभोलि नेपालमा सबै किसिमको क्यान्सरको उपचार हुन थालेको छ । पहिले चिकित्सक पनि कम थिए, उपकरण पनि थिएन । आजभोलि जनशक्ति विकास हुँदै गएको छ । रेडियशन अन्कोलोजी अथवा क्लिनिकल अन्कोलोजीको पढाइ नेपालमै हुन थालेको छ । वीर अस्पतालबाटै ४० जना उत्पादन भइसकेका छन् । म पनि यही अस्पतालमा पढेर यही अस्पतालम सेवा गरिरहेको व्यक्ति हुँ । बाहिरबाट पनि पढेर आइरहेका छन् । तर, यो जनशक्ति अझै यो रोगको लागि पर्याप्त होइन । अर्को कुरा भएको जनशक्ति पनि एकै ठाउँ अथवा काठमाडौं उपत्यकाभित्रै बस्ने चलन छ । उपत्यका बाहिरको कुरा गर्दा अहिले पनि क्यान्सर रोगको उपचारका लागि सबै प्रदेशमा अस्पताल बनिसकेका छैनन् । पूर्वतिर केही अस्पताल सञ्चालनमा आइरहेका छन् भने चिकित्सक पनि बढी हुनुहुन्छ तर पश्चिममा निकै कम छ । भरतपुर चितवनभन्दा पर अझै यो सेवा पुगेको छैन । भर्खर नेपालगञ्जमा एउटा क्यान्सर अस्पताल स्थापना भएपनि त्योभन्दा पर सुदूरपश्चिम, कर्णाली प्रदेशसम्म पुग्न सकेको छैन । अहिले पनि नेपालको ठूलो ठाउँमा क्यान्सरको उपचार पुगेको छैन । भएका ठाउँमा पनि राम्रो उपकरण र दक्ष जनशक्तिको अभाव कम छ । अहिलेको अवस्थाअनुसार नेपालमा रेडियशनको करिब ३० देखि ४० वटा मेसिन अनिवार्य छ । तर, अहिले १० वटा जतिमात्र छ । जसका कारण दुरका मान्छेलाई काठमाडौं आएर उपचार गर्न निकै कठिन परिरहेको छ । यसको लागि सरकारले प्रत्येक प्रदेशमा कम्तिमा पनि एउटा क्यान्सर अस्पताल आवश्यक छ । जिल्ला अस्पतालमा पनि क्यान्सरको सामान्य भएपनि सेवा सुरु गर्न आवश्यक छ । यसरी बनौं सजग हामी धेरैको बानी बिरामी नहुञ्जेलसम्म अस्पताल नपुग्ने हुन्छ । लक्षण नदेखिनु र स्क्रिनिङ नगराउनाले पनि धेरै जस्तोलाई यस्तो रोग लागिरहेको हुन्छ । यसको लागि सबैभन्दा महत्वपूर्ण भनेको स्क्रिनिङ नै हो । यसका लागि विभिन्न खालको स्क्रिनिङ गर्नुपर्छ । जस्तै पाठेघरको मुखको क्यान्सर छ कि छैन भनेर हेर्न पाठेघरको मुखको जाँच गर्नुपर्छ । स्तन क्यान्सरको लागि स्क्रिनिङमा जाँदा म्यामोग्राम गर्नुपर्छ । अल्ट्रासाण्ड, एमआरआई पनि गराउन सकिन्छ । पाचन प्रणालीका लागि इण्डोस्कोपी गर्न सकिन्छ, फोक्सोको लागि सिटीस्क्यान गर्न सकिन्छ । कलेजोको लागि अल्ट्रासाउण्ड पनि गर्न सकिन्छ । कतिपय देशमा सरकारले स्क्रिनिङ गर्नैपर्छ भन्ने बाध्यात्मक व्यवस्था गरेको छ । साउथ कोरियाको कुरा गर्ने हो भने त्यहाँ यो व्यवस्था छ । यसले गर्दा नागरिकको ज्यान जोगिने सम्भावना धेरै हुन्छ । यसको लागि राष्ट्रले कडाइ गर्नुपर्यो या नागरिक आफै सचेत हुनुपर्यो । सचेतनामूलक कार्यक्रम निकै आवश्यक छ । यसो गर्दा मान्छे सचेत हुँदै जान्छ । यसमा धेरै समस्या छ । कतिपय व्यक्ति क्यान्सर भन्ने बित्तिकै आत्तिने हुन्छ । कुनैपनि रोग लाग्दा आत्तिनु हुँदैन । उपचार सम्वभ छ । कतिपय रोग उपचारपछि निको हुन्छ भने कतिपय निको नभएपनि कम पक्कै हुन्छ । धेरै भ्रमहरू पनि छन् । कतिपय व्यक्तिलाई औषधीले पनि काम गर्दैन । अहिले नेपालमा क्यान्सर लागेर निको भएकाहरू पनि धेरै छन् । सरकारले पनि एक लाख रुपैयाँ सहयोग गरिरहेको छ । वीर अस्पतालमा आएका बिरामीको एक लाख रुपैयाँमा उपचार हुन्छ । रेडियशनको लागि खर्च छैन भने कतिपयको हकमा अस्पतालले मिलाउने गरेको छ भने १० प्रतिशत बिरामीले रेडियशन फ्रीमै गरिन्छ । कुनै पनि क्यान्सरको बिरामी वीर अस्पतालमा आयो र उसले पैसा छैन भन्यो भने उपचार नपाएर फर्कनुपर्ने अवस्था हामीले गरेका छैनौँ । तर बाध्यता हामीसँग पनि छ । हामीसँग एउटा मात्र रेडिशेयन मेसिन छ जसका कारण बिरामीले उपचारको लागि पालो कुर्न परेको छ । यसका लागिथ हामीले सरकारसँग अर्को एउटा मेसिनको लागि माग गरेका छौँ । अर्को मेसिन आयो भने सबै बिरामीको उपचार समयमै गराउन सकिन्छ । सरकारले गर्नुपर्ने काम क्यान्सर रोग नेपालमा सबैभन्दा बढी जोखिम रोगमध्येको एक हो । यसको मृत्युदर पनि बढिरहेको छ । नेपाल सरकारले यसका लागि ‘राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४-२०३० ’ तयार पारेको छ । जसमा रोग लाग्नेको संख्या कम गर्न वा यसबाट हुने मृत्युदर कम गर्न के गर्ने भन्ने रणनीति बनाइएको छ । जसमा सातवटै प्रदेशमा क्यान्सर अस्पताल स्थापना गर्नेदेखिका विभिन्न ९ वटा रणनीति तयार पारिएको छ । यो रणनीतिअनुसार काम गर्न सक्यो भने अबको ३०-४० वर्षपछि क्यान्सर कम गर्न सकिन्छ । यस्तै रणनीति चलाएको पश्चिमी देशमा अहिले क्यान्सर कम गर्दै गएको छ । क्यान्सर लागे पनि मर्नेको संख्या त्यहाँ निकै कम छ । किनकि पहिले नै यो रोगसम्बन्धी जानकारी दिने वा नियमित जाँच गर्न लगाउने काम त्यहाँ भइरहेको छ । अब नेपालमा पनि यस्तै सचेतनामूलक कार्यक्रम गर्न निकै आवश्यक छ । अहिले विकसित देशमा क्यान्सर लागेर मर्नेको संख्या निकै कम हुँदै जान थालेको छ तर नेपालमा भने बढ्दै जान थालेको छ । नेपालमा सन् २०२० को तथ्यांकअनुसार हरेक वर्ष झण्डै २० हजार क्यान्सरका नयाँ बिरामी देखिने गरेका छन् भने यसमा १४ हजारको मृत्यु हुने गरेको पाइएको छ । यो तथ्यांकले क्यान्सर भएका बिरामीमध्ये ६५ देखि ७० प्रतिशतको मृत्यु हुने गर्छ । यो भयावह अवस्था हो । कुन–कुन ठाउँमा के गर्न सकिन्छ, प्रादेशिक अस्पतालमा के गर्न सकिन्छ, क्यान्सर अस्पताल नयाँ बनाउन नसकेपनि भएका अस्पतालहरूमा राम्रा उपकरणहरू राखेर आवश्यक चिकित्सक पूर्ति गर्ने लक्ष्य राखिएको छ । ध्यान दिनैपर्ने विषय सबैभन्दा पहिले हामीले खानपानमा ध्यान दिऔँ । निरोगी रहनको लागि चुरोट नखाऔँ । कुलतबाट टाढा रहन सिकौँ, हरेक दिन शारीरिक व्यायाम गरौँ । सकिन्छ भने योगा गरौँ, हरियो सागपात, फलफुल प्रशस्त मात्रामा खाऔँ । यदि वजन बढी छ भने त्यो घटाउनुपर्छ । यति गर्दागर्दै पनि कतिपयलाई क्यान्सर लाग्न सक्छ । यसको लागि ५० वर्ष पुगेपछि एक पटक क्यान्सर अस्पतालमा गएर अनिर्वार्य जाँच गरौँ । यदि आफ्नो परिवारमा कलिलै उमेरमा कसैलाई क्यान्सर लागेको छ भने आफू पनि सचेत भएर जुनसुकै उमेरमा भए पनि सोध्न जरुरी हुन्छ । किनकि यो वंशाणुगत कारणले पनि लाग्छ । कतिपय बिरामीहरू आजभोलि उपचारको लागि अन्य विधामा जानुहुन्छ । खर्च पनि धेरै गरेर अन्त्यमा ठूलो ट्युमर बोकेर हामीकहाँ नै आउनुहुन्छ । अन्य विधामा जानुभन्दा अगाडि पहिले एक पटक चिकित्सकको सल्लाह चाहिं लिनै पर्छ । (क्यान्सररोग विशेषज्ञ, प्रा. डा. विवेक आचार्य वीर अस्पतालको ओन्कोलोजी विभाग प्रमुख हुन् । )
१४ अंकले घट्यो नेप्से, कारोबार पनि ८ अर्ब रूपैयाँमा सीमित
काठमाडौं । साताको तेस्रो कारोबारको दिन अर्थात मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०८ अंकले घटी २७१५.९१ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार ७१ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज १ करोड ६९ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनको ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २६ करोड, हिमालयन ऊर्जा विकास कम्पनीको २५ करोड, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २१ करोड र पिपल्स हाइड्रोपावर कम्पनीको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज कुनै पनि कम्पनीमा सकारात्मक सर्किट लागेको छैन । नेप्सेका अनुसार आज जलविद्युत् र अन्य समूहका कम्पनीको सेयर मात्र हरियो छन् । आज जोशी हाइड्रोपावर सर्वाधिक ९.९८ प्रतिशतले बढ्दा सामुदायिक लघुवित्त ८.३० प्रतिशत, मध्यभोटेकोशी ८.२५, ङादी ८.१९ प्रतिशत र उपकार लघुवित्त ८.१२ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ । यसबाहेक सप्तकोशी डेभलपमेन्ट बैंक ९.९९ प्रतिशत र धौलागिरि लघुवित्त ४.७७ प्रतिशतले घटेको छ ।
लाभांश पारित नहुँदै पुँजी वृद्धि, लगानीकर्तालाई पासोमा पार्दै नेप्से
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत पुस २६ गते लाभांश घोषणा गर्यो । सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेपछि लाभांशको प्रस्ताव सार्वजनिक गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पत्र पठायो । नेप्सेले पनि २०८१ पुस २६ आफ्नो वेवसाइटमा नेपाल लाइफले २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको जानकारी गरायो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत अर्थात् १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँ लाभांश प्रस्ताव गरेको सूचनामा उल्लेख थियो । कम्पनीले प्रस्ताव गरेको सो लाभांश पारित गर्न माघ २८ गते होटल भिष्वा वीरगंज (पर्सा)मा २५औं वार्षिक साधारण सभा बोलाएको छ । सो साधारण सभाले लाभांश पारित गरेपछि मात्रै सेयरधनीको खातामा लाभांश पुग्नेछ भने कम्पनीको चुक्ता पुँजी पनि त्यसपछि मात्रै बढ्नुपर्ने हो । तर, यहाँ हिसाब गडबढ भएको छ । कम्पनीको साधारण सभाको समय आउन अझै एक साता बाँकी रहेपनि नेप्सेमा भने कम्पनीको बोनस सेयर सूचीकृत भइसकेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सचिव विनोदकुमार भुजेलका अनुसार हाल सो कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ छ । यसआधारमा कम्पनीले १० प्रतिशतका दरले सेयरधनीहरूलाई ८२ करोड ७ लाख ९६ हजार ६५५ रुपैयाँको ८२ लाख ७ हजार ९६७ कित्ता सेयर वितरण गर्नेछ । साथै, ११.०५ प्रतिशतका दरले ९० करोड ६९ लाख ८० हजार ३०४ रुपैयाँ नगद लाभांश सेयरधनीहरूलाई वितरण गर्नेछ । त्यो पनि लाभांश प्रस्ताव पारित भएको खण्डमा । तर, प्रस्तावित लाभांशलाई नै आधार मानेर नेप्सेले अहिले नै कम्पनीको चुक्ता पुँजी बढाएर राखेको छ । प्रस्तावित लाभांश साधारण सभाबाट पारित नहुँदै नेप्सेको तथ्याङ्कमा सो कम्पनीको चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार ३ सय रुपैयाँ पुगेको उल्लेख गरेको छ । कम्पनीले पारित नै नगरेको लाभांशलाई कसरी पुँजी बढाएर नेप्सेको वेवसाइटमा राखियो ? यो जिज्ञासाको जवाफमा कम्पनी सचिव भुजेलले उक्त तथ्यांक आफूहरूले नराखेको दाबी गरे । ‘यो तथ्याङ्क हामीले राख्न नै सक्दैनौं, कसरी नेप्सेले राख्यो ?,’ भुजेलले प्रश्न गर्दै भने, ‘अब हामी यो विषय नेप्सेलाई जानकारी गराउँछौं।’ लगानीकर्ता राजु पौडेल वार्षिक साधारण सभाले पारित नगरेसम्म वैधानिक नहुने बताउँछन् । नेप्सेले वैधानिक पुँजी मात्रै नेप्सेमा अद्यावधिक गर्नुपर्ने उनको भनाइ छ । उनले नेप्सेको यस्तो कमजोरीले लगानीकर्तालाई प्रभावित गरेर पछि फस्न सक्ने धारणा राखे । ‘वार्षिक साधारण सभाले पारित नगरेसम्म कुनै पनि पुँजी वैधानिक हुँदैन, वार्षिक साधारण सभाबाट बहुमत सेयरधनीहरूले यो प्रस्ताव फेल पनि गर्न सक्छन् । साधारण सभाले पारित नगरेसम्म प्रस्ताव आधार मानेर पुँजी बढाउन पाइँदैन,’ उनले भने । नेप्सेमा सूचीकृत भएपछि मात्रै बोनस सेयर डिम्याट खातामा आउँछ । त्यसपछि कम्पनीको पुँजी यति हो भनेर गणना गर्न मिल्छ । अगाडि नै पुँजी यति हो भनेर नेप्सेमा राख्दा लगानीकर्तालाई असर पर्ने उनको बुझाइ छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुली बुक क्लोजको मितिलाई आधार मानेर कम्पनीको बोनस समायोजन गरिएको बताउँछन् । कम्पनीहरूले वार्षिक साधारण सभाका लागि सेयरधनी दर्ता किताब बन्द गर्छन् । सोही मितिलाई आधारमा मानेर पुँजी थप गरिएको उनको भनाइ छ । ‘घोषणा गरेको बोनस सेयरलाई नै आधार मानेर हामीले पुँजीमा जोड्छौं, यो प्रक्रिया सबै कम्पनीको हकमा लागू हुन्छ । समायोजन गर्दा सबै प्रक्रिया पुर्याई सूचीकरणबाट टिप्पणी उठाएर बुक क्लोज मिति आधिकारिक लिएरै फरक नपर्ने गरी अपडेट गरेका हुन्छौं, हाम्रो प्रक्रिया नै यही हो,’ प्रवक्ता पराजुलीले भने । यदि कम्पनीको लाभांश वार्षिक साधारण सभाबाट बोनस सेयर रद्द भएपछि के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘रद्द भयो भने समस्या आउँछ । विगतमा एक/दुई पटक भएको पनि छ । बैंक तथा वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकले घटाउँदा पनि यस्तो भएको थियो । नेप्सेले पनि त्यसबेला पनि घटाउँछ । यसलाई नेप्सेको गल्ती भन्न मिल्दैन ।’
नेपाल टेलिकम : सवा ६ अर्ब नाफा, कुल आय ४२ अर्ब ११ कराेड
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ । टेलिकमले २१ औं वार्षिकोत्सवकाे अवसरमा जारी गरेकाे तथ्यांकले यस्ताे देखाएकाे हाे। टेलिकमका अनुसार आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड रहेकाे छ । टेलिकमले गत वर्षको आम्दानीबाट सरकारलाई विभिन्न ११ शीर्षकमा ४१ अर्ब ५९ करोड रुपैयाँ कर तथा दस्तुर तिरेको छ । कम्पनीले अग्रिम आयकर १ अर्ब ७० करोड, मूल्य अभिवृद्धि कर ३ अर्ब ४६ करोड, दूरसञ्चार सेवा शुल्क ३ अर्ब १४ करोड, स्वामित्व शुल्क ८६ करोड, भन्सार शुल्क १७ करोड, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष शुल्क २ अर्ब १५ करोड फ्रिक्वेन्सी दस्तुर २ कम्पनीले नाफा कमाएवापतको लाभांश ६ अर्ब ५८ करोड सरकारी कोषमा दाखिला गरेको छ भने सम्पत्ति र सवारीसाधन कर ५ करोड ८२ लाख तिरेको छ ।
हलेसी तुवाचुङमा घरेलु मदिरालाई औद्योगिकीकरण गर्न प्रवर्द्धनको काम थालियो
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रक्सी (घरेलु मदिरा)लाई औद्योगिकीकरण गर्ने गरी प्रवद्र्धनको काम सुरु गरेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित पेयपदार्थको प्रयोगमा कमी ल्याउने लक्ष्यका साथ वैधानिक रुपमा घरेलु मदिरा उत्पादन गर्न नगरपालिकाले कार्यविधि बनाएर प्रवद्र्धनको काम सुरु गरेको हो । परापूर्वकालदेखि उत्पादन तथा प्रयोग हुँदै आएको स्थानीय मदिरालाई व्यावसायिकीरण गर्दै नगरवासी महिलाको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ‘लोकल रक्सी औद्योगिकीकरण कार्यक्रम’ अघि सारिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । ‘घरेलु मदिरा उत्पादनका लागि नगरभित्रका सहकारी, होमस्टे सञ्चालन गरिरहेका समूह, दर्ता भएका आमा समूह, महिला समूह वा अन्य समूहलाई मात्रै अनुमति प्रदान गरिएको छ, स्थानीय कच्चा पदार्थ कोदो प्रयोग गरेर उत्पादन गरिने घरेलु मदिरा स्वास्थ्यका लागिसमेत कम हानिकारक छ’, उनले भनिन्, ‘गुणस्तरयुक्त रक्सी उत्पादन, ब्रान्डिङ तथा बिक्री–वितरणका लागि नगरपालिकाले घरेलु मदिरा उत्पादन तथा उपयोग कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको हो, घरेलु मदिरा प्रवर्द्धन कार्यक्रमले नगरवासी महिलाको आयआर्जनमा वृद्धि गर्ने अपेक्षा गरिएको छ ।’ मदिरा उत्पादनलाई औद्योगिकीकरण गर्दै उत्पादित मदिरा उपयोगसम्बन्धी निर्माण गरिएको कार्यविधि नगरसभाबाट पारित गरेर पहिलो चरणका लागि नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको छ । घरेलु मदिराको कच्चापदार्थ, भाँडा खरिद, ‘बोटलिङ’ तथा ‘सप्लाइ’मा ८० प्रतिशतसम्म नगद अनुदान दिनेगरी पहिलो चरणमा १० लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ मदिरालाई व्यवस्थित रुपमा उत्पादन तथा बिक्री–वितरणको काम सुरु गर्ने पहिलो स्थानीय सरकार बनेको छ । त्रिधार्मिकस्थल हलेसी आसपासमा सञ्चालन भइरहेका घरबास ‘होमस्टे’मा खपत गर्ने उद्देश्यसहित नगरपालिकाले घरेलु मदिरा उत्पादन गर्ने र बिक्री–वितरण गर्नेगरी प्रवद्र्धन कार्यक्रम ल्याएको हो । नगरपालिकाले बनाएको कार्यविधिमा उत्पादकहरुले होमस्टेमा मात्रै आफूले उत्पादन गरेका मदिरा बेच्न पाउनेछन् । उत्पादित मदिरा होमस्टेबाट मात्रै बिक्री–वितरणको व्यवस्था हुने नगरपालिकाले जनाएको छ । होमस्टेबाट किनेर कोसेली वा बिहे, पास्नीजस्ता सांस्कृतिक कार्यमा प्रयोग गर्न सकिने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा उल्लेख भएअनुसार एक व्यक्तिलाई मात्र मदिरा उत्पादन गर्ने इजाजत दिइने छैन । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाका जनजाति महिलाले परापूर्वकालदेखि घरेलु मदिरा उत्पादन गरेर घर खर्च जुटाउने गरेका छन् । नगरको घरेलु मदिरा उत्पादन तथा उपयोगसम्बन्धी कार्यक्रमले घरेलु मदिरा उत्पादन गर्दै जीविका चलाइरहेका महिला बढी लाभान्वित हुने देखिएको नगर प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरणमा कानुनी झन्झट खेप्दै आएका जनजाति महिला नगरपालिकाले कार्यविधि नै पारित गरेर औद्योगिकीकरणको काम थालेपछि हर्षित भएका छन् । जिल्लाका अन्य स्थानीय तहका जनजाति महिलाले घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण गरिरहेका छन् । उनीहरुका लागि अहिलेसम्म अन्य स्थानीय तहले कार्यविधि निर्माण तथा प्रवद्र्धनको काम थालेका छैनन् । माझ किरात भनेर चिनिने खोटाङमा सांस्कृतिक कार्य (कुलपितृ, विवाह, मृत्यु, छेवर, पास्नी गुन्यूचोली आदि)मा समेत कोदोको रक्सी प्रयोग गर्ने गरिएको छ । स्थानीय कच्चापदार्थ कोदोबाट उत्पादन गरिने मदिरालाई प्रवद्र्धन गर्न सकेमा जिल्लाको आर्थिक आयस्तर वृद्धिमा समेत सघाउ पुग्ने आकलन गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वार्षिक ६१ करोडभन्दा बढीको आयातित मदिरा खपत हुँदै आएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन आचार्यले जानकारी दिए । आयातित मदिरासँगै अन्य पेयपदार्थसमेत सोही अनुपातमा खपत हुँदै आएको छ । पछिल्लो समय आयातित पेयपदार्थ प्रयोगमा न्यूनीकरण गर्न जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने स्थानीयले स्वतःस्फूर्तरुपमा प्रतिबन्ध लगाउने कार्य सुरु गरेका छन् । जिल्लाका कतिपय ठाउँका स्थानीयले आयातित पेयपदार्थ सेवन गरेको पाएमा जरिवाना गर्ने निर्णय गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा आयातित पेयपदार्थ प्रतिबन्ध लगाउने निर्णय पहिलोपटक उल्लङ्घन गर्नेलाई पाँच हजार, दोस्रो पटक गर्नेलाई सात हजार र तेस्रो पटक पनि उल्लङ्घन गर्नेलाई १० हजारसम्म जरिवाना गर्ने गरिएको छ । आयातित पेयपदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्नाका साथै फजुल खर्च भएको भन्दै स्थानीयले प्रतिबन्ध लगाउन थालेका हुन् । रासस