विकासन्युज

बालकृष्ण फाउन्डेसन र इष्ट पोल माविको सहकार्यमा कविता प्रतियोगिता सम्पन्न

काठमाडौं । बालकृष्ण शिवाकोटी मेमाेरियल फाउन्डेसन र इष्ट पोल माद्यमिक विद्यालयको सहकार्य कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । यस फाउन्डेसन र इष्ट पोल माविको सहकार्यमा माघ २१ गते काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयका कूल २८ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगिताको मूल्यांकन समितिमा डा.मधुसुदन लामिछाने, डा.रमेश लुइटेल र भावकेशर बराल रहेका थिए । प्रतियोगितामा उज्ज्वल तारा विद्यालयका विद्यार्थी प्राग्यिक खतिवडा प्रथम भएका छन् । उनले मेरो देश नामक कविता बाचन गरेका थिए । यस्तै, रिपुमर्दिनी सैनिक महाविद्यालयका संस्कृति पौडेल दोस्रो भएका छन् भने नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयका पंकज विनाडी तेस्रो भएका छन् । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार स्वरुप प्रमाणपत्र प्रदान गरिएको छ । प्रथमलाई २० हजार रुपैयाँ, दोस्रोलाई १५ हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो । साथै, सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीहरुलाई प्रमाणपत्र र १ हजार रुपैयाँ प्रदान गरिएको जनाएको छ । फाउन्डेसनका अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिति वरिष्ठ कवि प्रभा भट्टराई रहेका थिए । कार्यक्रममा विशेष अतिथि अभिनभ साहित्य समाजका अध्यक्ष गोविन्द वेदमणी घिमिरे, रत्न राज्य माध्यमिक विद्यालयका पूर्वप्राचार्य डा गीता शिवाकोटी, पाटन उच्च अदालतका पूर्वन्यायाधिस शेषराज शिवाकोटी र पद्मकन्या माद्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक ईश्वर सापकोटा अतिथि रहेका थिए ।  

विदेशबाट पनि श्रम स्वीकृति, ओमानको सलालाबाट सेवा प्रारम्भ

काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट-कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रुपमा श्रम स्वीकृति प्रदान गरे । त्यस अवसरमा राजदूत अर्यालले नेपाली श्रमिकहरुको हकहित संरक्षणको लागि हरेक किसिमको सहयोग गर्न तत्पर रहेको बताए । महानिर्देशक खत्रीले श्रम स्वीकृति बिना विदेश आउँदा हुने समस्याबारे सचेत गराएको विज्ञप्तिमा उल्लेख छ ।

सेयर बेचेर धमाधम बाहिरिँदै लघुवित्तका संस्थापक, २७.६६ करोडको सेयर बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आशा लघुवित्त र साना किसान लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रीमा राखिएको छ । तीन वटै लघुवित्तका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेर बाहिरिन लागेका हुन् । यी तीन वटा लघुवित्तका संस्थापक सेयरधनीहरूले २७ करोड ६६ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको देखिन्छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको साढे ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनी ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड)ले आफ्नो स्वामित्वमा रहेको ३ लाख ६३ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । लघुवित्तको उक्त सेयर मूल्य ५३१ रुपैयाँ तोकिएको छ । यस आधारमा फरवार्डले लघुवित्तको १९ करोड २७ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो । लघुवित्तको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र आवेदन नदिए सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने जनाएको छ । कम्तिमा १ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । यस्तै, आशा लघुवित्त वित्तीय संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको २ लाख ५९ हजार ७२३ कित्ता सेयर बिक्रीमा राखेका छ । लघुवित्तको सेयरमा सर्वसाधारण जोकोही लगानीकर्ताले पनि आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । लघुवित्तको उक्त सेयरको मूल्य ३ सय रुपैयाँ तोकिएको छ । यस आधारमा लघुवित्तको ७ करोड ७९ लाख १६ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । यस्तै, साना किसान लघुवित्तको संस्थापक सेयरधनी साना किसान कृषि सहकारी संस्था घैलाडुबा झापाले आफ्नो स्वामित्वको २० हजार कित्ता सेयर बिक्रीमा राखेको छ । उक्त सेयरको मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ । उक्त मूल्यका आधारमा लघुवित्तको ६० लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको देखिन्छ । खरिद गर्न इच्छुक लगानीकर्ताले माघ २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

रेकर्ड बिन्दुबाट घट्यो अमेरिकी डलर, चिनियाँ युआनको भाउ १९.२५ रुपैयाँ

काठमाडौं । अमेरिकी डलरको मूल्य घटेको छ । मंगलबार नयाँ रेकर्ड बनाएर उच्च बिन्दुमा पुगेको अमेरिकी डलर बुधबार भने घटेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३९.०२ रुपैयाँ र बिक्रीदर १३९.६२ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४३.५२ रुपैयाँ र बिक्रीदर १४४.१४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.६० रुपैयाँ र बिक्रीदर १७३.३५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.९५ रुपैयाँ र बिक्रीदर १५३.६१ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.३२ रुपैयाँ र बिक्रीदर ८६.७० रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.३६ रुपैयाँ र बिक्रीदर ९६.७८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.४९ रुपैयाँ र बिक्रीदर १०२.९३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९६ रुपैयाँ र बिक्रीदर ८.९९ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१७ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३७.०६ रुपैयाँ र बिक्रीदर ३७.२२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.१३ रुपैयाँ र बिक्रीदर ३८.३० रुपैयाँ, थाई भाट एकको खरिददर ४.११ रुपैयाँ र बिक्रीदर ४.१३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.८५ रुपैयाँ र बिक्रीदर ३८.०१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२८ रुपैयाँ र बिक्रीदर ३१.४२ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५५ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५८ रुपैयाँ र बिक्रीदर १२.६३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.२४ रुपैयाँ र बिक्रीदर १९.३२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.८५ रुपैयाँ र बिक्रीदर १७.९३ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४५०.०४ रुपैयाँ र बिक्रीदर ४५१.९८ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६८.७४ रुपैयाँ र बिक्रीदर ३७०.३४ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६१.०९ रुपैयाँ र बिक्रीदर ३६२.६५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

पाथीभरा केबलकार विवादमा ६ बुँदे सहमति, अनिश्चितकालीन यातायात बन्द स्थगन

काठमाडौं । ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको विवाद सम्बन्धी सहमति भएको छ । मंगलबार राति अबेरसम्म नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समितिबीच ६ बुँदे सहमति भएको हो । सहमतिमा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा यही माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ । सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने तथा मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको छ । यस्तै मुक्कुमलुङ संरक्षक पक्षधरबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ बजे वार्ता गर्ने सहमति भएको गृह मन्त्रालयले जानकारी दिएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई र आन्दोलनरतपक्षका तर्फबाट वार्ता सहजीकरण समितिकी सरस्वती सिंगक (सरु) ले हस्ताक्षर गरेका छन् ।

निर्यात सहज भएपछि बाहिरियो १२ अर्बको भटमास तेल, सूर्यमुखी तेल पनि बढ्यो

काठमाडौं । वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११ अर्ब ९९ करोड १८ लाख रुपैयाँको ५ करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको छ । गत आवको ६ महिनाको अवधिमा भने ३ करोड ११ लाख रुपैयाँको १ लाख १ हजार ३०१ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको थियो । छिमेकी मुलुक भारतमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको निर्यात सहज भएकाले निर्यात उत्साहजनक ढङ्गले बढेको उनले बताए । ‘अहिले भारततर्फ प्रशोधित तेलको निर्यातमा क्रमशः सुधार देखिएको छ’,’ सूचना अधिकारी तिवारीले भने । चालु आवको ६ महिनाको अवधिमा भटमासको तेल प्रशोधित मात्रै नभएर सूर्यमुखीको प्रशोधित तेलको निर्यात पनि बढेको छ । चालु आवको ६ महिनाको अवधिमा ३ अर्ब २१ करोड ९१ लाख रुपैयाँको २ करोड २८ लाख ४५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । गत आवको सोही अवधिमा भने ९ करोड ९४ लाख १० हजार रुपैयाँ मूल्य बराबरको सूर्यमुखीको तेल निर्यात भएको कार्यालयले जनाएको छ ।

आगामी ३ दिन काठमाडौं उपत्यकामा वर्षा नहुने, यस्तो छ देशभरको मौसम

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन काठमाडौं उपत्यकामा वर्षा नहुने बताएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसका प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट जोगिन सम्बद्ध सबैमा अनुरोध गरेको छ । यसैबीच, विभागका मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना छैन भने यहाँको आकाशमा आंशिक रुपमा बादल लाग्नेछ । आज बिहान ५ः४५ बजेको यहाँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेको तथा दिउँसो यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने उनले बताए ।

दीर्घसेवा पदकमा ८६ तोला सुन र ४०२ तोला चाँदी, दोब्बर दिन मन्त्रीको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले दीर्घ सेवा पदक पाएका कर्मचारीहरूका लागि ८६ तोला बढी सुन खर्च गरेको छ । २१औं वार्षिकोत्सवका अवसरमा टेलिकमले दीर्घसेवा पदक पाएका कर्मचारीहरूलाई ८६.१६ तोला सुन र ४०२ तोला चाँदी जडित पदक प्रदान गरेको हो । कुनै पनि कम्पनीमा २० वर्ष अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदक दिने अभ्यास छ । सोहीअनुसार नेपाल टेलिकमको २१औं वार्षिकोत्सवका अवसरमा २० वर्ष अवधि पूरा गरेका २०१ जना कर्मचारीले दीर्घसेवा पदक पाएका हुन् । टेलिकमले दीर्घसेवा पदकसँगै ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदकसमेत प्रदान गरेको हो । पदक पाएका २०१ कर्मचारीलाई ५ ग्राम सुनले गणना गर्दा १ हजार ५ ग्राम सुन हुन आउँछ । एक तोला सुनकाे ११.६६३८ ग्राम सुन हुन्छ । यस आधारमा टेलिकमले २०१ पदकका लागि ८६.१६ तोला सुन खर्च गरेको हो । दीर्घसेवा पदक पाउनेहरूमा प्रबन्धक पददेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत कर्मचारीहरू छन् । उनीहरूलाई एक महिना बराबरको तलबसमेत थपेर दिइएको छ । २० वर्ष अवधि पूरा गरेका २०१ जना कर्मचारीहरूलाई दीर्घसेवा पदक वितरण गरिएको नेपाल टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रले बताए । उनका अनुसार पदकमा ५ ग्राम सुन र २ तोला चाँदी मिसिएको तक्मा र खाइपाइ आएको एक महिनाको तलब प्रदान गरिएको हो । ‘टेलिकमले २० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीलाई दीर्घसेवा पदकमा सुन र चाँदी जडित गरिएको हुन्छ । यो अभ्यास विगतदेखि नै हो । छुट्टै सुन र चाँदी दिइएको होइन,’ उनले भने, ‘पदक पाउनेमा १३३ जना काठमाडौंमा कार्यरत छन् भने बाँकी कर्मचारी जिल्लामा कार्यरत हुनुहुन्छ ।’ सञ्चार तथा सूचना प्रविमिन्त्री पृथ्वीसुब्बा गुरूङले राम्रो काम गर्ने कर्मचारीको पदकमा १० ग्राम सुन जडित गर्न थप निर्देशन दिए । ‘किन ५ ग्राम मात्रै सुन जडित गरेको ? राम्रो काम गर्ने कर्मचारीलाई अझै १० ग्राम सुन दिँदा पनि हुन्छ,’ मन्त्री गुरूङले कार्यक्रममा भने ।