विकासन्युज

झाडी फाँडेर १४० रोपनीमा ओखरखेती, २४ लाख रुपैयाँ लगानी

ढोरपाटन । बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् । दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखरखेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिए । हाल ओखरखेतीमा १७ जना युवक संलग्न छन् । ओखरखेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सहयोग गरेको छ । ओखर फलाउन किसानको १४ लाख रुपैयाँ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १० लाख रुपैयाँ अनुदान गरी २४ लाख रुपैयाँ लगानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले उर्लेनी क्षेत्र ओखरखेतीका लागि उपयुक्त रहेको र किसानले माग गरेअनुसार अनुदान उपलब्ध गराएको बताए । ‘परियोजनाले कश्मिरी लोकल र थिन्सेल जातको बिरुवा सिफारिस गरेको थियो, उहाँहरुले बैतडीबाट बिरुवा ल्याएर लगाउनु भएको छ, बिरुवा हुकिएका छन्’, उनले भने ।

जीवन विकासको सञ्चालक सदस्यमा जैन मनोनित

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति सदस्यमा डा. बन्दनाकुमारी जैन चयन भएकी छन् । सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको रूपमा त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक जैनलाई मनोनित गरेको हो । जीवन विकासमा यसअघि सोनिला शाक्य स्वतन्त्र सञ्चालक थिइन् । उनको कार्यकाल सकिएपछि सञ्चालक समितिको बैठकले सहायक प्राध्यापक जैनलाई मनोनित गरेको लघुवित्तले जनाएको छ । जैनले जीवन विकासको सञ्चालक समिति अध्यक्ष विक्रमराज सुवेदीबाट सञ्चालकको शपथग्रहण पनि गरेकी छन् । व्यवस्थापन संकायबाट विद्यावारिधि गरेकी जैन डिग्री क्याम्पस विराटनगरमा प्राध्यापन गराउँछिन्

नबिल बैंकलाई सफलता : ३ वर्षमा ५६ युवा बने उद्यमी, १२ सय जनालाई रोजगारी

काठमाडौं । ललितपुरको लेलेकी सुस्मा पौडेल र सुस्मिता पौडेल दिदीबहिनी मिलेर रिट्ठाको स्याम्पु बजारमा ल्याएका छन् । पौडेल दिदीबहिनी बायोटेक्नोलोजिष्ट हुन् । सुस्मिताकाे कपाल घुम्रिएको छ । बजारको स्याम्पुले काम नदिएपछि उनले बजारको स्याम्पु प्रयोग गर्न छोडेर गाउँमा पाइने रिट्ठाको प्रयोग गर्न थालिन् । रिट्ठामात्र पिसेर प्रयोग गर्दा कपाल निकै सुख्खा हुन थाल्यो । गाउँमा त्यत्तिकै खेर गइरहेको र बिक्री हुँदा पनि सस्तो मूल्यमा गइरहेको रिट्ठाबाट कसरी के गर्न सकिन्छ भनी सुस्मिताले अनुसन्धान गर्न थालिन् । उनले गुगलमा सर्च गर्दै जाँदा आइडिया कल फेला पारिन् । उनले आफ्नो आइडिया त्यहाँ सेयर गरिन् । त्यही क्रममा एउटा क्लाइमेट स्मार्ट इन्टरप्रेनरसिप संस्थाले उनलाई आइडिया दियो । त्यसपछि दिदीबहिनी मिलेर रिट्ठाबाट स्याम्पु बनाएर बजारमा ल्याउने योजना बनाए । उनीहरूको योजनामा नवीनता दिने काम संस्थाले गरिदियो । उनीहरू कलेज पढ्दै गर्दा कलेजको ल्याब प्रयोग गरेर स्याम्पु बनाउन थाले । रिट्ठाको स्याम्पु बनाउन रिट्ठा मात्र भएर हुँदैन । यो मात्र प्रयोग गर्दा कपाल सुख्खा हुन्छ । शिकाकाई, कोकोनट स्ट्रिट, तेल र आवश्यक केमिकल राखेर स्याम्पु बनाइयो । ‘हामीले यसरी बनाइरहेका थियौं, यसमा थप सहयोग नबिल बैङ्कबाट पायौं,’ सुस्मिता भन्छिन्, ‘अहिले बजारमा राम्रो बन्दैछ ।’ सुस्मा पौडेल र सुस्मिता पौडेल । यो स्याम्पु महिला र पुरुष दुवैले प्रयोग गर्न मिल्छ । तर, महिलाको कपाल लामो हुँदा धेरै फिँज आउँदैन । यो स्याम्पु महिलाभन्दा पुरुषको रोजाइमा बढी पर्न थालेको छ । काभ्रेकी दीक्षा पौडेलले कोसिस इन्टरप्राइजेजको संस्था खोलेको ७ वर्ष भयो । उनी यो संस्थामार्फत ग्रामीण भेगका महिलालाई उद्यमशीलता सम्बन्धी तालिम दिने काम गर्थिन् । आर्थिकरूपमा आत्मनिर्भर बनाउन महिलालाई उद्यमशीलतामा जोड्नुपर्ने बताउँदै उनी सिन्धुली, काभ्रेका महिलालाई सिकाउँथिन् । अरूलाई सिकाउँदै गर्दा उनलाई आफू पनि केही गर्नुपर्छ भन्ने लाग्यो । दीक्षाले साथीसँग मिलेर लप्सीका फरक परिकार बनाउन थालिन् । अचार, तितौरा, बजारमा आएपनि चकलेटको रूपमा भने आएको थिएन । उनले अब नेपाली फलबाटै हाइजेनिक खालको मिठाई, चकलेट बनाउने योजना बनाइन् । त्यसपछि उनले यो आइडियामा कसरी नयाँ व्यवसाय गर्न सकिन्छ भन्नेबारेमा खोज्न थालिन् । दीक्षा पौडेल र विवेक राना । उनले लप्सी र चकलेटलाई मिश्रण गरेर ‘लप्सी ट्रफल’ प्रोडक्ट उत्पादन गरिन् । उनको यो आइडियामा नबिल बैङ्कले पनि सहयोग गरेको छ । संस्थाका सहसंस्थापक विवेक राना लक्ष्मी ट्रफलका लागि चाहिने लप्सी काभ्रे र सिन्धुपाल्चोकबाट ल्याउने गरेको बताउँछन् । उनी भन्छन्, ‘हामीसँग र मेट्रियल पर्याप्तमात्रा छ, तर कसरी बनाउने, बजारमा कसरी ल्याउने भन्ने विषयमा हामीलाई नबिलले सिकायो । अहिले हामी लप्सीका विभिन्न परिकार बनाएर बजारमा पठाइरहेका छौं ।’ उनका अनुसार लप्सी ट्रफल, लप्सी क्यान्डी, लप्सीको पाउडर उत्पादन गरेर बिक्री भइरहेको छ । यसको मार्केट अहिले सबैभन्दा बढी काठमाडौं उपत्यकामा मात्र छ । लप्सी पाउडर भने विदेशमा पनि निर्यात भइरहेको छ । यो वर्ष उनीहरूले ५० लाख बढीको सामग्री उत्पादन गरेका छन् भने अब एक करोडको सामग्री उत्पादन गर्ने योजना छ । बनेपाका रोशन श्रेष्ठले भाइरसमुक्त आलुको बीउ उत्पादन गर्न थालेको करिब १० वर्ष भयो । उनी यसको बीउ एउटा कोठाभित्र उत्पादन गर्छन् । कुनै जातको आलु कोठाभित्र आर्टिफिसियल लाइट, तापक्रम मिलाएर बिरुवा ठूलो बनाइन्छ । २८ दिनपछि कोठाभित्र राखेपछि ठूलो भइसकेपछि बारीमा ल्याएर बेर्ना सारिन्छ । यसरी सारिएको आलुको नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मा ल्याएर भाइरस टेस्ट गरिन्छ । परीक्षणपश्चात नेगेटिभ आएको खण्डमा किसानलाई बेर्ना वितरण गरिन्छ । रोशन आजभन्दा १२ वर्षअघि भारतबाट बायोटेक पढेर नेपाल आए । उनले एक वर्ष नार्कमा इन्टर्नसिप गरे । त्यो बेला उनलाई नेपालको कृषि त्यसमा पनि आलुको विषयमा राम्रो बुझ्ने मोका पाए । त्यपछि उनी बनेपा फर्के अनि प्रगतिशिल युवा कृषि कृषक समूह बनाएर दर्ता गरे । त्यसपछि उनले आफै काम गर्न सुरु गरे । रोशनको यो काममा नबिल बैङ्कले पनि ठूलो सहयोग गर्यो । उनले यसरी बनाएको आलुको बीउ बेर्ना सुपरजोनमा बेच्छन् र त्यो सुपरजोनले किसानहरूलाई वितरण गर्छ । उनी नेपाली कृषकले १५–२० वर्षदेखि एउटै बीउ प्रयोग गर्दा उत्पादन नहुने, राम्रो फल नलाग्ने समस्या रहेको भन्दै उत्पादकत्व बढाउने उद्देश्यले यो व्यवसाय सुरु गरेको बताउँछन् । उनी भन्छन्, ‘हामीले पूर्व आधारभूत बीज (‘प्री बेसिक सिड’) निकाल्छौं, जुन भाइरस फ्री हुन्छ र उत्पादन पनि राम्रो हुने भएकाले किसानलाई राम्रो फाइदा पुगेको छ ।’ तीन वर्षमा ५६ जना उद्यमी नेपालमै बसोबास गरी नेपालमै उद्यमशील बन्न चाहने युवाहरूलाई नबिल बैंकले सहयोग गर्दै आएको छ । ‘नबिल स्कूल अफ सामाजिक उद्यमशीलता’ कार्यक्रममाफर्त तीन वर्षदेखि सहयोग गर्दे आइरहेको छ । तीन वर्षको अवधिमा ५६ जना उद्यमीलाई कार्यक्रम मार्फत उद्यमको आइडियादेखि सीप सिकाउने कामसम्म सहयोग गरेको बैङ्कले जनाएको छ । ज्ञानेन्द्रप्रसाद ढुंगाना । बिहीबार कीर्तिपुरमा आयोजना गरिएको ‘नबिल स्कूल अफ सामाजिक उद्यमशीलता’ कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले उद्यमशीलताप्रति नेपाली युवाको आकर्षण बढ्न थालेको बताए । उनले ‘नेपालमा केही छैन, युवाले देश छोडिरहेका छन्’ भन्ने कुरा बाहिर आउँदा नेपालमै रहेका युवाहरूले नेपालमै राम्रो काम गरिरहेका उदाहरण धेरै रहेको बताए । उनले तीन वर्षमा ५६ जना उद्यमीहरूले १ हजार २ सय जनालाई रोजगारीको अवसर सिर्जना गरेको भन्दै खुसी व्यक्त गरे । उनले यो कार्यक्रम सफल हुनुमा बैंकको मात्र नभइ स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयको ठूलो हात रहेको बताए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले विदेश जाने युवाको लर्कोलाई भाषण र नीतिले रोक्न नसक्ने बताए । उनले यसका लागि समाज र विद्यार्थीको सोच परिवर्तन गर्नुपर्ने बताए । उनले भने, ‘युवाहरू नेपालमा अवसर छैन भन्छन्, तर म भन्छु यहाँ पर्याप्त अवसर छ । तर हामी नेपालको मालिक हुने सोच निकै कम छ, बरु राजनीतिक सोच बढी देखिन्छ ।’ केशरजंग बराल । उपकुलपति बराल आफू काम गर्ने र अरुलाई काम दिने सोच बनाउने विद्यार्थी उत्पादन गर्न नसकेको बताए । ‘जब विद्यार्थी पढाइ सक्छन्, तब जागिर खोज्छन्, आफ्नो वरिपरि रहेको अवसर देख्दैनन्,’ उनी भन्छन्, ‘हामीले आत्मनिर्भर बन्ने सीप विद्यार्थीलाई दिन सकेनौं, जबसम्म उद्यमी बन्न सक्ने सीप हामी दिन सक्दैनौं, तबसम्म हामीसँग पैसा, साधन र अवसर भएपनि सदुपयोग हुँदैन ।’ उनले यो कार्यक्रममले विद्यार्थीमा दुइटा सोंच परिवर्तन गर्ने अपेक्षा राखेका छन् । एउटा विद्यार्थीको राजनीतिका सोंच परिवर्तन गर्ने अनि अर्को उद्यमशीलता बन्न खोज्ने । उनले अब विद्यार्थीले जागिर खोज्ने नभइ जागिर दिने साेंच बनाउनुपर्ने बताए । कार्यक्रममा अन्य वक्ताहरूले यो कार्यक्रमको प्रसंसा गर्दै नेपाली युवाहरूले गरिरहेको उद्यमको प्रशंसा गरेका थिए । उनीहरूले नेपाली उत्पादनलाई नेपालमा मात्र नभइ विश्वमा पुर्‍याउन र नेपालभित्रै रोजगार सिर्जना गर्न युवाहरूलाई आह्वान गरेका थिए । कार्यक्रममा दोस्रो र तेस्रो वर्षमा पाएको फेलो उद्यमीहरूलाई प्रमाणपत्र वितरण गरेको छ । प्रमाणपत्र प्राप्त गर्दै फेलो उद्यमीहरूले आफूहरूले सुरुवात गरेको काममा बैंकले गरेको सहयोगले ठूलो राहत पुर्याएको बताए ।

बुढीगण्डकी हाइड्रोमा राष्ट्रिय वाणिज्य बैंकको ७० प्रतिशत लगानी, १८ महिनाभित्र सञ्चालनमा ल्याउने

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ । कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ कुल लागत रहेको यस आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहनेछ । राष्ट्रिय वाणिज्य बैंकले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछ भने वांँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपुँजी लगानी हुनेछ । आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । बर्खामा १८६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर विजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बुढीगण्डकी हाइड्रोपावरका तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले हस्ताक्षर गरे । अध्यक्ष न्यौपाने, प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, ईन्द्र बहादुर ढकाल र बिनोद थापासहितको अनुभवी समूहले आयोजना निर्माण गर्न लागेका हुन् । सो समूहले यसअघि सोही क्षेत्रमा तोकिएको अवधिभन्दा ६ महिना अघि ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याईसकेको छ । साथै प्राथमिक सेयर निष्काशन (आईपीओ) ६ महिनाभित्रमा जारी गर्ने तयारीमा कम्पनी रहेको छ । बुढीगण्डकी हाईड्रोपावर १८ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ । आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद बिक्री सम्बन्धी सम्झौता (पीपीए) भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनीले जनाएको छ । आयोजनाको प्रसारण लाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सब–स्टेसनमा जोडिने छ । आयोजनाले ६ महिनामा सर्वसाधारण लगानीकर्ताका लागि सेयर जारी गर्नेछ । यससँगै २४ मेगावाट क्षमताको साङ्ग्रीला हाईड्रोपावर निर्माण गर्ने योजना रहेको प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरेले बताए ।

नेपाल बीमक संघको अध्यक्षमा क्षेत्री र महासचिवमा पन्त सर्वसम्मत

काठमाडौं । नेपाल बीमक संघमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । शुक्रबार संघको कार्यसमिति चयन सर्वसम्मत भएको हो । संघमा कार्यसमितिका लागि सबैको एक्लो उम्मेदवार परेसँगै सर्वसम्मत चयन भएको हो । अध्यक्षका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवार क्षेत्री र महासचिव पदमा एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्तको सर्वसम्मत चयन भएका हुन् । यसैगरी, उपाध्यक्षमा नेको इन्स्योरेन्सका सीईओ अशोककुमार खड्का, कोषाध्यक्षमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ युगेशभक्त बादे श्रेष्ठ चयन भएका हुन् । संघको कार्यसमितिमा नयाँ सदस्यमा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ अन्जु श्रेष्ठ, द ओरिएन्टल इन्स्योरेन्सका सीईओ टोटन चक्रवर्ती र प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चयन भएका हुन् । संघको कार्यसमितिको कार्यकाल २ वर्षको हुने छ ।

विद्युतीय कारमा आफ्नो जादु देखाउँदै फक्सवागन, आगामी दुई वर्षमा सबैभन्दा सस्तो कार ल्याउने

काठमाडौं । जर्मन कार कम्पनी फक्सवागनले सबैभन्दा सस्तो विद्युतीय कार (ईभी) ल्याउने भएको छ । यसै क्रममा कम्पनीले आफ्नो प्रवेश-स्तरको (एन्ट्री-लेभल) ईभीको पहिलो झलक सार्वजनिक गरेको छ । यो कार सन् २०२७ भित्र बजारमा आउने जनाइएकाे छ । यसकाे प्रारम्भिक मूल्य २० हजार युरो (२९ लाख रुपैयाँ) हुने अनुमान गरिएको छ । कम्पनीका अनुसार यो कार युरोपमै उत्पादन गरिनेछ र मुख्य रूपमा युरोपेली ग्राहकलाई लक्षित गरिने जनाइएकाे छ । तर, आगामी वर्षहरूमा यसलाई एसियाका विभिन्न देशमा पनि लन्च गरिने सम्भावना छ । फक्सवागनको तीन-चरणीय योजना फक्सवागनले सन् २०३० सम्मको आफ्नो लक्ष्य पूरा गर्न तीन-चरणीय योजना सार्वजनिक गरेको छ । यसको मुख्य उद्देश्य विद्युतीय कार बजारमा अग्रणी बन्नु हो। योजनाअन्तर्गत क्याचअप, अट्याक र लिड चरण छन् । हालको विद्युतीय कार बजारमा प्रतिस्पर्धात्मक उपस्थिति कायम राख्ने, नयाँ प्रविधिहरू र मोडेलहरूसँग प्रतिस्पर्धा गर्दै कम्पनीको स्थिति बलियो बनाउने र विश्वकै उत्कृष्ट विद्युतीय सवारी कम्पनी बन्ने लक्ष्य छ। मार्च २०२५ मै लन्च गरिने मार्च २०२५ मा यो कारलाई पहिलो पटक सार्वजनिक गरिने जनाइएकाे छ । तर गाडी २०२८ भित्र बजारमा उपलब्ध हुनेछ । याे गाडीकाे मुख्य विशेषता नै किफायती मूल्य हाे, जसले विद्युतीय सवारीसाधन आम उपभोक्ताका लागि सहज बनाउनेछ । फक्सवागन आईडी टु अल र नयाँ इलेक्ट्रिक कार परिवार फक्सवागनको नयाँ प्रवेश-स्तरको विद्युतीय कारसँगै आईडी टु अल मोडेल पनि नयाँ इलेक्ट्रिक स्माल कार परिवारको हिस्सा हुनेछ। २०२६ भित्र लन्च हुने यो कारको अनुमानित मूल्य २५ हजार युरो (करिब ३६ लाख २८ हजार रुपैयाँ) हुनेछ । मोड्युलर इलेक्ट्रिक ड्राइभ (एमईबी) प्लेटफर्ममा आधारित यी गाडीहरू उच्च कार्यक्षमता र लामो रेन्ज प्रदान गर्न सक्षम हुने जनाइएकाे छ । फक्सवागनको विद्युतीय सवारीसाधन बजारमा दबदबा फक्सवागनले पहिले नै ईभी बजारमा बलियो पकड बनाइसकेको छ । २०१९ मा आईडी प्रडक्ट लाइन लन्च भएयता १३ लाख ३५ हजारभन्दा बढी आईडी सिरिजका गाडीहरू बिक्री भएका छन् । २०२३ मा मात्र ३ लाख ८३ हजार १०० विद्युतीय गाडीहरू बिक्री भएका छन् । आईडी थ्री मोडेलका ५ लाखभन्दा बढी युनिटहरू बिक्री भइसकेका छन् । फक्सवागनको नयाँ योजना विद्युतीय गाडीलाई आम उपभोक्तासम्म पुर्‍याउने महत्त्वपूर्ण कदम हुनेछ । किफायती मूल्य, लामो रेन्ज, र अत्याधुनिक प्रविधि सहितको यो नयाँ प्रवेश-स्तरको विद्युतीय कारले बजारमा क्रान्ति ल्याउन सक्छ । आफ्नो अस्तित्वको रक्षामा ‘निसान’, ६० अर्ब डलरको ‘मर्जर वार्ता’ रद्द गर्ने निर्णय विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने १९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी

गलत हल्लाको प्रतिवादमा उत्रिए बैंकर, अराजक गतिविधि गर्नेलाई कारवाहीको माग

काठमाडौं । सामाजिक सञ्जालमा विभिन्न किसिमका भिडियो बनाएर बैंक डुब्दैछन् भन्ने हल्लाविरुद्द बैंकर एकजुट भएका छन् । लामो समयदेखि सामाजिक सञ्जालमा विभिन्न किसिमका भिडियो तथा स्टाटस राखेर बैंक तथा वित्तीय संस्थाको नाम नै किटान गरी बैंक डुब्दैछ भनेर हल्ला फैलाउने अराजक व्यक्तिविरुद्द बैंकर एकजुट भएका हुन् । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स (एनबीए), विकास बैंकहरुको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरेर अराजक तथा गलत हल्ला फैलाउने विरुद्द प्रतिवादमा उत्रिएका हुन् । गत माघ २१ गते विकासन्युजले बैंकिङ क्षेत्रमा भिडियो आक्रमण भइरहेको र सो विषयको खण्डन बैंक तथा वित्तीय संस्था, त्यसको छाता संस्थाहरु र नेपाल राष्ट्र बैंकले पनि नगरेको भन्दै बैंकिङ प्रणालीमाथि भिडियो आक्रमण र राष्ट्र बैंकको मौनता शिर्षकमा लेख प्रकाशित गरेको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरुप्रसाद पौडेलले त्यस्तो अराजक गतिविधि नगर्न सचेत गराएका थिए भने शुक्रबार यी चार वटै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै गलत हल्ला नफैलाउन अराजक गतिविधि गर्नेहरुलाई सजग गराएका हुन् । चार वटै संस्थाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सूरक्षण कोष मार्फत् सुरक्षण गरिएको धारणा राखेका छन् । नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति/नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्दै बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको धारणा बैंकरले राखेका छन् । अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तको व्यवस्थाहरु तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको र नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको विषय विज्ञप्तिमा उल्लेख छ । बैंंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति ध्यानाकर्षण भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । यस्तै, सामाजिक संजालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना÷समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन अनुरोध गरिएको छ । सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई आग्रह गरिएको छ । बैंकरले आफ्नो सेवा-सुविधाहरुलाई आगामी दिनहरुमा अझै बढी सुदृढ बनाउन प्रतिबद्ध रहेको विषय पनि जानकारी गराएका छन् । सम्बन्धित सामग्री :  बैंकिङ प्रणालीमाथि भिडियो आक्रमण र राष्ट्र बैंकको मौनता पाथीभरा केबलकारको विषय बैंकसँग नजोडौं : गुरु पौडेल

रिडी-बल्कोट सडक एक महिना बन्द हुने

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द भएको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ साँखराभिर क्षेत्रमा चट्टान फोरेर सडक चौडा बनाउने काम सुरु भएपछि उक्त सडकमा यातायात सञ्चालन बन्द गरिएको हो । मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक सूचना जारी गर्दै आजदेखि आगामी फागुन २० गतेसम्म सडक बन्द गरिएको जनाएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जोखिम हुनसक्ने भएकाले केही समय वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरे । सडक बन्द भएपछि कार्यालयले वैकल्पिक मार्गका रुपमा सातमुरेदेखि–श्रृङ्गा बलेटक्सारहुँदै रिडी, सातमुरदेखि–सिजिको बाटोहुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि–ठाडो खोलाहुँदै रिडी सडक प्रयोगमा ल्याएको छ ।  कार्यालयले आवश्यक समन्वय र सहजीकरण गर्न गुल्मी र अर्घाखाँची जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, छत्रदेव गाउँपालिका, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी, उद्योग वाणिज्य सङ्घ र पश्चिम नेपाल बस व्यवसायी समितिलाई आग्रह गरेको छ ।