विकासन्युज

म्यानमारमा वायु प्रदुषणका कारण विद्युत आपूर्ति बन्द

काठमाडौं । म्यानमारको याङ्गुनमा उच्च वायु प्रदुषण भइरहेको छ । वायु गुणस्तर ५० देखि २०० वायु गुणस्तर सूचकांक (एक्युआई) बीच फरक छ । मौसम विज्ञान र जल विज्ञान विभागका निर्देशक उ ह्ला तुनले २०० सम्म पुग्ने स्तरलाई अस्वास्थ्यकर मानिएको बताए । यातायातको अत्यधिक प्रयोगका कारण बिहान र साँझ प्रदुषणको स्तर बढ्दै गएको उनले बताए । सवारी साधनको उत्सर्जन, फोहोर जलाउने र डढेलोबाट हुने वायु प्रदुषण बढ्दो चिन्ताको विषय बनेको बताए । साथै याङ्गुनमा बारम्बार विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूलाई जेनेरेटरमा भर पर्न बाध्य भएको छ । जसले गर्दा वायु प्रदूषण अझ बढेको उनले बताए । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरू लाग्ने र विशेष गरी वृद्धवृद्धा, बालबालिका र क्षयरोग भएका व्यक्तिहरूलाई समस्या भएको बताए ।

मटरकोसा किलोको ५० रुपैयाँ, यस्तो आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । शुक्रबार गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु २५, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु १८, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकेजी रु १००, बरेला प्रतिकेजी रु ५०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ६०, रातो बन्दा प्रतिकेजी रु७०, सजिवन प्रतिकेजी रु २५०, जिरीको साग प्रतिकेजी रु ७५, ग्याठ कोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ७०, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु ९०, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १६०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, तरबुजा हरियो प्रतिकेजी रु ६०, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिकोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १६०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु ९०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । यसैगरी, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ९०, हरियो धनिया प्रतिकेजी रु ४५, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

विकास-निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दैछ नेपाल’ शीर्षकमा सडक निर्माण भइरहेको भिडियो राखेर उनले विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग ‘एक्सन रुम’बाट छलफल गर्न लागेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई ३० अर्ब रुपैयाँ भुक्तानी गरिएको जानकारी पनि दिएका छन् । ‘शुभ बिहानी १ हाम्रा विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग एकसन रुमबाट आज छलफल हुँदै छ । हाम्रो प्राथमिकता छ – थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ, ‘ प्रधानमन्त्रीले लेख्नु भएको छ, ‘पूर्वाधार निर्माण सम्बन्धी रोकिएका धेरै कम द्रूत गतिमा अगाडि बढेका छन् ।’

सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, ४० लाखको सुन्तला बेचे

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए । ‘सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर लाग्यो,’ खत्री भन्छन्, ‘यो वर्ष मात्रै रू ४० लाखको सुन्तला बेचिसके । सबै बगैचाको बिक्री गर्दा रू ४५ लाख पुग्ने अनुमान छ ।’ खत्रीको ३६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार पाँच सय ९३ बोट सुन्तलाका बिरूवा छन् । यस वर्ष चार सय ८० बिरूवाले ३४ हजार किलोग्राम सुन्तला उत्पादन दिएका छन् । सबै बोटमा फल लाग्दा वार्षिक रू एक करोड बढीको सुन्तला बिक्री हुने उनी बताउँछन्। प्रतिकिलो रू एक सय २० का दरले बगैचाबाटै काठमाडौँका व्यापारीले सुन्तला किनेर लगेका छन् । यतीबेला खत्रीलाई सुन्तला टिपेर बजार पठाउने चटारो छ । बाबुबाजेले देखाएको बाटोले सेवानिवृत्त शिक्षक खत्रीको परिवारमा परिवर्तन ल्याएको हो । विसं १९९७ सालमा खत्रीका हजुरबाले बाँसखर्कमा पाँच वटा सुन्तलाका बिरूवा रोपेका थिए । त्यतिबेला निकै मिठो भएकाले धेरैले मागेर खान्थे । बाबु मीनबहादुर खत्रीले विसं २०३३ मा बारीमा २५ वटा बिरूवा थपे । त्यसले पाँच वर्षमै राम्रो उत्पादन दियो । सुन्तलाले गाउँघरमै बजार पायो । सजिलै बिक्री भएपछि नगद हात पारेर घरव्यवहार चलाउन सजिलो भयो । विदेश जानु नपर्ने, सहर झर्न पनि नपर्ने गरी खत्री परिवारले गाउँमा सुन्तलाबाटै लाखौँ कमाइ गरिरहेका छन् । खत्रीले हरेक वर्ष बिरूवा थप्दै गएका छन् । पहिला कोदो, मकै र धान खेती गर्ने सबै बारीमा सुन्तलाका बोट मात्र छन् । घर र आँगनबाहेक सबै खेतबारीमा सुन्तला हुर्केका छन् । नजिकैको खरबारीसमेत भरिएको छ । पैतीस वर्ष शिक्षक रहँदा खत्रीले गाउँमै बसेर सुन्तलामा लगानी गरेका थिए । निवृत्त जीवन पनि उनले सुन्तला खेतीमै लगाएका छन् । चार छोरी विवाह गरेर घर गए । स्नातक पढेका छोरा राजन, बुहारी सहित खत्रीका सबै परिवार सुन्तला खेतीमा तल्लीन छन् । खत्री मात्र नभएर बाँसखर्कका धेरै कृषकले सुन्तला खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । बीस रोपनीमा नौ सय ५० बोट सुन्तला लगाएका बाँसखर्कका शान्तबहादुर छिन्तेलले रू २३ लाख र आठ सय बोटको बगैँचा भएका हेमकुमार अर्मजाले रू ३० लाखको सुन्तला बिक्री भएको बताए। समुन्द्र सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाईमा रहेको बाँसखर्कका दुई सय ३९ मध्य दुई सय घरपरिवारले सुन्तला खेती गरेका छन् । एक वटा परिवारले वार्षिक कम्तीमा रू पाँच लाखको सुन्तला बेच्छन् । बाँसखर्कको एक हजार पाँच सय रोपनी जग्गामा सुन्तला खेती भएको वडा अध्यक्ष जगबहादुर रोकाले बताए। छब्बीस हजार सात सय छ वटा बोटमा यस वर्ष रू १८ करोड ४४ लाख मूल्य बराबरको सुन्तला फलेको उनले बताए। बाँसखर्कमा ५१ हजार एक सय ५१ सुन्तलाका बोट छन् । चौबीस हजार चार सय ४५ बोट सुन्तलाका बोटमा फल लाग्न बाँकी छ । देशका अन्य ठाउँको बगैचा रित्तिएपछि व्यापारीहरूले बाँसखर्कको सुन्तला किनेर लैजान्छन् । पोखरा, काठमाडौँ र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आउँछन् । बेनी देखि बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिचाइँको नियमित र व्यवस्थित सुविधा हुने हो भने थप सुन्तला खेती विस्तार गरेर आम्दानी वृद्धि गर्न सकिने बाँसखर्कका कृषकले बताएका छन् ।  रासस

नबिल बैंकले २५ जिल्लाका ११२ ठाउँको जग्गा बेच्दै, सस्तोमा किन्ने अवसर

काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको २५ जिल्लामा गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा विभिन्न शाखा स्थानमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बोलकबोल मार्फत बिक्री गर्ने भएको हो । बैंकले काठमाडौं, सुर्खेत, बर्दिया, झापा, नुवाकोट, नवलपरासी (बर्दघाट सूस्तापूर्व), चितवन, भक्तपुर, दोलखा, ललितपुर, धनुषा, सिराहा, सप्तरी, बारा, मोरङ्ग, सुनसरी, भोजपुर, पर्सा, दार्चुला, काभ्रेप्लाञ्चोक, कैलाली, बाँके, मकवानपुर, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न ११२ स्थानमा रहेको जग्गा बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब विप्रेषण, शोधनान्तर स्थिति २४९ अर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवर्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार, विप्रेषण आप्रवाह (नेपाली मुद्रामा) चार दशमलव एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर चार दशमलव दुई प्रतिशतले वृद्धि भई आठ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ दशमलव एक प्रतिशतले बढेको थियो । अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ११ दशमलव सात प्रतिशतले वृद्धि भई दुई लाख ३० हजार चार सय ३९ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा समीक्षा अवधिमा २१ दशमलव चार प्रतिशतले वृद्धि भई एक लाख ६२ हजार ६ सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या छ प्रतिशतले घटेको थियो । यसरी वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको छ महिनाको तुलनामा १५ दशमलव पाँच प्रतिशतले बढेको छ । यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा थियो । गत पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तको २० खर्ब ४१ अर्ब १० करोडको तुलनामा १३ दशमलव पाँच प्रतिशतले वृद्धि भई २३ खर्ब १६ अर्ब ८४ करोड कायम भएको छ । उक्त सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेकोमा १० दशमलव तीन प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा १६ अर्ब ८४ करोड अमेरिकी डलर कायम भएको छ । यो सञ्चिति १७ दशमलव तीन महिनाको वस्तु आयात र १४ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ । गत पुस मसान्तमा कायम कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २४ दशमलव तीन प्रतिशत रहेको छ । यस्तै, कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव आठ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यातमा सात दशमलव दुई प्रतिशतले कमी आएको थियो । यो अवधिमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, अलैंचीलगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ । त्यस्तै, कुल वस्तु आयात सात दशमलव एक प्रतिशतले वृद्धि भई रू आठ खर्ब २२ अर्ब ३७ करोड कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु आयात तीन दशमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा कच्चा भटमास तेल, चामल, धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटामा चार दशमलव चार प्रतिशतले वृद्धि भई रू सात खर्ब २३ अर्ब ५८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा दुई दशमलव छ प्रतिशतले घटेको थियो ।

खोङटाङ-चोलन्ती-खावा-पाँचधारे सडक कालोपत्र हुँदै

भोजपुर । खोङटाङ-चोलन्ती-खावा-पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोक मार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको हो । यो सडकखण्डको करिब २५ किलोमिटरमध्ये पहिलो खण्डमा शून्यविन्दुबाट रु दुई करोड ६१ लाख ७१ हजार ६३१ लागतमा कालोपत्र थालिएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले जनाएको छ । ‘खोङटाङ-चोलन्ती-खावा-पाँचधारे सडकखण्डको शून्यविन्दुबाट कालोपत्रको काम थालेका छौँ’, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भने, ‘यो सडकको करिब २५ किलोमिटरमध्ये डेढ किलोमिटर कालोपत्र हुन्छ ।’ यही सडकको दोस्रो खण्ड हुँगे गाउँ पुछारबाट पाँचधारेसम्म स्तरोन्नतिको काम पनि भइरहेको छ । यहाँ सडक डिभिजन कार्यालयले रु दुई करोड र कोशी प्रदेश सरकारको रु २५ लाख गरी कूल रु दुई करोड २५ लाख लागतमा स्तरोन्नति गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

ऋण नतिरेपछि एसबिआई बैंकले जफत गर्‍यो ओएसिस मेडिकल कलेजको सम्पत्ति, खाली गर्न १५ दिनको ताकेता

काठमाडौं । नेपाल एसबिआई बैंकले ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरलाई गैर बैंकिङ सम्पत्ति खाली गर्न ताकेता गरेको छ । बैंकको चितवनस्थित नारायणगढ शाखा कार्यालयबाट ओएसिस मेडिकल कलेजले कर्जा लिएर चुक्ता नगरेपछि गैर बैंकिङ सम्पत्ति खाली ताकेता गरेको हो । मेडिकल कलेजले परियोजना (आवधिक) कर्जा, क्यास क्रेडिट कर्जा, अल्पकालीन आवधिक डिमाण्ड कर्जा र हायर पर्चेज कर्जा शिर्षकमा कर्जा लिएको बैंकले जनाएको छ । बैंकका अनुसार ओएसिस मेडिकल कलेज ऋणी हो भने मनोजकुमार चौधरी, हेमकुमारी चौधरी, जुली चौधरी, मिली चौधरी र मर्भिन ओएसिस चौधरी जमानीकर्ता हुन् । मनोज मेडिकल कलेजका अध्यक्ष हुन् भने हेम कुमारी प्रशासनिक प्रमुख हुन् । कर्जाको साँवा, ब्याज लगायत अन्य दस्तूर, बैंकसँग गरेको शर्त कवुलियत तथा ऋण स्वीकृत पत्रमा उल्लेख भएको व्यवस्था बमोजिम बैंकलाई समय समयमा तिर्न बुझाउनु पर्ने हो । कर्जाको साँवा व्याज लगायत सम्पूर्ण कर्जा रकम चुक्ता भुक्तान गर्न पटक पटक लिखित एवं मौखिक ताकेता गर्दा समेत कुनै चासो नदेखाएको बैंकको गुनासो छ । बेवास्ता गरी बैंकलाई तिर्नु पर्ने रकम नतिरेको र कर्जा लिँदा भएका शर्त उल्लङ्घन गरेकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम धितोमा रहेको सम्पत्ति बैंकले गैर बैंकिङ्ग सम्पत्तिमा सकार गरिसकेको जनाएको छ । त्यसैले बैंकको नाममा रहेका सम्पत्ति १५ दिनभित्र खाली गर्न ताकेता गरेको छ ।