अमेरिकी स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार संयुक्त राज्य अमेरिकाले यस हप्ता स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने बताएका छन् । यो उनले घोषणा गरेका व्यापार करहरूको पछिल्लो शृङ्खला हो । एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार घोषणा गरिने भन्सार ‘संयुक्त राज्य अमेरिकामा आउने कुनै पनि स्टिल’ मा लागू हुने र यसले एलुमिनियमलाई पनि प्रभाव पार्ने बताए । सन् २०१७–२०२१ को राष्ट्रपति कार्यकालमा अमेरिकी उद्योगको सुरक्षाका लागि ट्रम्पले यस्तै शुल्क लगाएका थिए । यसलाई उनले एसियाली र युरोपेली देशहरूबाट अनुचित प्रतिस्पर्धाको सामना गर्नुपरेको विश्वास गरेका थिए । अमेरिकी व्यापार तथ्याङ्कअनुसार क्यानाडा संयुक्त राज्य अमेरिकामा स्टिल र एलुमिनियम आयातको सबैभन्दा ठूलो स्रोत हो । ब्राजिल, मेक्सिको र दक्षिण कोरिया पनि देशका प्रमुख स्टिल आपूर्तिकर्ता हुन् । क्यानाडालाई ट्रम्पले पहिले नै भन्सारको धम्की दिइसकेका छन् । रिपब्लिकन अर्बपति ट्रम्पले आइतबार अन्य देशहरूले अमेरिकी उत्पादनहरूमा लगाएको दरसँग मिल्ने गरी आफ्नो सरकारको भन्सार बराबर गर्न ‘पारस्परिक भन्सार’ को घोषणा गर्ने पनि बताए । ‘हरेक देशसँग पारस्परिक व्यवहार हुनेछ’, ट्रम्पले भने । उनले मङ्गलबार वा बुधबार भन्सारको बारेमा विस्तृत घोषणा गर्ने बताए । राष्ट्रपतिले पदभार सम्हाले लगत्तै प्रमुख व्यापार साझेदार चीन, मेक्सिको र क्यानाडामा भन्सार लगाउने आदेश दिएर संयुक्त राज्य अमेरिकाको वित्तीय शक्तिलाई हतियार बनाउने आफ्नो रुचि देखाएका छन् । क्यानाडा र मेक्सिकोले फेन्टानिल लागूपदार्थको प्रवाह र कागजातविहीन आप्रवासीहरूको संयुक्त राज्य अमेरिकामा प्रवेशलाई रोक्न कडा कदम चाल्ने वाचा गरेपछि ट्रम्पले दुवै मुलुकविरुद्धको २५ प्रतिशत भन्सार एक महिनाका लागि रोके । तर चीनविरुद्धको भन्सार भने अघि बढ्यो । मङ्गलबारदेखि संयुक्त राज्यमा प्रवेश गर्ने उत्पादनहरूमा १० प्रतिशत अतिरिक्त कर लाग्नेछ । बेइजिङले सोमबारदेखि लागू हुने गरी कोइला र तरलीकृत प्राकृतिक ग्यास जस्ता केही अमेरिकी उत्पादनहरूमा लक्षित भन्सार लगाएर जवाफ दिएको छ । गोल्डम्यान स्याक्सका अनुसार नयाँ चिनियाँ भन्सारले १४ अर्ब डलर मूल्यका अमेरिकी सामानहरू समेट्छ भने ट्रम्पले घोषणा गरेको भन्सारले पाँच खर्ब २५ अर्ब डलर मूल्यका चिनियाँ सामानहरू समेट्छ । स्वर्णिम युग ट्रम्पले युरोपेली सङ्घ (इयु) मा पनि कर लगाउने वाचा गरेका छन् र उनले चाँडै अनिर्दिष्ट ‘पारस्परिक भन्सार’ घोषणा गर्ने बताएका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले आइतबार प्रसारित एक अन्तर्वार्तामा युरोपप्रति गरिएको वित्तीय धम्कीको विषयमा ट्रम्पसँग सीधा मुकाबला गर्ने प्रतिज्ञा गरे । यद्यपि उनले संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घको सट्टा चीनमाथि आफ्नो प्रयास केन्द्रित गर्नुपर्ने बताए । म्याक्रोंले सिएनएनमा युरोपमाथिको कुनै पनि भन्सारको प्रभाव अमेरिकीहरूले महसुस गर्नेछन् भन्दै यसले ‘अमेरिकामा लागत बढाउने र मुद्रास्फीति सिर्जना गर्ने’ चेतावनी दिए । शुक्रबार जापानी प्रधानमन्त्री शिगेरु इशिबासँगको मैत्रीपूर्ण बैठकमा ट्रम्पले टोकियोलाई जापानसँगको अमेरिकी व्यापार घाटा शून्यमा नझारेसम्म निर्यात गरिएका सामानमा भन्सार लाग्नसक्ने चेतावनी दिए । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको संयुक्त राज्यको व्यापार घाटा गत वर्ष बढेर करिब नौ खर्ब २० अरब डलर पुगेको छ । संयुक्त राज्य अमेरिकाका लागि ‘नयाँ स्वर्ण युग’ को वाचा गरेका ट्रम्पले कुनै पनि शुल्कको प्रभाव अमेरिकी उपभोक्ताहरूलाई नदिई विदेशी निर्यातकर्ताहरूले वहन गर्ने कुरामा जोड दिएका छन् । यद्यपि धेरै विज्ञहरूले यसको विपरीत बताएका छन् । तर यस महिनाको सुरुमा मेक्सिको, क्यानाडा र चीनमाथि भन्सार घोषणा गरेपछि उनले अमेरिकीहरूले आर्थिक ‘पीडा’ महसुस गर्न सक्ने स्वीकार गरे । ट्रम्पले आफ्ना व्यापक नीतिगत लक्ष्यहरू हासिल गर्न भन्सारलाई धम्कीको रूपमा प्रयोग गरेका छन्। सबैभन्दा पछिल्लो पटक उनले कोलम्बियाले निर्वासित आप्रवासीहरू बोकेका अमेरिकी सैन्य विमानहरूलाई फर्काउँदा त्यसमाथि भन्सार लगाउने बताएका थिए । ट्रम्पसँगको एक दिनको टकरावपछि कोलम्बियाली सरकार पछि हटेको थियो । रासस
अरबपति भएपछि पनि सातामा ‘८० घण्टा’ काम गर्थे माइक्रोसफ्टका ‘बिल गेट्स’
काठमाडौं । माइक्रोसफ्टका सहसंस्थापक तथा विश्वका धनी व्यक्तिहरूमध्ये एक बिल गेट्सले सातामा ८० घण्टा काम गरेको बताएका छन् । सीएनबीसीसँगको अन्तर्वार्ताको क्रममा उनले एक डरले गर्दा सातामा ८० घण्टा काम गरेको जानकारी दिए । बिल गेट्सले भने, ‘अरबपति भएपछि पनि मैले कम्पनीको लागि कोडिङ गरेको छु । यसको लागि मैले हप्तामा ८० घण्टा काम गरेको छु ।’ ‘अरबपति बनेको एक दशकभन्दा बढी समयपछि मात्र मैले वास्तवमा सफलता महसुस गरेको छु,’ उनले थपे । किन गर्थे यति धेरै काम ? बिल गेट्सले माइक्रोसफ्टको स्थापना सन् १९७५ मा गरेका थिए । उनले अन्तर्वार्ताको क्रममा ९० को दशकको अन्त्यसम्म नियमित रूपमा हप्तामा ८० घण्टा सफ्टवेयर कोडिङ गरेको जानकारी दिए । उनलाई डर थियो कि यदि उनले यति मेहेनत गरेनन् भने कम्पनीलाई नोक्सानी हुन सक्छ । साथै एउटा सानो गल्तीले पनि कम्प्युटर क्रान्तिमा अग्रणीको रूपमा माइक्रोसफ्टको स्थान हराउन सक्छ । त्यस समयमा माइक्रोसफ्ट विश्वको सबैभन्दा धनी कम्पनी थियो । यसको बजार पूँजी २५० अर्ब डलरभन्दा बढी थियो । फोब्र्सका अनुसार त्यस समय बिल गेट्स आफै विश्वका सबैभन्दा धनी व्यक्ति थिए । उनको नेटवर्थ ५८ अर्ब डलर थियो । उनले सीएनबीसीलाई भने, ‘९० को दशकको अन्त्यसम्म मलाई केही गल्ती गरेर पनि ठीक हुन सकिन्छजस्तो लाग्दैनथ्यो । त्यसबेलासम्म मलाई लाग्थ्यो कि म मृत्युदेखि एउटा गल्ती मात्र टाढा छु । मेरो मानसिकता यस्तो थियो ।’ अहिले ४.८ लाख करोड डलरको कम्पनी ब्लूमबर्गका अनुसार माइक्रोसफ्ट अहिले ४.८ लाख करोड डलरको कम्पनी बनेको छ । बिल गेट्स १६५ अर्ब डलरको सम्पत्तिसहित विश्वका सातौं धनी व्यक्ति हुन् । उनी अहिले कम्पनीको दैनिक कार्यबाट टाढा छन् । उनको पूरा ध्यान परोपकारी कार्यहरूमा केन्द्रित छ । उनले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनको स्थापना गरेका छन् । यो फाउन्डेशनले विश्वभर स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तन जस्ता विषयहरूमा काम गर्दछ । (एजेन्सीहरूको सहयोगमा)
प्रहरी कुट्ने चार युवा पक्राउ
तनहुँ । व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो । कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ । शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनीहरुविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै
काठमाडौं । नेपाल, भारत र बङ्गलादेशबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणको ‘मोडालिटी’ तय गरिने भएको छ । नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक प्रसारणलाइन निर्माणका लागि भारतको नयाँदिल्लीमा नेपाल र भारतबीच सचिवस्तरीय बैठकमार्फत मोडालिटी तय गर्न लागिएको हो । नेपाल र भारतबीच मङ्गलबार हुने सचिवस्तरीय बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोली आज नयाँदिल्ली प्रस्थान गरेको छ । दुई देशको सचिवस्तरीय वार्ता र सहमतिपछि प्रसारणलाइन निर्माणको प्रक्रिया अगाडि बढाइनेछ । यही माघ ९ गते नेपाल र भारत ऊर्जा सहसचिवस्तरीय कार्यदलको १२औँ बैठकमा अन्तरदेशीय प्रसारणलाइन निर्माण र विद्युत् आयात तथा निर्यातलाई थप सहज बनाउने सहमति भएको थियो । सोही सहमति दुई देशबीचका सचिवस्तरीय बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए । उक्त बैठकमा नेपाल र भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरु, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजनाहरु तथा सम्बद्ध प्रसारण लाइन आयोजना र अन्तरदेशीय विद्युत् आयात–निर्यातका विषयमा छलफल भएको थियो । नेपालको इनरुवादेखि भारतको पूर्णिया र नेपालको दोदोधारादेखि भारतको बरेलीसम्म ४०० केभीका दुई प्रसारण लाइन निर्माण कार्य सन् २०३० सम्म सम्पन्न गर्ने सहमति भएको छ । उक्त प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन लिमिटेडको शेयर स्वामित्व रहनेगरी दुवैतर्फ संयुक्त कम्पनी स्थापना हुनेछ । दुई देशबीचको सम्झौतापछि नेपालतर्फ रहने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ रहने कम्पनीमा भारतको ५१ प्रतिशत शेयर स्वामित्व रहनेछ । दुवैतर्फका कम्पनीमा बाँकी ४९ प्रतिशत शेयर स्वामित्व अर्को देशको रहने व्यवस्था हुनेछ । यसैगरी, चमेलिया–जौलजीवी २२० केभी डबल सर्किट प्रसारण लाइनको डिपिआर सन् २०२५ सम्म सम्पन्न गरिने सहमति भएको छ । यस्तै, ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता ८०० मेगावाटबाट बढाएर एक हजार मेगावाट पुर्याउने बताइएको छ । यस्तै सन् २०३५ सम्ममा ४०० केभीका निजगढ–मोतिहारी र कोहलपुर–लखनऊ प्रसारण लाइन निर्माण सम्पन्न गरिने सहमति भएको छ । उक्त सहमतिलाई दुई देशबीचको सचिवस्तरीय बैठकले अनुमोदन गर्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म १५ हजार विद्युत् विदेशमा निर्यात गर्न सरकारले राखेको लक्ष्य पूरा गर्न यस्ता प्रसारण लाइन निर्माण सम्झौताले ठूलो सहयोग पुग्ने बताए । आगामी दिनमा थप विद्युत् निर्यात गर्नेगरी अन्तरदेशीय प्रसारण लाइनको संरचना बनाउँदै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । यसअघि नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट निर्यातका लागि दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छभने बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु भइसकेको छ ।
सुन तोलाको एक लाख ६९ हजार ६ सय पुग्यो
काठमाडौं । स्थानीय बजारमा साेमबार सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँ तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार नौ सय ७५ रुपैयाँ तोकिएको छ । आइतबार सोही परिमाण चाँदी एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइ रहेको छ ।
निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्दै काठमाडौं महानगरपालिका
काठमाडौं । महानगरपालिकाले निःशुल्क व्यावसायीक सीपमूलक तालिमको आयोजना गर्ने भएको छ । महानगरले सामाजिक विकास विभागद्वारा आर्थिक वर्ष २०८१/८२ को ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्र्तगत निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो । जसअन्र्तगत महानगरपालिकाले काष्ठकला, मूर्तिकला र हस्तकलासम्बन्धी तीन महिना अवधिको तालिम सञ्चालन गर्दै छ । न्यूनतम ८ कक्षा पास गरेका १८ देखि ४५ वर्ष उमेर समूहका नागरिकले तालिमको लागि आवेदन दिन सक्ने महानगरले जनाएको छ । इच्छुक नेपाली नागरिकले फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिनेहरूमध्ये छनोटमा परेका ६० जनाले तालिममा सहभागी हुन पाउने महानगरका सामाजिक विकास विभागका विभागीय प्रमुख समीक्षा निरौलाले बताइन् । उनका अनुसार छनोट प्रक्रिया महानगरपालिकाको प्राथामिकता श्रेणीअनुसार हुने छ।
नेशनल लघुवित्त वित्तीय संस्था नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित भएको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.६२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८७.९६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३७.२५ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४६.८७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १¬०६.६२ प्रतिशत बढेको छ । दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २४ करोड १५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ३४ पैसा रहेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ १२ पैसा बढेर ३२ रुपैयाँ ३४ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ६७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.९१ गुणा रहेको छ । १ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ५९ करोड रुपैयाँ सञ्चित छ । लघुवित्तले पुस मसान्तसम्ममा २२ अर्ब ४५ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २२ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले स्थापनाको शुरुदेखि नै वित्तीय पहुँच अभिबृद्घि गराई नेपालको गरिबी घटाउने, वित्तीय समावेशीकरण बढाउने उद्देश्यले नेपाल भरी नै लघुवित्त सेवा प्रदान गर्ने अठोटका साथ अगाडि बढिरहेको छ । हाल देशभर संस्थाले १८४ वटा शाखा कार्यालयहरू मार्फत ७४ जिल्लामा २,३५,८३० जना विपन्न परिवारको घरमा लघुवित्त सेवा प्रदान गरिरहेको छ । यस संस्थाले नविनतम प्रविधिहरुको प्रयोग गरी छिटो छरितो र विश्वासनीय एवं दिगो सेवा प्रदान गर्दै कार्यक्रम विस्तारमा अग्रसर रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादु यादवले जानकारी दिए । उनले संस्थाले कृषि, पशुपालन, सेवा व्यवसाय तथा लघुउद्यम जस्ता व्यवसायहरु सञ्चालनको लागि विशेष गरी महिलाहरुलाई केन्द्रित गरी उत्तरदायी लघुवित्त सेवा उपलब्ध गराउँदै आएको बताए । समय सापेक्ष ग्राहकको चाहना अनुसार सेवा तथा सुविधाहरुमा परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिवद्ध जनाए । आगामी आर्थिक वर्षमा वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रमा शाखा विस्तार गरी अझ प्रभावकारी रुपमा सेवा तथा सुविधाको विस्तार गर्ने लक्ष्य रहेको छ ।
रोयल इनफिल्डको महा राइड सम्पन्न
काठमाडौं । रोयल इनफिल्डको महा राइड कार्यक्रम सम्पन्न भएको छ । ‘घुमौ मधेश, बुझौ मधेश’ भन्ने क्याम्पेन सफल पार्ने उदेश्यका साथ महा राइड सम्मन्न भएको हो । जनकपुरबाट सुरु भएको यो राइडमा ६० भन्दा धेरै रोयल इनफिल्ड राइडर सिन्धुली पुगेका हुन् । यस राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवद्र्धन, अनुशासित राईड, भातृत्व बिकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउने रहेको कम्पनीको भनाई छ । जनकपुरबाट सुरु भएको यो यात्रामा बर्दिबासका राइडरहरुलाई समेट्दै सिन्धुली पुगेको थियो । कार्यक्रमको औपचारिक उद्धाटन प्रमुख अतिथि मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादवले गरेका थिए । साथै कार्यक्रमको फ्ल्यागअफ अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेल, नेशनल कार्ट हेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काले गरेका थिए । सचिव रन्जित यादवले सडक सुरक्षाबारे महत्वपूर्ण विचारहरू प्रस्तुत गर्नुका साथै, यातायात मन्त्रालयका सचिव रन्जित यादव लगायत अन्य अतिथिहरूले सुरक्षित राइडिङ संस्कृति र यस्तो कार्यक्रमले दिने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए ।