इन्टरनेटबाट सिकेर सफल उद्यमी बनेकी बसन्ती, ऋण लिएर सुरु गरिन् केक पसल
कञ्चनपुर । पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार बनेकी छन् । उनले महिनामै ६० हजार रुपैयाँ बढीको कारोबार गर्छन् । खर्च कटाएर ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । विगतमा गाउँकै विद्यालयमा पढाउने कार्य गर्ने चन्दले कोरोना महामारीका कारण जागिर छाड्नु पर्यो । बेरोजगार भइन् तर खाली बस्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच त थियो र लगानीका लागि पैसा थिएन । भर्खरै बजार क्षेत्रमा सृजनशील बचत तथा ऋण सहकारीको शाखा खुलेको थियो । त्यसमा आबद्ध भएर ऋण लिने निधो गरिन् । फेरि ऋण त लिने तर कुन प्रयोजनका लागि लिने भन्नेबारे द्वविधा उत्पन्न भयो । त्यही बेला हो प्रविधिले गरिखाने बाटो देखाउन सघाएको । 'इन्टरनेट चलाउँथे, विभिन्न व्यवसाय गरिरहेका व्यक्तिका बारेमा र तिनले गरेका व्यावसायिक कार्यबारे निकै अभिरुचिपूर्वक हेर्थें । केक, पेष्टी र बदाम सेक बनाउने कार्य सहज लाग्यो, त्यही कार्य गर्ने निर्क्यौल गरी व्यवसाय सुरु गरेँ', चन्दले सुनाइन् । एक लाख रुपैयाँबाट सुरु गरिएको व्यवसायबाट उनले हाल पाँच लाख रुपैयाँको सामान थपेकी छन् । युट्युबाटै सिकेर हाल केक, पेष्टी र बदाम सेक बनाउने व्यवसाय गरिरहेको चन्दले जानकारी दिइन् । ग्राहकलाई सन्तुष्ट हुने गरी सामान दिन थालेपछि जन्मदिन, सङ्घसंस्थाका स्थापना दिवसलगायत अवसरमा धेरैजसोले माग गर्दा सहज भएको उनले उल्लेख गरिन् । बकसरी सामानबाहेक उनले गिफ्टका सामग्रीको समेत कारोबार गरिरहेकी छन् । भविष्यका लागि भनेर उनले मासिक आठ हजार रुपैयाँ जति सहकारीमै बचत गर्दै आएकी छन् । 'घरको खर्च पसलकै कमाईले धानिएको छ । छोरीलाई पसलकै कमाईबाटै पढाउन थालेकी छु', चन्दले भनिन् । रासस
गभर्नरसहित राष्ट्र बैंकका सञ्चालकको सुविधामा अंकुश, १४ शीर्षकमा २ अर्बको रकम बुझियो
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको विभिन्न सुविधामा अंकुश लगाएको छ । महालेखाले आफ्नो ६२ औं प्रतिवेदनमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १९ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको पारिश्रमिक तथा अन्य सुविधा सञ्चालक समितिले तोकेबमोजिम हुने उल्लेख भए तापनि अन्य सुविधाबारे ऐनमा उल्लेख नगरेको उल्लेख छ । सोही ऐनको दफा ३२ (२) मा समितिमै रहने गभर्नर, डेपुटी गभर्नर र सञ्चालकले आफ्नै सुविधाको लागि निर्णय गर्दा स्वार्थ बाझिने कारण सम्बन्धित पदाधिकारीले भाग लिन नपाउने उल्लेख छ । सञ्चालकले पाउने सुविधा समितिले तोक्ने व्यवस्थामा पुनरावलोकन हुनुपर्ने महालेखाको राय छ । नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ मा बैङ्क तथा वित्तीय संस्थाहरू सम्बन्धी नीति, सेवा सुविधा र आर्थिक दायित्व सम्बन्धी विषय अर्थ मन्त्रालयको कार्यक्षेत्रमा रहेको देखिन्छ । राष्ट्र बैंकका गभर्नर/डेपुटी गभर्नरबाट आफूले प्रयोग गर्ने सवारी साधन खरिद गर्ने कार्यविधि स्वीकृत गरेको विषय पनि प्रतिवेदनमा उल्लेख छ । उक्त कार्यविधिमा सेवा निवृत्त समयमा सवारी साधनको किताबी मूल्य वा खरिद मूल्यको २० प्रतिशतमध्ये जुन बढी हुन्छ सो मूल्य तिरी व्यक्तिगत नाममा नामसारी गरी लैजान पाउने व्यवस्था छ । यसरी खरिद गर्ने सवारी साधन विद्युतीय वा हाइब्रिड भएमा ४ वर्षमा र डिजेल, पेट्रोल भए ५ वर्षमा सवारीसाधनको मूल्य शून्य हुने गरी ह्रासकट्टीको व्यवस्था रहेको छ । आफू समेतले पाउने सुविधा जोडिएको कार्यविधि आफैले स्वीकृत गरेको विषय औचित्यपूर्ण नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सेवामा रहँदा पाउने सुविधाको हद र निवृत्त भएपछि पाउने सुविधा सम्बन्धमा कानुनद्वारा स्पष्ट गर्नुपर्ने राय महालेखाको छ । कानुनअनुसार सुविधा पाउने गभर्नर १ डेपुटी गभर्नर २ कार्यकारी निर्देशक १८ र निर्देशक ५९ समेत ८० जना रहेकोमा बैंकमा १२७ थान सवारी साधन रहेको देखिन्छ जसअनुसार बैंकमा ४७ सवारीसाधन जगडामा रहेको देखिन्छ । उक्त सवारीसाधनको प्रयोग मितव्ययी र प्रभावकारी तवरले गर्नुपर्ने सुझाव महालेखाको छ । यस्तै, नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ (संशोधन समेत) अनुसार बैंक तथा वित्तीय संस्थाहरू सम्बन्धी तलब, भत्ता, उपदान, निवृत्तिभरण लगायत सेवा सुविधा र आर्थिक दायित्व सम्बन्धी विषय नीति, कानुन, अर्थ मन्त्रालयको कार्यक्षेत्रमा रहेको छ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ११०(२ मा सञ्चालक समितिले कर्मचारीको पारिश्रमिक, सेवा सुविधा सम्बन्धी विनियम बनाउन सक्ने व्यवस्था छ । सञ्चालक समितिको निर्णय तथा नेपाल राष्ट्र बैंक कर्मचारी विनियमावली, २०६८ मा उल्लेख गरी बैंकका कर्मचारीहरूलाई केन्द्रीय बैंक भत्ता, कर्मचारी कल्याणकारी सञ्चय कोष, वार्षिकोत्सव भत्ता, खाजा भत्तालगायत १४ किसिमका भत्ता तथा सुविधाबापत यो वर्ष १ अर्ब ९५ करोड १ लाख रुपैयाँ उपलब्ध गराएको विषय पनि प्रतिवेदनमा उल्लेख छ । उक्त भत्ता तथा सुविधामा सेवा निवृत्त भएपछि कर्मचारीले पाउने गरी कर्मचारी कल्याणकारी सञ्चय कोषमा दाखिला गरेको ९ करोड ८९ लाख ८६ हजार रुपैयाँ केन्द्रीय भत्तासमेत थप गरी बढी भुक्तानी भएको दशैं खर्च ५ करोड ६८ लाख ७१ हजार रुपैयाँ, कर्मचारी कल्याणकोष मार्फत कर्मचारीलाई भुक्तानी दिएको ६९ करोड ५१ लाख रुपैयाँ समावेश रहेको उल्लेख छ ।
एलआईसी नेपालको १० प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । उक्त लाभांश बीमा समितिको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।
तोलामा ३ हजार पाँच सयले घट्यो सुन
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला ३५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८१ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९२५ मा बेचबिखन भइरहेको छ । बुधबार प्रतितोला सुन रु एक लाख ८५ हजार ३०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६० मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उद्योगीबाट साढे २३ अर्ब बक्यौता उठाउन ताकेता, हितेन्द्रले देखाएको नोक्सानी महालेखाले देखाएन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल बक्यौता प्रत्येक वर्ष बढ्दै गएको छ । महालेखापरीक्षक कार्यालयको प्रतिवेदनअनुसार प्राधिकरणको बक्यौता ८.८८ प्रतिशतले बढेको हो । विद्युत महसुल बक्यौता गत वर्षको तुलनामा यो वर्ष ८.८८ प्रतिशतले वृद्धि भई ४८ अर्ब २६ करोड रुपैयाँ पुगेको महालेखा कार्यालयकको प्रतिवेदनमा उल्लेख छ । उक्त रककमध्ये ट्रंकलाइन तथा डेडिकेटेड लाइनमार्फतको ५९ ग्राहकबाट विगत वर्षको असुल हुनुपर्ने २३ अर्ब ४४ करोड रुपैयाँ रहेको उल्लेख छ भने सो रकम कुल बक्यौताको ४८.५७ प्रतिशत देखिन्छ । यस अतिरिक्त सडकबत्तीको ६ अर्ब ८९ करोड असुल गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, प्राधिकरणका कार्यकारी हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको देखाए पनि महालेखाको प्रतिवेदनले प्राधिकरण नाफामा नै रहेको उल्लेख गरेको छ । महालेखाको प्रतिवेदनमा प्राधिकरणको कुल नाफा २६ अर्ब ७२ करोड ६७ लाख ७७ हजार, सञ्चालन नाफा २१ अर्ब ८० करोड २५ लाख ९४ हजार, करअघिको नाफा १४ अर्ब ४६ करोड ५३ लाख ३५ हजार, करपछिको खुद नाफा १० अर्ब ५२ करोड ७१ लाख ५ हजार र कुल विस्तृत आम्दानी २ अर्ब १२ करोड २४ लाख २ हजार रुपैयाँ देखाएको छ ।
पाँच करोडको अस्पताल भवन दुई वर्षदेखि प्रयोगविहीन
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१, दोबामा पाँच करोड रूपैयाँ बढी खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन छ । सङ्घीय सरकारको सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने कार्यक्रमअनुसार अन्नपूर्ण गाउँपालिकाले दोबामा पाँच श्यया क्षमताको अस्पताल भवन निर्माण गरेको दुई वर्ष बितिसक्दा पनि प्रयोगविहीन भएको हो । आठ वटा वडा रहेको अन्नपूर्णका सबै वडाका बासिन्दालाई पायक नहुनु, जनशक्ति र उपकरणको अभाव तथा भवन रहेको ठाउँसम्म पुग्ने सडकको जीर्ण अवस्थाका कारण भवन प्रयोग र अस्पताल सञ्चालन हुन नसकेको अन्नपूर्ण–१ का वडाध्यक्ष दिलीप गर्बुजाले बताए । 'सरकारी मापदण्डअनुसार अस्पतालका लागि आवश्यक पर्ने जग्गा अन्य वडामा नपाएपछि दोबामा अस्पताल बनाउने निर्णय भएको हो', उनले भने, 'भवन प्रयोगमा ल्याउन सबैभन्दा पहिले बेनी–जोमसोम सडकको भिरकाटेदेखि दोबासम्मको सडक स्तरोन्नतिका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल गरेका छौँ ।' भवनमा आकस्मिक सेवा कक्ष, अन्तरङ्ग, बहिरङ्ग सेवा, प्रयोगशाला, औषधी भण्डार, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा रहेको छ । भवन निर्माणका लागि पाँच करोड १२ लाख ६० हजार रुपैयाँमा सम्झौता भएको थियो । अस्पतालका लागि आवश्यक पर्ने उपकरण, फर्निचर र भवन घेराबार गर्न धेरै रकम गर्नुपर्ने भएको छ । दोबाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम जग्गा निःशुल्क उपलब्ध गराएका थिए । रासस
६५०० एमएएच ब्याट्री र ५० एमपी क्यामेरासहितको भिभो भी ५० लाईट बजारमा सार्वजनिक गरिने
काठमाडौं । नेपाली स्मार्टफोन बजारमा नयाँ ऊर्जा थप्दै, भिभोले छिट्टै आफ्नो नयाँ स्मार्टफोन भिभो भी ५० लाईट सार्वजनिक गर्ने तयारी गरिरहेको छ । स्टाइल, शक्तिशाली प्रदर्शन र नविन प्रविधिले भरिएको यो फोनले बजारमा नयाँ ट्रेन्डको शुरुआत गर्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार यो स्मार्टफोनमा ६५०० एमएएचको ब्लु वल्ट ब्याट्री रहनेछ, जसले ९० वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्नेछ । लामो समय टिक्ने ब्याट्री हुँदा पनि, ७।७९ एमएमको अल्ट्रा–स्लिम प्रोफाइलले यो फोनलाई स्टाइलिश बनाउने छ । प्रदर्शन पक्षमा, भी ५० लाईटमा मीडियाटेक डाइमेन्सिटी ६३०० वा स्न्यापड्रागन ६८५ चिपसेट रहने अनुमान गरिएको छ । जसले गेमिङ र मल्टिटास्किङमा उत्कृष्ट अनुभव प्रदान गर्नेछ । साथै, यसमा कम्प्रेहेन्सिभ कुशनिङ डिजाइन, एसजीएस ५-स्टार ड्रप रेसिस्टेन्स र मिलिट्री–ग्रेड सर्टिफिकेसनजस्ता टिकाउपनका विशेषता पनि समावेश हुनेछन् । डिजाइन पक्षमा, फोनमा १२० हर्जको अल्ट्रा–भिजन डिस्प्ले, फ्ल्यागशिप फिनिश, १८०० निट्स पिक ब्राइटनेस, र लो ब्लू लाइट सर्टिफिकेसनजस्ता गुणहरू रहनेछन् । जसले आँखाको सुरक्षा सुनिश्चित गर्नुका साथै उज्यालोमा समेत स्पष्ट दृश्य दिन्छ । क्यामेरापक्षमा भिभो भी ५० लाईटमा ५० एम पी सोनी आई एम एस् ८८२ मुख्य क्यामेरा दिइने चर्चा छ । जसको औरा लाईट पोर्टेटसुविधाले कम उज्यालोमा पनि उत्कृष्ट तस्वीर खिच्न सकिनेछ । ३२ एम पी अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई ईमेज स्टुडियोमा रहेको एआई ईरेज र एआई फोटो ईनह्यान्स जस्ता स्मार्ट टुल्सले फोटो सम्पादनलाई अझ सहज बनाउने कम्पनीले जनाएको छ । भिभो भी ५० लाईटका यी विशेषताहरूले नेपाली स्मार्टफोन प्रयोगकर्तामा उच्च उत्साह र अपेक्षा जगाएको छ। यसले शैली, शक्ति र स्मार्ट प्रविधिको सन्तुलन मार्फत नेपाली बजारमा नयाँ मापदण्ड स्थापन गर्ने विश्वास गरिएको छ ।
विश्वव्यापी संकटसँग जुध्दै निसान : २० हजार रोजगारी कटौती र ७ कारखाना बन्द
काठमाडौं । जापानी अटोमोबाइल कम्पनी निसान मोटर कम्पनीले आफ्नो व्यवसाय पुनर्संरचना गर्ने योजनाअन्तर्गत सन् २०२७ सम्म विश्वभरका सात उत्पादन प्लान्ट बन्द गर्ने घोषणा गरेको छ । यससँगै झन्डै २० हजार कर्मचारी कटौती गरिनेछ, जुन कम्पनीको कुल कार्यबलको करिब १५ प्रतिशत हो । कम्पनीले अमेरिकी ट्यारिफ नीति तथा विश्वव्यापी बजारमा बढ्दो अनिश्चितताका कारण सन् २०२६ मा समाप्त हुने आर्थिक वर्षको नाफा अनुमान स्थगित गरेको छ । निसानले मार्च २०२५ मा समाप्त हुने आर्थिक वर्षमा ६७०.८ अर्ब येन (झन्डै ४.५४ अर्ब अमेरिकी डलर) को शुद्ध घाटा व्यहोरेको छ । जुन चार वर्षमा पहिलोपटक वार्षिक घाटा हो । यो घाटा मुख्यतः अमेरिकी बजारमा बढेको विक्री खर्च र उत्पादन प्लान्टहरूको पुनर्मूल्याङ्कनबाट भएको क्षतिका कारण भएको कम्पनीको भनाइ छ । पुनरुत्थान योजना अन्तर्गत, निसानले प्रारम्भिक रूपमा ९ हजार कर्मचारी कटौतीको योजना अघि सारेको थियो । अब थप ११ हजार कटौती गरी कुल २० हजार रोजगारी घटाउने अन्तिम निर्णय गरिएको छ । कम्पनीले यसै योजनाबाट आफ्नो खर्च घटाउँदै लाभदायकता फर्काउने लक्ष्य लिएको छ ।