नेपाली श्रमिकको उद्धार, सहायता, स्वदेश फिर्ती, बीमा तथा क्षतिपूर्ति लगायत विषयमा छलफल
काठमाडौं । आठौँ ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको उपस्थितिमा मङ्गलबार ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग छलफल गरेकी छिन् । ओमानस्थित नेपाली राजदूतावासले परिषद्स्थित नेपाली नियोगका राजदूत, कार्यवाहक महावाणिज्यदूत, नियोग उपप्रमुख, श्रम काउन्सेलर तथा श्रम सहचारीलगायत नियोगमा कार्यरत पदाधिकारी तथा कर्मचारीको सहभागितामा ‘भर्चुअल’ बैठक गरेको हो । उक्त बैठकमा महिला घरेलु कामदारलगायत नेपाली श्रमिकको उद्धार, सहायता, स्वदेश फिर्ती, बीमा तथा क्षतिपूर्ति, आश्रयस्थल व्यवस्थापन, शव व्यवस्थापनलगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, प्रभावकारी सेवा प्रवाहमा देखिएका चुनौती र समाधानका उपायबारे छलफल भएको थियो । उक्त दूतावासका अनुसार बैठकमा आर्थिक, सांस्कृतिक तथा सार्वजनिक कूटनीतिका विविध आयाम, व्यापार, लगानी, पर्यटन, संस्कृति, भाषा, वेशभूषा, तथा रोजगार प्रवर्द्धन, जनस्तरको सम्बन्ध विस्तार, नेपाली समुदाय तथा सामाजिक सङ्घसंस्थासँगको सहकार्य तथा नेपाली नियोगमा उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन तथा उपयोगलगायत विषयमा विस्तृत रूपमा छलफल भएको थियो । छलफलका क्रममा प्राप्त सुझावलाई समावेश गरी उठान भएका विषयउपर परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबाट उपयुक्त निर्णयका लागि सिफारिस गर्ने निर्णय भएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । परराष्ट्रमन्त्री देउवाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित, भरपर्दो बनाउने सरकारको नीति बताउँदै यो महत्त्वपूर्ण उद्देश्य हासिल गर्न विदेशस्थित नेपाली नियोगहरूको प्रमुख भूमिका हुने भएकाले लागि सबैले तदारूकताका साथ कार्यसम्पादन गर्न निर्देशन दिइन् । विदेशमा कार्यरत नेपाली श्रमिकका समस्या पहिचान गरी समाधानका उपाय अवलम्बन गर्न सरोकार भएका सबै निकाय सक्रिय हुनुपर्ने र दीर्घकालीन रूपमा समस्या समाधान गरी यस क्षेत्रलाई आकर्षक बनाउनुपर्नेमा उनको जोड छ । दूतावासका अनुसार परराष्ट्रमन्त्रीले ‘डिजिटल’ सुशासन कायम गर्ने सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणलगायत नियोगको सेवा प्रवाहलाई मितव्ययी, सरल, पारदर्शी, प्रभावकारी तथा सूचना प्रविधिमैत्री बनाउन निर्देशन दिइन् । नेपालको समग्र विकासका लागि आर्थिक कूटनीति प्रवर्द्धनमा नियोगहरुले विशेष सक्रियता देखाउन तथा सम्बन्धित मन्त्रालयले आवश्यक सहजीकरण गर्न अपरिहार्य रहेको बताउँदै यस सम्बन्धमा कुनै व्यवधान देखिएमा बाधा अड्काउ फुकाउन परराष्ट्र मन्त्रालय तत्पर रहेको उनको भनाइ छ । बैठकपश्चात् परराष्ट्रमन्त्री देउवाले ओमानस्थित नेपाली सङ्घसंस्थाका प्रतिनिधि, राजदूतावासका स्वयंसेवक तथा नेपाली समुदायका अगुवाहरुसँग अन्तरक्रिया गर्नुभयो । यस क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सबैलाई इमान्दारीपूर्वक काम गरी नेपालको छवि अभिवृद्धि गर्न आह्वान गरिन् । सरकारले नेपाली श्रमिकहरुको हकहित र सेवासुविधाको सुरक्षा एवं प्रवर्द्धनका लागि आवश्यक नीतिगत, संस्थागत तथा कानुनी संरचना निर्माण तथा नियमित परिमार्जन गरिरहेको जानकारी पनि उनले दिइन् । परराष्ट्रमन्त्री देउवाले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा राजदूत डोरनाथ अर्यालले रात्रिभोजको आयोजना गरेको थियो । परराष्ट्रमन्त्री तथा उनको प्रतिनिधिमण्डल ओमानको भ्रमण सम्पन्न आज स्वदेश फर्कने कार्यक्रम छ ।
प्रभु महालक्ष्मी, कालिका लघुवित्त र नेशनल लघुवित्तबाट बाहिरिँदै संस्थापक
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट माउन्टेन इन्फ्रा कम्पनी बाहिरिने भएको छ । माउन्टेन इन्फ्राले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर प्रभु महालक्ष्मी लाइफबाट बाहिरिने भएको हो । संस्थापक सेयरधनी माउन्टेन इन्फ्राले आफ्नो नाममा रहेको २ लाख २१ हजार ६५० कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताहरूले समेत आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाका ३ जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । लघुवित्तका संस्थापक सेयरधनी रुद्र प्रसाद शर्माले ७ हजार १४० कित्ता, लक्ष्मी सुवेदीले २ हजार कित्ता र महान बहादुरले १ हजार ५ सय कित्ता सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको उक्त सेयरमा संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले खरिद नगरे सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरिने लघुवित्तले जनाएको छ । यस्तै, नेशनल लघुवित्त संस्थाका ७ जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । लघुवित्तका सेयरधनी बिमल पाण्डेले १० हजार कित्ता, राम कुमार गौतमले ४ हजार ८ सय कित्ता, मिलन कोइरालाले १ हजार ११५ कित्ता, गौरीशंकर पोदारले २ हजार कित्ता, रमेश कुमार घिमिरेले १ हजार ५८२ कित्ता, महेन्द्र प्रसाद चुडालले ८ हजार कित्ता र तारदेबी गुरूङ्गले ४ हजार ७९ कित्ता सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताहरूले समेत आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले १० दिनभित्र आवेदन दिनुपर्नेछ ।
स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ बिक्री गर्ने, कति कित्ता आवेदन दिने ?
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ९५ हजार ७७३ कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । लघुवित्तको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ रहेको छ । एफपीओ बिक्रीपश्चात् लघुवित्तको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ । लगानीकर्ताले फागुन २१ गतेसम्म लघुवित्तको एफपीओमा आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि चैत ३ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट लघुवित्तको सेयरमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
आज सेयर कारोबार नहुने
काठमाडौं । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । आज फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस भएकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएका कारण सेयर बजारमा सेयर कारोबार पनि बन्द हुने भएको हो । यससँगै अब भोली बिहीबार मात्रै सेयर कारोबार खुल्नेछ ।
१ अर्ब ६४ करोड रुपैयाँको जुवा खेलाउने २४ भारतीय पक्राउ
काठमाडौं । नेपालमा बसेर ‘बेटिङ एप्लिकेसन’मार्फत डेढ अर्बभन्दा बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ परेका छन् । नेपाल प्रहरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ बाट सोमबार पक्राउ गरी उनीहरूलाई आज सार्वजनिक गरेको हो । पक्राउ परेकाको साथबाट बरामद ल्यापटप तथा मोबाइलको प्रारिम्भक अनुसन्धान गर्दा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ४३० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको भेटिएको कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए । उनीहरूले ‘बेटिङ साइट’ को प्रयोग र भारतीय एजेन्टसँग ह्वाट्सएप तथा टेलीग्राममार्फत सम्पर्क गरी घर भाडामा लिई व्यावसायिक तबरमा अनलाइन जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निजहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ ९जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमती गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयका प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
मुलुकभर आज ७५औँ प्रजातन्त्र दिवस मनाइँदै
काठमाडौं । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ । प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ । प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराए ।
तराईका केही भागमा हुस्सु, कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहेको बताएको छ । साथै तराईका केही भागमा हुस्सु लागेको छ । महाशखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ भने उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, राति सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ भने उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आगामी २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा बिहीबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
एमसीसी स्थगन, बनिसकेको काम के हुन्छ ?
काठमाडौं । नेपालको संसदले निकै विवाद र रस्साकस्सीका बीच पारित गरेको अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्थगन भएको छ । एमसीसीले नेपाल सरकारलाई फागुन २ गते इमेल पठाउँदै स्थगन गर्ने आग्रह गरेसँगै नेपाल सरकारले पनि त्यो परियोजना आगापड नबढाउन निर्देशन दिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै विदेशी अनुदान रोक्ने निर्देशन दिएका थिए । सोही अनुसार नेपालमा पनि लागू भइरहेको एमसीसी परियोजनाको भुक्तानी रोकिएको अर्थमन्त्रालयले जानकारी दिएको छ । ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन इ–मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच वि.सं २०७४ भदौ २९ गते सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशानुसार रोकिएको हो,’ अर्थमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । नेपालमा लगानी वृद्धि एवं आर्थिक विकासमा तीब्रता ल्याउने उद्देश्यसहित सरकारले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग गरेको सम्झौता गरेको थियो । तर, अहिले सो परियोजना स्थगन भएको हो । निर्माणको प्रक्रियामा गइसकेको र केही काम भइसकेको एमसीसी अब अगाडि बढ्ट वा बढ्दैन ? खारेज नै भएपन बनिसकेको कामलाई कसरी समाधान गरिन्छ ? भन्ने विषयको चासो बढेको छ । अर्थमन्त्रालयका अनुसार हालसम्म ८.४६प्रतिशत काम बनेको छ । चालु आर्थिक वर्षमा कुल ९ अर्ब ९० करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन भएको यस परियोजनामा पुस मसान्तसम्म ८३ करोड ८० लाख रुपैयाँ खर्च भएको छ । एमसीसीको नेपालस्थित कार्यालयका अनुसार हालसम्म १८ किलोमिटर लामो सीमापार प्रसारण लाइन ठेक्का सम्झौता भइसकेको छ भने ३७९ किलोमिटर प्रसारण लाइनका लागि यस वर्ष बोलपत्र आव्हान गर्ने तयारी भइरहेको थियो । यस्तै, १० जिल्लामा ८५६ वटा प्रसारण टावरका गज निर्माणका लागि जग्गा प्राप्ति, दुई वर्षे जिविकोपार्जन कार्यक्रममार्फत् २७० जनालाई तालिम, ९ जिल्लामा मुआब्जा निर्धारण वितरण समिति गठन, धादिङ, मकवानपुर र नवलपरासीमा मुआब्जा निर्धारण र ९ जिल्लामा पहिलो भरणको रुख गणना कार्य सम्पन्न भएको बताएको छ । अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो। अमेरिकाको ५०० मिलिअन डलर र नेपालको १९७ मिलिअन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत् प्रसारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको थियो । अब बनिसकेको काम के हुन्छ भन्ने विषय चासोका रुपमा देखिएको छ ।