कुलमानलाई हटाउन अन्तिम अस्त्र प्रयोग, दिपक असफल भएपछि मन्त्रिपरिषदले नै सोध्यो स्पष्टीकरण
काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनलाई तपाईंलाई पदबाट किन नहटाउने भनेर तीन दिने स्पष्टीकरण सोध्ने निर्णय बुझिएको छ । यसअघि उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले उनलाई स्पष्टीकरण सोधेका थिए । सो स्पष्टीकरणको जवाफ दिँदै घिसिङले मन्त्रालयले आफूलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको बताएका थिए । मन्त्रालयले उनलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको थियो । सरकारले पटक–पटक उनलाई स्पष्टीकरण सोधेर हटाउने प्रयास गरिरहेको छ । तर, हटाउने कार्यमा उर्जामन्त्री खड्का असफल भएपछि उनलाई अन्ततः मन्त्रिपरिषद् बैठकले नै स्पष्टीकरण सोधेको हो ।
ग्राहक आफैंले बैंकको सेवा सुचारु र बन्द गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई डिजिटल कारोबार गर्दा ग्राहक आफैंले सेवा सुचारु र बन्द गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा संशोधन तथा परिमार्जन गर्दै ग्राहकले प्रयोग गर्ने विद्युतीय भुक्तानीसम्बन्धी विविध सेवाहरू ग्राहक स्वयंले विद्युतीय माध्यम (सम्बन्धित एप वा वेब पोर्टल) मार्पmत निष्क्रिय गर्न र पुनः सक्रिय गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरेको हो । यस्तै, प्रत्येक कारोबार सम्पन्न भएपछि अनिवार्य रूपमा सम्बन्धित ग्राहकलाई तत्काल एसएमउस मार्फत सन्देश दिनुपर्ने छ । साथै, ग्राहकले अन्य विद्युतीय माध्यमबाट सन्देश माग गरेमा सो समेत उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार ग्राहकलाई विद्युतीय कार्ड जारी गर्दा आवेदन फारमसँगै कार्ड जारी गर्दा र कारोबार गर्दा लाग्ने शुल्क, कारोबारको सीमा, कार्डको प्रयोग गर्दा लाग्ने ब्याजदर, कार्डबाट प्राप्त हुने अन्य सुविधाहरू लगायतका विषय समेटिएको सूचनामूलक सामाग्री प्रदान गर्नुपर्ने छ । एटीएम कारोबारसम्बन्धमा ग्राहकलाई तत्काल कुनै जानकारी÷सहयोग आवश्यक भएमा सो प्रयोजनका लागि एटीएम रहेको स्थानमा सम्बन्धित कर्मचारीको नाम र सम्पर्क मोबाइल नं. तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलिफोन नं. नेपाली र अंग्रेजी भाषामा ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी राख्नुपर्ने छ । यस प्रकारको विवरण नियमित रुपमा अद्यावधिक गरी सो को अभिलेख समेत राख्नुपर्ने छ । कुनै प्राविधिक कारणले एटीएम नचलेमा, एटीएममा पर्याप्त नगद नभएमा, नगद ननिस्किएमा वा अन्य समस्या उत्पत्र भएमा तत्काल सोको सूचना सम्बन्धित एटीएम सञ्चालन गर्ने संस्थामा पुग्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । साथै, सोको सूचना आवश्यकता अनुसार कार्ड जारी गर्ने संस्थामा समेत पुग्ने व्यवस्था मिलाउनुपर्ने छ । अनुमतिपत्रप्राप्त संस्थाले विभिन्न प्रकारका विवाद, विवाद व्यवस्थापनको प्रक्रिया तथा व्यवस्थापनका लागि लाग्ने अधिकतम समयावधि लगायतका विषय समेटेर विवाद व्यवस्थापन कार्यविधि तयार गरी लागू गर्नुपर्ने छ । साथै, ग्राहकलाई विद्युतीय माध्यमबाट विवाद दर्ता गर्न तथा विवाद समाधानको अवस्था बारे जानकारी प्राप्त गर्न एप तथा वेबसाईटमा आवश्यक व्यवस्था गर्नुपर्ने छ ।
५ किलोमिटिर वरिपरि बैंकको पहुँच भए मात्रै शाखारहित बैंकिङ्ग सेवा बन्द गरिने
काठमाडौं । ५ किलोमिटिर वरिपरि बैंक तथा वित्तीय संस्थाको पहुँच भएको अवस्थामा मात्रै शाखारहित बैंकिङ्ग सेवा बन्द गरिने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन तथा परिमार्जन गर्दै बन्द गरिने शाखारहित बैंकिङ्ग सेवाको ५ किलोमिटर क्षेत्रमा बैंकको पहुँच हुनुपर्ने व्यवस्था गरेको हो । ‘शाखारहित बैंकिङ्ग सेवा बन्द गर्न प्रस्ताव गरिएको क्षेत्रमा करिब ५ किमि वरिपरि क, ख तथा ग वर्गका बैंक तथा वित्तीय संस्था वा अन्य शाखारहित बैंकिङ्ग सेवा सञ्चालन भई वित्तीय पहुँचको वैकल्पिक व्यवस्था भएको हुनुपर्नेछ,’ राष्ट्र बैंकले एकीकृत निर्देशनमा उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार संस्थाले व्यावसायिक निरन्तरता तथा वृद्धिसम्बन्धी कम्तीमा ३ वर्षको रणनीतिक योजना तयार गर्नुपर्ने छ । यस्तो रणनीतिक योजनाको कार्यान्वयनका लागि समयसीमा, जिम्मेवार विभाग÷इकाई÷कर्मचारी आदि तोकी विस्तृत कार्ययोजना तर्जुमा गर्नुपर्ने छ ।
दैनिक ५ हजार कारोबार गर्ने व्यक्तिले समेत मर्चेन्ट क्यूआर कोड पाउने
काठमाडौं । व्यक्तिले पनि मर्चेन्ट क्यूआर कोड प्रयोग गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा संशोधन तथा परिमार्जन गर्दै दैनिक ५ हजार रुपैयाँसम्मको कारोबार गर्ने व्यक्तिले समेत क्यूआर कोड उपलब्ध गराइने व्यवस्था गरेको हो । ‘स्थायी लेखा नम्बर नलिएका दैनिक ५ हजार रुपैयाँसम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिको हकमा आधिकारिक परिचयपत्रको आधारमा समेत निजको नाममा मर्चेन्ट क्यूआर कोड उपलब्ध गराउन सकिनेछ,’ राष्ट्र बैंकले एकीकृत निर्देशनमा उल्लेख गरेको छ । यसअघि अनुमतिपत्रप्राप्त संस्थाहरूले स्थायी लेखा नम्बर लिएका एकल स्वामित्वमा सञ्चालित व्यवसायीको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको बचत खातामा रकमान्तर हुने गरी क्यूआर कोड उपलब्ध गराउन सक्ने व्यवस्था गरेको थियो । तर, स्थायी लेखा नम्बर नलिएका दैनिक ५ हजार रुपैयाँसम्मको व्यापारिक कारोबार गर्ने प्राकृतिक व्यक्ति/खुद्रा व्यापारीको हकमा आधिकारिक परिचयपत्रको आधारमा समेत निजको नाममा मर्चेन्टको रुपमा क्यूआर उपलब्ध गराउन सकिने व्यवस्था थियो ।
एउटा खाताबाट एक भन्दा बढी कार्ड जारी गर्न नपाइने, आधिकारिक भीपीएन नभए मोबाइल र इन्टरनेट बैंकिङ्ग लगइन नहुने
काठमाडौं । एउटा खाताबाट एक भन्दा बढी कार्ड जारी गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेविट/क्रेडिट/प्रिपेड) को एक भन्दा बढी कार्ड जारी गर्न पाइने छैन । तर, डोमेस्टिक कार्ड स्किम अन्तर्गतका कार्डहरू जारी गर्दा यो व्यवस्थाले बाधा पु¥याएको मानिने छैन । कार्ड मार्फत उपलब्ध हुने नियर फिल्ड कम्युनिकेसन, थ्रीडी सेक्योर, भर्चुलाइजेशनलगायतका अन्य सुविधाहरूको उपयोगिता, जोखिम तथा शुल्क तिर्नु पर्ने भएमा सोसम्बन्धी जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । ग्राहकले मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग प्रणाली सञ्चालन वा कारोबार गर्दा भीपीएनको प्रयोग गरेनगरेको पहिचान गरी आधिकारिक भीपीएनको प्रयोग नभएमा लगइन गर्न नमिल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । अनुमतिपत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था समेत)ले भुक्तानीसम्बन्धी कार्यका लागि प्रयोग हुने विभिन्न प्रणालीहरुको नियमित रुपमा डीसी–डीआर ड्रिल गर्नुपर्नेछ । कुनै पनि प्रणालीको डीसी-डीआर ड्रिल कम्तीमा २ वर्षमा एक पटक गर्नुपर्नेछ । डीसी–डीआर ड्रिल सम्पन्न भएको १५ दिनभित्र उक्त ड्रिलको प्रतिवेदन राष्ट्र बैंकमा पेश गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार संस्थाले नेपाल सरकारको सूचना प्रविधि विभागले डाटा सेन्टरको रुपमा कार्य गर्न सूचिकृत गरेको संस्थासंग मात्र आफ्नो डाटा सेन्टर राख्न सक्नेछन् । अनुमतिपत्रप्राप्त संस्थाहरुले हाल कायम रहेको डाटा सेन्टर ‘डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१’ मा तोकिएको समयमा सूचिकृत भए/नभएको एकीन गर्नुपर्ने छ ।
राष्ट्र बैंकले गर्याे संस्थापक सेयर खरिदबिक्री र नामसारीसम्बन्धी नयाँ व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक सेयर नामसारी, खरिदबिक्रि, हक हस्तान्तरण तथा पुँजी वृद्धि सम्बन्धी नयाँ व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो । अनुमतिपत्रप्राप्त संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वा अरु कसैको नाम वा माध्यमबाट एकल, संयुक्त वा समूहगत गरी १५ प्रतिशत वा सोभन्दा बढी सेयर वा पुँजी लगानी गरेकोमा वा अन्य कुनै तरिकाले सोको वास्तविक धनीको रुपमा रहेको भएमा त्यस्तो वास्तविक धनीको अद्यावधिक व्यक्तिगत विवरण (नाम, थर, पति/पत्नी, बाबु, बाजेको नाम, स्थायी ठेगाना, हालको ठेगाना, टेलिफोन नं., मोबाइल नं., इमेल ठेगाना) राख्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको हो । संस्थापक सेयरको खरिदबिक्री वा नामसारी गर्नु पूर्व राष्ट्र बैंकको बैंकको स्वीकृति लिनुपर्ने, स्वीकृतिको लागि सञ्चालक समितिको सिफारिस तथा अन्य सेयरधनीको लिखित सहमतिसहित निवेदन दिनुपर्ने, सामान्यतः अनुमतिपत्र प्राप्त भएको मितिले ५ वर्षसम्म संस्थापक सेयर खरिद बिक्री गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, आधुनिक प्रविधि भित्र्याउन पुँजी थप गर्नुपर्ने अवस्था वा दुई वा दुईभन्दा बढी संस्था एक आपसमा गाभिई नयाँ लगानीकर्ता थप गर्दा वा अन्य कुनै मनासिव कारणले संस्थापक शेयर खरिदबिक्री गर्नुपर्ने औचित्य पुष्ट्याई हुने अवस्थामा राष्ट्र बैंकको स्वीकृति लिई संस्थापक सेयर खरिद बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाको छ । यसरी सेयर खरिद बिक्री गर्दा सम्पत्ति तथा दायित्वको विस्तृत मूल्याङ्कन गरी प्रति कित्ता सेयर मूल्य निर्धारण गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार संस्थापक सेयर लिएका व्यक्तिको मृत्यु भएमा वा प्रचलित कानुनबमोजिम पारिवारिक अंशबन्डा भएमा प्रचलित कानुनको रित पु¥याई निजको हकदार वा निजले इच्छाएको व्यक्तिको नाममा स्वीकृति लिई नामसारी गर्न सकिनेछ । संस्थापक सेयर खरिदकर्ता व्यक्ति भएमा सेयर खरिद गर्न प्रस्तावित व्यक्तिको तोकिएको ढाँचामा व्यक्तिगत विवरण, संस्थापक हुन अयोग्य नरहेको स्वःघोषणा, कालोसूचीमा नरहेको वा कालोसूचीमा परेको भए सो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा भएको प्रमाण, पछिल्लो आवको कर चुक्ता गरेको प्रमाण, प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नभएको प्रमाण र लगानीको स्रोत खुलाई सोको प्रमाण राष्ट्र बैंकमा पेश गर्नुपर्ने छ । सेयर खरिद गर्न प्रस्तावित व्यक्ति हाल कायम संस्थापक सेयरधनी रहेको भए व्यक्तिको अद्यावधिक व्यक्तिगत विवरण, कालोसूचीमा नरहेको प्रमाण, पछिल्लो आवको कर चुक्ताको प्रमाण, लगानीको स्रोत खुल्ने प्रमाण पेश गर्नुपर्ने छ । संस्थाको कानुनी वा अन्य सल्लाहकार पदमा बहाल रहेको तथा संस्थाको आन्तरिक वा बाह्य लेखापरीक्षकको रुपमा नियुक्त व्यक्ति वा राष्ट्र बैंकले समय समयमा तोकेको न्यूनतम योग्यता र अनुभव नभएको व्यक्ति संस्थाको संस्थापक सेयर खरिद गर्न अयोग्य मानिने राष्ट्र बैंकले जनाएको छ । संस्थापक सेयर खरिदकर्ता संस्था भएमा प्रस्तावित संस्थाको हकमा लगानी गर्ने संस्थाको सञ्चालक समितिको निर्णय, संस्थाको दर्ता प्रमाणपत्र, कुनै निकायबाट इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त गरको भए सोको प्रमाणपत्र, प्रबन्धपत्र, नियमावली, कालोसूचीमा नरहेको वा कालोसूचीमा परेको भए सो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा भएको प्रमाण, संस्थाका सञ्चालकहरुको प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नभएको प्रमाण, पछिल्लो आवको कर चुक्ता गरेको प्रमाण, पछिल्लो आवको लेखापरीक्षण प्रतिवेदन, सेयर लगत, अन्तिम हिताधिकारीको विवरण र लगानीको श्रोत खुलाई सोको प्रमाण पेश गर्नु पर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ । सेयर खरिद गर्न प्रस्तावित संस्था हाल कायम संस्थापक सेयरधनी रहेको भए सञ्चालक समितिको निर्णय, अद्यावधिक शेयर लगत, पछिल्लो अवको लेखापरीक्षण प्रतिवेदन तथा लगानीको स्रोत समेत पेश गर्नु पर्नेछ । प्रस्तावित संस्थापक सेयरधनीको सञ्चालक समितिमा प्रतिनिधित्व हुने भएमा प्रस्तावित सञ्चालक नीतिगत व्यवस्था बमोजिम अयोग्य नरहेको तथा फिट एण्ड पर्पर मापनका आधार पूरा गरेको प्रमाण समेत पेश गर्नु पर्नेछ । पुँजी वृद्धि गर्ने उद्देश्यले संस्थाले नयाँ संस्थापक सेयरधनी थप गर्न चाहेमा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने छ । यसरी नयाँ संस्थापक सेयरधनी थप गर्दा प्रति कित्ता शेयर मूल्य मान्यताप्राप्त लेखापरीक्षकबाट तयार गरिएको सम्पत्ति/दायित्वको विस्तृत मूल्याङ्कन प्रतिवेदनबाट निर्धारण गर्नुपर्ने छ ।
‘मन्त्रालयको शून्य अंकले कुनै माने राख्दैन, जति स्पष्टीकरण सोधेपनि अन्तिम मिनेटसम्म काम गर्ने ल्याकत छ’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई जति स्पष्टीकरण सोधे पनि त्यसले कुनै महत्व नराख्ने बताएका छन् । बुधबार एक सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राख्दै उनले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पटक–पटक स्पष्टीकरण सोधिररेको प्रशंग कोट्याउँदै त्यसले कुनै माने नराख्ने बताएका हुन् । उनले आफू काममा विश्वास गर्ने भएकोले प्राधिकरणमा रहँदासम्म अन्तिम घडीसम्म पनि काम गर्ने ताकत र ल्याकत रहेको बताएका हुन् । यस्तो छ कुलमानको संक्षिप्त धारणा : मेरो कार्यकालको विषयमा आज होकि भोलि हो भन्ने हल्ला छ, सबैले सुन्नु भएकै होला । हल्ला भएपनि लाष्ट मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । ५/६ वटा स्पष्टीकरण सोधे होलान्, जवाफ पनि दिए हुँला । त्यसले मलाई कुनै माने राख्दैन, मलाई शून्य दिए पनि सय दिए पनि त्यसले पनि माने राख्दैन । प्रदेशको मूल्यांकन तपाईंहरुले गर्नु भएको होला, यो प्रदेशमा तपाईंहरुले ० अंक दिनु हुन्छ कि सय अंक दिनु हुन्छ ? त्यो तपाईंहरुले मुल्यांकन गर्नु भएकै होला । पफर्मेन्सको आधारमा मूल्यांकन गर्ने हो । हामीले राष्ट्रिय जिम्मेवारी लिएर काम गरिरहेका छौं । काम गर्दै गर्दा जतिसुकै स्पष्टीकरण खानु परे पनि, अन्तिम एक घण्टा भए पनि काम गर्ने आँट, ताकत र ल्याकत राख्नु पर्छ भन्ने हिसाबले काम गरिरहेको छु । कर्मचारीसँग सोही किसिमले समन्वय गरेर गरिरहेको छु । यसमा साथीहरुले पनि सहयोग गरिरहनु भएको छ ।
बासुकी नाग महिला समूहको बिक्री कक्ष र उत्पादन केन्द्र सञ्चालन
ललितपुर । ललितपुर महानगर- १३ मा अवस्थित बासुकी नाग महिला समूहको बिक्री कक्ष र उत्पादन केन्द्र सञ्चालनमा आएको छ । उक्त केन्द्रमा बासुकी नाग महिला समूहले सञ्चालन गरेको तालिमपश्चात उत्पादन भएका सामग्रीलाई उक्त केन्द्रमा राखिएको छ । उक्त विक्री कक्ष र उत्पादन केन्द्रको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । उद्यमशीलतालाई प्रबद्र्धन गर्न सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ललितपुर महानगरले धेरै किसिमको तालिम सञ्चालन गरेको बताउँदै तालिम लिएकाहरूलाई उनले काम गर्न अनुरोध गरे । उनले भने, ‘काम गर्न चाहनुहुन्छ भने हामी सीड मनीको व्यवस्था गर्छौं ।’ महानगरमा आउने पाहुनालाई केन्द्रमा राखेका सामान उपहार दिने उनले बताए । आर्थिक विकास समितिका संयोजक एवम् वडा नं.२१ का वडाअध्यक्ष रविन्द्र महर्जनले समृद्धिको लागि सीप विकास र आर्थिक आयआर्जन महत्व भएको बताए । महिला र युवालाई उद्यमी बनाउन सीप विकाससँगै उद्यमशीलता आवश्यक भएको उनको भनाइ छ । समृद्धिका लागि सीप, उत्पादन र बजारीकरण महत्त्वपूर्ण भएको उनको भनाइ थियो। विदेश जाने तयारी गरेका युवा महानगरले उपलब्ध गराएको सीड पूँजीबाट उद्यमी बनेको बताए । उनले भने, ‘खोकनामा तितौरा उत्पादन भएको छ । धापाखेलमा जुत्ता बनाउने काम सुरु गर्नु भएको छ । ’ ललितपुर महानगर १३ का वडा सदस्य सरु जोशीले महिलाहरू आर्थिक रूपमा सक्षम नभएसम्म सशक्त नहुने बताउँदै महिलालाई उद्यमशीलतासँग जोड्न यो केन्द्र सञ्चालनको ल्याएको बताइन् । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवम् प्रवक्ता उद्योग, संस्कृति पर्यटन समितिका संयोजकको उपस्थिति रहेको छ। बासुकी नाग महिला समूहकी अध्यक्ष कोपिला रिजालले आर्थिक रूपमा महिला आत्मनिर्भर नभएसम्म सशक्तिकरण नहुने बताइन् ।