४ म्याग्निच्युडको भूकम्प, म्याग्दीको मुदी केन्द्रविन्दु
काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदी केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेट जाँदा मुदीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का धौलागिरि गाउँपालिकाको मुदीका साथै मुना, ताकम, मराङ, मल्कबाङ, दरबाङ, देवीस्थानलगायत पश्चिम म्याग्दीसहित आसपासका क्षेत्रमा महसुस भएको थियो । बिहानपख मानिसहरू सुतिरहेकै अवस्थामा भूकम्प गएपछि ठूलो धक्का महसुस भएपछि धेरै मानिसहरू घर बाहिर निस्किएको धौलागिरि गाउँपालिका–४ मुदीका वडाध्यक्ष यामबहादुर घर्तीले बताए । उनका अनुसार, भूकम्पबाट अहिलेसम्म कुनै मानवीय र भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन् । यसअघि गत फागुन १३ गते पश्चिम म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको देवीस्थान आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको र मुना केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्म गएको थियो ।
आज यी ४ प्रदेशमा हल्का वर्षा हुने, कोशी प्रदेशमा मेघगर्जन
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइँदै, स्थानीय तहमा ४१.१ प्रतिशत महिला जनप्रतिनिधि, प्रदेशसभामा कति ?
काठमाडौं । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् । विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ । नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ । यस्तै, महिलाको हक मौलिक हकको रूपमा स्थापित गरेको छ । समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको छ । हाल सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६.५ र स्थानीय तहमा ४१.१ प्रतिशत महिला जनप्रतिनिधि छन् । यसैगरी निजामती सेवामा अहिले करिव २८ प्रतिशत महिला कर्मचारीको उपस्थिती छ । समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक छ । सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।
एनएमबि बैंकले ‘इनहाउस’बाटै रोज्यो सीईओ, घिमिरेले पाए अवसर
काठमाडौं । एनएमबी बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा गाेविन्द घिमिरे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको फागुन २३ गते बसेको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । घिमिरेलाई आगामी ४ वर्षकाे लागि बैंककाे सीईओको जिम्मेवारी दिइएको हो । यसअघि घिमिरे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए । साथै, बैंकका सीईओ सुनिल केसीको कार्यकाल फागुन मसान्तमा सकिदैछ । उनी दुई कार्यकाल बैंकको सीईओ बनिसके । सन् १९९५ बाट तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् । सन् २००९ देखि एनएमबी बैंकमा आवद्ध उनी २०७९ असोज ११ गते डीसीईओमा बढुवा भएका थिए । उनी ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ बैंकरको रुपमा चिनिन्छन् ।
भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, पाइलट सुरक्षित
काठमाडौं । भारतीय वायु सेना (आईएएफ) को एक जगुआर लडाकु विमान शुक्रबार दुर्घटनामा परेको छ । उत्तरी भारतीय राज्य हरियाणामा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । हरियाणाको राजधानी चण्डीगढबाट करिब ३५ किलोमिटर दक्षिण पूर्वमा रहेको पञ्चकुला जिल्लाको रायपुर रानी नजिकैको पहाडी जङ्गल क्षेत्रमा दुर्घटना हुनुअघि पाइलट सुरक्षित रूपमा बाहिर निस्किएका थिए । तस्बिरहरूमा आगो लागेको जेटको भग्नावशेष र यसको केही भागहरू जमिनमा छरिएका देखाइएका छन् । भारतीय वायुसेनाका अनुसार अम्बाला एयरबेसबाट उडेको विमान नियमित प्रशिक्षण उडानका क्रममा प्रणालीमा खराबी भएको थियो । यसैबीच वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिएको छ । गत महिना, भारतीय वायुसेनाको दुई सिट भएको लडाकु विमान पनि नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको थियो ।
कुलमानलाई इङ्गित गर्दै उर्जामन्त्री खड्काले भने- झुठा विवरण पेस गरेर दुःख दिने कुरा किमार्थ स्वीकार्य हुँदैन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्न चाहेको बताएका छन् । भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६६औँ वार्षिक साधारण सभामा उनले निजी क्षेत्र कमजोर भए सरकार बलियो हुन नसक्ने तर्क गर्दै सबै मिलेर मुलुक निर्माणमा अगाडि बढ्नुपर्नेमा जोड दिए । रुपन्देहीमा देखिएको ट्रङ्क लाइन र डेडिकेटेड फिडर लाइनको समस्याबारे कुरा गर्दै मन्त्री खड्काले प्रयोग गरेको बिजुलीको बिल उद्योगीले तिर्ने दायित्व रहेको तर झुठा विवरणकै आधारमा उद्योगीलाई बिल तिर्न लगाउनु अत्याचार भएको टिप्पणी गरे । ‘सरकारको जिम्मेवार निकायमा बस्ने, झुठा विवरण पेस गर्ने अनि जनतालाई दुःख दिने कुरा सरकारलाई किमार्थ स्वीकार्य हुँदैन । मलाई थाहा छ डेडिकेटेडका नाममा जसले त्यो प्रयोग नै गरेको छैन, उसलाई महशुल मात्र हैन हर्जानासमेत तिर्नुपर्छ भनेर बिल पठाइएको छ,’ नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई इङ्गित गर्दै उनले भने । मन्त्री खड्काले रुपन्देहीकै २२ वटा उद्योग त्यही कारण समस्यामा परिरहेको भन्दै प्रयोग गरेको विद्युत् यकीन गरी उद्योगीले बिल तिर्नुपर्नेमा जोड दिए । डेडिकेटेड लाइन नजिकैबाट गएका आधारमा मात्र बिल तिर्न लगाउनु अत्याचार र अन्याय भएकाले सरकारले यसको समाधान गर्ने उनले आश्वासन दिए । मन्त्री खड्काले हिउँदमा अझै पनि १ हजार मेगावाट बिजुली खरिद गर्नुपरेको उल्लेख गर्दै अब ठूला आयोजनालाई अगाडि बढाउने, विद्युत् सुरक्षालाई ध्यान दिने, आन्तरिक रूपमा खपत बढाएर आम्दानीको स्रोत बढाउने सरकारको योजना रहेको सुनाए । ‘सरकारले निर्णय गरेको छ, १० वर्षमा साढे १३ हजार मेगावाट बिजुली आन्तरिक खपत गर्दैछौँ,’ उनले भने, ‘सँगसँगै हामीसँग बढी भएको विद्युत् भारत र बंगलादेशलाई बेच्ने छौँ । यसरी हामीले आयात गरिरहेको कुरालाई निर्यातमा परिणत गरेर मुलुकलाई समृद्ध बनाउने, १० वर्षमा साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।’ उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले आयात र निर्यात दुवैमा समस्या रहेको बताउँदै निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे । ‘हाल बजारलाई चलायमान बनाउने विषयमा सरकारजस्तै निजी क्षेत्र पनि चिन्तित छौँ । भारतलाई ९ रुपैयाँप्रति युनिट बिजुली दिनुहुन्छ भने यहाँका उद्योगीलाई ८ रुपैयाँमा दिनुस् न, यहाँ देखिएको ट्रङ्कलाइन र डेडिकेटेड लाइनको विवाद पनि छिटो समाधान गरेमा केही समस्या समाधान हुनेछन्,’ उनले भने । महासङ्घका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले पुँजीगत खर्च बढाउन सुझाव दिए । उनले बजार चलायमान बनाउन घर जग्गाको कारोबार चलायमान बनाउन आवश्यक रहेको जिकिर गरे । लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेले प्रदेशमा लुम्बिनीलगायत धेरै पर्यटकीय केन्द्रहरू रहेका कारण केन्द्र सरकारले यहाँ लगानी बढाउन आवश्यक रहेको बताए ।
गौतमबुद्ध विमानस्थलबाट ४ अन्तरराष्ट्रिय एयरलाइन्सको नियमित उडान, अन्य एयरलाइन्स पनि आकर्षित
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट ४ अन्तरराष्ट्रिय एयरलाइन्सले नियमित उडान सञ्चालन गरिरहेका छन् । यसअघि मौसमी अवस्था र यात्रु अभावले नियमित उडान हुन सकिरहेको थिएन । अहिले उक्त विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कुवेतको जजिरा एयरवेज, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाई एयर एसियाले अन्तरराष्ट्रिय उडान गरिरहेका हुन् । भैरहवामा ४ अन्तरराष्ट्रिय एयरलाइन्सको नियमित उडान भइरहेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनले विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन भएसँगै विमानस्थल चलायमान बन्ने र अन्य एयरलाइन्स पनि आकर्षित हुने विश्वास व्यक्त गरे । गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा–काठमाडौं भएर उडान गर्दै आएको छ । जजिरा एयरवेज र थाई एयर एसियाले गत माघ २४ गतेदेखि पुनः उडान सुरु गरेका विमानस्थल कार्यालयले जनाएको छ । फ्लाई दुबईले एकमहिना अघिदेखि पुनः उडान सुरु गरेको थियो । जजिरा एयरवेज र थाई एयर एसियाले गत कात्तिकदेखि उडान सुरु गरेका हुन् । गौतमबुद्ध विमानस्थलबाट फेब्रुअरी महिनामा कूल ११५ उडानमार्फत ६ हजार ८७९ यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ ।
नेपालमै केही हुन्छ भन्ने सन्देश दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, ५०० जनाको सहभागिता रहने
काठमाडौं । सरकारले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित यही फागुन २६ देखि काठमाडौंमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने सन्दर्भमा अन्तरतह र निकायबीच समन्वय र सहकार्य गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ । मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजजार तथा सामाजिक सुरक्षामन्त्री शरतसिह भण्डारीले आन्तरिक रोजगारको सम्भावना पहिल्याउन र व्यवस्थापनका लागि ठोस राय सुझाव प्राप्त गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । उनले भने, ‘मुलुकभित्र के-कस्तो रोजगार आवश्यक छ, त्यसका लागि कस्तो शीप चाहिन्छ । उद्यमशीलताका आधारमा उत्पादन बढाउने र रोजगारी प्रदान गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ ।’ शीपको अभावमा मानिस बेरोजगार हुनुपरेको बताउँदै मन्त्री भण्डारीले आन्तरिक रोजगारको सम्भावना र व्यवस्थापन नभएसम्म वैदेशिक रोजगार घटाउन कठिन हुने बताए । उनले भने, ‘वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै हो । नेपाली समाजमा देखिएको नकारात्मक सोच र भाष्य चिर्दै अब केही हुन्छ भन्ने सन्देश सम्मेलनमार्फत दिऔँ ।’ उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन् । वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका चुनौतीको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगारयोग्य वातावरण सिर्जना नीतिगत र कानुनी व्यवस्थाका लागि सम्मेलनमा सुझाव प्राप्त हुने मन्त्रालयको विश्वास छ । वैदेशिक रोजगार ऐन र राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन तथा सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि गठित कार्यदलको प्रतिवेदनउपर समेत सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवर्द्धन दशवर्षे रणनीतिक योजनामा समावेश गरिने मन्त्रालयको भनाइ छ । सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड यूनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्तारविज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी करिब ५०० जनाको सहभागिता रहने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । नेपालको रोजगारीको क्षेत्रमा देखापरेका सङ्कुचनको समाधान, वर्षेनी श्रम बजारमा थपिने नयाँ श्रमशक्तिलाई रोजगारमूलक सेवा प्रदान गर्न र नयाँ रोजगारीको क्षेत्र पहिचान तथा व्यवस्थापन गर्न आवश्यक नीति र कार्यक्रम तर्जुमाका लागि ठोस राय सुझाव प्राप्त गर्नु सम्मेलनको मुख्य उद्देश्य रहने मन्त्रालयको भनाइ छ । वैदेशिक रोजगारी अर्थतन्त्र र समाजको अभिन्न अङ्ग भएकाले वैदेशिक मुद्रा आय आर्जनको प्रमुख श्रोत भएको छ । विप्रेषणलाई के कसरी मुलुकको रूपान्तरणमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनमा बहस हुनेछ । वैदेशिक रोजगारीलाई मुलुकले आर्थिक समृद्धिको अल्पकालीन रणनीतिको रूपमा मात्र लिने गरिएको छ । सामाजिक न्यायसहितको समावेशी विकास गर्नेगरी सोह्रौँ योजनाले लिएको लक्ष्य प्राप्तिका लागि यस मन्त्रालयले विभिन्न कार्यक्रम तथा परियोजना कार्यान्वयन गर्दै आएको छ । मुलुकमा आन्तरिक रोजगारीमा नेपाली श्रमिकको उपयुक्त प्रशोचन हुन नसक्दा वैदेशिक रोजगारीमा अतिरिक्त चाप परेको तथा आर्थिक वर्ष २०८०/०८१ मा कूल ७ लाख १४ हजार २९७ जना नेपाली जनशक्तिले श्रम स्वीकृति र पुनःश्रम स्वीकृति लिएको सो अवसरमा जानकारी दिइयो । वैदेशिक रोजगारीले नेपालको रोजगार व्यवस्थापन तथा वैदेशिक मुद्रा आर्जनमा प्रत्यक्ष सहयोग गरे पनि मुलुकको दीर्घकालीन सामाजिक र आर्थिक विकासमा यसको प्रभाव न्यून रहेको मन्त्रालयको भनाइ छ ।