सामुदायिक विद्यालय हाँकिरहेका ‘हेडम्याम’
काठमाडौं । एक समयमा महिला चुलो र चौकामा मात्र सीमित थिए । अहिले समय फेरियो । राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै छ । कुनै समय विद्यालयमा पढ्नसमेत बन्देज छोरीहरू अहिले त्यही क्षेत्र अर्थात विद्यालयको नेतृत्व गरिरहेकी छन् । उनीहरूले हाँकेका विद्यालयहरूले एसईई लगायत हरेक परीक्षामा उत्कृष्ट नतिजा ल्याइरहेका छन् । आज हामी नारी दिवसको अवसरमा काठमाडौं उपत्यकामा रहेका सामुदायिक विद्यालयको नेतृत्व गरिरहेकी महिलाहरुको संक्षिप्त समाचार सामग्री तयार पारेका छौं । धुम्रबराह माविको चित्र फेरेकी सुजाता आजभन्दा करिब २५ वर्षअघि सुजाता राजलवट काठमाडौंको धुम्बाराहीमा रहेको धुम्रबराह माध्यमिक विद्यालय शिक्षकको रूपमा पुगिन् । त्यहाँको अवस्था देख्दा उनलाई अचम्म लाग्यो । काठमाडौंमा रहे पनि सामुदायिक विद्यालयको अवस्था कन्तबिजोग थियो । विद्यार्थीहरू सुकुलमा बसेर अध्ययन गरिरहेका थिए । विद्यालयको अवस्थाबारे उनले प्रधानाध्यापकसँग कुरा राखिन् । तर, कुनै प्रगति भएन । सुजातालाई त्यत्तिकै बस्न मन लागेन । उनले विद्यालयको बारेमा समाजमा रहेका अगुवा अनि अभिभावकसँग कुराकानी गर्न थालिन् । विद्यालयको दुरावस्थाको विषयमा कुरा उठाइन् । तर, कुरा कसैले सुनेनन्, किनकि उनी आवाज सुनुवाइ हुने ठाउँमा थिइनन् । त्यसको चार वर्षपछि सुजाता त्यही विद्यालयको प्रधानाध्यापक बनिन् । त्यसपछि उनले कडा रूपमा आवाज उठाइन् । उनले विद्यालय वरिपरि रहेका समाजसेवी, बुद्धिजीवीलाई भेटिन् । विस्तारै अभिभावकले पनि यो कुरामा ध्यान दिन थाले । कक्षा ६ सम्म मात्र पढाइ हुने यो विद्यालयमा विस्तारै कक्षा थपिँदै गए । विद्यार्थीले बेञ्चलगायत अन्य भौतिक सुविधा प्राप्त गरे । सुजाता राजलवट । अहिले २१ वर्ष भयो, यो विद्यालयको नेतृत्व उनै सुजाताले गरिरहेकी छन् । उनी भन्छिन्, ‘भुइँमा बसेर अध्ययन गर्ने विद्यार्थीलाई अहिले डेस्क बेञ्चमा बस्नेमात्र होइन, त्यही अनुसारको शिक्षा दिने विद्यालय बनाउन सफल भएकी छु ।’ सुजाताका अनुसार अहिले यो विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ । जहाँ अहिले ५ सय भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् भने शिक्षक कर्मचारी १९ जना छन् । सुजाता आफूसँग गर्न सक्ने इच्छा र आँट भयो भने नेतृत्वमा पुगेपछि धेरै काम गर्न सकिने दाबी गर्छिन् । उनी काम गर्दै जाँदा आउने चुनौतीको सामना गर्दै अगाडि बढ्न सक्यो भने मात्र जीवन सोंचेजस्तो हुने बताउँछिन् । महिलाको एउटैमात्र भूमिका हुँदैन, उसले दोहोरो, तेहेरो भूमिका निभाउनुपर्छ । उनी भन्छिन्, ‘एउटा महिला बिना घरपरिवार, देश मात्र नभइ पुरुष नै अधुरो हुन्छ, यसको मतलब महिलामात्र सबै थोक हो, पुरुष होइन भन्ने होइन ।’ उनी नारीले नेतृत्व गर्ने हरेक संस्था सफल हुने बताउँछिन् । उत्कृष्ट ज्ञानोदय बनाउने विष्णु उपत्यकामा रहेका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयभित्र पर्छ ज्ञानोदय माध्यमिक विद्यालय । काठमाडौंको कलंकीमा रहेको यो विद्यालयले एसईईमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । यही कारणले नै यो विद्यालय पढाउन अभिभावकको लाइन लाग्छ । विद्यालयमा अहिले ४ हजार ७ सय बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । सामुदायिक विद्यालय भएपनि यो विद्यालयले अहिले अंग्रेजी भाषामा शिक्षण गराइरहेको छ । समयको मागअनुसार परिमार्जन भएको विद्यालय देशभरकै उत्कृष्ट विद्यालयभित्र पर्ने गर्छ । इसीडी (प्रारम्भिक बाल विकास) देखि कक्षा १२ सम्म पढाइ हुने यो स्कुलमा विद्यार्थीको निकै आकर्षण छ । यहाँ भर्नाको समयमा ५ सय विद्यार्थीको सिटमा दुई हजार बढी विद्यार्थी भर्ना हुन आउँछन् । अहिले यो विद्यालयको नेतृत्व गरिरहेकी छिन् विष्णु घिमिरे रिमालले । मोरङ घर भई काठमाडौंमा शिक्षण पेशामा आवद्ध रिमाल विगत दुई वर्षदेखि यो स्कुलको नेतृत्व गरिरहेकी छन् । दुई दशक बढी समयदेखि शिक्षण पेशामा आबद्ध रिमाल विद्यार्थी, अभिभावक र शिक्षकहरूको त्रिकोणात्मक सहयोगले विद्यालय सञ्चालनमा सहज भएको बताउँछिन् । विष्णु घिमिरे रिमाल । उनी भन्छिन्, ‘हामी विद्यालयको हरेक काम समूहमा बसेर छलफल गर्छौं, नेतृत्वकर्तासँग समूह राम्रो छ भने हरेक चुनौतीसँग जुधेर अगाडि बढ्न सकिन्छ ।’ महिलामात्र अध्ययनरत पद्मकन्या विद्याश्रम काठमाडौंको डिल्लीबजारमा रहेको पद्मकन्या विद्याश्रम विद्यालय एउटा यस्तो विद्यालय हो, जहाँ महिला अर्थात छात्रामात्र अध्ययन गर्छन् । यो विद्यालय नेपालको सबैभन्दा पुरानो विद्यालयअन्र्तगत पर्छ । रिता तिवारी । राणाशासनमा महिलाको अध्ययनका लागि बनाइएको यो विद्यालयमा अहिले ८ सय ६० वटा विद्यार्थी अध्ययन गरिरहेका छन् । जुन विद्यालयको नेतृत्व गरिरहेकी छन् रिता तिवारीले । रिताको घर काठमाडौंको कमल पोखरी हो । उनले यो विद्यालयको नेतृत्व सम्हालेको १२ वर्ष भयो । एउटा निजी स्कुलबाट शिक्षकको रूपमा शिक्षण पेसा सुरु गरेकी उनी अहिले यो विद्यालयको प्रमुखका रूपमा काम गरिरहेकी छिन् । शिक्षक हुँदै प्रधानाध्यापकको पदसम्म पुग्दा उनले पनि धेरै संघर्ष गर्नुपर्यो । रिता भन्छिन्, ‘सुरु सुरुमा काम गर्न गाह्रो थियो, तर आजभोलि बानी भइसक्यो । काम गर्न पनि पहिलेको भन्दा अवस्था सहज भइसकेको छ ।’ विद्यार्थीलाई विज्ञान र गणित विषयमा अध्ययन गराउँदै आएकी उनी पहिलेभन्दा अहिले समाज परिवर्तन हुँदै गइरहेको बताउँछिन् । ‘समय परिवर्तन भएको छ, पहिले महिला घरभन्दा धेरै पर जाने अवस्था थिएन, उनीहरूलाई नेतृत्व दिँदासमेत नाक खुम्च्याइन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले महिला आफै प्रतिस्पर्धा गरेर नेतृत्वमा जानसक्ने भइसकेका छन्, यो खुसीको कुरा हो ।’ भानुलाई भव्य बनाउन चाहेकी शारदा भानु माध्यामिक विद्यालय काठमाडौंको रानीपोखरीमा अवस्थित छ । जहाँ इसीडी देखि कक्षा १२ सम्म पढाइ हुन्छ । यो विद्यालयमा अहिले करिब १ हजार जना विद्यार्थी अध्ययन गरिरहेका छन् । करिब एक हजार विद्यार्थीका लागि अध्ययन गराउने आन्तिरिक र सरकारी दरबन्दी गरेर अहिले यो विद्यायमा ४३ जना शिक्षक कर्मचारी छन् । यो विद्यालयको नेतृत्व गरिरहेकी छिन् शारदा पौडेलले । उनको घर स्याङ्जा हो । अहिले उनी काठमाडौंमा बस्छिन् । २०७१ सालदेखि भानु माध्यामिक विद्यालयमा आवद्ध उनी २०७८ सालदेखि प्रधानाध्यापकको भूमिकामा काम गरिरहेकी छिन् । शारदा अहिले पनि महिलालाई सितिमिति पत्याइहाल्ने समाज नभएको बताउँछिन् । उनी भन्छिन्, ‘पुरुष सहकर्मी धेरै छन्, उनीहरूलाई हरेक पल म काम गर्न सक्छु भन्ने प्रमाणित गरिरहनुपर्छ ।’ शारदा पौडेल । शारदा अहिले महिला नेतृत्वमा पुगे पनि गर्न सक्छु भन्ने विश्वास दिलाउन उनीहरूले धेरै मिहिनेत गर्नुपर्ने बताउँछिन् । ‘अहिले पनि म प्रधानाध्यापकको कुर्सीमा बसिरहँदा पनि हेडसर खोइ भनेर धेरैजना सोध्नुहुन्छ,’ उनी भन्छिन्, ‘अझै नेतृत्वतहमा पुरुष नै हुन्छन् र हुनुपर्छ भन्ने सोंच धेरैमा छ ।’ कसरतमा छिन् करुणा नेपाल आदर्श मावि काठमाडौंको गणबहालमा छ । यो विद्यालयको नेतृत्व तीन वर्षदेखि करुणा प्रधानले गरिरहेकी छिन् । शिक्षण पेसामा लागेको लामो समयपछि अहिले उनी विद्यालयको नेतृत्व गरिरहेकी हुन् । विद्यालयमा अहिले ४ सय ८५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् भने ८५ जना शिक्षक कर्मचारी छन् । काठमाडौंमा जन्मे हुर्केकी करुणा महिलाहरू अहिले हरेक क्षेत्रको नेतृत्व तहमा पुगिसकेको बताउँछिन् । करुणा प्रधान । ‘महिलाले घरलाई सुन्दर बनाउँछिन्, घरभन्दा बाहिर जुन संस्थामा आवद्ध हुन्छिन्, तिनलाई पनि उनले सुन्दर बनाउँछिन्,’ उनी भन्छिन्, ‘महिलाले नेतृत्व गरेका शैक्षिक संस्थामात्र होइनन्, हरेक संस्था कम्पनी उत्कृष्ट बनेका छन् ।’ नेपाली समाज परिवर्तन भइसकेको भन्दै उनी अब पहिलेजस्तो संघर्ष गर्नुपर्ने अवस्था नरहेको बताउँछिन् । नन्दी माविमा गीताको नेतृत्व काठमाडौंको नक्सालमा रहेको नन्दी माविमा कक्षा १ देखि १२ सम्म अध्यापन हुन्छ । जहाँ अहिले ५ सय भन्दा बढी विद्यार्थीहरू छन् भने ३६ जना शिक्षक कर्मचारी छन् । गीता काफ्ले । यो स्कुलको नेतृत्व अहिले गीता काफ्लेले गरिरहेकी छिन् । वि.सं २०५० सालमा दोलखाबाट शिक्षण पेशा सुरु गरेकी उनी अहिले वि.सं २०६३ सालदेखि काठमाडौंको नन्दी माविमा आवद्ध छिन् । शिक्षकको रूपमा यो स्कुलमा प्रवेश गरेकी उनले वि.सं २०७२ सालदेखि यही विद्यालयमा प्रधानाध्यापकको भूमिका छिन् । गीता शिक्षण पेसामा मात्र नभइ हरेक संस्थामा काम गर्दा हुने चुनौतीले नै अवसर सिर्जना गर्ने बताउँछिन् । उनी भन्छिन्, ‘यात्राको दौरानमा कोही न कोही पछाडि कुरा काट्ने मान्छे आवश्यक हुँदो रहेछ, जसले थप संघर्ष गर्न दबाब सिर्जना गर्छ, जसको दबाबले राम्रो पदमा पुग्न मान्छेलाई सफल बनाउँछ ।’ गीता चुनौतीसँग लडेर सफलतामा पुग्नु नै रमाइलो हुने बताउँछिन् । उनी कुनै पनि नेतृत्वमा पुगेका महिलाले समयअनुसार आफूलाई अपडेट र आफ्नो समूहलाई मिलाएर लैजाने सामथ्र्य राख्न सके कसैले प्रश्न गर्ने ठाउँ नहुने उनको अनुभव छ । पद्मोदयको प्रमुख पोखरेल काठमाडौंको पुतलीसडकमा रहेको पद्मोदय माध्यमिक विद्यालय सामुदायिक विद्यालय हो । यो विद्यालयमा पनि विद्यार्थीको आकर्षण बढेको छ । यहाँ ईसीडीदेखि कक्षा १२ सम्म अध्ययन गराइन्छ । एसईई र प्लस टुमा राम्रो नतिजा आउने यो विद्यालयमा विद्यार्थीको भर्नाको समयमा निकै सकस हुने गरेको शिक्षकहरू बताउँछन् । तर, भवनको अभावमा विद्यार्थी आएजति भर्ना गर्न सकिने अवस्था छैन । अहिले कक्षा १ देखि १० कक्षामा मात्र ६ सय बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । डा. शर्मिला पोखरेल । यसैगरी, प्लस टुमा ७ सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यो विद्यालयको नेतृत्व अहिले डा. शर्मिला पोखरेलले गरिरहेकी छिन् । ‘पद्मोदयको इच्छा, संस्कारयुक्त गुणस्तरीय शिक्षा’ भन्ने नारा दिएर सञ्चालनमा आएको यो विद्यालयको नेतृत्व गरिरहेकी शर्मिला विद्यार्थीलाई शिक्षामात्र नभई संस्कार दिन आवश्यक रहेको बताउँछिन् । जबरजस्त नेतृत्व गरेकी जानुका गुणस्तरीय शिक्षा दिँदै आएको अर्को विद्यालय हो नीलबाराही माध्यमिक विद्यालय, जुन काठमाडौंको टंकेश्वरमा रहेको छ । हाल एक हजार बढी विद्यार्थी अध्ययनरत रहेका यो विद्यालयमा ईसीडीदेखि कक्षा १२ सम्म अध्ययनपन हुने गर्छ । डा. जानुका नेपाल । सामुदायिक विद्यालयमा राम्रो नतिजा ल्याउन सफल यो विद्यालयको प्रधानाध्यापक हुन् डा. जानुका नेपाल । काभ्रेको साँगामा रहेको जनज्योति माविबाट शिक्षणको काम सुरु गरेकी जानुका हाल २० वर्षदेखि यो विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा रहेकी छिन् । ३३ वर्षदेखि शिक्षण पेशामा आवद्ध जानुका विभिन्न चुनौतीसँग लड्दै यो स्थानसम्म आइपुगेकी हुन् । नील बाराहीको नेतृत्व गर्दा पनि उनले निकै चुनौती खेप्नु परेको थियो । महिलाले नेृतृत्व गर्न सक्छन् र भन्ने पुरुषवादी सोंचका कारण प्रधानाध्यापक बन्न नै संघर्ष गर्नुपरेको उनले बताइन् । विद्यालयमा प्रधानाध्यापकको भूमिका खाली हुँदा विद्यालय व्यवस्थापन समिति र त्यो बेलाको वडा सचिवले जानुकालाई विश्वास गर्न सकेनन् । प्रधानाध्यापक बाहिरबाट ल्याउनुपर्छ भन्ने कुरा उठिरहेको बेला जानुकाले म जिम्मेवारी लिन्छुभन्दा पनि स्वीकार गर्न सकेनन् । ‘विद्यालयका अन्य शिक्षकहरूले म्याडमले नै नेतृत्व गर्न सक्नुहुन्छ भनेपछि बल्ल मलाई पत्याएको हो, यो समाज सितिमिति महिलालाई विश्वास गर्न सक्दैन,’ जानुकाले भनिन् ।
३०६ वटा व्यापार बन्द, नयाँ उद्योग दर्ता घट्दा बन्द हुने क्रम बढ्दो
काठमाडौं । मकवानपुरमा पछिल्लो तीन वर्षयता बर्सेनि उद्योग एवं व्यापारिक फर्म हुने क्रम बढ्दो छ । आर्थिकमन्दीका कारण आर्थिक वर्ष २०७८/७९ यता मकवानपुरमा निरन्तर उद्योग एवं व्यापारिक फर्म बन्द हुने क्रम बढ्दै गएको हो । चालु आव २०८१/८२ को ७ महिनाको अवधिमा उद्योग र वाणिज्यतर्फका ३०६ वटा व्यापार बन्द भएका छन् । उद्योग तथा वाणिज्य कार्यायल मकवानपुरका अनुसार आव २०८१/८२ मा उद्योगतर्फ १२७ र वाणिज्यतर्फका १७९ उद्योग व्यापारको लगतकट्टा गराएका छन् । अघिल्लो आव २०८०/८१ मा उद्योगतर्फ २६८ र वाणिज्यतर्फका ३३६ गरी ६०४ उद्योग व्यापार बन्द भएको थियो । यस्तै आव २०७९/८० मा मकवानपुरमा उद्योगतर्फ ११० र वाणिज्यतर्फ १७३ गरी २८३ उद्योग व्यापारको लगतकट्टा गरिएको थियो भने आव २०७८र७९ मा उद्योगतर्फ ११८ र वाणिज्यतर्फ ७२ गरी १९० उद्योग व्यापारको लगतकट्टा गरिएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए । विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव, युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनुपर्नेलगायतका कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको लगतकट्टा हुने सङ्ख्या बढेको कार्यालय प्रमुख भुसालले बताए । प्रमुख भुसालका अनुसार मकवानपुरमा बर्सेनि उद्योग व्यवसायको लगतकट्टा बढ्दै जाँदा नयाँ उद्योग व्यवसाय दर्ता भने घट्दै गएको छ । चालु आव २०८१/८२ को सात महिनामा नयाँ उद्योग र वाणिज्यतर्फ ४३० नयाँ व्यवसायी दर्ता भएको छ । चालु आवमा उद्योगतर्फ २५७ र वाणिज्यतर्फ १७३ गरी ४३० नयाँ उद्योग व्यापार दर्ता भएको कार्यालय प्रमुख भुसालले बताए । जबकी अघिल्लो आव २०८०/८१ मा उद्योगतर्फ ३६६ र वाणिज्यतर्फ ३३५ गरी ७०१ नयाँ उद्योग व्यापार दर्ता भएको थियो । आव २०७९/८९ मा उद्योगतर्फ ५७९ र वाणिज्यतर्फ ४३० गरी १ हजार २५२ उद्योग व्यापार दर्ता भएको थियो । चालु आव २०८१/८२ को ७ महिनाको अवधिमा नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगतकट्टालगायतका शीर्षकबाट १ करोड ७० लाख ३२ हजार ८०५ रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताए । लामो समयदेखिको आर्थिकमन्दीका कारण हेटौँडामा सटरको भाडा तिर्न नसक्दा व्यापारी सम्पर्कविहीन हुने क्रम समेत बढ्दै गएका छन् । यसरी सम्पर्कविहीन हुनेमा धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेका छन् ।
पूर्वराजालाई अध्यक्ष दाहालको सुझाव: पार्टी खोलेर चुनाव लड्न आए हुन्छ
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको उनले स्प्रष्ट पारे । आज बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले भने, ‘तिहासको चर्खा कहिले पनि फर्कँदैन, यदी उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ ।’ अर्को प्रसङ्गमा अध्यक्ष दाहालले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताए । यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि पार्टीको तर्फबाट सक्दो सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए । अध्यक्ष दाहालसहितको टोली माओवादी केन्द्रको जनतासँग माओवादी तराई–मधेस जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट आइपुगेका हुन् । शनिबार दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य एवं रौतहट क्षेत्र नं ४ क का प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समिर’ ले जानकारी दिए ।
कृषि मन्त्रालयले अघि सारेका कार्यक्रमबाट उत्पादन बढेको छ: मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको यन्त्रीकरण तथा व्यावसायीकरणका विभिन्न कार्यक्रमबाट खाद्यान्न, तरकारी, फलफूललगायत कृषिउपजको उत्पादन वृद्धि भएको बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद भुवनबहादुर सुनारले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा धानको उत्पादन गत वर्षको तुलनामा २ लाख ३१ हजार मेट्रिक टनले बढेर ५९ लाख ५५ हजार मेट्रिक टन पुगेको जानकारी दिए । ताजा तरकारी र फलफूलको क्षेत्रफल र उत्पादन तथा उत्पादकत्वसमेत बढ्दै गएको उनको दाबी छ । हाल बाह्रै महिना ताजा तरकारीको उपलब्धता हुनु, स्याउ, सुन्तला, केरा, आँपलगायत स्वदेशी उत्पादनले ओगट्ने बजारको हिस्सा बढ्दै जानु सकारात्मक पक्ष रहेको उनले उल्लेख गरे । पछिल्लो समय पशुजन्य उत्पादनमा पनि मुलुक आत्मनिर्भरतातर्फ अघि बढिरहेको बताउँदै मन्त्री अधिकारीले चालु आवको तथ्याङ्क अनुसार दूधको उत्पादन २६ लाख १६ हजार मेट्रिक टन, माछा १ लाख १९ हजार मेट्रिक टन, मासु ४ लाख ३१ हजार मेट्रिक टन र अण्डाको उत्पादन १ अर्ब ६० करोड भन्दा बढी रहेको जानकारी दिए । उनले बढ्दो जनसङ्ख्या र विविधतासँगै मुलुकभित्रको कृषिउपजको उत्पादनबाट माग परिपूर्ति हुननसक्दा आयात भएको भन्दै धान चामल, गहुँ, मकै, आलु, प्याज, लसुन र केही मात्रामा फलफूलको आयात बढी देखिएको बताए । स्वदेशमा कृषिउपजको उत्पादन वृद्धि गरी किसानलाई आत्मनिर्भर बनाउन मन्त्रालयले योजनाबद्ध पहल गरिरहेको बताउँदै उनले यसका लागि बालीको क्षेत्रफल विस्तार, सिँञ्चित क्षेत्रको विस्तार, रसायनिक मल र उन्नत बीउविजनको सहज उपलब्धता, उत्पादन लक्ष्यित अनुदानका कार्यक्रम सञ्चालन, उन्नत जात तथा पशुनश्लको विकास तथा प्रवर्द्धन, बाली विशेष कार्यक्रमलाई प्राथामिकता दिई सञ्चालनमा ल्याइएको जानकारी गराए । कृषिउपजको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि विशेष कृषि उत्पादन कार्यक्रममार्फत् समयमा रसायनिक मलको उपलब्धता सुनिश्चितता गर्ने कार्यलाई प्राथामिकतामा राखिएको मन्त्री अधिकारीले उल्लेख गरे । स्वदेशमा रसायनिक मल कारखाना स्थापनाका लागि लगानी बढी लाग्ने भए पनि हालसम्म कुनै सरकारले रकम विनियोजन नगरेको बताउँदै उनले वर्तमान सरकारले सम्भाव्यता अध्ययनको काम गरेको जानकारी दिए । कृषि उत्पादन र उत्पादकत्व बढाउँदै आत्मनिर्भर बन्ने र यसको निर्यातसमेत गर्ने लक्ष्यका साथ मन्त्रालयले गुणस्तरीय स्रोत सामग्रीमा आमकृषकको पहुँच वृद्धि गर्ने, पहाडी क्षेत्रमा बाँझो तथा खेतीयोग्य जमिनमा फलफूलखेती विस्तार, स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण, कृषि उपज विशेष उत्पादन क्षेत्र निर्धारण गरी कार्यक्रम सञ्चालनलगायत काम गरिरहेको मन्त्री अधिकारीले बताए ।
राष्ट्रिय गौरवको कागबेनी-कोरला मार्ग कालोपत्र हुने, नेपाल-चीन व्यापार प्रवर्द्धनमा टेवा पुग्ने
काठमाडौं । दक्षिण व्यापारिक मार्ग विस्तारि आयोजना अन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीदेखि उत्तरी कोरलानाकासम्मकोे ग्राभेल सडकमा कालोपत्रे हुने भएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा मुस्ताङको (कागबेनीदेखि कोरला) सम्मको ९७ किमी सडकमा कालापत्रेको गर्ने गृहकार्य अघि बढेको थियो । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजना अन्तर्गत चालु आर्थिक वर्षको असार मसान्तसम्म कागबेनीदेखि उत्तरी चीनसँग सीमाना जोडिएको कोरलानाकासम्म प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रस्ताव स्वीकृत हुने सुनिश्चित भएसंगै (कागबेनी-कोरला) ग्रोभल सडकलाई कालोपत्रेमा रूपान्तरण गर्ने मार्ग प्रसस्त भएको हो । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तारि आयोजना लोकमार्ग निर्दोनालयमार्फत पेश गरिएको वारागुङ मुक्तिक्षेत्रड-४ कागबेनीदेखि लोघेकर दामोदरकुण्ड-२ घमिसम्मको ५० किलोमिटर सडकको प्रारम्भिक वातावरण प्रभाव मूल्याकङ्न प्रस्ताव स्वीकृत भइसकेको कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडकका आयोजना प्रमुख धुव्र झाले जानकारी दिए । कागबेनी घमि सडकको आइइ प्रस्ताव विहीबार मात्रै स्वीकृत भएको र अब थप घमिदेखि उत्तरी कोरला नाकासम्मको ४७ किमी ग्राभेल सडकमा कालोपत्रे गर्नका लागि वातावरण प्रभाव मूल्याकङ्नको प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ । ‘कागबेनी–घमि सडकलाई कालोपत्रे गर्न पेश गरिएको आइइ प्रस्ताव स्वीकृत भएको छ, अब हामीले घमिदेखि कोरलासम्मको बाँकी सडकलाई पनि कालोपत्रे ठेक्का लगाउन बाटो खुल्ने गरी आइइ प्रस्तावलाई तदारूकता साथ अघि बढाइसकेका छौँ,’ आयोजना प्रमुख झाले भने, ‘दोश्रो फेजको घमि-कोरलाको पनि अब दुई/तीन महिनाभित्रै आइइ प्रस्ताव स्विकृत हुनेछ, आइइ सकिएपछि कागबेनीदेखि कोरलासम्मकै बहुवर्षीय कालोपत्रे ठेक्काका लागि अर्थमन्त्रालयबाट बजेट श्रोत सुनिश्चित पक्का छ ।’ आयोजना प्रमुख झाले भने, ‘कात्तिक महिनासम्म कागबेनी–घमिसम्मको ५० किलोमिटर सडक आइइ प्रस्ताव स्वीकृत हुनसकेको भए कागबेनी-घमिसम्मको ५० किमी कालोपत्रेका लागि बजेट श्रोत सुनिश्ति हुने थियो, तर प्राविधक कारणले आइइ प्रस्ताव स्वीकृत हुन ढिलाइ भयो, यस कारणले चालु वर्ष कागबेनी-छुसाङ ९.८ किमीको मात्रै श्रोत सुनिश्चित भएको हो ।’ राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना क्षेत्र भएकाले एकै पटकमा वातवरणीय प्रभाव मूल्याङ्कन प्रस्वात पेश गर्न कानुनी जटिलता उत्पन्न भएको हो । यसैका खातिर आयोजनाले ५० किमी दुरी मापन गरी दुई चरणमा सम्पन्न गर्ने गरी आइइ प्रस्ताव अघि बढाएको आयोजना प्रमुख झाले जानकारी दिए । कागबेनी-घमि सडकको आइइ उत्तर/दक्षिण लोकमार्ग निर्देशानालयले सम्पन्न गरेको र दोश्रो फेजको घमि-कोरला सडकको आयोजनालेनै आइइ प्रस्ताप स्वीकृत गराउने योजना रहेको आयोजना बताए । कागबेनीदेखि कोरलासम्मको स्थलगत दुई चरणमा फिल्ड अध्ययनकार्य पुरा भइसकेको छ । यसअघि आयोजनाको समन्वयमा कोरलासम्मको सडकमा प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीबीच केकस्ता असर पर्न सक्ने बिषयमा स्थानीयस्तरमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । त्यहाँको शैक्षिक, स्वाथ्य, खानेपानी लगायतका विषयमा स्थानीय जनप्रतिनिधि, एक्याप र स्थानीय नागरिकसँग सामूहिक नागरिक सुनुवाइ गरिएको थियो । लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उत्तरी कोरलानाकालाई सरकारले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताए । उनले चीनको मानसरोवर जाने पर्यटक, नेपाल-चीन व्यापार र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि उत्तरी कोरलानाका महत्वपूर्ण भएकाले यहाँको सडक पूर्वाधारमा सरकारले कन्जुस्याई गर्न नहुने जनाए । कोरलासम्मकै लागि चालु वर्ष आइइ प्रस्ताव स्वीकृत हुने सुनिश्ति भएकाले मुस्ताङका लागि गौरवको बिषय भएको अध्यक्ष बिष्टको भनाइ छ । भारतीय नाकाबन्दीपछि आव २०७३/७४ सालदेखि सुरू भएको कोरलानाका जोड्ने उत्तर/दक्षिण ब्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत बेनी-जोमसोम कोरला सडकमा हालसम्म मालढुङ्गादेखि छुसाङसम्म ११५ किमी सडकको कालोपत्रे ठेक्का लागेको आयोजनाले जनाएको छ । यस्तै आयोजना अन्तर्गत तीन वर्ष अगावै जोमसोम-कोरला ११० किमी सडकको ग्राभेल पुरा भएकोमा हाल ९७ किलोमिटर ग्राभेल छ । कोरला सडक अन्तर्गत हालसम्म कालोपत्रे भौतिक प्रगती ७५ प्रतिशत रहेको र कागबेनी-कोरला ९७ किमी ग्राभेल अवस्थामा छ । चालु आवको माघ महिनामा अर्थ मन्त्रालयले कागबेनी–छुसाङ सडकका लागि ५० करोड बजेट श्रोत सुनिश्चित गरेको छ । यसको ठेक्का प्रक्रिया अघि बढिसकेका् आयोजनाकाले जनाएको छ । कोरला सडकको ३२ करोड बजेट कटौती राष्ट्रिय गौरवका (बेनी-जोमसाम-कोरला) सडकको लागि विनियोजन भएको बजेटमा ३२ करोड बजेट अर्थमन्त्रालयबाट कटौती भएको आयोजना प्रमुख धुव्र झाले जानकारी दिए । आयोजना प्रमुख झाले चालु वर्ष ९० करोड बजेट विनियोजन भएकोमा ५८ करोडमा झारिएको बताए । ‘कोरला सडकको बजेट अन्य आयोजनामा रकामान्तर गरिएको रहेछ, यो सारैनै अन्याय हो,’ आयोजना प्रमुख झाले भने,’ यसरी विनियोजन भएको बजेट कटौती हुँदै जाने हो भने आयोजनाका काम अघि बढाउन समस्या हुन्छ । उनले बजेट कटौती गर्दै जाने हो भने अन्य योजना प्रभावित हुनसक्ने बताए ।
सगरमाथा क्षेत्रमा बाली लगाउन कठिन हुँदै, आयातित खाद्य सामग्रीमा निर्भरता
काठमाडौं । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा परम्परागत रूपमा उब्जाइने गहुँ, जौ, फापरजस्ता अन्नबालीको उत्पादन घट्न थालेको छ । मौसमको अनियमितता, तापक्रम वृद्धिको असर, बेमौसमी वर्षा तथा सुख्खा मौसमका कारण खेतिपाती प्रभावित भएको स्थानीय कृषक बताउँछन् । स्थानीय महिला पासाङ ल्हामु शेर्पा भन्छिन्, ‘पहिले यहाँ उवा, फापर प्रशस्त फल्थ्यो, अहिले खेतीयोग्य जमिन बाँझै छोड्नुपरेको छ । पानीको अभाव, माटोको उर्वराशक्ति घट्दै जानु र चरम मौसमी परिवर्तनका कारण बाली लगाउनै कठिन हुँदै गएको छ । खेती लगाउदा पनि खासै पहिलाजस्तो उब्जाउ हुँदैन त्यही भएर हामीले खेती लगाउनै छोड्यौँ हामीले ।’ सगरमाथा क्षेत्रका स्थानीय बासिन्दा जलवायु परिवर्तनको असरले प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन् । विशेष गरी यहाँका महिला तथा बालबालिकाहरू पोषण अभावको समस्याबाट जुधिरहेका छन् । जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा आएको गिरावटले खुम्बु क्षेत्रका नागरिकहरु स्थानीय खाद्य सुरक्षाको गम्भीर प्रभावमा परेका छन् । यसका कारण अझ बढी महिलाको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । पोषणको अभावले गर्भवती महिलाको स्वास्थ्य झन् कमजोर बन्ने जोखिम रहेको स्थानीय स्वास्थ्यकर्मी बताउँछन् । सन्तुलित आहारको कमीले नवजात शिशुहरूको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने सम्भावना बढेको स्थानीय स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाले बताए । उनका अनुसार स्थानीय उत्पादन घट्दै जानु, मौसम परिवर्तनका कारण पुराना खेतीप्रणाली असफल हुनु र आयातित खाद्य सामग्रीमा निर्भरता बढ्नुले यहाँका महिलाहरू थप समस्यामा परेका छन् । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले केही समय अघि अजरबैजानमा आयोजित कोप सम्मेलनअघि सार्वजनिक गरेको प्रतिवेदनले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएको देखाएको छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धिको दर विश्व औसतभन्दा दोब्बर छ, जसका कारण हिउँ पग्लने गति तीव्र बनेको छ । जसका कारण हिमाली क्षेत्रमा खेती उब्जाउमा भारी गिरावट आउँदै गएको खुम्बुको छुकुमका तेन्जिङ जाङ्बु शेर्पाको भनाइ छ । उनले भने, ‘मलाइ नै थाहा हुँदासम्म पनि यो वरीपरि सबै ठाउँमा लेकाली जातको फापर धेरै खेती हुन्थ्यो तर अहिले हेर्नुस् त सबै जग्गा बाँझै छ, खेती हुनै छोडेपछि किन दुःख मात्रै गर्नु भनेर अब त लगाउन पनि छोड्यौँ हामीले, खै थाहा हुनेले यो जलवायु परिवर्तनको असर हो भन्छन्, तर यसलाई हामीलाई धेरै समस्यामा पारेको छ ।’ सगरमाथा आरोहीले आधार शिविरमा छोडेका फोहोरले पनि यहाँको तापक्रममा असर पुर्याएको छ । प्लास्टिक, खाद्यान्नका प्याकेट, तथा अन्य गैरजैविक फोहोरले हिमनदीमा सूर्यको प्रकाशको प्रभाव बढाएको जानकारहरूको तर्क छ । सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय फस्टाएसँगै यहाँको वातावरणमा भने प्रतिकूल असर परेको छ । पर्यटन व्यवसायी पासाङ शेर्पाका अनुसार पालिका तथा सरकारले जतिसुकै कडाई गरेपनि आरोहीहरूले केही मात्रामा भएपनि यहाँ आफ्नो सामग्री छोडेर फर्किन्छन्, जसले वातावरणीय असन्तुलन निम्त्याइरहेको छ । लुक्लाका स्थानीय बासिन्दा तोयाकुमार श्रेष्ठ भन्छन्, ‘सधैँ चाँदीझैँ टल्कने हिमालहरू अहिले काला पहाडमा परिणत भइरहेका छन् । आरोहीहरूले छोडेका फोहोर, औद्योगिक धुलो-धूवा, र विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली क्षेत्र थप जोखिममा परेको छ ।’ बाहिरी आँखाले हेर्दा हिमाल कालो हुँदै गएको मात्रै देखिएपनि जलवायु परिवर्तनले हिमाली क्षेत्रका नागरिकहरुको दैनिकीमा नै परिवर्तन ल्याएको छ । समयमा हिमपात नहुँदा जमिन सुख्खा हुँदै गएका छन् भने गर्मी हुने याममा जाडो हुने र चिसो समयमा गर्मी महसुश हुने गरेको स्थानीय अमृत मगरले बताए । यसका कारण खेतीबाली तथा पौष्टिक तत्वको आपुर्तीमा नै असर परेको उनको भनाइ छ । जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका महिलाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने सम्भावना देखिएको छ । वातावरणविद् डा राजन थापाका अनुसार शक्ति राष्ट्रहरूले चलाएका उद्योग र विश्वव्यापी तापक्रम वृद्धिले नेपालको हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दै गएको छ । हिमाली क्षेत्रमा पानीको स्रोत सुकेको, हिउँ पग्लदै गएको तथा मौसमी चक्र गडबड भएको स्थानीय बासिन्दाहरू बताउँछन् । महिला खाद्य सङ्कटको शिकार बन्दै गइरहेका छन्, जसले उनीहरूको आर्थिक तथा सामाजिक अवस्था कमजोर बनाइरहेको छ । जलवायु परिवर्तनका असर रोक्न सामूहिक प्रयास आवश्यक रहेको अभियान्ता बताउँछन् । उनीहरु भन्छन्, ‘हिमाली भेगका महिलालाई लक्षित गर्दै विशेष स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्नुपर्छ । वातावरणीय असन्तुलन न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक छ ।’ स्थानीय तहका अधिकारी तथा अन्तरराष्ट्रिय संस्थाले जलवायु परिवर्तन न्यूनीकरणका लागि विशेष योजनाहरू ल्याउनुपर्ने आवश्यकता छ । परम्परागत बालीहरू संरक्षण गरी जलवायु परिवर्तन अनुकूल कृषि प्रणाली विकास गर्नुपर्ने विज्ञहरुको तर्क छ । उनीहरुका अनुसार जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न दीर्घकालीन रणनीति आवश्यक छ । साना किसानलाई जलवायु अनुकूल खेती प्रणाली सिकाउने, सिँचाइका लागि वैकल्पिक उपायहरू खोज्ने तथा जैविक कृषिलाई प्रवर्द्धन गर्ने नीति आवश्यक रहेको कृषि विज्ञ चन्द्रमान श्रेष्ठले बताए । ‘हिमाली भेगको कृषि उब्जाउ घट्नुको मुख्य कारण नै जलवायु परिवर्तन हो, तर खेती भएन भनेर बारीहरु यतिकै बाँझो छोड्नु झन चिन्ताको विषय हो, अन्य विधि अपनाउन सकिन्छ, अर्को कुरा रैथाने खेती उब्जाउ भएन भने अन्य विकसित प्रजाती पनि लागउन सकिन्छ,’ उनले भने । कृषि विज्ञ श्रेष्ठले भन्नुभयो । स्थानीय बासिन्दाले जलवायु परिवर्तन अनुकूलनका लागि विभिन्न उपाय अपनाइरहेका छन् । टनेल खेती, जैविक मलको प्रयोग र पारम्परिक ज्ञानमा आधारित कृषि प्रविधि प्रयोग गर्न थालेका छन् । तथापि यी उपायहरू दीर्घकालीनरूपमा पर्याप्त नहुन सक्ने र थप सरकारी तथा गैरसरकारी सहयोग आवश्यक पर्ने विज्ञहरू बताउँछन् । कृषि उत्पादनमा आएको गिरावट, खाद्य असुरक्षा, पोषणको अभाव र जलवायु परिवर्तनको दीर्घकालीन असरका कारण उनीहरूको स्वास्थ्य संकट गहिरिँदै गएको छ । स्थानीय तथा अन्तरराष्ट्रिय निकायहरूले एकजुट भएर समाधानका उपाय खोज्न आवश्यक रहेको विज्ञहरू बताउँछन् ।
४ म्याग्निच्युडको भूकम्प, म्याग्दीको मुदी केन्द्रविन्दु
काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदी केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेट जाँदा मुदीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का धौलागिरि गाउँपालिकाको मुदीका साथै मुना, ताकम, मराङ, मल्कबाङ, दरबाङ, देवीस्थानलगायत पश्चिम म्याग्दीसहित आसपासका क्षेत्रमा महसुस भएको थियो । बिहानपख मानिसहरू सुतिरहेकै अवस्थामा भूकम्प गएपछि ठूलो धक्का महसुस भएपछि धेरै मानिसहरू घर बाहिर निस्किएको धौलागिरि गाउँपालिका–४ मुदीका वडाध्यक्ष यामबहादुर घर्तीले बताए । उनका अनुसार, भूकम्पबाट अहिलेसम्म कुनै मानवीय र भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन् । यसअघि गत फागुन १३ गते पश्चिम म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको देवीस्थान आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको र मुना केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्म गएको थियो ।
आज यी ४ प्रदेशमा हल्का वर्षा हुने, कोशी प्रदेशमा मेघगर्जन
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।