सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड ८ लाख रुपैयाँको स्रोत पुष्टि हुन सकेन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । 

आयोगले सोडारीले सार्वजनिक पद धारण गरेको विसं २०७४ माघ ७ गतेदेखि विसं २०७९ फागुन १० गतेसम्म अवधिको अनुसन्धान गर्दा वैधानिक आय ८५ लाख ५१ हजार ३३४ रुपैयाँ रहेको जनाएको छ ।

सो अवधिमा सोडारीले १ करोड ९३ लाख ८९ हार ६३६ रुपैयाँको रकम खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार वैध आय र खर्चको बीचमा तालमेल नमिलेको, १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको हो । 

आयोगले सोडारीले पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेकाले सो कार्य भ्रष्टाचार भएको ठहर गरेको छ ।

सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती गैता सोडारी र छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दातमा राखेको पाइएको छ । 

आयोगले १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

Share News