पर्यटक र सर्वसाधारणलाई सकस पार्ने पूर्वराजाको स्वागत (तस्बिरहरू)
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा बसाइँपश्चात आइतबार काठमाडौं फर्किएका छन् । उनको स्वागतका लागि राजावादीहरूको भीड लागेको थियो । उनको स्वागतमा एयरपोर्टदेखि, गौशाला, चाबहिल हुँदै महाराजगञ्ज खासगरी चक्रपथमा राजावादीको भीड लागेको हो । त्रिभुवन विमानस्थलको मुख्य गेटबाट ज्ञानेन्द्रले आफ्ना समर्थकहरूप्रति हात हल्लाइरहेका थिए । राजावादीहरूले विमानस्थल नै पुग्ने तयारी गरेपछि सरकारले विमानस्थलको सुरक्षामा कडाइ गरेको थियो । जुलुससहित विमानस्थल पुग्ने उनीहरूको योजना थियो । विमानस्थललगायतका आसपास ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएका छन् । विमानस्थलमा प्रवेश गर्नेहरूलाई कडा चेकजाँच गरेर मात्र भित्र जान दिइएको थियो । प्रदर्शनका कारण त्रिभुवन विमानस्थल अस्तव्यस्त भएको थियो । विशेषगरी प्रदर्शनको व्यापक असर पर्यटक र यात्रुहरूलाई परेको देखिन्थ्यो । उनीहरूले आफ्नो सामान आफै बोकेर विमानस्थल पुग्नु परेको थियो । केही यात्रुहरूसँग सोधपुछ गर्दा कसैले कौशलटार त कसैले कोटेश्वरबाट हिँड्दै आएको बताएका थिए । तस्बिरहरू : नरेश बोहोरा
राष्ट्रिय वाणिज्य बैंकद्धारा ९४ जना नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालिन तालिम प्रदान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका लागि प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९४ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले तालिममले बैंकिङ्ग काम प्रतिको ज्ञान बढाउनुका साथसाथै काम गर्ने दौरानमा कामप्रति स्मार्टनेश, सकारात्मकता र सेवाभाव झल्कने बताए । उनले नवनियुक्त युवा कर्मचारीहरुलाई प्रतिस्पर्धी बजारमा खरो रुपमा उत्रनुका साथै जनताको असल सेवक हुनु पर्ने बताए। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक ९४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । कार्यक्रम माानव संशाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विमल डंगोल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जिसी लगायत कर्मचारीहरुके उपस्थिति रहेको थियो ।
गेटा मेडिकल कलेज चाँडै विश्वविद्यालयमा स्तरोन्नति हुने प्रधानमन्त्री ओलीको दावी
कञ्चनपुर । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा तीन सय ७२ विदार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन् । दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गरिने बताए । उनले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गर्दै भने, ‘यो खुसीको कुरा हो । नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ ।’ डडेल्धुराको पर्शुराम क्षेत्र जोड्ने पुलसँगै सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि आफू पहिले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग कुरा उठाएको जनाउँदै उनले त्यस क्षेत्रमा पक्की पुल निर्माणका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीले हुलाकी राजमार्ग, दैजी छेला औद्योगिक क्षेत्र, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण पनि चाँड प्रारम्भ हुनेर सुक्खा बन्दरगाह बनाउन भारत सरकारसँग छलफल जारी रहेको जानकारी दिए । दीक्षान्त समारोहमा भारतको उत्तराखण्डका सोबनसिंह जीना विश्वविद्यालयका कुलपति प्राडा. सतपालसिंह अतिथि थिए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा पर्यो उजुरी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सरकारलाई ढाँटेर झुटो विवरण बुझाएर नियुक्ति लिएको आरोप लगाउँदै दीपक बोहराले अध्यक्ष ओझाविरुद्ध उजुरी हालेका हुन् । बोहराले छानविन गरी कारबाहीको मागसमेत राखेका छन् । ‘ओझाले अध्यक्ष नियुक्ति प्रक्रियामा बुझाएको अनुभवसम्बन्धी अधिकांश प्रमाणहरू झुटा हुन्,’ आरोपपत्रमा लेखिएको छ, ‘नेपाल सरकारलाई झुटा विवरण बुझाएर लाखौंलाख बीमितहरूले तिरेको करिब सात खर्ब रुपैयाँको सदुपयोग गरी बीमितको हीत र देशविकासमा योगदान दिनुपर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरणजस्तो निकायमा नियुक्ति लिन सफल भएका ओझामाथि छानविन गरी तत्काल कारबाही गर्नुपर्छ ।’ उजुरीपत्रमा अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको नियुक्ति र मनोनयसम्बन्धी मापदण्ड २०७३ (पहिलो संशाेधन) ले प्राधिकरणको अध्यक्ष बन्न ३५ वर्ष नाघेको हुनुपर्ने भनिएको भएता पनि ओझाको उमेर ३३ वर्ष मात्रै भएकोले उनी प्राधिकरणको अध्यक्ष बन्न लायक नभएको उल्लेख छ । ओझालाई फागुन २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनी अध्यक्षमा नियुक्त भएदेखि उनको क्षमतामाथि विभिन्न प्रश्नहरू उठ्दै आएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । उनी आइतबार अपराह्न ४ बजेतिर पोखराबाट काठमाडौं आइपुगेका हुन् । समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलबाहिर समर्थकहरूले स्वागत गरेका थिए । उनलाई स्वागत गर्न कमल थापासहितका नेताहरू पनि विमानस्थल पुगेका थिए । समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ नारा लगाइरहेका छन् । र्यालीसहित उनलाई निर्मलनिवास पुर्याउने राजावादीको तयारी छ । यसैलाई मध्यनजर गरेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
चीनमा वृद्धवृद्धाको हेरचाहमा एआईको प्रयोग गरिने
काठमाडौं । चीनले वृद्धवृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृतिमता (एआई) र बिग डाटाको प्रयोगलाई तीव्रता दिने बताएको छ । अधिकारीहरूले देशको कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला यो घोषणा गरिएको हो । ‘हामी सामाजिक सहायता, वृद्ध हेरचाह सेवा र अशक्तहरूका लागि सेवाहरूको क्षेत्रमा बिग डाटा र एआईजस्ता नयाँ प्रविधि र उत्पादनहरूको विकास र अनुप्रयोगलाई तीव्रता दिनेछौं,’ नागरिक मामिला मन्त्री लु झियुआनले चीनको वार्षिक राजनीतिक भेलाको ‘दुई सत्र’ का क्रममा गरिएको एक पत्रकार सम्मेलनमा भने । ‘यस कदमले सेवाहरूलाई ‘अधिक सुविधाजनक, अधिक सुलभ र अधिक मानकीकृत’ बनाउनेछ,’ लुले भने । सन् २०२४ मा चीनको जनसङ्ख्या लगातार तेस्रो वर्ष घटेको छ र त्यहाँ ६० वर्ष वा सोभन्दा बढी उमेरका ३१ करोडभन्दा बढी मानिस रहेका छन् । श्रमशक्ति खुम्चिँदै जाँदा सरकारले भविष्यको आर्थिक वृद्धिका लागि प्रविधिको प्रयोग गरिरहेको छ । गत जनवरीमा डिपसिकले आफ्नो च्याटबोटको पछिल्लो संस्करण सार्वजनिक गरेपछि स्थानीय सरकारहरूले आफ्नो सेवामा डिपसिकको एआई मोडेल लागू गर्न हतार गरेका छन् । डिपसिकको मूल्य कटौती ढाँचाले चिनियाँ कम्पनीहरूलाई उन्नत एआई चिप्सको बिक्रीमा अमेरिकी प्रतिबन्धको बावजुद यसका धेरै पश्चिमी एआई प्रतिस्पर्धीहरूलाई पछि पारेको छ । राष्ट्रपति सी चिनफिङले गत महिना निजी कम्पनीहरूका लागि एक दुर्लभ सङ्गोष्ठी आयोजना गर्दा यस क्षेत्रका लागि आधिकारिक समर्थनको सङ्केत गरेका थिए जसमा धेरै एआई र अन्य प्रविधि मालिकहरू सामेल रहेका र उनीहरूलाई ‘आफ्नो प्रतिभा देखाउन’ भनेका थिए । सङ्गोष्ठीमा डिपसिकका संस्थापक लियाङ वेनफेङका साथै टेन्सेन्ट, हुवावे र शाओमीजस्ता शीर्ष प्रविधि कम्पनी तथा फर्मका प्रतिनिधिहरू उपस्थित थिए ।
सिटिजन्स बैंक र ईलाइट डेन्टल स्टुडियोबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाखुशीस्थित ईलाइट डेन्टल स्टुडियोबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ईलाइट डेन्टल स्टुडियोमा १५ प्रतिशत आकर्षक छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
अन्तरिक्षयान बिग्रिँदा ८ दिने यात्रा ९ महिना लम्बियो, मस्कले फिर्ता ल्याउने
काठमाडौं । अमेरिकाको निजी अन्तरिक्ष विमान, रकेट उत्पादक तथा अन्तरिक्ष बाहन कम्पनी स्पेशएक्सले मार्च महिनामा दुई नासा अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट फिर्ता ल्याउने भएको छ । बिग्रिएको अन्तरिक्षयानले उनीहरूको आठ दिने यात्रा नौ महिनासम्म लम्ब्याएपछि स्पेशएक्स अघि सरेको हो । स्पेशएक्सको स्थापना एलन मस्कले सन् २००२ मा गरेका थिए । उनी यस कम्पनीको प्रमुख कार्यकारी निर्देशक (सीईओ) पनि हुन् । मस्कले यी दुई अन्तरिक्ष यात्रीहरू राजनीतिक कारणले अर्बिट (कक्ष)मा अड्किएको बताउँदै उनीहरूलाई आफूले चाँडै उद्धार गर्न सक्ने दावी गरे । अन्तरिक्ष यात्रीहरू मस्कको कुरा विश्वास गर्छन्,तर उनीहरू वास्तवमा के भयो भन्ने कुरामा अनभिज्ञ छन्। विश्वकै धनी व्यक्ति मस्कले दुई नासा अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीमा फर्काउन मद्दत गर्न लागेका हुन् । बोइङ अन्तरिक्षयानमा आएको प्रविधिगत समस्याले उनीहरूलाई ९ महिना आईएसएसमा बस्न बाध्य बनाएको थियो । मस्कले यो प्रक्रिया छिटो गर्न सकिने दाबी गरेका छन् । बोइङको स्टारलाइनर अन्तरिक्षयानतर्फ प्रस्थान गर्नुअघि बुच विलमाेर र सुनीता विलियम्स । ९ महिनाको लामो प्रतिक्षा २०२४ को जुन ५ मा बुच विलमोर र सुनीता विलियम्स बोइङ स्टारलाइनरमार्फत आईएसए प्रस्थान गरेका थिए । उनीहरूको आठ दिन आईएसएसमा बिताउने योजना थियो, तर अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएपछि अवस्था बदलियो । नासाले स्टारलाइनरलाई असुरक्षित घोषणा गर्यो र सेप्टेम्बरमा अन्तरिक्षयानलाई चालकविहीन पृथ्वीमा फिर्ता पठायो । यसले विलमोर र विलियम्सलाई घर फर्किने साधनबिना आईएसएमा छोड्यो । अब यी नासा अन्तरिक्ष यात्रीहरू मार्च १९ वा २० मा स्पेशएक्सको क्रू-नाइन उडानमा पृथ्वी फर्कने तयारीमा छन् । राजनीतिक प्रभाव ? गत वर्ष मस्कले यी अन्तरिक्ष यात्रीहरूलाई चाँडै फर्काउने प्रस्ताव राखेका थिए, तर बाइडेन प्रशासनले अस्वीकार गरेको उनको दाबी छ । ‘उनीहरूलाई राजनीतिक कारणले त्यहाँ छोडियो, जुन राम्रो होइन,’ मस्कले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर्वार्तामा भने । जो रोगनसँगको अन्तर्वार्तामा मस्कले बाइडेन प्रशासनले नियतवश ‘उनीहरूको फिर्ती मिति राष्ट्रपतीय उद्घाटनपछि धकेलेको’ आरोप लगाए । गत मंगलबार पत्रकार सम्मेलनमा विलमोर र विलियम्सलाई मस्कका दाबीबारे सोधिएको थियो । विल्मोरले भने, ‘यो पूर्ण रूपमा सत्य हो ।’ तर उनी तटस्थ देखिन खोज्दै थिए । ‘हामीले बाहिर भनिएका कुरा सुनेका छौं,’ विलमोरले भनेल, ‘हामी मस्कलाई सम्मान गर्छौं, साथै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पनि सम्मान छ । राजनीतिका कुरा जीवनको एक हिस्सा हुन् र हामी यस प्रणालीलाई १०० प्रतिशत समर्थन गर्छौं ।’ विलमोरले थपे कि उनीहरू ‘कुनै जानकारीबिना’ बसेका थिए । ‘हामीलाई कुनै पनि जानकारी दिइएन, त्यसैले म मस्कलाई विश्वास गर्छु,’ उनले भने । बेरी विलमाेर र सुनीता विलियम्स । नासाको प्रतिक्रिया नासाले विलमोर र विलियम्सलाई जानकारी दियो कि दिएन भनेर स्पष्ट छैन । तर, नासाको वेबसाइटअनुसार आईएसएमा इन्टरनेट पहुँच छ । यसले उनीहरूले मस्कको उद्धार प्रस्तावबारे थाहा पाउने सम्भावना देखाउँछ । नासाले औपचारिक प्रतिक्रिया नदिए पनि यसअघि संस्थाले कुनै पनि राजनीतिक हस्तक्षेपको आरोप अस्वीकार गरेको थियो । ‘व्यक्तिगत रूपमा भन्नुपर्दा राजनीतिले यो निर्णयमा कुनै भूमिका खेलेको छैन,’ नासाका तत्कालीन प्रशासक बिल नेल्सनले अगस्ट २४ मा भनेका थिए । अन्तरिक्ष यात्रीहरूको मनोबल उच्च पृथ्वी फिर्तीको प्रतीक्षामा रहेका विलमोर र विलियम्सले आईएससमा राम्रो महसुस गरिरहेको बताएका छन् । ‘हामी एकदमै ठीक छौं । हामीसँग खाना छ, लुगा छ, राम्रो टोली छ,’ विलियम्सले सीएनएनलाई फेब्रुअरीमा भनेका थिएल, ‘हामी परित्यक्त महसुस गरिरहेका छैनौं, हामी अड्किएको पनि महसुस गरेका छैनौं ।’ ( एजेन्सीहरूको सहयोगमा)