विकासन्युज

कालीगण्डकी करिडोर : बादरजुङ र काभ्रेभिरको यात्रा सहज

म्याग्दी । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउँछन् । ‘तल कालीगण्डकी र माथि ठाडो अक्करे भिरको बीचमा रहेको काभ्रेदेखि घाँसा नपुग्दासम्म मनमा डर लागिरहन्थ्यो’, उनले भने, ‘अक्करे भिरमा पनि सडक फराकिलो बनाएर ढलान गरी डिलतर्फ बार लगाएपछि अहिले ढुक्कका साथ गाडी चलाउन पाइएको छ ।’ भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार र ढलान गरिएपछि यात्रा सहज, सुरक्षित र दुर्घटनाको जोखिम घटेको हो । काभ्रेभिरदेखि घाँसासम्मको दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । ‘धेरै ठाउँमा विस्फोटक पदार्थ प्रयोगबाट पहाड फुटाएर सडक फराकिलो पारिएको छ’, योजनाका इञ्जिनियर विष्णु चापागाईले भने, ‘तल बग्ने कालीगण्डकीले बनाएको खोच र विस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएको काभ्रेभिर क्षेत्रमा ‘रक एंकरिङ/रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको हो ।’ उनका अनुसार सडकमुनिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । रक एंकरिङ गर्न मजदुरले ड्रिलिङ गरेर फलामको रड राख्ने प्वाल (होल) बनाएका थिए । तीन दशमलव पाँच मिटर फराकिलो सडकमा यसअघि एकतर्फी मात्र सवारीसाधन चल्ने गर्दथे । हाल यस क्षेत्रको सडकलाई कम्तीमा आठ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ । काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्रको सडक पार गर्न यसअघि कम्तीमा ३० मिनेट लाग्ने गर्दथ्यो । अहिले पाँच मिनेटमा सडक पार गर्न सकिन्छ । काभ्रेभिरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ‘रक फल’ ढुङ्गाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ । विसं २०६३ मा नेपाली सेनाले मार्ग खोलेको यो ठाउँमा सवारीसाधन खस्ने, गुडिरहेको सवारीसाधनमा भिरबाट ढुङ्गा, पहिरो खसेर पुरिने, क्षति हुने गरेका छन् । बेनी–जोमसोम–कोरला सडकको तातोपानी–घाँसाखण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले प्रतिकूल भूगोलमा पनि मजदुरहरुले सुरक्षा सतर्कता अपनाएर सडक विस्तारको काम गरेका बताए। दुई वर्ष लगाएर काभ्रेभिर–बादरजुङ भिर क्षेत्रको सडक विस्तारको काम सकिएको उनले बताए । ‘मजदुरहरुले भिरमा रसिमा झुन्डिएर रड राख्ने प्वाल बनाएका थिए । फराकिलो पारिएको सडकलाई ढलान गरेर डिलतर्फ सिमेन्टको पिल्लर र फलामको साइडबार राखिएको छ’, उनले भने, ‘धेरै ‘रक फल’ हुने भएकाले डिबिएसडी प्रविधिको कालोपत्र सडक नटिक्ने देखिएपछि ढलान गरिएको हो । ढलान गरिएको ठाउँमा पनि भिरबाट खसेका ठूला ढुङ्गाले क्षति पुर्याएको छ ।’ यसैबीच १० किलोमिटर पाँच सय मिटर दूरीको तातोपानी–घाँसा खण्ड स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पछिल्लो समय निर्माणले तीव्रता पाएको बताए। पहिरोको जोखिम रहेको तीन किलोमिटरबाहेकका ठाउँमा सडकलाई ११ मिटर फराकिलो बनाउने काम सकेर ढलान र डिबिएसडी प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुर्याइएको हो । चालु आर्थिक वर्ष भित्रनै सडक स्तरोन्नतिको काम सकेर योजना कार्यालयलाई हस्तान्तरणको तयारी गरेको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक न्यौपानेले बताए । रासस

सहकारीबाट ऋण लिएर नगर प्रमुखले ठेकेदारलाई गरे भुक्तानी, आफ्नै जग्गा धितो, सिमेन्टको समेत जमानी

काठमाडौं । तनहुँको भानु मार्गको काम पछिल्लो समय तीव्र रुपमा अगाडि बढेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नामकरण गरिएको सो मार्गको निर्माण कम्पनीलाई भुक्तानी नभएको जनाउँदै पछिल्लो समय काम रोकिएको थियो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेत धितोमा राखेर ठेकेदारलाई भुक्तानी दिएपछि कामले गति लिएको हो । नगरवासीले भोग्नुपरेको सास्तीलाई सहज बनाउन रकम अभावले सडक निर्माणमा विलम्ब भएपछि उनले खेत धितो राखेर भुक्तानी दिने र जमानी बसेर निर्माणको सामग्री उपलब्ध गराएपछि कामले तीव्रता पाएको छ । ‘वर्षायाम लाग्ने बेला हुँदासमेत सडक अलपत्र भएपछि यस्तो निर्माण गरेको हुँ, नगरवासीलाई सहज यात्रा गर्ने वातावरण बनाउने दायित्व पूरा गरिरहेको छु,’ नगर प्रमुख त्रिपाठीले भने । काम छिटो पूरा गर्न ठेकेदारलाई निर्माण सामग्री खरिद गर्नको लागि रकम अभाव नहोस् भनेर नगर प्रमुख त्रिपाठीले रकम भुक्तानी दिएको भानु-१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताए । उनका अनुसार नगर प्रमुख त्रिपाठीले निर्माणको लागि आवश्यक इन्धन जमानी बसेर ठेकेदारलाई उपलब्ध गराएका छन् । ठेकेदारलाई काम गर्न सहज होस् भनेर १५ लाख रुपैयाँ बराबरको सिमेन्टको समेत जमानी लिई व्यवसायीसँग निर्माण सामग्री लगेर काम दु्रत गतिमा काम भइरहेको वडाध्यक्ष अधिकारीले बताए । ‘नगर प्रमुखले ऋण लिएर ठेकेदारले रकम दिएसँगै काम तदारुकताका साथ काम भइरहेको छ,’ उनले भने । सरकार प्राप्त हुने भुक्तानी आउन समय लाग्ने भएकाले काम प्रभावित नहोस् भनेर भानु-२ स्थित भानु बचत तथा ऋण सहकारीमा खेत धितो राखेर १० लाख रुपैयाँ ऋण लिएर ठेकेदारलाई भुक्तानी दिएको नगर प्रमुख त्रिपाठीले बताए । ‘रकम अभाव भएमा ठेकेदारले समयमा काम पूरा गर्दैन, वर्षा लागेपछि काम गर्दा प्रभावकारी हुँदैन, समयमा नै काम पूरा गर्नकै लागि ऋण लिएर सहयोग गरेको हुँ,’ उनले भने । भानु नगरपालिका-१ सतीघाटस्थित ६ रोपनी खेत धितो राखेर सहकारीबाट रकम दिएको त्रिपाठीले स्वीकारे । पेटी ठेकेदारको रुपमा काम गर्दै आएका राजेन्द्र पराजुलीले नगर प्रमुुखले ऋण निकालेर सहयोग गरेपछि तीव्र रुपमा काम गरी छिटो सम्पन्न हुने बताए । ठेक्का सम्झौता भएको लामो समयसम्म यस मार्गको निर्माण कार्यमा प्रगति हुन नसकेपछि पूर्वाधार विकास कार्यालय तनहुँले काठमाडौंस्थित शङ्करमाली कन्ट्रक्सनसँग तोडिएको ठेक्का पेटी ठेकदारको रुपमा काम गरिरहेका पराजुलीलाई जिम्मा दिइएको हो । पटक-पटक म्याद थप गर्दा समेत सडक कालोपत्रको काममा ढिलासुस्ती भएपछि ठेक्का तोडिएको कार्यालयले जनाएको छ । भानु-१३ को चन्द्रावती बजारदेखि पोखरीछाप, ठूल्ढुङ्गासम्म १० किलोमिटर सडकखण्डको कालोपत्र ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । अलपत्र कामलाई तीव्रता दिन पहल ऋण लिएर पूरा गर्न लागिएको हो । उक्त मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले २३ करोड २ लाख ८० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । १० किलोमिटर सडकखण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविङ जाली भर्नेलगायतका कामका लागि विसं २०७८ माघ १५ गतेभित्र सम्पन्न गर्ने गरी विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्रयाक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ । बर्सातका समयमा सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडक कालोपत्र गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले सास्ती खेप्दै आएकाले छिटो सम्पन्न गर्न नयाँ ठेकेदारलाई सहयोग गरिएको उनले बताए । वडाध्यक्ष अधिकारीका अनुसार नयाँ ठेकेदारले जिम्मा लिएपछि हाल करिब ८० प्रतिशत सडक निर्माणको काम पूरा भएको छ । चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नगर प्रमुख र वडाध्यक्षले व्यक्तिगत रुपमा रकम उपलब्ध गराइदिएपछि काम गर्न सजिलो भएको ठेकेदार राजेन्द्र पराजुलीले बताए । शङ्करमालीले काम गरेको रकम भुक्तानी नदिएपछि रकम अभावले काम प्रभावित हुने जानकारी नगरपालिकामा गराएपछि व्यक्तिगत रुपमा रकम दिएर काम गर्न सहज भएको उनको भनाइ छ । मिर्लुङ बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक कुशलचन्द अधिकारीले सडकको दूरावस्ताले दैनिक उपभोग्य सामग्री बजारसम्म पु¥याउन र ल्याउनमै समस्या परिरहेको बेला जनप्रतिनिधिको सहयोगमार्फत सडक निर्माणले गति लिएको बताए । सडक स्तरोन्नतिको लागि दिनरात खटिएपछि कामले गति लिन थालेको उनको दाबी छ । ‘यस वर्ष पानी पर्दा हिलोमा चिप्लिने र नपर्दा धुलोले हैरान भएको बेला कालोपत्रको कामले गति लिन थालेसँगै स्थानीयवासीमा खुसी छाएको छ,’ उनले भने । यस वर्ष समयमा नै सडक निर्माण सम्पन्न भएपछि यस भेगका स्थानीयवासी सहज र सुरक्षित यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि सहज यात्रा गर्ने आशामा रहेका स्थानीयवासी कालोपत्रको कामले तीव्रता पाएपछि हर्षित भएका हुन् ।

एनआईसी एशिया बैंकले ३७८ मोटरसाइकल बेच्दै, ३२५ दुईपाङ्ग्रे किन्दै

काठमाडौं । एनआईसी एशिया बैंकले दुईपाङ्ग्रे सवारी साधन बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेका विभिन्न कम्पनीका ३७८ वटा दुईपाङ्ग्रे मोटरसाइकल लिलाम बिक्रीमा राखेको हो । बैंकले शाखा कार्यालयमा रहेका मोटरसाइकल जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गर्ने जनाएको छ । बैंकका अनुसार बजाज डिस्कोभर कम्पनीका १५८ वटा मोटरसाइकल बिक्रीमा राखिएको छ । यस्तै, ३२ वटा बजाज पल्सर, एक वटा हेरो प्लेजर, ६१ वटा हेरो सुपर स्पेण्डर, २ वटा होण्डा साइन, १०६ वटा सुजुकी कम्पनी र १८ वटा यमाहा कम्पनीका बाइक बिक्रीमा राखिएको हो । खरिद गर्न चाहेको रकमको १० प्रतिशत अग्रीम भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । साथै, बैंकले पुराना मोटरसाइकल बिक्री गरेर ३२५ वटा नयाँ दुईपाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर) खरिद गर्ने भएको छ । बैंकले देशभरका शाखा कार्यालय प्रयोजनका लागि उक्त मोटरसाइकल खरिद गर्ने भएको हो । बैंकले मोटरसाइकल आपूर्ति र डेलिभरीका लागि इच्छुक कम्पनी तथा फर्मबाट बोलपत्र पेश गर्न आग्रह गरेको हो । इच्छुक व्यक्ति तथा संस्थाले बैंकको केन्द्रीय कार्यालय थापाथलीमा बोलपत्र पेस गर्नुपर्नेछ । आवेदन शुल्क भने १० हजार रुपैयाँ तोकिएको छ भने बोलपत्रदाताको वार्षिक कारोबार ५ करोड रुपैयाँ बराबरको गरेको हुनुपर्नेछ । कम्पनी दर्ता भई कम्तिमा ३ वर्ष काम गरी ३ वटा संस्थासँग कारोबार गरेका माेटरसाइकल विक्रेता कम्पनीले मात्रै बाेलपत्र पेश गर्न पाउने छन् । खरिदबिक्री गर्न इच्छुक व्यक्ति तथा कम्पनीले चैत ११ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।    

जीवन विकास लघुवित्तको ५ करोडको सेयर बेचेर बाहिरिँदै भरत लाल

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनी बाहिरिने भएका छन् । लघुवित्तका संस्थापक सेयरधनी भरत लाल बहरदार आफ्नो स्वामित्वको सेयर बेचेर बाहिरिने भएका हुन् । लघुवित्तका अनुसार भरत लालले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । उनले यसअघि गत माघमा सेयर बिक्रीमा राखेका थिए । तर, उक्त अवधिमा बिक्री नभएको सेयर पुनः बिक्रीमा राखेको लघुवित्तले जनाएको छ । लघुवित्तले उक्त सेयरको मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकेको छ । यस आधारमा लघुत्तिको ५ करोड रुपैयाँ सेयर बिक्रीमा राखिएको हो । खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

एमबीएल इक्विटी फण्ड खरिद गर्ने समय लम्बियो, चैत ७ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एमबीएल इक्विटी फण्डमा आवेदन दिने समय लम्बिएको छ । एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १ अर्ब २० करोड रुपैयाँको बन्दमुखी योजनामा अब चैत ७ गतेसम्म बिक्री खुला रहनेछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १२ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक, १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल र बाँकी १० करोड २० लाख इकाई सर्वसाधरणलाई छुट्याएको छ । १२ वर्ष अवधि रहेको उक्त फण्डमा १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । उक्त म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर माफर्त लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन् ।

क्रेस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज फागुन २६ गते अन्तिम दिन रहेको छ । फागुन २२ गतेदेखि कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो । कम्पनीले ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर जारी गरेको छ । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता, कम्पनीका कर्मचारीलाई ६७ हजार ५ सय कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५ सय कित्ता सेयर बिक्री गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

टनकपुर सम्झौता गर्दा पञ्चेश्वर परियोजना बिग्रियो, सुधारेर अघि बढ्दैछौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार र स्थानीय सरकारलाई साथमा लिएर सङ्घीय सरकार अघि बढ्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा उत्पन्न विविध अफ्ठेरा एवं व्यवधानका चुनौतीलाई सामना गर्न सबै प्रदेश सरकार र स्थानीय सरकारलाई साथमा लिएर अघि बढिने स्पष्ट पारे । उनले उद्यमशीलताको विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने कामलाई अगाडि बढाउनुपर्ने बताए । प्रदेशलाई आधुनिक, विकसित, समृद्ध बनाउन र सुशासन कायम गर्न पहल हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘छिट्टै रोजगार प्रवद्र्धनका लागि हुन लागेको सम्मेलनमा सुदूरपश्चिम प्रदेशको पनि सहभागिता जरुरी छ ।’ प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको पालादेखि बिग्रिएको देशको अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले प्रयास गरिरहेको बताए । आफू प्रदेशका समस्यासँग जानकार रहेको उल्लेख गर्दै कैलालीको गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा छिट्टै सञ्चालन गरिने उनको भनाइ छ । टनकपुर सम्झौता गर्दा बिग्रिएको पञ्चेश्वर परियोजनालाई सुधारेर अघि बढेको, खुटिया–दिपायल–चैनपुर जाने बाटो महाकाली करिडोर, दार्चुलाको तिङ्करसम्म बाटो बनाउनेजस्ता विकासका काममा सरकारको ध्यान गएको उनले बताए । सभ्यता, संस्कृति र विनम्रताको संस्कार भएको हाम्रो देशमा नराम्रो संस्कार देखाउने, असभ्यता देखाउने बाटोमा धकेल्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘समाजमा सभ्य, शालीन उन्नत संस्कृति स्थापित गर्न सबै लाग्नुपर्छ ।’ लोकतन्त्र, संविधान र कानुन नमान्ने प्रवृत्ति बढेको तथा अस्थितरता र अराजक क्रियाकलापले देश अफ्ठेरोमा पर्न लागेकाले लोकतान्त्रिक विधि र कानुनअनुसार देश चल्नुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘नेपालको संविधान कसैले दिएको नभई जनताको बलिदानीसहित संविधानसभाबाट बनेको संविधान हो, अराजकताको बाटोबाट हिँडेर कसैले केही प्राप्त गरिहाल्छु भन्ने सपना नदेखे हुन्छ ।’ सुशासन र विकासका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। कांग्रेस र एमालेको अहिलेको सरकारले सहमतिबमोजिम पूरा समय काम गर्ने प्रधानमन्त्री ओलीले बताए । प्रदेशलाई विकसित एवं समृद्धिको दिसामा लैजाने काममा लाग्न उनले प्रदेशसभा सदस्यहरुलाई आग्रह गरे ।

कागज उद्योगमा रमाउँदै पासाङ, १० देखि २० टन कागज उत्पादन गर्दै

काठमाडौं । भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँडेका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाए । घरमा चौंरी पाल्न दुःख भएपछि गाउँ छोडेर जागिरको खोजीमा निस्केका उनलाई के काम पाइन्छ र के गर्ने भन्ने टुङ्गो थिएन । हाते कागज उद्योगमा काम छाडेर फेरि कामकै खोजीमा उनी बाजुरा पुगे । पासाङले बाजुरामा काम त पाए तर त्यहाँ पनि हाते कागज उद्योगमै । केही समयमा बाजुरा छोडेर सुर्खेत गएका उनी फेरी कागज उद्योगमै पुगे । ‘त्यो उद्योगमा काम जानेको मान्छे अरु रहेनछ, उद्योगले मान्छे खोजी रहेका बेला म पुगेँ, बसौँ भन्यो त्यहाँ पनि डेढवर्ष जति काम गरेँ,’ विगत सम्झँदै उनले भने । २२ वर्षअघि गोरखा र लम्जुङको सिमानामा रहेको चेपेखोलामा आफ्न्तले चलाएको उद्योगमा आएर ६ वर्ष जति काम गरेपछि आफैलाई उद्योग आफै चलाउने हिम्मत आयो । करिब ५ लाख रूपैयाँ ऋण खोजेर हाते कागज उद्योग चलाउन सुरु गरे । ‘अहिले वार्षिक १५ देखि २० लाखसम्म कारोवार हुन्छ । नियमित पाँच जनालाई रोजगारी दिएको छु, सिजनमा कच्चा पदार्थ ९लोक्ता० काढ्ने थुप्रै हुन्छन्,’ उनले भने । चैत–बैशाखमा सयजना जतिले लोक्ता काढ्ने गरेको उनी बताउँछन् । ‘पुर्जी बनाएर पठाइदिएपछि धार्चे, चुमनुब्री, अजिरकोटलगायतका क्षेत्रमा सङ्कलन गरिएको लोक्ता मजुदरले उद्योगमा ल्याउछन्,’ पासाङले भन्नुभयो, ‘उनीहरुले पनि प्रतिकिलो १५० रुपैयाँभन्दा बढी बुझेर फर्कन्छन ।’ गोरखा नगरपालिका-६, स्थित नयाँबस्तीमा पासाङले सञ्चालन गरेको गोरखा मनकामना नेपाली हाते कागज उद्योगबाट उत्पादित नेपाली कागजको बजारमा माग धेरै छ । ‘धेरैजसो त कागज लिन उद्योगमै आइपुग्छन्, कहिले त पहिले पैसा पठाइदिन्छन् अनि मलाई यति सामान चाहियो भन्छन्, त्यसपछि म यहाँबाट कागज पठाइदिने गरेको छु,’ उनले भने । जग्गा भाडामा लिएर उनले उद्योग सञ्चालन गर्दै आएका छन् । पासङको उद्योगमा बार्षिक गर्दछ । उत्पादित नेपाली हाते कागज चार किलोको ३ हजार ५०० रुपैयाँसम्ममा बिक्री हुन्छ । ‘बजारको मागअनुसार पुर्याउन अझै सकेको छैन । कच्चा पदार्थ राम्रो पाइने हुँदा गोरखामा उत्पादित नेपाली कागज अन्य ठाउँको तुलनामा राम्रो र छिटो नगल्ने भएकाले पनि माग बढी भएको हो,’पासाङले भने । पासाङको उद्योगमा अहिले २० देखि ६० ग्राम तौलसम्मका नेपाली कागज उत्पादन हुँदै आएको छ । उद्योग चलाएर उहाँले दुईवटा छोरीलाई पढ्नै लागि विदेश पठाएका छन् । साना तथा घरेलु उद्योगलाई स्थानीय सरकारले पनि सहयोग गरेमा अझै सजिलो हुने उनी बताउँछन् ।