समृद्धि फाइनान्सको सीईओमा घिमिरे नियुक्त
सन्ताेष घिमिरे । काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोषकुमार घिमिरे नियुक्त भएका छन् । फाइनान्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी घिमिरेलाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । टीकानिधि लोहनी संस्थाबाट बाहिरिएसँगै घिमिरे सीईओ बनेका हुन् । लोहनीले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए। फाइनान्सले फागुन २९ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गरेको हो । फाइनान्सका नायब महाप्रबन्धक विनोदराज पौडेलले एक महिनाका लागि कामु सीईओको जिम्मेवारी पाएका छन् । उनले चैत महिनाभरि सीईओको जिम्मेवारी सम्हाल्ने फाइनान्सले जनाएको छ ।
एकैदिन ४ हजारले बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला २ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ एक हजार रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारण भन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताए । ‘अमेरिकी डलरको मूल्यवृद्धि, अन्तरराष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले मूल्य बढेको हो । अन्तरराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार समायोजन गर्दा स्थानीय बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको हो’, उनले भने ।
होली मनाउनेहरूले भरियो नयाँ दिल्ली
काठमाडौं । रङहरूको पर्व नजिकिँदै गर्दा नयाँ दिल्लीका बजारहरू होली मनाउनेहरूले भरिएका छन् । परम्परागत भारतीय पर्व जाडोको अन्त्य र वसन्तको शुरुवातलाई जनाउँछ । जसले खराबीमाथि राम्रोको विजयलाई जनाउँछ । उत्सवको क्रममा सहभागीहरूले प्रेम र स्नेह व्यक्त गर्न एकअर्कालाई रङ दल्नेछन् । भारतमा यस वर्ष होली मार्च १४ मा मनाइँदैछ ।
ट्रम्पको शुल्कका कारण अमेरिकी निर्यातकर्ताले प्रतिशोधात्मक शुल्क सामना गर्नसक्ने टेस्लाको चेतावनी
ह्वाइट हाउसमा टेस्लासँग राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्क । काठमाडौं । अमेरिकी अटो निर्माता टेस्लाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक शुल्क नीतिका कारण आफू र अन्य प्रमुख अमेरिकी निर्यातकर्ताहरूले बदलामा प्रतिशोधात्मक शुल्क सामना गर्न सक्ने चेतावनी दिएको छ । टेस्लाका यी टिप्पणीहरूले ट्रम्पका शुल्कहरूबाट चिन्तित धेरै अमेरिकी व्यवसायहरूको विचार झल्काउँछ, तर यो टेस्लाको तर्फबाट आएको हुँदा विशेष रूपमा उल्लेखनीय छ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क ट्रम्पका नजिकका सहयोगी हुन् र उनले ह्वाइट हाउसको संघीय सरकारको आकार घटाउने प्रयासको नेतृत्व गरेका छन् । मस्कले सरकारी दक्षता विभागको नेतृत्व पनि गर्छन् । उनले आफूलाई अघिल्लो समयमा स्वतन्त्र व्यापारको समर्थकको रूपमा प्रस्तुत गरेका थिए । २०१८ मा उनले ट्वीटरमा लेखेका थिए, ’व्यापार युद्ध रोक्नाले सबै देशहरूलाई फाइदा पुग्छ ।’ उनले बेलायत र अमेरिकाबीच कुनै पनि प्रकारको शुल्क नलाग्ने स्वतन्त्र व्यापार सम्झौता हुनुपर्ने तर्क गरेका थिए । उनले बाराक ओबामा प्रशासनमाथि चीनसँग शुल्क बराबरी गर्न नसकेको भन्दै आलोचनासमेत गरेका थिए। २०१८ मा ट्रम्पको पहिलो कार्यकालमा उनले ट्रम्पको ट्वीटको जवाफ दिँदै भनेका थिए, ‘के तपाईंलाई लाग्छ कि अमेरिका र चीनले गाडीहरूका लागि समान र न्यायसंगत नियमहरू अपनाउनुपर्छ ? यसको अर्थ उस्तै आयात शुल्क, स्वामित्व सीमाहरू र अन्य कारकहरू हुनु पर्छ । उदाहरणका लागि एउटा अमेरिकी गाडी चीन जाँदा २५ प्रतिशत आयात शुल्क तिर्छ, तर एउटा चिनियाँ गाडी अमेरिका आउँदा मात्र २.५ प्रतिशत शुल्क तिर्छ । यो दस गुणा भिन्नता हो ।’ यो टिप्पणी टेस्लाले अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर) लाई पठाएको पत्रमा गरेको हो, जुन उक्त कार्यालयको वेबसाइटमा उपलब्ध छ । मंगलबार मिति राखिएको यो पत्र अमेरिकी व्यापार नीतिबारे कम्पनीहरूले पठाएका सयौं पत्रहरूमध्ये एक हो । टेस्लाले भनेको छ कि ट्रम्प प्रशासनले व्यापार समस्याहरू समाधान गर्ने प्रयास गर्दा अमेरिकी कम्पनीहरूलाई बेकारमा असर नपरोस् भन्ने सुनिश्चित गर्नु महत्त्वपूर्ण छ । यसले अघिल्लो व्यापार विवादहरूमा भोगेको जस्तो बदलाको रूपमा आयातित विद्युतीय गाडीहरूमा थप शुल्क लगाइने जोखिमबाट बच्न उत्सुक रहेको बताएको छ । ‘अमेरिकी निर्यातकर्ताहरू अन्य देशहरूले अमेरिकी व्यापार कदमहरूको जवाफमा तत्काल कदम चाल्दा असमान रूपमा प्रभावित हुन्छन्,’ टेस्लाले भनेको छ । उदाहरणका लागि अमेरिकाको अघिल्लो व्यापार कदमहरूले लक्षित देशहरूबाट तुरुन्तै प्रतिक्रियाको रूपमा विद्युतीय गाडीहरूमा थप शुल्क लगाएको उल्लेख छ । ट्रम्पले अप्रिलको सुरुवातमा विश्वभर बनेका गाडी र पाट्र्समा महत्त्वपूर्ण शुल्क लगाउने विचार गरिरहेका छन् । टेस्लाले चेतावनी दिएको छ कि आपूर्ति शृंखलाको आक्रामक स्थानीयकरण भए तापनि केही पाट्र्स र कम्पोनेन्टहरू अमेरिका भित्रैबाट प्राप्त गर्न गाह्रो वा असम्भव छ । टेस्लाले भनेको छ, ‘अमेरिकी निर्माता र निर्यातकर्ता भएको नाताले, टेस्लाले यूएसटीआरलाई केही प्रस्तावित कदमहरूले अमेरिकी कम्पनीहरूमा पर्ने असरहरू विचार गर्न प्रोत्साहन गर्छ ।’ यस्तै, टोयोटा, फक्सवागन, बीएमडब्ल्यू, होन्डा र हुन्डाईजस्ता ठूला विदेशी अटो निर्माताहरूको प्रतिनिधित्व गर्ने अटोज ड्राइभ अमेरिका नामक व्यापार समूहले पनि यूएसटीआरलाई चेतावनी दिएको छ । समूहले भनेको छ, ‘व्यापक शुल्कले अमेरिकी असेम्ब्ली प्लान्टहरूमा उत्पादन अवरुद्ध गर्नेछ ।’ (एजेन्सीहरूको सहयोगमा) मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा
आमाहरूको फुटबल प्रतियोगिता
म्याग्दी । खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको छ । जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र सिङ्गाका पाँच वटा आमा समूह सहभागी भएकामा जलमाई भगवती आमा समूह (ए)ले मङ्गला गाउँपालिका–३ को पखेर आमा समूहलाई एकका विरुद्ध चार गोल गरेको छ । यो समूहले खेल जितेर रु १५ हजार हात पारेको छ । जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जालीले ‘आमाहरुको मात्र फुटबल प्रतियोगिता जिल्लामै पहिलोपटक तातोपानीमा भएको हो’, उनले भने, ‘खेलकुदमार्फत आमाहरुलाई जागरुक र सामाजिक क्षेत्रमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।’ आमाहरु लुङ्गी, चोलो, कुर्तासुरुवालको पहिरनमा खेलमैदानमा उत्रिएका थिए । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीमा परम्परागत रुपमा लाग्ने फागुपूर्णिमा मेलालाई यसपटक आमा समूहले निरन्तरता दिएका हुन् । मेलामा फाइभ ए साइड पुरुष फुटसल, महिला र पुरुष लठो तान्ने, अन्धनिशान, पुरुष तथा महिला छेलो प्रतियोगिता भएको थियो ।
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए । ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित थिए । भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।
तामाकोशी पाँचौँको कामकाज ठप्प, ठेकेदार कम्पनीले लापरबाही गरेको आरोप
दोलखा । दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको काम ठेकेदार कम्पनीको अकर्मण्यताका कारण ठप्प भएको छ । कम्पनीमा कार्यरत श्रमिकहरूसँग विभिन्न समयमा भएका सहमति ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ले कार्यान्वयन नगर्दा आयोजनाको काम ठप्प पारिएको हो । आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेक्का लिएको सिनो हाइड्रोले आफ्नो कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको माग सम्बोधन नगरेपछि बुधबार (फागुन २८) देखि सम्पूर्ण कामकाज ठप्प पारिएको त्यहाँ कार्यरत श्रमिक जीवन मगरले जानकारी दिए । उनका अनुसार यसअघि नेपाली श्रमिकहरूले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान अनुसार आफूहरूलाई रोजगार सम्झौतापत्र दिनुपर्नेलगायत विभिन्न १३ बुँदे माग सिनो हाइड्रोसमक्ष राखेका थिए । उक्त मागका सम्बन्धमा श्रमिक र कम्पनीबीच यही फागुन १६ गते सहमति भएको थियो। स्थानीय जनप्रतिनिधि र आयोजनाका पदाधिकारीहरूको रोहवरमा भएको सो सहमति कार्यान्वयन गर्न कम्पनीले उदासिनता देखाएपछि कामकाज ठप्प पार्न बाध्य भएको उनको भनाइ छ । ‘एक हप्ताभित्र सबै नेपाली श्रमिकहरूलाई रोजगार सम्झौताको पत्र उपलब्ध गराउनुपर्ने सहमति हामीसँग भएको थियो । तोकिएको समयमा कम्पनीले सो काम नगरेपछि हामीले फागुन १९ गते कम्पनी व्यवस्थापलाई पुनः ध्यानाकर्षण गराएका थियौँ । त्यसपछि पनि अहिलेसम्म कुनै काम भएको छैन,’ अर्का कामदार मदन कुमार श्रेष्ठले भने, ‘हामीसँग भएको सहमति कार्यान्वयन नहुँदासम्म कामकाज ठप्प पार्ने हामी सबै नेपाली श्रमिकको निर्णय भएको छ । त्यसै अनुसार अघि बढ्छौँ ।’ श्रमिकहरूले हिजो बुधबार संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गरी कामकाज ठप्प पार्दा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार अडिट–१ र २ को ठेकेदार कम्पनी हुनुपर्ने पनि स्पष्ट पारेको छ । उनीहरूले यसअघि रोजगार सम्झौता वा नियुक्तिपत्र उपलब्ध गराउनुपर्ने, सेवासुविधा, उपदान, दुर्घटना बीमा, चिकित्सा बीमा, सञ्चय कोष, चाडपर्व खर्च, वार्षिक तलव वृद्धिरग्रेड तथा सार्वजनिक, साप्ताहिक, प्रतिस्थापन, घर, बिरामी र सुत्केरीलगायत विदाको बारेमा स्पष्टता खोजेका थिए । त्यस्तै, काम गर्ने घण्टा, ओभरटाइम सुविधा, निर्माण मजदुरको समस्या, स्वास्थ्य र सुरक्षा तथा कार्य विवरणको बारेमा पनि स्पष्ट बन्नरबनाउन कम्पनीसमक्ष लिखित आग्रह गरेका थिए । नेपालको श्रम कानुन अनुसार श्रमिकले पाउनुपर्ने सेवासुविधालाई समेटेर ठेकेदार कम्पनीसमक्ष १३ बुँदे मागपत्र बुझाएको तर अहिलेसम्म कुनै पनि विषयको सम्बोधन नभएको उनीहरूको भनाइ छ । हाल तामाकोशी पाँचौंमा करिब पाँच सय जना श्रमिक कार्यरत छन्। त्यसमध्ये ४०० जना नेपाली मात्रै छन् ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८० रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५८ रुपैयाँ १५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६० पैसा र बिक्रीदर ९७ रुपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २४ पैसा र बिक्रीदर २० रुपैयाँ ३३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ३५ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।