संघीय अस्पतालहरूमा २ हजार बढी स्वास्थ्य जनशक्ति थप्ने स्वास्थ्यमन्त्रीको तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन् । बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेको स्वास्थ्य जनशक्तिका थप गर्ने गरी मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा प्रक्रिया अघि बढाएका थिए । यसका लागि उनले प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा गठन गरेको आन्तरिक कार्यदलले दुई हजार एक सय दुई जनशक्ति थप गर्न सकिने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको छ । यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको संख्या अधिक छ । पाँच वर्षसम्म हरेक वर्ष गर्ने गरी तयार पारिएको यस पालिको संगठन संरचनामा देशको सबैभन्दा ठूलो वीर अस्पतालमा सात सय ७७ जनशक्ति थपिने छ । यसले देशको सबैभन्दा बढी बिरामीको चाप खेपिरहेको अस्पतालमा अब वीर अन्र्तगतकै ट्रमा सेन्टरमा ९० जनशक्ति थप्न सकिनेछ । संघीय राजधानी काठमाडौंकै कान्ति बाल अस्पतालमा ७८ जनशक्ति थप्ने गरी प्रतिवेदन तयार पारिएको छ । देशको संघीय परोपकार प्रसुती अस्पतालमा एक सय ७३ जनशक्ति थप हुनेछन् । यसैगरी, शुक्रराज ट्रक्रिकल तथा सरुवा रोग अस्पतालमा तीन सय १७ स्वास्थ्य जनशक्ति थपिनेछन् । कोशी अस्पतालमा एक सय ७२, नारायणी अस्पतालमा तीन सय १८ तथा भेरी अस्पतालमा एक सय ७९ जनशक्ति थप हुनेछन् । गजेन्द्रनारायण स्मृति अस्पताल राजविराजमा एक सय ४४ जनशक्ति थपिंदा चितवनको भरतपुर अस्पतालले चार सय ६५ जनशक्ति पाउनेछ । डडेलधुरा अस्पतालमा ५२ तथा औषधि व्यवस्था विभाग र प्रयोगशालामा गरी ४० जनशक्ति थप गर्ने गरी संगठन संरचना गरिएको छ । प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरुमा चाप अत्यधिक भए पनि जनशक्ति लामो समयसम्म थप नहुँदा सेवा दिन भैरहेको कठिनाइ केही हदसम्म हल हुने विश्वास व्यक्त गरे । 'सरकारी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि यो प्रतिवेदनले महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छु,' उनले भने, 'सम्बद्ध मन्त्रालयहरुसँग आवश्यक समन्वय गरेर यसको कार्यान्वयन गरिनेछ ।' मन्त्री पौडेलले यो वर्ष मात्र नभएर हरेक वर्ष सर्भेक्षण गरिने भएकाले दूरगामी रुपमा जनशक्ति अभावको समस्या सम्बोधन हुने विश्वास गरे । मन्त्री पौडेलले अधिकतम स्वास्थ्य प्राविधिक जनशक्तिको अभाव पूर्ति गर्ने गरी संरचना गर्न भने पछि प्रतिवेदनमा अधिकांश स्वास्थ्य जनशक्ति थप गर्ने गरी प्रतिवेदन तयार पारिएको छ । यसले विभिन्न अस्पतालहरुमा रहँदै आएका अस्थायी र करारको दरबन्दी घटेर स्थायित्व प्राप्त गर्न मद्दत पुग्ने ठानिएको छ । २०६६ मा केही जनशक्ति थप भए पनि त्यसयता विस्तृत रुपमा संगठन तथा व्यवस्थापन सर्भेक्षण हुन सकेको थिएन । यस प्रतिवेदनको कार्यान्वयनले बढ्दो चाप सामना गर्दै रिक्त जनशक्ति पूर्ति तथा रोजगारी सिर्जनामा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको १० नयाँ स्थानमा शाखा विस्तार, शाखा संख्या ३०७ पुग्यो
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न १० स्थानमा नयाँ शाखा विस्तार गरी कारोबारको शुभारम्भ गरेको छ । नयाँ शाखाहरू धनुषाको नगराईन, स्याङ्जाको बयरघारी, कञ्चनपुरको झलारी, कैलालीको टिकापुर र सुख्खड, काठमाडौंको कपन, रुपन्देहीको सैनामैना, दाङको देउखुरी, गोरखाको पालुङटार र सर्लाहीको हरिवनमा सञ्चालनमा आएका छन् । यससँगै बैंकका शाखा संख्या ३०७ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकले सातै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो उपस्थिति कायम गरेको छ । हाल बैंकसँग ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम तथा ७३ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकले पहुँच विस्तारसँगै वित्तीय समावेशीकरणलाई बल पुर्याउँदै सेवा सहज, सरल र सुलभ बनाउने उद्देश्य लिएको जनाएको छ ।
ज्योति विकास बैंकका ग्राहकका लागि होटल मारकोपोलोमा छुट
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई काठमाडौंको हात्तिसारस्थित होटल मारकोपोलोमा छुट दिने समझदारी गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले होटलको रेस्टुरेन्ट सेवा तथा रूम चार्जमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले विभिन्न क्षेत्रका व्यवसायहरूसँग सहकार्य गर्दै छुट तथा सुविधाहरू प्रदान गर्ने रणनीति अघि बढाएको छ । यसअघि पनि बैंकले ललितपुरको ‘बेक्ड एन्ड सर्भ’ मा १२ प्रतिशतसम्म, काठमाडौंको ‘भ्यू थ्री हन्ड्रेड सिक्स्टी डिग्री रिसोर्ट’ र ललितपुरको ‘प्याराडाइज हिल्स’ मा १० प्रतिशतसम्म छुट दिने समझौता गरिसकेको छ । ज्योति विकास बैंकले ग्राहक अनुभवलाई समृद्ध बनाउने उद्देश्यका साथ यस्ता सहकार्यहरूलाई निरन्तरता दिने जनाएको छ ।
७२ जिल्लामा फैलियो डेंगी, पूरा शरीर ढाक्ने कपडा लगाउन विज्ञको आग्रह
काठमाडौं । मनसुन लागेसँगै डेंगी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेंगी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौंमा देखिएको छ । काठमाडौंमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगीलाई शून्यमा नै ल्याउने र डेङ्गी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए । उनले भने, 'डेंगीको सङ्क्रमण र मृत्युदर घटाउन सकिन्छ । यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ । नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ ।' डा दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले सङ्क्रमण बढ्न सक्ने सम्भावना रहने सक्ने बताए । 'यो वर्ष डेंगी सङ्क्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्यांक छैन । यद्यपि मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन', उनले भने । डा दाहालकाअनुसार सबैले डेंगी नियन्त्रणमा सबैले आआफ्नो ठाउँबाट बराबर सहभागिता जनाए तीनै तहले डेंगी नियन्त्रणसम्बन्धी आवश्यक कार्यक्रम डेंगी सङ्क्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ । डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फाएिका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिका बट्टा, प्लास्टिकजन्य वस्तुहरु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ ।
प्रभु महालक्ष्मी लाइफको साधारण सभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा जेठ २६ गते सोमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणसँगै नियमकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तोकिएको न्यूनतम चुक्तापूँजी पुग्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।
२३ अंकले बढ्यो सेयर बजार, ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ अंकले बढेर २६५३ बिन्दुमा पुगेको छ । आज १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको मूल्य बढेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, युनिभर्सल पावर कम्पनीको ५४ करोड, बुटवल पावर कम्पनीको ५१ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको ३९ करोड र सीइडीबी होल्डीङसको ३७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, मकर जितुमाया सुरी हाइड्रो, पीयोर इनर्जी र डोटी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
नयाँ बीएमडब्ल्यू आईएक्सटू ईभी एसएभी अब नेपालमा
काठमाडौं । नेपालमा बीएमडब्ल्यू गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्ल्यू आईएक्सटू ईभी एसएभी (स्पोर्ट्स एक्टिभिटी भेहिकल) भित्राएको छ । बीएमडब्ल्यूले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै नयाँ बीएमडब्ल्यू आईएक्सटू ईभी एसएभी नेपालमा सार्वजनिक गरेको हो । यस गाडीले अधिकतम १५० किलोवाट/२०४ हर्स पावर (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (प्रारम्भिक अनुमान अनुसार) रहेको छ । कम ऊर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ किलोवाट आवर्स) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कष्ट रोजाइ प्रदान गर्ने लक्ष्मी प्रिमियमले जनाएको छ । अन्य बीएमडब्ल्यू इलेक्ट्रिक गाडीहरूजस्तै नयाँ बीएमडब्ल्यू आईएक्सटू पनि पाँचौं पुस्ताको बीएमडब्ल्यू ईड्राइभ प्रविधि प्रयोग गरिएको छ । यसले २५० एनएम टर्क उत्पादन गराई ८.६ सेकेन्डमा शून्यदेखि १०० किमी/घण्टाको गतिमा पुग्न सक्छ । यसको अधिकतम गति १७० किमी/घण्टा रहेको छ । ब्याट्रीको स्थान र तौल सन्तुलनलाई ध्यानमा राखी गाडीको फ्लोरमा राखिएको हाई–भोल्टेज ब्याट्रीले ६६.५ किलोवाट आवर्स ऊर्जा प्रदान गर्दछ । यसमा रहेको आधुनिक मोटरले कम उर्जा खपत गरी अन्य गाडीहरुभन्दा धेरै दूरीसम्म चल्न सक्षम बनाउँछ । बीएमडब्ल्यू आईएक्सटूमा चार्जिङको लागि प्रशस्त विकल्पहरु रहेका छन् । यसमा रहेको कम्बाइन चार्जिङ युनिटले एक किलोवाटसम्मको एसी चार्जिङ सपोर्ट गर्दछ । छिटो चार्जिङको लागि १३० किलोवसम्मको डीसी चार्जिङ पनि उपलब्ध छ । स्मार्ट थर्मल पि-कन्डिसनिङ र एडभान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङ स्पिड र ब्याट्रीको आयु दुवैलाई लामो समयसम्म कायम राख्छ । बीएमडब्ल्यू आईएक्सटूमा लक्जरी इन्टेरियर फिचरहरू समावेश छन् जस्तै मोका रङको भर्नास्का लेदर सिट, प्यानोरामिक ग्लास रुफ,डुवल जोन अटोमेटिक एसी र १२ स्पिकरको हर्मन कार्डन साउन्ड सिस्टम । बीएमडब्ल्यू आईएक्सटूको सुरक्षा र सहायक प्रणालीहरू पनि अत्याधुनिक छन् । सुरक्षित यात्राको लागि यसमा सवारी चालक र गात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल (डीबीसी) अटो होल्ड फङ्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किट ब्रेक र इन्टेगेटेड ब्रेकिङ सिस्टम राखिएको छ । तीनकुनेमा रहेको आफ्नी अत्याधुनिक शोरुमबाट लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्ल्यू एक्स वान, एक्स टु, एक्स थ्रीलगायतका जस्ता मोडलहरू उपलब्ध गराइरहेको छ । नयाँ बीएमडब्ल्यू आईएक्सटुको आगमनसँगै नेपालमा पिनियन इलेक्ट्रिक गाडीको क्षेत्रम बीएमडब्ल्यूले आफ्नो उपस्थिति अझ बलियो बनाउनुको सारी डिजाइन प्रविधि र वातावरणीय जिम्मेवारीको नयाँ उदाहरण प्रस्तुत गरेको छ ।
नेपाल एसबिआई बैंक एनपीएस नेसनल कार्ड स्वीचमा आबद्ध, डिजिटल सेवा विस्तार
काठमाडौं । नेपाल एसबिआई बैंकले डिजिटल बैंकिङ सेवा विस्तारको दिशामा थप महत्वपूर्ण कदम अघि बढाउँदै एनपीएस नेसनल कार्ड स्वीच तथा नेपालपे कार्ड योजनामा प्रिन्सिपल मेम्बरसिप लिँदै नेपाल क्लियरिङ हाउस लिमिटेड सँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकले अब नेपालपे डोमेस्टिक कार्ड जारी गर्न र कार्ड प्राप्त गर्न सक्ने प्रणाली (स्विच एकीकरण) सञ्चालनमा ल्याउनेछ । यसले बैंकका ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो भुक्तानी सेवा प्रदान गर्न मद्दत गर्नेछ । सम्झौता पत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रम प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितिमा सम्पन्न भएको थियो । सो अवसरमा बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, सल्लाहकार छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकले यो सहकार्यमार्फत डिजिटल कारोबार प्रणालीलाई अझ मजबुत बनाउँदै आफ्ना ग्राहकहरूलाई घरेलु कार्डको सुलभ र सुरक्षित सेवा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ ।